सीधे मुख्य सामग्री पर जाएं

५९- सूरह अल्-हश्र

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. आकाशहरू र पृथ्वीका सम्पूर्ण सृष्टिहरू अल्लाहको महिमागान गर्छन् र उहाँलाई शोभा नदिने गुणहरूबाट उहाँको पवित्रता वखान गर्छन् । उहाँ यस्तो शक्तिशाली हुनुहुन्छ जसलाई कसैले हराउन सक्दैन र उहाँ आफ्नो सृष्टिमा, शरीअतमा र भाग्य लेख्नमा विद्वान हुनुहुन्छ ।
२. उहाँले नै अल्लाहलाई नमान्ने र उहाँका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठो ठहर गर्ने समुदाय बनी नजीरलाई पहिलो पटक मदीनाबाट निष्कासन गरेर शाम पठाउनुभएको बेलामा मदीनामा रहेका उनीहरूको आफ्नै घरहरूबाट निकाल्नुभयो । उनीहरू तौरात मान्ने यहूदीहरू हुन् । उनीहरूले आफ्ना वचनहरूको उल्लङ्घन गरेपछि र मुश्रिकहरूसित मिल्न गएपछि उहाँले उनीहरूलाई निष्कासन गरेर शाम पठाइदिनुभयो । हे मोमिनहरू हो ! उनीहरू गौरव र शक्तिको मालिक भएको कारणले उनीहरू निस्कनेछन् भनी तिमीहरूले सोँचेका थिएनौ । अनि उनीहरूले सोँचे, उनीहरूले बनाएका बलियो किल्लाहरूले उनीहरूलाई अल्लाहको यातनाबाट बचाउनेछ । तसर्थ उनीहरूले नसोचेको ठाउँबाट अल्लाहको यातना आइलाग्यो, उहाँले आफ्नो रसूललाई उनीहरूसँग युद्ध गर्ने र उनीहरूलाई घरहरूबाट निष्कासन गर्ने आदेश दिनुभयो र अल्लाहले उनीहरूको हृदयमा गम्भीर डर हाल्दिनुभयो । मुस्लिमहरूले फाइदा लिन नसकुन् भनी उनीहरूले आफ्नै हातले आफ्ना घरहरूका भित्रको भाग भत्काए र मुस्लिमहरूले बाहिरको भाग भत्काए । तसर्थ हे बुझ्न सक्ने क्षमता भएकाहरू हो ! उनीहरूले कुफ्र गरेको कारणले उनीहरूसित जे भयो त्यसमा ध्यान देऊ । उनीहरू सरह नहोऊ अन्यथा तिमीहरूले पनि त्यही बदला पाउनेछौ र उनीहरूले भोगेको यातना भोग्नेछौ ।
३. यदि अल्लाहले उनीहरूको घरबाट उनीहरूलाई निकालिने नलेख्नुभएको भए अल्लाहले उनीहरूलाई मृत्यु र दासत्वको यातना दिनुहुन्थ्यो र आखिरतमा उनीहरूको लागि नर्कको यातना कुरिरहेको छ जहाँ उनीहरू सदाका लागि रहनेछन् ।
४. उनीहरूलाई जे भयो त्यसको कारण उनीहरूले कुफ्र गरेर र वाचाको उल्लङघन गरेर अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को शत्रु भए । जसले अल्लाहको शत्रुता अपनाउछ, उसलाई थाहा हुनुपर्छ अल्लाह कठोर यातना दिनुहुन्छ । तसर्थ उसले उहाँको कठोर यातना भोग्नेछ ।
५. हे मोमिनहरूको समुदाय ! तिमीहरूले बनी नजीरसँगको युद्धमा शत्रुहरूलाई क्रोधित गर्नको लागि जति रूख काट्यौ र जतिलाई फाइदा लिनका लागि बाँकी राख्यौ त्यो अल्लाहको आदेशले गरेका हौ । उनीहरूको सोँच अनुसार यो धर्तीमा विध्वंस मच्चाउनको लागि होइन र उहाँको अनुसरण नगर्ने यहूदीहरूलाई अपमानित गर्नको लागि हो जसले वाचाको विपरित गरे र विश्वासघाटको बाटोलाई प्राथमिकता दिए ।
६. बनी नजीर समुदायको जुन सम्पत्ति अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई प्रदान गर्नुभयो त्यसको लागि तिमीहरूले घोडा र उँट चढेर कुनै मेहनत गरेनौ र तिमीहरूलाई कुनै प्रकारको कठिनाई भोग्नु परेन । बरू अल्लाह आफ्ना रसूलहरूलाई जसमाथि चाहनुहुन्छ अधिकार प्रदान गर्नुहुन्छ । तसर्थ उहाँले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई बनी नजीर समुदायमाथि अधिकार प्रदान गर्नुभयो अनि उहाँले युद्ध बिना नै उनीहरूको भूमिमा विजय प्रदान गर्नुभयो । अल्लाह हरेक कामको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कुनै कुराले विवश बनाउन सक्दैन ।
७. नगरबासीहरूका जुन सम्पत्तिहरू अल्लाहले युद्ध बिना नै आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई प्रदान गर्नुभयो त्यो अल्लाहको हो । उहाँ जसलाई चाहनुहुन्छ दिनुहुन्छ । अनि यो उहाँका रसूलको हो र बनू हाशिम र बनू मुत्तलिबमध्ये उहाँका नातेदारहरूको लागि हो किनकि उनीहरूलाई सदका दिन मनाही गरिएको छ । अनि अनाथहरूको लागि, गरिबहरूको लागि र ती अपरिचितहरू / यात्रुहरूको लागि हो जसको सामान हराएको छ । यसको बाँडफाँड गर्ने बेला गरिबहरू बाहेक केवल धनीहरूमा सिमित नहोस् भनी यो आदेश दिएको हो । तसर्थ, हे मोमिनहरू हो ! यस फय (सम्पत्ति) बाट जति रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले तिमीहरूलाई दिनुभयो त्यसलाई लिऊ, जुन तिमीहरूलाई दिनुभएन त्यसबाट टाढा बस र अल्लाहका आदेशहरूको अनुसरण गरेर र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर उहाँको भय राख । वास्तवमा, अल्लाह कठोर यातना दिनुहुन्छ, तसर्थ उहाँको यातनाको भय राख ।
८. अनि यस धनको एक अंश अल्लाहको मार्गमा बसाइ सराइ गर्ने गरिबहरूलाई दिइनेछ जसलाई आफ्ना धन र सन्तान छोड्न बाध्य बनाइएको थियो । संसारमा उनीहरूलाई अल्लाहले जीविका प्रदान गर्नुहुनेछ र आखिरतमा प्रसन्नता प्रदान गर्नुहुनेछ भन्ने आशा उनीहरूले राखेका छन् । अनि अल्लाहको मार्गमा युद्ध गरी अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सहयोग गर्छन् । यी गुणका मालिकहरू साँच्चि  नै आस्थामा अडिग छन् ।
जब अल्लाहले मुहाजिर (बसाइ सराइ गर्ने) हरूको उल्लेख गर्नुभयो र उनीहरूको प्रशंसा गर्नुभयो तब अन्सार (सहयोगीहरू) को पनि उल्लेख गर्नुभयो र उनीहरूको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयोः 
९. अन्सार जो मदीनामा मुहाजिरहरूभन्दा पहिले बसोबास गर्थे र अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राखे, उनीहरू मक्काबाट बसाइ सराइ गरी उनीहरूकहाँ जानेहरूलाई मन पराउँछन् । अनि जब अल्लाहको मार्गमा बसाइ सराइ गर्नेहरूलाई फयबाट केही दिइन्छ र उनीहरूलाई दिइदैन यस कुराले गर्दा उनीहरू आफ्नो मनमा डाह र ईर्ष्याको भावना आउन दिँदैनन् । उनीहरू गरिब र कठिन अवस्थामा भए तापनि सांसारीक भागमा आफूमाथि यिनीहरूलाई प्राथमिकता दिन्छन् । अल्लाह जसलाई धनको लोभबाट सुरक्षित राख्नुहुन्छ अनि उनीहरू त्यसलाई अल्लाहको मार्गमा खर्च गर्छन् उनीहरू नै चाहेको कुरा पाउन सफल हुनेछन् र डरबाट बच्नेछन् ।
१०. यिनीहरूपछि आएकाहरूले कयामतको दिनसम्म राम्रोसँग यिनीहरूको अनुसरण गरे । उनीहरूले भन्नेछन्- हे हाम्रा पालनकर्ता ! हामीलाई र धर्ममा हाम्रा दाजुभाईलाई क्षमा गर्नुहोस् जसले हामीभन्दा पहिले अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राखे । अनि कुनैपनि मोमिनको लागि हाम्रो मनमा मनमुटाउ र घृणा आउन नदिनुहोस् । वास्तवमा, हे हाम्रा पालनकर्ता ! तपाईं आफ्ना भक्तहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले कुफ्रलाई लुकाउने र आस्थालाई जाहेर गर्नेहरूलाई देख्नुभएन ? विकृत तौरातको अनुसरण गर्ने आफ्ना यहूदी मित्रहरूलाई भन्छन्- आफ्नै घरमा बसिराख, हामी तिमीहरूलाई अपमानित गर्नेछैनौं र तिमीहरूलाई सुम्पिनेछैनौं । तर यदि मुस्लिमहरूले तिमीहरूलाई त्यहाँबाट निकाले भने तिमीहरूसँग एकता जनाउँदै हामी पनि निस्कनेछौं । अनि तिमीहरूसँग निस्कनबाट हामीलाई रोक्न चाहनेहरूको अनुसरण हामी गर्नेछैनौं । यदि उनीहरूले तिमीहरूसित युद्ध गरे भने हामी तिमीहरूको सहयोग गर्नेछौं । यहूदीहरूलाई निकालेपछि उनीहरूसँग निस्कने र उनीहरूसित युद्ध गरिएको खण्डमा उनीहरूसँग मिलेर लड्ने कुरामा मुनाफिकहरू झूठा हुन् भन्ने कुराको साक्षी अल्लाह हुनुहुन्छ ।
१२. यदि मुस्लिमहरूले यहूदीहरूलाई निकाले भने यिनीहरू निस्कनेछैनन् र यदि उनीहरूसित युद्ध गरे भने यिनीहरूले उनीहरूको सहयोग गर्नेछैनन् । यदि उनीहरूले सहायता गरे र मुस्लिमहरू विरूद्ध युद्धमा सहयोग गरे भने उनीहरू भाग्नेछन् र त्यसपछि मुनाफिकहरूको सहयोग गरिनेछैन । बरू अल्लाहले उनीहरूलाई अपमानित र तिरस्कृत गर्नुहुनेछ ।
१३. हे मोमिनहरू हो ! अल्लाहको भन्दा बढी तिमीहरूको डर मुनाफिकहरू र यहूदीहरूको मनमा बसेको छ । उनीहरू नबुझ्ने मानिसहरू भएकोले उनीहरूले तिमीहरूको धेरै डर राख्नु र अल्लाहको  कम डर राखेका हुन् । यदि उनीहरू बुझ्ने भए उनीहरूलाई थाहा हुनेथ्यो अल्लाहको डर नै सबैभन्दा धेरै हुनुपर्छ किनकि उहाँले नै तिमीहरूलाई उनीहरूमाथि विजय प्रदान गर्नुभएको हो ।
१४. हे मोमिनहरू हो ! यहूदीहरू एक भएर तिमीहरूसित युद्ध गर्दैनन् बरू उनीहरू पर्खालले सुरक्षित नगरहरूमा वा पर्खालहरू पछाडि रहेर युद्ध गर्छन् । वास्तवमा, आफ्नो डरको कारणले उनीहरू तिमीहरूको सामना गर्ने क्षमता राख्दैनन् । उनीहरूले एक अर्कालाई गरेको घृणाको कारण उनीहरूमाझ धेरै शत्रुता रहेको छ । तपाईंलाई लाग्छ उनीहरू एकजुट छन् र उनीहरूको समूहमा एकता छ । वास्तवमा, उनीहरूका हृदय विभाजित छन् । त्यस विभाजन र असहमतिको कारण उनीहरूले नसोँच्नु हो । यदि उनीहरूले सोँचे भने सत्यतालाई चिन्नेछन्, त्यसको अनुसरण गर्नेछन् र त्यसमा मतभिन्नता गर्ने छैनन् ।
१५. कुफ्रमा र आई परेको यातनामा यहूदीहरूको उदाहरण यिनीहरूभन्दा पहिलेका मक्काका मुश्रिकहरू सरह हो । उनीहरूले आफ्नो कुफ्रको परिणाम भोगिसकेका छन् । जो मारिए उनीहरू मारिए र जसलाई बन्दी बनाइयो उनीहरूलाई बद्रको दिन बन्दी बनाएर लगियो । आखिरतमा उनीहरूलाई कष्टकर यातना दिइनेछ ।
१६. मुनाफिकहरूबाट सुन्नुमा उनीहरूको उदाहरण शैतान सरह हो जो मानिसहरूलाई कुफ्र गराउनका लागि वातावरणलाई सजाउँछ । उसको लागि कुफ्रलाई सजाइएको कारणले जब ऊ कुफ्र गर्न पुग्यो उसले भन्योः तिमीले कुफ्र गरेको विषयमा तिमीसित मेरो कुनै सरोकार छैन । वास्तवमा, म सम्पूर्ण सृष्टिको पालनकर्ताको भय राख्छु ।
१७. अतः शैतान र उसको अनुसरण गर्नेको परिणाम भनेको यी दुबै (अर्थात अनुसरण गरिएको शैतान र अनुसरण गर्ने मनुष्य) कयामतको दिन नर्कमा हुनेछन् जहाँ उनीहरू सदाका लागि रहनेछन् । यही बदला उनीहरूलाई पर्खेर बसिरहेको छ र अल्लाहका सीमाहरूको उल्लङ्घन गरेर आफूमाथि अत्याचार गर्नेहरूको बदला पनि यही हो ।
१८. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँले निर्धारण गर्नुभएको शरीअतको अनुसरण गर्नेहरू हो ! अल्लाहको आदेशलाई मानेर र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बचेर उहाँको भय राख । हरेक प्राणले कयामतको दिनको निम्ति गरेको पुण्यको विषयमा ध्यान देओस् । अल्लाहको भय राख किनकि अल्लाह तिमीहरूले गरेका कार्यहरूसित अवगत हुनुहुन्छ । तिमीहरूको कुनैपनि काम उहाँबाट लुकेको छैन । त्यस अनुसार नै उहाँले तिमीहरूलाई बदला दिनुहुनेछ ।
१९. अल्लाहले आदेश दिनुभएको र मनाही गर्नुभएको कुराहरूलाई छाडेर उहाँलाई बिर्सनेहरू सरह नहुनु । परिणाम स्वरूप अल्लाहले स्वयं उनीहरूलाई नै विर्साइदिनुभयो । तसर्थ कसरी अल्लाहको क्रोध र यातनाबाट बच्न सकिन्छ भन्ने कुरा उनीहरूलाई थाहा छैन । अल्लाहको आदेशहरूको पालना नगरी र उहाँले मनाही गर्नुभएको कुराबाट नबचेर अल्लाहलाई बिर्सनेहरू अल्लाहको अनुसरणलाई त्यग्नेहरू हुन् ।
२०. स्वर्ग जानेहरू र नर्क जानेहरू समान छैनन् । बरू उनीहरूको लागि फरक फरक बदला रहेको छ जसरी संसारमा उनीहरूका कर्महरू फरक फरक थिए । स्वर्ग जानेहरू आफ्ना इच्छाहरू प्राप्त गरी सफल हुने र आफ्ना डरबाट बच्नेहरू हुन् ।
२१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि हामीले  यस कुर्आनलाई कुनै पहाडमाथि अवतरित गरेको भए तपाईंले त्यस पहाडलाई कठोर भएतापनि अल्लाहको तिब्र डरले गर्दा विनम्र र टुक्रा-टुक्रा भएको देख्नुहुनेथ्यो किनकि त्यसमा गम्भीर उपदेश र कठोर चेतावनी उल्लेख भएको छ । यी उदाहरणहरू हामीले मानिसहरूका लागि वर्णन गरेका छौं, आशा छ, उनीहरूले आफ्नो बुद्धि विवेकको प्रयोग गर्नेछन् र उहाँका आयतहरूमा समावेश रहेका उपदेशहरू र पाठहरू ग्रहण गर्नेछन् ।
२२. २३. उहाँ अल्लाह हुनुहुन्छ जसबाहेक अरू कोही उपास्य छैन । अदृश्य र दृश्य सबै कुराका ज्ञाता हुनुहुन्छ । त्यसमध्ये केही पनि उहाँबाट लुकेको छैन । संसारमा र आखिरतमा दया गर्ने र कृपा गर्ने हुनुहुन्छ । उहाँको दयाले सम्पूर्ण संसारमा फैलिएको छ । उहाँ राजा हुनुहुन्छ, सम्पूर्ण कमिकमजोरीबाट पवित्र हुनुहुन्छ र प्रत्येक अवगुणबाट टाढा हुनुहुन्छ । उहाँ आफ्ना रसूलहरूलाई स्पष्ट निशानीहरूद्वारा पुष्टि गर्नुहुन्छ । आफ्ना भक्तहरूका क्रियाकलापहरूको रेखदेख गर्नुहुन्छ । उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँलाई कसैले पराजित गर्न सक्दैन । उहाँ प्रभावशाली हुनुहुन्छ, जसले आफ्नो शक्तिद्वारा सबैमाथि प्रभाव पार्नुभएको छ र महान बनेर रहनुहुन्छ । मूर्तिहरू र अन्यलाई अल्लाहको साझेदार ठहर गरेका मुश्रिकहरूको शिर्कबाट उहाँ पवित्र हुनुहुन्छ ।
२४. उहाँ अल्लाह नै सृष्टिकर्ता हुनुहुन्छ जसले हरेक वस्तुको सृष्टि गर्नुहुन्छ र सबैलाई अस्तित्व प्रदान गर्नुहुन्छ । उहाँले चाहे अनुसार नै सृष्टिहरूलाई रूप प्रदान गर्नुहुन्छ । उच्च गुणहरू बोकेका राम्रा नामहरू उहाँ कै हुन् । आकाशहरू र पृथ्वीमा रहेका सबैले हरेक कमिकमजोरीबाट उहाँ पवित्र हुनुभएको बखान गर्छन् । उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँलाई कसैले पराजय गर्न सक्दैन । उहाँ आफ्नो सृष्टिमा, शरीअतमा र भाग्य लेख्नमा विद्वान हुनुहुन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...