शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे अल्लाहमाथि आस्था राख्ने र उहाँले दिनुभएका आदेशहरूको पालना गर्नेहरू हो ! मेरा शत्रुहरू र आफ्ना शत्रुहरूसँग मित्रता र प्रेम स्थापित गरेर उनीहरूलाई संरक्षक मित्र नबनाऊ । वास्तवमा, तिमीहरूका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको धर्मलाई उनीहरूले नकारेका छन् र रसूललाई मक्कामा रहेका उहाँको घरबाट र तिमीहरूलाई तिमीहरूका घरबाट निकाले । उनीहरू तिमीहरूको विषयमा कुनै सम्बन्ध र घनिष्टतालाई वास्ता गर्दैनन् । अरू कुनै कारणले होइन बरू तिमीहरूले अल्लाह, आफ्ना पालनकर्तामाथि आस्था राखेकोले उनीहरूले यसो गरे । यदि तिमीहरू मेरो मार्गमा युद्ध गर्न निस्केका छौ र मलाई खुशी पार्ने इच्छा छ भने तिमीहरू उनीहरूको प्रेममा परेर मुस्लिमहरूको सूचना उनीहरूसमक्ष गोप्य रूपले नपुर्याऊ । वास्तवमा, तिमीहरूले लुकाएका र जाहेर गरेका कुराहरूलाई म जान्दछु । त्यो र त्यसबाहेकको केहीपनि मबाट लुकेको छैन । जसले काफिरहरूसँग त्यसतो मित्रता र प्रेम स्थापना गर्छ ऊ मध्यबाटोबाट हट्नेछ, सत्यताबाट पथभ्रष्ट हुनेछ र सही कुराबाट टाढा हुनेछ ।
२. यदि उनीहरूले तिमीहरूमाथि विजय प्राप्त गरे भने उनीहरूले आफ्ना हृदयभित्र लुकाएका शत्रुता देखाउनेछन् । तिमीहरूलाई चोट पुर्याउनेछन् र अपमानित गर्नेछन् । अनि तिमीहरू अल्लाह र उहाँका रसूललाई नकारी उनीहरू सरह नै हुनेछौ भनी चाहना गर्नेछन् ।
३. यदि तिमीहरूले आफ्ना आफन्तहरू र सन्तानहरूको कारणले काफिरहरूसँग मित्रता स्थापित गर्यौ भने त्यसले तिमीहरूलाई कुनै फाइदा पुर्याउने छैन । अल्लाहले कयामतको दिन तिमीहरूलाई विभाजित गर्नुहुनेछ । अनि अल्लाहले स्वर्ग जानेहरूलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ र नर्क जानेहरूलाई नर्कमा प्रवेश गराउनुहुनेछ । अनि तिमीहरूले एक अर्कालाई फाइदा पुर्याउन सक्ने छैनौ । अल्लाह तिमीहरूको क्रियाकलापलाई देख्नुहुन्छ । तिमीहरूको कुनै क्रियाकलाप उहाँबाट लुकेको छैन र त्यस अनुसार नै तिमीहरूलाई बदला दिइनेछ ।
४. हे मोमिनहरू हो ! तिमीहरूको लागि इब्राहीम (अलैहिस्सलाम) मा र उनका मोमिन साथीहरूमा राम्रो उदाहरण रहेको छ । जब उनीहरूले आफ्ना काफिर समुदायलाई भनेः तिमीहरूसित र अल्लाहलाई छाडेर तिमीहरूले उपासना गर्ने गरेका मूर्तिहरूसित हाम्रो कुनै सरोकार छैन । तिमीहरूले जुन धर्म अपनाएका छौ त्यसलाई हामीले नकारेका छौं । तिमीहरूले एक मात्र अल्लाहमाथि आस्था नराखेसम्म र तिमीहरू उहाँसँग अरूलाई साझेदार नबानाउने नभएसम्मका लागि हामीहरू र तिमीहरूबीच शत्रुता र घृणा उत्पन्न भइसकेको छ । तसर्थ यिनीहरू सरह तिमीहरूले पनि आफ्नो काफिर समुदायबाट सरोकार नराख्नु तिमीहरूमाथि अनिवार्य रहेको छ । तर इब्राहीम (अलैहिस्सलाम) ले आफ्ना बुबालाई भनेको कुरा ‘म तपाईंको लागि अल्लाहसँग क्षमायाचना गर्नेछु’ तिमीहरूको लागि उदाहरण होइन । यस विषयमा उनको अनुसरण नगर । यो त्यसबेलाको कुरा हो जब इब्राहीमले आफ्ना बुबाको विषयमा आशा छाडेका थिएनन् । एउटा मोमिनले एउटा मुश्रिकको लागि क्षमा याचना गर्नुहुँदैन । म तपाईंलाई अल्लाहको यातनाबाट बचाउनै सक्दिन । हे हाम्रा पालनकर्ता ! हामी हाम्रा सम्पूर्ण मामिलामा तपाईंमाथि नै निर्भर भएका छौं, कयामतको दिन क्षमा याचना गर्दै तपाईंतिर नै फर्कनेछौं ।
५. हे हाम्रा पालनकर्ता ! काफिरहरूलाई हामीमाथि अधिकार दिएर हामीलाई उनीहरूको लागि परिक्षा नबनाउनुहोस् । उनीहरूले भन्नेछन्- यदि यिनीहरू सत्यतामा भए हामीलाई यिनीहरूमाथि अधिकार दिइने थिईएन । हे हाम्रा पालनकर्ता ! हाम्रा पापहरूलाई क्षमा गर्नुहोस् । वास्तवमा, तपाईं शक्तिशाली हुनुहुन्छ र तपाईंलाई कसैले पराजित गर्न सक्दैन । तपाईं आफ्नो सृष्टिमा, शरीअतमा र भाग्य लेख्नमा विद्वान हुनुहुन्छ ।
६. जो संसारमा र आखिरतमा अल्लाहको भलाईको चाहना राख्दछ उसले मात्र यस राम्रो उदाहरणलाई अपनाउँछ । जो यस राम्रो उदाहरणलाई अपनाउन नकार्दछ उसले जानि राखोस्, वास्तवमा, अल्लाहलाई उहाँका भक्तहरूको आवश्यकता छैन । उहाँलाई उनीहरूको अनुसरणको आवश्यकता छैन । उहाँ हरेक अवस्थामा प्रशंसनीय हुनुहुन्छ ।
७. हे मोमिनहरू हो ! आशा छ, अल्लाहले तिमीहरू र तिमीहरूको काफिर शत्रुहरूबीच प्रेमको भावना उत्पन्न गर्नुहुनेछ जब उहाँले उनीहरूलाई इस्लामको मार्गदर्शन प्रदान गर्नुहुनेछ । अनि उनीहरू तिमीहरूका धार्मिक दाजूभाई हुनेछन् । अल्लाह उनीहरूको मनलाई इस्लामको लागि परिवर्तन गर्न सक्षम हुनुहुन्छ । अल्लाह आफ्ना पश्चाताप गर्ने भक्तहरूको लागि क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुनेछ ।
८. तिमीहरूको इस्लामको कारणले तिमीहरूसित युद्ध नगर्नेहरू र तिमीहरूलाई आफ्ना घरबाट ननिकाल्नेहरूसित राम्रो व्यवहार गर्नबाट र तिमीहरूमाथि रहेको उनीहरूको अधिकार दिएर उनीहरूसँग निष्पक्ष व्यवहार गर्नबाट अल्लाह तिमीहरूलाई मनाही गर्नुहुन्न् । वास्तवमा, अल्लाह न्याय गर्नेहरूलाई मन पराउनुहुन्छ जो आफूसित, आफ्नो परिवारसित र जसको जिम्मेवारी उनीहरूलाई दिइएको छ उनीहरूसित न्याय गर्छन् ।
९. वास्तवमा, तिमीहरूको इस्लामको कारणले तिमीहरूसित युद्ध गर्नेहरू र तिमीहरूलाई आफ्ना घरहरूबाट निकाल्नेहरू र तिमीहरूलाई निकाल्न सहयोग पुर्याउनेहरूलाई मित्र बनाउन मनाही गर्नुभयो । तिमीहरूमध्ये जो उनीहरूलाई मित्र बनाउँछन् उनीहरू स्वयंलाई नष्ट पारी अत्याचार गर्छन् किनकि उनीहरूले अल्लाहको आदेशको उल्लङ्घन गरेका छन् ।
१०. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँले दिनुभएको आदेशहरूको पालना गर्नेहरू हो ! जब कुफ्रको भूमीबाट आफ्ना घरहरू छाडी इस्लामको भूमीमा महिलाहरू आउँछन्, उनीहरू आफ्नो इमानको दाबीमा कति सच्चा छन् भनी उनीहरूको परिक्षा लिऊ । अल्लाह उनीहरूको इमानलाई राम्ररी जान्नुहुन्छ । उनीहरूको हृदयमा रहेका कुराहरू उहाँबाट लुकेको छैन । उनीहरूको परिक्षा लिएपश्चात उनीहरूको सत्यता जाहेर भई उनीहरू मोमिन भएको प्रमाणित भएपछि उनीहरूलाई काफिर लोग्नेहरूतर्फ नफर्काऊ । मोमिन महिलाहरूलाई काफिरहरूसँग विवाह गर्ने अनुमति छैन र काफिरहरूलाई मोमिन महिलाहरूसँग विवाह गर्ने अनुमति छैन । अनि उनीहरूका पतिहरूलाई उनीहरूले खर्च गरेको फिर्ता गर । हे मोमिनहरू हो ! उनीहरूको इद्दत समाप्त भएपछि उनीहरूलाई महर दिएर उनीहरूसँग विवाह गर्नुमा आपत्ति छैन । अनि जसकी पत्नी काफिर छे वा उसले इस्लाम त्यागेकी छे उसले उसलाई नरोकोस् किनकि उसको कुफ्रको कारणले उनीहरूको विवाह अमान्य भएको छ । तिमीहरूले इस्लाम त्याग गरेकी पत्नीहरूको लागि महरमा खर्च गरे जति काफिरहरूबाट माग र उनीहरूकी पत्नीहरूमध्ये इस्लाम अपनाएकीहरूको लागि महरमा खर्च गरे जति उनीहरूले मागोस् । तिमीहरूले र उनीहरूले महर फिर्ता माग्न उल्लेख भएको कुरा अल्लाहको कानुन हो । उहाँ जे चाहनुहुन्छ तिमीहरूलाई कानुन दिनुहुन्छ / उहाँ जे चाहनुहुन्छ तिमीहरूको लागि फैसला गर्नुहुन्छ । अल्लाहलाई उहाँका भक्तहरूको अवस्थाको र क्रियाकलापहरूको ज्ञान छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँ आफ्ना भक्तहरूका लागि कानुन बनाउनुमा तत्वदर्शी हुनुहुन्छ ।
११. जब तिमीहरूका केही पत्नीहरू इस्लाम त्यागी काफिरहरूमा जान बाध्य भए र तिमीहरूले मागेको महर उनीहरूले दिएनन् र तिमीहरूले काफिरहरूबाट युद्धमा सम्पत्ती लिन सफल भयौ भने जसकी पत्नीहरू इस्लाम त्यागी गएकी छन् उनीहरूले महरमा खर्च गरे जति उनीहरूलाई देऊ । जुन अल्लाहमाथि तिमीहरू आस्था राख्छौ उहाँका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख ।
१२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मक्का विजय भएको दिन सरह जब मोमिन महिलाहरूले अल्लाहको साझेदार ठहर गर्नेछैनन् बरू उहाँको मात्र उपासना गर्नेछन्, उनीहरूले चोरी गर्नेछैनन्, व्यभिचार गर्नेछैनन्, अज्ञानताको समयमा चलन रहे अनुसार उनीहरूले आफ्ना सन्तानको हत्या गर्नेछैनन्, उनीहरूले व्यभिचारबाट जन्मेका सन्तानहरूलाई पतिहरूको हो भनी भन्नेछैनन्, अनि शोक नगर्नु, कपाल नकाट्नु र लुगा नच्याट्नु जस्ता तपाईंका आदेशहरूको अवज्ञा गर्नेछैनन् भनी शपथ लिन्छन् भने उनीहरूको शपथलाई स्वीकार गर्नुहोस् । तपाईंसमक्ष शपथ लिएपश्चात तपाईं उनीहरूको पापहरूबाट उनीहरूको लागि क्षमा माग्नुहोस् । वास्तवमा, अल्लाह आफ्ना क्षमा माग्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
यो सूरह शुरू भएको बेला अल्लाहका शत्रुहरूलाई संरक्षक मित्र बनाउने विषयमा चेतावनी दिइएको थियो र अन्त्यमा फेरी त्यसै कुरामा जोड दिनको लागि सोही चेतावनी उल्लेख भएको छ । उहाँले भन्नुभयोः
१३. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँका आदेशको अनुसरण गर्नेहरू हो ! जुन मानिसहरूसित अल्लाह रिसाउनुभएको छ र जो आखिरतमाथि विश्वास गर्दैन उसलाई साथी नबनाऊ । बरू उनीहरू त्यसबाट निराश भएका छन् जसरी मृत्युपश्चात उनीहरू आफ्ना मृतकहरू फर्कने कुराबाट निराश भएका छन् किनकि उनीहरूले पुनः जीवित पारिने कुरालाई मान्दैनन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें