शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे रसूल ! अल्लाहले त्यस महिला (अर्थात खौला बिन्त सालबा) को कुरा सुनिसक्नुभयो जसलाई उसको पति (अर्थात औस बिन सामित) ले जिहार गरेको (उसलाई आमा सरह भनेको) विषयमा उसले तपाईंसमक्ष वादविवाद गरिन् । अनि अल्लाहसमक्ष उसको पतिले ऊसँग जे गर्यो त्यस विषयमा गुनासो गरिन् । अल्लाहले तपाईं दुबैको वादविवाद सुन्नुभयो । अल्लाहबाट त्यो लुकेको छैन । अल्लाह आफ्ना भक्तहरूको कुरा सुन्नुहुन्छ र उनीहरूको कर्म देख्नुहुन्छ । अल्लाहबाट केही पनि लुकेको छैन ।
२. आफ्नी पत्नीलाई तिमी मेरी आमा हौ भनी ऊसँग जिहार गर्नेहरूको यो कुरा झूठमा आधारित रहेको छ । उनीहरूकी पत्नी उनीहरूकी आमा होइनन् । उनीहरूलाई जन्म दिनेहरू मात्र उनीहरूकी आमा हुन् । वास्तवमा, यस्तो कुरा गरी उनीहरू निन्दनीय र झूठो कुरा गर्छन् । वास्तवमा, अल्लाह माफी दिने र क्षमा गर्ने हुनुहुन्छ । यस पापबाट मुक्त हुनका निम्ति अल्लाहले उनीहरूका लागि प्रायश्चित गर्ने अवसर प्रदान गर्नुभएको छ ।
३. यस्तो निन्दनीय कुरा गर्नेहरू यदि जिहार गरएकी आफ्नी पत्नीसँग सम्बन्ध राख्न चाहन्छन् भने उनीहरूले सम्बन्ध स्थापना गर्नु अघि नै एउटा दास मुक्त गराउनु जरूरी छ । जिहार त्याग्न प्रेरित गर्नको निम्ति यो आदेश तिमीहरूलाई दिइएको हो । तिमीहरूका कर्मसित अल्लाह अवगत हुनुहुन्छ । तिमीहरूको कुनैपनि कर्म उहाँबाट लुकेको छैन ।
४. तर यदि कसैले मुक्त गर्न दास भेटेनन् भने जिहार गरेको पत्नीसँग सम्बन्ध स्थापना गर्नु अघि उसले लगालग दुई महिना सौम अपनाओस् । यदि कसैले लगालग दुई महिना सौम अपनाउन सक्दैन भने उसले साठी जना गरिबगुरूवालाई खाना खुवाओस् । यो अल्लाहको तर्फबाट हो भनी तिमीहरूले आस्था राख्नेछौ, उहाँसमक्ष समर्पित हुनेछौ र उहाँका रसूलको अनुसरण गर्नेछौ भन्ने उद्देश्यले हामीले यो आदेश दिएका हौं । हामीले तिमीहरूको लागि दिएका आदेशहरू अल्लाहका सीमाहरू हुन् जुन उहाँका भक्तहरूका लागि हुन् । तसर्थ त्यसको उल्लङ्घन नगर्नु । अल्लाहका आदेशहरू र उहाँले निर्धारण गर्नुभएका सीमाहरूलाई नमान्नेहरूका लागि कठोर यातना रहेको छ ।
५. वास्तवमा, अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का शत्रुहरू अपमानित र लज्जित हुनेछन् जसरी यिनीहरूभन्दा पहिलेका समुदायका शत्रुहरू अपमानित र लज्जित भएका थिए । हामीले स्पष्ट निशानीहरू अवतरण गरिसकेका छौं । अल्लाह, उहाँका रसूलहरू र निशानीहरूलाई नकार्नेहरूलाई अपमानित गर्ने यातना रहेको छ ।
६. त्यसदिन अल्लाहले उनीहरू सम्पूर्णलाई पुनः जीवित पार्नुहुनेछ र कसैलाई पनि बाँकी राख्नुहुनेछैन । उनीहरूले संसारमा गरेका घृणित कामहरूको विषयमा उनीहरूलाई सूचित गर्नुहुनेछ । अल्लाहले उनीहरूको लागि लेख्नुभएको हो र उनीहरूको कुनैपनि कर्म छुटेको हुनेछैन । उनीहरूले त्यसलाई बिर्सेका हुनेछन् तर उनीहरूले त्यसलाई आफ्ना त्यस कर्मपत्रहरूमा लेखिएको पाउनेछन् जसमा प्रत्येक सानो र ठूलो कार्य लेखिएको हुनेछ । अल्लाह सचेत हुनुहुन्छ र कुनैपनि कार्य उहाँबाट लुकेको छैन ।
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आकाशहरू र पृथ्वीमा भएका कुराहरूबाट अल्लाह अवगत हुनुहुन्छ भनी तपाईंलाई थाहा छैन र ? त्यसमा रहेका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । जहाँ तीन जना कानेखुसी गर्छन् त्यहाँ अल्लाह आफ्नो ज्ञानका साथ उनीहरूमध्येको चौथो हुनुहुन्छ । जहाँ पाँच जना गोप्य कुरा गर्छन् त्यहाँ अल्लाह आफ्नो ज्ञानका साथ उनीहरूमध्येको छैठौं हुनुहुन्छ । त्योभन्दा कम वा त्योभन्दा धेरै संख्यामा उनीहरू जहाँ भएपनि अल्लाह आफ्ना ज्ञानका साथ उनीहरूसँग हुनुहुन्छ । उनीहरूको कुनैपनि कुरा उहाँबाट लुकेको छैन । अनि कयामतको दिन उनीहरूले के गरेको थियो भनी अल्लाहले सूचित गर्नुहुनेछ । वास्तवमा, अल्लाहलाई हरेक कुराको ज्ञान छ र उहाँबाट केहीपनि लुकेको छैन ।
८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंले यहूदीहरूलाई देख्नुभएन जब उनीहरूले एक जना मोमिनलाई देखेर आपसमा कानेखुसी गरे । अनि अल्लाहले उनीहरूलाई कानेखुसी गर्न मनाही गर्नुभयो । फेरी उनीहरूले अल्लाहले मनाही गर्नुभएको कुरा गरे । अनि उनीहरूले आपसमा पापले भरिएको कानेखुसी गरे जस्तै मोमिनहरूको कुरा काट्नु, उनीहरूको विषयमा आक्रमक रूपले कुरा गर्नु र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अवज्ञाको कुरा गर्नु । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब उनीहरू तपाईंसमक्ष आउँछन्, यस्तो तरिकाले अभिवादन / सलाम गर्छन् जुन तरिकाले अल्लाहले तपाईंलाई अभिवादन / सलाम गर्नुभएको छैन । उनीहरू भन्छन्- अस्साम अलैक । यसबाट उनीहरूको तात्पर्य मृत्यु हो । उनीहरू नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठो ठहर गरी भन्छन्- हाम्रा शब्दहरूका कारण अल्लाह हामीलाई किन यातना दिदैनन् । यदि उहाँ नबी भएको आफ्नो दावीमा सत्य हुनुहुन्छ भने हामीले भनेको कुराको कारणले अल्लाहले हामीलाई यातना दिनुहुनेथ्यो । उनीहरूले भनेको कुराको यातनाको लागि नर्क नै उनीहरूलाई पर्याप्त रहेको छ । उनीहरूले नर्कको ताप सहनुपर्ने छ । उनीहरूको बासस्थान अति नराम्रो रहेको छ ।
९. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँका आदेशहरूको पालना गर्नेहरू हो ! तिमीहरू कदापि पाप, अत्याचार र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अवज्ञाको विषयमा एक आपसमा गोप्य सरसल्लाह नगर अन्यथा तिमीहरू यहूदीहरू सरह हुनेछौ । बरू अल्लाहको आज्ञापालन र पापबाट बच्ने विषयमा सरसल्लाह गर । अल्लाहका आदेशहरूलाई मानेर र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर उहाँको भय राख किनकि तिमीहरू कयामतको दिन केवल उहाँतर्फ हिसाबकिताब र बदलाको लागि फर्केर जानेछौ ।
१०. वास्तवमा, पाप, अत्याचार र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अवज्ञामा आधारित कानेखुसी गर्नुलाई शैतानले सुन्दर बनाएको छ र त्यसबाट आफ्ना अनुयायीहरूलाई बहकाउछ । उनीहरूलाई शैतानले धोका दिएको भन्ने भावना उत्पन्न गराई ऊ मोमिनहरूलाई दुःख दिन चाहन्छ । तर शैतानले सुन्दर बनाउँदैमा र आफ्ना अनुयायीहरूलाई बहकाउदैमा अल्लाहको चाहना र इच्छा बिना त्यसले मोमिनहरूलाई केही हानी गर्न सक्दैन । तसर्थ मोमिनहरूले आफ्ना सम्पूर्ण मामिलाहरूमा अल्लाहमाथि नै भरोसा गर्नु पर्दछ ।
अल्लाहले कुराकानीमा अपनाउनु पर्ने संस्कारको उल्लेख गरेपछि सभामा अपनाउनु पर्ने संस्कारको उल्लेख गर्नु भएको छ । उहाँले भन्नुभयोः
११. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँका आदेशहरूको पालना गर्नेहरू हो ! यदि तिमीहरूलाई सभामा स्थान फराकिलो पार्न भनिन्छ भने तिमीहरू फराकिलो पार्नु । परिणाम स्वरूप, अल्लाहले सांसारीक जीवनमा र आखिरतमा तिमीहरूको लागि फराकिलो पार्नुहुनेछ । यदि तिमीहरूलाई भनिन्छः बुद्धिजीविहरूलाई बस्नका निम्ति तिमीहरू आफ्नो ठाउँबाट उठ, भने तिमीहरू त्यहाँबाट उठ । तिमीहरूमध्ये मोमिन र ज्ञान प्रदान गरिएका व्यक्तिहरूको स्थानलाई अल्लाहले उच्च पार्नुहुनेछ । अल्लाह तिमीहरूका कार्यहरूबाट अवगत हुनुहुन्छ । तिमीहरूको कुनैपनि कार्य उहाँबाट लुकेको छैन र त्यसै अनुसार तिमीहरूलाई बदला दिइनेछ ।
१२. जब अधिकांश सहाबीहरूले नबी (सल्लल्लाहु अलैहि व सल्लम) सँग गोप्य सरसल्लाह गरे तब अल्लाहले भन्नुभयोः हे मोमिनहरू हो ! यदि तिमीहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग गोप्य सरसल्लाह गर्न चाहन्छौ भने त्यसभन्दा पहिले सदका देऊ । सदका दिनु तिमीहरूको हकमा / लागि उत्तम र पवित्र रहेको छ किनकि यसमा अल्लाहको आज्ञापालन रहेको छ र यसले हृदयलाई स्वच्छ पार्दछ । यदि तिमीहरूसित सदका दिनको लागि केही छैन भने तिमीहरूले गोप्य सरसल्लाह गर्नुमा आपत्ति छैन किनकि अल्लाह आफ्ना भक्तहरूको पापहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूप्रति अति दयावान हुनुहुन्छ किनकि उनीहरूको सामर्थ्यभन्दा बढी भार बोकाउनुहुन्न ।
१३. के तिमीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग गोप्य सरसल्लाह गर्नु अघि सदका दिनाले गरिब हुनेछौ भन्ने डरले तिमीहरूलाई सताएको छ ?! यदि तिमीहरूले यसो गर्न सकेनौ र अल्लाहले त्यसलाई नगरेकोमा तिमीहरूलाई क्षमा गर्नुभयो भने तिमीहरू पूर्ण रूपले सलाह पढ, आफ्नो धनबाट जकात देऊ र अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर । अल्लाह तिमीहरूको कार्यबाट अवगत हुनुहुन्छ । तिमीहरूको कुनैपनि कार्य उहाँबाट लुकेको छैन र त्यसै अनुसार तिमीहरूलाई बदला दिइनेछ ।
१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंले देख्नुभएन, यी मुनाफिकहरूले यहूदीहरूसँग मित्रता गाँसेका छन् जसको कुफ्र र दुष्कर्मको कारणले अल्लाह उनीहरूसँग रिसाउनुभएको छ । यी मुनाफिकहरू मोमिन र यहूदी होइनन् । बरू उनीहरू द्वीविधामा छन्, न यता छन् न उता । उनीहरू मुस्लिम हुन् र मुस्लिमहरूको खबर यहूदीहरूलाई दिदैनन् भनी कसम खाएर भन्छन् । उनीहरूले झूठो कसम खाएका छन् ।
१५. आखिरतमा उनीहरूका लागि अल्लाहले कठोर यातना तयार पारेर राख्नुभएको छ । उनीहरूलाई नर्कको तल्लो तहमा प्रवेश गराइनेछ । वास्तवमा, उनीहरूले संसारमा गरेका कुफ्रका कार्यहरू धेरै नराम्रा छन् ।
१६. कुफ्रको कारण हत्या गरिनुबाट जोगिनको लागि उनीहरूले कसम खाए । त्यसकारण उनीहरूले आफ्नो जीवन र सम्पत्ती बचाउन मुसलमान भएको नाटक गरे र मानिसहरूलाई सत्यबाट बहकाए किनकि उनीहरूले मुस्लिमहरूको दृढ संकल्पलाई कमजोर पार्न खोजेका थिए । उनीहरूले अपमानजनक यातना भोग्नेछन् ।
१७. उनीहरूलाई उनीहरूका धन-सम्पत्ति तथा सन्तानहरूले अल्लाहकहाँ कुनै लाभ पुर्याउन सक्दैनन् । उनीहरू नर्कबासी हुन् जो त्यहाँ सदाका लागि रहनेछन् । अनि उनीहरूको यातना कहिले समाप्त हुनेछैन ।
१८. त्यसदिन अल्लाहले उनीहरू सम्पूर्णलाई बदला दिनका लागि पुनः जीवित पार्नुहुनेछ र कसैलाई पनि छोड्नुहुनेछैन । उनीहरू काफिर र मुनाफिक थिएनन् भनी अल्लाहसमक्ष कसम खानेछन् । बरू उनीहरू मोमिन हुन् र अल्लाहलाई मन पर्ने काम गर्छन् भनी भन्नेछन् । हे मोमिनहरू हो ! उनीहरू मुस्लिम हुन् भनी जसरी संसारमा कसम खाने गर्थे त्यसरी नै आखिरतमा पनि अल्लाहसमक्ष कसम खानेछन् । अल्लाहसमक्ष मोमिन भएको कसम खाएर उनीहरूलाई लाग्छ, उनीहरूले कुनै फाइदा पाउनेछन् वा हानी हुनबाट बचाउनेछ । जानी राख, वास्तवमा, संसारमा र आखिरतमा आफ्ना कसमहरूको विषयमा उनीहरू नै झूठा हुन् ।
१९. शैतानले उनीहरूलाई वशमा पारेको छ र उनीहरूलाई बहकाएर अल्लाहको स्मरण गर्न बिर्साइदिएको छ । उनीहरूले उहाँलाई मन पर्ने काम गरेनन् बरू उहाँलाई क्रोधित बनाउने काम मात्र गरे । यी अवगुण बोकेकाहरू इब्लीस (शैतान) को सेना र उसका अनुयायीहरू हुन् । जानी राख, वास्तवमा, इब्लीसको सेना र उसका अनुयायीहरू नै संसारमा र आखिरतमा घाटामा हुनेछन् । उनीहरूले मार्गदर्शनका साथ पथभ्रष्टता र स्वर्गका साथ नर्क साटेका छन् ।
२०. वास्तवमा, अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का शत्रुहरूको गणना तिनीहरूमा हुन्छ जसलाई अल्लाहले काफिरहरूमध्ये संसारमा र आखिरतमा बढी अपमानित र लज्जित पार्नुभएको छ ।
२१. वास्तवमा, म र मेरा रसूलहरू हाम्रा शत्रुहरूमाथि तर्क र शक्तिमा विजय प्राप्त गर्नेछौं भनी अल्लाहले आफ्नो अतीतका ज्ञानमा आधारित भई फैसला सुनाउनुभयो । वास्तवमा, अल्लाह आफ्ना रसूलहरूको सहयोग गर्ने शक्ति राख्नुहुन्छ र उनीहरूको शत्रुसँग बदला लिन सक्षम हुनुहुन्छ ।
२२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले अल्लाहमाथि र आखिरतमाथि आस्था राख्नेहरूलाई अल्लाह र उहाँका रसूलको शत्रुलाई मन पराउने र उनीहरूप्रति वफादार देख्नुहुन्न । यद्यपि अल्लाह र उहाँका रसूलका शत्रुहरू उनीहरूका पिता, छोरा, दाजुभाई र ती नातेदारहरू नै किन नहोऊन् जसको उनीहरू एउटा भाग हुन् किनकि अल्लाह र उहाँका रसूलका शत्रुहरूसँग मित्रता गाँस्नका लागि आस्थाले रोक्दछ । अनि आस्थाको नाता अरू सबै नाताभन्दा उच्च हुन्छ र संघर्षको समयमा यसैलाई प्राथमिकता दिइन्छ । आफन्त भएतापनि अल्लाह र उहाँका रसूलका शत्रुहरूसँग मित्रता नगाँस्नेहरूको मनमा अल्लाहले कहिल्यै परिवर्तन नहुने आस्था स्थापित गर्नुभएको छ । अल्लाहले उनीहरूलाई आफ्नो तर्फबाट प्रमाण र प्रकाशद्वारा उनीहरूलाई शक्ति प्रदान गर्नुभएको छ । अनि कयामतको दिन उनीहरूलाई सदा रहने बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ, जसमा रहेका महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । उनीहरू त्यहाँ सदा रहनेछन् । त्यहाँका अनुकम्पाहरू कहिल्यै समाप्त हुनेछैनन् र उनीहरू पनि मर्नेछैनन् । अल्लाह उनीहरूसित प्रसन्न हुनुहुन्छ र अब कहिल्यै रिसाउनुहुने छैन । अनि कहिल्यै समाप्त नहुने अनुकम्पा प्रदान गर्नुभएकोमा उनीहरू पनि उहाँसित प्रसन्न हुनेछन् र ती अनुकम्पाहरूमध्ये एउटा उहाँको अनुहार देख्नु हो । यहाँ उल्लेख भएका गुण बोक्नेहरू नै अल्लाहका सिपाहीहरू हुन् जो उहाँका आदेशहरूको पालना गर्छन् र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बच्छन् । जानी राख, अल्लाहका सिपाहीहरू नै आफूले चाहेका कुराहरू पाउन र संसार तथा आखिरतका डरबाट बच्न सफल हुनेछन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें