शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. तपाईं आफ्नो पालनकर्ताको महिमा गर्नुहोस् जो आफ्नो सृष्टिभन्दा उच्च हुनुहुन्छ । अनि जब तपाईं उहाँको नाम उल्लेख गर्नुहुन्छ र उहाँको महिमा गर्नुहुन्छ, उहाँको नामको उच्चारण गर्नुहोस् ।
२. जसले मानिसलाई उत्तम रूपमा सृष्टि गर्नुभयो र आकारलाई सन्तुलनमा राख्नुभयो ।
३. जसले सृष्टिहरूलाई विभिन्न लिंग, प्रकार र चरित्रमा विभाजित गर्नुभयो । अनि प्रत्येक सृष्टिलाई उसलाई उचित र उपयुक्त कुराहरूको मार्गदर्शन गर्नुभयो ।
४. जसले धर्तीबाट तिमीहरूको गाईबस्तुहरूको आहार उमार्नुभयो ।
५. अनि उहाँले त्यसलाई पूरै हरियो भएपछि कालो सुख्खा झारमा परिणत गर्नुभयो ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंलाई कुर्आन पढाउनेछौं र त्यसलाई तपाईंको छातीमा सुरक्षित पार्नेछौं त्यसपछि तपाईंले भुल्नु हुनेछैन । तसर्थ त्यसलाई भुल्ने डरले तपाईं जिब्रील (अलैहिस्सलाम) सँग त्यो पढ्न हतार नगर्नुहोस् ।
७. त्यसबाहेक जुन अल्लाह तपाईंलाई बिशेष उद्देश्यले बिर्साउनुहुन्छ किनकि उहाँ जाहेर गरिएका र लुकाइएका सबै कुरा जान्नुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन ।
८. हामी तपाईंको लागि अल्लाहलाई प्रसन्न पार्ने र स्वर्ग लिएर जाने कर्मलाई सहज बनाउँछौं ।
९. तसर्थ हामीले तपाईंलाई वही गरेको कुर्आनबाट अरूलाई उपदेश दिनुहोस् र उनीहरूले सल्लाह सुन्न जारी राखेसम्म उनीहरूलाई सल्लाह दिनुहोस् ।
१०. जो अल्लाहसँग डराउँछन् उनीहरूले उपदेश ग्रहण गर्नेछन् किनकि उनीहरू त्यस उपदेशबाट फाइदा लिन सक्छन् ।
११. अनि काफिरले उपदेश ग्रहण गर्नबाट बच्छ र त्यसलाई अस्वीकार गर्नेछ किनकि ऊ आखिरतमा सबैभन्दा अभागी मानिस हुनेछ र नर्कमा प्रवेश गर्नेछ ।
१२. आखिरतको जीवनमा विशाल आगोमा प्रवेश गरेर उसले सदाको लागि त्यसको रापको पीडा र कष्ट सहनेछ ।
१३. त्यसपछि ऊ सँधै आगोमा रहनेछ, सजायको कष्टबाट आफैंलाई मुक्त पार्नको निम्ति मृत्युवरण गर्न सक्दैन र मर्यादित जीवन जिउँन सक्दैन ।
१४. शिर्क र पापबाट शुद्ध भएका व्यक्तिहरूले आफूले चाहेको कुरा पाउन सफल हुनेछ ।
१५. धर्मले निर्धारण गरेको तरिकाले उसले आफ्नो पालनकर्तालाई सम्झ्यो र तोकिएको तरिका बमोजिम सलाह पढ्यो ।
१६. बरू तिमीहरू संसारको जीवनलाई प्राथमिकता दिन्छौ र त्यसलाई आखिरतभन्दा उच्च दर्जामा राख्छौ । यद्यपि ती दुईको बीचमा ठूलो भिन्नता छ ।
१७. बरू आखिरत संसारभन्दा उत्तम र उत्कृष्ट रहेको छ किनकि त्यसमा निरन्तर सुख र कहिले समाप्त नहुने आनन्द रहेको छ ।
१८. वास्तवमा, हामीले उल्लेख गरेका यी आदेशहरू र सूचनाहरू कुर्आनभन्दा पहिले अवतरित पुस्तकहरूमा उल्लेख छन् ।
१९. ती इब्राहीम र मूसा (अलैहिमस्सलाम) माथि अवतरण भएका किताबहरू हुन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें