शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हा० मीम० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । २. यो कुरआन अल्लाहले अवतरण गर्नुभयो जो प्रभुत्वशाली हुनुहुन्छ, जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ सर्वज्ञ हुनुहुन्छ, उहाँ आफ्ना भक्तहरूका हीत र आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) का हीतलाई जान्नुहुन्छ । ३. अल्लाह पापीहरूका पापहरूलाई माफ गर्नेवाला, तौबा गर्नेहरूका तौबा स्वीकारकर्ता, तौबा नगर्नेहरूलाई सजाय दिनेवाला र परोपकारीहुनुहुन्छ । उहाँबाहेक कोही वास्तविक पूज्य छैन । महाप्रलयको दिन सबै भक्तहरूले फर्केर मात्र उहाँतर्फ नै जानुपर्छ । अनि अल्लाहले तिनीहरूलाई उचित बदला दिनुहुनेछ । ४. काफिरहरू नै अल्लाहका श्लोकहरूबारे वादविवाद गर्छन् । काफिरहरू यस्ता श्लोकहरूबारे वादविवाद गर्छन् जसले यस कुरालाई प्रमाणित गर्छन् कि अल्लाह मात्र भक्ति योग्य हुनुहुन्छ र रसूलहरू सत्य हुन् । तपाईं तिनीहरूबारे चिन्ता नलिनुहोस् । तिनीहरूका धन सम्पत्तिले तपाईंलाई धोकामा नपारुन् । तिनीहरूलाई समात्नको लागि छुट दिइँदैछ । ५. यिनीहरूअघि नूह (अलैहिस्सलाम...