सीधे मुख्य सामग्री पर जाएं

२८. सूरह अल-कसस (मक्की)

   शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. ता ० सीम् ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. यी स्पष्ट कुरआनका आयतहरू हुन् ।
३. हामी तपाईंसमक्ष मूसा (अलैहिस्सलाम) र फिरऔनका सत्य कथा वर्णन गर्दैछौं । यसमा कुनै शङ्का छैन । यो कथा ईमान ल्याउनेहरूका लागि वर्णन गर्दैछौं, किनभने यसबाट उनीहरू नै फाइदा उठाउनेछन् ।
४. निस्सन्देह, फिरऔनले मिस्रको भू-भागमा घमण्ड गर्यो र त्यसमाथि कब्जा जमायो । त्यहाँका बासीहरूलाई विभिन्न गुटमा विभाजित गर्यो । ती गुटहरूमध्ये एउटा गुट बनी इस्राईललाई कमजोर पार्यो । फिरऔन उनीहरूका छोराहरूलाई बद्ध गर्थे र छोरीहरूलाई सेवाको लागि अपमानित गर्न जीवित छोड्ने  गर्थे  । तिनीहरू धर्तीमा अत्याचार र घमण्ड गरेर आतङ्क मच्चाउने गर्थे । 
५. फिरऔनले मिस्रको भूभागमा कमजोर पारेका बनी इस्राईललाई हामीले उनीहरूका शत्रुहरूलाई सर्वनाश पारेर तथा उनीहरूका कमजोरीलाई समाप्त पारेर प्राथमिक्ता दिने नीयत गर्यौं,। हामीले उनीहरूलाई अगुवा बनाउने नीयत गर्यौं, ताकि उनीहरूले सत्यतर्फ मार्गदर्शन गरुन् । फिरऔनको विनाशपछि हामीले तिनीहरूलाई सीरियाको भूभागको वारिस बनाउने नीयत गर्यौं । जसरी अल्लाहले भन्नुभयो− हामीले यस्ता मानिसहरूलाई बर्कत वाला भूभागका वारिस बनायौं जो धर्तीका पूर्व र पश्चिममा कमजोर बनाइएका थिए ।
६. हामीले बनी इस्राईललाई शासक बनाएर धर्तीमा स्थापित गर्ने नीयत गर्यौं । हामीले फिरऔन र उसका ठूला सहयोगी हामान र ती दुवैका सैनिकहरूको सत्ता-शासन बनी इस्राईलमा नयाँ जन्म लिएको शिशुको हातबाट समाप्त पार्ने नीयत गर्यौं, जसको तिनीहरूलाई डर थियो ।
अल्लाहले फिरऔनको पतन र बनी इस्राईलको उदयको भविष्यवाणीपछि मूसा (अलैहिस्सलाम) को पालन पोषण देखि उनलाई सन्देष्टा बनाइने घटना क्रमको वर्णन गर्नुभयो−    
७. हामीले मूसा (अलैहिस्सलाम) को आमालाई प्रकाशना गर्यौं− उनलाई स्तन पान गराऊ ।  जब फिरऔन र उसको समुदायले उनलाई हत्या गर्नेछन् भन्ने कुराको आशङ्का  तिमीलाई हुन्छ तब उनलाई बाकसमा बन्द गरेर नील नदीमा हालि देऊ । उनी नदीमा डुब्नेछन् वा फिरऔनले उनको हत्या गर्नेछ भन्ने कुराको चिन्ता नलेऊ । विछोडको चिन्ता पनि नगर । हामीले जीवित उनलाई तपाईंतर्फ फर्काउनेछौं । हामीले उनलाई रसूल बनाएर मानिसहरूतर्फ पठाउनेछौं । 
८. उनकी आमाले हाम्रो आदेशको पालना गर्दै उनलाई बाकसमा राखेर नील नदीमा हालिदिइन् । जब फिरऔनका मानिसहरूले उनलाई फेला पारे तब उनलाई ग्रहण गरे । ताकि अल्लाहको योजना पूरा होस् । मूसा (अलैहिस्सलाम) तिनीहरूको शत्रु बनेर तिनीहरूको सत्ता-शासनलाई समाप्त पारुन् र तिनीहरूको चिन्ताको विषय बनुन् । निस्सन्देह फिरऔन  उसको मन्त्री हामान र उसका सहयोगीहरू कुफ्र, अत्याचार र धर्तीमा आतङ्क मच्चाएर पाप गर्दै थिए ।
९. जब फिरऔनले उनको हत्या गर्ने नीयत गर्यो तब उनकी श्रीमतिले भनिन्− यो शिशुले मेरो र तपाईंको मनलाई खुशी पार्नेछ, यसलाई नमार्नुस्, कि त यसले हाम्रो सेवा गरेर हामीलाई फाइदा पुर्याउनेछ कि त हामीले यसलाई दत्तक-पुत्र बनाउनेछौं । यही शिशु तिनीहरूको सत्ता-शासनको पतनको कारण बन्नेछ भन्ने कुरा तिनीहरूलाई थाहा थिएन । 
१०. मूसा (अलैहिस्सलाम) को आमाको हृदय सबै सांसारिक कुराहरूबाट खाली भयो र मात्र शिशुको चिन्ता लाग्यो । धैर्य गर्न गाह्रो भयो । हामीले उनको हृदयलाई न बाँधेको भए उनले शिशुको कुरा जाहेर गर्ने थिए । हामीले धैर्य प्रदान गरेको ले उनी अल्लाहमाथि ईमान ल्याउने र भरोसा गर्ने वाला भइन् ।
११. मूसा (अलैहिस्सलाम) लाई नदीमा हालेपछि उनकी आमाले उनकी दिदीलाई भनिन्− उनको पछि पछि जाऊ र हेर उनीसँग के कस्तो हुन्छ । उनले अलि टाढा रहेर उनको अवलोकन गरिन् ताकि शत्रुहरूलाई थाहा नहोस् । यो उनको दिदी हो र उनको बारेमा पत्ता लगाउँदैछिन् भनेर फिरऔन र उसको समुदायले थाहा पाएनन् ।
१२. अल्लाहको योजना अनुसार मूसा (अलैहिस्सलाम) ले आफ्नो आमाबाहेक अन्य कुनै पनि महिलाको स्तन-पान गरेनन् । उनलाई स्तन-पान गराउने उनीहरूको चाहना देखेर उनकी दिदीले भनिन्− के म यस्तो परिवारको बारेमा नबताऊँ जसले उनको स्तन-पान र रेखदेख राम्रो तरिकाले गर्नेछन् र जो उनको हितैषी हुन् ?  
१३. अनि हामीले मूसा (अलैहिस्सलाम) लाई उनकी आमातर्फ फर्कायौं, ताकि उनलाई नजिकबाट देखेर उनको आँखा शितल होस् । उनको बिछोडको पीडा सहन गर्न नपरोस् । उनलाई विश्वास होस् कि उनलाई उनीसम्म फर्काउने अल्लाहको वाचा सत्य हो, यसमा कुनै शङ्का छैन । तर तिनीहरूमध्ये अधिकांशलाई यस वाचाबारे थाहा थिएन । यो उनको आमा हो भन्ने कुरा उनीहरूमध्ये कसैलाई थाहा थिएन ।
अल्लाहले मूसा (अलैहिस्सलाम) को बाल्यकालको वर्णनपछि उनको यौवन अवस्थाको वर्णन गर्दै भन्नुभयो−
१४. जब मूसा (अलैहिस्सलाम) युवा अवस्थामा पुगे र उनी शारिरिक रूपमा परिपक्व भए तब हामीले उनलाई नुबुव्वतअघि बुद्धि र बनी इस्राईलको धर्मको ज्ञान प्रदान गर्यौं  । जसरी हामीले मूसा (अलैहिस्सलाम) लाई उनको आज्ञापालनको बदला दियौं त्यसरी नै हामी हरेक युग र स्थानमा सुकर्मीहरूलाई बदला दिने गर्छौं । 
१५. मूसा (अलैहिस्सलाम) ले यस्तो समयमा शहर प्रवेश गरे जब मानिसहरू घरमा आराम गर्दै थिए । उनले दुई जनालाई आपसमा झगडा गर्दै र एक अर्कालाई कुट पिट गरिराखेका पाए । एकजना उनको आफ्नै समुदाय बनी इस्राईलको थियो भने अर्को उनको शत्रु किब्ती फिरऔनको समुदायको थियो । उनको समुदायको व्यक्तिलेले शत्रुविरुद्ध मद्दत गर्न गुहारे । मूसा (अलैहिस्सलाम) ले शत्रुलाई एक मुक्का हाने, जसले गर्दा शत्रु मर्यो । मूसा (अलैहिस्सलाम) ले भने− यो शैतानको बहकावाले भयो । निस्सन्देह शैतान स्पष्ट शत्रु हो जो आफ्ना अनुयायीहरूलाई पथभ्रष्ट पार्छ । मैले जे जति गरें शैतानकै बहकावाले गरें ।  
१६. मूसा (अलैहिस्सलाम) ले आफ्नो गलती स्वीकार गर्दै प्रार्थना गरे− हे मेरा पालनकर्ता ! मैले किब्तीको हत्या गरेर आफूमाथि अत्याचार गरेको छु, मेरो पापलाई माफ गर्नुहोस् , अनि अल्लाहले मूसा (अलैहिस्सलाम) लाई माफ गर्नुभयो । निस्सन्देह उहाँ तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
१७. मूसा (अलैहिस्सलाम) ले थप दुआ गरे− हे पालनकर्ता ! तपाईंले मलाई शक्ति, विवेक र ज्ञान प्रदान गरेर जुन कृपा गर्नुभयो त्यसले गर्दा  म कदापि अपराधिहरूको अपराधमा सहयोगी बन्ने छैन । 
१८. किब्तीको हत्या भएपछि मूसा (अलैहिस्सलाम) शहरमा चौकस भएर हिँड्न थाले, यो हेर्नको लागि कि अब के हुन्छ । हिजो जुन व्यक्तिले मद्दत मागेको थियो आज अर्को किब्तीविरुद्ध मद्दतको लागि गुहार गर्यो । मूसा (अलैहिस्सलाम) ले भने− निस्सन्देह तिमी पथभ्रष्ट व्यक्ति हौ ।
१९. जब मूसा (अलैहिस्सलाम) ले किब्तीलाई हिर्काउने नीयत गरे तब इस्राईली व्यक्तिले के ठान्यो भने उनी मलाई हिर्काउन खोज्दैछन्, किनभने उनले मलाई पथभ्रष्ट भनेका छन् । अनि उसले भन्यो− के आज तपाईं मलाई मार्न चाहनुहुन्छ, जसरी तपाईंले हिजो एकजनालाई मार्नुभयो । तपाईं मानिसहरूलाई मारेर तथा उनीहरूमाथि अत्याचार गरेर यस धर्तीमा प्रभुत्व जमाउन चाहनुहुन्छ । तपाईं  दुई जना झगडा गर्नेहरूबीच सम्झौता गराउन चाहनुहुन्न ।
२०. जब यो समाचार देशमा फैलियो तब एकजना हितैषी दगुर्दै मूसा (अलैहिस्सलाम) नजिक आए र उनलाई सूचित गरे− हे मूसा ! सत्ताधारीहरू तपाईंलाई मार्न सल्लाह गर्दैछन्, तपाईं यहाँबाट भागेर अर्को देश पलायन गर्नुहोस् । तिनीहरूले तपाईंलाई पाएमा हत्या गर्नेछन् ।    
२१. मूसा (अलैहिस्सलाम) ले हितैषी व्यक्तिको कुराको पालना गर्दै चौकस भएर त्यहाँबाट भागे । उनले अल्लाहसित प्रार्थना गर्दै भने− हे मेरा पालनकर्ता ! मलाई अत्याचारी मानिसहरूबाट जोगाउनुहोस् । तिनीहरूले मलाई कुनै हानि नपुर्याउन् ।
२२. मूसा (अलैहिस्सलाम) ले मदयनतर्फ जाँदै भने−  आशा छ मेरो पालनकर्ताले मलाई भलाइको मार्ग देखाउनुहुनेछ, म त्यस बाटोबाट पथभ्रष्ट हुने छैन । 
२३. जब मूसा (अलैहिस्सलाम) मदयनको ईनारसम्म पुगे तब एउटा समूहलाई आफ्ना जनावरहरूलाई पानी खुवाउँदै पाए र दुई जना महिलाहरूलाई आफ्ना भेडहरूलाई पानी खानबाट रोक्दै पाए । मूसा (अलैहिस्सलाम) ले उनीहरूलाई सोधे− तिमीहरू किन मानिसहरूसँग जनावरहरूलाई पानी खुवाइ रहेका छैनौ ? दुवै महिलाले भनिन्− हामी सधैं यस्तै गर्छौं, मानिसहरू आफ्ना जनावरहरूलाई पानी खुवाएपछि मात्र हामी पानी खुवाउँछौं । पर पुरुषहरूसँग टाढा रहन हामी यस्तो गर्छौं । हाम्रा बुवा बुढो हुनुहुन्छ, भेडहरूलाई पानी खुवाउने अवस्थामा हनुहुन्न, त्यसैले बाध्य भएर हामीहरू नै पानी खुवाउँछौं ।
२४. मूसा (अलैहिस्सलाम) ले उनीहरूमाथि दया गर्दै उनीहरूका भेडहरूलाई पानी खुवाइदिए । फेरि रूखमुनि छायाँतर्फ गएर आराम गरे र आफ्नो आवश्यक्ता अल्लाहसमक्ष राख्दै दुआ गरे− हे मेरा पालनकर्ता ! जुन सुकै भलाई तपाईंले मलाई प्रदान गर्नुहुनेछ म त्यसको आवश्यक्तामा छु । 
२५. घर फर्केपछि दुवै जना महिलाले मूसा (अलैहिस्सलाम) को बारेमा बुवालाई सूचित गरे, अनि बुवाले एउटी छोरीलाई उनलाई बोलाउन पठाए । महिला लजाउँदै उनीसमक्ष आइन र भनिन्− मेरो बुवा तपाईंलाई बोलाउँदै हुनुहुन्छ ताकि तपाईंले हाम्रा भेडहरूलाई पानी खुवाए बापत पारिश्रमिक प्रदान गरुन् । उनीहरूका बुवाकहाँ पुगेपछि मूसा (अलैहिस्सलाम) ले आफ्ना सबै कुराहरूबाट सूचित गरे । उनले मूसा (अलैहिस्सलाम) लाई सान्त्वना दिँदै भने− अब नडराऊ, तिमी फिरऔनको अत्याचारी समुदायबाट मुक्ति पाइसकेकाछौ । मदयनमा तिनीहरूको राज चल्दैन, त्यसैले तिनीहरू तिमीलाई कुनै हानि पुर्याउन सक्दैनन् ।    
२६. उनका एक जना छोरीले भनिन्− हे बुवा ! उनलाई भेडको रेखदेखको लागि पारिश्रमिक दिएर राखिहाल्नुस् । उनी बलवान पनि छन् र इमानदार पनि । उनी इमानदारीले काम गर्ने क्षमता राख्दछन् । 
२७. उनीहरूका बुवाले मूसा (अलैहिस्सलाम) लाई भने− म तिम्रो बिहे आफ्नी दुई वटी छोरीहरूमध्ये एउटीसँग गराउन चाहन्छु । यसको महर के हुन्छ भने तिमी आठ वर्षसम्म मेरा भेडाहरूको हेरचाह गर । यदि तिमीले दस वर्षसम्म भेडाको हेरचाह गर्छौ भने यो तिम्रोतर्फबाट थप सेवा हुनेछ, तिमीमाथि यो अनिवार्य छैन । किनभने हामीहरूबीच सम्झौता आठ वर्षको छ । यसबाहेक तिमीले जति सेवा गर्छौ त्यो एच्छिक हुनेछ । म बढी जिम्मेबारी दिएर तिमीलाई अप्ठ्यारोमा पार्न चाहन्न । इन्शाअल्लाह तिमीले मलाई सत्कर्मी, वचनको पालना गर्नेहरूमध्ये पाउनेछौ । 
२८. मूसा (अलैहिस्सलाम) ले भने− यो मेरो र तपाईंबीच सम्झौता भयो । यी दुवै अवधिहरूमध्ये जुन सुकै अवधि बिताउनेछु, आठ वर्ष वा दस वर्ष, मैले आफ्नो जिम्मेबारी पूरा गर्नेछु । यसभन्दा बढीको माग नगर्नु होला । हामीबीच भएको सम्झौतामाथि अल्लाह निरिक्षक हुनुहुन्छ । 
२९. जब मूसा (अलैहिस्सलाम) ले दस वर्षको अवधि पूरा गरे तब आफ्नो परिवारलाई मदयनबाट लिएर मिस्रतर्फ प्रस्थान गरे । बाटोमा तूर पहाडतर्फ आगोलाई हेरेपछि परिवारलाई भने− तिमीहरू यहीँ पर्ख, मैले आगो देखेको छु, आशा छ म त्यहाँबाट कुनै समाचार लिएर आउँछु वा आगोको अगुल्टो लिएर आउँछु, जसलाई तापेर तिमीहरूको जाडो भाग्नेछ ।
३०. जब मूसा (अलैहिस्सलाम) त्यस आगो नजिक आए तब उनलाई अल्लाहले त्यसको दाहिनेतर्फको बर्कत युक्त उपत्यकामा रहेको रूखबाट पुकार्नुभयो− हे मूसा ! म सबै सृष्टिहरूका सृष्टिकर्ता अल्लाह हुँ ।
३१. तिमी आफ्नो लौरोलाई फ्याँक । मूसा (अलैहिस्सलाम) ले अल्लाहको आदेशको पालना गर्दै लौरो फ्याक्नुभयो । जब उनले लौरोलाई सर्प जस्तै घिस्रिरहेको देखे तब डराएर भागे र फर्केर हेरेनन् । अल्लाहले पुकारेर भन्नुभयो− हे मूसा ! फर्क र यसबाट नडराऊ । तिमी यसबाट पनि र अन्य कुराहरूबाट पनि सुरक्षित रहनेछौ । 
३२. आफ्नो दाहिने हात छातीतर्फ लिएर जाऊ अनि निकाल, त्यो कुष्ठ रोगबिना सेतो चम्किलो भएर निस्कनेछ । मूसा (अलैहिस्सलाम) ले हात हालेर निकापछि त्यो हिउँ जस्तो सेतो भएर निस्कियो । आफ्नो  बाहुला आफूसँग मिलाऊ, तिम्रो डर भाग्नेछ । मूसा (अलैहिस्सलाम) ले बाहुला आफूतर्फ मिलाउँदा उनको डर हरायो । लौरो र हात यी दुवै अल्लाहको तर्फबाट चमत्कार हुन्, जसलाई लिएर फिरऔन र उसका सहयोगीहरूतर्फ जाऊ, तिनीहरू कुफ्र र अवज्ञा गरेर अल्लाहको आज्ञापालनबाट निस्केका छन् । 
३३. मूसा (अलैहिस्सलाम) ले अल्लाहलाई भने− मैले तिनीहरूमध्ये एक जनाको हत्या गरेको थिएं । यदि म यो सन्देश लिएर तिनीहरूकहाँ जान्छु भने तिनीहरूले मेरो हत्या गर्नेछन् भन्ने मलाई डर छ । 
३४. मेरो भाइ हारून मभन्दा बढी स्पष्ट बोल्छन्, उनलाई मेरो सहयोगी बनाएर पठाउनुस् । ताकि फिरऔन र उसको समुदायले झूठो ठहर गरेमा उनले मेरो कुराको पुष्टि गरुन् । तिनीहरूले मलाई झूठो ठहर गर्नेछन् भन्ने मलाई डर छ, जस्तो कि विगतका समुदायहरूले मभन्दा अघिका रसूलहरूलाई झूठो ठहर गर्दै आएका छन् । 
३५. अल्लाहले मूसा (अलैहिस्सलाम) को दुआलाई स्वीकार गर्दै भने− म तिम्रो भाइलाई र सहयोगको लागि चाँडै नै हारून (अलैहिस्सलाम) लाई रसूल बनाएर पठाउनेछु । उसलाई तिम्रो लागि प्रमाण र सहयोगी बनाउनेछु । हामीले तिमीलाई चमत्कार प्रदान गरेको ले तिनीहरूले तिमीहरू दुवै जना र तिम्रा  मोमिन अनुयायीहरूलाई कुनै हानि पुर्याउन सक्ने छैनन् ।
३६. जब मूसा (अलैहिस्सलाम) स्पष्ट चमत्कारहरू लिएर तिनीहरूकहाँ पुगे तब तिनीहरूले भने− यो उनले आफैं रचेको कुरा हो । हामीले अघिल्ला पूर्वजहरूमा यो कुरा पाएनौं ।
३७. मूसा (अलैहिस्सलाम)  ले फिरऔनलाई सम्बोधन गरेर भने− मार्गदर्शन लिएर आएको सत्यवादीलाई अल्लाह जान्नुहुन्छ । आखिरतमा सफल हुनेलाई पनि अल्लाह जान्नुहुन्छ । अत्याचारीहरू आफ्नो योजनामा सफल हुन सक्दैनन् र यातनाबाट बच्न सक्दैनन् ।  
३८. फिरऔनले आफ्ना सहयोगीहरूलाई सम्बोधन गरेर भन्यो− हे मेरा सहयोगीहरू हो ! मबाहेक अन्य कोही ईश्वर छन् भन्ने कुरा म जान्दिन । हे हामान ! माटोलाई तताएर ईँटा बनाऊ, अनि त्यसबाट उच्च भवन बनाऊ, ताकि म मूसा (अलैहिस्सलाम)  को ईश्वरको अवलोकन गरुँ र पत्ता लगाऊँ । मलाई विश्वास छ उनी आफ्नो यस दावीमा झूठा छन् कि ऊ म र मेरो समुदायतर्फ रसूल बनाइएर पठाइएको छ । 
३९. फिरऔन र उसका सैनिकहरूको घमण्डमा झन बुद्धि भयो, र तीहरूले बिना अधिकार मिस्रको भूभागमा आफ्नो नियन्त्रण झन बढाए । तिनीहरूले पुनर्जन्मको इन्कार गरे । तिनीहरू महाप्रलयको दिन हिसाब किताबको लागि हामीतर्फ फर्केर आउने छैनन् भन ठाने । 
४०. अनि हामीले फिरऔन र उसका सैनिकहरूलाई समात्यौं र समुद्रमा हालेर चुर्लुम्म डुबाइदियौं, अनि ती सबै सर्वनाश भए । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस् कस्तो भयो अत्याचारीहरूको परिणाम । 
४१. हामीले कुफ्र र पथभ्रष्टता फैलाएर नर्कतर्फ बोलाउनेलाई अत्याचारी र पथभ्रष्टहरूको लागि पाठ बनाइदियौं । महाप्रलयको दिन तिनीहरूले एक अर्कालाई नर्कबाट जोगाएर मद्दत गर्ने छैनन् बरु तिनीहरूले नराम्रो तरिका फैलाएको ले तिनीहरूको यातनामा बृद्धि गरिनेछ । तिनीहरूले पथभ्रष्टतातर्फ आह्वान गरेको ले तिनीहरू आफ्नो पापको बोझ पनि उठाउनेछन् र आफ्ना अनुयायीहरूको बोझ पनि उठाउनेछन् । किनभने तिनीहरूले तिनीहरूको देखा सिकि गरेका हुनेछन् । 
४२. हामीले लोकमा पनि तिनीहरूको अपमान गरेर तिनीहरूको सजायमा बुद्धि गर्यौं र महाप्रलयको दिन पनि तिनीहरू निन्दा गरिनेहरूमध्ये र अल्लाहको कृपाबाट टाढा पारिनेहरू मध्ये हुनेछन् ।
४३. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं । हामीले विगतमा विभिन्न रसूलहरूलाई विभिन्न समुदायहरूसम्म पठायौं, तर तिनीहरूले झूठो ठहर गरे । तिनीहरूले झूठो ठहर गरेकोले हामीले तिनीहरूलाई सर्वनाश पार्यौं । यसका राम्रा पक्षहरूलाई जानेर मानिसहरू फाइदा उठाउँछन् र नराम्रा पक्षहरूका हानि पुर्याउने कुराहरूलाई त्यग्छन् । यसमा भलाइतर्फ मार्गदर्शन छ, लोक र परलोकका भलाइमा आधारित कृपा छन् ताकि तिनीहरूले वरदानहरूलाई याद गरुन्, त्यसको लागि अल्लाहप्रति आभार प्रकट गरुन् र अल्लाहमाथि ईमान ल्याउन् ।
४४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यतिखेर पहाडको पश्चिमतर्फ तपाईंको उपस्थिती थिएन जब हामीले मूसा (अलैहिस्सलाम) लाई फिरऔन र उसका सहयोगीहरूतर्फ जाने आदेश दिएका थियौं । तपाईंको उपस्थिती त्यहाँ नभएकोले त्यसको बारेमा मानिसहरूलाई आफैं बताउन असम्भव थियो । तपाईं जे जति बताउँदै हुनुहुन्छ त्यो अल्लाहको तर्फबाट प्राप्त वही (प्रकाशना) को आधारमा बताउँदै हुनुहुन्छ । 
४५. हामीले मूसा (अलैहिस्सलाम) पछि धेरै समुदाय र प्राणीहरू सृष्टि गर्यौ  । लामो समय बितेपछि अल्लाहसँग गरेका वाचाहरूलाई तिनीहरू बिर्से । तपाईं मदयन बासीहरूबीच पनि बस्नु भएन, तर तिनीहरूको बारेमा तपाईं बताउँदै हुनुहुन्छ । किनभने तपाईंलाई हामीले रसूल बनायौं र वही गरेर मूसा (अलैहिस्सलाम) को बारेमा बतायौं कि उनी मदयनमा बसोबास गरे । तपाईंले मानिसहरूलाई जुनसुकै कुराहरू बताउनुभयो अल्लाहको तर्फबाट अवतरित वहीको आधारमा बताउनुभयो । 
४६. तपाईंको उपस्थिती तूर पहाडको छेउमा पनि थिएन जब हामीले मूसा (अलैहिस्सलाम) लाई पुकार्यौं र उनीतर्फ वही पठायौं− तपाईं मानिसहरूलाई सूचित गर्नुहोस् । हामीले नै तपाईंलाई कृपा गरेर रसूल बनायौं र यी कुराहरू वही गर्यौं, ताकि तपाईंले ती मानिसहरूलाई खबरदार गर्नुहोस् जो समक्ष तपाईंअघि कुनै रसूल आएन । तपाईं तिनीहरूलाई डराउनुहोस्, ताकि तिनीहरूले पाठ सिकुन् र तपाईंले अल्लाहको तर्फबाट ल्याएको कुरामाथि ईमान ल्याउन् ।  
४७. तिनीहरूका कुफ्र र अवज्ञाको कारणले तिनीहरूमाथि अल्लाहको प्रकोप आएको भए तिनीहरूले हामीहरूसमक्ष रसूल आएनन् भन्ने कुरा भनेर तर्क दिने थिए र भन्ने थिए− हे हाम्रा पालनकर्ता ! हामीहरूतर्फ किन रसूल पठाउनुभएन ताकि हामीहरूले तपाईंका निशानीहरूको अनुसरण गर्ने थियौं र त्यस अनुसार कर्म गर्ने थियौं । हामीहरू ईमान ल्याएर तपाईंका आदेशहरू अनुसार कर्म गर्ने थियौं । तिनीहरूले यो तर्क पेश नगरेको भए हामीले चाँडै नै प्रकोप पठाउने थियौं । तर हामीले चाँडै प्रकोप पठाएनौं । बरु पहिला रसूल पठायौं ताकि तिनीहरूसँग कुनै बहाना नरहोस् ।
४८. जब मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) रसूल बनाइएपछि कुरैशसमक्ष आउनुभयो तब यहूदीहरूले भनेको कुरालाई तिनीहरूले प्रमाण बनाउँदै सोधे− मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई ठीक त्यस्तै हात र लौरो जस्ता चमत्कारहरू किन प्रदान गरिएन जस्ता चमत्कारहरू मूसा (अलैहिस्सलाम) लाई  प्रदान गरिएको थियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको खण्डन गर्दै भनिदुहोस्− के यहूदीहरूले मूसा (अलैहिस्सलाम) लाई प्रदान गरिएका चमत्कारहरूको इन्कार गरेनन् र तौरात र कुरआनको बारेमा भनेनन्− यी दुवै जादू हुन् जो एक अर्काको पुष्टि गर्दछ  र हामीहरू तौरात र कुरआन दुवैको इन्कार गर्दछौं ?! 
४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्− यदि तिमीहरू आफ्नो यस दावीमा सच्चा छौ कि यी दुवै जादू हुन्, तिमीहरू अल्लाहको तर्फबाट कुनै किताब ल्याएर देखाऊ, जो कुरआन र तौरातभन्दा बढी मार्गदर्शन गर्नेवाला होस्, म त्यसको अनुसरण गर्नेछु । 
५०. यदि कुरैश कुरआन र तौरातभन्दा बढी मार्गदर्शन गर्ने किताब ल्याउन सक्दैनन् भने जानिराख तिनीहरू बिना प्रमाण कुरआन र तौरातलाई झूठा ठहर गर्दैछन् । मात्र इच्छाको अनुसरणमा झूठो ठहर गर्दैछन् । अल्लाहको मार्गदर्शनलाई छोडेर इच्छाको अनुसरण गर्नेहरूभन्दा बढी अरू कोही पथभ्रष्ट हुन सक्दैनन् । अल्लाहको इन्कार गरेर आफूमाथि अत्याचार गर्नेहरूलाई अल्लाह सीधा मार्ग देखाउनुहुन्न ।
५१. हामीले बहुदेववादी र यहूदीहरूलाई विगतका समुदायहरूका सत्य कथाहरू बतायौं  । तिनीहरूले रसूलहरूलाई झूठा ठहर गरे पनि हामीले प्रकोप पठाएनौं, यस आशाका साथ कि तिनीहरूले पाठ लिएर ईमान ल्याउनेछन् । 
५२. कुरआनको अवतरणअघि जुन अहले किताबहरू तौरातमाथि ईमान ल्याए तिनीहरूले कुरआनको अवतरणपछि यसमाथि पनि ईमान ल्याए । किनभने उनीहरूले आफ्ना किताबहरूमा कुरआनको बारेमा सूचना र यसको प्रशंसा पाएका थिए ।
५३. जब तिनीहरूसमक्ष कुरआनको पाठ गरियो तब तिनीहरूले भने− हामीले यसमा ईमान ल्यायौं । यो सत्य हो र यसमा कुनै सन्देह छैन । यो हाम्रा पालनकर्ताको तर्फबाट अवतरण गरिएको छ । हामीहरू यस कुरआनको अवतरणअघि पनि रसूलहरूले ल्याएका सन्देशमाथि ईमान राखेको कारणले मुस्लिम थियौं । 
५४. यस्ता अहले किताबहरूलाई हामीले दुई गुणा प्रतिदान दिनेछौं, किनभने उनीहरूले आफ्नो किताबमाथि पनि ईमान राखे र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमनपछि उहाँमाथि पनि ईमान ल्याए । उनीहरू सत्कर्महरू गरेर आफ्ना पापहरूलाई मेटाउँछन् । हामीले प्रदान गरेका जीविका भलाइको कार्यमा खर्च गर्छन् ।  
५५. यी मोमिनहरू अहले किताबबाट कुनै नराम्रो कुरा सुनेपछि त्यसलाई नजर अन्दाज गर्छन् । आफ्ना साथीहरूलाई सम्बोधन गरेर भन्छन्− हाम्रा लागि हाम्रा कर्महरूको प्रतिदान र तिमीहरूका लागि तिमीहरूका कर्महरूको प्रतिदान । हाम्रो तर्फबाट तिमीहरूले कुनै गाली र कष्ट पाउने छैनौ । हामी अशिक्षितहरूसँग हेल मेल चाहन्नौं, किनभने तिनीहरू सांसारिक र धार्मिक मामिलामा कष्ट दिन्छन् ।
५६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले जसलाई चाहनुभएमा उसलाई मार्गदर्शन गर्न  सक्नुहुन्न, जस्तै अबू तालिब इत्यादि । अल्लाहले जसलाई चाहनुहुन्छ उसलाई मात्र मार्गदर्शन गर्नुहुन्छ । कसले सीधा मार्ग पाउनेछ भन्ने कुरा अल्लाह आफ्नो  पूर्व ज्ञानको आधारमा जान्नुहुन्छ । 
५७. मक्काका बहुदेववादीहरूले बहाना गर्दै भने− यदि हामीहरू इस्लाम धर्मलाई स्वीकार गर्छौं भने शत्रुहरूले चाँडै नै हामीहरूबाट हाम्रो भूमिलाई छिन्नेछन् । के हामीले यी बहुदेववादीहरूलाई हरममा स्थापित गरेनौं जहाँ रक्तपात र अत्याचार हराम गरिएको छ । जहाँ तिनीहरू आक्रमणबाट सुरक्षित छन् र हाम्रा जीविका र फल फुल पाउँदैछन् । तर तिनीहरूमध्ये अधिकांश अल्लाहका वरदानलाई जान्दैनन् र त्यसको लागि अल्लाहप्रति आभार प्रकट गर्दैनन् ।
५८. अधिकांश गाउँहरू जसले अल्लाहका वरदानको इन्कार गरे र खुबै पाप गरे, हामीले प्रकोप पठाएर ती सबैलाई सर्वनाश पार्यौं । यी तिनीहरूका सखाप पारिएका घरहरू हुन् जसको छेउबाट मानिसहरू हिँड्ने गर्छन् । त्यहाँ केही आवत जावत गर्नेहरूबाहेक कसैले बसोबास गरेका छैनन् । हामी नै आकाशहरू, पृथ्वी र यी दुवैमा रहेका सबै वस्तुहरूका वारिस हौं ।  
५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब सम्म हामी कुनै ठूलो गाउँमा रसूल पठाएर सत्य प्रमाणित गर्दैनौं तब सम्म त्यसलाई सर्वनाश गर्दैनौं । जसरी हामीले तपाईंलाई मक्कामा पठायौं जो गाउँहरूको केन्द्र हो । जब सम्म गाउँ बासीहरू सत्यमा कायम रहन्छन् तब सम्म हामी त्यसलाई सर्वनाश गर्दैनौं । जब तिनीहरू कुफ्र र अवज्ञा गरेर अत्याचार गर्छन् तब हामी तिनीहरूलाई सर्वनाश गर्छौं । 
जब बहूदेववादीहरूले बहाना गरे− यदी हामीहरू सत्यको अनुसरण गर्छौं भने हामीहरूलाई युद्धको सामना गर्नुपर्छ र ब्यापारबाट वञ्चित गरिनेछौं तब अल्लाहले जवाफमा भन्नुभयो− 
६०. सांसारिक जीवनमा अल्लाहले जे जति धन-सम्पत्ति प्रदान गर्नुभएको छ जसबाट तीमीहरू लाभ उठाउँदैछौ र बनाव सिङ्गार गर्दैछौ ती सबै एक दिन समाप्त हुनेछ । आखिरतमा अल्लाहकहाँ रहेको महान प्रतिदान सांसारिक धन-सम्पत्ति र चमक दमकभन्दा उत्तम पनि छ सदा सर्वदा रहनेवाला पनि छ । के तिमीहरू बुद्धि र विवेकबाट काम लिँदैनौ जसले गर्दा क्षणिकलाई सधैँ रहनेमाथि ग्राहयता दिन्छौ ?!
६१. के यस्ता मानिसहरू जसलाई हामीले आखिरतमा स्वर्ग र त्यसका वरदानमा हाल्नेछौं,  ती मानिसहरू सरह हुन सक्छन् जसलाई हामीले सांसारिक धन-सम्पत्ति प्रदान गरेका छौं र महाप्रलयको दिन तिनीहरू नर्कमा हाजिर गरिनेछन् ?! 
६२. त्यस दिन अल्लाहले पुकारेर सोध्नुहुनेछ− कहाँ छन् तिमीहरूले ठानेका मेरा साझेदारहरू जसको पूजा तिमीहरू गर्ने गर्थ्यौ ? 
६३. कुफ्रतर्फ आह्वान गर्नेहरू जसमाथि मेरो यातना अनिवार्य भयो ले भन्नेछन्− हे हाम्रा पालनकर्ता ! यी हुन् जसलाई हामीले पथभ्रष्ट पार्यौं । जसरी हामीहरू पथभ्रष्ट भयौं त्यसरी हामीहरूले पनि यिनीहरूलाई पथभ्रष्ट पार्यौं । यिनीहरूसँग र यिनीहरूले शैतानको पूजा गरि रखेको कार्यबाट हाम्रो कुनै सरोकार छैन ।
६४. तिनीहरूलाई भनिनेछ− तिमीहरू जुन अपमानमा छौ त्यसबाट जोगाउनको लागि ती भगवानहरूलाई बोलाऊ जसलाई तिमीहरू अल्लाहसँग साझेदार ठहर गरेका थियौ । तिनीहरूले ती भगवानहरूलाई पुकार्नेछन् तर तिनीहरूले कुनै जवाफ दिने छैनन् । तिनीहरूले आफ्नो लागि तयार यातनालाई देख्नेछन् । तिनीहरूले संसारमा सत्य मार्ग अवलम्बन गरेका भए भन्ने कुराको कामना गर्नेछन् । 
६५. त्यस दिन अल्लाहले तिनीहरूलाई पुकारेर भन्नेछन्− मैले तिमीहरूतर्फ पठाएका रसूलहरूलाई तिमीहरूले के जवाफ दियौ ? 
६६. तिनीहरू सबै तर्कहरू बिर्सनेछन्, कुनै जवाफ फुर्ने छैन । तिनीहरू यातनामा पर्नेछन् भन्ने कुराको तिनीहरूलाई विश्वास भएको ले  तिनीहरू एक अर्कालाई सोध्ने पनि छैनन् ।
६७. यी बहुदेववादीहरूमध्ये जसले आफ्नो कुफ्रबाट तौबा गर्नेछन्, अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याउनेछन् र सत्कर्म गर्नेछन् आशा छ उनीहरूले चाहना गरेका कुराहरू पाउनेछन् र मन नपराएका कुराहरूबाट बच्नेछन् ।
६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाह जे चाहनुहुन्छ सृष्टि गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ आफ्नो आज्ञापालन र ईशदूतत्वको लागि चयन गर्नुहुन्छ । बहुदेववादीहरूलाई अल्लाहमाथि टिका टिप्पणि गर्ने कुनै अधिकार छैन । तिनीहरू अल्लाहसँग जुन भगवानहरूलाई साझेदार ठहर गरेर पूजा गर्छन् त्यसबाट उहाँ अति उच्च र पवित्र हुनुहुन्छ ।
६९. तिनीहरूले आफ्ना मनमा लुकाएका र व्यक्त गरेका कुराहरूबाट अल्लाह अवगत हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले त्यसको बदला दिनुहुनेछ ।
७०. अल्लाह पवित्र हुनुहुन्छ, उहाँबाहेक कोही पनि वास्तविक पूज्य हुन सक्दैन । उहाँ कै लागि लोकमा पनि प्रशंसा छ र परलोकमा पनि । उहाँको कानुन अवश्य नै लागु हुनेछ, कोही पनि त्यसलाई रोक्न सक्दैन । महाप्रलयको दिन तिमीहरू उहाँतर्फ नै हिसाब र बदलाको लागि फर्काएर लगिनेछौ ।
७१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− मलाई बताऊ, यदि अल्लाहले महाप्रलयसम्म सधैंको लागि राति बनाउनुहुन्छ भने छ कोही अल्लाहबाहेक तिमीहरूको भगवान जसले उज्यालो दिन ल्याउन सकोस् ?! के तिमीहरू यी प्रमाणहरू सुन्दैनौ र यो कुरा जान्दैनौ कि अल्लाहबाहेक कोही पनि उज्यालो दिन ल्याउन सक्दैन ?!
७२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− मलाई बताऊ, यदि अल्लाहले महाप्रलयसम्म सधैंको लागि दिन बनाउनुहुन्छ भने छ कोही अल्लाहबाहेक तिमीहरूको भगवान जसले राति ल्याउन सकोस् जसमा तिमीहरू आराम गर्छौ ?! के तिमीहरू यी निशानीहरू देख्दैनौ र यो कुरा जान्दैनौ कि अल्लाहबाहेक कोही पनि उज्यालो दिन ल्याउन सक्दैन ?! 
७३. हे मानव ! अल्लाहका कृपाहरूमध्ये हो कि उहाँले तिमीहरूका लागि अन्ध्यारो राति बनाउनुभयो ताकि त्यसमा तिमीहरू दिनको थकाइ समाप्त पार्न आराम गर । उहाँले तिमीहरूका लागि उज्यालो दिन बनाउनुभयो ताकि तिमीहरू त्यसमा जीविकाको खोजिको लागि भाग दौड गर्न सक । ताकि तिमीहरू अल्लाहका वरदानहरूका लागि उहाँप्रति आभार प्रकट गर र बेगुणी नबन । 
७४. त्यस दिन अल्लाहले पुकारेर सोध्नुहुनेछ− कहाँ छन् तिमीहरूले ठानेका मेरा साझेदारहरू जसको पूजा तिमीहरू गर्ने गर्थ्यो ?
७५. हामीले त्यस दिन प्रत्येक समुदायबाट उसका रसूललाई हाजिर गर्नेछौं जसले आफ्नो समुदायविरुद्ध गवाही दिनेछन् कि कसरी तिनीहरूले इन्कार गरे र झूठो ठहर गरे । हामीले ती समुदायहरूका झूठा ठहर गर्नेहरूलाई भन्नेछौं− तिमीहरूले गरेको कुफ्र र झूठो ठहर गरेको प्रमाण प्रस्तुत गर । तिनीहरू प्रमाण प्रस्तुत गर्न असफल हुनेछन्  र तिनीहरू विश्वास गर्नेछन्− सत्य अल्लाह नजिक छ । तिनीहरूले अल्लाहको लागि रचेका साझेदारहरू गुम्नेछन् ।
अल्लाहले सत्ताको कारणले फिरऔनको घमण्डको वर्णन गरेपछि धन-सम्पत्तिको कारणले कारूनमा आएको घमण्डको वर्णन गर्दै भन्नुभयो−
७६. निस्सन्देह कारून मूसा (अलैहिस्सलाम) को समुदायमध्ये थियो तर उसले तिनीहरूमाथि घमण्ड गर्यो । हामीले उसलाई यति सम्पत्ति दिएका थियौं जसको साँचाहरू एउटा बलियो जमातले उठाउने गर्थ्यो । जब यसको समुदायका मानिसहरूले भने− घमण्डले गर्दा नफुल । अल्लाह घमण्डले फुल्नेहरूलाई मन पराउनुहुन्न । बरु आक्रोषित हुनुहुन्छ र यातना दिनुहुन्छ ।
७७. अल्लाहले प्रदान गर्नुभएको धन-सम्पत्तिलाई अल्लाहको मार्गमा खर्च गरेर आखिरतको घरको लनगि पुण्य प्राप्त गर । सांसारिक खान, पिन, लुगा फाटा इत्यादिमा खर्च गर्न पनि नबिर्स । त्यसमा अपव्याय पनि नगर र कञ्जुस्याईं पनि नगर । अल्लाह र उहाँका भक्तहरूसँग राम्रो व्यवहार गर, किनभने अल्लाहले तिमीमाथि कृपा गर्नुभयो । अल्लाहको अवज्ञा गरेर र उहाँको आज्ञापालनलाई त्यागेर धर्तिमा आतङ्क नमच्चाऊ । अल्लाह धर्तिमा आतङ्क मच्चाउनेहरूलाई मन पराउनुहुन्न बरु रोष प्रकट गर्नुहुन्छ ।
७८. कारूनले जवाफ दियो− यी धन-सम्पत्ति मलाई मेरो ज्ञान र सामर्थ्यले गर्दा प्राप्त भएको छ । म यसको हकदार छु । के कारूनलाई थाहा छैन निस्सन्देह अल्लाहले यसअघि विभिन्न समुदायहरूलाई सर्वनाश पार्नुभयो जो ऊभन्दा बढी शक्तिशाली थिए र बढी धन-सम्पत्ति जम्मा गरेका थिए ?! तर तिनीहरूलाई तिनीहरूका शक्ति र धन-सम्पत्तिले कुनै फाइदा पुर्याएन । अल्लाहलाई राम्ररी ज्ञान भएको ले अपराधीहरूलाई तिनीहरूको अपराधको बारेमा सोधिने छैन । तिनीहरूको निन्दाको लागि मात्र सोधिनेछ ।
७९. एक दिन कारून ठाठ बाठका साथ निस्क्यो । कारूनका साथीहरूमध्ये सांसारिक धन-सम्पत्ति मन पराउनेहरूले भने− कारून जस्तै हामीहरूलाई पनि धन-सम्पत्ति प्राप्त भएको भए कति राम्रो हुन्थ्यो । निस्सन्देह कारून अति भाग्यशाली छ । 
८०. तर ज्ञानी मानिसहरूले जब कारूनलाई ठाठ बाठका साथ निस्कदै देखे र उसका साथीहरूले गरेको कामनालाई सुने तब भने−  तिमीहरूको बरबादी होस् ! आखिरतमा अल्लाहको पुण्य र उहाँले ईमान ल्याएर सत्कर्म गरेका लागि तयार पार्नुभएको वरदान ती सांसारिक धन-सम्पत्तिभन्दा उत्तम छ जो कारूनलाई दिइएको छ । यो वाणी भन्ने र सत्कर्म गर्ने अवसर ती धैर्य धारण गर्नेहरूलाई मात्र प्राप्त हुन्छ जो अल्लाहकहाँ रहेको पुण्यलाई क्षणिक सांसारिक धन-सम्पत्तिमाथि प्राथमिक्ता दिन्छन् । 
८१. हामीले कारूनलाई उसको घर, त्यसमा रहेका सबै मानिस र सम्पत्तिसमेत उसको अत्याचारको सजायस्वरूप धर्तीमा धसाइदियौं । न त मानिसहरूको समूहले उसको मद्दत गर्यो न उसले स्वयम् आफ्नो मद्दत गर्न सक्यो । 
८२. जुन मानिसहरूले धन-सम्पत्ति र तडक भडकको कामना गरेका थिए,  कारूनलाई धर्तिमा धसाइएपछि पछुतो गर्दै र पाठ सिक्दै भन्न थाले− हामीहरूलाई थाहा थिएन− अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ अनगन्ति जीविका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ थोरै जीविका प्रदान गर्नुहुन्छ ?! यदि अल्लाहको कृपा नभएको भए उहाँले हामीहरूले भनेको कुरा ले गर्दा कारून जस्तै हामीहरूलाई पनि धर्तिमा धसाउनुहुन्थ्यो । काफिरहरू न त लोकमा सफल हुन्छन् न परलोकमा, बरु दुवैमा असफल हुन्छन् ।
८३. आखिरतको घरलाई ती मानिसहरूका लागि वरदान र सम्मानको घर बनाउनेछौं जो धर्तिमा घमण्ड गर्दैनन् । बरु सत्य कुरामा ईमान ल्याउँछन् र त्यसको अनुसरण गर्छन् । धर्तिमा आतङ्क मच्चाउन खोज्दैनन् । यिनीहरूका लागि राम्रो परिणाम छ, त्यो हो स्वर्गका वरदानहरू । उनीहरूले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गरेका कार्यहरूबाट बचेर उहाँका प्रसन्नता प्राप्त गर्छन् । ईशभय राख्नेहरूलाई अल्लाहका प्रसन्नता प्राप्त हुन्छ । 
८४. महाप्रलयको दिन जुन मानिसहरू सलाह, जकात, सियाम इत्यादि जस्ता सत्कर्महरू लिएर हाजिर हुनेछन् उनीहरूलाई त्यसभन्दा उत्तम बदला प्रदान गरिनेछ । उनीहरूका सत्कर्महरूलाई दस गुणा बढाइनेछ । महाप्रलयको दिन जुन मानिसहरू कुफ्र, ब्याज, व्यभिचार इत्यादि जस्ता दुष्कर्महरू लिएर हाजिर हुनेछन्, तिनीहरूलाई तिनीहरूले गरेका दुष्कर्म बराबर सजाय दिइनेछ, सजायमा थपिने छैन । 
८५. निस्सन्देह जुन अल्लाहले तपाईंमाथि कुरआन अवतरण गर्नुभयो, यसको प्रचार प्रसार र यसको पालना अनिवार्य गर्नुभयो उहाँले नै तपाईंलाई विजयी बनाएर मक्का फर्काउनुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूलाई भनिदिनुहोस्− को सत्य लिएर आएको छ र को स्पष्ट पथभ्रष्टतामा छ भन्ने कुरालाई मेरा पालनकर्ता राम्ररी जान्नुहुन्छ ।
८६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंमाथि कुरआन अवतरण गरिनेछ भन्ने कुरालाई रसूल बनाइनुअघि तपाईंले सोच्नु भएको थिएन । अल्लाहको विशेष कृपाले तपाईंमाथि कुरआन अवतरण गरियो । अतः तपाईं काफिरहरूको पथभ्रष्टतामा मद्दत नगर्नुहोस् ।
८७. कुरआनको अवतरणपछि यी बहुदेववादीहरूले तपाईंलाई अल्लाहका श्लोकहरूको पाठ र आह्वानबाट रोकुन् नसकुन् । मानिसहरूलाई एक अल्लाहको भक्ति र उहाँको कानुनको पालनातर्फ आह्वान गरिराख्नुहोस् । बहुदेववादीहरूमध्ये नबन्नुहोस् जो अल्लाहका साथ अन्य देवी देवताहरूको पूजा गर्छन्, बरु एकेश्वरवादीहरूमध्ये बन्नुहोस्, जो मात्र अल्लाहको भक्थि गर्छन् ।  
८८. अल्लाहको साथमा अन्य कुनै ईश्वरको भक्ति नगर्नुहोस्, किनभे अल्लाहबाहेक कुनै सत्य ईश्वर छैन । अल्लाहबाहेक सबै मर्नेछन् । उहाँको शासन मात्र चल्दछ, उहाँले जे चाहनुहुन्छ त्यसको आदेश दिनुहुन्छ । महाप्रलयको दिन हिसाब र बदलाको लागि उहाँतर्फ नै फर्काएर लगिनेछौ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...