सीधे मुख्य सामग्री पर जाएं

५७- सूरह अल्-हदीद (मदनी)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण सृष्टिहरू अल्लाहको पवित्रताको वर्णन गर्छन् । उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँलाई कसैले पराजित गर्न सक्दैन । उहाँ आफ्नो सृष्टिमा र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ ।
२. आकाशहरू र पृथ्वीको राज्य केवल उहाँको मात्र हो । उहाँ जसलाई चाहनुहुन्छ जीवित पार्नुहुन्छ र जसलाई चाहनुहुन्छ मृत्यु दिनुहुन्छ । उहाँ हरेक कुराको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कुनै कुराले विवश पार्न सक्दैन ।
३. उहाँ प्रथम हुनुहुन्छ र उहाँभन्दा पहिले केही थिएन । उहाँ नै अन्तिम हुनुहुन्छ र उहाँपछि केही हुनेछैन । उहाँ प्रभावशाली र उहाँभन्दा प्रभावशाली केही छैन । उहाँ गोप्य हुनुहुन्छ र उहाँभन्दा गोप्य केही छैन । उहाँलाई हरेक कुराको ज्ञान छ र उहाँबाट केही पनि उम्कन सक्दैन । 
४. उहाँले नै आकाशहरू र पृथ्वीको सृष्टि छ दिनमा गर्नुभयो । आइतबार पहिलो दिन थियो र शुक्रबार अन्तिम दिन । वास्तवमा, उहाँ आँखा झिम्क्याउनुभन्दा पनि कम समयमा यसको सृष्टि गर्न सक्षम हुनुहुन्छ । अनि उहाँलाई सुहाउँदो तरिकाले उहाँ सिंहासनमा बस्नुभयो । पानी, बीज, आदि जस्ता जेजति पृथ्वीमा प्रवेश गर्छ त्यसको ज्ञान अनि बोटबिरूवा, खानी, आदि जस्ता जेजति पृथ्वीबाट निस्कन्छ त्यसको ज्ञान अनि वर्षा, वही, आदि जस्ता जेजति आकाशबाट अवतरण हुन्छ त्यसको ज्ञान अनि फरिश्ताहरू, भक्तहरूका कार्य र उनीहरूका आत्मा जस्ता जेजति आकाशतिर चढेर जान्छ त्यसको ज्ञान अल्लाहलाई हुन्छ । हे मानिसहरू हो ! तिमीहरू जहाँ हुन्छौ उहाँ आफ्नो ज्ञानका साथ तिमीहरूसित हुनुहुन्छ । तिमीहरूको कुनै पनि कुरा उहाँबाट लुकेको छैन । अल्लाह तिमीहरूको कार्यहरूलाई देखिरहनुभएको छ । त्यसबाट केही पनि उहाँबाट लुकेको छैन । अनि त्यसै अनुसार तिमीहरूलाई बदला दिइनेछ ।
५. आकाशहरू र पृथ्वीको राज्य केवल उहाँको हो । मामिलाहरू उहाँतिर नै फर्केर जान्छन् । तसर्थ कयामतको दिन सृष्टिहरूको हिसाब लिइनेछ र उनीहरूको कार्य अनुसार नै उनीहरूलाई बदला दिइनेछ ।
६. उहाँ रातलाई दिनमा प्रवेश गराउनुहुन्छ अनि अन्धकार छाउँछ र मानसहरू सुत्छन् । उहाँ रातलाई दिनमा प्रवेश गराउनुहुन्छ अनि प्रकाश फैलिन्छ र मानिसहरू आफ्ना कामको लागि निस्कन्छन् । उहाँ आफ्ना भक्तहरूको मनमा रहेका कुराहरू जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन ।
७. तिमीहरू अल्लाहमाथि र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राख । अनि अल्लाहले तिमीहरूलाई जुन धनको उत्तराधिकारी बनाउनुभएको छ त्यसबाट खर्च गर । तिमीहरू त्यसलाई उहाँले निर्धारण गर्नुभएको तरिका अनुसार खर्च गर । तसर्थ तिमीहरूमध्ये अल्लाहमाथि आस्था राख्नेहरू र अल्लाहको मार्गमा आफ्नो सम्पत्ति खर्च गर्नेहरूको लागि उहाँसँग महान प्रतिदान रहेको छ जुन स्वर्ग हो ।
८. तिमीहरूलाई अल्लाहमाथि आस्था राख्नबाट कुन कराले रोक्छ ? वास्तवमा, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तिमीहरूलाई अल्लाहतर्फ आह्वान गर्नुहुन्छ । तिमीहरू आफ्ना पालनकर्तामाथि आस्था राख्नेछौ भन्ने उहाँले आशा गर्नुहुन्छ । यदि तिमीहरूलाई विश्वास छ भने अल्लाहले तिमीहरूलाई आफ्ना बुबाहरूको कम्मर / करङ र जाङ बीचको भागबाट निकाल्ने बेला तिमीहरूले उहाँको मात्र उपासना गर्नेछौ भनी तिमीहरूबाट बाचा लिनुभएको थियो ।
९. उहाँले नै आफ्ना भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि स्पष्ट आयतहरू अवतरण गर्नुहुन्छ । यसको उद्देश्य तिमीहरूलाई कुफ्र र अज्ञानताको अन्धकारबाट आस्था र ज्ञानको प्रकाशतिर लिएर जानु हो । वास्तवमा, अल्लाह तिमीहरूप्रति कोमल र दयावान हुनुहुन्छ किनकि उहाँले तिमीहरूतिर आफ्नो नबीलाई मार्गदर्शक र शुभ-सूचक बनाएर पठाउनुभयो ।
१०. तिमीहरूलाई अल्लाहको मार्गमा खर्च गर्नबाट कुन कुराले रोक्छ ? अल्लाह आकाशहरू र पृथ्वीका उत्तराधिकार हुनुहुन्छ । हे मोमिनहरू हो ! तिमीहरूमध्ये मक्का विजय हुनु अघि अल्लाहको प्रशन्नता प्राप्त गर्नको निम्ति उहाँको मार्गमा खर्च गर्ने, इस्लामको सहयोगको लागि युद्ध गर्ने र मक्का विजय भएपश्चात खर्च गर्ने र काफिरहरूसँग युद्ध गर्नेहरू बराबर हुन सक्दैनन् । अल्लाहको नजरमा मक्का विजय हुनु अघि खर्च गर्नेहरू र अल्लाहको मार्गमा युद्ध गर्नेहरूको श्रेणी मक्का विजयपश्चात अल्लाहको मार्गमा खर्च गर्ने र काफिरहरूसँग युद्ध गर्नेहरूको श्रेणीभन्दा उच्च रहेको छ । तर अल्लाहले दुबै समूहसँग स्वर्गको वाचा गर्नुभएको छ । अल्लाह तिमीहरूको कार्यहरूबाट अवगत हुनुहुन्छ । तिमीहरूका कार्यहरू उहाँबाट लुकेको छैन र त्यसै अनुसार तिमीहरूलाई बदला दिइनेछ ।
११. कोही छ जो अल्लाहको अनुहारको लागि स्वयंलाई पवित्र पार्न आफ्नो धनलाई खर्च गरोस् ? परिणाम स्वरूप, अल्लाह उसलाई आफ्नो धनबाट खर्च गरेबापत धेरै गुणा बढाएर प्रतिदान दिनुहुनेछ । अनि उसको लागि कयामतको दिन महान / सम्मानित प्रतिदान रहेको छ जुन स्वर्ग हो ।
