सीधे मुख्य सामग्री पर जाएं

४२- सूरह अश्शूरा (मक्की)

 शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. हा० मीम० !  २.  ऐन० सीन० काफ० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । 
३. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंतर्फ र तपाईंअघिका सन्देष्टाहरूतर्फ जुन वही अवतरण गरिन्छ ती सबै अल्लाहको तर्फबाट गरिन्छ जो शत्रुहरूससित बदला लिनमा प्रभुत्वशाली हुनुहुन्छ र कार्य सञ्चालन र सृष्टि गर्नमा विवेकशील हुनुहुन्छ ।
४. आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूका सृष्टिकर्ता अल्लाह नै हुनुहुन्छ । यी सबैमाथि उहाँकै सत्ता­शासन छ । उहाँ नै सबैको सञ्चालन गरिराख्नुभएको छ । उहाँ आफ्नो अस्तित्व, शक्ति र प्रभुत्वमा महानतम हुनुहुन्छ ।
५. अल्लाहको महानताले गर्दा विशाल आकाहशरू चिरा परी पृथ्वीहरूमाथि झर्न आँटेका छन् । फरिश्ताहरू बिन्ति गदै यहाँको पवित्रताको गुणगान र उहाँको प्रशंसा गर्दै महिमा गान गर्दैछन्  । धर्ती बासीहरूका लागि अल्लाहसित क्षमायाचना गर्दैछन् । जानिराख अल्लाह तौबा गर्ने भक्तहरूका लागि अति क्षमाशील र दयावान हुनुहुन्छ । 
६. जुन मानिसहरूले अल्लाहलाई छोडेर मूर्तीहरूलाई मित्र र पूज्य बनाए, अल्लाह धराप लगाएर तिनीहरूका लागि पर्खि राख्नुभएको छ । उहाँ तिनीहरूका कर्महरूलाई लेख्दै हुनुहुन्छ र त्यसको चाँडै बदला दिनुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं तिनीहरूका संरक्षक हुनुहुन्न । तिनीहरूले गरेका कर्महरूको हिसाब तपाईसित लिइने छैन । तपाईंको जिम्मेबारी सन्देश पुर्याउनु मात्र हो ।
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी हामीले तपाईंअघिका सन्देष्टाहरूमाथि वही (प्रकाशना) पठायौं त्यसरी नै तपाईंमाथि पनि अरबी भाषामा कुरआन अवतरण गर्यौं, ताकि तपाईंले मक्का बासी र त्यसका वरिपरि रहेका अरबका गाउँ बासीहरूलाई सावधान गराउनुहोस्, त्यसपछि संसारका सबै मानिसहरूलाई डराउनुहोस् । तपाईंले मानिसहरूलाई महाप्रलयको दिनबारे सावधान गराउनुहोस्, जुन दिन अल्लाहले अघिल्ला पछिल्ला सबै मानिसहरूलाई एउटा उच्च स्थानमा हिसाब लिन र बदला दिनको लागि जम्मा गर्नुहुनेछ । महाप्रलयको दिनको आगमनमा कुनै सन्देह छैन । त्यस दिन मानिसहरू दुई जमातमा विभाजि हुनेछन् । एउटा स्वर्गमा जाने मोमिनहरूको जमात र अर्को नर्कमा जाने काफिरहरूको गिरोह ।
८. अल्लाहले चाहनुभएमा सबै मानिसहरूलाई इस्लाम धर्ममा जम्मा गरेर एउटै समुदाय बनाउनुहुन्थ्यो र सबैलाई स्वर्गमा प्रवेश गराउनुहुन्थ्यो । तर अल्लाहको विवेकको यो चाहना भयो कि उहाँले जसलाई चाहनुभयो इस्लाममा प्रवेश गराएर स्वर्गमा प्रवेश गराउनुभयो । कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूको न कुनै मित्र छ र न अल्लाहको यातनाबाट जोगाउने कुनै सहयोगी ।
९. यी बहुदेववादीहरूले अल्लाहलाई छोडेर अन्यलाई मित्र बनाए । जब कि अल्लाह नै वास्तविक मित्र हुनुहुन्छ । उहाँबाहेक अरू कसैले कुनै फाइदा र हानि पुर्याउन सक्दैन । उहाँले हिसाब र बदलाको लागि मृतहरूलाई जीवित पार्नुहुनेछ । अल्लाहलाई कसैले विवश पार्न सक्दैन ।
१०. हे मानव ! तिमीहरू इस्लाम धर्मको मौलिक कुरा वा त्यसका शाखाको कुरामा जे जति मतभेद गर्छौ त्यसको निर्णायक अल्लाह नै हुनुहुन्छ । यसको बारेमा उहाँको किताब कुरआन र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को तरिका सुन्नततर्फ रुजु गर । मेरा पालनकर्ताका राम्रा गुणहरू छन् । म आफ्ना सबै मामिलाहरूमा उहाँमाथि नै भरोसा गर्छु र तौबा गरेर उहाँतर्फ नै फर्कन्छु ।
११. बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वीको सृष्टिकर्ता अल्लाह नै हुनुहुन्छ । उहाँले तिमीहरूबाटै तिमीहरूका जोडीहरू सृष्टि गर्नुभयो । उहाँले नै ऊँट, गोरु र भेडको पनि जोडी बनाउनुभयो, ताकि तिमीहरूले गर्दा तिमीहरूको संख्या बढोस् । अल्लाहले तिमीहरूको सृष्टि तिमीहरूको एक अर्कासँग बिहेको माध्यमले गर्नुहुन्छ । उहाँले तिमीहरूको पोषण चौपायाहरूका मासु र दूधबाट गर्नुहुन्छ । उहाँका सृष्टिहरू जस्तो कोही पनि छैन । उहाँ आफ्ना भक्तहरूको कुरा सुन्नुहुन्छ र उनीहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि छुट्दैन । उहाँले चाँडै नै सबैका कर्महरूको बदला दिनुहुनेछ, राम्रो कर्मको राम्रो बदला र नराम्रो कर्मको नराम्रो बदला ।
१२. आकाशहरू र पृथ्वीका खजानाका साँचाहरू उहाँ कै हातमा छ । उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ, यस कुराको परीक्षाको लागि कि उनीहरू उहाँप्रति आभार प्रकट गर्छन् कि कृतघ्न गर्छन् ? उहाँ जसलाई चाहनुहुन्छ कम जीविका प्रदान गर्नुहुन्छ, यस कुराको परीक्षको लागि कि तिनीहरू धैर्य गर्छन कि उहाँले बनाएको भाग्यप्रति रोष प्रकट गर्छन् । उहाँ हरेक कुराका ज्ञाता हुनुहुन्छ । भक्तहरूका हीतका कुनै कुरा उहाँबाट लुकेको छैन ।
१३. अल्लाहले तिमीहरूका लागि त्यही धर्म निर्धारण गर्नुभएको छ, जसको आह्वान र पालनाको आदेश उहाँले नूह (अलैहिस्सलाम) लाई दिनुभएको थियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंतर्फ पनि उहाँले यही सन्देश वही (प्रकाशना) गर्नुभयो । अल्लाहले तिमीहरूका लागि त्यही धर्म निर्धारण गर्नुभयो जसको आह्वान र पालनाको आदेश उहाँले इब्राहीम, मूसा र ईसा (अलैहिमुस्सलाम) लाई दिनुभएको थियो । त्यो सन्देशको सारांश यस प्रका छः तिमीहरू धर्मलाई कायम गर र यस सम्बन्धमा गुटबन्दी नगर ।  मात्र एक अल्लाहको भक्ति र उहाँबाहेकका पूजा त्याग्ने तपाईंका आह्वानलाई यी बहुदेववादीहरूले मन पराउँदैनन् । अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ चयन गर्नुहुन्छ र आफ्नो भक्ति र आज्ञापालनको अवसर प्रदान गर्नुहुन्छ । आफ्ना पापहरूबाट तौबा गरेर उहाँतर्फ फर्कनेहरूलाई उहाँ सीधा मार्ग देखाउनुहुन्छ । 
१४. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन पश्चात प्रमाणहरू पूरा भएपछि काफिर र बहुदेववादीहरू विभिन्न गिरोहमा विभाजित भए । तिनीहरू अत्याचारको कारणले गुटबन्दी गरे । तिनीहरूको यातना एउटा निश्चित समय महाप्रलयसम्म स्थगित गरिने कुराको ज्ञान अल्लाहलाई नभएको भए, तिनीहरूको कुफ्र र झूठो ठहर गरिनुको कारणले पहिला नै तिनीहरूलाई यातना दिनुहुने थियो । तौरातका वारिस यहूदीहरू, इन्जीलका वारिस ईसाईहरू र तिनीहरूपछि यी बहुदेववादीहरू कुरआनको बारेमा शङ्कामा छन् र यसलाई झूठो ठहर गर्दैछन् । यस कुरआनलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लिएर आउनुभयो !  
१५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यसै सीधा धर्मतर्फ आह्वान गर्नुहोस् र अल्लाहको आदेश अनुसार यसमा अडिग रहनुहोस् । तिनीहरूका गलत इच्छाहरूको अनुसरण नगर्नुहोस् । तिनीहरूसँग वादविवाद हुँदा भन्नुहोस्– मैले ईमान ल्याएं अल्लाहमाथि र ती किताबहरूमाथि जसलाई अल्लाहले आफ्ना रसूलहरूमाथि अवतरण गर्नुभयो । मलाई अल्लाहले तिमीहरूबीच निसाफका साथ निर्णय गर्ने आदेश दिनुभएको छ । मैले भक्ति गरेको अल्लाह हामीहरूको पनि पालनकर्ता हुनुहुन्छ र तिमीहरूको पालनकर्ता पनि हुनुहुन्छ  । हामीले गर्ने गरेका राम्रा वा नराम्रा कर्महरू हाम्रा लागि छन् र तिमीहरूले गर्ने गरेका राम्रा वा नराम्रा कर्महरू तिमीहरूका लागि छन् । प्रमाणहरू सिद्ध भएपछि हामी र तिमीहरूबीच कुनै झगडा छैन । अल्लाहले हामी सबैलाई जम्मा गर्नुहुनेछ । महाप्रलयको दिन हामी सबैले फर्केर उहाँतर्फ नै जानुछ । उहाँले हामीलाई हाम्रो हक अनुसार चाँडै नै बदला दिनुहुनेछ । अनि त्यस दिन झूठा तथा सच्चा र सत्यवादी तथा असत्यवादीबीच फरक स्पष्ट हुनेछ ।
१६. जुन मानिसहरू गलत प्रमाणहरूबाट मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण भएको धर्मविरुद्ध झगडा गर्छन्, जबकि मानिसहरू यसलाई स्वीकार गरेका छन् अल्लाह र मोमिनहरू नजिक तिनीहरूका प्रमाणहरू रद्दन हुनेछन्, काम लाग्ने छैनन् । तिनीहरूका कुफ्र र इन्कारले गर्दा तिनीहरूमाथि अल्लाहको रोष प्रकट हुनेछ । महाप्रलयको दिन कडा यातना तिनीहरूका लागि पर्खि रहेको छ ।
काफिरहरूका प्रमाणहरूलाई रद्द गरेपछि अल्लाहले कुरआनको वर्णन गर्नुभयो, जसबाट मुस्लिमहरू प्रमाणहरू प्रस्तुत गर्छन् । अल्लाहले भन्नुभयो–
१७. अल्लाहले नै सत्यका साथ कुरआन अवतरण गर्नुभयो । यसमा कुनै सन्देह छैन । उहाँले मानिसहरूबीच निर्णय गर्नमको लागि निसाफ अवतरण गर्नुभयो । यिनीहरूले झूठा ठहर गरेको महाप्रलय नजिक छ, किनभने हरेक आउने वस्तु नजिक हुन्छ ।
१८. यसमाथि आस्था नराख्नेहरू यसको लागि हतार गर्छन् । किनभने तिनीहरू हिसाब, बदला र सजायमा आस्था राख्दैनन् । अल्लाहमाथि ईमान राख्नेहरू त्यसबाट डराउँछन् । किनभने उनीहरू त्यहाँ जानबाट डराउँछन् । उनीहरू यस कुरामा विश्वसनीय ज्ञान राख्छन् कि यो सत्य हो, यसमा कुनै शङ्का छैन । निस्सन्देह महाप्रलयको बारेमा वादविवाद गर्ने, झगडा गर्ने र त्यसको आगमामा शङ्का गर्नेहरू स्पष्ट पथभ्रष्टतामा छन् । 
१९. अल्लाह आफ्ना भक्तहरूप्रति स्नेही हुनुहुन्छ, जसलाई चाहनुहुन्छ प्रशस्त जीविका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ कारणवश कम जीविका दिनुहुन्छ । उहाँ शक्तिशाली हुनुहुन्छ, कोही उहाँमाथि विजयी हुन सक्दैन । उहाँ प्रभुत्वशाली हुनुहुन्छ र आफ्ना शत्रुहरूबाट बदला लिनुहुन्छ । 
२०. जो व्यक्ति सत्कर्म गरेर परलोकको बदला चाहन्छ, हामी उसको पुण्यलाई कय्यौं गुणा बढाउँछौं । किनभने पुण्य कर्म दस गुणा देखि सात शय गुणा बरु त्यसभन्दा पनि बढी बढाइन्छ । जो व्यक्ति मात्र लोक चाहन्छ त्यसलाई यहाँ उसको भाग्यमा लेखिएको सबै थोक दिन्छौं । यस्तो व्यक्तिको लागि परलोकमा कुनै अंश रहदैन ।
२१. के यी बहुदेववादीहरूका लागि अल्लाहबाहेक अन्य भगवानहरू छन्, जो तिनीहरूका लागि अन्य धर्म बनाउँछन्, जसले तिनीहरूका लागि शिर्क, हलाललाई हराम गर्ने र हरामलाई हलाल गर्ने काम गर्छन् जसको अनुमति अल्लाहले दिनुभएको छैन ? विभेद गर्नेहरूबीच निर्णय गर्नको लागि यदि अल्लाहले एउटा समय निर्धारित नगरेको भए उहाँले तिनीहरूबीच निर्णय गरिदिनुहुन्थ्यो । तर उहाँ त्यस दिन निर्णय गर्नको लागि स्थगित गर्नुहुन्छ । शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूका लागि महाप्रलयको कडा यातना पर्खि रहेको छ ।
२२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूलाई तपाईंले यातनाबाट डराइरहेका देख्नुहुनेछ, किनभने तिनीहरूले पाप गरे । तिनीहरूलाई अवश्य नै सजाय मिल्नेछ । मात्र डरले तिनीहरूलाई कुनै फाइदा पुर्याउने छैन । जुन मानिसहरूले अल्लाह र उहाँका रसूलहरूमाथि ईमान ल्याए, सत्कर्म गरे र दुष्कर्म गरेनन्, उनीहरू स्वर्गका बगैंचाहरूमा मोज मस्तीमा हुनेछन् । उनीहरू जे इच्छा गर्नेछन् अल्लाहनजिक कहिले समाप्त नहुने वरदान पाउनेछन् । त्यो महान कृपा हो जो जस्तो कृपा अरू कुनै हुन सक्दैन ।
२३. यो हो महान शुभसूचना जो अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को माध्यमबाट सत्कर्मी मोममिनहरूलाई दिनुभएको छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– मैले गरेको आह्वानप्रति तिमीहरूसित कुनै प्रतिदान माग्दिन । अँ तिमीहरूकै एउटा फाइदा के चाहन्छु भने नातेदारीले गर्दा तिमीहरू मसँग माया गर । जसले पुण्यकर्म गर्छ मैले उसको प्रतिदानलाई कय्यौं गुणा बढाइ दिन्छु, एउटा पुण्यलाई दस गुणा बढाउनेछु । अल्लाहले तौबा गर्ने भक्तहरूका पापहरू माफ गर्नुहुनेछ । अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि उनीहरूले गरेका सत्कर्महरूको कदर गर्नुहुन्छ ।
२४. बहुदेववादीहरूले ठानेका कुराहरूमध्ये यो पनि हो कि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले आफैं यो कुरआन रचनु भयो र यो अल्लाहको तर्फबाट अवतरण भएको छ भन्ने कुरा भन्नुभयो । अल्लाहले यस कुराको खण्डन गर्दै भन्नुभयो– यदि तपाईंले आफैं रचना गरेको भए मैले तपाईंको हृदयमाथि मोहर लगाउने थिएं, तपाईंले रचना गरेको असत्य कुरालाई मेटाउने थिएं र सत्यलाई कायम राख्ने थिएं । तर अल्लाहले यस्तो गर्नु भएन, जसबाट यो कुरा प्रमाणित हुन्छ कि नबी (सल्लल्लाहु अलैहि व सल्लम) सत्य हुनुहुन्छ र  उहाँतर्फ अल्लाहले वही (प्रकाशना) पठाउनुभयो । निस्सन्देह उहाँ भक्तहरूका मनका कुराहरू जान्नुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन । 
२५. अल्लाह नै भक्तहरूका तौबा स्वीकार गर्नुहुन्छ, जब उनीहरू कुफ्र र अवज्ञाबाट तौबा गर्छन् । उहाँ नै उनीहरूले गरेका पापहरूलाई माफ गर्नुहुन्छ । उहाँ तिमीहरूले गरेका कार्यहरू जान्नुहुन्छ र त्यसको बदला दिनुहुनेछ ।
२६. अल्लाह सत्कर्मी मोमिनहरूको दुआ सुन्नुहुन्छ र उनीहरूले नमागेका कृपा पनि थपेर दिनुहुन्छ । जबकि काफिरहरूका लागि महाप्रलयको दिनको कडा यातना पर्खि राखेको छ । 
२७. यदि अल्लाहले सबै भक्तहरूलाई धेरै जीविका दिनु भएमा तिनीहरूले धर्तीमा अत्याचार गरेर आतङ्क मच्चाउने थिए । तर अल्लाह जसरी चाहनुहुन्छ धेरै वा थोरै जीविका अवतरण गर्नुहुन्छ । अल्लाह भक्तहरूका अवस्थालाई जान्नुहुन्छ र देख्नुहुन्छ अनि आफ्नो विवेक अनुसार कसैलाई धेरै र कसैलाई थोरै जीविका प्रदान गर्नुहुन्छ । 
२८. अल्लाह जुन भक्तहरूमाथि चाहनुहुन्छ पानी बर्साउनुहुन्छ जबकि तिनीहरू त्यसबाट निराश भइसकेका हुन्छन् । अल्लाहले यो वर्षा बसर्एपछि भूमिले बालीनाली उमार्छ । उहाँ नै भक्तहरूका मामिलाहरूका मालिक हुनुहुन्छ र हरेक अवस्थामा प्रशंसनीय हुनुहुन्छ ।
२९. अल्लाह प्रभुत्वशाली र एक मात्र हुनुहुन्छ भन्ने कुराका प्रमाणहरूमध्ये एउटा आकाशहरू र पृथ्वीको सृष्टि र अचम्म पार्ने खालका प्राणीहरू पनि हो । उहाँ तिनीहरूलाई जम्मा गर्न र बदला दिन जहिले चाहनुहुन्छ त्यसको सामर्थ्य राख्नुहुन्छ । जसरी उहाँलाई पहिले पटक सृष्टि गर्नबाट कसैले विफल पार्न सकेन त्यसरी नै यसबाट पनि कसैले विफल पार्न सक्दैन ।
३०. हे मानव हो ! तिमीहरूको जन­धनमा जे जति हानि पुग्छ त्यो तिमीहरूको पापले गर्दा नै पुग्छ । अल्लाहले तिमीहरूका धेरै पापहरू माफ गर्नुहुन्छ । ती पापहरूले गर्दा तिमीहरूको पकड गर्नुहुन्न । 
३१. अल्लाहले तिमीहरूको पकड गर्न चाहेमा तिमीहरू कतै भागेर अल्लाहबाट बच्न सक्दैनौ । तिमीहरूले आफ्ना मामिलाहरूको जिम्मेबारी लिने कुनै मित्र पाउँदैनौ र यातनाबाट जोगाउने कुनै सहयोगी पाउँदैनौ ।
३२. अल्लाह प्रभुत्वशाली र एक मात्र हुनुहुन्छ भन्ने कुराका प्रमाणहरूमध्ये समुद्रमा चलिरहेका पहाड जस्ता अग्ला पानी­जहाजहरू हुन् । 
३३. अल्लाहले चाहनुभएमा यी जहाजहरूलाई चलाउने हावालाई बन्द गर्न सक्नुहुन्छ, अनि ती जहाजहरू समुद्रमा नै रोकिनेछन् । निस्सन्देह जहाजको सृष्टि र हावाको नियन्त्रणमा दुःख र कष्टमा धैर्य गर्ने र वरदानमा आभार प्रकट गर्नेहरूका लागि अल्लाहको प्रभुत्वका स्पष्ट प्रमाणहरू छन् । 
३४. अल्लाहले चाहनुभएमा मानिसहरूको पापले गर्दा हावा हूरी पठाएर ती जहाजहरूलाई नष्ट गर्न सक्नुहुन्छ । तर उहाँ धेरै मानिसहरूका पापहरूलाई माफ गर्नुहुन्छ, त्यसको कारणले सजाय दिनुहुन्न ।
३५. अल्लाहका निशानीहरूलाई रद्द गर्नको लागि त्यसको बारेमा वादविवाद गर्नेहरूले ती जहाजहरू नष्ट हुँदा यस कुरालाई जान्नेछन् कि यस सर्वनाशबाट जोगिने कुनै भाग्ने स्थान छैन । अनि त्यतिखेर तिनीहरूले मात्र अल्लाहलाई पुकार्नेछन् र बाँकि सबैलाई छोड्नेछन् । 
३६. हे मानव हो ! तिमीहरूलाई जे जति धन­सम्पत्ति, सम्मान र सन्तान दिइएको छ ती सबै सांसारिक सर­सामान मात्र हुन्, जो एक दिन समाप्त हुनेछन् । सधैं रहने वरदान त स्वर्गका वरदानहरू हुन् जसलाई अल्लाहले यस्ता मानिसहरूका लागि तयार पार्नुभएको छ जो अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान राख्छन् र सबै मामिलामा मात्र अल्लाहमाथि भरोसा गर्छन् । 
३७. जो ठूला पापहरूबाट बच्ने गर्छन्, कसैले आफ्नो कुरा वा कर्मबाट कष्ट पुर्याएमा रिस आउँदा आउँदै पनि उसलाई माफ गर्छन्, त्यसको सजाय दिँदैनन् । तिनीहरूले कृपा गर्दै माफ गर्छन् , यदि त्यसमा भलाई र हित हुन्छ भने ।
३८. यस्ता मानिसहरू अल्लाहका आदेशको पालना गरेर र उहाँले मनाहि गर्नुभएको कार्य त्यागेर उहाँका आज्ञापालन गर्छन् । उनीहरू पूर्णरूपमा सलाह कायम गर्छन् । उनीहरू महत्वपूर्ण मामिला परस्पर सर­सल्लाहले गर्छन् । अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि अल्लाहले प्रदान गर्नुभएका धन­सम्पत्तिबाट खर्च गर्छन् । उनीहरूमाथि कसैले अत्याचार गरेमा आत्म सम्मानको लागि सत्यका साथ बदला लिन्छन्, यदि अत्याचारी माफि योग्य हुँदैन । विशेषरूपमा जब माफ गर्नमा हित हुँदैन ।
४०. जसले आफ्नो हक लिन चाहन्छ त्यसलाई यसको अधिकार छ तर जति अत्याचार गरिएको छ त्यति मात्र लिन मिल्छ, त्यसभन्दा बढी लिन सक्दैन । जसले अत्याचारीलाई माफ गर्छ, त्यसको बदला लिँदैन, भाइ भाइबीच सन्धि गर्छ भने त्यसको प्रतिदान अल्लाहकहाँ पाउनेछ । निस्सन्देह अल्लाह अत्यचारीहरूलाई मन पराउनुहुन्न जो मानिहरूहरूमाथि, तिनीहरूका धन­सम्पत्तिमाथि र तिनीहरूका सम्मानमाथि अत्याचार गर्छन् ।
४१. जुन मानिसहरूले अत्याचारको बदला लिन्छन् उनीहरूको पनि पकड हुने छैन ।
४२. पकड अत्याचारीहरूको हुनेछ जो मानिसहरूमाथि अत्याचार गर्छन् र धर्तीमा पाप गर्छन् । यस्ता मानिसहरूका लागि आखिरतमा कडा यातना छ । 
४३. जुन मानिसहरूले अरूको अत्याचारलाई सहन गर्छन् र अत्याचारीलाई माफ गर्छन्, उनीहरूको धैर्यको राम्रो परिणाम हुन्छ, उसमाथि पनि र समाजमाथि पनि । यो प्रशंसनीय कार्य हो, यो अवसर भाग्वानीहरूले मात्र पाउने गर्छन् । 
४४. अल्लाहले जसलाई मार्गदर्शनबाट वञ्चित गरेर अपमानित गर्नुहुन्छ र पथभ्रष्ट गर्नुहुन्छ उसको कोही मित्र हुँदैन । कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूले जब महाप्रलयको दिन यातनालाई देख्नेछन् तब  कामना गर्नेछन्– के लोकमा फर्केर जाने कुनै उपाय छ, ताकि हामी तौबा गरौं ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले यस्तै गर्दै तिनीहरूलाई देख्नुहुनेछ ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले यी अत्याचारीहरूलाई नर्कअगाडि उभ्याइएको देख्नुहुन्छ, जब तिनीहरू अपमानित हुनेछन् । डरले गर्दा तेर्सो आँखाले मानिसहरूलाई देखिराखेका हुनेछन् । मोमिनहरूले भन्नेछन्– वास्तवमा यिनीहरू हुन् घाटा खानेहरू, जसले महाप्रलयको दिनको यातनामा परेर आफूलाई र आफ्ना परिवारलाई घाटामा पारे । जानी राख, कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरू सदा सर्वदाको यातनामा हुनेछन् ।
४६.  महाप्रलयको दिन अल्लाहको यातनाबाट निकाल्न सहयोग गर्ने कोही मित्र हुने छैन । जसलाई अल्लाह अपमानित गर्न चाहनुहुन्छ उसलाई पथभ्रष्ट गर्नुहुन्छ, अनि सत्यसम्म निर्देशन गर्ने कुनै मार्ग उसले कहिल्यै पाउँदैन ।  
४७. हे मानव ! स्वस्फुर्त अल्लाहको आदेशको पालना, उहाँले मनाहि गर्नुभएको कार्य त्यागेर र ढीला सुस्ती नगरिकन अल्लाहको आज्ञापालन गर । महाप्रलयको आगमनअघि यो कार्य गर, किनभने जब महाप्रलय आउनेछ तब कसैले त्यसलाई रोक्न सक्ने छैन । त्यस दिन तिमीहरूलाई शरण लिने ठाउँ मिल्दैन । तिमीहरू लोकमा गरेका पापहरूको पनि इन्कार गर्न सक्ने छैनौ । 
