सीधे मुख्य सामग्री पर जाएं

२३. सूरह अल्-मुमिनून (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. अल्लाहमाथि आस्था राख्ने र शरीअतको अनुसरण गर्नेहरूले चाहेको कुरा पाउन र डराएको कुराबाट बच्न सफल भएका छन् ।
२. यिनीहरू आफ्ना सलाहमा विनम्रता अपनाउँछन् । यिनीहरूका अङ्ग त्यसमा शीतल महसुस गर्छन् र यिनीहरूका हृदय हरेक प्रकारका चिन्ताबाट मुक्त हुन्छन् ।
३. यिनीहरू असत्यताबाट, विघ्नबाट र पापले भरिएका कुराहरू र कर्महरूबाट स्वयंलाई टाढा राख्दछन् ।
४. यिनीहरू आफूलाई दुराचारबाट र आफ्नो सम्पत्तिलाई जकात दिएर पवित्र राख्दछन् ।
५. यिनीहरू आफ्ना गुप्ताङ्गलाई व्यभिचार, समलिङगी र अन्य अनैतिकताबाट सुरक्षित राख्छन् । यिनीहरू चरित्रवान र पवित्र छन् ।
६. यिनीहरूकी पत्नी र दासी बाहेक किनकि उनीहरूसँग सम्बन्ध राख्दा यिनीहरू निन्दनीय हुँदैनन् ।
७. जसले आफ्नी पत्नी र दासीबाहेक अन्यसँग सम्बन्ध राख्ने आकांक्षा राख्छ भने उसले अल्लाहले निर्धारण गर्नुभएको हलाल छोडेर हराम रोजी सीमा उल्लङ्घन गरेको छ ।
८. यिनीहरू अल्लाहको नासो, उहाँका भक्तहरूको नासो र आफ्ना वाचाहरूको पालना गर्छन्, धोका दिदैनन् ।
९. यिनीहरू निरन्तर रूपले सलाह पढ्छन्, यसको निर्धारित समयमा र यसका सम्पूर्ण कार्यहरूलाई पूरा गर्छन् र यसको सुरक्षा गर्छन् ।
१०. यी गुणहरू भएकाहरू नै उत्तराधिकारी हुन् ।
११. यिनीहरू उच्च स्वर्गका उत्तराधिकारी हुन् जो त्यहाँ सदाका लागि रहनेछन् र त्यहाँका अनुग्रहहरू कहिल्यै समाप्त हुनेछैन ।
१२. हामीले पहिलो मनुष्य आदम (अलैहिस्सलाम) लाई माटोले सृष्टि गर्यौं । त्यो माटो पानी मिसिएको पृथ्वीको माटोको सारबाट लिइएको थियो ।
१३. अनि हामीले उसको पिँढीको सृष्टि वीर्यबाट गर्यौं जुन जन्म नहुञ्जेल गर्भमा रह्यो ।
१४. अनि वीर्य गर्भमा बसिसकेपछि त्यसलाई एउटा रगतको ढिक्को बनायौं । अनि त्यस रगतको ढिक्कोलाई चपाएको मासुको डल्लो सरह बनायौं । अनि त्यस मासुको डल्लोलाई कडा हड्डी बनायौं । अनि त्यस हड्डीमा हामीले मासु चढायौं । अनि त्यसमा आत्मा हालेर त्यसलाई एउटा छुट्टै सृष्टि बनायौं र त्यसलाई जीवित पार्यौं । तसर्थ पवित्र अल्लाह सर्वोत्तम सृष्टिकर्ता हुनुहुन्छ ।
१५. हे मानिसहरू ! यी चरणहरूबाट गुज्रिसकेर तिमिहरूको अवधि समाप्त भएपछि तिमीहरूले मर्नुपर्नेछ ।
१६. मृत्युपश्चात कयामतको दिन तिमीहरूको हिसाब लिनका निम्ति तिमीहरूलाई चिहानबाट उठाइनेछ ।
१७. हे मानिसहरू ! हामीले तिमीहरूमाथि सातवटा आकाशहरू एकमाथि अर्को गरी बनायौं । हामीले हाम्रा सृष्टिहरूलाई बेवास्ता गरेका छैनौं र न बिर्सेका छौं ।
१८. आवश्यकता अनुसार हामी आकाशबाट वर्षा गराउँछौं । क्षति हुने गरी धेरै वर्षा र पर्याप्त नहोला भनी थोरै वर्षा गराउँदैनौं । मानिसहरू र जनावरहरू त्यसबाट फाइदा उठाउन् भनी हामीले त्यसलाई धर्तीमा रोकेर राख्यौं । तर कसैले पनि फाइदा उठाउन नसक्ने गरी त्यसलाई समाप्त पार्ने हामी क्षमता राख्छौं ।
१९. अनि हामीले त्यस पानीले खजूर र अङ्गुरका बगैंचाहरू उमार्यौं । त्यसमा तिमीहरूका लागि विभिन्न प्रकार र रङ्गका फलहरू रहेका छन् जस्तै अन्जीर, अनार र स्याउ । तिमीहरू यी फलहरू खाने गर्छौ ।
२०. अनि त्यसबाट हामीले सैना पर्वतीय क्षेत्रमा उम्रने जैतुनको रूख उमार्यौं । जैतूनबाट तेल निकालिन्छ जुन छाला र खानाको लागि प्रयोग गर्न सकिन्छ ।
२१. हे मानिसहरू ! चौपाया (उँट, गाई र बाख्रा) हरूमा तिमीहरूको लागि पाठ र प्रमाण हो जुन तिमीहरूलाई अल्लाहको शक्ति र तिमीहरूप्रति उहाँको उदारताको पहिचान गर्न सहयोग पुर्याउँछ । यी चौपायाहरूको पेटमा रहेको शुद्ध दूधबाट हामी तिमीहरूलाई पिउन दिन्छौं । यो दूध पुउनेहरूको लागि स्वादिष्ट हुन्छ । यसमा तिमीहरूको लागि अनेकौं सुबिधाहरू रहेका छन् जसबाट तिमीहरू फाइदा उठाउँछौ जस्तै यातायात, ऊन, छाला र रौं । अनि तिमीहरू त्यसको मासु खान्छौ ।
२२. तिमीहरू भूमिको यात्रा चौपायाहरूमध्ये उँट चढी र पानीको यात्रा जहाज चढी गर्छौ ।
२३. हामीले नूह (अलैहिस्सलाम) लाई उनको समुदायतिर उनीहरूलाई अल्लाहतर्फ आह्वान गर्न पठायौं । उनीहरूलाई भनेः हे मेरो समुदाय ! केवल अल्लाहको उपासना गर । उहाँबाहेक तिमीहरूको कोही वास्तविक उपास्य छैन । के अल्लाहका आदेशहरूलाई मानेर र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर तिमीहरू अल्लाहसँग डराउँदैनौ ?
२४. अल्लाहलाई नकारिसकेका उनको समुदायका सम्मानीत व्यक्तिहरू र अगुवाहरूले आफ्ना अनुयायीहरू र आम जनतालाई भनेः जसलाई तिमीहरूले रसूल ठानेका छौ त्यो तिमीहरू सरह नै एउटा मान्छे हो । ऊ शक्ति चाहन्छ र तिमीहरूको मालिक बन्न चाहन्छ । यदि अल्लाहले हामीतिर रसूल पठाउन चाहनुभएको भए फरिश्ताहरूमध्येबाट पठाउनु हुनेथ्ये, मान्छे होइन । हामीभन्दा पहिलेका पुर्वजहरूमा उसले दावी गरेको कुरा जस्तो हामीले सुनेका छैनौं ।
२५. यो पागल व्यक्ति हो । उसले भनेका कुराहरूबाट ऊ स्वयं अवगत छैन । उसको अवस्था सबै समक्ष स्पष्ट नभएसम्म धैर्य गर ।
नूह (अलैहिस्सलाम) ले भनेः "हे मेरा पालनकर्ता ! मलाई नकारेकोमा उनीहरूसँग बदला लिई उनीहरूको बिरूद्ध मेरो सहायता गर्नुहोस् ।
२६. हाम्रो निर्देशनमा र हाम्रो निग्रानीमा एउटा डुङ्गा बनाउने हामीले उसलाई वही गर्यौं । उनीहरूलाई नष्ट गर्ने हाम्रो आदेश आएपछि पानी पूरै शक्तिका साथ उसले रोटी पकाउने ठाउँबाट बाहिर निस्कनेछ । सम्पूर्ण जीवितहरूको वंशलाई बढाउनका निम्ति उनीहरूमध्येबाट पुरुष र महिलालाई त्यसमा राख । अनि आफ्नो परिवारलाई पनि त्यसमा राख तर उनीहरूलाई होइन जसलाई तिम्रो पालनकर्ताले नष्ट पार्ने फैसला गर्नुभएको छ जस्तै, तिम्री पत्नी र तिम्रो छोरा । कुफ्र गर्ने अत्याचारीहरूलाई छोड्ने र उनीहरूलाई नष्ट नपार्ने अनुरोध गर्नको लागि मसँग बहस नगर । उनीहरू त यस बाढीमा डुबेर मर्ने नै छन् ।
२७. तिमी र तिमीसँग रहेका सुरक्षित मोमिनहरूलाई ढुङ्गामा चढाएपछि भनः सम्पूर्ण प्रशंसा अल्लाहको लागि जसले हामीहरूलाई काफिरहरूबाट जोगाउनुभयो र उनीहरूलाई नष्ट पार्नुभयो ।
२८. अनि भनः हे मेरा पालनकर्ता ! मलाई धर्तीको पवित्र स्थानमा ओराल्नुहोस् किनकि तपाईं उत्कृष्ट ओराल्ने हुनुहुन्छ ।
२९. वास्तवमा, नूह (अलैहिस्सलाम) र उनका साथमा रहेका मोमिनहरूको उद्धार गर्नु र काफिरहरूको विनाश गर्नु रसूलहरूलाई हाम्रो सहयोग र उनीहरूलाई झूठो ठहर गर्नेहरूलाई विनाश गर्ने हाम्रो शक्तिको प्रष्ट प्रमाण हो । हामीले नूह (अलैहिस्सलाम) लाई उसको समुदायतिर पठाउनु उनीहरूको परिक्षा थियो जसले गर्दा काफिर र मोमिन बीच अनि आज्ञाकारी र अवज्ञाकारी बीच फरक स्पष्ट होस् ।
३०. नूह (अलैहिस्सलाम) को समुदायको विनाशपश्चात हामीले अर्को समुदाय ल्यायौं ।
३१. हामीले उनीहरूबाटै उनीहरूमध्ये एउटा रसूल पठायौं जसले उनीहरूलाई अल्लाहतिर आह्वान गर्थ्यो । उसले उनीहरूलाई भन्योः केवल अल्लाहको उपासना गर, वास्तवमा, उहाँबाहेक तिमीहरूको वास्तविक उपास्य छैन । के अल्लाहकाले मनाही गर्नुभएका कुराहरूबाट बचेर र उहाँका आदेशहरूलाई मानेर तिमीहरू अल्लाहसँग डराउँदैनौ ?!
३२. उनको समुदायका सम्मानीत व्यक्तिहरू र अगुवाहरू जसले अल्लाहलाई नकारे, आखिरत र त्यसका पुण्य र पापका कुराहरूलाई झूठो ठहर गरे र सांसारिक जीवनमा हामीले दिएका अपार अनुग्रहहरूबाट अत्याचारी भइसके उनीहरूले आफ्ना अनुयायीहरू र आम जनतालाई भनेः यो तिमीहरू सरह एउटा मनुष्य मात्र हो । यसले पनि त्यही खान्छ र पिउछ जे तिमीहरू खान्छौ र पिउछौ । तिमीहरूतिर रसूल भएर आउनका निम्ति ऊ तिमीहरूभन्दा श्रेष्ठ होइन ।
३३. यदि तिमीहरू आफ्नो जस्तै मान्छेको अनुसरण गर्छौ भने अवश्य नै घाटा बेहोर्नेछौ किनकि तिमीहरूले आफ्ना उपास्यहरूलाई छोड्नाले उसको उपासनाबाट कुनै फाइदा प्राप्त गर्न सक्ने छैनौ र आफूभन्दा कम विशेषता भएको मान्छेको अनुसरण गर्न पुग्नेछौ ।
३४. के तिमीहरू मरेपछि, माटो र गलेको हाड भएपछि आफ्ना चिहानबाट तिमीहरूलाई फेरी जीवित पारेर उठाइनेछ भनी आफूलाई रसूल भन्नेले डर देखाउँछ ? के यो कुरा विश्वसनीय छ ?!
३५. तिमीहरूको मृत्युपश्चात तिमीहरू माटो र गलेको हाड भएपछि तिमीहरूलाई फेरी जीवित उठाइने कुरा असम्भव रहेको छ ।
३६. सांसारिक जीवनबाहेक अरू कुनै जीवन छैन, आखिरतको जीवन त छदैँ छैन । हामीमध्येका जीवितहरू मरेपछि फेरी जीवित हुँदैनन् । अरूहरू जन्म लिन्छन् र जीवन व्यतित गर्छन् र हामी कयामतको दिन हिसाबकिताबको लागि उठ्नेछैनौं ।
३७. आफूलाई तिमीहरूको रसूल भन्ने त केवल एउटा मान्छे मात्र हो । यसो भनेर उसले अल्लाहमाथि अभियोग लगाएको छ । तर हामी ऊमाथि आस्था राख्ने छैनौं ।
३८. रसूल (अलैहिस्सलाम) ले भनेः हे मेरा पालनकर्ता ! उनीहरूले मलाई झूठो ठहर गरेको कारणले उनीहरूसँग बदला लिनको लागि मेरो समर्थन गर्नुहोस् ।
३९. अल्लाहले उनलाई जवाफ दिनुभयोः केही समयपछि तिमीले ल्याएको सन्देशलाई झूठो ठहर गर्नेहरू उनीहरूले झूठो ठहर गरेको कारणले पछुताउने छन् । 
४०. उनीहरूलाई एउटा विनाशकारी गर्जनले समात्यो किनकि उनीहरू हठधर्म भएको कारणले यातना पाउन योग्य थिए । जसले उनीहरूलाई भग्नावशेषमा परिणत गर्यो । अत्याचारीहरूको विनाश होस् !
४१. अनि उनीहरूको विनाशपश्चात हामीले अन्य समुदायहरूको सिर्जना गर्यौं, जस्तै लूत, शुऐब र यूनुस (अलैहिमुस्सलाम) का समुदाय ।
४२. झूठो ठहर गर्ने समुदायहरूमध्ये कुनै पनि समुदायले जुन साधनको प्रयोग गरेपनि उनीहरूको लागि निर्धारित गरिएको विनाशको समयलाई न त अगाडि सार्न सक्नेछन् न पछाडि नै ।
४३. अनि हामीले एक पछि अर्को गरी रसूलहरू पठायौं । जब यी समुदायहरूमध्ये कुनै समुदायमा रसूल आए उनीहरूले उनलाई झूठो ठहर गरे । यसकारण हामीले तिनीहरूलाई एक पछि अर्को गरी नष्ट गर्यौं । मानिसहरूले उनीहरूको बारेमा भन्ने कथा बाहेक उनीहरूको अस्तित्व नै बाँकी रहेन । तसर्थ जसले उनीहरूको पालनकर्ताको तर्फबाट उनीहरूका रसूलहरूले ल्याएका सन्देशलाई झूठो ठहर गर्छन् उनीहरू नष्ट होऊन् ।
४४. अनि हामीले मूसा र उनका दाई हारून (अलैहिमस्सलाम) लाई हाम्रा नौंवटा निशानीहरूः (लौरो, हात, फटेङ्ग्रा, जुम्रा, भ्यागुता, रगत, बाढी, वर्ष, फलको अभाव) र स्पष्ट प्रमाण सहित पठायौं ।
४५. यी दुबैजनालाई हामीले फिरऔन र उसको समुदायका भारदारहरूतिर पठायौं तर उनीहरूले घमण्ड गरे र दुबैजनामाथि आस्था राखेनन् । अनि मानिसहरूमाथि आफ्नो प्रभुत्व र अन्यायका कारण उनीहरू अहङ्कारी भए ।
४६. अनि उनीहरूले भनेः के हामी दुईजना हामी जस्तै मानिसहरूमाथि आस्था राख्ने जसमा हामीभन्दा श्रेष्ठ हुने कुनै योग्यता छैन र उनीहरूको समुदाय (बनी इस्राईल) हामीप्रति आज्ञाकारी छन् ?!
४७. यी दुबैजनाले अल्लाहको तर्फबाट ल्याएका सन्देशलाई झूठो ठहर गरे । तसर्थ उनीहरूले झूठो ठहर गरेको कारणले उनीहरू डुबेर नष्ट हुन पुगे ।
४८. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं । आशा छ उसले आफ्नो समुदायलाई यसमार्फत सत्यतारो मार्गमा हिँडाओस् र उनीहरू यसको अनुसरण गरून् ।
४९. हामीले ईसा बिन मर्यम र उसको आमा मर्यम (अलैहिमस्सलाम) लाई हाम्रो शक्तिको चिन्ह बनायौं । ऊ बुवा बिना नै उसको गर्भमा बस्यो । हामीले दुबैलाई धर्तीमा अग्लो ठाउँमा शरण दियौं । हामीले दुबैजनालाई एक स्वच्छ, सफा र आवासीय स्थानमा एउटा नदीको साथमा राख्यौं ।
५०. हे रसूलहरू हो ! मैले वैध गरेको खाने कुराहरू खाऊ जुन स्वादिलो छ । शरीअत अनुसार सत्कर्म गर । वास्तवमा, म तिमीहरूको हरेक कार्यको ज्ञान राख्दछु । तिमीहरूको कुनैपनि क्रियाकलाप मबाट लुकेको छैन ।
५१. हे रसूलहरू हो ! तिमीहरूको समुदाय एउटै समुदाय हो र त्यो इस्लाम हो । म तिमीहरूको पालनकर्ता हुँ र मबाहेक तिमीहरूको कोही पालनकर्ता छैन । तर मेरा आदेशहरूको अनुसरण गरेर र मैले अवैध गरेका कुराहरूबाट बचेर मबाट डराऊ ।
५२. अनि धर्मको मामिलामा उनीहरूपछि उनका अनुयायीहरू छुट्टा छुट्टै गुटमा विभाजित भए । हरेक गुट आफ्नै आस्थाबाट प्रसन्न थियो अनि अल्लाहलाई मन पर्ने पनि यही हो भन्ने लाग्थ्यो र अरूसँग के छ भन्ने कुरालाई वास्ता गर्दैनथे ।
५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूमाथि यातना अवतरण हुञ्जेल उनीहरूलाई आज्ञानता र आश्चर्यतामा नै डुबिरहन दिनुहोस् ।
५४. आफूसँग जे छ त्यसबाटै प्रसन्न रहने यी गुटहरूले के हामीले संसारमा प्रदान गरेका सन्तान र सम्पत्तिहरूलाई उनीहरूले आफ्नो राम्रो कामको तुरून्तै पाउनु पर्ने बदला हो भनी ठानेका छन् ?! उनीहरूले सोँचेको जस्तो कदापि होइन । वास्तवमा, यो उनीहरूको लागि अवसर र प्रलोभन हो जसको उनीहरूलाई आभाष नै छैन ।
५५. आफूसँग जे छ त्यसबाटै प्रसन्न रहने यी गुटहरूले के हामीले संसारमा प्रदान गरेका सन्तान र सम्पत्तिहरूलाई उनीहरूले आफ्नो राम्रो कामको तुरून्तै पाउनु पर्ने बदला हो भनी ठानेका छन् ?! उनीहरूले सोँचेको जस्तो कदापि होइन । वास्तवमा, यो उनीहरूको लागि अवसर र प्रलोभन हो जसको उनीहरूलाई आभाष नै छैन ।
५६. वास्तवमा, यिनीहरू आफ्ना आस्थामा र सत्कर्ममा अल्लाहसँग डराउँछन् ।
५७. यिनीहरू उहाँका किताबका आयतहरूमा आस्था राख्दछन् ।
५८. यिनीहरू आफ्ना पालनकर्ताको तौहिदमा आस्था राख्दछन् र उहाँसँग कसैलाई पनि साझेदार बनाउँदैनन् ।
५९. जो सत्कर्म गर्न सङ्घर्ष गर्छन्, सत्कर्मद्वारा अल्लाहको निकट हुने प्रयास गर्छन्, र कयामतको दिन उहाँतिर फर्किने समय अल्लाहले उनीहरूको दान र सत्कर्म स्वीकार गर्नुहुन्न भनी डराउँछन् ।
६०. यस्ता महान गुणहरूको मालिकहरू सत्कर्म गर्न समर्पित रहन्छन् र उनीहरू सत्कर्म गर्न अगाडि रहन्छन् । यसका लागि उनीहरू अरूभन्दा बढी अग्रसर रहन्छन् ।
६१. हामी कसैलाई पनि उसले गर्न नसक्ने कामको भार दिदैनौं र हामीसँग एउटा यस्तो किताब छ जसमा हामीले सबैको क्रियाकलापहरूलाई सुरक्षित गरेका छौं । त्यसले बिना शंका सत्य कुरा गर्छ । उनीहरूको सत्कर्मलाई घटाएर र पापलाई बढाएर उनीहरूमाथि अत्याचार गरिने छैन ।
६२. बरू काफिरहरूको हृदय सत्य बोल्ने र उनीहरूमाथि अवतरित किताबलाई बेवास्ता गर्छन् । कुफ्र सँग-सँगै उनीहरू अन्य कामहरूमा पनि सङ्लग्न छन् ।
६३. जब हामी उनीहरूमध्ये संसारमा सम्पन्न रहेका व्यक्तिहरूलाई कयामतको दिन यातना दिनेछौं तब उनीहरू सहयोगको लागि चिच्याउनेछन् ।
६४. तसर्थ उनीहरूलाई अल्लाहको दयाबाट निराश गर्नका निम्ति भनिनेछः आज न चिच्याऊ र सहयोग नमाग किनकि तिमीहरूलाई अल्लाहको यातनाबाट बचाउने कोही सहयोगी छैन ।
६५. संसारमा अल्लाहका आयतहरू तिमीहरूलाई पढेर सुनाइन्थ्यो । तर तिमीहरूले त्यसलाई सुनेपछि त्यसलाई मन नपराएर आफ्ना पिठ्यूँ फर्काउथ्यौ ।
६६. यसो तिमीहरूले आफूलाई पवित्र घरको सेवक ठानी स्वयंलाई मानिसहरूभन्दा उच्च सम्झेर गर्यौ । वास्तवमा, तिमीहरू पवित्र घरको सेवक होइनौ किनकि यसको सेवक अल्लाहको भय राख्नेहरू हुन् । तिमीहरू त राती त्यसको वरिपरी अपशब्द प्रयोग गर्छौ र यस घरको सम्मान गर्दैनौ ।
६७. अल्लाहले कुरआनमा जे अवतरण गर्नुभएको छ त्यसमाथि आस्था राख्न र त्यसको अनुसरण गर्नको लागि के यी मुश्रिकहरू त्यसमा ध्यान दिदैनन् वा उनीहरूले त्यो कुरा प्राप्त गरे जुन तिनीहरूका पुर्खाले प्राप्त गरेका थिएनन् जस कारणले उनीहरू त्यसको विपरीत छन् र त्यसलाई झूठो ठहर गरे ।
६८. के यिनीहरू मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई चिन्दैनन् जसलाई अल्लाहले उनीहरूतर्फ पठाउनुभयो ? जस कारण उनीहरूले उहाँलाई मानेनन् । वास्तवमा, उनीहरू उहाँलाई राम्ररी चिन्छन् र उहाँका सत्यता र इमान्दारीलाई जान्दछन् ।
६९. बरू उनीहरू भन्छन्- ऊ त पागल हो । उनीहरूले त उहाँलाई झूठो ठहर गरे तर उहाँ उनीहरूसमक्ष सत्यता लिएर आए जुन अल्लाहको तर्फबाट हो भन्ने कुरामा कुनै शंका छैन । उनीहरूमध्ये धेरै जना सत्यलाई घृणा गर्छन् । उनीहरूले आफ्नो मनमा रहेको ईर्ष्याको कारण त्यसलाई मन पराउँदैनन् र आफ्नै अधर्मप्रति कट्टर छन् ।
७०. यदि अल्लाहले मामिलाहरूको व्यवस्थापनलाई यिनीहरूको लालचमा आधारित गर्नुभएको भए आकाशहरू र पृथ्वी नष्ट हुने थिए र यिनीहरू मामिलाहरूको परिणामको बारेमा र सञ्चालन राम्रो र नराम्रो हुने विषयमा अज्ञान भएको कारणले त्यहाँ बस्नेहरू पनि नष्ट हुने थिए । बरू हामीले उनीहरूको लागि सम्मान र महानता रहेको कुरा प्रदान गर्यौं जुन कुरआन हो तर उनीहरू त्यसबाट विमुख भएका छन् ।
७१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईं उनीहरूसमक्ष जे लिएर आउनुभएको छ त्यसको बदलामा पारिश्रमिक माग्नुभएको छ जसले उनीहरूलाई आह्वानलाई स्वीकार गर्न रोक्यो ? तपाईंले यसो गर्नुभएन । तपाईंको पालनकर्ताको अनुग्रह र प्रतिदान यिनीहरू र अरूहरूले दिन सक्ने पारिश्रमिकभन्दा अति उत्तम छ । उहाँ सर्वोत्तम प्रदानकर्ता हुनुहुन्छ ।
७२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं यिनीहरूलाई र अरूहरूलाई सीधा बाटोतर्फ आह्वान गर्नुहुन्छ जसमा कुनै टेढोपन छैन र त्यो इस्लामको बाटो हो ।
७३. वास्तवमा, यिनीहरू आखिरतमा र त्यसदिन हिसाबकिताब हुने र त्यहाँ सजाय र पुण्य दिने कार्यहरूमाथि आस्था राख्दैनन् । यिनीहरू इस्लमको बाटोबाट टेढो बाटोतिर मोडेका छन् र त्यस टेढो बाटोले उनीहरू नर्कसम्म पुर्याउनेछ ।
७४. यदि हामीले उनीहरूप्रति दया देखायौं र उनीहरूलाई अनिकाल र भोकमरीबाट मुक्त गर्यौं भने उनीहरू सत्यतालाई छाडी आफ्नै पथभ्रष्टतामा आनाकानी गर्नेछन् र अलमलमा पर्नेछन् ।
७५. अनि हामीले तिनीहरूलाई सबै किसिमका विपत्तिहरूद्वारा जाँच्यौं तर तिनीहरू आफ्ना पालनकर्ताको लागि नम्र र समर्पित भएनन् । अनि तिनीहरूले विपत्तिहरू आई पर्दा त्यसबाट बच्नको लागि आफ्ना पालनकर्तासँग नम्र भई दुआ पनि गरेनन् ।
७६. त्यसपछि जब हामीले कठोर यातनाको ढोका खोल्यौं उनीहरू बच्ने र भलाईको बाटोबाट निराश हुन पुगे । 
जसले आफ्नो कान, आँखा र दिमागबाट लाभ उठाउने गर्छ उसले कयामतको इन्कार नगर्ने भएकोले अल्लाहले उनीहरूलाई ती कुराहरू प्रदान गर्नुभएको उल्लेख गर्दै भन्नुभयोः
७७. हे कयामतलाई नमान्नेहरू ! तिमीहरू सुन्न सक भनी अल्लाहले तिमीहरूको लागि कान बनाउनुभएको छ, हेर्नको लागि आँखा बनाउनुभएको छ र सोँच्नको लागि दिमाग बनाउनुभएको छ तापनि यी सबैको लागि तिमीहरू थोरै मात्रै धन्यबाद दिन्छौ ।
७८. हे मानिसहरू ! उहाँले नै तिमीहरूलाई पृथ्वीमा सृष्टि गर्नुभएको हो । तसर्थ कयामतको दिन तिमीहरूलाई हिसाबकिताब गर्न र बदला दिनको लागि  उहाँतिर नै फर्काएर लगिनेछ ।
७९. उहाँबाहेक अरू कोही पनि जीवन प्रदान गर्न सक्दैन । अनि उहाँबाहेक अरू कोही मृत्यु दिन सक्दैन । रात र दिनको परिवर्तन, अन्धकार र प्रकाशको प्रबन्धन र लामो र छोटो अवधिको अनुमान लगाउने काम उहाँकै हातमा छ । के तिमीहरू सृष्टि र प्रशासनमा उहाँको मात्र शक्ति छ भनी महसुस गर्दैनौ ?!
८०. तर जस्तो कुफ्रको कुरा उनीहरूका पुर्खाहरूले गरेका थिए उनीहरूले पनि त्यसतै कुरा गरे ।
८१. सत्यलाई बेवास्ता गरी त्यसलाई नकार्नको लागि उनीहरूले भनेः हामी मरेर माटो र गलेको हड्डी भएपछि के हामीलाई हासाबकिताबको लागि फेरी जीवित पारिनेछ र ?!
८२. मृत्युपश्चात जीवित हुने वाचा हामीसँग र हामीभन्दा पहिले हाम्रा पुर्खाहरूसँग पनि गरिएको थियो तर हामीले त्यो वाचा पूरा भएको देखेका छैनौं । यो त पहिलेका मानिसहरूका परिकथा र झूठ बाहेक केही होइन ।
८३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कयामतलाई नकार्ने यी काफिरहरूलाई भन्नुहोस्- यदि तिमीहरूसँग ज्ञान छ भने भन यो पृथ्वी र यसका बासीहरूको मालिक को हो ?
८४. उनीहरूले भन्नेछन्- यो पृथ्वी र यसका बासीहरूको मालिक अल्लाह हुनुहुन्छ । तसर्थ उनीहरूलाई भन्नुहोस्- यस पृथ्वी र यसका बासीहरूको मालिक तिमीहरूलाई मृत्युपश्चात जीवित पार्न सक्षम हुनुहुन्छ भन्ने कुरालाई तिमीहरू स्मरण गर्दैनौ ?
८५. उनीहरूलाई भन्नुहोस्- सातवटा आकाशका पालनकर्ता को हुन् त ? अनि सबैभन्दा महान सृष्टि सिंहासनको मालिक को हो ?
८६. उनीहरूले भन्नेछन्- सातवटा आकाशहरू र महान सिंहासनको मालिक अल्लाह हुनुहुन्छ । तसर्थ उनीहरूलाई भन्नुहोस्- अल्लाहको यातनाबाट बच्नको लागि उहाँका आदेशहरूको अनुसरण गरेर र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर तिमीहरू उहाँको भय राख्दैनौ ?
८७. उनीहरूलाई भन्नुहोस्- हरेक कुराहरूको अख्तियार कसको हातमा छ ? कोही पनि उहाँको अख्तियारबाट उम्कन सक्दैन । उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ सहयोग गर्नुहुन्छ । अल्लाहले कसैलाई यातना दिन चाहनुहुन्छ भने कोही त्यस फैसलालाई परिवर्तन गर्न सक्दैन र उहाँको यातनाबाट बचाउन सक्दैन, यदि तिमीहरूलाई यसको ज्ञान छ भने ?
८८. उनीहरूले भन्नेछन्- हरेक कुराहरूको अख्तियार अल्लाहको हातमा छ । तसर्थ उनीहरूलाई भन्नुहोस्- यो स्वीकार गरेपछि पनि किन तिमीहरूको बुद्धि भ्रष्ट भयो र उहाँबाहेक अरूहरूको उपासना गरिरहेका छौ ?
