सीधे मुख्य सामग्री पर जाएं

५६- सूरह अल्-वाकिआ (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. जब निश्चित रूपले कयामत आउनेछ ।
२. संसारमा नकारे सरह त्यसलाई नकार्ने एकजना पनि भेट्ने छैन ।
३. पापी काफिरहरूलाई नर्कमा हाली अपमानित गरिनेछ भने ईशभय राख्ने मोमिनहरूलाई स्वर्गमा प्रवेश गराई उच्च पारिनेछ / सम्मानित गरिनेछ ।
४. जब पृथ्वीलाई भयानक कम्पनद्वारा हल्लाइनेछ ।
५. अनि पहाडहरू चकनाचुर हुनेछन् ।
६. अनि चकनाचुर भएपछि ती सबै छरिएको धुलो-माटो हुनेछन् ।
७. त्यस दिन तिमीहरू तीन समूह / श्रेणीमा बाँढिनेछौ ।
८. तसर्थ दाहिने हातमा आफ्ना कर्मपत्र लिनेहरू दाहिने हातवाला हुन् । उनीहरूको श्रेणी धेरै नै उच्च र महान रहेको छ ।
९. त्यसैगरी देब्रे हातमा आफ्नो कर्मपत्र लिनेहरू देब्रे हातवाला हुन् । उनीहरूको श्रेणी धेरै नै अपमानित र नराम्रो रहेको छ ।
१०. संसारमा राम्रा काम गरी अघि बढ्नेहरू आखिरतमा अघि बढी स्वर्गमा प्रवेश गर्नेछन् ।
११. उनीहरू अल्लाहका नजिक हुनेछन् ।
१२. उनीहरू अनुग्रहले भरिएका बगैंचाहरूमा हुनेछन् अनि विभिन्न अनुग्रहहरूको आनन्द लिनेछन् ।
१३. यस समुदायबाट र पहिलेका समुदायहरूबाट एउटा समूह हुनेछ ।
१४. अनि पछिल्ला मानिसहरूबाट थोरै अघि बढ्नेहरू र अल्लाहका नजिक भएकाहरूमध्येका हुनेछन् ।
१५. सुनले बुनेका पलङ्गमा हुनेछन् ।
१६. यी पलङ्गहरूमा अडेस लगाएर एक अर्काको आमुन्ने-सामुन्ने बसेका हुनेछन् । कसैले अर्को व्यक्तिको पछाडिको भाग देख्नेछैन ।
१७. उनीहरूको सेवामा नवयुवक सेवकहरू घुमिरहनेछन् । उनीहरूलाई बुढेसकालले समात्ने छैन र मर्ने छैनन् ।
१८. उनीहरू तिनीहरूका वरिपरि बिड नभएका प्यालाहरू, बिड भएका सुराही र स्वर्गना बगिरहने कहिले समाप्त नहुने मदिरा लिएर घुमिरहनेछन् ।
१९. त्यो संसारको मदिरासरह हुनेछैन । त्यो पिउने व्यक्तिलाई टाउको दुख्ने छैन र मातने छैन ।
२०. यी नवयुवक सेवकहरू उनीहरूसमक्ष उनीहरूले मन पराएका फलहरू लिएर घुम्नेछन् ।
२१. उनीहरूले रूचाएको चराको मासु लिएर घुम्नेछन् ।
२२. स्वर्गमा उनीहरूको लागि ठूला-ठूला सुन्दर आँखा भएकी महिलाहरू हुनेछन् ।
२३. मानैं उनीहरू सिपीमा सुरक्षित राखिएका मोती हुन् ।
२४. उनीहरूले संसारमा गर्ने गरेका सत्कर्महरूको यो प्रतिदान हो ।
२५. उनीहरूले स्वर्गमा अश्लील र पाप लाग्ने कुरा सुन्ने छैनन् ।
२६. फरिश्ताहरूले उनीहरूलाई सलाम गरेको र उनीहरूले एक अर्कालाई सलाम गरेको मात्र सुन्नेछन् ।
२७. अनि दाहिने हातवालाहरू, को हुन् दाहिने हातवालाहरू ? अल्लाहको नजरमा उनीहरूको श्रेणी र प्रतिष्ठा उच्च रहेको छ ।
२८. उनीहरू काँडाविहीन बयरका रूखहरू मुनि रहनेछन् जसमा कुनै कष्ट छैन ।
२९. अनि तहतह रहेका एक माथि अर्को खप्टिएका केराका रूखहरू मुनि ।
३०. अनि विस्तृत छाया मुनि जुन कहिले समाप्त हुँनेछैन ।
३१. अनि सदा बगिरहने पानीमा ।
३२. अनि तिमीले गन्न नसक्ने प्रशस्त फलहरूमा ।
३३. उनीहरू त्यसबाट कहिल्यै वञ्चित हुनेछैनन् र त्यसको कुनै मौसम छैन । उनीहरूले त्यो चाहेको बेला कसैले पनि रोक्न सक्दैन ।
३४. अनि खाटहरूमा राखिएका अग्ला-अग्ला ओछ्यानमा हुनेछन् ।
३५. यी महिलाहरूलाई हामीले विशेष रूपमा सृष्टि गरेका छौं ।
३६. अनि हामीले उनीहरूलाई कुमारी बनायौं जसलाई त्यसभन्दा पहिले कहिल्यै छोइएन ।
३७. उनीहरू आफ्ना पतिलाई धेरै नै माया गर्ने हुनेछन् र एउटै उमेरका हुनेछन् ।
३८. हामीले दाहिने हातवालाहरूका लागि उनीहरूको सृष्टि गर्यौं जसलाई दाहिनेतर्फबाट लगिनेछ जुन उनीहरूको खुशीको निशानी हुनेछ ।
३९. यो अघिल्ला नबीहरूका समुदायको एउटा समूह हो ।
४०. अनि एउटा समूह मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को समुदायबाट पनि छ जुन पछिल्ला समुदायहरू हुन् ।
४१. अनि बायाँ हातवालाहरू, को हुन् बायाँ हातवालाहरू ? उनीहरूको अवस्था र उनीहरूका बासस्थान निकै नराम्रो रहेको छ ।
४२. उनीहरू अत्यधिक तातो हावा र तातो पानीमा हुनेछन् ।
४३. अनि कालो धुँवाको छायामुनि हुनेछन् ।
४४. न शीतल हावा हुनेछ र न राम्रो दृश्य नै ।
४५. वास्तवमा, उनीहरूले यातना भोग्नु अघि संसारमा रमाइरहेका थिए । उनीहरूलाई आफ्ना इच्छा नै महत्वपूर्ण लाग्छन् ।
४६. उनीहरू अल्लाहलाई नकार्न र उहाँलाई छाडि मूर्तिहरूको उपासना गर्न अडिग रहन्थे ।
४७. अनि उनीहरू पुनः जीवित पारिनुलाई पनि नकार्ने गर्थे । उनीहरूले हाँसो उडाउँदै र त्यसलाई असम्भव ठान्दै भन्ने गर्थेः हामी मरेर माटो र सडेको हाड भइसकेपछि के हामीलाई पुनः जीवित पारिनेछ ?
४८. वा हामीभन्दा पहिले मरिसकेका पुर्खाहरूलाई पुनः जीवित पारेर उठाइनेछ ?
४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनः जीवित पारिने कुरालाई यी नकार्नेहरूलाई भन्नुहोस्- वास्तवमा, अघिल्ला र पछिल्ला सम्पूर्ण मानिसहरूलाई उठाइनेछ ।
५०. अनि उनीहरूलाई कयामतको दिन निश्चय नै हिसाबकिताब र बदला दिइनको लागि भेला पारिनेछ ।
५१. अनि, हे पुनः जीवित पारिने कुरालाई झूठो ठहर गर्नेहरू हो, तिमीहरू सीधा मार्गबाट पथभ्रष्ट भएका छौ ।
५२. तिमीहरू, अवश्य, कयामतको दिन जक्कूमको रूखका फल खानेछौ । त्यो अति नराम्रो र घृणित फल हो ।
५३. त्यस तिमीहरूले आफ्ना खाली पेटलाई त्यस तीतो रूखबाट भर्नेछौ ।
५४. त्यसमाथि तिमीहरूले अत्यधिक तातो पानी पिउनेछौ ।
५५. तिर्खाले आतुर भएको ऊँटले धेरै पानी पिएझैं तिमीहरूले पनि पानी पिउनेछौ ।
५६. यो उल्लेख भएको तीतो खाना र तातो पानी उनीहरूको आतिथ्य हो जसद्वार बदला दिइने दिन उनीहरूको स्वागत गरिनेछ ।
५७. हे झूठो ठहर गर्नेहरू हो ! तिमीहरूको अस्तित्व नै नभएको बेला हामीले तिमीहरूको सृष्टि गर्यौं । हामी तिमीहरूलाई मृत्युपश्चात पुनः जीवित पार्नेछौं भनी तिमीहरू किन विश्वास गर्दैनौ ?
५८. हे मनुष्यहरू हो ! के तिमीहरूले आफ्ना पत्नीहरूको गर्भमा हाल्ने वीर्यको विषय सोँच्यौ ?
५९. के तिमीहरू त्यस वीर्यलाई सृष्ट गर्छौ वा हामीले त्यसलाई सृष्टि गरेका हौँ ?
६०. हामीले तिमीहरूबीच मृत्यु निर्धारित गरिदिएका छौं । तिमीहरूमध्ये हरेकको समय तोकिएको छ जुन न अगाडि सर्न सक्नेछ न पछाडि नै । अनि हामी विवश छैनौं ।
६१. हामी तिमीहरूको सृष्टि र रूप जुन तिमीहरूलाई थाहा छ त्यो परिवर्तन गर्न सक्षम छौं र यस्तो सृष्टि र रूपमा तिमीहरूलाई सृष्टि गर्नेछौं जसको तिमीहरूलाई ज्ञान छैन ।
६२. हामीले तिमीहरू पहिलो पटक कसरी सृष्टि गर्यौं भन्ने कुरा तिमीहरूलाई थाह नै छ । तिमीहरूलाई पहिलो पटक सृष्टि गर्ने तिमीहरूको मृत्युपश्चात तिमीहरूलाई पुनः जीवित पार्न सक्षम हुनुहुन्छ भन्ने कुरा तिमीहरू विचार गर्दैनौ र बुझ्दैनौ ?
६३. के तिमीहरूले धर्तीमा रोप्ने बिउको विषयमा सोँच्दैनौ ?
६४. के तिमीहरू त्यस बिउलाई उमार्छौ वा हामी उमार्छौं ?
६५. यदि हामीले त्यस खेतीलाई भुसा बनाउन चाहेको भए त्यो परिपक्व र पूर्ण हुनै लागेको बेला हामीले त्यसलाई भुसा बनाउने थियौं । अनि यो के भयो भनी तिमीहरू विलाप गर्दै बस्ने थियौ ।
६६. तिमीहरूले भन्नेछौः हामीले खर्च गरेको जति घाटामा गएर यातना भोग्यौं ।
६७. वास्तवमा, हामीलाई जीविकाबाट वञ्चित पारिएको छ ।
६८. तिमीहरूलाई तिर्खा लागेको बेला पिउने पानीको विषयमा तिमीहरूले के सोँचेका छौ ?
६९. के त्यसलाई आकाशमा रहेको बादलबाट तिमीहरू बर्साउँछौ वा हामी बर्साउँछौँ ?
७०. त्यसलाई पिउन र पिलाउन योग्य नराख्नको लागि यदि हामीले त्यसलाई धेरै नै नुनिलो / तीतो बनाउन खोजेको भए हामीले त्यसलाई नुनिलो / तीतो बनाउने थियौं । तसर्थ तिमीहरूमाथि दया गर्नको निम्ति अल्लाहले मीठो / स्वादिष्ट पानी बर्साएको कारणले तिमीहरू उहाँलाई धन्यवाद किन दिदैनौ ?
७१. तिमीहरूले आफ्नो फाइदाको लागि बाल्ने आगोको विषयमा के सोँचेका छौ ?
७२. त्यो बाल्नको लागि रूखहरूको सृष्टि तिमीहरूले गरेका छौ वा तिमीहरूको लागि हाम्रो अनुकम्पाको कारण हामीले त्यसको सृष्टि गर्यौं ?
