शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण सृष्टिहरू अल्लाहको गुणगान गर्छन् र असुहाउँदो कमिकमजोरीबाट उहाँको पवित्रताको वर्णन गर्छन् । राज्य केवल उहाँको मात्र हो । उहाँबाहेक अरू कोही शासक छैन । राम्रा प्रशंसाहरू केवल उहाँको लागि मात्र रहेको छ ।
२. हे मनुष्यहरू हो ! उहाँले नै तिमीहरूको सृष्टि गर्नुभएको हो । तिनीहरूमध्ये कोही उहाँलाई नकार्छ, तसर्थ उनीहरूको वासस्थान नर्क हो । अनि तिमीहरूमध्ये कोही उहाँमाथि आस्था राख्छ, तसर्थ उनीहरूको वासस्थान स्वर्ग हो । तिमीहरूले गर्ने कार्यहरूको ज्ञान अल्लाहलाई छ । तिमीहरूको कुनै पनि क्रियाकलाप उहाँबाट लुकेको छैन र त्यसै अनुसार उहाँले तिमीहरूलाई बदला दिनुहुनेछ ।
३. उहाँले आकाशहरू र पृथ्वीलाई सत्यका साथ सृष्टि गर्नुभएको हो, व्यर्थै सृष्टि गर्नुभएको होइन । हे मनुष्यहरू हो ! उहाँले आफ्नो दया र उदारताका कारण तिमीहरूलाई उत्तम रूप प्रदान गर्नुभयो । यदि उहाँले चाहनुभएको भए कूरूप प्रदान गर्नुहुनेथ्यो । कयामतको दिन उहाँतिर नै फर्केर जानुपर्नेछ । तिमीहरूका कार्य अनुसार नै उहाँले तिमीहरूलाई बदला दिनुहुनेछ । यदि कार्यहरू राम्रा छन् भने बदला राम्रो हुनेछ र कार्यहरू नराम्रा छन् भने बदला नराम्रो हुनेछ ।
४. उहाँलाई आकाशहरू र पृथ्वीका सम्पूर्ण कुराहरूको ज्ञान छ । उहाँलाई तिमीहरूले जाहेर गर्ने र लुकाउने सम्पूर्ण कार्यहरू थाहा छ । अल्लाहलाई हृदयमा रहेका राम्रा वा नराम्रा कुराहरूको ज्ञान छ । त्यसबाट केही पनि लुकेको छैन ।
५. हे मुश्रिकहरू हो ! तिमीहरूभन्दा पहिलेका झूठो ठहर गर्ने समुदायहरू जस्तै, नूह (अलैहिस्सलाम) को समुदाय, आद, समूद आदिको खबर तिमीहरूसमक्ष आइपगेन र ? उनीहरूले संसारमा गरेको कुफ्रको यातना चाखिसकेका छन् । अनि उनीहरूको लागि आखिरतमा पीडादायी यातना रहेको छ । किन नहुनु, बरू तिमीहरूसमक्ष ती खबरहरू आइसकेका छन् । उनीहरूलाई जे भयो त्यसबाट पाठ ग्रहण गर र उनीहरूलाई जस्तै तिमीहरूलाई पनि कष्ट हुनु अघि अल्लाहसमक्ष पश्चाताप गर ।
६. उनीहरूले यातना भोग्नुको कारण अनुसार उनीहरूसमक्ष अल्लाहको तर्फबाट रसूलहरू स्पष्ट तर्क र प्रमाणहरूका साथ आएका थिए । तर मनुष्यहरू रसूल हुन नसक्ने कुरा गर्दै उनीहरूले भनेः के मनुष्यले हामीलाई सत्यको मार्ग देखाउने हो त ? तसर्थ उनीहरूले कुफ्र गरे र उनीहरूमाथि आस्था राख्नबाट विमुख भए । यसो गरेर उनीहरूले अल्लाहलाई हानी पुर्याउन सकेनन् । अल्लाहलाई उनीहरूको आस्थाको र अनुसरणको आवश्यकता छैन किनकि उनीहरूको अनुसरणले उहाँलाई केही फाइदा पुग्नेछैन । अल्लाहलाई आफ्ना भक्तहरूको आवश्यकता छैन । उहाँ आफ्ना कुराहरूमा र कार्यहरूमा प्रसंशित हुनुहुन्छ ।
७. अल्लाहलाई नकार्नेहरूको सोँच अनुसार अल्लाहले उनीहरूको मृत्युपश्चात उनीहरूलाई पुनः जीवित पारेर उठाउनुहुनेछैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनः जीवित पारेर उठाइने कार्य नकार्नेहरूलाई भन्नुहोस्- अवश्य, कयामतको दिन मेरा पालनकर्ताले तिमीहरूलाई पुनः जीवित पारी उठाउनुहुनेछ । अनि तिमीहरूले संसारमा गरेका कार्यहरूको विषयमा तिमीहरूलाई बताउनुहुनेछ । त्यसरी पुनः जीवित पारी उठाउनु अल्लाहको लागि सहज कार्य रहेको छ किनकि उहाँले तिमीहरूलाई पहिलो पटक सृष्टि गरिसक्नुभएको छ । तसर्थ तिमीहरूको मृत्युपश्चात तिमीहरूलाई हिसाब लिन र बदला दिन पुनः जीवित पारी उठाउन सक्षम हुनुहुन्छ ।
८. हे मनुष्यहरू हो ! अल्लाहमाथि, उहाँका रसूलमाथि र हामीले हाम्रा रसूलमाथि अवतरित गरेको कुर्आनमाथि आस्था राख । तिमीहरूले गर्ने कार्यहरूबाट अल्लाह अवगत हुनुहुन्छ । तिमीहरूको कार्यहरूमध्ये कुनै पनि कुरा उहाँबाट लुकेको छैन र त्यसै अनुसार उहाँले तिमीहरूलाई बदला दिनुहुनेछ ।
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कयामतको दिनलाई सम्झनुहोस् जुन दिन अल्लाहले तिमीहरूलाई तिमीहरूको कार्यहरूको बदला दिनको लागि भेला पार्नुहुनेछ । त्यस दिन काफिरहरूको हार र घाटा जाहेर हुनेछ किनकि मोमिनहरूले स्वर्गमा नर्कबासीहरूका घरका हकदार हुनेछन् र नर्कबासीहरू नर्कमा मोमिनहरूका घरका हकदार हुनेछन् । जसले अल्लाहमाथि आस्था राख्नेछ र सत्कर्म गर्नेछ अल्लाहले उसका पापहरूलाई क्षमा गर्नुहुनेछ र उसलाई बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ जहाँका महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । उनीहरू त्यहाँ सदाका लागि रहनेछन् । उनीहरू त्यहाँबाट निस्कने छैनन् र त्यहाँका अनुग्रहहरू कहिल्यै समाप्त हुनेछैन । उनीहरूले महान सफलता प्राप्त गर्नेछन् जस्तो अरू कुनै सफलता हुनेछैन ।
१०. अल्लाहलाई नकार्नेहरू, हामीले हाम्रा रसूलमाथि अवतरित आयतहरूलाई झूठो ठहर गर्नेहरू नै नर्क प्रवेश गर्नेहरू हुन् जहाँ उनीहरू सदाका लागि रहनेछन् । कति नराम्रो उनीहरूको बासस्थान रहेको छ ।
११. अल्लाहको फैसला र उहाँले लेख्नुभएको भाग्यले गर्दा मात्र कसैलाई, उसका सम्पत्तिमा वा उसको सन्तानलाई कष्ट आउँछ । जसले अल्लाहमाथि, उहाँका फैसलामाथि र उहाँका भाग्यमाथि आस्था राख्छ अल्लाहले उसलाई आफ्नो आदेश, प्रसन्नता र फैसलालाई स्वीकार गर्न उसको हृदयलाई सहज बनाइदिनुहुन्छ । अल्लाहलाई सबै कुराको ज्ञान छ र उहाँबाट केही पनि लुकेको छैन ।
