शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१ नून० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ । अल्लाहले कलमको कसम खानुभयो र मानिसहरूले कलमको सहायताले जे लेख्छन् त्यसको कसम खानुभयो ।
२ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं पागल हुनुहुन्न किनकि अल्लाहले तपाईंलाई आफ्नो कृपाले नबी बनाउनुभएको छ । बरू मुश्रिकहरूले तपाईंमाथि लगाएको पागलको आरोपबाट मुक्त हुनुहुन्छ ।
३ वास्तवमा, तपाईंले हार नमानी मानिसहरूसम्म सन्देश पुर्याउनुभएकोले तपाईंले पुण्य पाउनुहुनेछ । तपाईंलाई पुण्य प्रदान गर्ने श्रेय अरू कसैले लिन सक्दैन ।
४ वास्तवमा, तपाईं कुर्आनले ल्याएको महान नैतिकतामा हुनुहुन्छ । अनि तपाईं त्यसलाई उत्तम तरिकाले लागु गर्नुहुन्छ ।
५ चाँडै नै तपाईंले पनि देख्नुहुनेछ र यी झूठो ठहर गर्नेहरूले पनि देख्नेछन् ।
६ सत्यता जाहेर भएपछि तिमीहरूमध्ये को पागल हो भनी प्रष्ट हुनेछ ।
७ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा तपाईको पालनकर्ता उहाँको मार्गबाट हटेको व्यक्तिलाई चिन्नुहुन्छ । अनि उहाँको बाटो अनुसार हिँड्नेलाई पनि । तसर्थ, को पथभ्रष्ट छ र कसले मार्गदर्शन प्राप्त गरेको छ भनी उहाँलाई थाहा छ ।
८ तसर्थ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठो ठहर गर्नेहरूले ल्याएको कुराको अनुसरण नगर्नुहोस् ।
९ उनीहरू तपाईंलाई लचिलो हुनुभएको र धर्मको विषयमा उनीहरूको पक्षमा हुर्नुभएको देख्न चाहन्छन् । बदलामा उनीहरू पनि तपाईंको लागि लचिलो हुनेछन् र तपाईंको पक्षमा काम गर्नेछन् ।
१० तसर्थ धेरै झूठा कसम खानेहरू र हीन व्यक्तिहरूको कुरा नमान्नुहोस् ।
११ जसले प्रायः अरूको कुरा काट्छ र अरूलाई विभाजन गर्ने कोसिस गर्दै उनीहरूको चुक्ली लगाउदै हिँड्छ ।
१२ भलाइबाट रोक्न प्रयासरत रहन्छन् । मानिसहरूको सम्पत्ति, प्रतिष्ठा र ज्यानमाथि आत्याचार गर्छन् र धेरै पापमा लिप्त रहन्छन् ।
१३ अत्यन्तै असभ्य र आफ्ना मानिसहरूमा हरामीको संज्ञाले परिचित ।
१४ उनीहरूसँग सम्पत्ति र सन्तानहरू भएको भएर उनहरूले अल्लाह र उहाँको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राख्न इन्कार गरे ।
१५ जब उनीहरूसमक्ष हाम्रा आयतहरूको पाठ गरिन्छ उनीहरू भन्छन्- यी अतीतका मिथ्या कथाहरू हुन् ।
१६ हामी उसको नाकमा चिन्ह लगाई दिनेछौं जसले गर्दा ऊ नराम्रो देख्नेछ र उसले त्यो हटाउन सक्ने छैन ।
१७ हामीले यी मुश्रिकहरूको परिक्षा अनिकाल र भोकले लियौं जसरी बगैंचावालाको परिक्षा लिएका थियौं जब उनीहरूले बिहान सवेरै त्यसका फलहरू काट्ने र गरिबहरूलाई नदिने कसम खाएका थिए ।
१८ अनि उनीहरूले आफ्नो कसममा (इन् शाअल्लाह) समावेश गरेनन् ।
१९ अनि अल्लाहले आगो पठाउनुभयो जसले उनीहरू सुतिरहेको बेला त्यसलाई नष्ट पार्यो । उनीहरूले त्यसलाई आगोबाट बचाउन सकेनन् ।
२० अनि अँध्यारो रात सरह त्यो पनि कालो भयो ।
२१ बिहान उनीहरूले एक अर्कालाई बोलाए ।
२२ उनीहरूले भनेः यदि तिमीहरू फलहरू टिप्न चाहन्छौ भने गरिबहरू आउनु अघि बिहानै आफ्नो खेत जाऊ ।
२३ उनीहरू हतारिएर आफ्नो बगैंचा भित्र गए अनि एक अर्कासँग बिस्तारै कुरा गर्दै थिए ।
२४ उनीहरूले एक अर्कालाई भनेः आज तिमीहरूको बगैंचामा कुनै गरिब पस्न नपाओस् ।
२५ उनीहरू बिहान चाँडै बाहिर निस्के र फल दान हुनबाट रोक्न तत्पर भए ।
२६ जब उनीहरूले त्यसलाई बल्दै गरेको देखे उनीहरूले आपसमा भन्न थालेः हामीले बाटो बिरायौं ।
२७ तर हामीलाई त्यसका फलहरू टिप्नबाट रोकिएको छ किनकि हामीले गरिबहरूलाई उनीहरूको अंश लिनबाट रोकेका छौं ।
२८ उनीहरूमध्ये सर्वश्रेष्ठले भन्योः के तिमीहरू अल्लाहको महिमा गर्ने र उहाँसमक्ष पश्चाताप गर्ने सोँच राख्दैनौ भनी के मैले तिमीहरूलाई भनेको थिइन जब तिमीहरूले गरिबहरूलाई वञ्चित गर्ने निर्णय गरेका थियौ ?
२९ उनीहरूले भनेः हाम्रा पालनकर्ता पवित्र हुनुहुन्छ । हाम्रो बगैंचाका फलहरू गरिबहरूलाई नदिने सोँच बनाएर हामीले आफैमाथि अत्याचार गर्यौं ।
३० त्यसपछि उनीहरूले एक अर्कालाई दोष दिन थाले ।
३१ उनीहरूले पश्चाताप गर्दै भनेः कस्तो दुर्भाग्य हाम्रो ! वास्तवमा, हामीले गरिबहरूलाई उनीहरूको अधिकारबाट वञ्चित गरेर सबै सीमा उल्लङ्घन गरेका छौं ।
३२ आशा छ, हाम्रो पालनकर्ताले हामीलाई हाम्रो बगैंचाभन्दा उत्तम कृपा दिनुहुनेछ । वास्तवमा, हामी मात्र अल्लाहको भलाइ चाहन्छौं, उहाँसँग क्षमाको आशा राख्छौं र उहाँको अनुग्रह माग्छौं ।
३३ जो हाम्रो अवज्ञा गर्छन् हामी उनीहरूलाई यसरी नै जीविकाबाट वञ्चित गरेर यातना दिन्छौं । तर आखिरतको यातना झन् कठोर हुनेछ । यदि उनीहरूलाई त्यस यातनाको कठोरता र त्यसको निरन्तरताको विषयमा थाहा भए कति राम्रो हुनेथ्यो ।
३४ वास्तवमा, अल्लाहको आदेशको पालना गरेर र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर उहाँको डर राख्नेहरूका लागि उनीहरूको पालनकर्ताकहाँ अनुग्रहले भरिएको स्वर्ग रहेको छ जहाँ उनीहरू अनन्त अनुग्रहको आनन्द लिनेछन् ।
३५ मक्काका मुश्रिकहरूले सोँचे झैं हामी मस्लिमहरूलाई र काफिरहरूलाई समान प्रतिदान दिने छैनौं ।
३६ हे मुश्रिकहरू हो ! तिमीहरूलाई के भयो, तिमीहरूले यो अन्यायपूर्ण विकृत निर्णय कसरी गरेको ?
३७ के तिमीहरूसँग यस्तो किताब छ जसमा आज्ञाकारी र अनाज्ञाकारीहरू बराबर हुन् भनी लेखेको तिमीहरूले पढेका छौ ?!
३८ वास्तवमा, त्यस किताबमा आखिरतको विषयमा तिमीहरूले आफ्नो लागि रोजेको कुराहरू छन् ।
३९ वा तिमीहरूले रोजेको कुरा पाउनेछौ भनी तिमीहरूले हामीसित समझौता गरेका छौ जसलाई कसमले सुदृढ पारिएको छ ।
४० हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्तो कुरा गर्नेहरूलाई सोध्नुहोस्- कसले यसको जिम्मेवारी बोकेको छ ?
४१ के अल्लाह बाहेक उनीहरूको अरू सहयोगीहरू छन् जो उनीहरूलाई मोमिनहरू जति नै प्रतिदान दिन्छन् । त्यसो भए उनीहरूले ती सहयोगीहरूलाई ल्याउन् यदि मोमिनहरू जति नै उनीहरूले पनि प्रतिदान पाउने दावीमा उनीहरू सच्चा छन् भने ।
४२ कयामतको दिन जब त्रास आरम्भ हुनेछ र अल्लाहले महान घट्नालाई जाहेर गर्नुहुनेछ । अनि जब मानिसहरूलाई सज्दा गर्न भनिनेछ तब मोमिनहरूले सज्दा गर्नेछन् तर काफिरहरू र कपटीहरू सज्दा गर्न सक्नेछैनन् ।
४३ तिनीहरूको आँखा झुकेको र तिनीहरूलाई अपमान र पश्चातापको भावले ढाकेको हुनेछ । वास्तवमा, जीवनमा उनीहरूलाई अल्लाहसमक्ष सज्दा गर्न भनिएको थियो र वर्तमान अवस्थाभन्दा राम्रो अवस्थामा थिए ।
४४ तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंमाथि अवतरित कुर्आनलाई नकार्नेहरूलाई मेरो जिम्मामा छोड्नुहोस् । हामी बिस्तारै बिस्तारै उनीहरूलाई त्यहाँबाट सजाय दिनेछौं जहाँबाट उनीहरूले यसको आशा गरेका हुनेछैनन् । वास्तवमा, यो तिनीहरू विरूद्ध योजना र परिक्षा हो ।
४५ अनि म उनीहरूलाई थप समय प्रदान गर्दछु जस कारणले उनीहरू लगातार पाप गरिरहनेछन् । वास्तवमा, काफिर र झूठाहरू विरूद्ध मेरो योजना बलियो रहेको छ । उनीहरू मबाट उम्कन र मेरो यातनाबाट बच्न सक्नेछैनन् ।
४६ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंले उनीहरूबाट आह्वान गरे बापत बदला माग्नु भएको छ ? त्यसकारण यो उनीहरूको लागि बोझिलो कुरा भएको छ र उनीहरूले तपाईंलाई नकार्नुको कारण बनेको छ । तर वास्तविकता यसको विपरित रहेको छ । तपाईं उनीहरूबाट कुनै बदला माग्नुहुन्न । त्यसो भए, उनीहरूलाई तपाईंको अनुसरण गर्नबाट कुन कुराले रोकेको छ ?
४७ वा उनीहरूसँग अदृश्यको ज्ञान छ जसलाई उनीहरू लेखिरहेका छन् र त्यसलाई प्रयोग गरी तपाईंसँग विवाद गर्दछन् ?
४८ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ताले उनीहरूलाई अवसर प्रदान गर्ने गर्नुभएको फैसलामा धैर्य गर्नुहोस् । माछावाला यूनुस (अलैहिस्सलाम) जस्तो नहुनुहोस् जब उनले आफ्नो समुदायको विषयमा गुनासो गरे । उनले समुद्रको र माछाको पेटको अन्धकारमा दुःखित भएको बेला आफ्ना पालनकर्तालाई पुकारे ।
४९ यदि उनीमाथि अल्लाहको कृपाले नभएको भए, माछाले उनलाई निन्दनीय अवस्थामा उजाड भूमिमा फ्याँक्ने थियो ।
५० अनि उनका पालनकर्ताले उनलाई रोज्नुभयो र उनलाई सचरित्र भक्तहरूमध्येको बनाउनुभयो ।
५१ जो अल्लाहमाथि आस्था राख्दैनन् र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठो ठहर गर्छन् जब उनीहरू तपाईंमाथि अवतरित कुर्आन सुन्छन् तेजिलो आँखाले यसरी हेर्छन् मानौं तपाईंलाई लडाउनेछन् अनि आफ्नो चाहनाको अनुसरण गरेर र सत्यताबाट अनुहार फेरेर भन्छन्- कुर्आन साथमा ल्याउने रसूल त पागल हो ।
टिप्पणियाँ
एक टिप्पणी भेजें