१२. कयामतको दिन तपाईंले मोमिन पुरूषहरू र महिलाहरूको अगाडि र दाहिनेतर्फ उनीहरूको प्रकाश हिँडिरहेको देख्नुहुनेछ । त्यसदिन उनीहरूलाई भनिनेछः आज तिमीहरूलाई त्यसता बगैंचाहरूको शुभसूचना छ जसका महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् जहाँ उनीहरू सदाका लागि रहनेछन् । यो बदला भनेको महान सफलता हो जस्तो अरू कुनै सफलता हुनेछैन ।
१३. मुनाफिक पुरूषहरू र महिलाहरू मोमिनहरूलाई भन्नेछन्- हाम्रो प्रतिक्षा गर, आशा छ तिमीहरूको प्रकाशबाट हामी पनि प्रकाश पाउँन सकौं । त्यसले हामीलाई नर्कमाथिको पुल पार गर्न सहयोग मिल्नेछ । मुनाफिकहरूलाई ठट्टा गर्दै भनिनेछः तिमीहरू पछाडि फर्केर जाऊ र तिमीहरूलाई ज्योती दिने प्रकाश खोज । अनि यी दुबैबीच एउटा आग्लो पर्खाल खडा गरिनेछ । त्यस पर्खालमा ढोका हुनेछ । मोमिनहरूतर्फको भित्री भागमा दया हुनेछ र मुनाफिकहरूतर्फको बाहिरी भागमा यातना हुनेछ ।
१४. मुनाफिकहरूले मोमिनहरूलाई कराएर भन्नेछन्- के हामी इस्लाम र आज्ञाकारीतामा तिमीहरूको साथमा थिएनौं र ? उनीहरूलाई मुस्लिमहरूले भन्नेछन्- किन न हुनु, तिमीहरू हामीसँगै थियौ । तर तिमीहरूले कपट गरी आफैलाई परिक्षामा पार्यौ अनि स्वयंलाई नष्ट पार्यौ । तिमीहरूले मोमिनहरू पराजय हुने अनि आफ्नो कुफ्रको घोषणा गर्ने कुराको प्रतिक्षा गर्यौ । मोमिनहरूले अल्लाहको सहयोग पाउनेछन् र मृत्युपश्चात पुनः जीवित हुने भन्ने कुरामा शंका गर्यौ । तिमीहरूलाई झूठा चाहनाहरूले मृत्यु आउन्जेल धोकामा राख्यो र तिमीहरू त्यसै अवस्थामा थियौ । अनि शैतानले अल्लाहको विषयमा धोकामै राख्यो ।
१५. हे मुनाफिकहरू हो ! आज तिमीहरूलाई अल्लाहको यातनाबाट बचाउनका लागि तिमीहरूबाट कुनै मूल्य (फिद्या) स्वीकार्य हुनेछैन । अनि सार्वजनिक रूपमा अल्लाहलाई नकार्नेहरूबाट पनि फिरौति स्वीकार गरिनेछैन । तिमीहरूको र काफिरहरूको बासस्थान नर्क रहेको छ । यही तिमीहरूको लागि उपयुक्त छ र तिमीहरू उसको लागि उपयुक्त छौ । धेरै नै नराम्रो बासस्थान हो त्यो ।
१६. अल्लाहमाथि र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राख्नेहरूका हृदयहरू अल्लाहको सम्झनाले र उहाँले कुर्आनमा अवतरण गर्नुभएका बाचा र चेतावनीको लागि नम्र र सन्तुष्ट हुने समय भएको छैन र ? उनीहरू तौरात प्रदान गरिएका यहूदीहरू र इन्जील प्रदान गरिएका ईसाईहरू सरह कठोर हृदय भएका नहोऊन् । उनीहरू र उनीहरूतिर उनीहरूका नबीहरू आउने समय लामो भएको कारणले उनीहरूका हृदय कठोर भए । उनीहरूका अधिकांशले अल्लाहको अनुसरण त्यागी उहाँको अवज्ञालाई अपनाएका छन् ।
१७. जानि राख, पृथ्वी सुख्खा भएपछि त्यसमा बोटबिरूवा उमारेर अल्लाह त्यसलाई पुनः जीवित पार्नुहुन्छ । हे मानिसहरू हो ! हामीले तिमीहरूसमक्ष अल्लाहको शक्ति र उहाँ एक्लो हुनुभएको कुराका प्रमाणहरू हामीले प्रस्तुत गरेका छौं, आशा छ तिमीहरू बुझ्नेछौ । जानि राख, पृथ्वीको मृत्युपश्चात त्यसलाई पुनः जीवित पार्नेले तिमीहरूको मृत्युपश्चात पुनः जीवित पार्न र तिमीहरूका हृदय कठोर भएपछि त्यसलाई नम्र पार्न सक्षम हुनुहुन्छ ।
१८. वास्तवमा, आफ्ना केही सम्पत्तिलाई दान दिने पुरूष र महिलाहरू जो स्वयंलाई पवित्र पार्न उपकार नजताई र कष्ट नदिई त्यसलाई खर्च गर्छन् भने उनीहरूका कर्महरूको बदलालाई उहाँले धेरै गुणा बढाउनुहुनेछ । एउटा राम्रो कर्मलाई दस देखि सात सय गुणासम्म बढाइनेछ र त्यसभन्दा पनि बढी । यससँगै अल्लाहकहाँ उनीहरूको लागि सम्मानजनक प्रतिदान रहेको छ र त्यो स्वर्ग हो ।
१९. जो अल्लाहमाथि आस्था राखिनेहरू र उहाँका रसूलहरूमाथि कुनै विभेद बिना नै आस्था राख्नेहरू नै आफ्ना पालनकर्ताको नजरमा सच्चा र साक्षी हुन् । उनीहरूको लागि तयार पारिएको सम्मानित प्रतिदान छ । उनीहरूको प्रकाश कयामतको दिन उनीहरूको अगाडि र दाहिनेतिर हिँडिरहेको हुनेछ । अनि अल्लाहलाई र उहाँका रसूलहरूलाई नकार्नेहरू, हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित हाम्रा आयतहरूलाई झूठो ठहर गर्नेहरू नै नर्कका बासिन्दाहरू हुन् । कयामतको दिन उनीहरू नर्कमा प्रवेश गर्नेछन् जहाँ उनीहरू सदाका लागि रहनेछन् । त्यहाँबाट उनीहरू निस्कन सक्नेछैनन् ।
२०. जानि राख, सांसारीक जीवन त शरीरहरूले खेल्ने केवल खेल, हृदयहरू बहकिने मनोरञ्जन, तिमीहरूले अपनाउने सजावट, सम्पत्ति र सामानको विषयमा परस्पर सेखी झार्नु, सम्पत्ति बढाउन र सन्तान बढाउनको निम्ति परस्पर प्रतिस्पर्धा गर्नु मात्र हो । यसको उदाहरण त्यस वर्षा सरह हो जसबाट उम्रेका बोटबिरूवाले किसानहरूलाई खुशी पार्छ । त्यसपछि त्यो हरियो बोटबिरूवा सुक्छ । हे हेर्ने व्यक्ति ! तपाईंले त्यसलाई हरियो भएपछि पहेंलो भएको देख्छौ । त्यसपछि अल्लाह त्यसलाई धुलो पार्नुहुन्छ । आखिरतमा काफिरहरू र मुनाफिकहरूको लागि कठोर यातना छ । अनि आफ्ना मोमिन भक्तहरूको लागि उनीहरूका पापहरूको क्षमा र उहाँको प्रसन्नता छ । सांसारीक जीवन त केवल समाप्त हुने सामान हो जसमा स्थिरता छैन । जो त्यसको समाप्त हुने सामानलाई आखिरतको अनुग्रहमाथि प्राथमिकता दिन्छ त्यो घाटा बेहोर्ने र दुःखी हुनेछ ।
२१. हे मानिसहरू हो ! सत्कर्महरूको लागि प्रतिस्पर्धा गर जसद्वारा तिमीहरूले आफ्ना पापहरूको क्षमा प्राप्त गर्नेछौ जस्तै पश्चाताप र अन्य उपासनाहरू । यसरी तिमीहरूले स्वर्ग प्राप्त गर्नेछौ जसको विस्तार / चौडाइ आकाशहरू र पृथ्वीका विस्तार / चौडाइ बराबर रहेको छ । यही स्वर्ग हो जुन अल्लाहले उहाँमाथि आस्था राख्ने र उहाँका रसूलहरूमाथि आस्था राख्नेहरूको लागि तयार पार्नुभएको छ । यो बदला अल्लाहको अनुकम्पा हो जुन उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ प्रदान गर्नुहुन्छ । अल्लाह नै आफ्ना मोमिन भक्तहरूमाथि अपार अनुकम्पा प्रदान गर्नुहुन्छ ।
२२. पृथ्वीमा मानिसहरूमाथि अनिकाल र यस्तै खालका आइपर्ने सङ्कट र उनीहरूकै कारणले आइपर्ने सङ्कट सबै हामीले सृष्टिहरूको सृजना गर्नु अघिदेखि नै लौहे महफूजमा सुरक्षित छन् । वास्तवमा, यो अल्लाहको लागि सहज रहेको छ ।
२३. हे मानिसहरू हो ! यसको उद्देश्य, तिमीहरूले गुमाएका कुराहरूप्रति तिमीहरू दुःखी नहुनु र उहाँले प्रदान गर्नुभएको अनुग्रहहरूप्रति घमण्ड नगर्नु हो । वास्तवमा, अल्लाह त्यसतो व्यक्तिलाई मन पराउनुहुन्न जो उहाँले नै दिनुभएका अनुग्रहहरूको विषयमा मानिसहरूसमक्ष घमण्ड गर्छ र फुर्ती देखाउँछ ।
२४. खर्च गर्न जरूरी भएकोमा जो कञ्जुस्याईं गर्छन् र जो अरूहरूलाई कञ्जुसी गर्ने उपदेश दिन्छन् उनीहरू घाटामा छन् । जो अल्लाहको अनुसरणबाट विमुख हुन्छ उसले अल्लाहको केही हानी गर्दैन बरू उसले स्वयंलाई नै हानी पुर्याउँछ । वास्तवमा, अल्लाह निस्पृह हुनुहुन्छ, उहाँलाई भक्तको अनुसरणको आवश्यकता छैन अनि उहाँ हरेक अवस्थामा प्रशंसनीय हुनुहुन्छ ।
२५. हामीले हाम्रा रसूलहरूलाई प्रस्ट तर्कहरू र स्पष्ट प्रमाणहरू दिएर पठायौं । हामीले उनीहरूतर्फ किताबहरू र तराजु अवतरण गर्यौं । मानिसहरू न्यायमा दृढ रहनु यसको उद्देश्य थियो । अनि हामीले फलाम अवतरण गर्यौं जसमा अति धेरै शक्ति छ । त्यसबाट हातहतियारको निर्माण गरिन्छ । अनि त्यसमा मानिसहरूका उद्योगहरू र पेशाहरूसँग सम्बन्धित फाइदाहरू छन् । अनि अल्लाहका भक्तहरूमध्ये उहाँलाई अदृश्यमा सहयोग गर्ने को हुन् भन्ने कुरा अल्लाहले थाहा पाउनुहुनेछ र भक्तहरूसमक्ष जाहेर हुनेछ भन्ने उद्देश्यले हो । वास्तवमा, अल्लाह बलशाली र शक्तिशाली हुनुहुन्छ जसलाई कसैले पराजित गर्न सक्दैन । अनि उहाँलाई कसैले विवश पार्न सक्दैन ।
२६. हामीले नूह र इब्राहीम (अलैहिमस्सलाम) लाई पठायौं र उनी दुईको सन्तानहरूमा ईशदूतत्व र अवतरण गरिएका किताबहरूलाई राख्यौं । दुबैका सन्तानहरूमध्ये केहीले सत्मार्ग पाए भने अधिकांशले अल्लाहको अनुसरण त्यागे ।
२७. अनि हामीले एक पछि अर्को गरी हाम्रा रसूलहरूलाई उनीहरूको समुदायतिर पठायौं । उनीहरूपछाडि हामीले ईसा बिन मर्यमलाई इन्जील दिएर पठायौं । उनीमाथि आस्था राख्नेहरू र उनको अनुसरण गर्नेहरूको हृदयमा हामीले करूणा र दया उत्पन्न गर्यौं । उनीहरू एक आपसमा प्रेम र दया गर्ने गर्दथे । अनि उनीहरूले धर्मको नाममा अति नै गर्न थाले । उनीहरूले  विवाह र आनन्द जस्ता अल्लाहले वैध राख्नुभएका केही कुराहरूलाई छोडे । हामीले उनीहरूबाट यो चाहेका थिएनौं । बरू उनीहरूले आफै धर्ममा नयाँ कुरा बनाउँदै त्यसलाई आफूमाथि अनिवार्य गरे । बरू हामीले उनीहरूलाई अल्लाहको प्रसन्नताको अनुसरण गर्यौं तर उनीहरूले मानेनन् । अनि हामीले उनीहरूमध्ये मोमिनहरूलाई उनीहरूको प्रतिदान दियौं । अधिकांश मानिसहरूले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उनीहरूसमक्ष लिएर आउनुभएको कुरालाई नकारेर अल्लाहको अनुसरण गर्न त्यागे ।
२८. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको अनुसरण गर्नेहरू हो ! अल्लाहका आदेशहरूको अनुसरण गरी, उहाँले मनाही गर्नुभएको कुराहरूबाट बची उहाँको भय राख र उहाँका रसूलमाथि आस्था राख । परिणाम स्वरूप उहाँले तिमीहरूलाई दोहोरो प्रतिदान प्रदान गर्नुहुनेछ । अनि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राख्नुको कारणले र अघिल्ला रसूलहरूमाथि आस्था राख्नुको कारणले बदला दिनुहुनेछ । अनि उहाँले तिमीहरूको लागि प्रकाश बनाउनुहुनेछ जसबाट तिमीहरूले आफ्नो सांसारीक जीवनमा मार्गदर्शन प्राप्त गर्नेछौ र कयामतको दिन त्यसबाट नर्कको माथिको पुललाई उज्यालो बनाउनेछौ । उहाँले तिमीहरूका पापहरूलाई क्षमा गर्नुहुनेछ अर्थात त्यसलाई लुकाउनुहुनेछ र त्यसको कारणले यातना दिनुहुनेछैन किनकि अल्लाह आफ्ना भक्तहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
२९. हे मोमिनहरू हो ! हामीले तिमीहरूको लागि धेरै प्रतिदानलाई धेरै गुणा गर्ने कुराको उल्लेख गरी आफ्नो महान कृपाको वर्णन गरिसक्यौं । यसपछि पहिलेका किताब मान्नेहरू अर्थात यहूदीहरू र ईसाईहरूलाई अल्लाहको कृपामा कुनै अधिकार प्राप्त छैन भन्ने कुरा थाहा होस् । उनीहरू जसलाई चाहन्छन् त्यसलाई त्यो दिन सक्दैनन् र जसलाई चाहन्छन् उसलाई त्यसबाट वञ्चित गर्न सक्दैनन् । कृपा त केवल अल्लाहको हातमा छ र उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ त्यो दिनुहुन्छ भन्ने कुरा उनीहरूले थाहा पाऊन् । अल्लाह अपार कृपाको मालिक हुनुहुन्छ र उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ उसलाई त्यसको लागि विशेष गर्नुहुन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...