१२. अल्लाहको अनुरसण गर र उहाँका रसूलको अनुसरण गर । यदि उहाँका रसूलले ल्याउनुभएको सन्देशबाट तिमीहरू विमुख भयौ भने त्यस विमुख हुनुको पाप तिमीहरूमाथि नै आउनेछ । हाम्रो रसूलमाथि हामीले दिएको सन्देश पुर्याइदिने जिम्मेवारी मात्र रहेको छ र उहाँले तिमीहरूलाई पुर्याउनुपर्ने सन्देश पुर्याइसक्नुभएको छ ।
१३. अल्लाह नै वास्तविक उपास्य हुनुहुन्छ, उहाँबाहेक अरू कोही उपास्य छैन । तसर्थ, मोमिनहरूले आफ्ना सम्पूर्ण मामिलामा अल्लाहमाथि मात्र निर्भर हुनुपर्दछ ।
१४. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशहरूको पालना गर्नेहरू हो ! वास्तवमा, तिमीहरूका केही पत्नीहरू र केही सन्तानहरू तिमीहरूका शत्रु हुन् किनकी उनीहरू तिमीहरूलाई अल्लाहको सम्झनाबाट र उहाँको मार्गमा युद्ध गर्नबाट रोक्दछन् र तिमीहरूलाई निरूत्साहित गर्छन् । सावधान रह, तिमीहरूमाथि उनीहरूको प्रभाव नपरोस् । यदि तिमीहरूले उनीहरूको भुललाई माफ गर्यौ, त्यसबाट टाढा रह्यौ र उनीहरूबाट त्यसलाई लुकाएर राख्यौ भने अल्लाहले तिमीहरूका पापहरूलाई क्षमा गर्नुहुनेछ र तिमीहरूमाथि दया गर्नुहुनेछ । कामको प्रकृति अनुसारको बदला हुन्छ ।
१५. तिमीहरूको सम्पत्ति र सन्तान तिमीहरूको लागि परिक्षा हो । कहिले उनीहरू अवैध जीविकोपार्जन गर्न लगाउँछन् र अल्लाहको अनुसरण छोड्न लगाउँछन् । तर जो आफ्ना सन्तानको अनुसरण र सम्पत्तिमा व्यस्थ रहनमाथि उहाँका अनुसरणलाई प्राथमिकता दिन्छ उसको लागि अल्लाहसँग महान प्रतिदान रहेको छ । त्यो महान प्रतिदान स्वर्ग हो ।
१६. अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट सकेसम्म बचेर उहाँको भय राख । अल्लाहको र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को कुरा सुन र अनुसरण गर । राम्रा कामका लागि अल्लाहले प्रदान गर्नुभएको सम्पत्तिलाई खर्च गर । जसलाई अल्लाहले कन्जुसी गर्नबाट सुरक्षित राख्नुभयो उनीहरूले चाहेको कुरा पाउन र जुन कुराको डर छ त्यसबाट बच्न सफल हुनेछन् ।
१७. यदि अल्लाहको मार्गमा खर्च गरी तिमीहरूले अल्लाहलाई राम्रो ऋण दियौ भने अल्लाहले तिमीहरूको प्रतिदानलाई दस गुणा देखि सात सय गुणा र त्यो भन्दा पनि धेरै गुणा गर्नुहुनेछ र तिमीहरूको पापहरूलाई क्षमा गर्नुहुनेछ । अल्लाह गुणग्राही हुनुहुन्छ, थोरै कार्यको बदलामा धेरै प्रतिदान दिनुहुन्छ । उहाँ सहनशील हुनुहुन्छ, यातना दिन हतार गर्नुहुन्न ।
१८. अल्लाह अदृश्य र दृश्यको ज्ञाता हुनुहुन्छ । त्यसबाट उहाँबाट केही पनि लुकेको छैन । उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँलाई कसैले पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्टिमा, कानुनमा र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें