सीधे मुख्य सामग्री पर जाएं

३७. सूरह अस्-साफ्फात (मक्की)

 शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. म ती फरिश्ताहरूको कसम खान्छु जो पङ्कतिबद्ध भएर अल्लाहको भक्ति गर्छन् । 
२. म ती फरिश्ताहरूको कसम खान्छु जो बादललाई हप्काउँछन् र अल्लाहले जहाँ पानी बर्साउन चाहनुहुन्छ त्यहाँ हाँकेर लग्छन् । 
३. म ती फरिश्ताहरूको कसम खान्छु जो कुरआनको पाठ गर्छन् । 
४. हे मानव हो ! निस्सन्देह तिमीहरूका वास्तविक पूज्य एक मात्र अल्लाह हुनुहुन्छ । 
५. उहाँ आकाशहरू, पृथ्वी, ती दुबैबीच रहेका वस्तुहरू, वर्षभरी सूर्य उदाउने र अस्ताउने स्थानहरूका पालनकर्ता हुनुहुन्छ ।
६. हामीले पृथ्वी नजिकको आकाशलाई ताराहरूबाट सजाएकाछौं, जो हेर्नमा चम्किला मोती जस्ता छन् ।  
७. हामीले पृथ्वी नजिकको आकाशलाई घमण्डी अवज्ञाकारी शैतानबाट सुरक्षित गरेकाछौं, तिनीहरू नजिक आएमा ताराहरूबाट प्रहार गरिन्छ ।
८. यी शैतानहरू फरिश्ताहरूको कुरा सुन्न सक्दैनन् जब उनीहरू आकाशमा अल्लाहको तर्फबाट शरीअत (इस्लामी) कानुन) वा भाग्य पाउँदा कुरा गर्छन् । तिनीहरूमाथि चारैतिरबाट ताराद्वारा प्रहार गरिन्छ । 
९. तिनीहरूलाई सुन्नबाट टाढा पार्नको लागि चारैतिरबाट प्रहार गरेर धपाइन्छ । तिनीहरूका लागि आखिरतमा सधैंको लागि पीडादायी यातना छ ।
१०. यदि शैतानहरूले फरिश्ताहरूबाट कुनै कुरा सुन्न सफल हुन्छन् भने ताराले उसको पीछा गरेर पृथ्वीसम्म पुग्नुअघि नै प्रहार गर्छ । कहिले काहिँ प्रहारअघि अधुरो कुरा आफ्ना भाइहरूसम्म पुर्याउन सफल हुन्छ जसले ज्योतिषीसम्म पुर्याउँछ र ज्योतिषीहरू त्यसमा शय वटा झूटो कुरा मिसाउँछन् ।
११. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनर्जन्मको इन्कार गर्ने काफिरहरूलाई सोध्नुहोस्− के तिनीहरूको सृष्टि गाह्रो छ र तिनीहरूको शरीरका अङ्गहरू ठूला छन् वा आकाशहरू, पृथ्वी र फरिश्ताहरूको सृष्टि गाह्रो छ जसको सृष्टि हामीले गर्यौं ? हामीले मानवको सृष्टि टासिने माटोबाट गर्यौं । तिनीहरू कसरी पुनर्जन्मको इन्कार गर्दैछन् जब कि तिनीहरूको सृष्टि टाँसिने माटोबाट गरिएको छ ? 
१२. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंले अल्लाहको सामर्थ्य, सृष्टिको सञ्चालन र बहुदेववादीहरूको पुनर्जन्मको इन्कारलाई अचम्म मान्नुभयो तर यी बहुदेववादीहरू पुनर्जन्मको पक्का इन्कारले गर्दा तपाईंले भनेको कुराको ठट्टा गर्दैछन् ।
१३. जब यी बहुदेववादीहरूलाई उपदेश दिइन्छ तब तिनीहरू पाठ लिँदैनन् । तिनीहरूको हृदय कठोर भएकोले त्यसबाट फाइदा उठाउँदैनन् । 
१४. जब तिनीहरू नबी (सल्लल्लाहु अलैहि व सल्लम) का निशानीहरूमध्ये कुनै निशानी देख्छन् जसले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) सत्य हुनुहुन्छ भन्ने कुराको पुष्टि गर्दछ तब खुबै ठट्टा गर्छन् र अचम्म मान्छन् ।
१५. तिनीहरू भन्छन्− मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले जे जति ल्याएकाछन् सबै जादू हुन् ।
१६. के जब हामी मर्छौं र सडेर माटोमा मिसिन्छौं के तब फेरि हामी जीवित पारिनेछौं ?! यो असम्भव कुरा हो । 
१७. के हामीअघि मरेका हाम्रा पूर्वजहरू पनि जीवित पारिनेछन् र ?!
१८. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई जवाफमा भन्नुहोस्− अँ सडे गलेपछि तिमीहरू र तिम्रा पूर्वजहरूलाई पनि पुनः जीवित पारिनेछ । तिमीहरू लाचार र विवश हुनेछौ ।
१९. (दोस्रो पटक) शङ्खमा फुँकिदा तिनीहरू अकस्मात महाप्रलयको भयावह दृश्य देख्नेछन्, अल्लाहले तिनीहरूसँग के गर्नुहुनेछ भन्ने कुराको प्रतीक्षा गर्नेछन् । 
२०. पुनर्जन्मको इन्कार गर्ने बहुदेववादीहरूले भन्नेछन्− हाय हाम्रो बर्बादी ! यो बदला दिइने दिन हो जसमा अल्लाहले भक्तहरूलाई तिनीहरूले सांसारिक जीवनमा गरेको कर्मको बदला दिनुहुनेछ । 
२१. तिनीहरूलाई भनिनेछ− आज भक्तहरूबीच निर्णयको दिन हो जसको इन्कार तिमीहरू संसारमा गर्दै थियौ ।
२२-२३. त्यस दिन फरिश्ताहरूलाई भनिनेछ− अत्याचारी बहुदेववादीहरू, तिनीहरू जस्तै शिर्क गर्न अन्य मानिसहरू र तिनीहरूले पूजा गर्ने मूर्तीहरूलाई जम्मा गर, तिनीहरूलाई नर्कतर्फ डोर्याऊ । यही तिनीहरूकमो बास-स्थान हो ।
२४. नर्कमा हाल्नुअघि तिनीहरूलाई हिसाबको लागि रोक । तिनीहरूसँग सोध पूछ हुनेछ, त्यसपछि तिनीहरूलाई नर्कतर्फ डोर्याऊ ।
२५. तिनीहरूको निन्दा गर्दै भनिनेछ− जसरी तिमीहरू संसारमा एक अर्काको मद्दत गर्ने गर्थ्यौ र मूर्तिहरूले तिमीहरूको मद्दत गर्नेछन् भन्ने ठानेका थियौ त्यसरी आज पनि एक अर्काको मद्दत किन गरिरहेका छैनौ ?!
२६. बरु आज तिनीहरू अल्लाहको आदेशको पाबन्द, अपमानित र मजबुर हुनेछन् । तिनीहरूले श्रोतको कमिले गर्दा एक अर्काको मद्दत गर्न अवस्थामा हुने छैनन् ।
२७. तिनीहरू एक अर्कातर्फ एक अर्काको निन्दा गर्दै र परस्पर झगडा गर्दै बढ्नेछन् । जब कि तिनीहरूलाई यस निन्दा र झगडाले कुनै फाइदा हुने छैन ।
२८. अनुयायीहरूले अगुवाहरूलाई भन्नेछन्− तिमीहरू हामीसमक्ष धर्म र सत्यको नाम लिएर आउने गर्थ्यौ र कुफ्र, शिर्क र अवज्ञालाई आकर्षक बनाएर प्रस्तुत गर्ने गर्थ्यौ । तिमीहरू रसूलहरूले ल्याएका सत्यबाट घृणा उत्पन्न गर्ने गर्थ्यौ । 
२९. अगुवाहरूले जवाफ दिनेछन्− मामिला तिमीहरूले ठाने जस्तो छैन । बरु तिमीहरू आफैं कुफ्र र इन्कारमा लिप्त थियौ र ईमान ल्याएका थिएनौ ।
३०. हे अनुयायीहरू हो ! तिमीहरूलाई कुफ्र, शिर्क र अवज्ञामा हाल्ने वश हामीमा थिएन बरु तिमीहरू आफैं कुफ्र र पथभ्रष्टतामा हद पार गरेका थियौ । 
३१. हामीहरू र तिमीहरू दुबैमाथि अल्लाहको यो वचन सिद्ध भएको छ− मैले अवश्य नै नर्कलाई तँ शैतान र तिम्रा सबै अनुयायीहरूबाट भर्नेछु । (सूरह सादः८५) । अल्लाहले दिनुभएको धमकीको स्वाद हामीहरूले अवश्य चाख्नुपर्छ । 
३२. हामीले तिमीहरूलाई पथभ्रष्टता र कुफ्रतर्फ बोलाएका थियौं र हामी आफैं सीधा मार्गबाट पथभ्रष्ट थियौं । 
३३. महाप्रलयको दिन अनुयायीहरू र अगुवाहरू दुबै यातनामा एकसाथ ग्रस्त हुनेछन् ।
३४. जसरी हामीले यिनीहरूलाई यातना दियौं त्यसरी नै अन्य अपराधीहरूलाई पनि यातना दिनेछौं ।
३५. जब यी बहुदेववादीहरूलाई संसारमा भनिन्थ्यो− अल्लाह मात्र पूज्य हुनुहुन्छ भन्ने कुरामा ईमान ल्याऊ, यसको चाहना अनुसार कार्य गर र यसका विपरीत कार्यहरूलाई त्याग, तब तिनीहरूले घमण्ड गर्दै यी कुराहरू मान्न इन्कार गरेका थिए । 
३६. तिनीहरू कुफ्रको पक्षमा प्रमाण दिँदै भन्छन्− के हामीले एक जना बौलाहा कविको कुरामा आएर आफ्ना भगवानहरूको पूजा गर्न छोडि देऔं ?! तिनीहरूको तात्पर्य यो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) हुन् । 
३७. तिनीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई बौलाहा र कवि भनेर ठूलो आरोप लगाए । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) न त बौलाहा हुनुहुन्छ न कवि नै । बरु उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) यस्तो कुरआन लिएर आउनुभएको छ जो एक अल्लाहको भक्ति र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालनको आह्वान गर्दछ । यो कुरआन विगतमा आएका रसूलहरूको यस आह्वान को पनि पुष्टि गर्दछ कि मात्र एक अल्लाहको भक्ति गर र आखिरतमाथि ईमान ल्याऊ । यो कुरआन तिनीहरूको विरोध गर्दैन ।
३८. हे बहुदेववादीहरू हो ! तिमीहरूले कुफ्र गरेकोले र रसूलहरूलाई झूठा ठहर गरेकोले महाप्रलयको दिन अवश्य नै पीडादायी यातना भोग्नेछौ ।
३९. हे बहुदेववादीहरू हो ! तिमीहरूलाई तिमीहरूले संसारमा गरेका कुफ्र र अवज्ञाको सजाय मात्र दिइनेछ । 
४०. निष्कप्ट भएर अल्लाहको भक्ति गर्ने विशिष्ट मोमिन भक्तहरूलाई यातनाबाट सुरक्षित राखिनेछ । 
४१. ती विशिष्ट भक्तहरूलाई अति उत्तम र सधैं रहने जीविका प्रदान गरिनेछ । 
४२. उनीहरूलाई नाना प्रकारका अति उत्तम फलहरू प्रदान गरिनेछ जसलाई उनीहरूले स्वाद लिएर खानेछन् । यति मात्र होइन बरु उनीहरूका पदोन्नती अल्लाहको अनुहारको अवलोन गराएर गरिनेछ । 
४३. यी सबै वरदानहरू उनीहरूले वैभवपूर्ण सधैं रहने स्वर्गमा पाउनेछन् जहाँ ती वरदानहरू कहिले समाप्त हुने छैनन् ।
४४. उनीहरू एक अर्कातर्फ फर्केर पलङ्गमा अडेस लगाएर बस्नेछन् । 
४५. बगी रहेको स्वच्छ पानी जस्तै पेय पदार्थले भरिएको जाम उनीहरूसमक्ष पेश गरिनेछ ।
४६. सेतो रङ्गको पेय पदार्थ, जसलाई पिएपछि उनीहरूले भरपूर स्वाद महसूस गर्नेछन् ।
४७. त्यो पेय पदार्थ संसारको रक्सी जस्तो हुँदैन । त्यसलाई पिएपछि स्वर्गबासीहरू मात्तिने छैनन् । त्यसलाई पिएपछि उनीहरूको टाउको पनि दुख्ने छैन । उनीहरूको शरीर र दिमाग दुबै स्वस्थ्य रहनेछन् ।
४८. उनीहरूसँग स्वर्गमा पवित्र अपसराहरू हुनेछिन् । उनीहरू आफ्ना श्रीमानबाहेक अन्य पुरुषहरूतर्फ देख्ने छैनन् । उनीहरूका आँखाहरू अति सुन्दर हुनेछन् ।
४९. मानौं उनीहरू चराका फुल जस्तो सेतो हुनेछिन्, जसलाई कसैले छोएको नहोस् ।
५०. स्वर्गबासीहरू संसारमा भूतकालका बितेका घटनाहरूबारे प्रश्न गर्दै एक अर्कतर्फ बढ्नेछन् । 
५१. मोमिनहरूमध्ये एकजनाले भन्नेछ− संसारमा मेरो एकजना साथी थियो जो पुनर्जन्मको इन्कार गर्थ्यो ।
५२. त्यो साथी इन्कार गर्दै र ठट्टा गर्दै भन्ने गर्थ्यो− हे मेरा साथी ! के तिमी मृतहरूको पुनर्जन्ममा आस्था राख्छौ ? 
५३. के जब हामी मरेपछि सडेर धुलो माटो बन्न पुग्नेछौं तब हामी पुनः जीवित पारिनेछौं र संसारमा गरेका कार्यहरूको बदला पाउनेछौं ? 
५४. मोमिन साथीले आफ्ना स्वर्ग बासी साथीहरूलाई भन्नेछ− आऊ, पुनर्जन्मको इन्कार गर्ने साथीको बास-स्थानलाई नियालौं ।  
५५. उसले पुनर्जन्मको इन्कार गर्ने साथीलाई नियाल्दा उसलाई नर्कको बीचौं बीच पाउनेछ ।
५६. मोमिन साथीले भन्नेछ− हे साथी, अल्लाहको कसम ! तिमीले पुनर्जन्मको इन्कार गर्ने आह्वान गरेर मलाई बर्बादै पार्न लागेका थियौ । यदि मैले तिम्रो कुरा मानेको भएं म पनि नर्कमा हुने थिएं । 
५७. यदि अल्लाहले मलाई ईमान ल्याउने अवसर नदिएको भए म पनि तिमी जस्तै नर्कमा हुने थिएं । 
मोमिन साथीले आफ्नो नर्कबासी साथीलाई सम्बोधन गरेपछि आफ्ना स्वर्गबासी साथीहरूलाई सम्बोधन गर्दै भन्यो− 
५८. अब हामी स्वर्गबासीहरू कहिल्यै मर्ने छैनौं, 
५९. सिवाय पहिलो पटक सांसारिक जीवनमा भएको मृत्युको । अब हामीहरू सदा सर्वदाको लागि स्वर्गमा बस्नेछौं । हामीहरूलाई कुनै यातना दिइने छैन जसरी काफिरहरूलाई यातना दिइँदैछ ।
६०. अल्लाहले हामीहरूलाई सधैंको लागि स्वर्गमा प्रवेश गराएर र नर्कबाट जोगाएर जुन प्रतिदान दिनु भयो त्यो महान सफलता हो, यो जस्तो अरू कुनै सफलता हुन सक्दैन । 
६१. यस्तै महान प्रतिदान प्राप्त गर्नको लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्छ । यो नाफामूलक व्यापार हो ।
६२. के अल्लाहले आफ्ना आज्ञाकारी भक्तहरूका लागि तयार पार्नुभएको वरदान बेस छ वा सिउँडीको रुख जसलाई कुरआनमा तिरस्कृत गरिएको छ । नर्कमा यही काफिरहरूको भोजन हुनेछ, यसले न स्वस्थ्य पार्नेछ न भोक नै मेटाउनेछ ?!
६३. हामीले यस रुखलाई अत्याचारीहरूका लागि परीक्षाको साधन बनाएकाछौं । तिनीहरूले भने− नर्कको आगोले त्यस रुखलाई खाइदिनेछ, त्यसमा कुनै रुख उम्रन सक्दैन ।
६४. निस्सन्देह सिउँडीको रुख नर्कको गहिराइमा नराम्रो स्थानमा उम्रनेछ ।
६५. त्यसको फल घृणित देखिनेछ, मानौं शैतानको टाउको । यो फल जसरी हेर्नमा घृणित हुनेछ त्यसरी नै स्वादमा पनि अति नराम्रो हुनेछ ।
६६. काफिरहरूले यसका घृणित र तीतो फल खानेछन् र आफ्ना खाली पेट भर्नेछन् ।
६७. त्यो खाएपछि त्यसको घिन लाग्दो र तातो पेय पिउनेछन् । 
६८. त्यसपछि तिनीहरूलाई नर्कको यातनातर्फ फर्काइनेछ । तिनीहरूलाई एकपछि अर्को यातनामा फर्काइनेछ ।
६९. निस्सन्देह यी काफिरहरूले आफ्ना पूर्वजलाई पथभ्रष्ट पाए र बिना प्रमाण तिनीहरूको अनुसरण गर्दै तिनीहरू जस्तै बने ।
७०. अनि पूर्वजहरूको पदचिन्हमाथि अन्धा धुन्ध हिँड्न थाले । 
७१. यिनीहरूअघि विगतका अधिकांश समुदायहरू पथभ्रष्ट भए । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदाय पथभ्रष्ट हुनेहरूमध्ये पहिलो समुदाय होइन ।
७२. विगतका समुदायहरूलाई अल्लाहको यातनाबाट सावधान गराउनको लागि पनि हामीले विभिन्न रसूलहरू पठायौं, तर तिनीहरूले इन्कार गरे ।
७३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, कस्तो नराम्रो परिणाम भयो विगतका ती समुदायहरूको जसलाई रसूलहरूले सावधान गराएका थिए तर तिनीहरू चेतेका थिएनन् । तिनीहरू अल्लाहको इन्कार र रसूलहरूलाई झूठो ठहर गरेकाले सधैंको लागि नर्कमा जानेछन् । 
७४. सिवाय ती मानिसहरूको जसलाई अल्लाहले ईमानको लागि चयन गर्नुभयो । उनीहरू त्यस यातनाबाट मुक्ति पाउनेछन् जसमा काफिरहरू ग्रस्त हुनेछन् । 
७५. हाम्रो सन्देष्टा नूह (अलैहिस्सलाम) ले त्यतिखेर आफ्नो समुदायलाई श्राप दिए जब तिनीहरूले उनलाई झूठो ठहर गरे । हामीले अति राम्रो तरिकाले तत्कालै उनको मागलाई स्वीकार गर्यौं ।
७६. हामीले उनलाई, उनका परिवारका सदस्यहरूलाई र मोमिनहरूलाई उनको समुदायको कष्ट र त्यस बाढीबाट सुरक्षित राख्यौं  जो उनको समुदायका काफिरहरूतर्फ पठाइएको थियो ।
७७. हामीले नूह (अलैहिस्सलाम), उनका परिवार र उनका मोमिन अनुयायीहरूलाई सुरक्षित राख्यौं र काफिरहरूलाई सर्वनाश पार्यौं ।
७८. हामीले उनको लागि उनीपछि आउने समुदायहरूमा प्रशंसा छोडिदियौं । 
७९. नूह (अलैहिस्सलाम) को लागि उनीपछि आउने समुदायहरूमा कुनै बदनामी होइन बरु शान्ति, सन्तुष्टि  र प्रशंसा छोड्यौं । 
८०. नूह (अलैहिस्सलाम) लाई दिएको बदला जस्तै हामीले सुकर्मीहरूलाई बदला दिने गर्छौं ।
८१. निस्सन्देह नूह (अलैहिस्सलाम) हाम्रा आज्ञाकारी मोमिन भक्त थिए ।
८२. मोमिनहरूबाहेक सबैलाई हामीले बाढी पठाएर डुबाइदियौं, कोही पनि जीवित बचेन ।
८३. निस्सन्देह इब्राहीम (अलैहिस्सलाम) एक अल्लाहको भक्तिको लागि आह्वान गर्नेहरूमध्ये थिए ।
८४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब इब्राहीम (अलैहिस्सलाम) शिर्कबाट पवित्र स्वच्छ हृदय लिएर अल्लाहनजिक आए । उनी प्राणीहरूको मामिलामा अल्लाहको लागि हितैषी थिए ।
८५. जब उनले आफ्नो बहुदेववादी बुवा र समुदयलाई निन्दा गर्दै भने− अल्लाहलाई छोडेर तिमीहरू कसको पूजा गर्छौ ?! 
८६. के तिमीहरू अल्लाहलाई छोडेर झूठा भगवानहरूको पूजा गर्छौ ?
८७. हे मेरा समुदाय हो ! यदि तिमीहरू अल्लाहलाई छोडेर अन्य भगवानहरूको पूजा गर्छौ भने अल्लाहसित भेटेपछि उहाँलाई के जवाफ दिनेछौ र तिमीहरूको विचारमा उहाँले तिमीहरूसँग के गर्नुहुनेछ ?!
८८. आफ्नो समुदायसँग बाहिर जान नपरोस भन्ने उपाय गर्नको लागि इब्राहीम (अलैहिस्सलाम) ले तारातर्फ हेरे । 
८९. आफ्नो समुदायसँग मेला जान नपरोस भनेर कारण बताउँदै भने− मलाई सञ्चो छैन । 
९०. तिनीहरूले उनलाई पछाडि छोडेर मेला हेर्न गए ।
९१. अनि इब्राहीम (अलैहिस्सलाम) मूर्तीतर्फ गए र खिल्ली उडाउँदै भने− के तिमीहरू त्यो भोजन खाँदैनौ जो बहुदेववादीहरू तिमीहरूका लागि बनाउँछन् ?! 
९२. तिमीहरू किन कुरा गर्दैनौ र सोध्ने व्यक्तिको प्रश्नको उत्तर दिँदैनौ ?! के अल्लाहबाहेक यो जस्तोको भक्ति गर्न मिल्छ र ?! 
९३. अनि इब्राहीम (अलैहिस्सलाम) ले तिनीहरूलाई तोड्नको लागि आफ्नो दाहिने हातले कुट्न थाले । 
९४. अनि ती मूर्तीहरूका पूजारीहरू दगुर्दै उनीतर्फ आए ।
९५. इब्राहीम (अलैहिस्सलाम) ले तिनीहरूको मुकाबिला अडिग भएर गरे । उनले तिनीहरूको निन्दा गर्दै भने− के तिमीहरू आफ्नै हातले बनाएको मूर्तीको पूजा गर्छौ ?! 
९६. जब कि तिमीहरू र तिमीहरूको कर्मको सृष्टि अल्लाहले गर्नुभयो । तिमीहरूको कर्महरूमध्ये यी मूर्तीहरू पनि हुन् ।  अल्लाह मात्र पूज्य हुनुहुन्छ । उहाँसँग कोही साझेदार छैन ।
९७. जब तिनीहरू इब्राहीम (अलैहिस्सलाम) सँग तर्क वितर्कमा जित्न सकेनन् तब शक्ति प्रदर्शन गर्न थाले । उनीसँग के कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे आपसमा सल्लाह गरे । तिनीहरूले भने− पर्खाल बनाएर त्यसमा इन्धन जलाऊ अनि त्यसमा इब्राहीम (अलैहिस्सलाम) लाई फ्याँकि देऊ ।
९८. उनको समुदायले उनलाई मार्न खोजे तर हामीले आगोलाई उनको लागि शान्ति र शीतल बनाएर तिनीहरूलाई विफल पार्यौं । 
९९. उनले भने− अब हामी आफ्नो समुदाय र नगरलाई छोडेर जाँदैछु, ताकि एक अल्लाहको भक्तिमा कायम रहन सकुँ । मेरा पालनकर्ताले मलाई अवश्य नै लोक र परलोकका भलाइ प्रदान गर्नुहुनेछ । 
१००. हे मेरा पालनकर्ता ! मलाई एक जना सुकर्मी सन्तान प्रदान गर्नुहोस्, जो मेरो सहयोगी बनोस् ।   
१०१. हामीले उनको प्रार्थनालाई स्वीकार गर्यौं र उनलाई एउटा छोरा इस्माईल (अलैहिस्सलाम) को शुभसूचना दियौं, जो ठूलो भएर सहनशील बने । 
१०२. जब इस्माईल (अलैहिस्सलाम) हुर्के र भाग दौड गर्न थाले तब उनका बुवा इब्राहीम (अलैहिस्सलाम) ले सपना देखे । सन्देष्टाहरूको सपना वही (प्रकाशना) हुने गर्छ । उनले छोरालाई सपनाको अर्थ बताए− हे छोरा ! मैले सपनामा तिम्रो बलि गरिरहेको देखें । यस बारेमा तिम्रो के विचार छ ? उनले जवाफ दिए− यदि अल्लाहले मेरो बलि गर्ने आदेश दिनुभएको छ भने अवश्य गर्नुहोस् । अल्लाहको आदेशसमक्ष मलाई धैर्यवान र राजी खुशी पाउनुहुनेछ ।
१०३. जब दुबै जना अल्लाहको लागि समर्पित भए तब इब्राहीम (अलैहिस्सलाम) ले छोरालाई अनुहारको बल पट सुताए ताकि अल्लाहको आदेश अनुसार उनलाई बलि दिन सकियोस् ।
१०४. बलि दिन लाग्दा अल्लाहले पुकार्नुभयो− हे इब्राहीम (अलैहिस्सलाम) !
१०५. तिमीले बलि दिने पक्का नीयत गरेर देखेको सपनालाई साकार पार्यौ । जसरी हामीले तिमीलाई कठिन परीक्षाबाट जोगाएर बदला दियौं, त्यसरी नै सुकर्मीहरूलाई पनि कठिन परीक्षाबाट सुरक्षित राखेर बदला दिनेछौं ।
१०६. यो स्पष्ट परीक्षा थियो, जसमा इब्राहीम (अलैहिस्सलाम) सफल भए ।
१०७. हामीले इस्माईल (अलैहिस्सलाम) को बलिको सट्टामा एउटा ठूलो दुम्बा पठायौं ।
१०८. हामीले आउने समुदायहरूमा इब्राहीम (अलैहिस्सलाम) को राम्रो चर्चा छोड्यौं ।
१०९. अल्लाहको तर्फबाट उनको लागि शान्ति, कृपा र सबै किसिमका सङ्कटबाट मुक्ति छ ।
११०. जसरी इब्राहीम (अलैहिस्सलाम) लाई उनको आज्ञाकारिताले गर्दा हामीले राम्रो बदला दियौं, त्यसरी नै सुकर्मीहरूलाई पनि बदला दिनेछौं ।
१११. निस्सन्देह इब्राहीम (अलैहिस्सलाम) हाम्रा मोमिन भक्तहरूमध्ये थिए, जसले जति अल्लाहको भक्ति गर्नुपर्ने थियो त्यति गरे ।
११२. एक्लो छोरा इस्माईल (अलैहिस्सलाम) को बलिको आदेशमा आज्ञापालन गरेकोले उनलाई हामीले दोस्रो छोरा इस्हाक (अलैहिस्सलाम) को शुभसूचना दियौं । जसले भविष्यमा सन्देष्टा र सत्कर्मी भक्त बन्नु थियो ।
११३. हामीले इब्राहीम (अलैहिस्सलाम) र छोरा इस्हाक (अलैहिस्सलाम) लाई बर्कतयुक्त (मङ्गलमय) बनायौं । उनीहरूलाई धेरै वरदान प्रदान गर्यौं । ती मध्ये धेरै सन्तान पनि थियो ।
११४. उनीहरूका सन्तानहरूमध्ये केही अति सुकर्मी थिए भने केही अति अत्याचारी, जसले कुफ्र र अवज्ञा गरेर स्पष्टरूपमा अत्याचार गरे ।
११५. हामीले मूसा (अलैहिस्सलाम) र उनका भाइ हारून (अलैहिस्सलाम) लाई ईश्दूतत्व प्रदान गरेर उनीहरूमाथि उपकार गर्यौं ।
११६. हामीले दुबैलाई र उनका समुदाय बनी इस्राईललाई फिरऔनको दास्ता र समुद्रमा डुब्नबाट सुरक्षित राख्यौं ।
११७. फिरऔन र उसका सैनिकहरूको मुकाबिलामा उनीहरूको मद्दत गर्यौं । त्यसैले उनीहरू आफ्ना शत्रुमाथि विजय प्राप्त गरे ।
११८. हामीले दुबै जनालाई सीधा मार्ग देखायौं जसमा कुनै कुटिलता छैन । यही इसलाम धर्मको मार्ग हो जसले गर्दा सृष्टिकर्ताको खुशी प्राप्त हुन्छ ।
११९. आउने समुदायहरूमा हामीले दुबै जनाको राम्रो प्रशंसा र चर्चा छोड्यौं । 
१२०. दुबै जनामाथि अल्लाहको तर्फबाट सलाम, प्रशंसा, शान्ति र हरेक किसिमको कष्टबाट सुरक्षा छ ।
१२१. जसरी हामीले मूसा र हारून (अलैहिमस्सलाम) लाई राम्रो बदला दियौं, त्यसरी ने सबै सुकर्मी आज्ञाकारीहरूलाई राम्रो बदला दिनेछौं ।
१२२. निस्सन्देह मूसा र हारून (अलिमस्सलाम) अल्लाहमाथि ईमान राख्ने र शरीअत (इस्लामी कानुन) अनुसार कार्य गर्ने भक्त थिए ।
१२३. निस्सन्देह इल्यास (अलैहिस्सलाम) अल्लाहको तर्फबाट पठाइएका थिए । अल्लाहले उनलाई ईश्दूतत्व प्रदान गरेर कृपा गर्नुभयो ।
१२४. उनले बनी इस्राईलमध्ये आफ्नो समुदायलाई भने− हे मेरा समुदाय ! के तिमीहरू अल्लाहसित डराएर उहाँका आदेशहरूको पालना गर्दैनौ, मात्र एक अल्लाहको भक्ति गर्दैनौ र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई विशेषरूपमा शिर्कलाई त्याग्दैनौ ? 
१२५. के तिमीहरू अल्लाहको भक्ति छोडेर बअल नामी मूर्तिको पूजा गर्छौ र सर्वश्रेष्ठ सृष्टिकर्तालाई छोड्छौ ? 
१२६. अल्लाह नै तिमीहरूका पालनकर्ता हुनुहुन्छ जसले तिमीहरूको पनि सृष्टि गर्नुभयो र तिमीहरूका पूर्वजहरूको पनि । उहाँ नै भक्ति-योग्य हुनुहुन्छ, न कि मूर्तिहरू जो न त फाइदा पुर्याउन सक्छ न हानि नै ।
१२७. उनको समुदायले उनलाई झूठो ठहर गर्यो । तिनीहरूले झूठो ठहर गरेकोले तिनीहरू यातनामा हाजिर गरिनेछन् ।   
१२८. निष्कपट भएर अल्लाहको भक्ति गर्ने उनका समुदायका मोमिनहरू यातनाबाट मुक्ति पाउनेछन् ।
१२९. हामीले उनको राम्रो प्रशंसा र चर्चा आउने समुदायहरूमा छोड्यौं ।
१३०. इल्यास (अलैहिस्सलाम) माथि अल्लाहको तर्फबाट सलाम र प्रशंसा ।
१३१. जसरी हामीले इल्यास (अलैहिस्सलाम) लाई राम्रो बदला दियौं, त्यसरी नै मोमिनहरूमध्ये सबै सुकर्मी भक्तहरूलाई राम्रो बदला दिनेछौं ।
१३२. निस्सन्देह इल्यास (अलैहिस्सलाम) अल्लाहमाथि पक्का ईमान राख्ने भक्त थिए ।
१३३. निस्सन्देह लूत (अलैहिस्सलाम) अल्लाहका यस्ता रसूलहरूमध्ये थिए, जसलाई अल्लाहले मानिसहरूलाई शुभसूचना दिन र सावधान गराउनको लागि पठाउनुभएको थियो ।
१३४. त्यस समयलाई याद गर्नुहोस् जब हामीले उनलाई र उनका परिवारका सदस्यहरूलाई त्यस प्रकोपबाट सुरक्षित राख्यौं जो उनको समुदायमाथि पठाइएको थियो ।
१३५. उनकी श्रीमतिलाई हामीले त्यस प्रकोपबाट जोगाएनौं किनभने ऊ अरू जस्तै काफिर थिइ ।
१३६. हामीले उनको समुदायका झूठा ठहर गर्ने र उनले ल्याएको सन्देशको पुष्टि नगर्ने बाँकि मानिसहरूलाई सर्वनाश गर्यौं ।
१३७. हे मक्का बासीहरू हो ! तिमीहरू सिरियाको यात्रा गर्दा  बिहानिको समयमा तिनीहरूको बास-स्थान हुँदै आवत जावत गर्छौ ।
१३८. तिमीहरू रातिको समयमा पनि तिनीहरूको बास-स्थान हुँदै यात्रा गर्छौ, के तिमीहरू यसमा विचार गर्दैनौ ?! के तिमीहरू तिनीहरूमाथि आएमाथि प्रकोपबाट पाठ लिँदैनौ जो तिनीहरूमाथि तिनीहरूले झूठो ठहर गरेको, कुफ्र गरेको र यस्तो अश्लील कार्य गरेको कारणले आएको थियो जस्तो अश्लील कार्य तिनीहरूअघि कसैले गरेको थिएन ?!
१३९. निस्सन्दे हाम्रा भक्तहरूमध्ये यूनुस (अलैहिस्सलाम) हाम्रा रसूलहरूमध्ये थिए । उनलाई हामीले मानिसहरूलाई शुभसूचना दिन र सावधान गराउनको लागि पठाएका थियौं ।
१४०. त्यस समयलाई याद गर्नुहोस् जब उनी अल्लाहको अनुमतिबिना आफ्नो समुदायबाट भागेर सवारी र सर-सामानबाट भरिएको डुङ्गामा सवार भएका थिए ।
१४१. डुङ्गामा बढी सवार र सर-सामान भएको कारणले डुब्न आँटेको थियो । डुङ्गालाई डुब्नबाट बचाउनको लागि केही सवारलाई फ्याँक्ने निणर्य गरियो र यसको लागि तिनीहरूले चिठ्ठा निकाले । चिठ्ठामा यूनुस (अलैहिस्सलाम) को नाम पनि आयो । तिनीहरूले उनलाई समुद्रमा फ्याँकि दिए ।
१४२. समुद्रमा उनलाई माछाले निल्यो । अल्लाहको अनुमतिबिना समुद्रमा गएकोले उनले आत्म-निन्दा गर्न थाले ।
१४३. यूनुस (अलैहिस्सलाम) ले यस घटनाअघि अल्लाहको खुबै स्मरण नगरेको भए र माछाको पेटमा अल्लाहको पवित्रताको गुणगान नगरेको भए,
१४४. उनी महाप्रलयसम्म माछाको पेटमै रहने थिए । त्यो नै उनको चिहान बन्ने थियो ।
१४५. हामीले माछाको पेटबाट उनलाई यस्तो खाली स्थामा निकाल्यौं जहाँ न रुख थियो न घर । माछाको पेटमा एक अवधिसम्म रहेकोले उनी अति कमजोर भए ।
१४६. हामीले उनलाई छायाँ दिन र खानको लागि एउटा छायाँ भएको रुख उमार्यौं ।
१४७. हामीले उनलाई उनको समुदायतर्फ पठायौं जसको संख्या एक लाखभन्दा बढी थियो ।
१४८. उनको समुदायले ईमान ल्यायो र उनले ल्याएको सन्देशको पुष्टि गर्यो । अनि अल्लाहले उनीहरूलाई मृत्युसम्म सांसारिक जीवनमा जीविका प्रदान गर्नुभयो ।   
१४९. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूलाई सोध्नुहोस्− के तिमीहरू अल्लाहको लागि स्वयम् तिमीहरूले आफ्नो लागि मन नपराउने छोरी बनाउँछौ र आफ्नो लागि स्वयम् मन पराउने छोरा बनाउँछौ ?! यो कस्तो विभेदपूर्ण बाँड फाँड हो ?!
१५०. फरिश्ताहरू छोरी हुन् भन्ने कुरा तिनीहरूले कुन आधारमा ठानेकाछन्, जब कि तिनीहरू उनीहरूको सृष्टि हुँदा उपस्थित थिएनन् र देखेका थिएनन् ?! 
१५१-१५२. जानि राख, बहुदेववादीहरू झूठ बोलेर र रचेर अल्लाहको लागि सन्तान बनाउँछन् । तिनीहरू यस दावीमा झूठा हुन् ।
१५३. के अल्लाहले आफ्नो लागि तिमीहरूले मन पराउने छोराको तुलनामा तिमीहरूले मन नपराउने छोरीलाई चयन गर्नु भयो ?! कदापि होइन, उहाँले न त छोरा ग्रहण गर्नुभयो न छोरी । 
१५४. हे बहुदेववादीहरू हो ! तिमीहरू कुन आधारमा अल्लाहको लागि छोरी र आफ्नो लागि छोरा ग्रहण गर्ने अत्याचारपूर्ण निर्णय गर्छौ ?! 
१५५. तिमीहरूको यो धारणा गलत हो भेन्ने कुरा तिमीहरू बुझ्दैनौ ?! तिमीहरूले बुद्धि प्रयोग गरेको भए यसो भन्ने थिएनौ ।
१५६. के तिमीहरूसँग यस बारेमा  किताब वा रसूलको तर्फबाट कुनै स्पष्ट प्रमाण छ ?! 
१५७. यदि तिमीहरू आफ्नो दावीमा सच्चा छौ भने यसबारेमा प्रमाण भएको किताब लिएर आऊ ।
१५८. बहुदेववादीहरूले अल्लाह र नदेखिने फरिश्ताहरूबीच नातेदारी जोडे र फरिश्ताहरूलाई अल्लाहको छोरी ठाने । फरिश्ताहरूलाई यस कुराको ज्ञान छ कि अल्लाहले बहुदेववादीहरूलाई हिसाबको लागि हाजिर गर्नुहुनेछ । 
१५९. बहुदेववादीहरूले अल्लाहको लागि बनाएको सन्तान र साझेदार इत्यादि जस्ता कुराहरूबाट उहाँ पवित्र हुनुहुन्छ ।
१६०. निष्कपट भक्तहरू अल्लाहतर्फ राम्रा गुणहरू मात्र जोड्छन् ।
१६१. हे बहुदेववादीहरू हो ! तिमीहरू र अल्लाहबाहेक तिमीहरूका भगवानहरूले,
१६२. कसैलाई पनि सत्य धर्मबाट पथभ्रष्ट गर्न सक्दैनौ ।
१६३. सिवाय ती मानिसहरू जसको बारेमा अल्लाहले निर्णय गर्नुभएको छ कि तिनीहरू नर्क-बासी हुन् । अल्लाहले यस्ता मानिसहरूको बारेमा आफ्नो निर्णय लागु गर्नुहुनेछ, अनि तिनीहरूले कुफ्र गर्नेछन् र अल्लाहले तिनीहरूलाई नर्कमा हाल्नुहुनेछ । तिमीहरूमा र तिम्रा भगवानहरूमा यो कार्य गर्ने शक्ति छैन । 
१६४. फरिश्ताहरूले आफू अल्लाहका भक्त हुने कुरालाई स्पष्ट पार्दै बहुदेववादीहरूले भनेको कुराको खण्डन गर्दै भने− हामीहरूमध्ये प्रत्येकको लागि अल्लाहको भक्ति र आज्ञापालनमा विशेष स्थान छ ।
१६५-१६६. हामी फरिश्ताहरू अल्लाहको भक्ति र आज्ञापालनमा पङ्कतिबद्ध उभेका हुन्छौं । हामीहरू अल्लाहको लागि उपयुक्त नरहेका गुणहरूको खण्डन गर्दै उहाँको पवित्रताको गुणगान गर्छौं ।
१६७-१७०. मक्काका बहुदेववादीहरू मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमनअघि भन्ने गर्थे− यदि हामीहरूसँग विगतका किताबहरू जस्तै तौरात भएको भए हामी मात्र अल्लाहको भक्ति गर्ने थियौं । यस कुरामा तिनीहरू झूठा हुन् । किनभने मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) कुरआन लिएर आउनुभयो तर तिनीहरूले त्यसको इन्कार गरे । तिनीहरूले चाँडै नै जान्नुहुनेछ कि महाप्रलयको पीडादायी यातना कसको प्रतीक्षामा छ । 
१७१-१७३. रसूलहरूको बारेमा हाम्रो निर्णय पहिला नै भइसकेको छ कि शत्रुहरूको मुकाबिलामा तिनीहरूको मद्दत गरिनेछ । अल्लाहले उनीहरूलाई प्रमाण र शक्ति दुबै प्रदान गरेर उनीहरूमाथि कृपा गर्नुभयो । निस्सन्देह हाम्रो सैनिकले विजय प्राप्त गर्नेछ जो हाम्रो वाणी उच्च पार्नको लागि हाम्रो मार्गमा युद्ध गर्दैछन् । 
१७४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी शत्रु बहुदेववादीहरूमाथि प्रकोप आउन्जेल तिनीहरूलाई नजरअन्दाज गर्नुहोस्, जसको समयको ज्ञान मात्र अल्लाहलाई छ ।
१७५. तिनीहरूमाथि प्रकोप अवतरणको प्रतीक्षा गर्नुहोस् । तिनीहरूले पनि चाँडै नै देख्नेछन् तर त्यतिखेर देखेमा कुनै फाइदा हुँदैन ।
१७६. के यी बहुदेववादीहरू प्रकोपको लागि हतार गर्दैछन् ?!
१७७. जब तिनीहरूमाथि प्रकोप अवतरण हुनेछ तब तिनीहरूको बिहानि अति नराम्रो बिहानि हुनेछ ।
१७८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई नजरअन्दाज गर्नुहोस्, यहाँसम्म कि अल्लाहले तिनीहरूका लागि प्रकोपको निर्णय गरुन् ।
१७९. हेर्नुहोस्, तिनीहरूले पनि आफूमाथि आएको प्रकोपलाई चाँडै नै हेर्नेछन् ।
१८०. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूले भनेका अवगुणहरूबाट तपाईंका शक्तिशाली पालनकर्ता पवित्र हुनुहुन्छ ।
१८१. अल्लाहको तर्फबाट सम्मानित रसूलहरूमाथि सलाम र प्रशंसा छ ।
१८२. सबै प्रशंसाहरू अल्लाहको लागि, उहाँ नै प्रशंसाका हकदार हुनुहुन्छ, उहाँ सम्पूर्ण जगतका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही पालनकर्ता छैन ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...