४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरू हाम्रो आदेशबाट विमुख हुन्छन् भने हामीले तपाईंलाई तिनीहरूका लागि संरक्षक बनाएर पठाएका छैनौं । तपाईंको जिम्मेबारी हाम्रो सन्देश पुर्याउनु मात्र हो ।  हिसाब लेने जिम्मा हामीमाथि छ । जब हामी मानवलाई सम्पन्नता र स्वाथ्य इत्यादि जस्ता कुनै दयाको स्वाद चखाउँछौं तब ऊ प्रसन्न हुन्छ । जब मानवलाई उसको पापले गर्दा कुनै कष्ट पुग्छ तब ऊ अल्लाहका वरदानप्रति कृतघ्न हुन्छ, आभारी हुँदैन । अल्लाहले जे जति रोष प्रकट गर्नु भाग्यमा लेख्नुभयो त्यसमा पनि कुनै रहस्य लुकेको छ ।
४९. ­५०.  आकाशहरू र पृथ्वीको सत्ता­शासन अल्लाहकै हातमा छ । उहाँले जे चाहनुहुन्छ, पुलिङ्ग स्त्रीलिङग इत्यादि सृष्टि गर्नुहुन्छ । जसलाई चाहनुहुन्छ छोरीहरू मात्र प्रदान गर्नुहुन्छ र छोराहरूबाट वञ्चित राख्नुहुन्छ र जसलाई चाहनुहुन्छ छोराहरू मात्र प्रदान गर्नुहुन्छ र छोरीहरूबाट वञ्चित राख्नुहुन्छ । वा जसलाई चाहनुहुन्छ छोरा र छोरी दुवै प्रदान गर्नुहुन्छ । उहाँ जसलाई चाहनुहुन्छ बाँझ बनाउनुहुन्छ, कुनै सन्तान जन्म दिन सक्दैन । जे जति हुँदैछ र जे जति भविष्यमा हुनेछ सबै कुराको ज्ञान अल्लाहलाई छ । यी सबै उहाँको पूर्ण ज्ञान र तत्वदर्शिताले हुन्छ । उहाँबाट केही लुकेको छैन र उहाँलाई कसैले विवश पार्न सक्दैन । 
५१. एक जना मानवले अल्लाहसँग कि त वही (प्रकाशना) द्वारा कुरा गर्न सक्छ, कि त सङ्केतद्वारा, वा इत्यादि तरिकाले । वा उसले अल्लाहलाई नदेखिकन मात्र उहाँको कुरा सुन्न सक्छ, वा उहाँले जिब्रील (अलैहिस्सलाम) जस्तो फरिश्ता दूतको रूपमा पठाउन सक्नुहुन्छ, जसले अल्लाहको अनुमतिले कुनै कुरा मानव रसूलतर्फ वही गर्न सक्छन् । अल्लाह जे चाहनुहुन्छ वही गर्नुहुन्छ, उहाँ आफ्नो अस्तित्व र गुणहरूमा उच्चतम हुनुहुन्छ र उहाँ सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले विगतका सन्देष्टाहरूतर्फ वही (प्रकाशना) गरे झैं तपाईंतर्फ पनि कुरआन वही गर्यौं । यसअघि तपाईंलाई थाहा थिएन आकाशबाट अवतरण भएको किताब भनेको के हो र ईमान भनेको के हो ? तर हामीले यस कुरआनलाई प्रकाश बनायौं । आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छौं यसबाट मार्गदर्शन गर्छौं । तपाईं मानिसहरूलाई सीधा मार्ग इस्लामतर्फ आह्वान गरिराख्नुहोस् ।
५३. यो अल्लाहको मार्ग हो जसले आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूको सृष्टि गर्नुभयो र यी सबैको सञ्चालन गरिराख्नुहुन्छ । अन्ततः सबै मामिलाहरू फर्केर अल्लाहतर्फ नै जानेछन्, उहाँले नै यी सबैको भाग्य निर्धारण गर्नुहुन्छ र सबैको सञ्चालन गर्नुहुन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...