शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. जब सूर्यलाई बेरिनेछ र त्यसको प्रकाश हराउनेछ ।
२. जब ताराहरू खस्नेछन् र आफ्नो ज्योती गुमाउनेछन् ।
३. जब पहाडहरूलाई आफ्नो ठाउँबाट हल्लाइनेछन् ।
४. जब उनीहरूको सबैभन्दा ठूलो धन गर्भवती ऊँटनीहरूलाई उनीहरूका मालिकहरूले बेवास्ता गरी छोड्नेछन् ।
५. जब जंगली जनावरहरू मानुष्यसँग एकै ठाउँमा भेला पारिनेछन् ।
६. जब समुद्रमा आगो लगाइनेछ ।
७. जब आत्माहरूलाई उसको जस्तै आत्मासँग जोडिनेछ, दुष्टलाई दुष्टसँग र असललाई असलसँग ।
८. जब जिउँदै पुरिएकी बालिकालाई अल्लाहले सोध्नुहुनेछ ।
९. तिम्रो हत्या गर्नेले तिमीलाई कुन अपराधमा हत्या गरेको ?!
१०. हरेकले आफ्नो कर्मपत्र पढ्न सकोस् भनी जब भक्तहरूका कर्मपत्रहरूलाई खोलिनेछ ।
११. जब आकाशलाई हटाइनेछ जसरी भेंडाको छाला हटाइन्छ ।
१२. जब नर्क दन्काइनेछ ।
१३. जब स्वर्गलाई ईशभय राख्नेहरूको नजिक ल्याइनेछ ।
१४. जब यो सबै हुनेछ, हरेक प्राणीले त्यसदिनको लागि के गरेको थियो भनी थाहा पाउनेछ ।
१५. अल्लाहले राती उदाउनुभन्दा पहिलेका लुकेका ताराहरूको कसम खानुभयो ।
१६. यी आफ्ना कक्षमा घुमिरहन्छन् र बिहानको आगमनका साथ हराउँछन् जसरी मृग आफ्नो गुफा अर्थात आफ्नो घरमा पस्छ ।
१७. रातको आगमनमा अल्लाहले त्यसको अगाडिको भागको कसम खानुभयो भने त्यो जाने बेला त्यसको अन्तिम भागको ।
१८. बिहानको प्रकाश छरिने बेला बिहानीको कसम खानुभयो ।
१९. वास्तवमा, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित कुर्आन अल्लाहको वाणी हो । त्यसलाई विश्वसनीय फरिश्ता जिब्रील (अलैहिस्सलाम) ले पुर्याएका हुन् । अल्लाहले उनलाई यसको भार दिनुभएको हो ।
२०. उनी शक्तिशाली हुन्, सिंहासनको मालिकको नजरमा उनी धेरै प्रतिस्थित छन् ।
२१. आकाशबासीहरू उनका आज्ञाकारी हुन् र उनलाई दिइएको वहीको जिम्मेवारीमा उनी भरोसायोग्य छन् ।
२२. अनि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) तिमीहरूले लगाएको आरोप जस्तो पागल हुनुहुन्न । उहाँ तिमीहरूसित लगातार रहनुहुन्छ र तिमीहरू उहाँको विवेक, विश्वसनीयता र सत्यतासित परिचित छौ ।
२३. तिमीहरूको साथीले जिब्रील (अलैहिस्सलाम) लाई स्पष्ट क्षितिजमा उनको वास्तविक रूपमा देख्नुभयो ।
२४. तिमीहरूलाई सन्देश पुर्याउने जिम्मेवारीमा तिमीहरूको साथीले कन्जुस्याइँ गर्नुभएको छैन । अनि उहाँ यसको मजदुरी लिनुहुन्न् जसरी झाँक्री लिन्छ ।
२५. यो कुरआन शैतानको वाणी होइन जो अल्लाहको दयाबाट वञ्चित रहेको छ ।
२६. यी प्रमाणहरूपश्चात तिमीहरू यो अल्लाहको तर्फबाट हो भन्ने कुरा नकार्नको लागि तिमीहरू कहाँ जाँदैछौ ?!
२७. कुरआन जिन र मनुष्यको लागि स्मरण र उपदेश हो ।
२८. जो तिमीहरूमध्ये सत्यको बाटोमा हिँड्न चाहन्छ ।
२९. सत्यको बाटोमा हिँड्नु होस् वा त्यसबाहेकका अन्य कामहरू तिम्रो चाहनाले होइन बरू अल्लाहको चाहनाले हुन्छ । उहाँ सम्पूर्ण सृष्टिका पालनकर्ता हुनुहुन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें