सीधे मुख्य सामग्री पर जाएं

२१- सूरह अल्-अम्बिया (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. कयामतको दिन हुने उनीहरूका कर्महरूको हिसाबको समय निकट आइसकेको छ । तर उनीहरू आखिरतलाई बेवास्ता गरी संसारमा नै आनन्दित छन् ।
२. उनीहरूको पालनकर्ताको तर्फबाट कुरआनको नयाँ भाग अवतरण हुँदा उनीहरू फाइदा प्राप्त गर्ने नियतले सुन्दैनन् बरू बेवास्ता गर्छन् ।
३. उनीहरू त्यसलाई सुन्दथे तर उनीहरूको मन त्यहाँ हुँदैनथ्यो । अत्याचारीहरू आपसमा गोप्य छलफल गर्छन् र भन्छन्- रसूल हुने दाबी गर्ने त तिमीहरू जस्तै एउटा मान्छे हो र ऊ तिमीहरूभन्दा विशेष होइन । उसलाई जादू गर्न आउँछ । ऊ तिमीहरू जस्तै मान्छे भएको र उसले जादू जानेको कुरा थाहा हुँदा हुँदै पनि के तिमीहरू उसको अनुसरण गर्छौ ?
४. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः मेरो पालनकर्तालाई तिमीहरूले गोप्य राखेका अफवाहहरूको ज्ञान छ । वास्तवमा, आकाशहरू र धर्तीमा बोलिएका हरेक कुराहरू उहाँ जान्नुहुन्छ किनकि उहाँ आफ्ना सम्पूर्ण भक्तहरूका कुराहरू सुन्नुहुन्छ, उनीहरूले गरेका सम्पूर्ण कार्यहरूको ज्ञान छ र त्यसकै आधारमा उनीहरूलाई बदला दिनुहुनेछ ।
५. तर उनीहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको कुरआनको विषयमा शंकामा छन् । कहिले भन्छन्- यी भ्रमित सपना हुन् जसको कुनै अर्थ छैन । कहिले भन्छन्- होइन, यो उसको आधारहीन मनगढन्ते कुरा हो । कहिले भन्छन्- ऊ कवि हो । यदि वास्तवमा, उसको दाबी सच्चा छ भने पहिलेका रसूलहरूले दखाएको चमत्कार जस्तै मूसा (अलैहिस्सलाम) को लौरोको चमत्कार र सालिह (अलैहिस्सलाम) को उँटनीको चमत्कारझैँ उसले पनि चमत्कार देखाओस् ।
६. यिनीहरूभन्दा पहिले जुन जुन नगरबासीहरूले निशानी देखाउने प्रस्ताव अगाडी सारेका थिए तिनीहरूलाई हामीले निशानी देखायौं तर तिनीहरूले निशानी देखेपछि पनि आस्था राखेनन् र यस कारण हामीले उनीहरूलाई नष्ट पार्यौं । के यिनीहरूले आस्था राख्नेछन् त ?!
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले मानिसहरूमध्ये केवल पुरूषहरूलाई नबी बनाएर पठायौं र उनीहरूलाई वही गर्यौं । उनीहरूकहाँ फरिश्ताहरूलाई रसूल बनाएर पठाएका छैनौं । यदि तिमीहरूलाई यसको ज्ञान छैन भने तिमीहरूभन्दा पहिलेका अह्ले किताबहरूलाई सोध ।
८. हामीले पठाएका रसूलहरूको शरीर थियो र उनीहरू खाना पनि खान्थे जसरी उनीहरूबाहेकका मानिसहरू खान्छन् र उनीहरू अमर पनि होइनन् ।
९. हामीले हाम्रा रसूलहरूलाई बचाएर उनीहरूसँग गरेको बाचालाई पूरा गर्यौ र हामीले मोमिनहरूमध्ये जसलाई चाह्यौं बचायौं । अनि अत्याचारीहरूले गरेका कुफ्र र अवज्ञाका कारण हामीले उनीहरूलाई नष्ट पार्यौं ।
१०. हामीले तिमीहरूको लागि कुरआन अवतरित गर्यौं । यदि तिमीहरूले त्यसमा विश्वास गर्यौ र त्यसको अनुसरण गर्यौ भने त्यसमै तिमीहरूको सम्मान र गर्व रहेको छ । यदि तिमीहरूले यस कुरालाई बुझेको भए तिमीहरू त्यसमा आस्था राख्न र त्यसको शिक्षाको अनुसरण गर्न हतार गर्ने थियौ ।
११. हामीले कतिपय नगरहरूलाई उनीहरूको अत्याचारका कारण नष्ट पार्यौं । अनि उनीहरूपश्चात हामीले अन्य मानिसहरूको सृष्टि गर्यौं ।
१२. जब दोषीहरूले हाम्रो जरैदेखि उखेल्ने विनाशकारी सजाय देखे, तिनीहरू विनाशबाट भाग्न खोज्दै आफ्नो नगरबाट भागे ।
१३. उनीहरूलाई तिरस्कार गर्दै बोलाइयो: तिमीहरू नभाग बरू आफ्नो अत्यन्त आरामदायी जीवन र घरहरूतर्फ फर्केर जाऊ । आशा छ तिमीहरूको सांसारिक कार्यको बारेमा सोधिनेछ ।
१४. यी अत्याचारीहरू आफ्ना पापहरूलाई स्वीकार्दै भन्नेछन्- कस्तो हाम्रो दुर्भाग्य ! वास्तवमा, हामी अल्लाहलाई नकारेर अत्याचारी भएछौं ।
१५. उनीहरूले आफ्नो पापलाई स्वीकार गर्दै र आफ्नो विनाशको लागि दुआ गर्दै गरेको अवस्थामा हामीले उनीहरूलाई काटिएको फसल सरह मृत र अचल बनायौं ।
१६. हामीले आकाश, पृथ्वी र यी दुबैबीच रहेका सम्पूर्ण कुराहरूलाई खेलठट्टामा सृष्टि  गरेका होइनौं बरू हामीले आफ्नो शक्तिको प्रदर्शनको लागि तिनीहरूको सृष्टि गरेका हौं ।
१७. यदि हामीले पत्नी वा छोरा राख्न चाहेको भए हामीसँगै भएका मध्येबाट राख्नेथ्यौं । तर हामीले त्यसो गरेनौं किनकि हामीलाई यसको आवश्यकता नै छैन ।
१८. बरू हामी हाम्रो रसूलतिर वही गरेको नितान्त सत्यले काफिरहरूको नितान्त असत्यको खण्डन गर्न त्यसमाथि प्रहार गर्छौं । उनीहरूको असत्यता हराउनेछ । अल्लाहको पत्नी र छोरा छ भन्नेहरू ! तिमीहरूले अल्लाहको लागि उपयुक्त नरहेको अभियोग लगाएको कारण तिमीहरूलाई नष्ट गरिनेछ ।(वास्तवमा, पत्नी र बच्चा राख्नुको तात्पर्य अपूर्ण हुनु थियो तसर्थ यस ब्रह्माण्डको मालिक उहाँ नै भएको कुरा उहाँले वर्णन गर्दै भन्नुभयोः)
१९. उहाँ एक्लै आकाशहरू र धर्तीका मालिक हुनुहुन्छ र उहाँसँगै रहेका फरिश्ताहरू उहाँको उपासनाबाट विमुख हुँदैनन् र उनीहरू थकित पनि हुँदैनन् ।
२०. उनीहरू सधैं अल्लाहको महिमागान गर्छन् तर उनीहरूलाई कहिल्यै दिक्क लाग्दैन ।
२१. तर मुश्रिकहरूले अल्लाहलाई छाडी अरूहरूको उपासमा गर्छन् जो मरेकाहरूलाई पुनर्जीवित पार्न सक्दैनन् । उनीहरू यस्ता असमर्थको उपासना कसरी गर्न सक्छन् ?!
२२. यदि आकाशहरू र पृथ्वीमा अल्लाहबाहेक अरू धेरै उपास्यहरू भएका भए ती झूठा उपास्यहरूमा अधिकार कस्ले राख्ने भन्ने विषयलाई लिएर विध्वंश मच्चिने थियो तर यथार्थ यसको विपरित रहेको छ । अल्लाहका साझेदारहरू छन् भनी मुश्रिकहरूले लगाएको अभियोगबाट सिंहासनका मालिक अल्लाह पवित्र हुनुहुन्छ ।
२३. केवल अल्लाह आफ्नो शासन र फैसलाको अधिकार राख्नुहुन्छ । उहाँले भाग्यमा के लेख्नुभयो र के फैसला लिनुभयो भनेर कसैले पनि सोध्ने अधिकार राख्दैन । बरू उहाँले आफ्ना भक्तहरूसँग उनीहरूले गरेको क्रियाकलापको विषयमा सोध्नुहुनेछ र त्यसै अनुसार उनीहरूलाई बदला दिनुहुनेछ ।
२४. तर पनि उनीहरूले अल्लाहलाई छोडेर अरू उपास्यहरू बनाए । हे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! यी मुश्रिकहरूलाई भन्नुहोस्- उनीहरू उपासनाको अधिकार राख्छन् भन्ने प्रमाण ल्याऊ । यो ममाथि अवतरित किताब हो र अरू रसूलहरूमाथि अवतरित किताबहरूमा तिमीहरूको लागि कुनै प्रमाण छैन । अधिकतम मुश्रिकहरूको आधार अज्ञानता र देखासिकी हो । तसर्थ उनीहरू नितान्त सत्यलाई स्वीकार गर्दैनन् ।
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले पठाएका हरेक रसूललाई वही गर्यौः म नै तिमीहरूको नितान्त उपास्य हुँ तसर्थ मेरो मात्र उपासना गर र कुनै कुरालाई पनि मेरो साझेदार नबनाउनु ।
२६. मुश्रिकहरूले भनेः अल्लाहले फरिश्ताहरूलाई छोरी बनाउनुभएको छ । उहाँ पवित्र हुनुहुन्छ र यिनीहरूले गढेको झूठोबाट धेरै माथि हुनुहुन्छ । बरू उनीहरू अल्लाहका सम्मानित भक्तहरू हुन् र उहाँका निकट पनि ।
२७. उनीहरू आफ्ना पालनकर्ताभन्दा पहिले कहिल्यै बोल्दैनन् । बरू उहाँले आदेश नदिनुभएसम्म उनीहरू बोल्दैनन् । उनीहरू उहाँका हरेक आदेशको पालना गर्छन् र कहिले पनि अवज्ञा गर्दैनन् ।
२८. उहाँ उनीहरूका अतित र भविष्यका क्रियाकलापहरू जान्नुहुन्छ । उनीहरू केवल त्यसका लागि सिफारिश गर्नेछन् जसको लागि उहाँले अनुमति दिनुहुनेछ । उहाँको डरले उनीहरू सतर्क रहन्छन् र उहाँको अवज्ञा गर्दैनन् ।
२९. मानौं, फरिश्ताहरूमध्ये कसैले म अल्लाहको साझेदार हुँ भन्छ भने यस कारणले कयामतको दिन हामी उसलाई सदाका लागि नर्कमा हाल्नेछौं । यहि बदला कुफ्र गर्ने र अल्लाहको साझेदार ठहर गर्ने अत्याचारीहरूलाई पनि दिनेछौं ।
३०. के काफिरहरूलाई थाहा छैन आकाशहरू र पृथ्वी सँगै टाँसिएका थिए भनेर । तिनीहरूको बीचमा खाली ठाउँ नै थिएन अनि त्यहाँबाट पानी तल आउँथ्यो । हामीले तिनीहरूलाई अलग अलग पारिदियौं र आकाशबाट पृथ्वीमा परेको पानीले हामीले जनावरहरू र बिरूवाहरूको सृष्टि गर्यौं । के यस कुरामा उनीहरूलाई विश्वास छैन र केवल अल्लाहमाथि आस्था राख्दैनन् ?!
३१. अनि हामीले पृथ्वीमा भित्रसम्म गाडेर पहाडहरू बनायौं परिणाम स्वरूप त्यसमाथि भएकाहरूलाई लिएर त्यो हल्लिदैन । हामीले उनीहरूको लागि मार्गहरू र फराकिला सडकहरू बनायौं । आशा छ उनीहरूले आफ्नो गन्तव्यसम्म पुग्नका लागि बाटो पाउनेछन् ।
३२. हामीले आकाशलाई स्तम्भ बिना सुरक्षित छाना बनाएका छौं जुन कहिले पनि खस्दैन र कसैले पनि गोप्य रूपमा त्यहाँका कुरा सुन्न सक्दैन । तर यी मुश्रिकहरू आकाशका चन्द्र र सूर्य जस्ता निशानीहरूबाट विमुख हुन्छन् र विश्वास गर्दैनन् ।
३३. अल्लाह एक्लै ले रातको सृष्टि विश्रामको निम्ति र दिनको सृष्टि जीविकोपार्जनको निम्ति गर्नुभयो । सूर्यलाई दिनको निशानीको रूपमा र चन्द्रलाई रातको निशानीको रूपमा सृष्टि गर्नुभयो । सूर्य र चन्द्र लगायत सम्पूर्ण आ-आफ्नो कक्षमा परिक्रमा गर्छन् । न विचलित हुन्छन् न दाँया-बाँया लाग्छन् ।
३४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंभन्दा पहिले हामीले कसैलाई पनि यस संसारमा अमर बनाएनौं । यदि यस संसारमा तपईंको समय समाप्त भई तपाईंको मृत्यु हुन्छ भने के यिनीहरू जीवित रहनेछन् त ? कदापि होइन ।
३५. यस संसारमा मोमिन र काफिर हरेकले मृत्युको सामना गर्नुपर्नेछ । हे मानिसहरू ! हामी यस संसारमा जिम्मेवारी, कृपा र दुर्भाग्यको माध्यमले तिमीहरूको परिक्षा लिनेछौं । अनि मृत्युपश्चात तिमीहरू हामीतर्फ नै फर्केर आउनेछौ र हामी तिमीहरूलाई तिमीहरूको कर्मको बदला दिनेछौं ।
३६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब यी मुश्रिकहरू तपाईंलाई देख्छन् उनीहरू तपाईंको खिल्ली उडाउँदै र आफ्ना अनुयायीहरूलाई बहकाउदै भन्छन्- तिमीहरूले उपासना गर्ने उपास्यहरूलाई गाली गर्ने यही नै हो, होइन र  ?! उनीहरू तपाईंको खिल्ली उडाउँदै उनीहरूका लागि पठाइएको कुरआन र उनीहरूलाई दिइएका वरदानलाई नकार्छन् । हरेक प्रकारका अधर्मलाई जम्मा पारेको हुनाले उनीहरू नै निन्दाका योग्य छन् ।
३७. हतारमा काम गर्नु मानवको प्रवृत्ति हो । काम पूरा हुनु अघि नै ऊ त्यसको लागि हतार गर्दछ । यस्तै प्रकारको हतार मुश्रिकहरू यातनाको लागि गर्दैछन् । मेरो यातना हेर्न हतार गर्नेहरू, तिमीहरूलाई म यातना देखाउनेछु । तसर्थ त्यो चाँडै आओस् भन्ने चाहना नराख ।
३८. पुनर्जीवनलाई नकार्दै र हतारको प्रवृत्ति अपनाउँदै काफिरहरू भन्छन्- हे मुस्लिमहरू ! यदि तिमीहरू सच्चा हौ भने भन तिमीहरूले बाँचा गरेको पुनर्जीवन कहिले हुनेछ ?
३९. पूनर्जीवनलाई नकार्ने यी काफिरहरूले आफ्ना अनुहार र पिठ्यूँलाई नरकको आगोबाट बचाउन सक्नेछैनन् र त्यस यातनाबाट मुक्त हुन कुनै सहयोगी पनि पाउने छैनन् भन्ने कुरा थाहा पाएका भए उनीहरूले यातनाको लागि हतार गर्ने थिएनन् ।
४०. जुन आगोबाट उनीहरूलाई यातना दिइनेछ त्यो उनीहरू सचेत भएको अवस्थामा आउँदैन बरू एक्कासी आई लाग्नेछ । उनीहरू त्यसबाट बच्न सक्ने छैनन् र न त्यसलाई पछि सार्न सक्नेछन् । तर यदि उनीहरू पश्चाताप गर्छन् भने दयाको भागेदार हुनेछन् । (जब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो समुदायको खिल्ली र उनीहरूको इन्कारबाट ग्रस्त थिए अल्लाहले उहाँको मनोबल बढाउँदै भन्नुभयोः) 
४१. यदि तपाईंको समुदायले तपाईंको खिल्ली उडाएका छन् भने यस्तो व्यवहार तपाईंसँग मात्र गरिएको होइन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंभन्दा पहिले जति पनि रसूलहरू आए सबैको खिल्ली उडाइएको छ । तसर्थ काफिरहरूमध्ये खिल्ली उडाउनेहरूलाई त्यस यातनाले घेरेको छ जसको डर यस संसारमा उनीहरूलाई रसूलहरूले देखाउने बेला उनीहरू ठट्टा गर्ने गर्दथे ।
४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यातना हेर्न हतार गर्नेहरूलाई भन्नुहोस्- रात र दिनको समयमा तिमीहरूलाई रह्मान (अल्लाह) ले आकाशबाट यातना पठाएर तिमीहरूलाई नष्ट पार्ने सोँच बनाएपछि कसले बचाउन सक्छ र ? तर पनि उनीहरू आफ्ना पालनकर्ताका उपदेशहरू र प्रमाणहरूबाट विमुख हुन्छन् । उनीहरू अज्ञानता र मुर्खताको कारणले केही पनि सोँचदैनन् ।
४३. के उनीहरूले ठहर गरेका यस्ता उपास्यहरू छन् जसले उनीहरूलाई हाम्रो यातनाबाट बचाउनेछन् ? उनीहरू त आफूलाई घाटाबाट बचाएर र आफ्नो फाइदा गरेर आफ्नै सहयोग गर्न सक्दैनन् । जसले आफ्नो सहयोग गर्न सक्दैन उसले अरूको सहयोग कसरी गर्न सक्छ ?! उनीहरू हाम्रा यातनालाई छल्न पनि सक्दैनन् ।
४४. बरू हामीले यी काफिरहरूलाई र यिनका पुर्खाहरूलाई आफ्नो अनुग्रहलाई लोभको साधन बनाएर प्रदान गरि त्यसबाट फाइदा उठाउन दियौं । यसै अवस्थामा लामो समय बित्यो अनि उनीहरू यसबाट ठगिन पुगिए र उनीहरू आफ्नै कुफ्रमा अडिग रहे । हामीले धर्तीलाई त्यहाँका बासिन्दाहरूलाई वशमा राखेर र उनीहरूमाथि विजय प्राप्त गरेर विभिन्न दिशाबाट घटाउँदै लगेको हाम्रा अनुग्रह पाएर ठगिनेहरू र यातनाका लागि हतार गर्नेहरूले देख्दैनन् ? तसर्थ उनीहरूले त्यसबाट पाठ सिकुन् र जे अरूसँग भएको थियो उनीहरूसँग नहोस् । उनीहरू जित्न सक्दैनन् बरू उनीहरू पराजित हुनेछन् ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- हे मानिसहरू हो ! मेरा पालनकर्ताले वही मार्फत मलाई सूचित गर्नुभएको यातनाबाट म तिमीहरूलाई सावधान गरिरहेको छु । तर अल्लाहको यातनाबाट सावधान गराएता पनि बहिराहरू सत्यतालाई स्वीकार गर्ने नियतले सुन्दैनन् ।
४६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यातनाको लागि हतार गर्नेहरूलाई यदि तपाईंको पालनकर्ताको यातनाले थोरै मात्रै पनि छोयो भने उनीहरूले भन्नेछन्- कस्तो हाम्रो दुर्भाग्य ! अल्लाहको साझेदार ठहर गरेर र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको कुरआनलाई नकारेर हामीले आफैमाथि अत्याचार गरेका छौं ।
४७. कयामतको दिन मानिसहरूको क्रियाकलापलाई ठीकसँग जोख्नको लागि तराजु राखिदिनेछु । त्यसदिन कसैले पनि गरेको सत्कर्मलाई कम गरेर वा दुष्कर्मलाई बढाएर ऊमाथि अत्याचार गरिनेछैन । यदि त्यसको तौल रायोको दाना जत्तिकै सानो छ भने पनि हामी त्यसलाई जोख्नेछौं । हाम्रा भक्तहरूको क्रियाकलापको हिसाब राख्नको लागि हामी नै पर्याप्त छौं ।
४८. हामीले मूसा र हारून (अलैहिमस्सलाम) लाई सत्य र असत्य एवं वैध र अवैध बीच फरक गर्ने साधन, यसमाथि आस्था राख्नेहरूको लागि मार्गदर्शन र आफ्ना पालनकर्ताको भय राख्नेहरूको लागि उपदेश सरह तौरात प्रदान गर्यौं ।
४९. यिनीहरू नै हुन् जो आफ्नो पालनकर्तामाथि आस्था राख्दछन् र उहाँले उनीहरूलाई यातना दिनुहुनेछ भन्ने डर राख्दछन् । यद्यपि उनीहरूले उहाँलाई देखेका छैनन् र उनीहरू कयामतको दिनको भय राख्दछन् ।
५०. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यो कुरआन यसबाट उपदेश ग्रहण गर्न चाहनेहरूको लागि सम्झना र उपदेश हो । यसमा अत्यधिक फाइदा र भलाई रहेको छ । यी सम्पूर्ण गुणहरू हुँदा हुँदै पनि के यसमा समावेश कुराहरूबाट इन्कार गरी र त्यस अनुसार नहिँडि तिमीहरू विमुख हुनेछौ त ?!
५१. हामीले इब्राहीम (अलैहिस्सलाम) लाई सानै छँदा आफ्नो समुदायमाथि ठोस तर्क प्रदान गर्यौं र हामी उनलाई राम्ररी जान्दथ्यौं । हामीले उनलाई ठोस तर्क दियौं जुन उनको मानिसहरू विरूद्ध आवश्यक थियो ।
५२. जब उनले आफ्ना पिता आजर र समुदायलाई भनेः यी कस्ता मूर्तिहरू हुन् जसलाई तिमीहरूले आफ्नै हातले बनाएका छौ र जसको उपासनामा तिमीहरू अडिग छौ ?
५३. उनको समुदायले उनलाई भनेः हामीले आफ्ना पूर्वजहरूलाई यिनको उपासना गर्दै आएको पायौं । अनि हामीले उनीहरूको उदाहरण पछ्याउँदै यी मूर्तिहरूको उपासना गर्यौं ।
५४. इब्राहीम (अलैहिस्सलाम) ले उनीहरूलाई भनेः हे पूर्वजहरूका अनुयायीहरू ! तिमीहरू र तिम्रा पूर्वजहरूले स्पष्ट सत्यतालाई छोडेर पथभ्रष्टतालाई अपनाएका छौ ।
५५. उनको समुदायले उनलाई भनेः तिमीले भनेको कुरा वास्तविकतामा आधारित छ वा तिमी ठट्टा गर्दैछौ ?
५६. इब्राहीम (अलैहिस्सलाम) ले भनेः मैले सत्य भनेको हो, ठट्टा गरेको होइन । तसर्थ तिमीहरूको पालनकर्ता आकाशहरू र पृथ्वीका पालनकर्ता हुनुहुन्छ । उहाँले बिना नमुना नै तिनीहरूको सृष्टि गर्नुभएको हो । अनि उहाँ तिमीहरूको, आकाशहरू र पथ्वीको पालनकर्ता भएको कुराको म साक्षी छु र तिमीहरूको मूर्तिहरूको त्यसमा कुनै सहभागीता छैन ।
५७. इब्राहीम (अलैहिस्सलाम) ले उनको समुदायले नसुन्ने गरी भनेः अल्लाहको कसम ! तिमीहरू चाड मनाउन गएपछि म तिमीहरूको मूर्तिहरूको बिरूद्ध यस्तो षड्यन्त्र रच्नेछु जुन तिमीहरूले मन पराउने छैनौ ।
५८. इब्राहीम (अलैहिस्सलाम) ले मूर्तिहरूलाई टुक्र टुक्रा पारिदिए । मूर्तिहरूलाई टुक्रा टुक्रा पार्ने को हो भनी उनीहरूले सम्पर्क गर्नका निम्ति सबैभन्दा ठूलोलाई यथावत राखिदिए ।
५९. उनीहरू फर्किसकेपछि आफ्ना मूर्तिहरूलाई कसैले टुक्रा टुक्रा पारेको देखेर एक आपसमा सोध्न थालेः कसले हाम्रा उपास्यहरूलाई टुक्रा टुक्रा पारेको ? जसले पनि टुक्रा टुक्रा पारेको हो ऊ अत्याचारी हो ।
६०. केहीले भनेः इब्राहीम नाम गरेको एउटा युवक यिनीहरूको विषयमा अपशब्द भन्छ र यिनीहरूको अपमान गर्छ भन्ने कुरा हामीले सुनेका छौं । उसैले सबैलाई टुक्रा टुक्रा पारेको हुनसक्छ ।
६१. तिनीहरूका अगुवाहरूले भनेः उसले गरेको गल्ती स्वीकारेको दृश्यलाई सबैले देखून् र उसले स्वीकार गर्नु उसको विरूद्ध तिमीहरूको लागि प्रमाण होस् भनी उसलाई सबै मानिसहरूसमक्ष लिएर आऊ ।
६२. उनीहरूले इब्राहीम (अलैहिस्सलाम) लाई उपस्थित गराए र उनलाई सोधेः हे इब्राहीम ! हाम्रा मूर्तिहरूको यस्तो दुर्गति तिमीले गरेको हो ?
६३. इब्राहीम (अलैहिस्सलाम) ले उनीहरूसँग ब्यंग गर्दै र उनीहरूको मूर्तिहरूको लाचारी मानिसहरूसामु जहेर गर्दै भनेः यो मैले गरेको होइन । बरू मूर्तिहरूमध्ये ठूलोले गरेको हो । यदि कुरा गर्न सक्षम छन् भने आफ्ना मूर्तिहरूलाई सोध ।
६४. उनीहरूले सोँच विचार गरे र उनीहरूको मूर्तिहरूले न त फाइदा पुर्याउन सक्छन् न हानि नै भन्ने निष्कर्षमा उनीहरू पुगे । तसर्थ अल्लाहलाई छोडेर यिनीहरूको उपासना गरेर उनीहरूले अत्याचार गरे ।
६५. अनि उनीहरूले ढिपी/जिद्दी र अज्ञानतामा फर्कंदै भनेः हे इब्राहीम ! तिमीलाई थाहा छ, यी मूर्तिहरू कुरा गर्दैनन् भनेर । अनि कसरी तिमीले हामीलाई यी मूर्तिहरूलाई सोध्नलाई भनेको ? यसो भनेर उनीहरूले आफ्नो पक्षमा प्रमाण प्रस्तुत गर्न चाहेका थिए तर यो उनीहरूको बिरूद्धको प्रमाण हुन पुग्यो ।
६६. उनीहरूको कुरा नकार्दै इब्राहीम (अलैहिस्सलाम) ले भनेः के अल्लाहलाई छोडेर तिमीहरू यी मूर्तिहरूको पूजा गर्न चाहन्छौ जो तिमीहरूको लाभ र हानिको क्षमता राख्दैन । यिनीहरू त आफैलाई पनि हानिबाट जोगाउने वा आफ्नै लाभको पनि क्षमता राख्दैनन् ।
६७. कस्तो दुर्भाग्य तिमीहरूको र कस्तो दुर्भाग्य यी मूर्तिहरूको जसको उपासना तिमीहरू अल्लाहलाई छोडेर गर्छौ ।! यिनीहरू न लाभको क्षमता राख्छन् न हामीको नै । के तिमीहरू यो कुरा बुझेर यिनीहरूको उपासना त्याग्न सक्दैनौ ?
६८. जब उनीहरूले इब्राहीमको सामना तर्कद्वारा गर्न सकेनन् तब उनीहरू हिंसाको सहारा लिन पुगे र भनेः यदि तिमीहरूका आफ्ना मूर्तिहरूलाई नष्ट गरेको कारणले प्रतिरोधक सजाय दिएर उनीहरूको सहयोग गर्न चाहन्छौ भने इब्राहीमलाई जलाइदेऊ ।
६९. तसर्थ उनीहरूले आगो बाले र उनलाई त्यसमा हाले अनि हामीले भन्यौः हे आगो ! तिमी इब्राहीमको लागि शीतल र हानिरहित/सलामती बन । त्यसतै भयो र उनलाई केही हानि पुगेन ।
७०. इब्राहीम (अलैहिस्सलाम) को समुदायले उनलाई जलाउने षड्यन्त्र रचे तर हामीले उनीहरूको षड्यन्त्रलाई विफल बनायौं र उनीहरूलाई नष्ट पार्यौं र हारेको बनायौं ।
७१. हामीले उनलाई र लूत (अलैहिस्सलाम) लाई बचायौं र दुबैलाई हामीले शामतिर लग्यौं जुन ठाउँलाई हामीले नबीहरू पठाएर र त्यहाँ सृष्टिहरूको लागि अनुग्रह फिंजाएर पवित्र बनायौं ।
७२. उनले छोरा प्राप्त गर्नका निम्ति आफ्ना पालनकर्तासँग दुआ गरेपश्चात हामीले उनलाई इस्हाक (अलैहिस्सलाम) दियौं र थप याकूब (अलैहिस्सलाम) पनि प्रदान गर्यौं । हामीले इब्राहीम र उनका दुई छोराहरू इस्हाक र याकूब (अलैहिस्सलाम) लाई सत्कर्मी र अल्लाहको आज्ञाकारी बनायौं ।
७३. हामीले उनीहरूलाई अगुवा बनायौं र मानिसहरू भलाईमा उनीहरूको अनुसरण गर्दथे । अल्लाहको आदेशले उनीहरू मानिसहरूलाई अल्लाहको मात्र उपासना गर्न आह्वान गर्दथे र हामीले उनीहरूलाई सत्कर्म गर्न, सही तरिकाले सलाह पढ्न, जकाह दिन वही गर्यौं । अनि उनीहरू हाम्रा आज्ञाकारी थिए ।
७४. हामीले लूत (अलैहिस्सलाम) लाई बिपक्षीहरूबीच न्याय गर्न सक्ने क्षमता र उनको धर्मको ज्ञान प्रदान गर्यौं । उनको समुदाय (सदूम) लाई दिएको यातनाबाट हामीले उनलाई बचायौं । उनीहरू अनैतिकतामा लिप्त थिए । वास्तवमा, उनीहरू भ्रष्ट मानिसहरू थिए जो आफ्नो पालनकर्ताको आज्ञापालनबाट विमुख भएका थिए ।
७५. उनको समुदायलाई दिएको यातनाबाट जोगाएपछि हामीले उनलाई दयाको पात्र बनायौं किनकि उनी सत्कर्मी थिए, अल्लाहका आदेशहरूको पालना गर्दथे र प्रतिबन्धित कार्यरूबाट बच्दथे ।
७६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! नूह (अलैहिस्सलाम) को कथालाई सम्झनुहोस् । जब उनले इब्राहीम र लूत (अलैहिमस्सलाम) भन्दा पहिले अल्लाहसँग दुआ गरे । हामीले उनको दुआ स्वीकार गर्यौं र उनले मागेको पुर्यायौं । अनि हामीले उनलाई र उनका मोमिन परिवारलाई महापीडाबाट जोगायौं ।
७७. हामीले उनलाई त्यस्ता मानिसहरूको षड्यन्त्रबाट जोगायौं जसले उनको सदाचारितालाई प्रमाणित गर्नका निम्ति प्रस्तुत गरिएका निशानीहरूलाई झूठो ठहर गरे । वास्तवमा, उनीहरू भ्रष्ट र दुष्ट मानिसहरू थिए । हामीले उनीहरू सम्पूर्णलाई डुबाएर नष्ट पार्यौं ।
७८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! दाऊद र उनका छोरा सुलैमान (अलैहिमस्सलाम) को कथालाई सम्झनुहोस् । जब उनीहरू प्रस्तुत दुई दावेदारको मामिलामा फैसला सुनाइरहेका थिए । ती दुईमध्ये एकको भेडा थियो जसले राति अर्कोको खेत चर्यो र त्यसलाई नष्ट पार्यो । हामी दाऊद र सुलैमान (अलैहिमस्सलाम) ले गरेको फैसलालाई हेरिरहेका थियौं र उनीहरूको फैसलाको कुनै पनि कुरा हामीबाट लुकेको छैन ।
७९. हामीले दाऊद (अलैहिस्सलाम) लाई नभई सुलैमान (अलैहिस्सलाम) माथि यो मामिला स्पष्ट पार्यौं । तर हामीले दुबैलाई ईशदूतत्व र शरीअतको ज्ञान प्रदान गर्यौं । सुलैमान (अलैहिस्सलाम) लाई मात्र प्रदान गरेनौं । हामीले पहाडहरूलाई दाऊदको अधीनमा गर्यौं जो उनीसँगै अल्लाहको गुणगाण गर्दथे । त्यसरी नै हामीले चराहरूलाई उनको अधीनमा गर्यौं । हामीले नै स्पष्ट पार्यौं, फैसला गर्ने क्षमता र ज्ञान दियौं र बस्तुहरू अधीनमा दियौं ।
८०. हामीले सुलैमान (अलैहिस्सलाम) लाई नभई दाऊद (अलैहिस्सलाम) लाई घातक चोटबाट तिमीहरूको शरीरलाई बचाउन कवच बनाउने कला सिकायौं । हे मानिसहरू ! के अल्लाहले तिमीहरूलाई दिनुभएको यस कृपाका कारण तिमीहरू उहाँलाई धन्यबाद दिनेछौ ?
८१. हामीले तिब्र गतिमा चल्ने हावालाई सुलैमान (अलैहिस्सलाम) को अधीनमा गर्यौं । उनको आदेशले त्यो हावा शाम जान्थ्यो जुन ठाउँलाई हामीले नबीहरू पठाएर पवित्र बनायौं ।
८२. हामीले केही शैतानहरूलाई उनको अधीनमा दियौं जो समुद्रमा डुबुल्की मारेर/गोता लगाएर उनका लागि मोती र अन्य कुराहरू निकालेर ल्याउँथे । अनि निर्माण कार्य जस्ता अन्य कार्यहरू पनि गर्थे । हामी उनीहरूको संख्या र कार्यहरू हेरिरहेका थियौं । हामीबाट केही पनि लुकेको थिएन ।
८३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अय्यूब (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । जब उनलाई रोगले समात्यो उनले आफ्ना पालनकर्तासँग दुआ गर्दै भनेः हे मेरा पालनकर्ता ! मलाई रोग लागेको छ र मैले परिवार गुमाएको छु । तपाईं अतिनै दयावान हुनुहुन्छ । मलाई मेरा पीडाहरूबाट मुक्त गर्नुहोस् ।
८४. हामीले उनको दुआ स्वीकार गर्यौं, उनलाई पीडामुक्त गर्यौं, उनको परिवारलाई फर्कायौं र  त्यति नै अरू पनि । यो सबै हामीले हाम्रो दयाको कारणले र वास्तविक उपासकहरूले अय्यूब (अलैहिस्सलाम) को जस्तो धैर्य गर्नको लागि पाठ होस् भनी गर्यौं ।
८५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! इस्माईल, इद्रीस र जुल्-किफ्ल (अलैहिमुस्सलाम) लाई सम्झनुहोस् । यिनीहरू कष्टको बेला धैर्य गर्दथे र अल्लाहको आदेशलाई पुरा गर्थे ।
८६. हामीले उनीहरूलाई दयाको पात्र बनायौं । उनीहरूलाई नबी बनायौं र सबैलाई स्वर्गमा प्रवेश गरायौं किनकि उनीहरू अल्लाहका असल भक्तहरू थिए । उनीहरू आफ्ना पालनकर्ताका आज्ञाकारी थिए र उनीहरूले आफ्ना लुकेका र सार्वजनिक पक्षलाई पवित्र राखे ।
८७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) !  माछावाला यूनुस (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । जब उनी आफ्नो समुदायलाई उनीहरू अति अवज्ञाकारी भएको कारणले रिसाउँदै आफ्नो पालनकर्ताको अनुमति बिना नै छोडेर गए । उनी गएको कारणले हामी उनलाई सजाय दिन्नौं भनी उनलाई लागेको थियो । तर माछाले उनलाई निलेपछि उनी ठूलो पीडा र कैदमा परे । यो उनको परीक्षा थियो । अनि उनले माछाको पेट भित्रको, समुद्रको र रातको अन्धकारमा आफ्नो गल्तीलाई स्वीकार्दै र अल्लाहसमक्ष पश्चाताप गर्दै उहाँसँग दुआ गरे । उनले भनेः तपाईंबाहेक कोही सत्य उपास्य छैन । तपाईं  पवित्र र उत्कृष्ट हुनुहुन्छ र म अत्याचारीहरूमध्येको हुँ ।
८८. हामीले उनको दुआ स्वीकार गर्यौं र उनलाई त्यस अन्दकारहरूबाट र माछाको पेटबाट बाहिर निकालेर कठोर पीडाबाट मुक्त गर्यौं । जसरी हामीले यूनुस (अलैहिस्सलाम) लाई मुक्त गर्यौं त्यसरी नै हामी मोमिनहरूलाई दुआ गरेपश्चात पीडाबाट मुक्त गर्छौं ।
८९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जकरिया (अलैहिस्सलाम) लाई सम्झनुहोस् । उनले आफ्ना पालनकर्तासँग बिन्ती गरे । उनले भनेः हे मेरा पालनकर्ता ! मलाई छोरा नभएको अवस्थामा एक्लै नछोड्नुहोस् । तपाईं नै उत्तम उत्तराधिकारी हुनुहुन्छ र मलाई एउटा छोरो दिनुहोस् जो मेरो उत्तराधिकारी हुनेछ ।
९०. अनि हामीले उनको दुआ स्वीकार गर्यौं, उनलाई यह्या नामक सन्तान दियौं र उनकी बाँझ पत्नीलाई सन्तान जन्माउने योग्य बनायौं । वास्तवमा, जकरिया, उनकी पत्नी र उनको छोरा सत्कर्म गर्न तत्पर रहने गर्थे । हामीलाई पुण्य प्राप्तिको चाहनाले र हाम्रो यातनाको डरले पुकार्ने गर्दथे र उनीहरू हामीसँग बिन्ती गर्ने गर्दथे ।
९१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मर्यम (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उनले स्वयंलाई व्यभिचारीबाट जोगाएर राखे । अनि अल्लाहले उनीतर्फ जिब्रील (अलैहिस्सलाम) लाई पठाउनुभयो र उनले उनीभित्र फुके । उनको गर्भमा ईसा (अलैहिस्सलाम) लाई धारण गरे । वास्तवमा, उनी र उनको छोरा ईसा (अलैहिस्सलाम) दुबैजना मानिसहरूका लागि अल्लाहको शक्तिको निशानी हुन् । अल्लाहले उनलाई पिता बिना जन्माउँदा कुनै कुराले पनि उहाँलाई बाध्य पार्न सकेन ।
९२. वास्तवमा,, हे मानिसहरू हो ! तिमीहरूको समूह एउटै समूह हो र त्यो एकेश्वरवादमा आधारित हो र त्यो इस्लाम हो र म तिमीहरूको पालनकर्ता हुँ । तसर्थ एकाग्र भएर केवल मेरो उपासना गर ।
९३. तर मानिसहरू थुप्रै समूहमा विभाजित भए । तिनीहरूमा कोही एकेश्वरवादी, कोही मुश्रिक, कोही काफिर र कोही मोमिन छन् । तर यिनीहरू आखिरतको दिन हामीतर्फ नै फर्केर आउँनेछन् र हामी उनीहरूलाई उनीहरूको कर्म अनुसार बदला दिनेछौं ।
९४. तसर्थ तिनीहरूमध्ये जसले सत्कर्म गर्यो ऊ अल्लाह, रसूलहरू र आखिरतको दिनमा आस्था राख्ने हो र उसको सत्कर्मलाई नकारिने छैन । बरू अल्लाह उसको सत्कर्म सराहनुहुनेछ र उसलाई दोब्बर प्रतिदान दिनुहुनेछ । आखिरतमा उसले त्यसलाई आफ्नो कर्मपत्रमा लेखिएको देख्नेछ र ऊ खुशी हुनेछ ।
९५. हामीले नष्ट पारेका नगरका बासिन्दाहरूले गरेको कुफ्रको कारणले उनीहरू संसारमा फर्केर आउने, तौबा गर्ने र उनीहरूको तौबा स्वीकार्य हुने सम्भावना नै छैन ।
९६. उनीहरू कहिल्यै फर्कनेछैनन्  र याजूज र माजूजको ढोका खोलिने समय आउने छ । उनीहरू संसारको सम्पूर्ण अग्लो स्थानबाट छिटो छिटो आउनेछन् ।
९७. उनीहरूको आगमनसँ गैकयामत नजिकिने छ । त्यसको भय र संकटहरू प्रकट हुनेछन् ।  त्यसको भयले काफिरहरूको आँखा खुल्लै रहनेछन् । उनीहरू भन्नेछन्- कस्तो हाम्रो दर्भाग्य ! हामी संसारमा व्यस्थ थियौं र यस महत्वपूर्ण दिनको तयारी गरेनौं । बरू हामीले कुफ्र र पाप गरेर अत्याचार गर्यौं ।
९८. वास्तवमा,, हे मुश्रिकहरू ! तिमीहरू, तिमीहरूले उपासना गर्ने गरेका मूर्तिहरू र मनुष्य र जिनहरूमध्ये तिमीहरूको उपासमाबाट प्रसन्न भएकाहरू नर्कको ईन्धन हुन् । तिमीहरू र तिम्रा झूठा उपास्यहरू त्यसमा प्रवेश गर्नेछौ ।
९९. यदि यी झूठा उपास्यहरूको उपासना गरिनु सत्यतामा आधारित थियो भने उपासना गर्नेहरूसँग उनीहरू पनि नर्कमा जाने थिएनन् । उपासना गर्ने र उपासकहरू सम्पूर्ण नर्कमा जानेछन् । उनीहरू त्यहाँ सदा रहनेछन् र त्यहाँबाट निस्कन सक्ने छैनन् ।
१००. उनीहरूले भोग्नुपर्ने यातनाको कारणले त्यहाँ चिच्याइरहेका हुनेछन् । उनीहरू नर्कमा हुनेछन् र उनीहरूले सामना गर्नुपर्ने डरको कारणले त्यहाँ केही पनि सुन्नेछैनन् ।
१०१. जब मुश्रिकहरूले भनेः (वास्तवमा, ईसा र फरिश्ताहरूको उपासना गरिन्थ्यो र उनीहरू पनि नर्कमा जानेछन् ।) अल्लाहले जवाफ दिनुभयोः वास्तवमा, ईसा (अलैहिस्सलाम) जस्तै उनीहरू अल्लाहको ज्ञानमा पहिले नै उत्कृष्ट थिए र उनीहरू नर्कबाट मुक्त रहनेछन् ।
१०२. नर्कको गर्जनको आवाज उनीहरूसम्म पुग्दैन । उनीहरू आफूले चाहेको कृपा र आनन्दमा रहनेछन् । उनीहरूको आनन्द सदाको लागि हुनेछ ।
१०३. नर्कका बासिन्दाहरूलाई दिइएको यातनाको भयावह दृश्यले उनीहरू डराउने छैनन् । अनि फरिश्ताहरू अभिनन्दन गर्दै भन्नेछन्- संसारमा तिमीहरूसित वाचा गरिएको दिन यही हो । अनि उनीहरूले पाउने अनुग्रहहरूको उनीहरूलाई शुभ सूचना दिइनेछ ।
१०४. त्यसदिन हामी आकाशलाई पन्नाहरू पट्याए झैं पट्याउनेछौं र सृष्टिहरूलाई पहिलो पटक सृष्टि गरिएको रूपमा नै भेला पार्नेछौं । हाम्रो यो वाचा कहिल्यै असफल हुनेछैन । वास्तवमा, हामी आफ्नो वाचा पूरा गर्छौं ।
१०५. लौहे महफूज (सुरक्षित पेटिका) मा लेखिसकेपछि हामीले रसूलहरूमाथि अवतरण गरेका किताबहरूमा लेख्यौः वास्तवमा, यस धर्तीका उत्तराधिकारी हाम्रा असल र आज्ञाकारी भक्तहरू हुन् जो मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को उम्मत हो ।
१०६. हामीले पठाएको उपदेशमा पालनकर्ताले निर्धरित गरेको तरिकाले उपासना गर्ने भक्तहरूको लागि पर्याप्त मात्रामा फईदाहरू रहेका छन् र उनीहरू नै यसबाट फाइदा उठाउँछन् ।
१०७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई सम्पूर्ण सृष्टिका लागि दयाको रूपमा रसूल बनाएर पठाएका छौं किनकि तपाईं मानिसहरूको मार्गदर्शन र उनीहरूलाई अल्लाहको यातनाबाट जोगाउने चाहना राख्नुहुन्छ ।
१०८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस् – वास्तवमा, तिमीहरूको सत्य ईश्वर एक्लै हुनुहुन्छ, उहाँको कोही साझेदार छैन र उहाँ अल्लाह हुनुहुन्छ भनी मतर्फ वही गरिएको छ । तसर्थ तिमीहरू उहाँप्रति समर्पित होऊ उहाँको आज्ञाकारी बन ।
१०९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले ल्याउनुभएको कुराबाट यिनीहरू विमुख हुन्छन् भने, यिनीहरूलाई भन्नुहोस्- हामी एउटै अवस्थामा छौं भनी मैले भनि सकें । अल्लाहले वाचा गर्नुभएको यातनाले तिमीहरूलाई कहिले समात्ने छ भनी थाहा छैन ।
११०. वास्तवमा, तिमीहरूले जाहेर गरेका र तिमीहरूले लुकाएका कुराहरूको ज्ञान अल्लाहलाई थाहा छ । उहाँबाट केही लुकेको छैन र त्यसकै आधारमा तिमीहरूलाई बदला दिनुहुनेछ ।
१११. यातनालाई स्थगन गर्नु तिमीहरूको लागि परीक्षा हो, प्रलोभन हो वा तिमीहरूलाई कुफ्र र पथभ्रष्टतामा झन् अडिग गर्न अल्लाहको ज्ञान अनुसार तिमीहरूलाई एउटा निर्धारित समयसम्म रमाईलो गर्न दिइएको छ कि भनी मलाई थाहा छैन ।
११२. अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो पालनकर्तासँग दुआ गर्दै भन्नुभयोः हे मेरा पालनकर्ता ! हाम्रो र हाम्रा कुफ्रमा अडिग रहने समुदायबीच न्यायका साथ फैसला गर्नुहोस् । उनीहरूले बोलेको कुफ्र र झूठको बिरूद्धमा हामी हाम्रा दयावान पालनकर्ताको सहयोग चाहन्छौं ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...