सीधे मुख्य सामग्री पर जाएं

३६. सूरह या. सीन. (मक्की)

  शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. या. सीन. । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । 
२. अल्लाह कुरआनको कसम खानुहुन्छ जसका आयतहरू ठोस छन्, जसको अगाडि पछाडिबाट असत्य प्रवेश गर्दैन ।
३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले भक्तहरूसम्म पठाउनुभएका रसूलहरूमध्ये तपाईं पनि हुनुहुन्छ । ताकि उनीहरूले मानिसहरूलाई एक अल्लाहको भक्तिको आह्वान गरुन् । 
४-५. अल्लाहको तर्फबाट पक्का तरिका र सीधा कानुन अनुसार । अल्लाह प्रभुत्वशाली हुनुहुन्छ, जसमाथि कोही विजयी हुन सक्दैन र उहाँ मोमिन भक्तहरूमाथि दयावान हुनुहुन्छ ।
६. हामीले तपाईंमाथि कुरआन अवतरण गर्यौं ताकि तपाईंले अरब बासीहरूलाई सावधान गराउनुहोस् जसलाई सावधान गराउन पहिला रसूल आएनन्, जसले गर्दा तिनीहरू ईमान र एक अल्लाहको भक्तिबाट टाढा छन् । यसरी नै सावधान नगराइएका समुदायहरूलाई रसूलको आवश्यक्ता हुन्छ । 
७. यिनीहरूमध्ये अधिकांशमाथि अल्लाहको प्रकोप अनिवार्य भइ सकेको छ किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अल्लाहको सन्देश पुर्याइ सके पनि तिनीहरू ईमान ल्याएनन् बरु कुफ्रमै जिद्दी गरे । तिनीहरूले अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याउने छैनन् र तिनीहरूसमक्ष पुगेको सत्यको पालना गर्ने छैनन् ।
८. यस सम्बन्धमा तिनीहरूको उदाहरण यस्ता मानिसहरू जस्तो छ जसको घाँटीमा नेल बाँधिएको हुन्छ  र जसका दुवै हात गर्धनसँग यसरी बाँधिएका हुन्छन् कि तिनीहरू आकाशतर्फ हेर्न बाध्य हुन्छन् र तलतिर हेर्न सक्दैनन् । तिनीहरू अल्लाहमाथि ईमान ल्याउनबाट बाँधिएका छन्, तिनीहरूका सिर अल्लाहसमक्ष निहुरिदैन । 
९. हामीले तिनीहरूका अगाडि, पछाडि पर्दा राखिदिएका छौं र तिनीहरूका आँखालाई छोपि दिएका छौं जसले गर्दा तिनीहरू सत्यबाट फाइदा उठाउने गरी त्यसलाई हेर्न सक्दैनन् । यो तिनीहरूको शत्रुता र कुफ्रमाथि जिद्दीले गर्दा भएको छ ।
१०. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले तिनीहरूलाई डराउनु होस् वा नडराउनुहोस् तिनीहरूले तपाईंले ल्याउनुभएको सन्देशमाथि ईमान ल्याउने छैनन् ।
११. तपाईंको डरावाबाट यस्ता मानिसहरूले मात्र लाभ उठाउनेछन् जसले यस कुरआनको पुष्टि गरे, त्यसमा रहेको सन्देशको अनुसरण गरे, एकान्तमा अल्लाहसित डराए । यस्ता मानिसहरूलाई बताउनुहोस्− अल्लाहले तिनीहरूका पापहरूलाई माफ गर्नुहुनेछ र महान प्रतिदान स्वर्ग प्रदान गर्नुहुनेछ ।
१२. हामीले नै महाप्रलयको दिन हिसाबको लागि मृतहरूलाई जीवित पार्नेछौं, तिनीहरूले सांसारिक जीवनमा गरेका राम्रा र नराम्रा कार्यहरूलाई लेख्दैछौं । हामीले तिनीहरूले गरेका सत्कर्मका असरहरू जस्तै सदकए जारिया (निरन्तर जारी रहने दान) पनि लेख्दैछौं र दुष्कर्मका असरहरू जस्तै कुफ्रलाई पनि लेख्दैछौं । हामी सबै कुराहरूलाई लौहे महफूज (सुरक्षित बही खाता) मा लेख्दैछौं ।
१३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने शत्रुहरूको लागि उदाहरण वर्णन गर्नुहोस्, ताकि तिनीहरूले त्यसबाट पाठ लेउन्− त्यो एउटा गाउँ बासीको सत्य कथा हो । जब तिनीहरूकहाँ रसूलहरू आए ।
१४. शुरुमा हामीले तिनीहरूकहाँ दुई जना रसूलहरू पठायौं, जसले तिनीहरूलाई एक अल्लाहको भक्तिको लागि आह्वान गरे । तिनीहरूले दुवै रसूलहरूलाई झूठा ठहर गरे । अनि हामीले तेस्रो रसूल पठाएर उनीहरूलाई बलियो पार्यौं । तीनै जना रसूलहरूले गाउँ बासीहरूलाई भने− हामी तीनै जना अल्लाहका रसूल हौं र तिमीहरूलाई एक अल्लाहको भक्ति र उहाँको कानुनको पालनातर्फ आह्वान गर्नको लागि आएका छौं । 
१५. गाउँ बासीहरूले रसूलहरूलाई भने− तिमीहरू हामीहरू जस्तै मानव हौ । हामीहरूको तुलनामा तिमीहरूमा कुनै विशेषता छैन । तिमीहरूमाथि करुणामय अल्लाहले कुनै वही (प्रकाशना) अवतरण गर्नुभएको छैन । यसबारेमा तिमीहरू मात्र झूठो बोल्दैछौ ।
१६. तीनै जना रसूलहरूले भने− हे गाउँ बासीहरू हो ! अल्लाहलाई थाहा छ हामीहरू उहाँतर्फबाट पठाइएका रसूल हौं । यो प्रमाण हाम्रो लागि पर्याप्त छ ।
१७. हामीहरूको जिम्मेबारी तिमीहरूतर्फ अल्लाहको सन्देशलाई स्पष्टरूपमा पुर्याउनु मात्र हो । मार्गदर्शन दिने शक्ति हामीहरूमा छैन ।
१८. गाउँ बासीहरूले भने− हामीहरूले तिमीहरूलाई अशुभ मान्यौं । यदि तिमीहरूले एक अल्लाहको भक्तितर्फ आह्वान गर्न बन्द गरेनौ भने हामीहरूले तिमीहरूलाई ढुङ्गा मुडा बर्साएर मारिदिनेछौं र तिमीहरूलाई अवश्य नै खुबै कष्ट पुग्नेछ । 
१९. रसूलहरूले जवाफमा भने− तिमीहरूले अल्लाहको इन्कार र रसूलहरूको अनुसरण गरेकोले तिमीहरू नै अशुभ हौ । के हामीहरूले तिमीहरूलाई अल्लाहको स्मरण गराउँदा हामीहरूलाई अशुभ ठान्दछौ ? बरु तिमीहरूले कुफ्र र अवज्ञा गरेर जियादती गर्ने मानिसहरू हौ । 
२०. गाउँका मानिसहरूले रसूलहरूलाई झूठा ठहर गर्नेछन् र उनीहरूलाई हत्या गर्ने र कष्ट पुर्याउने धमकी दिनेछन् भन्ने आशङ्काले गाउँको टाढा स्थानबाट एकजना दगुर्दै आए र भने− हे मेरा समुदाय ! तिमीहरू यी रसूलहरूले भनेका कुराहरूको अनुसरण गर ।
२१. हे मेरा समुदाय ! तिमीहरू यस्ता रसूलहरूको अनुसरण गर जो अल्लाहको सन्देश पुर्याउने बापत तिमीहरूसित कुनै प्रतिदान माग्दैनन् । उनीहरू अल्लाहको जुन सन्देश पुर्याउँदैछन् त्यसमा सीधा मार्गमा छन् । यस्ता रसूलहरू अनुसरण गरिने योग्य छन् ।
२२. यस हितैषी व्यक्तिले थप भने− सृष्टिकर्ता अल्लाहको भक्तिबाट मलाई र तिमीहरूलाई कसले रोक्न सक्छ, जब कि बदलाको लागि पुनः जीवित भएर उहाँतर्फ नै फर्केर जानुछ ?! 
२३. के म सृष्टिकर्ता अल्लाहलाई छोडेर बिना प्रमाण अरूको भक्ति गरुँ ?! यदि करुणामय अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहेमा यी झूठा पूज्यहरूको सिफारिशले कुनै फाइदा पुर्याउने छैन । यिनीहरू मेरो फाइदा र हानिको शक्ति राख्दैनन् । कुफ्रमा मेरो मृत्युभएमा अल्लाहले कष्ट दिन खोजेमा यिनीहरूले मलाई बचाउन सक्दैनन् ।
२४. मैले अल्लाहलाई छोडेर यिनीहरूलाई पूज्य बनाएमा ठूलो गलती गर्नेछु । यस्तो गरेमा म यस्ता झूठाहरूको भक्ति गर्नेछु जो भक्तिको हक राख्दैनन् । यसो गरेमा म भक्तिको असल हकदार ईश्वरको भक्तिलाई छोड्नेछु ।
२५. हे मेरा समुदाय ! सुन, मैले आफ्नो र तिमीहरूको पालनकर्तामाथि ईमान ल्याएको छु । तिमीहरूले मलाई हत्याको जुन धमकी दि रहेका छौ, त्यसको मलाई कुनै पर्वाह छैन । उनका समुदायले उनको हत्या गरे अनि अल्लाहले उनलाई स्वर्गमा प्रवेश गराउनुभयो ।
२६-२७. उनको शहादतपछि उनको सम्मान गरिँदै भनियो− स्वर्गमा प्रवेश गर । स्वर्गमा प्रवेश गरेपछि र त्यहाँ रहेका वरदानहरू देखेपछि उनले कामना गर्दै भने− मलाई झूठो ठहर गरेर मेरो हत्या गरेको समुदायले मलाई प्राप्त भएको क्षमादान र सम्मानबारे जानेको भए तिनीहरूले पनि म जस्तै ईमान ल्याउने थिए र मैले पाएको प्रतिदान जस्तै प्रतिदान पाउने थिए ।
२८. कुनै झूठो ठहर गर्ने र हत्या हिंसा गर्ने समुदायलाई सर्वनाश पार्नको लागि आकाशबाट फरिश्ताहरूको सैन्य दल पठाउने आवश्यता हामीलाई पर्दैन । जब हामी कुनै समुदायलाई सर्वनाश पार्छौं तब त्यसको लागि फरिश्ताहरू पठाउँदैनौं । हाम्रो लागि त्यो भन्दा सजिलो उनीहरूलाई आदेश दिनु हो । हामीले के निश्चित गरेकाछौं भने हामीले तिनीहरूलाई आकाशबाट भयङ्कर आवाज पठाएर सर्वनाश पारौं न कि प्रकोपका फरिश्ताहरू पठाएर ।
२९. अनि हामीले त्यसको समुदायलाई एउटा भयङ्कर आवाज पठाएर सर्वनाश पार्यौं । तिनीहरू सबै पछाडिए, कोही पनि बाँकि बचेन । तिनीहरू दन्किदो आगो जस्तो थियो जो पूर्णरूपमा निभ्यो, कुनै प्रभाव बाँकि रहेन । 
३०. झूठो ठहर गर्नेहरूले महाप्रलयको दिन यातनालाई देखेपछि धेरै पछुताउनेछन् किनभने  सांसारिक जीवनमा तिनीहरूले रसूलहरूलाई झूठो ठहर गरेका थिए ठट्टा गरेका थिए । अल्लाहको शानमा कमि गरेको कारणले महाप्रलयको दिन तिनीहरूलाई यस्तो सजाय दिइनेछ । 
३१. के यी रसूलहरूलाई झूठा ठहर गर्ने र ठट्टा गर्नेहरूले विगतका समुदायहरूको परिणामबाट पाठ लिएनन् ? तिनीहरूको सर्वनाश भयो र पुनः संसारमा फिर्ता आएनन् । तिनीहरू आफ्ना कर्महरूतर्फ हस्तान्त्रण गरिए र अल्लाहले चाँडै नै त्यसको सजाय दिनुहुनेछ ।