७३. हामीले यो आगो तिमीहरूको लागि चेतावनी स्वरूप बनाएका छौं जसले तिमीहरूलाई आखिरतको आगोको सम्झना गराउँछ । अनि तिमीहरूमध्ये यात्रुहरूको लागि फाइदा स्वरूप बनाएका छौं ।
७४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं असुहाउँदो कुराहरूबाट आफ्नो पालनकर्ताको पवित्रता वर्णन गर्नुहोस् ।
७५. अल्लाहले ताराहरूका अस्ताउने ठाउँ र स्थानहरूको कसम खानुभयो ।
७६. वास्तवमा, यदि तिमीहरूलाई थाहा भए स्थानहरूको कसम खानुको महत्व निकै नै ठूलो रहेको छ किनकि त्यसमा अनगिन्ती निशानीहरू र पाठहरू रहेका छन् ।
७७. हे मनुष्यहरू हो ! वास्तवमा, तिमीहरूलाई पाठ गरेर सुनाइने कुर्आन एउटा बहुमुल्य / प्रतिष्ठित कुर्आन हो किनकि यसमा ठूला फाइदाहरू रहेका छन् ।
७८. जुन मानिसहरूको नजरबाट लुकेको किताबमा छ र त्यो लौहे मह्फूज हो ।
७९. यसलाई पापहरूबाट र कमिकमजोरीहरूबाट पवित्र फरिश्ताहरू मात्र छुन्छन् ।
८०. यो सम्पूर्ण सृष्टिहरूको पालनकर्ताको तर्फबाट नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गरिएको हो ।
८१. हे मुश्रिकहरू हो ! के तिमीहरू यस वाणीलाई स्वीकार नगरी झूठो ठहर गरिरहेका छौ ?
८२. अल्लाहले तिमीहरूलाई अनुग्रहहरू दिनुभएको कारणले उहाँलाई धन्यवाद दिनुको सट्टा तिमीहरू उहाँलाई झूठो ठहर गर्छौ र वर्षा हुनुलाई तारासँग जोड्छौ । अनि तिमीहरू भन्छौः यस ताराको कारण र त्यस ताराको कारण वर्षा भयो ।
जब उहाँले पुनः जीवित पार्ने कुराका केही प्रमाणहरू प्रस्तुत गर्नुभयो उहाँले उनीहरू मृत्यु रोक्न विवश छन् भनी त्यसलाई दोहोर्याउन सक्ने आफ्नो शक्तिको विषयमा खबर दिनुभयो । जो मृत्यु दिन सक्छ ऊ जीवित पार्न पनि सक्षम छ ।
८३. त्यसोभए किन, जब आत्मा घाँटीसम्म आइपुग्नेछ ।
८४. त्यस समय तिमीहरू त्यहाँ उपस्थित मर्ने व्यक्तिलाई देखिरहेका हुन्छौ ।
८५. अनि हामी हाम्रा ज्ञान, शक्ति र फरिश्ताहरूका साथ तिमीहरूभन्दा पनि बढी तिमीहरूको मृतकको नजिक हुन्छौं तर तिमीहरू यी फरिश्ताहरूलाई देख्दैनौ ।
८६. त्यसोभए किन, तिमीहरूको सोँच अनुसार यदि तिमीहरूको कर्मको बदला दिइनको लागि तिमीहरूलाई पुनः जीवित पारी उठाइने छैन ।
८७. यदि तिमीहरू सच्चा हौ भने तिम्रो मृतकलाई छोड्ने प्राणलाई तिमीहरू फर्काउँदैनौ ? तिमीहरू त्यसको सामर्थ्य राख्दैनौ ।
८८. अनि, यदि मृतक राम्रा कार्यहरू अघि बढेर गर्ने व्यक्ति हो भने ।
८९. उसले आराम पाउनेछ र कहिल्यै थाक्ने छैन । राम्रो जीविका र दया पाउनेछ । अनि स्वर्ग उसको हुनेछ जहाँ उसले उसको मनले चाहेको कुराको आनन्द लिनेछ ।
९०. ९१. अनि, यदि मृतक दाहिने हातवालाहरूमध्येको हो भने उनीहरूको चिन्ता नगर । उनीहरूले शान्ति र सुरक्षा पाउनेछन् ।
९२. अनि, यदि मृतक रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गर्नेहरू र सीधा मार्गबाट विमुख हुनेहरूमध्येको हो भने ।
९३. उनीहरूको आतिथ्य सत्कारमा उनीहरूलाई अत्यधिक तातो पानीले स्वागत गरिनेछ ।
९४. अनि उसलाई नर्कको आगोमा जल्नेछ ।
९५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, हामीले तपाईंलाई भनेको यो कुरा नितान्त सत्य हो जसमा कुनै शंका छैन ।
९६. तसर्थ, तपाईं आफ्ना पालनकर्ताको नामको पवित्रता वर्णन गर्नुहोस् र कमिकमजोरीहरूबाट उहाँको पवित्रताको वर्णन गर्नुहोस् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...