शुरू अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट
१. हे ईमानवालाहरू हो ! तिमीहरूले जे जति वाचा परस्पर, आफ्ना सृष्टिकर्ता अल्लाहसित र अन्य मानिसहरूसँग गरेकाछौ ती सबैको पालना गर । अल्लाहले तिमीहरूमाथि कृपा गर्दै तिमीहरूका लागि चौपाया जनावरहरू (ऊँट, गाइ, भेड) वैध गर्नुभएको छ । सिवाय ती जनावरहरू जसको हराम हुने बारे आदेश तिमीहरूसमक्ष पढेर सुनाइनेछ । साथै हज तथा उम्राको समयमा इह्राम को अवस्थामा थलमा रहेका जनावरहरूको शिकार पनि अल्लाहले हराम गर्नुभयो । निस्सन्देह अल्लाह आफ्नो विवेक अनुसार हलाल तथा हरामको जुन आदेश चाहनुहुन्छ दिनुहुन्छ । न कोही उहाँलाई मजबूर गर्न सक्छ न कोही विरोध गर्न सक्छ ।
२. हे ईमानवालाहरू हो ! अल्लाहका प्रतीकहरूको अनादर न गर जसको आदर गर्ने आदेश अल्लाहले दिनुभएको छ । एहरामको अवस्थामा वर्जित गरिएको कार्यहरू जस्तै सिलाइएको लुगा लाउनबाट बच । हरममा वर्जित गरिएको कार्य जस्तै शिकार गर्नुबाट बच । प्रतिष्ठित महिनाहरूमा युद्धलाई हलाल नगर । प्रतिष्ठत महिनाहरू हुन् (जुकअदह, जुल हिज्जा, मुहर्रम, रजब) । हरममा अल्लाहको लागि बध गर्न ल्याइएका कुर्बानीका जनावरहरूलाई पनि जफत इत्यादि गरेर अनादर न गर, न हरमसम्म पुग्नमा बाधा उत्पन्न गर । यो कुर्बानीको जनावर हो भन्ने चिन्हस्वरूप पट्टी इत्यादि बाँधिएका जनावरहरूलाई पनि अनादर न गर । प्रतिष्ठित घर काबातर्फ व्योपारको नाफा तथा अल्लाहको प्रसन्नताको खोजीमा निस्कनेहरूलाई पनि अनादर न गर । हज वा उम्राको इहराम फुकालेपछि र हरमबाट निस्केपछि तिमीहरूले चाहेमा शिकार गर । तिमीहरूलाई प्रतिष्ठित घर काबाबाट रोक्ने समुदायको शत्रुताले अत्याचार तथा निसाफलाई छोड्न कदापि उत्तेजित न गरोस् । हे मोमिनहरू हो ! तिमीहरूलाई जुन कार्य गर्ने आदेश दिइएको छ त्यसलाई गर्न र जुन कार्यबाट मनाहि गरिएको छ त्यसलाई छोड्न आपसमा एकअर्काको सहयोग गर । पाप कर्म गर्न तथा मानिसहरूको रगत, धन माल तथा इज्जतमाथि अत्याचारको कार्यमा परस्पर सहयोग न गर । अल्लाहको आदेशको पालना गरेर तथा उहाँको अवज्ञाबाट बचेर उहाँसँग डराऊ । निस्सन्देह अल्लाह यस्ता मानिसहरूलाई कठोर दण्ड दिनेवाला हुनुहुन्छ जो उहाँको अवज्ञा गर्छ । अतः उहाँको आपदाबाट सावधान !
३. अल्लाहले तिमीहरूका लागि हराम गर्नुभएको छ जबह न गरिकन मरेका जनावरहरू, बगाइएका रगत, सुंगुरको मासु, जबह गर्दा अल्लाहबाहेक अरू कसैको नाम लिएका जनावर, घाँटी थिचेर मारिएका, चोटपटकले मरेका, माथिबाट लडेर मरेका, सिङ इत्यादि लागेर मरेका र सिंह, चीतुवा, ब्वाँसो इत्यादि जस्ता कुनै जंगली जनावरले खाएका जनावरहरू । जुन जनावरहरूलाई तिमीहरूले जीवित पाएर जबह् (वध) गर्यौ ती हलाल हुन् । देवी देवताहरूका नाममा जबह गरिएका जनावरहरू पनि अल्लाहले हराम गर्नुभएको छ । अल्लाहले यस कार्यलाई पनि हराम गर्नुभएको छ कि तिमीहरूले भाग्यमा लेखिएको अंश यस्तो ढुंगा वा तीर हानेर प्राप्त गर जसमा (गर) वा (न गर) लेखेको हुन्छ । अनि (गर) वा (न गर) मध्ये जो निस्कन्छ त्यसै अनुसार निर्णय गरिन्छ । हराम गरिएका उक्त कार्यहरू गर्नु अल्लाहको आदेशको अवज्ञा हो । आज जब काफिरहरूले इस्लामको शक्तिलाई देखे तब यस कुरादेखि निराश भए कि तिमीहरू यस धर्मबाट फर्कनेछौ । अतः तिमीहरू तिनीहरूसित न डराऊ, मात्र मसित डराऊ । आज मैले तिमीहरूको ‘दीन’ (जीवन पद्धति) इस्लामलाई तिमीहरूका निम्ति पूर्ण गरेको छु र तिमीहरूप्रति आफ्नो वाहय तथा आन्तरिक दुवै कृपा पूरा गरेको छु र तिमीहरूकालागि ‘दीन’ स्वरूप इस्लामलाई रोजेको छु । इस्लामबाहेक अन्य कुनै पनि धर्म मैले स्वीकार गर्ने छुइन । जसले भोकले गर्दा विवश भएर पाप गर्ने मनसाय न राखी मृत जनावरबाट खान्छ भने उसलाई कुनै पाप हुँदैन । निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु हुनुहुन्छ ।
हराम गरिएका वस्तुहरूको वर्णनपछि हलाल वस्तुहरूको वर्णन गरिएको छ । अल्लाहले भन्नुभयो:
४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका सहाबा (साथीहरू) सोध्छन्- उनीहरूका निम्ति अल्लाहले कुन वस्तु खान वैध गर्नुभएको छ ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– अल्लाहले तिमीहरूकालागि स्वच्छ वस्तुहरू हलाल गर्नुभयो । ती जनावरहरू पनि अल्लाहले हलाल गर्नुभयो जसलाई कुकुर, चीतुवा जस्ता चुच्चो दाँत भएका शिकारी जनावरहरू शिकार गर्छन् र जसलाई आफ्ना पञ्जाबाट समात्ने शिकारी चरा जस्तै चीलले शिकार गर्छ । यी शिकारी जनावर तथा चरालाई तिमीहरू त्यस ज्ञान तथा तरिकाबाट सिकाउँछौ जो अल्लाहले तिमीहरूलाई सिकाएर तिमीहरूमाथि कृपा गर्नुभयो । यहाँसम्म कि जब तिमीहरू ती जनावर तथा चरालाई कुनै आदेश दिन्छौ तब तिनीहरू पालना गर्छन् र जब तिनीहरूलाई हप्काउँछौ तब तिनीहरू डराउँछन् । तिनीहरूले शिकार गरेका जनावर तथा चराहरू खाऊ यद्यपि ती शिकार गरिएका जनावरहरूको हत्या गरियोस् । शिकारी जनावर तथा चरालाई पठाउँदा त्यसमाथि अल्लाहको नाम लेऊ । अल्लाहले दिनुभएका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसँग डराऊ । निस्सन्देह अल्लाह चाँडै नै तिमीहरूका कर्महरूको हिसाब लिनेवाला हुनुहुन्छ ।
५. आज अल्लाहले तिमीहरूका लागि पवित्र चिजहरू हलाल गर्नुभएको छ । अल्लाहले यहूदी तथा ईसाईहरूले जबह गरेका जनावरको मासु खान हलाल गर्नुभएको छ र तिमीहरूले जबह गरेका जनावरको मासु तिनीहरूका लागि हलाल गरिएको छ । निष्कलङ्क स्वतन्त्र आस्थावान स्त्रीहरू तथा यहूदी तथा ईसाई स्त्रीहरूसँग पनि विवाह अल्लाहले हलाल गर्नुभएको छ । यस शर्तमा कि तिमीहरूले उनीहरूलाई महर देऊ । अश्लील कार्यबाट बच, तिनीहरूलाई मित्र बनाएर व्यभिचार न गर । भक्तहरूका लागि अल्लाहले बनाउनुभएको कानुन तथा आदेशको जसले पनि इन्कार गर्छ उसले गरेको सत्कर्महरू अकारथ जानेछन् । किनभने सत्कर्म स्वीकार्य हुने शर्त ईमान तिनीहरूमा छैन । तिनीहरू आखिरतको दिन नोक्सान बेहोर्नेहरूमध्ये हुनेछन् र सधैँको लागि नर्कमा जानेछन् ।
६. हे अस्थावानहरू हो ! यदि तिमीहरू सलाह कायम गर्ने संकल्प गर्छौ र तिमीहरू वुजुमा छैनौ भने तिमीहरू वुजु बनाऊ । वजु बनाउने तरीका के छ भने अनुहार तथा हात– कुहिनासम्म धोऊ र टाउकोमाथि मसह गर (हात फेर) र आफ्ना खुट्टा गोलीगाँठोसमेत धोऊ । यदि तिमीहरू ‘जिनाबत’ (अपवित्रता) को अवस्थामा छौ भने नुहाएर पवित्र होऊ । यदि तिमीहरू बिरामी छौ र रोग बढने खतरा छ वा स्वस्थ्य हुँदा यात्रामा छौ वा तिमीहरूमध्ये कोही बिना वुजु छ जस्तै शोच गरी आएको छ वा अपवित्र छ जस्तै स्त्रीसँग सहवास गरेको छ अनि पानी पाइ रहेको छैन भने उसले पवित्र माटोले तयम्मुम् गरोस् (अर्थात्) त्यसमाथि हत्केला राखी आफ्ना अनुहार तथा हातमा दलोस् । अल्लाह आफ्ना आदेशहरूमा तिमीहरूलाई कुनै किसिमको अप्ठ्यारोमा पार्न चाहनुहुन्न कि पानीले तिमीहरूलाई हानि पुर्याए पनि त्यसलाई प्रयोग गर्न अनिवार्य गरुन् । बरु तिमीहरू बिरामी भएको अवस्थामा वा पानी उपलब्ध न भएको अवस्थामा उहाँले त्यसको सट्टामा अर्को विकल्प दिएर तिमीहरूमाथि आफ्नो वरदान पूरा गर्नुभयो ताकि तिमीहरू कृतज्ञ बन कृतघ्न न बन ।
७. अल्लाहले तिमीहरूमाथि गरेको कृपालाई याद गर कि उहाँले तिमीहरूलाई इस्लामको मार्गदर्शन गर्नुभयो । यस कुरालाई पनि याद गर कि उहाँले तिमीहरूसित पक्का वचन लिनुभयो जब तिमीहरूले नबी सल्लल्लाहु अलैहि व सल्लमको आज्ञापालन हरेक अवस्थामा गर्ने शपथ लिएका थियौ र भनेका थियौ– हामीले तपाईंको कुरा सुन्यौं र तपाईंको आदेशको आज्ञापालन गर्यौं । अल्लाहको आदेशको तथा वाचाको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्य त्यागेर उहाँसँग डराऊ । निस्सन्देह अल्लाह हृदयका रहस्यहरू पनि जान्नुहुन्छ, कुनै पनि कुरा उहाँबाट लुकेको छैन ।
८. हे आस्थावानहरू हो ! अल्लाहका हकहरूलाई पूरा गर्नेवाला र त्यसबाट उहाँको प्रसन्नता प्राप्त गर्नेवाला बन, न्यायको साक्षी दिनेवाला बन न कि अत्याचारको । कुनै जातिको शत्रुताले तिमीहरूलाई यति उत्तेजित न गरोस् कि तिमीहरू न्यायलाई छोडि देऊ । मित्र होस् वा शत्रु सबैसित निसाफ गर । निसाफ अल्लाहको डरसित नजिकको कार्य हो जब कि अत्याचार उहाँ विरुद्ध आँट गर्नु हो । अल्लाहको आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्हरूलाई त्यागेर उहाँसँग डराऊ । तिमीहरू जे गर्दछौ अल्लाह त्यसको खबर राख्नेवाला हुनुहुन्छ । तिमीहरूको कुनै पनि कार्य उहाँबाट गोप्य छैन । उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।
९. अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान राख्ने तथा सत्कर्म गर्नेरूसँग अल्लाहले वाचा गर्नुभएको छ - र अल्लाह आफ्नो वाचामा सत्य हुनुहुछ - कि उहाँले उनीहरूका पापहरूलाई माफ गर्नुहुनेछ र ठूलो पुण्य अर्थात स्वर्ग प्रदान गर्नुहुनेछ ।
१०. जुन मानिसहरूले अल्लाहको इन्कार गरे र उहाँका आयतहरूलाई झुटो ठहर गरे तिनीहरू नर्कबासी हुन् । तिनीहरू आफ्नो कुफ्र गरेको तथा झुटो ठहर गरेको अपराधको सजाय भोग्नको लागि नर्कमा जानेछन्, जसरी साथीहरू एकसाथ रहन्छन् त्यसरी तिनीहरू नर्कसित टाँसिएर रहनेछन् ।
११. हे मोमिनहरू हो ! तिमीहरू आफ्नो हृदय तथा जिब्रोबाट अल्लाहको त्यस कृपालाई याद गर जो उहाँले तिमीहरूलाई शान्ति प्रदान गरेर गर्नुभयो र तिमीहरूका शत्रुहरूको हृदयमा रुवाफ हाल्नुभयो । जब तिनीहरूले तिमीहरूलाई हिर्काउन तिमीहरूमाथि हात हाल्न खोजेका थिए तब अल्लाहले तिमीहरूमाथि तिनका हातहरूलाई रोक्नुभयो र तिमीहरूलाई जोगाउनुभयो । अल्लाहको आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूलाई त्यागेर उहाँसँग डराऊ । मोमिहरूले आफ्नो धार्मिक तथा सांसारिक हीतको लागि मात्र अल्लाहमाथि भरोसा गर्नुपर्छ ।
१२. अल्लाहले बनी इस्राईलका सन्तानसित दृढ वचन लिनुभयो, जसको वर्णन चाँडै आउनेछ । उहाँले तिनीहरूमाझ बाह्रवटा नायक तैनाथ गर्नुभयो जसले मातहतको हेरचाह गर्नेछन् । अल्लाहले बनी इस्राईललाई भननुभयो- म आफ्नो मद्दत तथा समर्थनका साथ तिमीहरूसँग छु यदि तिमीहरूले पूर्णरूपमा सलाह कायम गर्छौ, धन मालको जकात दिन्छौ, बिना भेद भाव मेरा सबै रसूलहरूमाथि ईमान राख्छौ, उनीहरूको सम्मान गर्छौ, सहयोग गर्छौ भलाईको काममा खर्च गर्छौ । यदि तिमीहरूले यी कार्यहरू गर्छौ भने मैले तिमीहरूले गरेका सबै पापहरू माफ गर्नेछु र महाप्रलयको दिन यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछु जसका भवनका तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन् । यी वचन लिएपछि यदि कसैले इन्कार गर्यो भने उसले जानी जानी सीधा मार्ग गुमायो ।
१३. अहले किताबसित लिएको वचनलाई तिनीहरूले तोडेकाले हामीले तिनीहरूलाई आफ्नो कृपाबाट टाढा पार्यौं । हामीले तिनीहरूका हृदयलाई कठोर तथा कडा पारिदियौं जससम्म न भलाइ पुग्छ न उपदेशको असर पर्छ । तिनीहरूले शब्दहरूलाई तिनको स्थानबाट हटाएर तथा त्यसका अर्थलाई मनचाही अनर्थ लगाएर फेर बदल गर्छन् । जुन कुराको तिनीहरूलाई शिक्षा दिइएको थियो तिनका केही भागअनुसार कर्म गर्न छोडि दिए । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले तिनीहरूले अल्लाह तथा मोमिनहरूसित गरेको विश्वासघातको कुनै न कुनै खबर सुनिरहनुहुनेछ । तिनीहरूमध्ये थोरैले लिइएको वचनलाई पूरा गरे । अतः तिनीहरूलाई माफ गर्नुहोस्, पकड न गर्नुहोस् र तिनीहरूलाई नजर अन्दाज गर्नुहोस् । यो तपाईंको तर्फबाट तिनीहरूमाथि उपकार हुनेछ । निश्चय नै अल्लाह सुकर्मीहरूलाई मन पराउनुहुन्छ ।
१४. यहूदीहरू जस्तै हामीले ती मानिसहरूसँग पनि वचन लियौं जसले चोखो बन्दै आफू ईसा (अ.) को अनुसरणकर्ता बताए, तर तिनीहरूलाई जुन कुराको उपदेश दिइएको थियो त्यसको केही अंशलाई बिर्सिदिए । यस्तै तिनीहरूका पूर्वज यहूदीहरूले पनि गरेका थिए । हामीले तिनीहरूबीच महाप्रलयसम्मका लागि शत्रुता तथा धेरै घृणा उत्पन्न गरिदियौं । अनि तिनीहरूले परस्पर काटमार, हत्या हिंसा गर्न थाले र एक अर्कालाई काफिर भन्न थाले । अल्लाहले तिनीहरूले गर्ने गरेका कार्यहरूसित चाँडै नै सूचित गर्नुहुनेछ र त्यसको बदला दिनुहुनेछ ।
अहले किताबसँग लिएको वचन र तिनीहरूको वचन भंग गर्ने कार्यको वर्णन गरेपछि तिनीहरूलाई मुहम्मद सल्लल्लाहु अलैहि व सल्लममाथि ईमान ल्याउने अहवान गर्दै अल्लाहले भन्नुभयोः
१५. हे तौरात वाहक यहूदीहरू तथा इन्जील वाहक ईसाईहरू हो ! तिमीहरूसमक्ष हाम्रा रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन भइसकेकोछ जसले तिमीहरूलाई ती धेरै कुराहरू स्पष्ट पार्नुहुनेछ जो तिमीहरू त्यस किताबबाट लुकाउँदै आएका छौ जो तिमीहरूतर्फ अवतरित गरिएको छ । अल्लाहले ती धेरै कुराहरू माफ गर्नुहुनेछ जसमा कुनै हित छैन मात्र तिमीहरूको बेइज्जती छ । निश्चय नै तिमीहरूकालागि अल्लाहको तर्फबाट कुर्आन नामी किताब आइसकेको छ जो सबैलाई प्रकाशमय बनाउने ज्योति हो । यो यस्तो स्पष्ट किताब हो जसको आवश्यक्ता मनिसहरूलाई छ ताकि तिनीहरूले यसबाट आफ्ना सांसारिक तथा पारलोकिक समस्याको समाधान गरुन् ।
१६. अल्लाहले यस किताबद्वारा आफूलाई मन पराउने ईमान तथा सत्कर्मको अनुसरण गर्ने मानिसहरूलाई यस्तो शान्ति मार्ग देखाउनुहुनेछ जसले उनीहरूलाई आपदाबाट जोगाएर स्वर्गसम्म पुर्याउनेछ । अल्लाहले उनीहरूलाई आफ्नो आज्ञाबाट कुफ्र तथा अवज्ञाको अँध्याराहरूबाट निकालेर ईमान तथा आज्ञापालनको प्रकाशसम्म पुर्याउनुहुनेछ र इस्लामको सीधा तथा सच्चा मार्गको अनुसरण गर्ने तौफीक (अवसर) दिनुहुनेछ ।
१७. निस्सन्देह ईसाईहरूमध्ये ती मानसहरूले कुफ्र गरे जसले भने- मर्यम पुत्र ईसा मसीह नै अल्लाह हुन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यदि अल्लाहले मर्यम पुत्र ईसा मसीह, उनकी आमा मर्यम तथा धर्तीका सम्पूर्ण चिजलाई बिनष्ट गर्न चाहेमा कसले अल्लाहलाई यसबाट रोक्ने सामर्थ्य राख्छ त ?! यदि कोही अल्लाहलाई यसो गर्नबाट रोक्न सक्दैन भने यो यस कुराको प्रमाण हो कि अल्लाहबाहेक कोही पूज्य छैन । मर्यम पुत्र ईसा मसीह, उनकी आमा मर्यम लगायत सबै सृष्टिहरू अल्लाह कै प्राणी हुन् । आकाशहरू, पृथ्वी तथा यी दुवैबीच रहेका सबै वस्तुहरूका मालिक अल्लाह नै हुनुहुन्छ । जे चाहनुहुन्छ सृष्टि गर्नुहुन्छ र जसबाट चाहनुहुन्छ सृष्टि गर्नुहुन्छः ईसा (अ.) अल्लाहका भक्त तथा रसूल हुन् । अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्नुहुन्छ ।
१८. यहूदी तथा ईसाई दुवैले दावी गरे– हामी अल्लाहका पुत्र तथा प्रिय पात्र हौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको दावीको खण्डन गर्दै भन्नुहोस्– त्यसो भए अल्लाहले तिमीहरूलाई तिमीहरूले गरेको पापहरूको सजाय किन दिनुहुन्छ ? ! तिमीहरू ठाने अनुसार यदि तिमीहरू अल्लाहको प्रिय छौ भने अल्लाहले किन तिमीहरूमध्ये केहीलाई हत्या गरेर तथा केहीलाई रूप परिवर्तन गरेर संसारमा सजाय दिनुभयो र आखिरतमा नर्कको सजाय किन दिनुहेछ ? अल्लाह जोसँग माया गर्नुहुन्छ उसलाई त सजाय दिनुहुन्न । बरु निश्चय नै तिमीहरू पनि अन्य मनुष्य जस्तै मनुष्य हौ । तिमीहरूमध्ये जसले राम्रो कर्म गर्नेछ उसलाई राम्रो बदला दिनुहुनेछ र जसले पाप गर्नेछ उसलाई नर्कमा हालेर सजाय दिनुहुनेछ । अल्लाह जसलाई चाहनुहुनेछ आफ्नो कृपाले माफ गर्नुहुनेछ र जसलाई चाहनुहुनेछ निसाफका साथ यातना दिनुहुनेछ । आकाशहरू, पृथ्वी तथा दुवैबीच जेजति छन् ती सबैका मालिक मात्र अल्लाह हुनुहुन्छ । सबैले फर्केर उहाँतर्फ नै जानुपर्छ ।
१९. हे यहूदी तथा ईसाईहरू हो ! तिमीहरूसमक्ष एक अन्तरालपछि र अति आवश्यक भएको समयमा हाम्रा रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) आइसक्नु भएको छ । अब तिमीहरूले यो भन्न पाउने छैनौ कि तिमीहरूकहाँ प्रतिदानको शुभ सूचना दिन तथा यातनाबाट सचेत गराउन कुनै रसूल आएनन् । निस्सन्देह तिमीहरूसमक्ष राम्रो बदलाको शुभ सूचना दिन तथा सजायबाट सचेत गराउन मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) आइसक्नु भएको छ । अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्नुहुन्छ । कोही पनि उहाँलाई विवश पार्न सक्दैन । अल्लाहको सामर्थ्यको नतिजा हो रसूलहरूलाई पठाउनु र अन्तमा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई पठाउनु ।
२०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! याद गर्नुहोस् जब सन्देष्टा मूसा (अ.) ले आफ्ना जाति बनी इस्राईललाई भने– हे मेरा समुदायका व्यक्तिहरू हो ! अल्लाहको कृपालाई हृदय तथा जिब्रोबाट याद गर जब उहाँले तिमीहरूमाझ सन्देष्टाहरू बनाएर पठाउनुभयो जो तिमीहरूलाई मार्गदर्शनतर्फ बोलाका थिए । तिमीहरूलाई शासक बनाउनुभयो अनि तिमीहरू आफ्नो निर्णय आफैँ गर्छौ जब कि यसअघि तिमीहरू मातहत तथा दास बनाइएका थियौ । अल्लाहले तिमीहरूलाई ती वरदानहरू दिनुभयो जो संसारमा तथा तिमीहरूको युगमा अरू कसैलाई दिनुभएन ।
२१. सन्देष्टा मूसा (अ.) ले भने- हे मेरा समुदायका मानिसहरू हो ! त्यस पवित्र धर्ती (बैतुल मक्दिस तथा त्यसको वरिपरि) मा प्रवेश गर जसमा प्रवेश गरेर तिमीहरूले युद्ध गर्छौ भन्ने वाचा अल्लाहले गर्नुभएको छ । त्यसमा रहेका शक्तिशाली मानिसहरूबाट पराजित न होऊ, नत्र लोक तथा परलोक दुवैमा घाटा खानेछौ ।
२२. उनका जातिका मानिसहरूले भने– हे मूसा ! त्यस पवित्र स्थलमा धेरै शक्तिशाली मानिसहरू बस्दछन् । यसले गर्दा हामी त्यहाँ जान सक्दैनौं । जबसम्म तिनीहरू त्यहाँ छन् तबसम्म हामी त्यहाँ जादैनौं । किनभने हामीमा तिनीहरूविरुद्ध युद्ध गर्ने शक्ति छैन । त्यसैले जतिखेर तिनीहरू त्यहाँबाट निस्कनेछन् त्यतिखेर हामी त्यसमा प्रवेश गर्नेछौं । हो, तिनीहरू त्यहाँबाट निस्के भने हामी अवश्य प्रवेश गर्नेछौं ।
२३. सन्देष्टा मूसा (अ.) का दुई जना साथीहरू अल्लाहसित भय राख्थे, आफ्नो परिणामबाट डराउँथे, अल्लाहले ती दुवै जनालाई आफ्नो आज्ञापालनको तौफीक (अवसर) दिएर कृपा गर्नुभएको थियो । उनीहरू आफ्नो जातिलाई सन्देष्टा मूसा (अ.) को आज्ञापालनको लाग प्रेरित गर्दथे । ती दुवै जनाले भने– यस नगरको ढोकाबाट यी शक्तिशाली मानिसहरूको मुकाबिलामा प्रवेश गर । जब तिमीहरू ढोकासम्म पुग्नेछौ र त्यसमा प्रवेश गर्नेछौ तब अल्लाहको आदेशले तिमीहरू नै विजयी हुनेछौ । भित्र पस्न बित्तिकै तिमीहरू नै विजयी हुनेछौ । अल्लाहको सुन्नत (तरिका) मा भरोसा गर । अल्लाहको सुन्नत यही हो कि मद्दत त्यतिखेर आउँछ जतिखेर भक्तहरू अल्लाहमाथि ईमान राख्छन्, भौतिक सर-सामान तथा हात हतियार तयार गर्छन् । यदि तिमीहरू पक्का मोमिन हौ भने मात्र अल्लाहमाथि भरोसा राख । तिमीहरूको ईमान जति बलियो हुन्छ तिमीहरू त्यति नै अल्लाहमाथि भरोसा गर्नेछौ ।
२४. मूसा (अ.) को जाति बनी इस्राईलले आफ्नो नबीको विरोधमा जिद्दी गर्दै भने– हे मूसा ! जबसम्म यी शक्तिशाली मानिसहरू त्यस नगरमा छन् तबसम्म हामी त्यसमा पस्दैनौं । हे मूसा ! तपाईं र तपाईंका पालनकर्ता दुवै जानुहोस् र शक्तिशाली मानिसहरूविरुद्ध युद्ध गर्नुहोस् । जहाँ सम्म हाम्रो कुरा छ, हामी यहीँ बसिरहनेछौं, युद्ध गर्न जाँदैनौं ।
२५. सन्देष्टा मूसा (अ.) ले आफ्ना पालनकर्तालाई भने– हे मेरा पालनकर्ता ! मेरो अधिकार मात्र ममाथि र आफ्नो भाइ हारूनमाथि चल्छ । तसर्थ हामीबीच र अवज्ञाकारीहरूबीच फैसला गरिदिनुहोस् ।
२६. अल्लाहले भन्नुभयो– निस्सन्देह अल्लाहले बनी इस्राईलको लागि यस पवित्र स्थानमा प्रवेश गर्न चालीस वर्षको लागि हराम गर्नुभयो । यस अवधिमा तिनीहरू मरुभूमिमा हैरान भएर भौंतारी हिंड्नेछन्, तिनीहरूले सीधा मार्ग पाउने छैनन् । हे मूसा (अ.) ! तिमी यी अवज्ञाकारीहरूप्रति अपशोच नगर, किनभने तिनीहरू जे जति सजाय पाउँदैछन् ती आफ्नै काला करतूत तथा पापहरूले गर्दा पाउँदैछन् ।
२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी डाहा गर्ने अत्याचारी यहूदीहरूलाई आदमका दुई जना छोराहरूको कथा स्पष्टरूपमा सुनाउनुहोस् । ती दुवै हुन् काबील तथा हाबील । जब दुवै जनाले अल्लाहको निकटता प्राप्त गर्न कुर्बानी (बलिदान) पेश गरे तब अल्लाहले हाबीलले पेश गरेको कुर्बानी स्वीकृत गर्नुभयो, किनभने उनी तक्वा (ईशभय) वाला थिए । अल्लाहले काबीलको कुर्बानी स्वीकार गर्नुभएन, किनभने उनी तक्वा वाला थिएन । काबीललाई यो कुरा डाहाको कारणले नराम्रो लाग्यो र हाबीललाई भन्यो– हे हाबील ! म अवश्य नै तिम्रो हत्या गर्नेछु । हाबीलले भने– अल्लाह यस्तो व्यक्तिको कुर्बानी मात्र स्वीकार गर्नुहुन्छ जो उहाँका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई ल्यागेर तक्वा अवलम्बन गर्छ ।
२८. यदि तिमीले मेरो हत्याको मन्शायले हात उठाउनेछौ भने म तिमीले गरेको जस्तो कार्य गर्दिन । यसो मैले तिम्रो डरले होइन बरु यस कारणले गर्दिन कि म सम्पूर्ण जगतका पालनकर्ता– अल्लाहसित डराउँछु ।
२९. उनले काबीललाई डराउँदै भने- म के चाहन्छु भने तिमी आफ्ना पूराना पापहरूका साथ साथ अत्याचारपूर्ण तरिकाले मलाई हत्या गरेर त्यो पाप पनि लिएर जाऊ । यसरी तिमी ती मानिसहरूमध्ये भइहाल जो महाप्रलयको दिन नर्कमा जानेछन् । अत्याचारीहरूको यही सजाय हो । म तिमीलाई हत्या गरेर नर्कबासीहरूमध्ये हुन चाहन्न ।
३०. काबीलको नफ्से अम्मारा (नराम्रो भावना) ले उसलाई आफ्नो भाइको हत्या गर्न सुन्दर तुल्यायो अनि उसले उनको हत्या गरिदियो । अतः ऊ लोक तथा परलोक दुवैमा घाटा बेहोर्नेवाला बन्यो ।
३१. अनि अल्लाहले त्यहाँ एउटा काग पठाउनुभयो जसले उसको अगाडि जमिन खन्न थाल्यो ताकि अर्को मृत कागलाई दफन गरोस् । उसको उद्देश्य काबीललाई यो सिकाउनु थियो- उसले आफ्नो भाइको जिउ कसरी लुकाओस् । त्यतिखेर भाइको हत्याराले भन्यो– धिक्कार छ आफैंलाई ! म मृत कागलाई दफन गर्ने काग जस्तो पनि बन्न सकिन ताकि आफ्नो भाइको शवलाई छोप्न सकुँ । त्यतिखेर उसले आफ्नो भाइलाई दफ्नायो अनि ऊ पश्चाताप गर्नेहरूमध्ये भयो ।
३२. काबीलले आफ्नो भाइलाई हत्या गरेकोले हामीले बनी इसराईललाई बतायौं कि जसले पनि कसैको हत्या गर्छ जबकी हताहत भएको व्यक्तिले कसैको हत्या गरेको हुँदैन अर्थात त्यो प्रति हत्या न होस्, वा देशमा कुफ्र तथा विध्वंस मच्चाएको न होस् भने सम्झ उसले सम्पूर्ण मानवजातिकै हत्या गर्यो । किनभने उसले निर्दोष तथा पापीमा फरक गरेन । अर्कोतर्फ जसले यस्तो व्यक्तिको हत्या गर्नबाट रोकिन्छ जसलाई हत्या गर्न अल्लाहले हराम गर्नु भएकोछ, साथै यस कुरामा विश्वास राख्छ कि त्यसलाई हत्या गर्नु हराम छ अनि त्यसको हत्या गरेन भने मानौं उसले सम्पूर्ण मानवजातिलाई नै जीवन दियो । किनभने उसको कार्यले सबैलाई शान्ति मिल्यो । हाम्रा रसूलहरू तिनीहरूसमक्ष स्पष्ट प्रमाण तथा आदेशहरू लिएर आए तर त्यसपछि पनि तिनीहरूमध्ये धेरैले दुष्कर्म गरेर तथा रसूलहरूको विरोध गरेर अल्लाहको कानुनको उल्लंघन गरे ।
३३. जुन मानिसहरू अल्लाह तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) विरुद्ध युद्ध गर्छन्, हत्या, हिंसा, लूट खसूट तथा डकेती गरेर धर्तीमा विध्वंस मच्चाउँछन्, तिनीहरूको सजाय के छ भने यस्तालाई कि त बिना शुली वध गरियोस् कि त काठ इत्यादिको शूली चढाएर बध गरियोस्, कि त तिनीहरूका दाहिने हात तथा देब्रे खुट्टा काटियोस्, फेरि त्यही कार्य गरेमा देब्रे हात तथा दाहिने खुट्टा काटियोस्, कि त तिनीहरूलाई देशनिकाला गरियोस् । तिनीहरूको यो सजाय संसारमा अपमानित गर्नको लागि हो । यो अपमान तिनीहरूकालागि यस संसारमा हो र परलोकमा तिनीहरूकालागि ठूलो यातना छ ।
३४. हे शासकहरू हो ! तिमीहरूले ती युद्ध गर्नेहरूमध्ये कसैमाथि प्रभुत्व जमाउनुअघि नै यदि उसले तौबा गर्छ भने याद राख अल्लाह तौबा गर्नेहरूप्रति अति क्षमाशील तथा परम दयालु हुनुहुन्छ । उनीहरूबाट सजाय हटाउनु अल्लाहको कृपा मध्ये हो ।
३५. हे मोमिनहरू हो ! अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूलाई त्यागेर उहाँसँग डराऊ । उहाँका आदेशको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यबाट टाढा रहेर उहाँसँग नजिक हुने प्रयास गर । अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि उहाँको मार्गमा काफिरहरूविरुद्ध युद्ध गर आशा छ तिमीहरूले चाहेको वस्तु पाउनेछौ र डराइएको सजायबाट बच्नेछौ ।
३६. अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को इन्कार गर्नेहरूसित यदि सम्पूर्ण धर्तीमा भए बराबरको धन होस्, र त्यति नै थप धन तिनीहरूसँग अझै होस्, अब यी सबै धन दिएर पनि तिनीहरूले महाप्रलयको दिनको यातनाबाट बच्न चाहेमा तिनीहरूको त्यो हर्जाना स्वीकार गरिने छैन ।तिनीहरूकालागि दुःखदायी यातना रहेको छ ।
३७. तिनीहरू नर्कको आगोबाट उम्कन खोज्नेछन् तर त्यसबाट उम्कन भने कहाँ सक्छन् र ? कहिल्यै निस्कन सक्दैनन् । तिनीहरूका लागि सदासर्वदाको यातना हुनेछ ।
वाहयरूपमा अरूको धन माल लिने सजाय बताएपछि अल्लाहले गोप्यरूपमा कसैको धन माल लिने अर्थात चोरको सजाय यसरी बयान गर्नुभयोः
३८. हे शासकहरू हो ! चोर, पुरुष होस् वा स्त्री दुवैका दाहिने हात काटिदेऊ । यो ती दुवैको चोरी गर्ने कार्यको बदला हो र अल्लाहको तर्फबाट पाठ सिकाउने दण्ड हो, साथै ती दुवैको लागि पनि र अन्य मानिसहरूका लागि पनि डरावा हो । अल्लाह सामर्थ्यवान हुनुहुन्छ, कोही उहाँमाथि विजयी हुन सक्दैन, भाग्य निर्धारण तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
३९. जसले चोरी गर्नबाट तौबा गर्यो र आफ्नो कार्यलाई सुधार गर्यो अल्लाह उसमाथि उपकार गर्दै दया गर्नुहुनेछ । किनभने भक्तहरूमध्ये जसले पनि तौबा गर्छ अल्लाह उसका पापहरूलाई क्षमा गर्नुहुन्छ र दया गर्नुहुन्छ । मुद्दा मामिला न्यायधीश कहाँ पुगेपछि तौबाले गर्दा सजाय टर्दैन ।
४०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई थाहै छ कि आकाशहरू एवं धर्तीका मालिक अल्लाह मात्र हुनुहुन्छ, उहाँ जसरी चाहनुहुन्छ राज्य शासन चलाउनुहुन्छ । जसलाई चाहनुहुनेछ निसाफको आधारमा यातना दिनुहुनेछ र जसलाई चाहनुहुनेछ दया गरेर माफ गर्नुहुनेछ । निस्सन्देह अल्लाह सबै कार्यको सामर्थ्य राख्नुहुन्छ । उहाँलाई कसैले पनि विवश पार्न सक्दैन ।
४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! ती मानिसहरूले तपाईंलाई दुखी न पारुन् जो कुफ्रका कार्यमा सक्रिय छन् । मुनाफिकहरू ईमान जाहेर गरेर तथा कुफ्रलाई लुकाएर तपाईंलाई रिस आओस् भन्न चाहन्छन् । यहूदीहरूले पनि तपाईंलाई चिन्तित न पारुन् । यिनीहरू आफ्ना ठूला बडाका झुटो कुरा सुन्छन् र त्यसलाई स्वीकार गर्छन् । यिनीहरू आफ्ना नेताहरूको अनुसरण गर्छन्, जुन नेताहरू तपाईंबाट पिठ्यूँ फर्काएको कारणले तपाईंसमक्ष आएनन् । तिनीहरू तौरातमा रहेका अल्लाहका वाणीहरूमा आफ्नो इच्छाअनुसार फेरबदल गर्छन् । तिनीहरू आफ्ना अनुयायीहरूलाई भन्छन्– यदि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आदेश तिमीहरूको इच्छा अनुसार हुन्छ भने त्यसको अनुसरण गर । यदि उनको आदेश तिमीहरूको इच्छाअनुसार हुँदैन भने त्यसलाई छोडि देऊ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसलाई अल्लाहले नै पथभ्रष्ट गर्न चाहनुहुन्छ उसलाई तपाईं पथभ्रष्टताबाट बचाउन सक्नुहुन्न र सत्य मार्ग देखाउन सक्नुहुन्न । यहूदी तथा मुनाफिकहरूमध्ये यी गुणहरू बोकेका मानिसहरूका हृदयलाई अल्लाहले कुफ्रबाट पवित्र पार्न चाहनुहुन्न । तिनीहरूका लागि यस संसारमा अपमान तथा बेइज्जति छ र परलोकमा ठूलो यातना अर्थात नर्क छ ।
४२. यी यहूदीहरू झुटो कुरा धेरै सुन्छन् र हराम धन धेरै खान्छन् जस्तै ब्याज । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि यिनीहरू तपाईंकहाँ फैसलाको लागि आउँछन् भने कि त यिनीहरूबीच फैसला गर्नुहोस कि त न गर्नुहोस् तपाईंलाई अख्तियार छ । यदि तपाईंले तिनीहरूको फैसला गर्नुहुन्न भने तिनीहरूले तपाईंको केही बिगार्न सक्दैनन् । यदि तिनीहरूबीच फैसला गर्नुहुन्छ भने न्यायका साथ फैसला गर्नुहोस्, यद्यपि तिनीहरू अत्याचारी होउन् वा शत्रु होउन् । निश्चय नै अल्लाह फैसला गर्दा निसाफ गर्नेहरूलाई मन पराउनुहुन्छ यद्यपि निर्णय गराउनेहरू न्यायधीशका शत्रु होउन् ।
४३. यिनीहरूका मामिला अचम्मको छ । यिनीहरू तपाईंको इन्कार गर्छन् तर यो ठानेर तपाईंलाई निर्णायक बनाउँदैछन् कि तपाईंले उनीहरूको चाहना अनुसार फैसला गर्नुहुनेछ । जबकि तिनीहरूसँग तौरात मौजूद छ, तिनीहरू त्यसमा ईमान राख्छन् भन्ने कुरा ठानेकाछन् । त्यसमा अल्लाहका आदेशहरू छन् । जब तपाईंले गरेको फैसला तिनीहरूको इच्छाअनुसार हुँदैन तब तिनीहरू तपाईंको निर्णयबाट विमुख हुन्छन् । तिनीहरू यसरी आफ्ना किताबमा रहेका कुराको इन्कार पनि गर्छन् र तपाईंको निर्णयबाट विमुख पनि हुन्छन् । तिनीहरूका कर्तूतहरू मोमिन जस्तो छैन, त्यसैले तिनीहरू न त तपाईंमाथि ईमान राख्छन् न तपाईंले ल्याउनु भएको किताबमाथि ।
४४. निस्सन्देह हामीले सन्देष्टा मूसा (अ.) माथि तौरात अवतरित गरेका थियौं जसमा निर्देशन तथा भलाइको कार्यतर्फ मार्गदर्शन एवं प्रकाशित पार्ने ज्योति थियो । बनी इस्राइलका सबै सन्देष्टाहरू जो आज्ञाकारी थिए, यसै अनुसार फैसला गर्ने गर्थे । धर्मगुरुहरू तथा फुकहा (शास्त्रवेत्ताहरू) पनि यसैअनुसार निर्णय गर्ने गर्थे । किनभने अल्लाहले तिनीहरूलाई आफ्नो किताबको संरक्षक तथा अमानतदार बनाउनुभएको थियो, जो यस किताबलाई फेर बदलबाट सुरक्षा गर्ने गर्थे । उनीहरू यो किताब सत्य हो भन्ने कुराको साक्षी थिए । मानिसहरू आफ्नो मामिला मुद्दामा यसै किताबतर्फ रुजु गर्थे । हे यहूदीहरू हो ! तिमीहरू मानिसहरूसित नडराऊ केवल मसित डराऊ । अल्लाहले अवतरित गर्नुभएको आदेश तथा आयतहरूलाई पद, कुर्सी, सम्मान तथा धन माल जस्ता तुच्छ मूल्यमा न बेच । जसले अल्लाहद्वारा अवतरित कानुनलाई ठीक ठानेर, यसमाथि अरू कसैलाई प्राथमिक्ता न दिएर, कसैलाई यसको बराबर न बनाएर यस अनुसार निर्णय गर्दैनन् तिनीहरू नै पक्का काफिर हुन् ।
४५. हामीले तौरातमा यहूदीहरूका लागि अनिवार्य गरेका थियौं कि जसले कसैलाई बिना हक जानी जानी हत्या गर्छ, उसको पनि हत्या गरिनेछ, जसले कसैको आँखा जानी जानी निकाल्छ, उसको आँखा पनि निकालिनेछ, जसले कसैको नाक जानीजानी काट्छ उसको नाक पनि काटिनेछ, जसले कसैको कान जानी जानी काट्छ उसको पनि कान काटिनेछ, जसले कसैको दाँत जानी जानी भाँच्छ उसको दाँत पनि भाँचिनेछ । हामीले उनीहरूमाथि यो पनि अनिवार्य गर्यौं कि आघातहरूको सजाय पनि दोषीलाई उसको दोष बराबर दिइनेछ । तर जुन पीडितले त्यसलाई माफ गरिदिन्छ त्यो त्यस पीडितको पापको प्रायश्चित हुनेछ । जसले अल्लाहद्वारा अवतरित किसास इत्यादिबारे कानून अनुसार निर्णय गर्दैनन् तिनीहरू नै अल्लाहका सीमाको उल्लंघन गर्नेवाला हुन् ।
४६. हामीले यी सन्देष्टाहरूपछि मर्यम पुत्र ईसा (अ.) लाई पठायौं, उनी तौरातमा ईमान राख्दथे र त्यसै अनुसार निर्णय गर्थे, हामीले उनलाई इन्जील प्रदान गर्यौं जसमा सत्यतर्फ मार्गदर्शन, शंकालाई निवारण गर्ने प्रमाण, समस्याहरूको समाधान गर्ने आदेशहरू थिए । त्यसमा जे जति आदेशहरू थिए ती सबै तौरातमा भएका आदेशहरू जस्तै थिए सिवाय ती थोरै आदेश जसमा तिनीहरूले फेरबदल गरेका थिए । हामीले इन्जीललाई मार्गदर्शन बनायौं जसबाट ईशभय राख्नेहरू सीधा मार्ग प्राप्त गर्थे । यसलाई हराम कार्यको लागि डरावा बनायौं ।
४७. हामीले इन्जीलमा अवतरित गरेका आदेशहरूमा ईसाईहरूले ईमान राख्नुपर्छ । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमनभन्दा पहिला त्यसमा जुन ठीक आदेशहरू थिए त्यसैअनुसार तिनीहरूले आफ्ना मामिलाको फैसला गराउनुपर्छ । जसले अल्लाहले अवतरण गरेको कानून अनुसार निर्णय गर्दैनन् तिनीहरू नै अल्लाहका आदेशबाट निस्केका सत्यलाई त्यागेका तथा असत्यतर्फ झुकेका मानिसहरू हुन् ।
तौरात तथा इन्जीलको वर्णन तथा प्रशंसापछि अल्लाहले कुर्आनको वर्णन तथा प्रशंसा गर्नुभयो र भन्नुभयोः
४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि सत्यकासाथ कुर्आन अवतरण गर्यौं, यस कुरामा कुनै शंका छैन कि यो अल्लाहको तर्फबाट अवतरित भएको किताब हो । यसले यसअघि अवतरित भएको किताबहरूको पुष्टि गर्दछ र यो ती किताबहरूको संरक्षक पनि हो । ती किताबहरूमा जे जति कुर्आनअनुसार छ ती सबै सत्य हुन र जे जति यसअनुसार छैनन् ती सबै असत्य हुन् । अतः अल्लाहले तपाईंमाथि जे जति अवतरण गर्नु भएको छ त्यस अनुसार मानिसहरूबीच निर्णय गर्नुहोस् । ती मानिसहरूको अनुसरण न गर्नुहोस् जसले तपाईंमाथि अवतरित गरिएको आदेशहरूलाई छोडेर आफ्ना इच्छाको अनुसरण गर्छन् । हामीले तिमीहरू सबैकालागि आदेशहरूमा आधारित एउटा धर्म-विधान एवं कार्यप्रणाली तय गरेका छौं, जसअनुसार मानिसहरू हिंड्छन् । यदि अल्लाहले चाहेको भए तिमीहरू सबैलाई एउटै शरीअत (इस्लामी कानुन) मा जम्मा गर्नुहुन्थ्यो । तर अल्लाहले हरेक समुदायको लागि छुट्टा छुट्टै शरीअत बनाउनुभयो, ताकि सबैको परीक्षा लेउन् कि को आज्ञाकारी छ र को अवज्ञाकारी ।अतः सत्कर्म गर्न तथा दुष्कर्मलाई त्याग्नमा एक अर्काभन्दा अगाडि बढ्ने प्रयास गर । अन्ततः महाप्रलयको दिन तिमीहरू सबै अल्लाहतर्फ नै फर्केर जानेछौ अनि उहाँले तिमीहरूलाई तिमीहरूले मतभेद गर्ने कुराहरूबारे बताउनुहुनेछ र तिमीहरूको कर्महरूको बदला दिनुहुनेछ ।
४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूबीच त्यस कानूनअनुसार फैसला गर्नुहोस् जुन अल्लाहले तपाईंमाथि अवतरण गर्नुभएको छ । आफ्नो कुइच्छाको अनुसरण गर्नेहरूको नराम्रा विचारहरूको अनुसरण न गर्नुहोस् । सावधान ! अल्लाहले तपाईंतर्फ अवतरित गर्नुभएका केही आदेशहरूको बारेमा तिनीहरूले पथभ्रष्ट न पारुन् । यसको लागि तिनीहरूले जतन गर्नमा कुनै कमि गर्ने छैनन् । यदि तिनीहरू अल्लाहले अवतरित गर्नुभएको आदेशबाट विमुख हुन्छन् भने जानी राख्नुस् अल्लाहले नै तिनीहरूलाई तिनका केही पापहरूको सांसारिक सजायँ दिन चाहनुहुन्छ । आखिरतमा तिनीहरूले गरेका सबै कार्यहरूको पूरै सजाय दिनुहुनेछ । निस्सन्देह अधिकांश मानिसहरू अल्लाहका आज्ञाबाट बाहिर छन् ।
५०. के यिनीहरू तपाईंको फैसलाबाट विमुख भएर अज्ञानकालका मूर्ती पूजकहरूबाट फैसला गराउन चाहन्छन् जो आफ्ना कुइच्छा अनुसार फैसला गर्छन् ? ! विश्वासीहरूकानिम्ति अल्लाहभन्दा उचित न्यायाधीश अरू कोही छैन । उनीहरू अल्लाहको तर्फबाट नबी करीम सल्लल्लाहु अलैहि व सल्लममाथि अवतरित भएको कुरालाई बुझ्छन् । अज्ञानता तथा कुइच्छाको अनुसरण गर्नेहरू आफ्ना इच्छा अनुकुल कुरालाई मात्र स्वीकार गर्छन् चाहे त्यो गलत नै किन न होस् ।
५१. हे मोमिनहरू हो ! यहूदी तथा ईसाईहरूलाई आफ्नो घनिष्ट तथा संरक्षक-मित्र नबनाऊ । किनभने यहूदीहरू यहूदीहरूका घनिष्ट मित्र हुन् र ईसाईहरू ईसाईहरूका घनिष्ट-मित्र हुन् । यी दुवै तिमीहरूको शत्रुतामा एकमत छन् । तिमीहरूमध्ये जसले तिनीहरूलाई आफ्नो मित्र बनाउँछ ऊ तिनीहरूमै गनिनेछ । निस्सन्देह अल्लाह अत्याचारीहरूलाई सत्मार्ग देखाउनुहुन्न किनभने तिनीहरूले काफिरहरूलाई घनिष्ट मित्र बनाए ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं के हेर्नुहुन्छ भने मुनाफिक तथा कमजोर ईमान भएका मुस्लिमहरू यहूदी तथा ईसाईहरूसित मित्रता गाँस्न तिनीहरूकहाँ यो भन्दै भागदौड गर्दैछन्– यिनीहरू हामीहरूमाथि विजय हुन्छन्, सबै धन यिनीहरूले लिन्छन् अनि हामीहरू कतै कुनै सङ्कटमा फस्नेछौं कि भन्ने डर लाग्छ । शायद अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तथा मोमिनहरूलाई विजय प्रदान गर्नुहुन्छ । अल्लाहले यहूदी तथा तिनीहरूसँग मित्रता राख्नेहरूको पोल खोल्नुहुन्छ अनि यहूदीहरूसँग मित्रता गाँस्न हतार गर्ने मुनाफिकहरूले आफ्ना हृदयमा लुकाइ राखेका कपटको पोल खुल्छ अनि तिनीहरू लज्जित हुनेछन् । यसले गर्दा तिनीहरूले जुन कारणले मोमिनहरूसित सम्बंध बनाएका छन् त्यो पनि झुटो प्रमाणित हुन्छ ।
५३. मोमिनहरूले मुनाफिकहरूको अवस्थाप्रति आश्चर्य प्रकट गर्दै भन्नेछन्– के यिनीहरू नै हुन् अल्लाहको दृढ कसम खाएर हामी ईमान, मद्दत तथा मित्रतामा तिमीहरूसँग नै छौं भनी विश्वास दिलाउनेहरू ?! यिनका सारा कर्महरू व्यर्थ भए र यिनीहरूले आफ्ना उद्देश्यमा असफल भएकाले तथा तिनीहरूका लागि यातना तयार पारिएकाले यिनीहरू नोक्सान बेहोर्ने भएका छन् ।
५४. हे मोमिनहरू हो ! तिमीहरूमध्ये जो पनि इस्लाम धर्मबाट विमुख भएर कुफ्रतर्फ फर्कन्छ, अल्लाहले तिनीहरूको स्थानमा यस्ता मानिसहरूलाई ल्याउनु हुनेछ जो इस्लाम धर्ममा यति अडिग रहनेछन् कि उनीहरूलाई उहाँले मन पराउनुहुनेछ र उनीहरूले अल्लाहलाई मनपराउनेछन् । उनीहरू मोमिनहरूप्रति नम्र र काफिरहरूप्रति कठोर हुनेछन् । उनीहरू अल्लाहको वाणीलाई उच्च पार्नको लागि आफ्ना धन तथा ज्यानबाट उहाँको मार्गमा जिहाद (धर्म-युद्ध) गर्नेछन् । उनीहरू अल्लाहको प्रसन्नतालाई मानिसहरूको प्रसन्नतामाथि प्राथमिक्ता दिनेछन् र कुनै निन्दा गर्ने व्यक्तिको निन्दाबाट डराउनेछैनन् । यो अल्लाहको वरदान हो । उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ प्रदान गर्नुहुन्छ । अल्लाह अपरम्पार तथा धेरै उपकार वाला हुनुहुन्छ । को उहाँको वरदानको हकदार छ र को हकदार छैन भन्ने कुरा उहाँ जान्नुहुन्छ अनि हकदारलाई वरदान प्रदान गर्नुहुन्छ र जो हकदार छैन उसलाई त्यसबाट वञ्चित राख्नुहुन्छ ।
यहूदी, ईसाई तथा अन्य काफिरहरूसित घनिष्ट सम्बन्ध राख्नबाट मनाहि गरेपछि मोमिनहरूले कोसँग सम्बन्ध राख्नुपर्छ भन्ने कुरा बताउँदै अल्लाहले भन्नुभयो:
५५. तिमीहरूका घनिष्ट-मित्र तथा सहयोगी यहूदी तथा ईसाई इत्यादि काफिरहरू न भएर अल्लाह, उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तथा यस्ता मोमिनहरू हुन् जो पूर्णरूपमा सलाह कायम गर्छन्, आफ्ना धनको जकात दिन्छन् तथा अल्लाहसमक्ष निहुरी रहन्छन् ।
५६. जुन मानिसहरू अल्लाह, उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र मोमिनहरूलाई सहयोगी तथा घनिष्ट-मित्र बनाउँछन् तिनीहरू अल्लाहका जमातमा हुन् अनि अल्लाहको जमात नै विजयी हुनेछ किनभने अल्लाह उनीहरूका मद्दतगार हुन् ।
५७. हे मोमिनहरू हो ! तिमीहरूभन्दा पहिला किताब प्रदान गरिएका यहूदी, ईसाई तथा बहुदेववादीहरूमध्ये यस्ता मानिसहरूलाई घनिष्ट मित्र न बनाऊ जसले इस्लाम धर्मलाई खेल ठट्टा बनाए । अल्लाहले ज-जसलाई घनिष्ट मित्र बनाउन मनाहि गर्नुभएको छ उनीहरूलाई घनिष्ट मित्र न बनाएर अल्लाहसँग डराऊ यदि तिमीहरू अल्लाह तथा उहाँले अवतरित गर्नुभएको किताबमा ईमान राख्छौ भने ।
५८. तिनीहरू त्यतिखेर पनि खेल ठट्टा गर्छन् जब तिमीहरू सलाहको लागि अजान दिन्छौ जो अल्लाहको निकटता प्राप्तिको सबैभन्दा ठूलो माध्यम हो । तिनीहरू यस्तो यस कारणले गर्छन् कि तिनीहरू अल्लाहको भक्तिको अर्थ तथा उहाँले बनाउनुभएको शरीअत (कानुन) लाई बुझ्दैनन् ।
५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अहले किताबमध्ये ठट्टा गर्नेहरूलाई भन्नुहोस्– हे अहले–किताब हो ! के तिमीहरू हामीमाथि यस कारणले दोष लगाउँछौ कि हामीले अल्लाहमाथि र आफूमाथि अवतरित तथा यसभन्दा पहिले अवतरित कुरामाथि ईमान ल्याएका छौं जबकि तिमीहरूमध्येका अधिकांश व्यक्तिहरू ईमान तथा आज्ञाकारीलाई त्यागेकाले अल्लाहको आदेशबाट बाहिरिएकाछन् ? ! जुन दोष तिमीहरू हामीमाथि लगाउँछौ त्यो हाम्रो लागि प्रशंसाको कुरा हो न कि निन्दाको ।
६०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– के म तिमीहरूलाई अल्लाहकहाँ परिणामको दृष्टिकोणले यिनीहरूमध्ये को दोष तथा प्रकोपको हकदार छ ? यी तिनीहरूका पूर्वजहरू हुन् जसलाई अल्लाहले आफ्नो कृपाबाट टाढा पार्नुभयो र तिनीहरूमाथि रोष प्रकट गर्नुभयो । तिनीहरूलाई कुरूप बनाएर बाँदर तथा सुँगुर बनाउनुभयो । तिनीहरूमध्ये केहीलाई तागूतको भक्त बनाउनुभयो । तागूत अन्तर्गत ती सबै आउँछन् जसको प्रसन्नता प्राप्त गर्नको लागि त्यसको भक्ति गरिन्छ । माथि उल्लेखित सबैको परिणाम अति नराम्रो हुनेछ र तिनीहरू सबै सीधा मार्गबाट अति नै भटकेका हुनेछन् ।
६१. हे मोमिनहरू हो ! जब मुनाफिकहरू तिमीहरूसमक्ष आउँछन् तब कपटको कारणले आफू ईमान ल्याएका जाहेर गर्छन् । वास्तविक्ता के छ भने तिनीहरू ईमान ल्याउँदा तथा त्यसबाट निस्कँदा कुफ्रकासाथ हुन्छन् । यद्यपि तिनीहरू ईमान जाहेर गर्छन् तर तिनीहरूले लुकाएका कुफ्रसित अल्लाह अवगत हुनुहुन्छ । उहाँले चाँडै नै यसको जवाफ दिनुहुनेछ ।
६२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले यहूदी तथा मुनाफिकहरूमध्ये धेरैलाई झुटो बोल्नु, अरूमाथि अत्याचार गर्नु तथा अवैध तरिकाले अरूको धन माल खानु जस्ता पाप कर्ममा तछाड मछाड गरिरहेको पाउनुहुनेछ । कति नराम्रो रहेछ उनीहरूले गर्ने काम !
६३. तिनीहरूका धर्मगुरु तथा सन्तहरूले तिनीहरूलाई पापका कुरा गर्न, झुटो गवाही दिन तथा अवैध तरिकाबाट अरूको धन खानबाट किन रोक्दैनन् ? कति नराम्रा छन् तिनीहरूका शासक तथा धर्मगुरुका काला कर्तूतहरू जो आफ्ना अनुयायीहरूलाई कुकर्मबाट रोक्दैनन् !
६४. यहूदीहरूलाई खाद्य-संकट हुँदा भन्दछन्– भलाइ तथा वरदान गर्नबाट अल्लाहका हात बाँधिएका छन् । उहाँले हामीहरूलाई जीविका दिन बन्द गर्नुभएको छ । जानि राख ! भलाइ तथा वरदान गर्नबाट तिनीहरूका हात पो बाँधिएका छन् । तिनीहरूले अल्लाहको बारेमा यस्तो कुरा भनेकोले तिनीहरू उहाँको कुपाबाट टाढा पारिए । बरु अल्लाह (सुब्हानहु व तआला) का हात भलाइ तथा वरदानका साथ खुल्ला छन् । उहाँ जसरी चाहनुहुन्छ खर्च गर्नुहुन्छ । उहाँले चाहनु भएमा बढी दिनुहुन्छ र न चाहनुभएमा कम दिनुहुन्छ । उहाँलाई कोही पनि न रोक्न सक्छ न मजबूर गर्न सक्छ । हे रसूल सदल्लल्लाहु अलैहि व सल्लम ! तपाईंका पालनकर्ताको तर्फबाट तपाईंमाथि अवतरण गरिएको किताबले गर्दा यहूदीहरूको विद्रोह तथा इन्कारमा नै वृद्धि हुनेछ । किनभने तिनीहरू डाहा गर्छन् । हामीले तिनीहरूका विभिन्न समूहहरूबीच महाप्रलयसम्मको लागि शत्रुता एवं द्वेष उत्पन्न गरिदिएका छौं । जब जब तिनीहरू युद्धको लागि जम्मा भए र हात हतियार तयार पारे वा त्यसलाई भडकाउन षडयन्त्र गरे तब तब अल्लाहले त्यसका समूहलाई निभाउनुहुन्छ र तिनीहरूको शक्तिलाई समाप्त पार्नुहुन्छ । तिनीहरू इस्लाम धर्मलाई मेटाउन धर्तीमा विध्वंस मच्चाउने गर्छन् । अल्लाह विध्वंसकारीहरूलाई मन पराउनुहुन्न ।
६५. यदि यी यहूदी तथा ईसाईहरूले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशमाथि ईमान ल्याएका भए, पाप-कर्मबाट जोगेर तक्वा (ईशभय) अवलम्बन गरेका भए हामीले तिनीहरूले गरेका सबै पापहरूलाई मेटाउने थियौं र महाप्रलयको दिन यस्तो बगैँचामा प्रवेश गराउने थियौं जसका कहिल्ये समाप्त न हुने वरदानबाट उनीहरू आनन्दित हुने थिए ।
६६. यदि यहूदीहरूले तौरातमा भएका कुरा तथा ईसाईहरूले इन्जीलमा भएका कुरा अनुसार कर्म गरेका भए र ती सबैले कुर्आनमा भएका कुरा अनुसार कर्म गरेका भए मैले ती सबैका लागि वर्षा बर्साएर तथा अनाज उमारेर जीवीकाका माध्यमहरूलाई सजिलो पार्ने थिएँ । अहले किताबमध्ये केही मध्यमार्गी छन् र सत्यमा कायम छन् । तर तिनीहरूमध्ये अधिकांशको कर्म ईमान न भएकोले अति नराम्रो छ ।
६७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताको तर्फबाट जेजति तपाईंमाथि अवतरण भएको छ त्यसको बारेमा पूर्णरूपमा मानिसहरूलाई सूचित गरिदिनुहोस् । त्यसमध्ये केही पनि न लुकाउनुहोस् । यदि तपाईंले तीमध्ये केही लुकाउनुहुन्छ भने तपाईं अल्लाहको सन्देशलाई पुर्याउने वाला हुनुहुन्न । (अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ती सबै कुराहरू पुर्याउनुभयो जसलाई पुर्याउने आदेश भएको थियो । यदि कसैले यो ठान्छ कि उहाँ सल्लल्लाहु अलैहि व सल्लमले पुर्याउनु भएन भने ऊ अल्लाहमाथि झुटो बोल्छ ।) अल्लाहले आजदेखि तपाईंको रक्षा गर्नुहुनेछ । तिनीहरूले तपाईंलाई केही हानि पुर्याउन सक्नेछैनन् । यदि तपाईंले यसो गर्नुभएन भने तपाईंले आफ्ना ‘रब’ को तर्फबाट पाउनुभएको ईशदूतत्वको जिम्मेवारी पूरा गर्नुभएन भन्ने ठान्नुहोस् । अल्लाहले मानिसहरूबाट तपाईंको रक्षा गर्नुहुनेछ । निस्सन्देह अल्लाह काफिरहरूलाई मार्ग देखाउनुहुन्न । तपाईंमाथि यस सन्देशलाई पुर्याउने जिम्मेबारी मात्र छ । अल्लाहले यस्ता काफिरहरूलाई सीधा मार्ग देखाउनुहुने छैन जो मार्गदर्शन चाहदैन ।
६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे यहूदी तथा ईसाईहरू हो ! जबसम्म तिमीहरूले तौरात, इन्जील तथा तिमीहरूसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट अवतरित गरिएको कुर्आनमा रहेका कुराहरूलाई जान्दैनौ तबसम्म तिमीहरूको त्यसमाथि ईमान र त्यसअनुसार कर्म ठीक हुँदैन । अल्लाहको तर्फबाट तपाईंमाथि अवतरित भएको कुर्आनले अहले किताबभित्र रहेको डाहाले गर्दा तिनीहरूमध्ये अधिकांशको विद्रोहमाथि विद्रोह तथा कुफ्रमाथि कुफ्रलाई नै थप्नेछ । यी काफिरहरूको चिन्ता न लिनुहोस् । तपाईंलाई अनुसरण गर्ने मोमिनहरू नै तपाईंको लागि पर्याप्त छन् ।
६९. निस्सन्देह मुस्लिम, यहूदी, साबिई जो केही नबीहरूका अनुयायी हुन् तथा ईसाईहरूमध्ये जो जो अल्लाह तथा आखिरतमाथि ईमान राख्छन् र सत्कर्म गर्छन् तिनीहरूकालागि आगामी दिनहरूमा कुनै डर हुनेछैन । तिनीहरूले सांसारिक अंशमध्ये जे जति गुमाएका छन् त्यसप्रति चिन्तित पनि हुनेछैनन् ।
७०. हामीले इस्राईलका सनतानसित आज्ञापालनको दृढ वचन लियौं र तिनीहरूतर्फ रसूलहरू पठायौं ताकि उनीहरूले अल्लाहका कानुनलाई पुर्याउन् । तर तिनीहरूले लिएका वचन भंग गरे । तिनीहरूले आफ्ना रसूलहरूका कुराहरूबाट विमुख भएर एक अर्कालाई झुटो ठहर गरेर तथा हत्या गरेर आफ्ना इच्छाहरूको अनुसरण गरे ।
७१. वचन भंग गरे पनि, झुटो बोले पनि र नबीहरूको हत्या गरे पनि तिनीहरूलाई कुनै कष्ट पुग्ने छैन भन्ने कुरा तिनीहरूले ठानेका थिए । तर तिनीहरूलाई यस्तो कष्ट पुग्यो जसको बारेमा तिनीहरूले कल्पना पनि गरेका थिएनन् । अनि तिनीहरू हक (सत्य) देखि अन्धा भए त्यसतर्फ मार्दर्शन पाएनन्, हकलाई स्वीकार गर्ने गरी सुन्नबाट बहिरा बनिरहे । अनि अल्लाहले कृपा गरेर माफ गर्नुभयो । फेरि तिनीहरू हकबाट अन्धो भए र त्यसलाई सुन्नबाट बहिरो भए । तिनीहरूमध्ये यस्तो धेरैसँग भयो । तिनीहरूले गर्ने गरेका कर्महरूलाई उहाँ हेरि राख्नुभएको छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।
७२. निस्सन्देह ईसाईहरूले कुफ्र गरे जसले भने- मर्यम पुत्र मसीह नै अल्लाह हुन् । तिनीहरू यस कारणले काफिर भए कि तिनीहरूले गैरलाई अल्लाह बनाए । जबकि मर्यम पुत्र मसीहले आफैँ भनेका थिए– हे इस्राईलका सन्तानहरू हो ! मात्र त्यस अल्लाहको दासत्व स्वीकार गर जो मेरा पालनकर्ता हुन् र तिमीहरूका पनि पालनकर्ता हुन् । हामी सबै भक्तको हैसियतमा एकसमान छौं । जसले कसैलाई अल्लाहको साझेदार ठहरायो उसको लागि अल्लाहले स्वर्ग सधैँको लागि हराम गर्नुभयो, उसको निवास नर्क हुनेछ । यस्ता अत्याचारीहरूका अल्लाहकहाँ कोही सहयोगी हुने छैन र यातनाबाट जोगाउने पनि कोही हुनेछैन ।
७३. निस्सन्देह ईसाईहरूले कुफ्र गरे जसले भने- अल्लाह तीनवटा वस्तुबाट मिलेर बनेका हुन्- पिता, पुत्र तथा पवित्र आत्मा । अल्लाह तिनीहरूको यस भनाईबाट अति उच्च हुनुहुन्छ । अल्लाह धेरै वटा छैन, उहाँ एक मात्र हुनुहुन्छ । उहाँसँग कोही साझेदार छैन । यदि तिनीहरूले आफ्ना यस घृणित कुराहरूलाई छोडेनन् भने तिनीहरूले दुःखदायी यातना भोग्नेछन् ।
७४. के तिनीहरू तौबा गरेर अल्लाहतर्फ फर्कने छैनन् र तिनीहरूले गरेको शिर्कबाट माफि माग्ने छैनन् ?! भक्तले जुन सुकै पाप गरेपछि तौबा गरेमा अल्लाह माफ गर्नुहुनेछ, यद्यपि उसले कुफ्र नै किन न गरेको होस् । अल्लाह मोमिनहरूप्रति परम दयालु हुनुहुन्छ ।
७५. मर्यम पुत्र ईसा मसीह त केवल रसूलहरूमध्ये एक जना रसूल थिए । जसरी अरूको मृत्यु भयो उनको पनि मृत्यु हुनेछ । उनकी आमा मर्यम एक जना सच्चा स्त्री थिइन् र ती दुवै जना आवश्यक्ता अनुसार भोजन गर्ने गर्थे । भोजनको आवश्यक्ता भएका यी दुई जना कसरी ईश्वर हुन सक्छन् ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, हामी कसरी यिनीहरूसमक्ष आफ्ना यस्ता आयतहरू वर्णन गर्दैछौँ जो एकेश्वरवादलाई प्रमाणित गर्छन् र ईसा तथा मर्यमलाई ईश्वर बनाउने धारणाको खण्डन गर्दछन् तर यिनीहरू यस्ता आयतहरूको इन्कार गर्दछन् ! अझै विचार गर्नुहोस् यिनीहरू कसरी सत्यबाट विमुख हुँदैछन् जब कि यिनीहरू समक्ष यस्ता आयतहरू आइसकेका छन् जो यस कुरालाई प्रमाणित गर्छन् कि अल्लाह एक मात्र हुनुहुन्छ ।
७६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहबाहेकलाई पुज्ने कार्यको खण्डन गर्दै भनिदिनुहोस्– के तिमीहरू अल्लाहलाई छोडेर त्यसको उपासना गर्छौ जसले न तिमीहरूलाई कुनै फाइदा पुर्याउन सक्छ न तिमीहरूबाट हानि टार्न सक्छ ? ! अल्लाहबाहेक कोही पनि केही गर्ने शक्ति राख्दैन बरु अल्लाह सबै किसिमको कमि कमजोरीबाट पवित्र हुनुहुन्छ । अल्लाह मात्र तिमीहरूको कुरा सुन्नेवाला हुनुहुन्छ, उहाँबाट केही पनि छुट्दैन । अल्लाह तिमीहरूका कार्यहरूलाई जान्नेवाला हुनुहुन्छ, उहाँबाट केही पनि लुक्न सक्दैन । उहाँले त्यसको सजाय तिमीहरूलाई दिनुहुनेछ ।
७७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! ईसाईहरूलाई भनिदिनुहोस्– तिमीहरूलाई जुन सत्यको अनुसरण गर्ने आदेश दिइएको थियो त्यसको सीमाको उल्लंघन न गर । जसको सम्मानको आदेश दिइएको छ तिनीहरूको सम्मानमा यति बढाइ चढाइ न गर कि उनीहरूलाई ईश्वर नै बनाइ देऊ, जस्तै सन्देष्टाहरूलाई । तिमीहरूले उनीहरूमध्ये मर्यम पुत्र ईसा (अ.) लाई ईश्वर बनायौ । यस्तो तिमीहरूले ती बितेका पथभ्रष्ट मानिसहरूका कु-भावनाहरूको अनुसरणले गर्दा गर्यौ जो यसभन्दा पहिले पथभ्रष्ट भए, धेरैलाई पथभ्रष्ट पारे र स्वयं पनि सीधा मार्गबाट विचलित भए ।
७८. अल्लाहले सूचित गर्नुभयो कि बनी इस्राइलका काफिरहरूलाई आफ्नो कृपाबाट टाढा पार्नुभयो । अल्लाहले यो सूचना दाऊद (अ.) माथि अवतरित जबूर तथा मर्यम-पुत्र ईसा (अ.) माथि अवतरित इन्जीलमा दिनुभयो । तिनीहरूको पाप तथा अल्लाहले हराम गर्नुभएका कार्य गरेकोले उहाँले आफ्नो कृपाबाट टाढा पार्नुभयो ।
७९. तिनीहरूले गर्ने गरेका कुकर्मबाट एक अर्कालाई रोक्दैनथे । बरु खुले आम पाप गर्ने गर्थे । किनभने तिनीहरूलाई कोही रोक टोक गर्ने वाला थिएन । पापबाट न रोकेर तिनीहरू कति नराम्रो गर्दै थिए ।
८०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले अधिकांश यहूदी काफिरहरूलाई मक्काका काफिरहरूतर्फ आकर्षित हुँदै तथा मित्र बनाउँदै देख्नुहुन्छ जब तपाईं तथा एकेश्वरवादीहरूसँग शत्रुताको व्यवहार गर्दै देख्नुहुन्छ । तिनीहरूले काफिहरूलाई मित्र बनाएर स्वयंको लागि जेजति अगाडि पठाएका छन् ती अति नराम्रा छन् । यसै कारणले अल्लाह तिनीहरूमाथि रोष प्रकट गर्नुभयो । अल्लाहले तिनीहरूलाई सधैँको लागि नर्कमा होम्नुहुनेछ जसबाट निस्कन सक्नेछैनन् ।
८१. यदि यी यहूदीहरूले वास्तवमा अल्लाह तथा आफ्नो सन्देष्टामाथि पक्का ईमान राखेका भए तिनीहरूले मोमिनहरूलाई छोडेर काफिपरहरूलाई मित्र बनाउने थिएनन् । किनभने तिनीहरूलाई यसो गर्नबाट मनाहि गरिएको थियो । तर अधिकांश यहूदीहरू अल्लाहको आज्ञाबाट टाढा छन् । उनीहरू अल्लाहलाई र मोमिनहरूलाई मित्र बनाइरहेका छैनन् ।
८२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंले के देख्नुहुन्छ भने तपाईंमाथि तथा तपाईंका सन्देशमाथि ईमान राख्नेहरूसित सबभन्दा बढी शत्रुता राख्ने यहूदी तथा मूर्ती पूजकहरू हुन् । यहूदीहरू डाहाले गर्दा र मूर्ती पूजकहरू मूर्ती पूजाले गर्दा शत्रुता राख्छन् । तपाईंले के पाउनुहुन्छ भने तपाईं तथा तपाईंका सन्देशमाथि ईमान राख्नेहरूसित सबैभन्दा बढी माया गर्नेहरू ती मानिसहरू हुन् जो आफूलाई नसारा (ईसाई) भन्छन् । किनभने उनीहरूमाझ धेरै जसो धर्मगुरु तथा उपासकहरू हुन् । उनीहरू नम्र छन्, घमण्ड गर्दैनन् । घमण्डीहरूको मनसम्म भलाइ पुग्दैन ।
८३. यस्ता किसिमका मानिसहरू जस्तै नज्जाशी तथा उनका साथीहरूको हृदय नम्र छन् । उनीहरू त्यतिखेर कुर्आनको पाठ सुनेर रुन थाल्छन् जतिखेर तिनीहरूलाई यो थाहा हुन्छ कि यो अल्लाहको तर्फबाट अवतरित भएको छ । उनीहरूलाई ईसा (अ.) ले ल्याएको सन्देशको बारेमा जानकारी छ । उनीहरू भन्छन्- हे हाम्रा पालनकर्ता ! तपाईंले जे जति मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गर्नुभयो ती सबैमाथि हामीले ईमान ल्यायौं । अतः हे हाम्रा पालनकर्ता ! हाम्रो नाम साक्षी दिनेहरूमा लेख्नुहोस् ।
८४. हामीले कुन कारणले ईमान नल्याउने अल्लाहमाथि र उहाँले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गर्नुभएको सत्यमाथि ?! जबकि हामी सन्देष्टाहरू, अल्लाहका आज्ञाकारी तथा उहाँका यातनाबाट डराउने सन्देष्टाहरूका अनुयायीहरूसँग स्वर्गमा प्रवेश गर्न चाहन्छौं ।
८५. उनीहरूले ईमान ल्याएकोले तथा सत्यलाई स्वीकार गरेकाले अल्लाहले यस्ता बगैँचाहरूमा प्रवेश गराउनुहुनेछ जसका महल तथा रुखहरूका तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन् जहाँ उनीहरू सदासर्वदा रहनेछन् । बिना करकाप तथा बिना शर्त राम्रो तरिकाले सत्यको अनुसरण गर्ने सुकर्मीहरूको यही बदला हो ।
८६. अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का इन्कार गर्ने तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गरिएका आयतहरूलाई झुटो ठहर गर्नेहरू सधैँको लागि नर्कमा जानेछन्, यातना भोग्दै रहनेछन् र त्यसबाट कहिल्यै निस्कन सक्ने छैनन् ।
८७. हे मोमिनहरू हो ! खाने-पिउने सामग्री, निकाहमध्ये हलाल गरिएका कुराहरू तथा वस्तुलाई हराम न बनाऊ । खाने-पिउने सामग्री तथा निकाहलाई यो ठानेर हराम न गर कि यसो गर्नु भक्ति तथा ईशभयको कार्य हो । अल्लाहले हराम गर्नुभएको सीमाको उल्लङ्घन न गर । निस्सन्देह अल्लाह सीमा उल्लङ्घनकारीहरूलाई मन पराउनुहुन्न, बरु रोष प्रकट गर्नुहुन्छ ।
८८. अल्लाहले तिमीहरूलाई जुन पवित्र तथा हलाल चिजहरू प्रदान गरर्नुभएको छ त्यसबाट खाऊ र अरूबाट खोसेका वा अपवित्र वस्तुहरू न खाऊ । अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसँग डराऊ । तिमीहरू अल्लाहमाथि नै ईमान राखेकोले तिमीहरूका लागि उहाँसँग डराउनु जरुरी छ ।
८९. हे मोमिनहरू हो ! तिमीहरूका जिब्रोबाट बिना मन्शाय निस्केको कसमको लागि अल्लाहले पकड गर्नुहुने छैन । तर तिमीहरूले भित्री मनबाट मन्शायका साथ खाएको कसमको लागि उहाँले तिमीहरूको पकड गर्नुहुनेछ । तिमीहरूले भित्री मनबाट मन्शायका साथ खाएको कसमलाई तोडने पाप निम्न तीन तरिकाहरूमध्ये एक तरिकाबाट मेटिन सक्छ, तिमीहरूले आफ्नो सहुलियतअनुसार यीमध्ये जुनसुकै तरिका अपनाउन सक्छौ । दस जना गरिबलाई त्यस देशका मध्य स्तरको खाना खुवाउनु, प्रत्येक गरिबलाई आधा साअ (१ किलो ६३३ ग्राम) खाना दिनुपर्छ । वा तिनीहरूलाई त्यहाँ प्रचलित वस्त्र प्रदान गर्नु । वा एकजना मोमिन दासलाई मुक्त गर्नु । तर कसम खाने व्यक्तिले उक्त तीन वटा कार्यहरूमध्ये कुनै पनि कार्य गर्ने शक्ति राख्दैन भने उसले तीन दिन व्रत बस्नुपर्छ । हे मोमिनहरू हो ! उक्त कार्यहरू तिमीहरूको कसमको कफ्फारा (प्रायश्चित) हो, जब तिमीहरू अल्लाहको कसम खान्छौ अनि त्यसलाई तोडछौ । अल्लाहको झुटो कसम खानबाट, उहाँको धेरै कसम खानबाट र कसम खाएपछि त्यसलाई पूरा न गर्नबाट बच । यदि तिमीहरूले यस्तो कसम खाएका छौ जसलाई पूरा न गर्नमा भलाइ छ भने त्यसलाई पूरा न गर, कसमको प्रायश्चित गर । अल्लाहले जसरी कसमको कफ्फारालाई स्पष्ट पार्नुभएको छ त्यस्तै उहाँले हलाल तथा हरामको बारेमा आदेशहरूलाई पनि स्पष्ट पार्नुहुनेछ । ताकि तिमीहरू अल्लाहप्रति आभार व्यक्त गर कि उहाँले ती कुराहरू सिकाउनुभयो जो तिमीहरू जान्दैन थियो ।
९०. हे मोमिनहरू हो ! दिमागलाई निस्क्रीय बनाउने मदिरा, दुवै पक्षले तिनर्नुपर्ने जुवा, ढुङ्गा जसको सम्मान गरेर बहुदेववादीहरू बलि दिन्छन् वा भक्तिको लागि त्यसलाई गाड्छन्, तीर जसलाई हानेर आफ्नो भाग्य पत्ता लगाउँछन्, यी सबै शैतानले सुन्दर बनाएर देखाएका पाप कार्यहरू हुन् । तिमीहरू यी कार्यहरूबाट टाढा बस ताकि संसारमा राम्रो जीवन पाएर तथा आखिरतमा स्वर्गका वरदानहरू पाएर सफल होऊ ।
९१. शैतानले तिमीहरूका लागि रक्सी तथा जुवालाई सुन्दर बनाएर तिमीहरूबीच शत्रुता एवं द्वेष उत्पन्न गर्न चाहन्छ र तिमीहरूलाई अल्लाहको याद तथा सलाहबाट रोक्न चाहन्छ । हे मोमिनहरू हो ! के तिमीहरू यी नराम्रा कुराहरूलाई त्याग्छौ त ? निस्सन्देह तिमीहरूका लागि यही राम्रो हुन्छ, तसर्थ यी कार्यहरूलाई छोडिदेऊ ।
९२. अल्लाहले दिनुभएको आदेशको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँको आज्ञापालन गर र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गर । कानुनको उल्लंघन गर्नबाट सावधान रहने गर । यदि तिमीहरू यसबाट विमुख हुन्छौ भने जानीराख हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जिम्मेबारी स्पष्टरूपमा अल्लाहको सन्देशलाई पुर्याउनु मात्र हो, जसलाई उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले पूर्णरूपमा पुर्याउनुभयो । यदि तिमीहरूले सीधा मार्ग अपनाउछौ भने आफ्नै लागि अपनाउँछौ र यदि नराम्रो गर्छौ भने त्यसको हानि तिमीहरूले नै बिहोर्नु पर्नेहुन्छ ।
रक्सी हराम गरिएको आदेश अवतरित भएपछि केही मोमिनहरूले आफ्ना ती दाजु भाइहरूको अवस्था जान्ने कामना गरे जसको मृत्यु ईमान ल्याएपछि तर रक्सी हराम गरिनुअघि नै भयो, अनि निम्न आयत अवतरित भयोः
९३. अल्लाहमाथि ईमान ल्याएर उहाँको निकटता प्राप्त गर्नको लागि सत्कर्म गरेका मानिसहरूले रक्सी हराम हुनुअघि जे जति रक्सी खाए त्यसमा कुनै पाप लागेन । यदि उनीहरूले हराम गरिएका कार्यहरूबाट बचे, अल्लाहको रोषबाट डर माने, अल्लाहमाथि ईमान राखे, सत्कर्म गरिराखे, अल्लाहको भक्ति यसरी गरे मानौं उनीहरू अल्लाहको निगरानीमा छन् । अल्लाह यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ जो यसरी भक्ति गर्छन् मानौं अल्लाहलाई हेरिराखेका हुन्छन् र सधैँ यस्तो महसूस गर्छन् कि उनीहरू अल्लाहको निगरानीमा छन् । यस्तो भावनाले मोमिनलाई अझ राम्रो तथा ठोस तरिकाले भक्ति गर्न लगाउँछ ।
९४. हे मोमिनहरू हो ! अल्लाहले थलमा रहेका जनावरबाट तिमीहरूको परीक्षा अवश्य नै लिनुहुनेछ जो तिमीहरूतर्फ त्यतिखेर आउनेछन् जब तिमीहरू इहरामको अवस्थामा हुनेछौ । साना जनावरहरूलाई तिमीहरूले हातबाट र ठूला जनावरहरूलाई भालाबाट शिकार गर्न सक्छौ । ताकि अल्लाहले यो जानुन् कि (जाहिरी ज्ञान जसको आधारमा भक्तहरूको हिसाब किताब लिइनेछ) को अल्लाहलाई न देखिकनै डराउँछ अनि आफ्नो सृष्टिकर्ताको डरले शिकार गर्न छोड्छ, यस विश्वासका साथ कि उहाँ सबै कुरा जान्नुहुछ र उहाँबाट उसले गरेको कार्य लुकेको छैन । अनि जसले यसपछि पनि सीमा उल्लंघन गर्छ र हज वा उम्राको इहराम लगाएर शिकार गर्छ उसको लागि महाप्रलयको दिन दुःखदायी यातना छ ।
९५. हे मोमिनहरू हो ! तिमीहरू हज वा उमरहको इहरामको अवस्थामा हुँदा थलमा रहेका जनावरहरूको शिकार न गर । तिमीहरूमध्ये कसैले जानीजानी मार्छ भने त्यसको क्षतिपूर्ति उसले मारेको जस्तै जनावर हो, जस्तै ऊँट, गाइ तथा बाख्रा । जसको निर्णय मुस्लिमहरूमध्ये दुई जना न्यायी व्यक्तिहरूले गर्नेछन्, जसलाई बलिको लागि मक्का पुर्याउनुपर्छ अनि कि त हरममा बध गर्नुपर्छ कि त त्यसको मूल्य बराबर भोजन हरमका गरिबहरूमा वित्रण गर्नुपर्छ । वा त्यसको बराबर व्रत बस्नु पर्छ, प्रत्येक गरिबलाई आधा साअ (१ किलो ६३३ ग्राम) दिनुपर्छ । कि त प्रत्येक आधा साअ भोजनको सट्टामा एक दिनको ब्रत बस्नुपर्छ । ताकि शिकार गर्नेले जनावरलाई मारेको सजाय भोगोस् । जजसले पहिला हरममा इहरामको अवस्थामा शिकार गर्नु हराम गरिनु अघि शिकार गरे तिनीहरूलाई अल्लाहले माफ गर्नुभयो । तर यो कार्य हराम गरिएपछि जसले पनि यसलाई दोहोर्याउनेछ अल्लाहले तिनीहरूलाई सजाय दिएर त्यसको बदला लिनुहुनेछ । अल्लाह शक्तशाली तथा बदला लिने सामर्थ्य राख्नुहुन्छ । उहाँ जोसित चाहनुहुन्छ बदला लिनुहुन्छ, कोही पनि बदला लिनबाट रोक्न सक्दैन ।
९६. तिमीहरूका लागि पानीमा रहेका जनावरहरूको शिकार जायज गरिएको छ । समुद्रले बाहिर फालेका जीवित वा मृत दुवै किसिमका जनावरहरू हलाल गरिएका छन्, तिमीहरू मध्येका स्थानीय तथा यात्रु दुवैले त्यसबाट फाइदा उठाउन सक्छ । तर हज वा उमरहको इहराम लगाएको अवस्थामा जमीनमा शिकार गर्नु तिमीहरूका लागि हराम गरिएको छ । अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँको भय गर । महाप्रलयको दिन तिमीहरूलाई उहाँतर्फ नै फर्काएर लगिनेछ अनि उहाँले तिमीहरूले गरेका कर्महरू अनुसार बदला दिनुहुनेछ ।
९७. अल्लाहले प्रतिष्ठित घर काबालाई मानिसहरूका लागि सामूहिक जीवन स्थापनाको साधन बनाउनु भयो, जहाँ उनीहरू सलाह, हज तथा उम्रा जस्ता आफ्ना धार्मिक हीत पूरा गर्छन् र हरममा शान्ति तथा फलाहार आउने आफ्ना सांसारिक हीत पनि पूरा गर्छन् । अल्लाहले प्रतिष्ठित महिनाहरू (जू-कादह, जुल-हिज्जा, मुहर्रम तथा रजब) मा युद्धलाई मनाहि गरेर शान्तिको महिना बनाउनुभयो । यी महिनाहरूमा तिमीहरू कुर्बानी दिइने जनावर तथा घाँटीमा पट्टा लगाइएका जनावरलाई शान्तिपूर्ण अवस्थामा हरमतर्फ लिएर जाने गर्छौ, कसैले बाटोमा हानि पुर्याउने डर हुँदैन । अल्लाहले यसो गरेर तिमीहरूमाथि कृपा गर्नुभयो ताकि तिमीहरूलाई थाहा होस् कि अल्लाह आकाशहरू एवं धर्तीका सबै चिज जान्नुहुन्छ । अल्लाहको कानुन तिमीहरूको हीतको रक्षा गर्न तथा हानिबाट बचाउनको लागि हो । उहाँको कानुनको पालनामा नै सबै भक्तहरूको हीत छ ।
९८. हे मानव ! राम्ररी जानि राख– अवज्ञाकारीहरूका लागि अल्लाह कठोर दण्डदाता हुनुहुन्छ र तौबा गर्नेहरूप्रति अति क्षमाशील एवं परम दयालु हुनुहुन्छ ।
९९. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जिम्मेबारी सन्देश पुर्याउनु मात्र हो, मार्गदर्शनमा ल्याउनु उहाँको जिम्मेबारी होइन, मार्गदर्शनमा ल्याउनु मात्र अल्लाहको हातमा छ । मार्गदर्शन तथा पथभ्रष्टतामध्ये जे जति तिमीहरू प्रकट गर्दछौ र जे जति लुकाउँछौ अल्लाह ती सबै जान्नुहुन्छ र त्यसको बदला दिनुहुनेछ ।
१००. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हरेक वस्तुमध्ये अपवित्र वस्तु तथा पवित्र वस्तु एक समान हुन सक्दैनन्, चाहे अपवित्रताको प्रचुरताले तपाईंलाई जति पनि आकर्षित गरोस् । कुनै पनि वस्तुको प्रचूरता यस कुराको प्रमाण होइन कि त्यो अति राम्रो छ । हे बुद्धिमानहरू हो ! अपवित्र वस्तुलाई त्यागेर तथा पवित्र वस्तुलाई अंगालेर अल्लाहसँग डराऊ ताकि तिमीहरू स्वर्ग प्राप्त गरेर सफल होऊ ।
१०१. हे मोमिनहरू हो ! आफ्ना रसूल (सल्लललाहु अलैहि व सल्लम) सँग यस्ता कुराबारे सोधपुछ नगर जुन कुराहरूसँग तिमीहरू को सरोकार छैन र जोसँग तिम्रो धार्मिक सम्बन्ध छैन । यस्तो कुरा न सोध जसको जवाफ दिइएमा तिमीहरूलाई नराम्रो लागोस् किनभने त्यसमा अप्ठ्यारो छ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुर्आन अवतरण भइरहेका बखतमा यदि तिमीहरूले मनाहि गरिएको प्रश्न सोध्यौ भने ती कुराहरू तिमीहरूप्रति स्पष्ट गरिइनेछ । यो अल्लाहको लागि सजिलो छ । अहिलेसम्म तिमीहरूले जे जति प्रश्न गर्यो जसको बारेमा कुर्आन मौन छ त्यसलाई अल्लाहले माफ गर्नुभयो । अतः यस्ता प्रश्नहरू न गर, यदि यस्ता प्रश्नहरू गर्छौ भने तिमीहरूमाथि ती आदेशहरूको पालना अनिवार्य गरिनेछ । जब भक्तहरू तौबा गर्छन् तब अल्लाह उनीहरूको पापहरूलाई माफ गर्नुहुन्छ, सजाय दिनुहुन्न बरु सहन गर्नुहुन्छ ।
१०२. यस्तै किसिमका प्रश्नहरू तिमीहरूभन्दा पहिलेको एउटा समूहले पनि सोधेको थियो । तर जब त्यो आदेश लागु गरियो तब तिनीहरू त्यस अनुसार कर्म गर्न सकेनन् । अनि तिनीहरू तिनै कुराहरूले गर्दा काफिर भए ।
१०३. अल्लाहले चौपायाहरूलाई हलाल गर्नुभएको छ । उहाँले ती चौपायाहरूलाई हराम गर्नुभएको छैन जसलाई बहुदेववादीहरूले आफूमाथि हराम गरेका छन् । तिनीहरूले बहीरा, साइबा, वसीला तथा हामी नामी मूर्तिहरूले गर्दा यी जनावरहरूलाई हराम गरे । बहीरा भनेको त्यो ऊँटनी हो जसले एउटा निश्चित गन्तीमा बच्चा जन्माएपछि त्यसको कान छेडिन्छ । साइबा भनेको त्यो ऊँटनी हो जसलाई एउटा निश्चित उमेरसम्म पुगेपछि मूर्तीको नाममा छोडिन्छ । वसीला भनेको त्यो ऊँटनी हो जो निरन्तर पोथी बच्चा जन्म दिन्छ । हामी भनेको त्यो साँड ऊँट हो जसबाट एउटा निश्चित गन्तीमा ऊँट जन्म लिन्छ । काफिरहरूले के गलत कुरा ठानेका थिए भने अल्लाहले उक्त ऊँटहरूलाई हराम गर्नुभएको छ । अधिकांश काफिरहरू हक (नितान्तसत्य), बातिल (नितान्त असत्य) र हलाल, हराममा फरक जान्दैनन् ।
१०४. हलाल जनावरलाई हराम गरेर अल्लाहमाथि झूट गढ्नेहरूलाई जब भनिन्छः आऊ अल्लाहद्वारा अवतरित गरिएको कुर्आन तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नत तथा नियमतर्फ ताकि तिमीहरू हलाल हरामबीच फरक जान्न सक तब तिनीहरू भन्छन्– हाम्रोलागि त्यही आस्था, विश्वास, वाणी तथा कार्यहरू पर्याप्त छन् जो हामीले आफ्ना पूर्वजहरूबाट लिएकाछौं । यी कुराहरू तिनीहरूका लागि कसरी पर्याप्त हुन सक्छन् जब कि तिनीहरूका पूर्वजहरू न त जानकार थिए न सत्यमा नै थिए ? तिनीहरूको अनुसरण अज्ञानी तथा पथभ्रष्टहरू मात्र गर्छन् । अतः तिनीहरू अज्ञानी तथा पथभ्रष्ट हुन् ।
१०५. हे मोमिनहरू हो ! तिमीहरू आफ्नो चिन्ता गर तथा आफ्नो हीतमा रहेका कार्यहरू मात्र गर । यदि तिमीहरू सत्मार्गमा छौ भने पथभ्रष्टहरूले तिमीहरूलाई हानि पुर्याउन सक्दैनन् । तिमीहरूको मार्गदर्शनमध्ये यो पनि हो कि तिमीहरू मानिसहरूलाई सत्य कुरातर्फ अहवान गर्छौ तथा दुष्कर्मबाट मनाहि गर्छौ । महाप्रलयको दिन तिमीहरू सबैलाई अल्लाहकहाँ नै फर्केर जानुछ अनि उहाँले तिमीहरूले संसारमा गरेका कार्यहरूबारे बताउनुहनेछ र त्यसको बदला दिनुहुनेछ ।
१०६. हे मोमिनहरू हो ! जब तिमीहरूमध्ये कसैको मृत्युका संकेतहरू प्रकट भएर मृत्युको समय आउँछ भने उसले वसीयत (अन्तिम उपदेश) गरोस् तथा वसियत गर्दाखेरि आफ्ना मानिसहरूमध्ये दुई जना न्यायी मुस्लिमहरूलाई साक्षी बनाओस् । मुस्लिम फेला न परेमा दुई जना गैर मुस्लिमहरूलाई साक्षि बनाओस् । यदि तिमीहरू यात्राको अवस्थामा छौ र त्यहीँ मृत्युको विपत्ति आइपुग्छ भने (आफ्नो मान्छे नभएको खण्डमा तिमीहरूभन्दा बाहिरकै दुई जना साक्षी हुनुपर्छ ।) यदि दुवैको गवाहीमा कुनै शङ्का भएको खण्डमा दुवै साक्षीलाई सलाहपश्चात् रोक जहाँ दुवैले अल्लाहको कसम खाएर भनून्– हामी यसको बदलामा कुनै मूल्य लिने छैनौं चाहे कोही नातेदार नै किन नहोस् र न हामी अल्लाहको साक्षीलाई लुकाउने नै छौं । यदि हामीले यस्तो गर्यौं भने हाम्रो गन्ती पापी तथा अवज्ञाकारीहरूमा हुनेछ ।
१०७. फेरि कसम खाएपछि यी दुवैले आफ्ना गवाही तथा कसममा झूट बोलेको तथा बेइमानी गरेको ठहर हुन्छ भने यिनीहरूको ठाउँमा अन्य दुई जना मृत व्यक्तिका निकटतम दुई जना व्यक्तिहरू खडा होउन् जसको हक अघिल्ला ती दुईजनाले मार्न चाहेका थिए, अनि यिनीहरूले अल्लाहको कसम खाउन्- ती दुईजनाको झूट तथा बेइमानीमाथि हामी दुवैको साक्ष्य उनीहरूको साक्ष्यभन्दा बढी सच्चा छ । हामीहरूले झूटो कसम खाएका छैनौ । यदि हामीहरूले झूटो कसम खाएकाछौं भने हामीहरू अत्याचारी तथा हदलाई पार गर्नेहरूमध्ये छौं ।
१०८. पहिला दुई जनाको गवाहीमा शंका उत्पन्न हुँदा दुवैको गवाही रद्द गरिएपछि अर्को दुई जनासित सलाहपछि कसम लिइनेछ, यो इस्लामी कानुन अनुसार गवाही लिने सबैभन्दा उचित तरिका हो । आशा गरिन्छ कि पछिका दुई जना गवाहले गवाही दिने काममा फेर बदल गर्दैनन् र बेइमानी पनि गर्दैनन् । तिनीहरू यस कुराबाट डराउनेछन् कि कहीँ अर्काको कसमबाट तिनीहरूको कसमको खण्डन न होस् । गवाही दिने तथा कसम खाने कार्यमा झूट तथा बेइमानीलाई त्याग तथा अल्लाहसित डराऊ र जुन कुराको आदेश दिइन्छ त्यसलाई स्वीकार गर्दै सुन । अल्लाह अवज्ञाकारीहरूलाई सत्मार्ग देखाउनुहुन्न ।
१०९. हे मानव ! महाप्रलयको दिनलाई याद गर जब अल्लाहले सबै रसूलहरू (अलैहिमुस्सलाम) लाई एकत्रित गर्नुहुनेछ अनि सोध्नुहुनेछ– तिमीहरूलाई जुन समुदाय तर्फ पठाइएको थियो उनीहरूले के जवाफ दिए ? उनीहरूले भन्नेछन्– हे हाम्रा पालनकर्ता ! हामीलाई केही ज्ञान छैन । तपाईंलाई सबै ज्ञान छ किनभने तपाईं मात्र सबै अदृश्य मामिलाका महान ज्ञाता हुनुहुन्छ ।
११०. स्मरण गर जब अल्लाहले ईसा (अलैहिस्सलाम) लाई सम्बोधन गरेर भन्नुभयो– हे मर्यम पुत्र ईसा ! मैले तिमीमाथि गरेको कृपालाई याद गर– जब मैले तिमीलाई बिना पिता सृष्टि गरें । तिम्रो आमा मर्यम अ. माथि गरेको कृपालाई याद गर जब मैले उनलाई उनको युगका महिलाहरूमध्ये चयन गरें । तिमीमाथि गरेको कृपालाई याद गर जब मैले तिमीलाई जिब्रील अ. द्वारा सशक्त बनाएं । तिमी शिशु -आमाको दूध खाने- उमेरमा पनि मानिसहरूलाई अल्लाहतर्फ बोलाउँदै उनीहरूसँग कुराकानी गर्दथ्यौ र ठूलो उमेरमा पनि । मेरा कृपाहरूमध्ये यो पनि हो कि मैले तिमीलाई लेख्न तथा मूसा अ. माथि अवतरित भएको तौरात पढन सिकाएं । तिमीमाथि अवतरित भएको इन्जील पढन सिकाएं । तिमीलाई इस्लामी कानुनका रहस्य, फाइदा तथा तत्वदर्शिता सिकाएं । जब तिमी माटोले पंक्षीको आकृति बनाएर त्यसमा फुक्थ्यौ अनि त्यो साँच्चिकै पंक्षी बन्थ्यो भन्ने कुरा पनि मेरो कृपाहरूमध्ये हो । अनि तिमी मेरो जन्मजात अन्धो एवं कुष्ठरोगीहरूलाई निको पार्थ्यो । जन्मजात अन्धो देख्न थाल्थ्यो र कुष्ठरोगीको छाला निको हुने गर्थ्यो । मृतहरूलाई जीवित पार्न अल्लाहसँग दुआ गर्थ्यौ अनि जीवित पार्थ्यौ । तिमी यी सबै कार्य अल्लाहको अनुमतिबाट गर्थ्यो । मेरा कृपाहरूमध्ये यो पनि थियो कि जब तिमी स्पष्ट चमत्कारहरू लिएर बनी इस्राईलसमक्ष पुग्यौ तब तिनीहरूले तिमीलाई ज्यानले मार्ने प्रयास गरे अनि त्यतिखेर मैले नै तिनीहरूबाट तिमीलाई बचाएं । तिनीहरू सबैले इन्कार गरे र भने- यो त परस्ट जादू हो ।
१११. मैले तिमीमाथि गरेको कृपालाई याद गर जब मैले हवारी (मसीह अ. का साथी) हरूको मनमा यो कुरा हालें कि तिमीहरू ममाथि तथा ईसा अ. माथि ईमान ल्याऊ तब उनीहरूले ईमान ल्याए र भने– हामीले ईमान ल्यायौं र हे मेरा पालनकर्ता ! तपाईं साक्षी बस्नुहोस् हामी सबै मुस्लिम तथा आज्ञाकारी बन्यौं ।
११२. स्मरण गर, जब हवारीहरूले भने– हे मर्यम पुत्र ईसा ! यदि तिमीले दुआ गरेमा के तिम्रा पालनकर्ताले हामीमाथि आकाशबाट ‘माइदा’ (खाद्यवस्तुले सजाइएको दस्तरखान) अवतरण गर्न सक्नुहुन्छ ? अनि ईसा अ. ले भने– तिमीहरू अल्लाहसँग डराऊ, यस्तो खाले माग न गर, यो तिमीहरूका लागि परीक्षा हुनसक्छ । यदि तिमीहरू मोमिन हौ भने जीवीकाको बारेमा अल्लाहमाथि भरोसा गर ।
११३. हवारीहरूले ईसा अ. लाई भने– हामी के चाहन्छौं भने त्यस माइदाबाट खाऔं र हाम्रो हृदय अल्लाहको यस वरदानबाट सन्तुष्ट होस् । साथै त्यसले गर्दा हामीलाई यो जानकारी होस् कि तिमी अल्लाहका रसूल हौ । हामीलाई विश्वस्नीय ज्ञान होस् कि तिमीले अल्लाहको तर्फबाट जे ल्याएका छौ त्यसको बारेमा हामीहरूलाई सत्य कुरा बताएका छौ । जो पनि त्यसमा उपस्थित हुँदैन त्यसको बारेमा हामी साक्षी हुनेछौं ।
११४. ईसा (अलैहिस्सलाम) ले उनीहरूको मागलाई सम्बोधन गर्दै अल्लाहसँग दुआ गरे- हे हाम्रा पालनकर्ता ! हामीमाथि भोजनबाट सजाइएको माइदा अवतरित गर्नुहोस् । भोजन अवतरित गरिएको दिनलाई हामीले दिवसको रूपमा मनाउनेछौं र तपाईंप्रति आभार व्यक्त गर्नेछौं । यो दिन तत्काल जीवित रहेका मानिसहरूका लागि र पछि आउने पीढीका लागि पनि दिवस मनाउने दिन हुनेछ । यो कार्य तपाईंको एकेश्वरवादको र म सत्यका साथ पठाइएको सन्देष्टा हुँ भन्ने कुराको चिन्ह हुनेछ । हामीलाई यस्तो जीवीका प्रदान गर्नुहोस् जो तपाईंको भक्ति गर्नमा सहयोगी होस् । हे हाम्रा पालनकर्ता तपाईं सबै भन्दा राम्रा जीवीका प्रदानकर्ता हुनुहुन्छ ।
११५. अल्लाहले ईसा (अलैहिस्सलाम) को दुआ स्वीकार गर्दै भन्नुभयो- तिमीले माग गरेको माइदा म अवतरित गर्नेछु तर ज-जसले यसपछि कुफ्र गर्नेछन् तिनीहरूले मात्र आफैँमाथि धिक्कार गरुन् । अनि मैले तिनीहरूलाई यस्तो कडा यातना दिनेछु जस्तो कसैलाई दिएको छैन । किनभने तिनीहरूले स्पष्ट निशानी देखेपछि गरेको कुफ्र शत्रुतामा आधारित कुफ्र हुनेछ । अल्लाहले आफ्नो वाचा अनुसार माइदा अवतरित गर्नुभयो ।
११६. याद गर जब महाप्रलयको दिन अल्लाहले मर्यम पुत्र ईसा अ. लाई सम्बोधन गरेर भन्नुहुनेछ- हे मर्यम पुत्र ईसा ! के तिमीले मानिसहरूलाई भनेका थियौ कि तिमीहरूले अल्लाहलाई छोडेर मलाई र मेरी आमालाई ईश्वार बनाऊ ? ईसा (अलैहिस्सलाम) ले यस कुराको खण्डन गर्दै भने- सत्यबाहेक अरू केही भन्नु मेरो लागि उचित छैन । मैले त्यसो भनेको भए तपाईंलाई थाहा हुने थियो किनभने तपाईंबाट केही पनि लुकेको छैन । मेरो मनमा भएको कुरा तपाईंलाई थाहा छ तर तपाईंको मनमा रहेको कुरा मलाई थाहा छैन । निस्सन्देह तपाईं मात्र दृश्य तथा अदृश्यका महान ज्ञाता हुनुहुन्छ ।
११७. ईसा (अलैहिस्सलाम) ले आफ्ना पालनकर्तालाई भने- मैले त मानिसहरूलाई त्यही आदेश दिएँ जो तपाईंले मलाई दिनुभएको थियो कि मात्र एक अल्लाहको भक्ति गर । जबसम्म म तिनीहरूबीच जीवित रहेँ तबसम्म तिनीहरूको कार्यको निगरानी गरेँ तर जब तपाईंले मलाई जीवित आकाशतर्फ उठाउनुभयो अनि म तिनीहरूबीच रहेनँ तब हे मेरा पालनकर्ता ! तपाईंले तिनीहरूको कर्महरूको रक्षा गर्नुभयो, तपाईं सबै वस्तुमाथि गवाह हुनुहुन्छ, तपाईंबाट कुनै पनि वस्तु लुकेको छैन, मैले भनेको कुरा पनि तपाईंबाट गोप्य छैन र मपछि तिनीहरूले भनेको कुरा पनि तपाईंबाट गोप्य छैन ।
११८. हे पालनकर्ता ! यदि तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ भने निस्सन्देह उनीहरू त तपाईंकै दास हुन्, तपाईं जे चाहनुहुन्छ गर्नुहुन्छ । यदि उनीहरूमध्ये ईमान ल्याएका मानिसहरूमाथि कृपा गर्दै माफ गर्नुहुन्छ भने यसबाट तपाईंलाई कोही पनि रोक्न सक्दैन । तपाईं प्रभुत्वशाली तथा विवेकशील हुनुहुन्छ ।
११९. अल्लाहले ईसा (अलैहिस्सलाम) लाई भन्नुभयो- यो त्यो दिन हो जुन दिन सत्यवादी तथा सत्कर्मीहरूलाई तिनीहरूको सत्यताले फाइदा दिनेछ । उनीहरूका लागि यस्ता बगैँचाहरू हुनेछन् जसका महल तथा रुखहरूका तलतिरबाट नहरहरू कलकल बगि रहेका हुनेछन् । उनीहरू त्यसमा सधैँ रहनेछन्, उनीहरूलाई कहिल्यै मृत्यु आउनेछैन । अल्लाह उनीहरूसँग सधैँको लागि खुशी हुनुभयो र उनीहरू पनि सधैँ रहने कृपा पाएर अल्लाहसित खुशी भए । यो हो उनीहरूले पाएका महान बदला तथा अल्लाहको प्रसन्नता जसभन्दा महान सफलता हुनै सक्दैन ।
१२०. आकाशहरू तथा पृथ्वीमा रहेका सबै वस्तुहरूको राज्य सत्ता अल्लाहकै हातमा छ । यी दुवैलाई र यसमा रहेका सबै प्राणीहरूलाई उहाँले नै सृष्टि गर्नुभयो र उहाँ नै यी सबैको कार्य सञ्चालन गर्दै हुनुहुन्छ । उहाँ हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । उहाँलाई कोही पनि हैरान पार्न सक्दैन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें