सीधे मुख्य सामग्री पर जाएं

४८- सूरह अल्-फत्ह (मदनी)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट



१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, हामीले हुदैबियाको सम्झौताद्वारा तपाईंलाई स्पष्ट विजय प्रदान गर्यौं ।
२. यसको उद्देश्य अनुसार उहाँले यस विजय अघिका र पछिका तपाईंका पापहरूलाई क्षमा गर्नुहुनेछ । तपाईंको धर्मलाई सहयोग गरी तपाईंमाथि उहाँले आफ्ना अनुग्रहहरूलाई पूरा गर्नुहुनेछ र तपाईंलाई सीधा मार्ग देखाउनुहुन्छ जसमा कुनै टेढोपन छैन र त्यो इस्लामको सीधा मार्ग हो ।
३. अनि अल्लाहले तपाईंका शत्रुहरूविरूद्ध तपाईंलाई प्रभावशाली सहयोग प्रदान गर्नुहुनेछ जसलाई कसैले छेक्ने छैन ।
४. अल्लाह नै हुनुहुन्छ जसले मोमिनहरूका हृदयमा उनीहरूको आस्थामा थप आस्था वृद्धि गर्नको लागि दृढता र शान्ति अवतरण गर्नुभयो । आकाशहरू र पृथ्वीका सम्पूर्ण सेनाहरू केवल उहाँका हुन् । त्यसद्वारा उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ सहयोग गर्नुहुन्छ । अल्लाहलाई आफ्ना भक्तहरूका अवस्थाहरूको भलाइको ज्ञान छ र विजय र समर्थनमा प्रदान गर्नमा तत्वदर्शी हुनुहुन्छ ।
५. अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्ने पुरूषहरू र महिलाहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गर्नुहुनेछ जसका महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । अनि उनीहरूका पापहरूलाई क्षमा गर्नुहुनेछ जसको कारणले उनीहरूलाई यातना दिनुहुनेछैन । स्वर्ग प्राप्त गर्नु र पापहरूको कारणले यातना नदिइने भनिएको कुरा अल्लाहको नजरमा ठूलो सफलता हो जसको बराबर अरू कुनै सफलता नै छैन ।
६. मुनाफिक पुरूषहरू र महिलाहरू, अल्लाहको साझेदार ठहर गर्ने पुरूषहरू र महिलाहरूलाई र अल्लाहले आफ्नो धर्मको सहयोग गर्नुहुन्न, आफ्नो वाणिलाई उच्च पार्नुहुन्न र दुर्भाग्यको घेरा उनीहरूमाथि नै आइपर्नेछ भनी सोँच्नेहरूलाई यातना दिनुहुनेछ । यिनीहरूको कुफ्रर र नराम्रो सोँचको कारणले अल्लाहको क्रोध उनीहरूमाथि आइपर्यो र उनीहरूलाई आफ्नो दयाबाट टाढा पार्नुभयो । उनीहरूको लागि आखिरतमा नर्क तयार पारेर राख्नुभएको छ जसमा उनीहरूलाई सदाका लागि प्रवेश गराउनुहुनेछ । त्यो धेरै नै नराम्रो बासस्थान हो ।
७. आकाशहरू र पृथ्वीका सम्पूर्ण सेनाहरू केवल उहाँका हुन् । त्यसद्वारा उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ सहयोग गर्नुहुन्छ । अल्लाह शक्तिशाली हुनुहुन्छ जसलाई कसैले पराजित गर्न सक्दैन र उहाँ आफ्ना सृष्टिमा, भाग्य लेख्नमा र प्रशासनमा तत्वदर्शी हुनुहुन्छ ।
