शूरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. मुश्रिकहरूमध्ये एकजनाले आफूमाथि र आफ्नो समुदायमाथि यातना आउने निम्तो दियो यदि यातना आउनेछ भने । यो कुरा उसले ठट्टा गर्दै भन्यो । वास्तवमा, यो यातना कयामतको दिन आउनेछ ।
२. अल्लाहमाथि आस्था नराख्नेहरूलाई कोही पनि त्यस यातनाबाट बचाउन सक्नेछैन ।
३. महानता, प्रतिष्ठा, सत्गुण र कृपाको मालिक अल्लाहको तर्फबाट आउने यातना ।
४. कयामतको दिन फरिश्ताहरू र जिब्रील उहाँतर्फ त्यस दर्जाहरूमा चढ्नेछन् । त्यो दिन पचास हजार वर्ष लामो दिन हुनेछ ।
५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! चिन्तित नभई र गुनासो नगरी धैर्य गर्नुहोस् ।
६. उनीहरू यस यातनालाई टाढा र असम्भव देख्छन् ।
७. तर हामी यसलाई नजिक र अवश्य घट्ने घटना देख्छौं ।
८. त्यसदिन आकाश पग्लिएको तामा, सुन र अन्य धातुहरू जस्तो हुनेछ ।
९. अनि पहाडहरू ऊन जस्तो हल्का हुनेछन् ।
१०. कुनै आफन्तले आफन्तको विषयमा सोध्नेछैन । सबैजना आफैमा व्यस्त हुनेछन् ।
११. हरेक व्यक्तिले आफ्नो आफन्तलाई देख्नेछ, कोही लुकेको हुनेछैन । यससँगै अवस्थाको गम्भिरताको कारण कसैले कसैलाई सोध्नेछैन । जो नर्कका योग्य छन् उनीहरूले आफ्ना सन्तानलाई आफ्नो बदलामा यातना भोग्न आगाडि सार्न खोज्नेछन् ।
१२. उनीहरूले आफ्नी पत्नी र दाजुभाइलाई बलिदान दिनेछन् ।
१३. आफ्नो नजिक हुनेहरूलाई र सँधै विपत्तिमा उनीहरूसँग हुनेहरूलाई बलिदान दिनेछन् ।
१४. पृथ्वीका मनुष्य, जिन र सम्पूर्णलाई बलिदान दिनेछन् । अनि त्यस बलिदानले उनीहरूलाई सुरक्षित राख्नेछ र अल्लाहको यातनाबाट बचाउनेछ ।
१५. तर वास्तविकता यी अपराधीहरूले आशा गरे जस्तो होइन । वास्तवमा, आखिरतको आगोले जलाउछ ।
१६. त्यसको तातोले गर्दा टाउकोको छाला नै छिलिन्छ ।
१७. सत्यबाट विमुख हुने, त्यसबाट टाढिने, त्यसमाथि आस्था नराख्ने र त्यसको अनुसरण नगर्ने सबैलाई त्यसले बोलाउनेछ ।
१८. धन जम्मा पार्ने र त्यसलाई अल्लाहको मार्गमा खर्च गर्न लोभ गर्ने सबैलाई ।
१९. वास्तवमा, मनुष्यलाई धेरै लोभ गर्ने स्वभावको सृष्टि गरिएको छ ।
२०. यदि ऊ रोग र गरिबी जस्ता दुर्भाग्यले ग्रसित हुन्छ भने ऊ थोरै धैर्य गर्छ ।
२१. यदि उसलाई अपार सम्पत्ति दिएर समपन्न बनाइन्छ भने ऊ त्यसलाई अल्लाहको मार्गमा खर्च नै गर्दैन ।
२२. तर सलाह पढ्नेहरू बाहेक किनकि उनीहरू यी घृणित गुणहरूबाट सुरक्षित रहन्छन् ।
२३. जो नियमित रूपमा सलाह पढ्छन्, यसबाट उनीहरूको ध्यान भङ्ग हुँदैन र निर्धारित समयमा पढ्ने गर्छन् ।
२४. जो आफ्नो धन-सम्पत्तिबाट निश्चित भाग राखेका छन् ।
२५. कुनै पनि कारण पर्याप्त जीविकाबाट वञ्चितहरूमध्येबाट सहयोग माग्नेहरूलाई र नमाग्नेहरूलाई दिन्छन् ।
२६. जो कयामतको दिनलाई सत्य मान्छन् जुन दिन अल्लाहले सबैलाई उनीहरू योग्य भएको कुराको फैसला गर्नुहुनेछ ।
२७. जो सत्कर्म गरे तापनि आफ्ना पालनकर्ताको यातनाबाट डराउछन् ।
२८. वास्तवमा, यिनीहरूको पालनकर्ताको यातना डरलाग्दो रहेको छ । बुद्धिमान व्यक्ति त्यसबाट स्वयंलाई सुरक्षित ठान्दैन ।
२९. जो आफ्ना गुप्ताङ्गलाई छोपेर र त्यसलाई अश्लील कार्यहरूबाट टाढा राखेर त्यसको सुरक्षा गर्छन् ।
३०. आफ्नी पत्नीहरू र दासीहरू बाहेक किनकि उनीहरूसँग सम्बन्ध राख्नाले उनीहरू निन्दाबाट मुक्त छन् ।
३१. तर जो आफ्नी पत्नीहरू र दासीहरू बाहेक अरूसँग सम्बन्ध राख्ने चाहना राख्छन् उनीहरू अल्लाहले निर्धारण गर्नुभएको सीमाहरू नाघ्नेहरू हुन् ।
३२. जो उनीहरूलाई सुम्पिएका धन, रहस्य र अन्य कुराहरूको सुरक्षा गर्छन् र मानिसहरूसँग गरेका प्रतिज्ञाहरू पूरा गर्छन् । उनीहरू नासो हिनामिना गर्दैनन् र प्रतिज्ञाहरू तोड्दैनन् ।
३३. जो ईमानदारीकासाथ गवाही दिन्छन् र उनीहरू मित्रता र शत्रुताबाट प्रभावित हुँदैनन् ।
३४. जो समयमा, पवित्रता र आरामका साथ सलाह पढ्छन् । अनि सलाह पढ्नबाट उनीहरूलाई कसैले बहकाउन सक्दैन ।
३५. यी गुणहरू भएकाहरूलाई स्वर्गमा सदाको अनुग्रह र अल्लाहको अनुहार हेर्ने अवसर प्रदान गरी सम्मान गरिनेछ ।
३६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायका यी मुश्रिकहरूलाई कुन कुराले तपाईंको वरिपरी तपाईंलाई झूठो ठहर गर्न भेला पार्यो ?
३७. तिनीहरूले तपाईंलाई दायाँ र बाँयाबाट बिभिन्न समूहमा घेरेका छन् ।
३८. के यिनीहरूमध्ये प्रत्येकले काफिर हुँदा हुँदै पनि अल्लाहले उसलाई अनुग्रहले भरिएका स्वर्गमा प्रवेश गराउनुहुनेछ र त्यहाँका सदा रहने अनुग्रहहरूबाट फाइदा लिनेछ भनी आशा राखेको छ ?
३९. परिस्थिति उनीहरूले सोँचे जस्तो होइन । वास्तवमा, उनीहरूलाई थाहा भएको कुराबाट हामीले उनीहरूको सृष्टि गर्यौं । हामीले उनीहरूलाई तुच्छ पानीले सृष्टि गर्यौं । उनीहरू कमजोर छन् र उनीहरू आफ्ना लागि फाइदा वा हानीको क्षमता राख्दैनन् । तसर्थ उनीहरू कसरी घमण्ड गर्न सक्छन् त ?
४०. सूर्य, चन्द्र र सम्पूर्ण ग्रहहरू उदाउने र अस्ताउने ठाउँहरूको मालिक अल्लाहले आफ्नो कसम खाएर भन्नुभयोः वास्तवमा हामी सक्षम छौं ।
४१. उनीहरूको सट्टा अल्लाहको अनुसरण गर्नेहरूलाई ल्याउन र उनीहरूलाई नष्ट पार्न (हामी सक्षम छौं) । यो हाम्रो लागि असम्भव कुरा होइन । यदि हामीले उनीहरूलाई नष्ट पार्ने र उनीहरूको सट्टा अरूलाई ल्याउने निर्णय गर्यौं भने हामी पराजित हुनेछैनौं ।
४२. तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई तबसम्म आफ्नै असत्यता र पथभ्रष्टतामा छोड्नुहोस् र संसारको जीवनमा रमाउन दिनुहोस् जबसम्म उनीहरूले कुर्आनमा दिएको कयामतको दिनको चेतावनी देख्नेछन् ।
४३. उनीहरू आफ्ना चिहानहरूबाट यसरी निस्कनेछन् मानौं उनीहरू एउटा झन्डातिर दौडिरहेका छन् ।
४४. उनीहरूको आँखा लाजले झुकेका हुनेछन् र उनीहरू अपमानमा डुबेका हुनेछन् । यही त्यो दिन हो जसको वाचा संसारमा उनीहरूसँग गरिएको थियो तर उनीहरू त्यसको मतलब राख्दैन थिए ।
टिप्पणियाँ
एक टिप्पणी भेजें