सीधे मुख्य सामग्री पर जाएं

३८- सूरह साद (मक्की)

  शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. साद । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । यसमा कुरआनको कसम खाइएको छ, जसमा मानिसहरूलाई लोक र परलोकमा काम लाग्ने उपदेशहरू छन् । मामिला त्यस्तो छैन जस्तो बहुदेववादीहरूले ठानेका छन् कि अल्लाहसँग अन्य साझेदारहरू पनि छन् । 
२. तर काफिरहरू घमण्डले गर्दा एक अल्लाहको भक्ति गरि रहेका छैनन् । तिनीहरू मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) सित शत्रुताले गर्दा विरोध गर्छन् ।
३. यिनीहरूअघि रसूलहरूलाई झूठा ठहर गर्ने कतिपय समुदायहरूलाई हामीले सर्वनाश गर्यौं । प्रकोप आउँदा तिनीहरूले मद्दतको लागि पुकारे । तर त्यो समय प्रकोपबाट बच्ने समय थिएन, त्यसैले मद्दतको लागि पुकारले तिनीहरूलाई कुनै फाइदा दिएन ।
४. जब तिनीहरूसमक्ष तिनीहरूमध्येबाट रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन भयो तब तिनीहरूले अचम्म माने । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले तिनीहरूलाई अल्लाहको प्रकोपबाट डराउनुभयो तर तिनीहरू कुफ्रमै जिद्दी गरे । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनु भएको सन्देश सत्य हो भन्ने कुराको पुष्टि गर्ने प्रमाणहरू देखेपछि तिनीहरूले भने− यो जादूगर व्यक्ति हो जो मानिसहरूमाथि जादू गर्छ । ऊ अल्लाहको रसूल हो र उसमाथि वही अवतरण हुन्छ भन्ने झूठो दावी गर्छ  । 
५. के यस व्यक्तिले विभिन्न भगवानहरूलाई एक बनाइदियो, जो बाहेक अन्य कोही ईश्वर छैन ? उसले त अचम्म काम गरेको छ ।
६. ठूला बडाहरूले अनुयायीहरूलाई भने− तिमीहरू आफ्नो धर्ममा कायम रह र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को धर्ममा प्रवेश नगर । तिमीहरू भगवानहरूको पूजामा कायम रह । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) जुन एक अल्लाहको भक्तितर्फ बोलाउँदैछ त्यो उसको चाल हो, ऊ हामीहरू भन्दा ठूलो बन्न चाहन्छ र मानिसहरूलाई आफ्नो अनुयायी बनाउन चाहन्छ ।
७. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले गरेको एक अल्लाहको भक्तिको कुरा हामीले आफ्ना पूर्वजहरूमा र ईसा (अलैहिस्सलाम) को समुदायमा सुनेका छैनौं  । उसबाट हामी जे सुन्दैछौं त्यो झूठो र रचेको कुरा हो ।    
८. के यो कुरा ठीक हुन सक्छ कि हामीहरूबीच विशेषरूपमा उसमाथि कुरआन अवतरण भयो जबकि हामीहरू अगुवा हौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंमाथि अवतरण भएको वही (प्रकाशना) बारे यी बहुदेववादीहरू शङ्कामा छन् । तिनीहरूले अहिले सम्म अल्लाहको प्रकोपको स्वाद चाखेका छैनन्, त्यसैले हामीले दिएको अवसरले गर्दा तिनीहरू धोकामा छन् । यदि तिनीहरूले प्रकोपको स्वाद चाखेका भए तिनीहरूले कुफ्र, शिर्क र शङ्कामा पर्ने थिएनन् ।
९. के यी झूठा ठहर गर्ने बहुदेववादीहरूसँग अल्लाहको वरदानको खजाना छ ? अल्लाह प्रभुत्वशाली हुनुहुन्छ, उहाँमाथि कोही विजयी हुन सक्दैन, उहाँ जसलाई चाहनुहुन्छ र जे चाहनुहुन्छ प्रदान गर्नुहुन्छ । अल्लाहका खजानाहरूमध्ये ईश्दूतत्व पनि हो । उहाँ जसलाई चाहनुहुन्छ ईश्दूतत्व प्रदान गर्नुहुन्छ । यो तिनीहरूको अधिकार होइन कि जसलाई चाहुन् प्रदान गरुन् र जसलाई चाहुन् वञ्चित राखुन् ।
१०. के तिनीहरू आकाशहरू, पृथ्वी र यी दुवैबीच रहेका वस्तुहरूका मालिक हुन् कि जसलाई चाहुन् प्रदान गरुन् र जसलाई चाहुन् वञ्चित राखुन् ? यदि तिनीहरू यस्तो ठान्छन् भने तिनीहरूले आकाशसम्म डोरी तानुन् अनि त्यहाँ चढेर केही दिने वा नदिने आदेश देउन् । तिनीहरू यसको शक्ति राख्दैनन् ।    
११. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठा ठहर गर्नेहरू पराजित भएका सैनिकहरू हुन् । जसरी विगतमा रसूलहरूलाई झूठा ठहर गर्नेहरू पराजित भएका थिए । 
१२. झूठा ठहर गर्नेहरूमध्ये यी पहिला होइनन् । यसअघि नूह (अलैहिस्सलाम) को समुदाय र आदले पनि झूठा ठहर गरे । फिरऔनले पनि झूठा ठहर गरेको थियो जो चुकुलबाट मानिसहरूलाई पीडा दिने गर्थ्यो । 
१३. समूद, लूत (अलैहिस्सलाम) र शुएब (अलैहिस्सलाम) का समुदयहरूले पनि झूठा ठहर गरेका थिए । यही समुदायहरूले रसूलहरूलाई झूठा ठहर गरेका थिए र उनीहरूले ल्याएको सन्देशलाई इन्कार गरेका थिए । 
१४. यी समुदायहरूले रसूलहरूलाई झूठा ठहर गरे अनि तिनीहरूमाथि अल्लाहको प्रकोप अवतरित भयो, यद्दपि तिनीहलाई अवसर दिइयो । 
१५. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठा ठहर गर्नेहरू दोस्रो पटक शङ्खमा फुकिने प्रतीक्षा गर्दैछन् । जहाँबाट फर्कने कुनै मौका हुने छैन । झूठो ठहर गरेको अवस्थामा मरेपछि तिनीहरूलाई यातना दिइनेछ । 
१६. तिनीहरूले ठट्टा गर्दै भने− हामीहरूलाई हाम्रो भाग्यको यातना महाप्रलयअघि नै सांसारिक जीवनमा नै तत्कालै दिनुहोस् ।
१७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्नेहरूले भनेको कुरामा धैर्य गर्नुहोस्, जो तपाईंले मन पराउनुहुन्न । हाम्रो भक्त दाऊद (अलैहिस्सलाम) लाई याद गर्नुहोस्, जो शत्रुहरूमाथि शक्तिशाली थिए, अडिग भएर अल्लाहको आज्ञापालन गर्थे, तौबा गरेर अल्लाहतर्फ फर्कने गर्थे र अल्लाहलाई खुशी पार्नको लागि सत्कर्म गर्थे ।
१८. हामीले पहाडलाई उनको अधिनमा दिएका थियौं । जब उनी बिलुका र बिहानि अल्लाहको पवित्रताको गुणगान गर्थे तब उनको साथमा पहाड पनि गुणगान गर्थ्यो । 
१९. हामीले हावामा उडि रहेका चराहरूलाई पनि उनको अधिनमा दियौं, जो आज्ञापालन गर्दै उनको साथमा अल्लाहको पवित्रताको गुणगान गर्थे ।
२०. हामीले उनलाई शान, शक्ति र शत्रुहरूमाथि सहयोग गरेर उनको सत्ता-शासनलाई सुदृढ पार्यौं । हामीले उनलाई ईश्दूतत्व, मामिलाहरूको समझ, स्पष्ट कुरा गर्ने शक्ति, वक्तब्य कला र निर्णय शक्ति प्रदान गर्यौं ।
२१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंलाई परस्पर झगडा गर्ने दुई गुटहरूको बारेमा समाचार पाउनुभयो, जब तिनीहरू दाऊद (अलैहिस्सलाम) को भक्ति-स्थलमा चढे, 
२२. तिनीहरू अकस्मात उनीसमक्ष पुगे । तिनीहरू अकस्मात र अनुचित तरिकाले पस्दा उनी डराए । जब उनी डराएको कुरा तिनीहरूले महसुस गरे तब भने− नडराउनुहोस्, हामीहरू दुवै प्रतिपक्षी हौं, एकले अर्कोमाथि अत्याचार गरेको छ । हामीहरूबीच निसाफका साथ निर्णय गरिदिनुहोस्, निर्णय गर्दा कसैमाथि जियादती नगर्नुहोस् र हामीहरूलाई ठीक मार्ग देखाउनुहोस् ।  
२३. एक पक्षले दाऊद (अलैहिस्सलाम) लाई भन्यो− यो व्यक्ति मेरो भाइ हो र योसँग ९९ वटा भेडीहरू छन् र मसँग एउटा भेडी मात्र छ । मेरो भाइ त्यसलाई पनि माग्दैछ र तर्क वितर्कमा मलाई पराजित गरेको छ । 
२४. दाऊद (अलैहिस्सलाम) ले निर्णय गर्दै दावी गर्नेलाई भने− तिम्रो भाइले तिमीसँग रहेको एउटा भेडी मागेर तिमीमाथि जियादती गरेको छ । धेरै साझेदारहरू अर्काको हक मारेर र निसाफ नगरेर जियादती गर्ने गर्छन् । तर सत्कर्मी मोमिनहरू साझेदारहरूसँग निसाफ गर्छन् र जियादती गर्दैनन् । तर यस्ता मानिसहरूको संख्या कम छ । यस झगडाद्वारा हामीले दाऊद (अलैहिस्सलाम) लाई परीक्षामा हालेकाछौं भन्ने कुरामा उनलाई विश्वास भयो । अनि उनले अल्लाहसित माफि मागे, सज्दामा खसे र तौबा गरे ।
२५. हामीले उनको तौबालाई स्वीकार गर्यौं र उनलाई माफ गर्यौं । उनी हाम्रा निकटतम भक्तहरूमध्ये थिए । आखिरतमा पनि उनको लागि राम्रो बास-स्थान छ ।
२६. हे दाऊद (अलैहिस्सलाम) ! हामीले तिमीलाई धर्तीमा आदेशहरू र सांसारिक निर्णय लागु गर्नको लागि खलीफा (उत्तराधिकारी) बनायौं । अतः मानिसहरूबीच निसाफका साथ निर्णय गर । मानिसहरूबीच निर्णय गर्दा इच्छाको अनुसरण नगर । नातेदारी, मित्रता वा शत्रुताले गर्दा पक्षपात नगर । इच्छाको अनुसरणले तिमीलाई सीधा मार्गबाट पथभ्रष्ट पार्नेछ । निस्सन्देह जुन मानिसहरू सीधा मार्गबाट पथभ्रष्ट हुन्छन् हिसाबको दिन तिनीहरूलाई यस भूलको कारणले कडा यातना भोग्नु पर्छ । यदि तिनीहरूले याद राखेका भए र डराएका भए तिनीहरूले इच्छाको अनुसरण गर्ने थिएनन् ।
२७. हामीले आकाश र पृथ्वीलाई बिना उद्देश्य सृष्टि गरेका छैनौं । यस्तो सोंचाइ काफिरहरू राख्छन् । यस्तो सोचाइ राख्नेहरूमाथि धिक्कार छ । यदि तिनीहरू यसै कुफ्र र अल्लाहको बारेमा गलत सोंचाइमा मर्छन् भने तिनीहरू नर्कमा जानेछन् । 
२८. हामीले कुनै हालतमा पनि सत्कर्मी मोमिनलाई आतङ्कवादी जस्तो बनाउने छैनौं । हामीले कुनै हालतमा पनि ईशभय राख्नेहरूलाई काफिर र कपटी जस्ता बनाउने छैनौं । दुवै खालका मानिसहरूलाई एकनास बनाउनु अल्लाहको लागि उचित छैन । बरु अल्लाहले ईशभय राख्ने मोमिनहरूलाई स्वर्गमा प्रवेश गराएर प्रतिदान दिनुहुन्छ भने अभागि काफिरहरूलाई नर्कको यातना दिएर सजाय दिनुहुनेछ । दुवै खालका मानिसहरूमा ठूलो अन्तर भएकोले दुवैका बदलामा पनि ठूलो अन्तर हुनेछ । 
२९. हामीले धेरै भलाई र फाइदाजनक कुरआन तपाईंमाथि अवतरण गरेका छौं, ताकि मानिसहरूले त्यसका श्लोकहरूमा चिन्तन मनन गरुन् र बुद्धिमानहरूले त्यसबाट पाठ सिकुन् ।
३०. हामीले दाऊद (अलैहिस्सलाम) माथि कृपा गर्दै छोरो सुलैमान (अलैहिस्सलाम) प्रदान गर्यौं, ताकि उनको आँखालाई शितलता प्राप्त होस् । सुलैमान (अलैहिस्सलाम) कति राम्रा भक्त थिए, सधैं तौबा गर्ने र अल्लाहतर्फ फर्कने भक्त ।
३१. याद गर्नुहोस् जब उनीसमक्ष अस्रको सलाहको समयमा असल, तेज र तीन वटा खुट्टामा उभिने र चौथो खुट्टा उठाएर राख्ने घोडाहरू प्रस्तुत गरिए । ती घोडाहरूको प्रदर्शन हेर्दा हेर्दै सूर्य अस्त भयो ।
३२. सुलैमान (अलैहिस्सलाम) ले भने− मैले अल्लाहको स्मरणमाथी सांसारिक धन-सम्पत्ति −जस मध्ये यी घोडाहरू पनि हुन्− लाई प्राथमिक्ता दिएको छु । यहाँ सम्म कि सूर्य अस्त भयो र अस्रको सलाहको समय बित्यो । 
३३. उनले यी घोडाहरूलाई फिर्ता ल्याउने आदेश दिए । घोडाहरू फिर्ता आएपछि उनले तरवारले त्यसको पिँडुला र गर्धन काट्न थाले ।
३४. हामीले सुलैमान (अलैहिस्सलाम) को परीक्षा लियौं र मानवको रूपमा शैतानलाई केही दिनको लागि उनको सिंहासनमा बैठायौं, जसले केही दिन राज काज चलायो । फेरि हामीले सुलैमान (अलैहिस्सलाम) लाई उनको सत्ता फिर्ता दियौं  र शैतानहरूमाथि नियन्त्रण प्रदान गर्यौं । 
३५. सुलैमान (अलैहिस्सलाम) ले भने− हे मेरा पालनकर्ता ! मेरा पापहरूलाई माफ गर्नुहोस्, मलाई यस्तो सत्ता-शासन प्रदान गर्नुहोस् जस्तो सत्ता-शासन अन्य कसैलाई प्रदान नगर्नुहोस् । तपाईं धेरै दानशील हुनुहुन्छ ।
३६. हामीले उनको प्रार्थनालाई स्वीकार गर्यौं, र वायुमाथि उनलाई नियन्त्रण प्रदान गर्यौं, जो उनको आदेशले नम्र हुने गर्थ्यो र उनको उडन खटोलालाई तेज गतिमा उनको इच्छा अनुसार लिएर हिँड्ने गर्थ्यो । 
३७. हामीले शैतानहरूलाई उनको नियन्त्रणमा दियौं, जो उनको आदेश अनुसार काम गर्थे । तिनीहरूमध्ये केही मिस्त्री थिए र केही समुद्रमा डुब्की लगाएर मोती निकाल्ने गर्थे ।
३८. उद्दण्ड शैतानहरू पनि उनको अधिनमा दिइएका थिए । तिनीहरू जकडेर राखिएका थिए, जसले गर्दा हल्लिन पनि सक्दैनथे ।
३९. हे सुलैमान ! यो हाम्रो वरदान हो, जो तिमीले गरेको प्रार्थनालाई स्वीकार गरेर हामीले प्रदान गरेका छौं । तिमीले जसलाई दिन चाहन्छौ देऊ र जसलाई वञ्चित राख्न चाहन्छौ वञ्चित राख । यस बारेमा तिम्रो सोध पूछ हुँदैन ।
४०. निस्सन्देह सुलैमान (अलैहिस्सलाम) हाम्रा निकटतम भक्तहरूमध्ये थिए । उनको बास-स्थान स्वर्ग हो ।
४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हाम्रा भक्त अय्यूब (अलैहिस्सलाम) लाई याद गर्नुहोस्, जब उनले अल्लाहसँग प्रार्थना गरे− मलाई शैतानले कष्ट पुर्याएको छ । 
४२. हामीले आदेश दियौं− खुट्टाले जमिनमा हिर्काऊ । उनले जमिनमा हिर्काउँदा पानीको मूल फुट्यो, अनि उनले त्यसबाट पिउन थाले र नुहाउन थाले । अनि उनका सबै कष्टको निवारण भयो । 
४३. फेरि हामीले उनको प्रार्थनालाई स्वीकार गर्यौं र उनको कष्टलाई निवारण गर्यौं । हामीले कृपा गर्दै र धैर्यको बदला दिँदै उनको परिवार, सन्तान र नाती प्रदान गर्यौं र त्यसमा थपेर दियौं । ताकि धैर्य गर्नेहरूले पाठ लेउन् कि धैर्यको बदला बृद्धि र बढोतरी हो ।
४४. अय्यूब (अलैहिस्सलाम) ले रिसमा श्रीमतिलाई १०० कोर्रा हिर्काउने कसम खाए । हामीले भन्यौं− हे अय्यूब (अलैहिस्सलाम) ! तिमी आफ्नो कसम पूरा गर्नको लागि एउटा झाडूले श्रीमतिलाई हिर्काऊ । आफ्नो कसम नतोड । अनि उनले झाडू लिएर श्रीमतिलाई हिर्काए । हामीले उनलाई परीक्षामा धैर्यवान पायौं । उनी अति राम्रो भक्त थिए । अल्लाहसित धेरै तौबा गर्ने भक्त थिए ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! याद गर्नुहोस् हामीले चयन गरेका भक्तहरूलाई र हामीले पठाएका रसूलहरूः इब्राहीम, इसहाक र याकूब (अलैहिमुस्सलाम) लाई । उनीहरू अल्लाहको आज्ञापालन र उहाँको खुशी प्राप्त गर्नमा शक्तिशाली थिए र सत्यमा विवेकशील थिए । 
४६. आखिरतको स्मरणबाट उनीहरूको हृदयहरूलाई आबाद गरेर, सत्कर्मबाट तयार पारेर र मानिसहरूलाई सत्कर्मको आह्वान गरेर हामीले उनीहरूलाई विशिष्ट पारेर उनीहरूमाथि उपकार गर्यौं । 
४७. उनीहरूलाई हामीले आफ्नो आज्ञापालन, भक्ति र सन्देशलाई मानिसहरूसम्म पुर्याउनको लागि चयन गरेका थियौं । 
४८. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! इब्राहीम (अलैहिस्सलाम) को पुत्र इस्माईल (अलैहिस्सलाम) र यसअ तथा जुल-किफ्ल (अलैहिमस्सलाम) लाई याद गर्नुहोस् र प्रशंसा गर्नुहोस् । उनीहरू प्रशंसाका पात्र छन् र अल्लाहको तर्फबाट चयन गरिएका छन् ।
४९. यो हो उनीहरूको प्रशंसा कुरआनमा । यस्ता ईशभय राख्नेहरूका लागि आखिरतको राम्रो घर छ जो अल्लाहको आदेशको पालना गर्छन् र उहाँले मनाहि गरेको कार्यबाट बच्ने गर्छन् ।
५०. आखिरतको राम्रो घर हो सधैं रहने बगैंचाहरू, जसमा उनीहरू महाप्रलयको दिन प्रवेश गर्नेछन् । स्वर्गका ढोकाहरू उनीहरूको स्वागतको लागि खुल्ला रहनेछन् । 
५१. उनीहरू सजिएका पलङ्गमा अडेस लगाएर बसेका हुनेछन् र नौकरहरूसित नाना प्रकारका फल फुल र पेय पदार्थ ल्याउने आदेश दिरहेका हुनेछन् ।
५२. उनीहरूका लागि मात्र श्रीमानतर्फ हेर्ने दतौरी श्रीमतिहरू हुनेछिन् । 
५३. हे ईशभय राख्नेहरू हो ! यो हो तिमीहरूले सांसारिक जीवनमा गरेका सत्कर्महरूको राम्रो बदला, जसको वाचा तिमीहरूसँग महाप्रलयको दिन गरिएको थियो । 
५४. वर्णन गरिएको बदला हामीले प्रदान गरेको जीविका हो, जो हामीले ईशभय राख्नेहरूलाई महाप्रलयको दिन दिनेछौं । यो कहिले समाप्त नहुने जीविका हो । 
५५. यो हो ईशभय राख्नेहरूको बदला । यसको विपरीत कुफ्र र पाप गरेर सीमा उल्लङ्घन गरेका मानिसहरूको बदला अति नराम्रो बास-स्थान हुनेछ जसमा तिनीहरू महाप्रलयको दिन जानेछन् । 
५६. यो नर्क, जसले तिनीहरूलाई आफ्नो घेरामा लिनेछ । नर्कको आगोबाट तिनीहरू पोलिनेछन् । तिनीहरूका लागि  आगो कै अति नराम्रो बिछ्यौना हुनेछ । 
५७. तिनीहरूलाई उम्लदो पानी र घाउबाट निस्कने पीप पिउनको लागि दिइनेछ जसबाट तिनीहरूका तिर्खा मेटिने छैन ।
५८. आखिरतमा तिनीहरूलाई यी जस्तै अन्य धेरै प्रकारका यातनाहरू दिइनेछ । 
५९. नर्कमा गएपछि तिनीहरूबीच झै-झगडा शुरु हुनेछ । तिनीहरूले एक अर्कासित कुनै वास्ता नरहेको दावी गर्नेछन् । तिनीहरूमध्ये केहीले भन्नेछन्− नर्कमा जाने यो गिरोह तिमीहरूसँगै नर्कमा गएका छन् । तिनीहरूले जवाफ दिनेछन्− तिनीहरूका लागि स्वागत छैन । तिनीहरूले पनि हामीहरू जस्तै नर्कको यातना भोग्नेछन् ।
६०. अनुयायीहरूले अगुवाहरूलाई भन्नेछन्− हे अगुवाहरू हो ! बरु तिमीहरूको स्वागत यहाँ छैन । किनभने तिमीहरूको बहकावामा आएको कारणले हामीहरू नर्कको यातना भोग्दैछौं । ती सबैका लागि नर्कको आगो कति नराम्रो बास-स्थान हो । 
६१. अनुयायीहरूले भन्नेछन्− हे हाम्रा पालनकर्ता ! मार्गदर्शन पुगेपछि हामीहरूलाई पथभ्रष्ट पार्नेहरूलाई नर्कको दोहोरो यातना दिनुहोस् । 
६२. घमण्डीहरूले भने− हामी किन ती मानिसहरूलाई नर्कमा देखि रहेका छैनौं जसलाई संसारमा अभागी र यातनाको हकदार ठान्दथियौं ।
६३. के हामीहरू उनीहरूको ठट्टा गरेर गलती गरेका थियौं कि तिनीहरू यातनाको हकदार होइनन्, वा हामीहरूले ठट्टा गरेर ठीक गरेका थियौं कि तिनीहरू नर्कमा छन् तर हामीहरू तिनीहरूलाई देखिरहेका छैनौं ?!
६४. महाप्रलयको दिन नर्क बासीहरू साँच्चिकै परस्पर झैं झगडा गर्नेछन्, जसको वर्णन हामीले गरेकाछौं । 
६५. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! काफिरहरूलाई भनिदिनुहोस्− म तिमीहरूलाई त्यस यातनाबाट सावधान गर्नको लागि आएकोछु जो तिमीहरूलाई तिमीहरूको कुफ्रको कारणले समात्नेछ । अल्लाहबाहेक कोही पनि भक्ति योग्य छैन । उहाँ आफ्नो महानता, गुणहरू र नामहरूमा एक मात्र हुनुहुन्छ, उहाँ जस्तो कोही पनि छैन । उहाँ प्रभुत्वशाली हुनुहुन्छ, जसले सबै वस्तुहरूलाई आफनो नियन्त्रणमा लिनुभएको छ । 
६६. अल्लाह नै आकाशहरू, पृथ्वी र यी दुवैबीच रहेका वस्तुहरूको पालनकर्ता हुनुहुन्छ । उहाँ आफ्नो शासन-सत्तामा प्रभुत्वशाली हुनुहुन्छ, कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ अति क्षमाशील हुनुहुन्छ, तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ ।
६७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्नेहरूलाई भनिदिनुहोस्− निस्सन्देह कुरआन अति उच्च शान वाला किताब हो । 
६८. तर तिमीहरू यस महान सूचनाबाट विमुख हुन्छौ र त्यसतर्फ ध्यान दिँदैनौ ।
६९. यदि अल्लाहले मतर्फ वही (प्रकाशना) नपठाएको भए र मलाई नसिकाएको भए मलाई मानव जातिको बारेमा फरिश्ताहरूबीच जुन कुरा चलिरहेको छ त्यसको जानकारी हुँदैन थियो ।
७०. अल्लाह नै मतर्फ वही पठाउनुहुन्छ, किनभने म तिमीहरूलाई अल्लाहको यातनाबाट स्पष्टरूपमा सावधान गर्छु ।
७१. याद गर्नुहोस् जब अल्लाहले फरिश्ताहरूलाई भन्नुभयो− म माटोबाट एकजना मानव आदम (अलैहिस्सलाम) को सृष्टि गर्नेछु । 
७२. जब म पूर्णरूपमा आदम (अलैहिस्सलाम) को सृष्टि गर्नेछु, उनको रूपरेखा ठीक पार्नेछु र उनीभित्र आत्मा फुक्नेछु तब तिमीहरू उनलाई ढोग ।
७३. फरिश्ताहरूले अल्लाहको यस आदेशको पालना गरे र सबैले उनलाई सम्मानको लागि ढोगे ।
७४. तर इब्लीसले घमण्डले गर्दा उनलाई ढोगेन । घमण्डले गर्दा अल्लाहको आदेशको उल्लङ्घन गरेर ऊ काफिर बन्यो ।
७५. अल्लाहले भन्नुभयो− हे इब्लीस ! तिमी कुन कारणले आदम (अलैहिस्सलाम) लाई ढोगेनौ, जसलाई मैले आफ्नो हातले सृष्टि गरें ?! के तिमीले घमण्डले गर्दा ढोगेनौ, के तिमी पहिला देखि नै मेरो अगाडि घमण्डी थियौ ?! 
७६. इब्लीसले जवाफ दियो− म आदम (अलैहिस्सलाम) भन्दा श्रेष्ठ छु । तपाईंले मलाई आगोबाट सृष्टि गर्नुभयो र उनलाई माटोबाट सृष्टि गर्नुभयो । उसको विचारमा आगो माटोभन्दा श्रेष्ठ तत्व हो । 
७७. अल्लाहले भन्नुभयो− तिमी स्वर्गबाट निस्क । तिमीमाथि धिक्कार छ ।
७८. महाप्रलयसम्म तिमीलाई स्वर्गबाट निकालिन्छ ।
७९. इब्लीसले भन्यो− मलाई महाप्रलयसम्म अवसर दिनुहोस्, मृत्यु नदिनुहोस् । 
८०. अल्लाहले भन्नुभयो− तिमीलाई अवसर दिइन्छ ।
८१. तिमीलाई एउटा निश्चित दिनसम्म अवसर दिइन्छ जुन दिन तिम्रो सर्वनाश गरिनेछ ।
८२. इब्लीसले भन्यो− तपाईंको प्रभुत्वको कसम ! मैले आदम (अलैहिस्सलाम) का सबै सन्तानहरूलाई पथभ्रष्ट पार्नेछु ।
८३. मात्र ती मानिसहरूलाई बहकाउन सक्दिन जसलाई तपाईंले सुरक्षित राख्नुहनेछ र मात्र आफ्नो भक्तिको लागि विशिष्ट पार्नुहुनेछ ।
८४. अल्लाहले भन्नुभयो− म आफ्नो तर्फबाट सत्य कुरा मात्र भन्छु, सत्यबाहेक केहि भन्दिन ।
८५. महाप्रलयको दिन तिमीबाट र मानवहरूमध्ये तिम्रो अनुयायीहरूबाट म अवश्य नै नर्कलाई भर्नेछु ।
८६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्−  म जे जति उपदेश तिमीहरूलाई दिँदैछु त्यसको कुनै बदला तिमीहरूसित माग्दिन र मलाई त्यसको जिम्मा पनि दिइएको छैन ।
८७. कुरआन मानव र जिन्नमध्ये क्षमतावानहरूका लागि उपदेश हो । 
८८. कुरआनले दिएको सूचना सत्य हो भन्ने कुरा चाँडै नै मृत्युको समयमा तिमीहरूले अवश्य नै जान्नेछौ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...