८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई कयामतको दिन आफ्नो समुदायको साक्षी दिनको लागि साक्षीको रूपमा पठाएका छौं । अनि मोमिनहरूलाई उनीहरूको लागि संसारमा तयार पारिएको विजय र सफलताको र आखिरतमा उनीहरूको लागि तयार परिएका अनुग्रहहरूको शुभ-सूचना दिने बनाएर पठाएका छौं । अनि काफिरहरूलाई संसारमा तयार पारिएका मोमिनहरूको हातबाट प्राप्त हुने अपमान र पराजयको र आखिरतमा उनीहरूको पर्खाइमा बसेको पीडादायी यातना तयार पारिएर राखिएको कुराको डर देखाउने बनाएर पठाएका छौं ।
९. आशा छ, तिमीहरूले अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्नेछौ । अनि उहाँका रसूलको सम्मान र सत्कार गर्नेछौ । अनि तिमीहरूले दिनको सुरूमा र अन्तिममा अल्लाहको महिमागान गर्नेछौ ।
१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मक्काका मुश्रिक बासिन्दाहरूसँग युद्ध गर्ने प्रतिज्ञा तपाईंसित गरे जुन अल्लाहले मन पराउनुभएको छ । वास्तवमा, उनीहरूले अल्लाहसँग प्रतिज्ञा गर्नुभएको हो किनकि उहाँले नै उनीहरूलाई मुश्रिकहरूसँग युद्ध गर्ने आदेश दिनुभएको हो । उहाँ नै उनीहरूलाई बदला दिनुहुनेछ । प्रतिज्ञाको समयमा उनीहरूको हातमाथि अल्लाहको हात छ । उहाँ उनीहरूको क्रियाकलापहरूबाट अवगत हुनुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । अनि जसले आफ्नो प्रतिज्ञा तोड्यो र अल्लाहको धर्मको सहयोग गर्ने विषयमा उहाँसँग जुन वाचा गरेको थियो त्यसलाई पूरा गरेन, उसले प्रतिज्ञा तोडेको र वाचा विरूद्ध गरेको हानी उसैमाथि आइपर्नेछ । यसले अल्लाहलाई हानी पुर्याउने छैन । अनि जसले अल्लाहको धर्मको सहयोग गर्ने वाचा पूरा गर्यो उहाँले उसलाई महान बदला दिनुहुनेछ र त्यो स्वर्ग हो ।
११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जुन गाउँलेहरूलाई अल्लाहले मक्काको यात्रामा तपाईंको साथ जानबाट रोक्नुभएको थियो जब तपाईं उनीहरूलाई निन्दा गर्नुहुनेछ उनीहरूले भन्नेछन्- हाम्रो सम्पत्ति र हाम्रा सन्तानको हेरविचार गर्ने कार्यले हामीलाई तपाईंसँग जानबाट रोक्यो । तसर्थ अल्लाहसँग हाम्रो लागि हाम्रा पापहरूका क्षमा माग्नुहोस् । उनीहरूले नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई क्षमाको लागि गरेको अनुरोध उनीहरूले मुखबाट मात्र गरेका हुन् यो कुरा उनीहरूको हृदयमा छैन किनकि उनीहरूले आफ्ना पापहरूको लागि पश्चाताप गरेका छैनन् । उनीहरूलाई भन्नुहोस्- यदि अल्लाहले तिमीहरूलाई भलाइ दिन चाहनुभयो वा तिमीहरूलाई हानी पुर्याउन चाहनुभयो भने कसैले पनि उहाँलाई रोक्न सक्दैन । बरू अल्लाहलाई तिमीहरूको कृयाकलापहरूलाई जान्नुहुन्छ । तिमीहरूले आफ्ना कृयाकलापहरूलाई लुकाउन खोजे पनि त्यो उहाँबाट लुकेको छैन ।
१२. तिमीहरू धन-सम्पत्ति र सन्तानहरूको हेरविचारमा व्यस्त रहेको भनी गरेको बहाना उहाँसँग नजानुको कारण होइन । बरू रसूल र उहाँका साथीहरू सबैजना समाप्त हुनेछन् र उनीहरू आफ्ना घरहरूमा फर्केर आउनेछैनन् भनी तिमीहरूलाई लागेको थियो । त्यसलाई शैतानले तिमीहरूको हृदयमा सुन्दर बनायो र तिमीहरूका पालनकर्ताले आफ्ना नबीको सहयोग गर्नुहुन्न भनी तिमीहरूले उहाँको विषयमा नराम्रो सोँच राख्यौ । अल्लाहको विषयमा नराम्रो सोँच राख्ने तिमीहरूको साहस र उहाँका रसूलसँग नगएको कारणले तिमीहरू नष्ट हुने भयौ ।
१३. जसले अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राखेन ऊ काफिर हो । अल्लाहलाई नकार्नेहरूलाई यातना दिन कयामतको दिनको लागि हामीले दन्कदो आगो तयार पारेर राखेका छौं ।
१४. आकाशहरू र पृथ्वीको सत्ता केवल अल्लाहको लागि रहेको छ । उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ क्षमा गर्नुहुन्छ र आफ्नो कृपाले उसलाई स्वर्गमा प्रवेश गराउनुहुन्छ । अनि आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ न्यायका साथ यातना दिनुहुन्छ । अल्लाह आफ्ना पश्चाताप गर्ने भक्तहरूका पापहरू क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
१५. हे मोमिनहरू हो ! जब तिमीहरू खैबर युद्धमा प्राप्त सम्पत्ति लिन जानेछौ जसलाई अल्लाहले हुदैबियाको सम्झौतापछि दिने वाचा गर्नुभएको थियो तब पछि रहेकाहरूले भन्नेछन्- त्यसबाट अंश लिन हामीलाई पनि सँगै जान देऊ । यी पछि रहेका मानिसहरू यो अनुरोध गरी अल्लाहले खैबरको युद्धमा प्राप्त सम्पत्ति मोमिनहरूलाई मात्र दिने भनी गर्नुभएको वाचालाई परिवर्तन गर्न चाहन्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई भन्नुहोस्- तिमीहरू त्यो सम्पत्ति लिन हामीसँग जानेछैनौ । हुदैबियामा उपस्थितहरूको लागि मात्र खैबरको युद्धमा प्राप्त हुने सम्पत्ति रहेको कुराको वाचा अल्लाहले मसँग गर्नुभएको छ । अनि उनीहरूले भन्नेछन्- अल्लाहले हामीलाई तिमीहरूसँग खैबर जान रोक्नुभएको छैन । बरू यो कुरा तिमीहरूले हाम्रो डाहको कारणले गरेका हौ । यी पछि रहेकाहरूले सोँचेको कुरा वास्तविकतासँग मेल खाँदैन । बरू उनीहरू अल्लाहका आदेशहरू र उहाँले मनाही गर्नुभएका कुराहरूलाई थोरै मात्रै बुझ्छन् । यसै कारणले उनीहरू उहाँको अवज्ञामा लिप्त भए ।
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंसँग मक्का जानेबेला पछि रहेका गाउँलेहरूलाई उनीहरूको परीक्षा लिइने हिसाबले भन्नुहोस्- चाँडै नै तिमीहरूलाई एउटा यस्तो समुदायसँग युद्ध गर्न आह्वान गरिनेछ जो युद्ध गर्न अति नै शक्तिशाली छन् । तिमीहरूले उनीहरूसँग युद्ध गर्नेछौ वा उनीहरूले युद्ध बिना नै इस्लाममा प्रवेश गर्नेछन् । उनीहरूसँग युद्ध गर्न अल्लाहले आह्वान गरेको बेला यदि तिमीहरूरले उहाँको अनुसरण गर्यौ भने उहाँले तिमीहरूलाई राम्रो प्रतिदान दिनुहुनेछ जुन स्वर्ग हो । यदि तिमीहरू जसरी उहाँबाट विमुख भई उहाँसँग मक्का जान पछि रहेका थियौ त्यसरी नै उहाँको अनुसरणबाट विमुख भयौ भने उहाँले तिमीहरूलाई पीडादायी यातना दिनुहुनेछ ।
१७. वैध बहाना भएकाहरू जस्तै अन्धो, लङ्गडो र बिरामीले अल्लाहको मार्गमा युद्ध गर्न सहभागी नहुँदा उनीहरूलाई कुनै पाप लाग्ने छैन । अनि जसले अल्लाहको र उहाँका रसूलहरूको अनुसरण गर्नेछ उसलाई उहाँले बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ जसको महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । अनि जो यी दुबैको अनुसरणबाट विमुख हुन्छ उसलाई अल्लाहले पीडादायी यातना दिनुहुनेछ ।
१८. वास्तवमा, अल्लाह मोमिनहरूसित त्यस समय अति प्रसन्न हुनुभयो जब उनीहरू हुदैबियामा रूखमुनि अल्लाह प्रसन्न हुनुभएको प्रतिज्ञा गर्दै थिए । उनीहरूको हृदयमा रहेका आस्था, एकाग्रता र सत्यताको विषयमा उहाँलाई थाहा थियो । अनि उहाँले उनीहरूको हृदयमा शान्ति अवतरण गर्नुभयो र त्यसको लागि उहाँले उनीहरूको लागि खैबरको सफलताको रूपमा नजिकको सफलता प्रदान गरेर बदला दिनुभयो । जुन उनीहरू मक्कामा प्रवेश गर्न नसकेका हुनाले त्यसको बदला स्वरूप उहाँले प्रदान गर्नुभयो ।
१९. अनि उहाँले उनीहरूलाई खैबरका बासिन्दाहरूका धेरै सम्पत्तिहरू प्रदान गर्नुभयो । अल्लाह शक्तिशाली हुनुहुन्छ जसलाई कसैले पनि पराजित गर्न सक्दैन र उहाँ आफ्ना सृष्टिमा, भाग्य लेख्नमा र व्यवस्थापनमा तत्वदर्शी हुनुहुन्छ ।
२०. हे मोमिनहरू हो ! भविष्यमा इस्लामलाई प्राप्त हुने विजयहरूमा तिमीहरूले धेरै नै धनहरू प्राप्त गर्नेछौ भनी अल्लाहले तिमीहरूसित वाचा गर्नुभएको छ । अनि उहाँले खैबरको सम्पत्ति चाँडै नै प्रदान गर्नुभयो र तिमीहरूको अनुपस्थितिमा यहूदीहरूले तिमीहरूका परिवारलाई हानी पुर्याउन खोज्दा उहाँले उनीहरूको हात रोक्नुभयो । अनि उहाँले चाँडै प्रदान गर्नुभएको यो सम्पत्तिलाई अल्लाहको सहयोग र तिमीहरूलाई उहाँको समर्थनको निशानी बनाउनुभएको छ र तिमीहरूलाई अल्लाहले सीधा मार्ग देखाउनुभयो जसमा कुनै टेढोपन छैन ।
२१. अनि उहाँले तिमीहरूसित अरू धेरै सम्पत्तिहरूको वाचा गर्नुभएको छ जससम्म तत्काल तिमीहरू पुग्नसक्ने छैनौ । अल्लाहमात्र त्यसको सामर्थ्य राख्नुहुन्छ र यो उहाँको ज्ञानमा र व्यवस्थापनमा निर्धारित रहेको छ । अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कुनै कुराले विवश पार्न सक्दैन ।
२२. हे मोमिनहरू हो ! यदि तिमीहरूसित अल्लाह र उहाँका रसूललाई नकार्नेहरूले युद्ध गरेका भए उनीहरू तर्सेर / पराजित भएर पिठ्यूँ फर्काएर भाग्ने थिए । अनि उनीहरूले तिमीहरूविरूद्ध युद्धमा उनीहरूलाई सहयोग पुर्याउने कोही पाउनेछैनन् ।
२३. मोमिनहरू विजयी हुनु र काफिरहरू पराजित हुनु हरेक समयमा र स्थानमा निश्चित रहेको छ । यी झूठा ठहर गर्नेहरूभन्दा पहिलेका समुदायमा अल्लाहको यो तरिका लागु भइसकेको छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले अल्लाहको तरिकालाई परिवर्तन भएको देख्नुहुनेछैन ।
२४. उहाँले नै तिमीहरूलाई मुश्रिकहरूसँग जोगाउनुभयो जब उनीहरूमध्येबाट लगभग अस्सी जनाले तिमीहरूलाई हुदैबियामा हानी पुर्याउन खोजेर आएका थिए । अनि तिमीहरूको हातबाट उनीहरूलाई बचाउनुभयो र तिमीहरूले उनीहरूलाई हत्या गरेनौ र उनीहरूलाई हानी पुर्याएनौ । बरू अल्लाहले तिमीहरूलाई उनीहरूलाई बन्धक बनाउन सक्षम बनाउनुभएपछि तिमीहरूले उनीहरूलाई जान दियौ । तिमीहरूले जे गरिरहेका छौ त्यो अल्लाह हेरिरहनुभएको छ । तिमीहरूको क्रियाकलाप उहाँबाट लुकेको छैन ।
२५. उनीहरूले नै अल्लाहलाई र उहाँका रसूललाई नकारे र तिमीहरूलाई मस्जिदे हराममा प्रवेश गर्नबाट रोके । अनि बलीका जनावरहरूलाई हरममा त्यसको बली दिने स्थानसम्म पुग्न दिएनन् । मक्कामा अल्लाहमाथि आस्था राख्ने पुरूष र महिलाहरूको उपस्थिति रहेको छ । तिमीहरूलाई उनीहरूको पहिचान नै नभई काफिरहरूसँग उनीहरूलाई पनि हत्या गर्नेछौ र उनीहरूको हत्या गरेको खण्डमा अन्जानीमा तिमीहरूमाथि पाप लाग्ने र रक्तमुल्य तिर्नुपर्ने आशंका नभएको भए मक्काका मोमिनहरू सरह उहाँ जसलाई चाहनुहुन्छ उसलाई आफ्नो दयामा समावेश गर्नको लागि तिमीहरूलाई मक्कामाथि विजय प्राप्त गर्ने अनुमति दिनुहुने थियो । यदि मक्कामा काफिरहरू र मोमिनहरूमा फरक भएको भए हामीले अल्लाहलाई र उहाँका रसूललाई नकार्नेहरूलाई पीडादायी यातना दिने थियौं ।
२६. जब अल्लाहलाई र उहाँका रसूललाई नकार्नेहरूले आफ्नो हृदयमा अज्ञानताको पक्षपात / द्वेषभाव उत्पन्न गरे जसको सम्बन्ध सत्य स्थापित गर्नेसँग छैन बरू त्यसको सम्बन्ध इच्छासँग रहेको छ । तसर्थ उनीहरूले अल्लाहका रसूल उनीहरूमाथि विजय प्राप्त गर्नुभयो भने उनीहरू लज्जित हुनेछन् भन्ने डरले उहाँलाई हुदैबियाको दिन प्रवेश गर्नबाट रोक लगाए । अनि अल्लाहले आफ्ना रसूलमाथि र मोमिनहरूमाथि आफ्नो तर्फबाट शान्ति अवतरण गर्नुभयो । अनि मुश्रिकहरूले जे गरे त्यस कारणले रीसले उनीहरूलाई मुश्रिकहरूसँग पनि त्यही गराएन । अल्लाहले मोमिनहरूलाई सत्यको वाणीको प्रतिबद्ध गराउनुभयो जुन ला इलाह इल्लल्लाह (अल्लाहबाहेक अरू कोही उपास्य छैन) हो र त्यसको सम्मान गर्न प्रेरित गर्नुभयो तसर्थ उनीहरूले सम्मान गरे । मोमिनहरू यस वाणीको अरूभन्दा बढी अधिकार राख्छन् । उनीहरू यसको वास्तविक अधिकार राख्छन् किनकि अल्लाहलाई उनीहरूको हृदयमा रहेको भलाइको ज्ञान छ । अल्लाह हरेक कुराको सामर्थ्य राख्नुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन ।
२७. वास्तवमा, अल्लाहले आफ्ना रसूललाई निद्रामा सत्यमा आधारित सपना देखाउनुभयो । अनि उहाँले आफ्ना साथीहरूलाई त्यसको विषयमा भन्नुभयो र त्यो कुरा हो, उहाँ र उहाँका साथीहरू अल्लाहको घर हरममा शत्रुहरूबाट सुरक्षित अवस्थामा प्रवेश गर्नुहुनेछ । विधिहरू पूरा भएको सङ्केतको रूपमा केहीले कपाल खौरनेछन् र केहीले कपाल छोटो पार्नेछन् । हे मोमिनहरू हो ! अल्लाहलाई तिमीहरूको भलाइको ज्ञान छ जसको ज्ञान तिमीहरूलाई छैन । अनि उहाँले त्यस वर्ष मक्का प्रवेश गर्ने सपनालाई सत्य प्रमाणित गर्नुबाहेक हुदैबियाको सम्झौतालाई नजिकको विजयको रूपमा बनाउनुभयो । अनि त्यसलगत्तै हुदैबियामा उपस्थित मोमिनहरूलाई उहाँले खैबरमाथि विजयी प्रदान गर्नुभयो ।
२८. अल्लाहले नै आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई स्पष्ट सन्देश र सत्य धर्म दिएर पठाउनुभयो जुन इस्लाम धर्म हो । यस धर्मलाई यसको विरूद्धमा रहेका सम्पूर्ण धर्महरूभन्दा उच्च बनाउनु उहाँको उद्देश्य हो । अल्लाहले यसको साक्षी दिनुभएको छ र साक्षीको लागि उहाँ पर्याप्त हुनुहुन्छ ।
२९. अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँका सहाबीहरू जो उहाँका साथमा छन् योद्धा काफिरहरूको लागि कठोर छन् र एक आपसमा दयालु, सहानुभुती देखाउने र माया गर्ने हुन् । हे हेर्ने व्यक्ति ! तिमी उनीहरूलाई अल्लाहबाट क्षमा, उदार प्रतिदान र उहाँको प्रसन्नता पाउनको लागि रूकू र सज्दा गरेको देख्छौ । उनीहरूको अनुहारमा सज्दा, मार्गदर्शन, लगनशीलता र सलाहको प्रकाशको चिन्ह छ । उनीहरूका यी गुणहरूको उल्लेख मूसा (अलैहिस्सलाम) माथि अवतरित तौरातमा भएको छ । ईसा (अलैहिस्सलाम) माथि अवतरित इन्जीलमा उनीहरूले एक अर्कालाई सहयोग गर्ने र उनीहरूको पूर्णताको विषयमा खेतीको उदाहरण दिइएको छ । जसले पहिले आफ्नो अंकुर निकाल्छ जुन त्यसपछि  बलियो र परिपक्व हुन्छ अनि डाँठमाथि सीधा खडा हुन्छ । त्यसको शक्ति र पूर्णताले कृषकहरूलाई प्रसन्न तुल्याउँछ । अनि उनीहरूमा रहेको शक्ति, दृढता र पूर्णता जाहेर गरेर अल्लाह काफिरहरूलाई क्रोधित पार्नुहुन्छ । सहाबीहरूमध्ये अल्लाहमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूका पापहरूलाई क्षमा गर्ने र त्यसको कारणले उनीहरूलाई यातना नदिने र उहाँको तर्फबाट महान प्रतिदान अर्थात स्वर्ग प्रदान गर्ने वाचा उहाँले गर्नुभयो ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...