३२. महाप्रलयको दिन सबै समुदायहरूलाई पुनः जीवित पारेर हामीसमक्ष हाजिर गरिनेछ र हामीले तिनीहरूका कर्महरूको बदला दिनेछौं ।
३३. पुनर्जन्मलाई झूठा ठहर गर्नेहरूका लागि प्रमाण के छ भनेः हामीले यस सुकेको भूमिमाथि आकाशबाट पानी बर्सायौं र त्यसमा नाना प्रकारका बाली नाली उमार्यौं र मानिसहरूको भोजनको लागि त्यसमा नाना प्रकारका अन्न सृष्टि गर्यौं । अतः जुन अल्लाहले यस मृत भूमिलाई जीवित पार्ने शक्ति राख्नुहुन्छ, उहाँ मृतहरूलाई पुनः जीवित पार्ने शक्ति पनि राख्नुहुन्छ ।
३४. हामीले वर्षा बर्साएको भूमिमाथि खजुर र अङ्गुरका बगैँचाहरू सृष्टि गर्यौं, त्यसको सिंचाइको लागि पानीका मूलहरू फुटायौं । 
३५. ताकि मानिसहरू अल्लाहले प्रदान गर्नुभएका ती बगैँचाहरूका फल खाउन् । यी बगैँचाहरू उमार्नमा तिनीहरूको कुनै प्रयास छैन । अनि तिनीहरू मात्र अल्लाहको भक्ति गरेर र उहाँका रसूलहरूमाथि ईमान ल्याएर उहाँका वरदानहरूका लागि उहाँप्रति आभार किन प्रकट गर्दैनन् ?। 
३६. पवित्र हुनुहुन्छ अल्लाह, जसले नाना प्रकारका बोट बिरुवा र रुखहरू उमार्नुभयो, मानवबाट पुरुष र महिला बनाउनुयो । थल र जल इत्यादिमा अल्लाहका अन्य धेरै सृष्टिहरू छन् जसलाई मानिसहरू जान्दैनन् ।
३७. मात्र एक अल्लाह पूज्य हुनुहुन्छ भन्ने कुराको एउटा प्रमाण मानिसहरूका लागि यो पनि हो कि यदि हामीले प्रकाशलाई समाप्त पारेर सधैंको लागि दिनलाई अन्धकार रातिमा परिणत गर्छौं भने मानिसहरू सधैंको लागि अन्धकारमा हुनेछन् ।
३८. मात्र एक अल्लाह पूज्य हुनुहुन्छ भन्ने कुराको एउटा प्रमाण यो पनि हो कि यो सूर्य आफ्नो गन्तब्यतर्फ दगुर्दैछ जसको सीमाको ज्ञान मात्र अल्लाहलाई छ जसबाट त्यो अगाडि बढ्दैन । यो भाग्य निर्धारण प्रभुत्वशाली अल्लाहको तर्फबाट छ जसमाथि कोही विजय प्राप्त गर्न सक्दैन । अल्लाह सर्वज्ञ हुनुहुन्छ, सृष्टिहरूबारे केही पनि उहाँबाट लुकेको छैन । 
३९. एक अल्लाह मात्र भक्ति-योग्य हुनुहुन्छ भन्ने कुराको एउटा प्रमाण यो चन्द्रमा पनि हो जसको प्रत्येक रातिको गन्तब्य हामीले निर्धारण गरेका छौं । शुरुमा सानो रहन्छ, अनि ठूलो हुन्छ र फेरि खजुरको सुकेको पात झैं सानो, पहेलो र बाङ्गो हुन पुग्छ । 
४०. सूर्य, चन्द्रमा, राति र दिन जस्ता निशानीहरू अल्लाहको तर्फबाट निर्धारित गरिएका छन् । यिनीहरू निर्धारित नियमको अलि पनि उल्लङ्घन गर्न सक्दैनन् । सूर्यको लागि चन्द्रमासम्म पुग्न र त्यसको गति र ज्योतिलाई समाप्त पार्न सम्भव छैन । रातिको लागि दिनभन्दा अगाडि बढ्न र निश्चित समयभन्दा अघि नै त्यससम्म पुग्न असम्भव छ । यी बाहेक अन्य सबै नियन्त्रणमा लिइएका तारा, नक्षत्र इत्यादि सृष्टिहरूका लागि अल्लाहले हिँड्ने मार्ग निर्धारण गर्नुभएको छ ।
४१. एक अल्लाह मात्र भक्ति-योग्य हुनुहुन्छ र उहाँले आफ्ना भक्तहरूलाई धेरै वरदान प्रदान गर्नुभएको छ भन्ने कुराको एउटा प्रमाण यो पनि हो कि उहाँले सन्देष्टा नूह (अलैहिस्सलाम) को युगमा आदम (अलैहिस्सलाम) का सन्तानहरूलाई विभिन्न प्राणीहरूबाट भरिएका डुङ्गामा सवार गराएर बाढीबाट सुरक्षित राख्नुभयो । त्यस डुङ्गामा अल्लाहले प्रत्येक प्राणीका जोडा राख्नुभयो ।
४२. एक अल्लाह मात्र भक्ति-योग्य हुनुहुन्छ र उहाँले आफ्ना भक्तहरूलाई धेरै वरदान प्रदान गर्नुभएको छ भन्ने कुराको एउटा प्रमाण यो पनि हो कि उहाँले नूह (अलैहिस्सलाम) को डुङ्गा झैं अरू सवारीहरू  पनि सृष्टि गर्नुभयो ।
४३. यदि हामीले तिनीहरूलाई पानीमा डुबाएर नाश पार्न चाहेमा कोही पनि बचाउन सक्दैन ।
४४. हामीले नै कृपा गरेर डुब्नबाट बचाएमा मात्र तिनीहरू बाँच्न सक्छन्, ताकि हामीले निर्धारित गरेको समयसम्म मात्र तिनीहरूले लाभ उठाउन् । आशा छ तिनीहरूले पाठ सिकेर ईमान ल्याउनेछन् ।  
४५. ईमान ल्याउनबाट भाग्ने बहुदेववादीहरूलाई जब भनिन्छ− आउने परलोक तथा त्यसका कष्टहरूबाट सावधान र पछाडि छोडिरहेको लोकबाट पनि सावधान ! आशा छ अल्लाहले तिमीहरूमाथि कृपा गर्नुहुनेछ, तब तिनीहरू सावधान हुँदैनन्, बरु यसको पर्वाह नगरिकन पिठ्यूँ फर्काएर भाग्ने गर्छन् ।
४६. जब जब यी शत्रुता प्रकट गर्ने बहुदेववादीहरूसमक्ष एक अल्लाह मात्र भक्ति-योग्य हुनुहुन्छ भन्ने कुराका निशानीहरू आउँछन् तब तब तिनीहरू त्यसबाट पाठ नलिएर त्यसबाट पिठ्यूँ फर्काएर भाग्ने गर्छन् । 
४७. जब यी शत्रुता प्रकट गर्ने बहुदेववादीहरूलाई गरिब गुरुवाहरूको आर्थिक सहयोग गर्न भनिन्छ तब तिनीहरू मोमिनहरूलाई भन्छन्− के हामीले त्यस्ता मानिसहरूलाई खुवाउँ, जसलाई अल्लाहले खुवाउन चाहेमा खुवाउनु हुने थियो ?! हामीहरू अल्लाहको चाहना विपरीत गर्दैनौं । हे मोमिनहरू हो ! तिमीहरू स्पष्ट गलतीमा र सत्यबाट टाढा छौ । 
४८. पुनर्जन्मको इन्कार गर्दै र त्यसलाई टाढा ठान्दै काफिरहरू भन्छन्− हे मोमिनहरू हो ! तिमीहरूले गरेको पुनर्जन्मको वाचा कहिले पूरा हुनेछ ?! 
४९. यी पुनर्जन्मलाई झूठा ठहर गर्नेहरू पहिलो पटक शङ्खमा फुकिने प्रतीक्षा गर्दैछन्, जब कि शङ्खमा पहिलो पटक त्यतिखेर फुकिनेछ जब तिनीहरू किन बेच, खेतीको सिँचाइ र चौपायाको रेख देख जस्ता सांसारिक कार्यहरूमा व्यस्त हुनेछन् ।
५०. पहिलो पटक यति अकस्मात फुँकिनेछ कि तिनीहरू न त एक अर्कालाई उपदेश दिन सक्नेछन् र न आफ्ना घर परिवारतर्फ फर्कन सक्नेछन्, जुन व्यस्ततामा रहनेछन् त्यसैमा मर्नेछन् । 
५१. जब दोस्रो पटक शङ्खमा फुकिनेछ तब तिनीहरू जीवित हुनेछन् र आ-आफ्ना चिहानबाट निस्केर हिसाब किताबको लागि अल्लाहतर्फ दगुर्नेछन् ।
५२. पुनर्जन्मलाई झूठा ठहर गर्नेहरू पछुतो गर्दै भन्नेछन्− हाय अपसोस ! हामीहरूलाई कसले हाम्रा चिहानहरूबाट जीवित पारेर निकाल्यो ?! तिनीहरूले जवाफ पाउनेछन्− यो हो अल्लाहले गर्नुभएको वाचा, जसले अवश्य पूरा हुनुथियो र रसूलहरूले सत्य कुरा भनेका थिए ।
५३. महाप्रलयको दिन मात्र दोस्रो पटकको फूँकले गर्दा सबै प्राणीहरू चिहानहरूबाट निस्केर हामीसमक्ष हिसाबको लागि जम्मा हुनेछन् ।
५४. त्यस दिन निसाफका साथ निर्णय गरिनेछ । हे भक्तहरू हो ! तिमीहरूमाथि अत्याचार गरिने छैन । तिमीहरूले लोकमा गरेका सबै कर्महरूको पूरा पूरा बदला पाउनेछौ ।
५५. महाप्रलयको दिन स्वर्गबासीहरू सधैं रहने वरदान र महान सफलता देखेपछि अरूको चिन्ता गर्नेछन् र खुशीमा मग्न हुनेछन् ।
५६. उनीहरू स्वर्गको घना छायाँमा आफ्नी श्रीमतिहरूसँग पलङ्गमा सिरानी लगाएर बसेका हुनेछन् ।
५७. उनीहरूका लागि त्यस स्वर्गमा अङ्गुर, अञ्जीर र अनार जस्ता अनेकौं प्रकारका फलहरू हुनेछन् । उनीहरूका लागि मोज मस्तीका सबै सामान र नाना प्रकारका वरदानहरू हुनेछन् । उनीहरू जसको चाहना गर्नेछन् पाउनेछन् ।
५८. थप वरदानहरूमध्ये उनीहरूका लागि शान्ति हुनेछ । अत्यन्त दयावान अल्लाहको तर्फबाट सलाम भनिनेछ, अनि चारैतिरबाट शान्ति र भब्य सलाम पाउनेछन् ।
५९. महाप्रलयको दिन बहुदेववादीहरूलाई भनिनेछ− मोमिनहरूबाट अलग होऊ । तिमीहरू दुवैको बदला र गुणमा ठूलो अन्तर रहेकोले एकसाथ बस्न पाउँदैनौ । 
६०. के मैले तिमीहरूलाई रसूलहरूको माध्यमबाट उपदेश दिएको थिइनँ− हे आदम (अलैहिस्सलाम) का सन्तान हो ! विभिन्न प्रकारका कुफ्र र अवज्ञा गरेर शैतानको अनुसरण नगर । निस्सन्देह शैतान तिमीहरूको स्पष्ट शत्रु हो । बुद्धिमानले कसरी स्पष्ट शत्रुको अनुसरण गर्न सक्छ ?!  
६१. हे आदम (अलैहिस्सलाम) का सन्तान हो ! मात्र मेरो भक्ति गर र मसँग अन्य कसैलाई साझेदार नबनाऊ भन्ने आदेश मैले दिएको थिएँ ? मात्र मेरो भक्ति र आज्ञापालन नै सीधा मार्ग हो जसबाट तिमीहरू मेरो खुशी र स्वर्ग प्राप्त गर्न सक्छौ । तर तिमीहरूले मेरो पालना गरेनौ ।
६२. शैतानले तिमीहरूमध्ये धेरै जनालाई बहकायो । के तिमीहरूलाई मात्र एक अल्लाहको आज्ञापालन र भक्तिको आदेश दिने र शैतानको आज्ञापालनबाट सावधान गराउने बुद्धि छैन ?! शैतान तिमीहरूको खुल्लम खुल्ला शत्रु हो ।
६३. यदि तिमीहरू संसारमा कुफ्रमा मर्छौ भने नर्क मा जानेछौ, जसको वाचा तिमीहरूसित गरिएको थियो । संसारमा यो नर्क परोक्षमा थियो तर आज तिमीहरू आफ्नो आँखाले देख्दैछौ । 
६४. आज यस नर्कमा प्रवेश गर र संसारमा गरेको कुफ्रले गर्दा यसको गर्मीलाई सहन गर ।
६५. तिनीहरूको कुफ्र र अवज्ञाले गर्दा आज तिनीहरूको मुखहरूमाथि मोहर लगाइदिनेछौं जसले गर्दा लाटा बन्नेछन्, तिनीहरूले गरेको कार्यबारे तिनीहरूका हातहरूले कुरा गर्नेछन् र तिनीहरूले गरेको पापको बारेमा तिनीहरूका खुट्टाहरूले गवाही दिनेछन् । 
६६. यदि हामीले तिनीहरूका आँखाहरू खोस्न चाहेमा खोस्न सक्छौं, अनि तिनीहरूले देख्न सक्ने छैनन् अनि स्वर्गसम्म पुग्नको लागि पुल पार गर्न दगुर्नेछन् तर अन्धो भएकोले पार गर्न सक्ने छैनन् ।
६७. यदि हामीले तिनीहरूको सृष्टिमा फेर बदल गर्न चाहेमा तिनीहरूलाई तिनीहरूको खुट्टाको बल बसाउन सक्छौं, अनि तिनीहरू आफ्नो स्थान छोड्न सक्ने छैनन्, न अगाडि जान सक्नेछन् र न पछाडि हट्न सक्नेछन् ।
६८. मानिसहरूमध्ये जसलाई हामीले लामो उमेर दिन्छौं, उसलाई कमजोर पार्छौं । के तिनीहरूले बुद्धि प्रयोग गरेनन् र यो लोक सधैंको घर होइन भन्ने कुरा बुझेनन् । सधैंको घर त परलोकको घर हो ।
६९. हामीले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई कविता सिकाएनौं र यो उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को लागि उचित पनि छैन । किनभने यो उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को स्वभाव होइन । ताकि तिमीहरू यो भन्न नसक कि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) कवि हुनुहुन्छ । हामीले विचार गर्नेहरूका लागि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई जिक्र र स्पष्ट कुरआन सिकाएकाछौं । 
७०. ताकि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले ती मानिसहरूलाई डराउन् जसका हृदय जीवित छन् र आँखाले देखिराखेका छन् । किनभने यस्ता मानिसहरू नै फाइदा उठाउन सक्छन् । काफिरहरूमाथि यातना अनिवार्य भयो, किनभने तिनीहरूसम्म आह्वान पुग्यो र प्रमाण प्रमाणित भयो र तिनीहरूसँग कुनै बहाना बचेन ।
७१. के तिनीहरूले यस कुरामा विचार गरेनन्− हामीले तिनीहरूका लागि चौपायाहरू सृष्टि गर्यौं, अनि तिनीहरू त्यसका मालिक हुन् र त्यसलाई आफ्ना फाइदाको लागि प्रयोग गर्छन् ।
७२. हामीले चौपायाहरूलाई तिनीहरूका अधिनमा गरिदियौं । अनि तिनीहरू केहीका पिठ्यूँमाथि यात्रा गर्छन्, केहीका पिठ्यूँमाथि सर-सामानको ढुवानी गर्छन् र केहीका मासु खान्छन् ।
७३. ढुवानी र मासु खानेबाहेक तिनीहरू यी जनावरहरूबाट अन्य फाइदा पनि उठाउँछन्ः जस्तै तिनीहरू ती जनावरका कपाल, गोबर र मूल्यबाट फाइदा उठाउँछन् । कपालबाट कार्पेट र लुगा बनाउँछन् । तिनीहरू त्यसका दूध खान्छन् । अल्लाहका यी वरदानहरूका लागि के तिनीहरूले उहाँप्रति आभार प्रकट गर्दैनन् ?!
७४. बहुदेववादीहरूले अल्लाहलाई छोडेर अन्य ईश्वरहरू बनाए । तिनीहरूले मद्दत गर्नेछन् र अल्लाहको यातनाबाट बचाउनेछन् भन्ने आशा लिएर तिनीहरूको पूजा गर्छन् ।
७५. तिनीहरूले ग्रहण गरेका मूर्तीहरूले न त आफ्नो मद्दत गर्न सक्छन् न त आफ्ना पूजारीहरूको मद्दत गर्न सक्छन् । ती मूर्तीहरू र त्यसका पूजारीहरू यातनामा हाजिर गरिनेछन् । त्यहाँ दुवै पक्षहरू एक अर्काको विपक्षी बनेर एक अर्कासित कुनै सरोकार नरहेको दावी गर्नेछन् ।
७६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं रसूल हुनुहुन्न वा तपाईं कवि हुनुहुन्छ आदि इत्यादि तिनीहरूका आरोपले तपाईं चिन्तित नहुनुहोस् । तिनीहरूले लुकाउने र व्यक्त गर्ने कुरासित हामी अवगत छौं । हामीबाट कुनै कुरा लुकेको छैन र हामीले चाँडै नै त्यसको बदला दिनेछौं ।
७७. के पुनर्जन्मलाई इन्कार गर्ने व्यक्तिले यस कुरामा विचार गरेन− हामीले उसलाई विर्यबाट सृष्टि गर्यौं अनि ऊ विभिन्न चरणहरूबाट गुज्रियो अनि शिशुको रूपमा जन्म लियो र हुर्कियो, त्यसपछि ऊ धेरै झगडालु बन्यो ? के उसले यस कार्यमा विचार गरेन ताकि यसबाट पुनर्जन्म सम्भव छ भन्ने कुरालाई प्रमाणित गरोस् ?! 
७८. सडेको हड्डीबाट पुनर्जन्म असम्भव छ भन्ने कुराको तर्क दिएर आफू असावधान र अज्ञान हो भन्ने कुरा यस काफिरले प्रमाणित गर्यो । उसले भन्यो− कसले फर्काउन सक्छ ? यो प्रश्न गरेर उसले स्वयम् आफ्नो सृष्टिलाई बृसिदियो जो पहिला थिएन ।
७९. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भन्नुहोस्− यी सडेका हड्डीलाई त्यस अल्लाहले सृष्टि गर्नुहुनेछ जसले पहिलो पटक त्यसको सृष्टि गर्नुभयो । जो पहिलो पटक सृष्टि गर्ने सामर्थ्य राख्छ ऊ दोस्रो पटक पनि त्यसमा ज्यान हाल्न सक्छ । उहाँ हरेक सृष्टिका ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन ।
८०. हे मानव ! उहाँले तिमीहरूका लागि हरियो र काँचो रुखबाट आगो सृष्टि गर्नुभयो जसबाट तिमीहरू आगो बाल्छौ । जुन अल्लाह दुई वटा विपरीत वस्तु-काँचो रुख र बल्दो आगो- एक साथ जम्मा गर्ने सामर्थ्य राख्नुहुन्छ उहाँ मृतहरूलाई जीवित पार्ने सामर्थ्य पनि राख्नुहुन्छ ।
८१. के जुन अल्लाह महान आकाशहरू र पृथ्वी सृष्टि गर्ने सामर्थ्य राख्नुहुन्छ उहाँ मृतहरूलाई पुनः जीवित पार्ने सामर्थ्य राख्नुहुन्न ? किन नहुनु, उहाँ अवश्य यस कार्यको सामर्थ्य राख्नुहुन्छ । उहाँ धेरै सृष्टि गर्नुहुन्छ । उहाँले नै सबै सृष्टिहरूको सृष्टि गर्नुभयो, उहाँ सबैका ज्ञाता हुनुहुन्छ, केही पनि उहाँबाट लुकेको छैन ।
८२. जब उहाँ कुनै वस्तु सृष्टि गर्ने नीयत गर्नुहुन्छ तब भन्नुहुन्छ, भइ हाल, अनि त्यो हुन पुग्छ । यसै प्रकार उहाँ जीवित पार्नुहुन्छ, मार्नुहुन्छ  र पुनर्जन्म इत्यादि  गर्नुहुन्छ ।
८३. बहुदेववादीहरूले भनेको यस कुराबाट अल्लाह पवित्र हुनुहुन्छ कि उहाँ यो कार्य गर्ने सामर्थ्य राख्नुहुन्न । उहाँ नै सबै वस्तुहरूका मालिक हुनुहुन्छ, जसरी चाहनुहुन्छ सञ्चालन गर्नुहुन्छ, हरेक वस्तुका साँचाहरू उहाँ कै हातमा छ । आखिरतमा तिमीहरू उहाँतर्फ नै फर्काएर लगिनेछौ । उहाँले तिमीहरूको कर्महरूको बदला दिनुहुनेछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...