सीधे मुख्य सामग्री पर जाएं

६९) सूरह अल्-हाक्कह

 शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट



१. अल्लाहले सबैको लागि आउने कयामतको पलको उल्लेख गर्नुभयो ।
२. अवश्य आइछाड्ने घट्ना के हो ? यो प्रश्न गरी उहाँले त्यसको महत्वलाई दर्शाउनुभयो ।
३. तपाईंलाई यस घटनाको विषयमा के थाहा छ ?
४. सालिह (अलैहिस्सलाम) को समुदाय समूद र हूद (अलैहिस्सलाम) को समुदाय आदले कयामतलाई नकारे जसले धेरै नै भयावह भएको कारणले मानिसहरूलाई आघात पुर्याउनेछ ।
५. समूदलाई अल्लाहले अति नै चर्को स्वरद्वारा नष्ट पार्नुभयो ।
६. आदलाई अल्लाहले अति नै चिसो र डरलाग्दो आँधीले नष्ट पार्नुभयो ।
७. अल्लाहले त्यस आँधीलाई सात रात र आठ दिनको लागि चलाउनुभयो । त्यसले सबैलाई नष्ट पार्यो । तपाईंले तिनीहरूले आफ्ना घरको भुइँमा दयनीय अवस्थामा पछारिएको देख्नुहुनेछ । मानौं, उनीहरू आफ्नो विनाशपछि जमिनमा फालिएका खजूरका जराहरू जस्ता थिए ।
८. उनीहरूमाथि आएको यातनापछि के तपाईंले उनीहरूमध्ये कसैलाई पनि बचेको देख्नुभयो ?
९. फिर्औनले, ऊभन्दा पहिलेका समुदायहरूले र उल्टो पारेर यातना दिइएका लूत (अलैहिस्सलाम) को समुदायका नगरहरूले शिर्क र अवज्ञा जस्ता नराम्रा आचरण अपनाएका थिए ।
१०. ती सबैले उनीहरूतर्फ पठाइएका रसूलको अवज्ञा गरे र उनलाई झूठो ठहरू गरे । अल्लाहले उनीहरूलाई घोर यातनाले समात्नुभयो जसले उनीहरूलाई नष्ट पार्यो ।
११. वास्तवमा, जब पानीले उचाईको सीमा नाघ्यो, हामीले तपाईंका पुर्खाहरूलाई डुङ्गामा चढायौं जसको निर्माण नूह (अलैहिस्सलाम) ले हाम्रो आदेशले गरे र त्यो तिमीहरूको पनि सवार हुने साधन बन्यो ।
१२. अनि यस डुङ्गालाई र यसको कथालाई काफिरहरूलाई नष्ट पार्ने र मोमिनहरूलाई सुरक्षा प्रदान गर्ने प्रमाण स्वरूप उपदेश बनाइयो र यसलाई कानले सुन्नेहरूको लागि सुरक्षित पार्नेछ ।
१३. जब सूर फुक्ने जिम्मा पाएको फरिश्ताले दोस्रो पटक सूर फुक्नेछ ।
१४. पृथ्वी र पहाडहरूलाई माथि उठाइनेछ अनि सबैलाई एकै पटकमा धुलो पारिनेछ ।
१५. जुन दिन यो सबै हुनेछ त्यो दिन नै कयामतको दिन हुनेछ ।
१६. त्यसदिन फरिश्ताहरूको अवतरणले आकाश चिरिनेछ । आकाश दृढ र कडा भएता पनि त्यसदिन सजिलै भाँचिने हुनेछ ।
१७. फरिश्ताहरू त्यसको किनारामा हुनेछन् । त्यस महान दिन आठ जाना नजिकका फरिश्ताहरूले तपाईंको पालनकर्ताको सिंहासनलाई उठाएका हुनेछन् ।
१८. हे मानिसहरू हो ! त्यसदिन तिमीहरूलाई अल्लाहसमक्ष पेश गरिनेछ । तिमीहरूका रहस्यहरूमध्ये कुनै पनि अल्लाहबाट लुकेको हुनेछैन । बरू अल्लाहलाई सबै कुराहरूको ज्ञान छ ।
१९. जसलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ उसले खुशी र हर्षले भन्नेछः लिऊ, मेरो कर्मपत्र पढ ।
२०. मलाई पुनः जीवित पारिनेछ र बदला दिइनेछ भनी मलाई संसारमा थाहा थियो र विश्वास थियो ।
२१. उसले प्राप्त गर्ने अनन्त अनुग्रहको कारण ऊ सुखद जीवनमा हुनेछ ।
२२.  ऊ उच्च र प्रतिष्ठित स्वर्गमा हुनेछ ।
२३. त्यसका फलहरू खानेहरूका लागि धेरै नजिक हुनेछन् ।
२४. उनीहरूको सम्मानमा भनिनेछः खाऊ र पिऊ । त्यहाँ खाना र पिउनाले कुनै नोक्सान गर्दैन । बितेका दिनहरूमा संसारमा तिमीहरूले गरेका असल कार्यहरूको परिणाम स्वरूप यो तिमीहरूलाई दिइएको हो ।
२५. अनि जसलाई उसको कर्मपत्र उसको देब्रे हातमा दिइनेछ, उनीहरूले पछुताएर भन्नेछन्- यदि मैले मेरो कर्मपत्र प्राप्त नगरेको भए हुनेथ्यो किनकि यसमा मलाई यातनाको हकदार बनाउने मेरा दुष्कर्महरूको उल्लेख गरिएको छ ।
२६. यदि मलाई मेरो हिसाबको विषयमा केही पनि थाहा नभएको भए राम्रो हुनेथ्यो ।
२७. यदि मेरो अन्त भएको मृत्यु नै निर्णायक मृत्यु भएको भए र मलाई पुनः जीवित नपारिएको भए राम्रो हुनेथ्यो ।
२८. मेरो सम्पत्तिले मलाई अल्लाहको यातनाबाट रत्ती भर पनि बचाउन सकेन ।
२९. मेरो प्रमाण र मैले भर परेको शक्ति र प्रतिष्ठा हरायो ।
३०. अनि भनिनेछः हे फरिश्ताहरू हो ! उसलाई समात र उसको हातलाई उसको घाँटीको वरिपरि बाँध ।
३१. अनि उसलाई नर्कमा हाल र उसलाई त्यसको गर्मी सहन देऊ ।
३२. त्यसपछि उसलाई सत्तरी हात लामो जञ्जीरमा जकडिदेऊ ।
३३. वास्तवमा, ऊ महान अल्लाहमाथि आस्था राख्दैन थियो ।
३४. अरूलाई गरिबहरूलाई खाना खुवाउन प्रोत्साहित गर्दैनथ्यो ।
३५. कयामतको दिन उसलाई यातनाबाट बचाउने कोही नातेदार हुनेछैन ।
३६. उसले नर्कबासीहरूको शरीरबाट निस्केको तरल पदार्थ मात्र खान पाउनेछ ।
३७. यो खाना पापीहरू र अवज्ञाकारीहरूले मात्र खानेछन् ।
३८. तिमीहरू जे देख्छौ अल्लाहले त्यसको कसम खानुभयो ।
३९. अनि तिमीहरू जे देख्दैनौ अल्लाहले त्यसको कसम खानुभयो ।
४०. वास्तवमा, कुर्आन अल्लाहको वाणी हो । उहाँका प्रतिष्ठित रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मानिसहरूलाई त्यसको बाचन गरेर सुनाउनुहुन्छ ।
४१. यो कविको कथन होइन किनकि यो कविताको शैलिमा भनिएको छैन । तिमीहरू कमै आस्था राख्छौ ।
४२. अनि यो ज्योतिषीको कथन पनि होइन । ज्योतिषीको कथन कुर्आनभन्दा भिन्दै हुन्छ । तिमीहरू कमै विचार गर्छौ ।
४३. बरू यसलाई सम्पूर्ण सृष्टिको पालनकर्ताको तर्फबाट अवतरण भएको हो ।
४४. यदि हामीले नभनेको कुरा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले स्वयं रचेर ल्याउनुभएको भए ।
४५. हामी उहाँसँग बदला लिने थियौं र उहाँलाई बल र शक्तिका साथ समात्ने थियौं ।
४६. अनि हामी उहाँको मुटुको नसा नै काट्ने थियौं ।
४७. अनि तिमीहरूमध्ये कसैले पनि हामीलाई रोक्न सक्दैन । उहाँले हाम्रो नाम लगाएर आफ्नो मनबाट कुनै कुरा रच्नु असम्भव छ ।
४८. वास्तवमा, आफ्नो पालनकर्ताको कुराहरूको अनुसरण गरेर र उहाँले रोक्नुभएको कुराबाट बचेर उहाँसँग डराउनेहरूको लागि यो कुर्आन एउटा उपदेश हो ।
४९. वास्तवमा, तिमीहरूमध्ये यस कुर्आनलाई झूठो ठहर गर्नेहरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ ।
५०. कयामतको दिन कुर्आनलाई झूठो ठहर गर्नु सबैभन्दा ठूलो पश्चातापको कारण हुनेछ ।
५१. वास्तवमा, कुर्आन अति विश्वसनीय सत्य हो र यो अल्लाहको तर्फबाट आएको कुरामा कुनै शंका छैन ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो पालनकर्तालाई शोभा दिने तरिकाले उहाँको पवित्रता बयान गर्नुहोस् र आफ्नो महान पालनकर्ताको नामको बखान गर्नुहोस् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...