८९. वास्तविकता उनीहरूले दावी गरेको जस्तो होइन । बरू हामी उनीहरूसमक्ष सत्यलाई लिएर आएका छौं जसमा कुनै शंका छैन । उनीहरूले अल्लाहसँग शिर्क गर्नु र उहाँको छोरा छ भन्नु झूठमा आधारित छ । उनीहरूको दावीभन्दा अल्लाह धेरै उच्च हुनुहुन्छ ।
९०. काफिरहरूले सोँचेझैं अल्लाहको छोरा छैन र उहाँसँग अरू कोही सत्य उपास्य छैन । यदि उहाँको साझेदार भएको भए हरेक उपास्यले आफैले बनाएको सृष्टिलाई आफैले नियन्त्रण गर्ने थियो र एकअर्कामाथि प्रभुत्व प्राप्त गर्ने थिए । अनि ब्रह्माण्डको व्यवस्थापन ध्वस्त हुनेथ्यो । तर वास्तवमा, यस्तो केही भएको थिएन । त्यस कारण केवल अल्लाह सत्य उपास्य हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ । मुश्रिकहरूले लगाएको अभियोगबाट अल्लाह मुक्त र पवित्र हुनुहुन्छ ।  उहाँको विषयमा त्यो अभियोग उचित होइन र त्यो अल्लाहको छोरा छ भन्नु र उहाँको साझेदार ठहर गर्नु हो ।
९१. सृष्टिहरूको लागि अदृश्य रहेका सम्पूर्णको ज्ञान उहाँलाई र जुन कुराहरू उनीहरू देख्छन् र आफ्ना इन्द्रियहरूले जान्दछन् त्यसको ज्ञान पनि उहाँलाई छ । यी मध्ये कुनै पनि कुरा उहाँबाट लुकेको छैन । तसर्थ उहाँको कोही साझेदार हुनै सक्दैन ।
९२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- हे मेरा पालनकर्ता, यदि यी मुश्रिकहरूलाई दिइएको यातनाको धम्की मेरो उपस्थितिमा आउँछ भने ।
९३. हे मेरा पालनकर्ता ! यदि मेरो उपस्थितिमा तपाईंले उनीहरूलाई दण्डित गर्नुभयो भने मलाई उनीहरूमा सामेल नगर्नुहोस् । अन्यथा उनीहरूले भोग्नुपर्ने सजाय मैले पनि भोग्नु पर्ने होला ।
९४. वास्तवमा, हामी तपाईंलाई उनीहरूको यातनाको साक्षी बनाउने क्षमता राख्दछौं । हामीलाई कोही पनि कुनै पनि काम गर्न बाध्य बनाउन सक्दैन ।
९५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंसँग नराम्रो गर्नेलाई राम्रो तरिकाले जवाफ दिनुहोस् जस्तै उनीहरूलाई माफ गर्नुहोस् र उनीहरूको अपमानलाई सहन गर्नुहोस् । उनीहरूले शिर्कको अभियोग, उनीहरूको झूठ, तपाईंको विषयमा अनुचित टिप्पणी जस्तै जादुगर र पागल भनेको हामी राम्ररी जान्दछौं ।
९६. भन्नुहोस्- हे मेरा पालनकर्ता ! म शैतानहरूका प्रलोभन र बहकाउबाट तपाईंको शरण चाहन्छु ।
९७. हे मेरा पालनकर्ता ! उनीहरू मेरा केही मामिलाहरूमा मेरो निकट आउलान् भनी तपाईंको शरण चाहन्छु ।
९८. जब यी मुश्रिकहरूमध्ये कसैको मृत्युको समय आउँछ र उसले आफूमाथि आएको कुरालाई देख्छ उसले आफूले गुमाएका उमेरहरूप्रति र अल्लाहको हकमा गरेको गल्तीप्रति अपसोच गर्दै भन्नेछः हे मेरा पालनकर्ता ! मलाई सांसारीक जीवनमा फर्काइदिनुहोस् ।
९९. आशा छ, म फर्केपछि सत्कर्म गर्नेछु । कदापि होइन, तिमीले चाहेको जस्तो हुनेछैन । यो त उसको मुखबाट निस्केको कुरा मात्र हो । यदि उसलाई संसारमा पठाइयो भने उसले बाँचा गरेको पूरा गर्नेछैन । यी मृतकहरू कयामतको दिनसम्म संसार र आखिरतको बीच कारागारमा रहनेछन् । उनीहरूले गुमाएको कुरा पाउन र बिगारेको बनाउनका लागि कहिले पनि संसारमा फर्कनेछैनन् ।
१००. जब नरसिङ्गामा फुक्न कार्यभारी फरिश्ताले दोस्रो पटक नरसिङ्गा फुकेर कयामतको घोषणा गर्नेछ, आखिरतको भयावह अवस्थाले गर्दा तिनीहरूले वंशको नाममा घमण्ड गर्नेछैनन् । अनि आफ्नै समस्यामा फसेको हुनाले कसैले कसैलाई प्रश्न गर्नेछैन ।
१०१. त्यस समय जसको पुण्यकर्मको पल्ला पापको पल्लाभन्दा भारी हुनेछ उनीहरू नै सफल हुनेछन् किनकि उनीहरूले चाहेको पाउनेछन् र जुन कुराको डरले सताइरहेको हुनेछ त्यसबाट बचाइनेछन् ।
१०२. अनि जसको पापको पल्लाभन्दा पुण्यकर्मको पल्ला हलुका हुनेछ उनीहरूले नै स्वयंलाई हानी पुर्याउने काम गरेर र आस्था र सत्यकर्म जस्ता फाइदा पुर्याउने कामहरूलाई छोडेर आफ्नो ज्यानलाई खेर फाले । यिनीहरू नर्कमा सदाका लागि रहनेछ्न् र त्यहाँबाट उम्कन सक्नेछैनन् । 
१०३. आगोले उनीहरूको अनुहार पोल्नेछ र कठोर पीडाको कारण उनीहरूको माथिको र तलको ओठ खुम्चिएर दाँत देखिनेछन् ।
१०४. उनीहरूको निन्दा गर्दै भनियोः के संसारमा तिमीहरूसमक्ष कुरआनका आयतहरू पाठ गरेर सुनाइदैनथ्यो ?! तापनि तिमीहरू त्यसलाई झूठो ठहर गर्थ्यौ ।
१०५. उनीहरूले भनेः हे हाम्रा पालनकर्ता ! तपाईंलाई थाहा छ, हाम्रो दुर्भाग्य हामीमाथि छाएको थियो र वास्तवमा, हामी सत्यबाट पथभ्रष्ट थियौं ।
१०६. हे हाम्रा पालनकर्ता ! हामीलाई नर्कबाट मुक्त गर्नुहोस् । यदि हामीले फेरी कुफ्र र पथभ्रष्टताको बाटो अपनायौं भने हामीले आफ्नै प्राणमाथि अत्याचार गर्नेछौं र त्यसपछि हामीसँग अरू कुनै बहाना बाँकी रहनेछैन ।
१०७. अल्लाहले भन्नुभयोः अपमानित भएर नर्कमा नै बस र मसँग कुरा नगर ।
१०८. हाम्रा मोमिन भक्तहरूले भने- हे हाम्रा पालनकर्ता ! हामीले तपाईंमाथि आस्था राख्यौं तसर्थ हामीहरूको पापलाई क्षमा गरिदिनुहोस् र हामीमाथि दया गर्नुहोस् किनकि तपाईं सर्वश्रेष्ठ दयावान हुनुहुन्छ ।
१०९. तर तिमीहरूले आफ्ना पालनकर्तासँग दुआ गर्ने यी मोमिन भक्तहरूसित ठट्टा गर्यौ । उनीहरूसित ठट्टा गर्नाले तिमीहरू अल्लाहको सम्झना बिर्स्यौ । तिमीहरू उनीहरूलाई हाँसोको पात्र बनाउने गर्थ्यौ ।
११०. अल्लाहको अनुसरण गर्ने र तिमीहरूबाट भोगेको दुःखको क्रममा उनीहरूले गरेको धैर्यको बदलामा कयामतको दिन हामी उनीहरूलाई प्रतिदान स्वरूप स्वर्ग प्रदान गर्नेछौं । 
१११. जब उनीहरूले संसारमा बिगारेको सुधार्नको निम्ति त्यहाँ फर्केर जाने अनुराध गरे तब उहाँले उनीहरू लामो समयसम्म त्यहाँ बसेको कुरा र उनीहरूले चाहेको भए उनीहरू त्यहाँ पश्चाताप गर्न सक्षम थिए भन्ने कुरा सम्झाउनुभयो ।
११२. उहाँले भन्नुभयोः तिमीहरू धर्तीमा कति वर्ष बस्यौ ? अनि तिमीहरूले त्यहाँ कति समय खेर फाल्यौ ?
११३. उनीहरूले भन्नेछन्- हामी एक दिन वा दिनको केही अंश त्यहाँ रहेका थियौं । दिन र महिनाको गणमा गर्नेहरूसित सोध्नुहोस् ।
११४. उहाँले भन्नुभयोः तिमीहरू संसारमा केही क्षण मात्र रहेका हौ । यदि तिमीहरूलाई त्यहाँको बसाइको अवधि थाहा भएको भए अल्लाहको अनुसरणमा धैर्य गर्न तिमीहरूलाई सहज हुनेथ्यो ।
११५. हे मानिसहरू ! हामीले तिमीहरूलाई कुनै उद्देश्य बिना रमाइलोको लागि सृष्टि गरेको, जनावरहरू सरह तिमीहरूलाई प्रतिदान र यातना दिने छैनौं र कयामतको दिन हिसाबकिताब र बदलाको लागि हामीतर्फ फर्केर आउने छैनौ जस्तो तिमीहरूलाई लाग्छ ?!
११६. अल्लाह पवित्र हुनुहुन्छ जो मालिक हुनुहुन्छ र आफ्नो सृष्टिमाथि जसरी चाहनुहुन्छ शासन गर्नुहुन्छ । उहाँ सत्य उपास्य हुनुहुन्छ, उहाँको वाचा सत्य छ, उहाँको कुरा सत्य छ र उहाँ बाहेक कोही उपासनाको अधिकार राख्दैन । उहाँ सिंहासनको पालनकर्ता हुनुहुन्छ जुन सृष्टिहरूमध्ये सबैभन्दा महान सृष्टि हो । जो सबैभन्दा महान सृष्टिको पालनकर्ता हुनुहुन्छ उहाँ सम्पूर्ण सृष्टिको पालनकर्ता हुनुहुन्छ ।
११७. जसले अल्लाहसँगै अरूलाई पनि पुकार्छ उनीहरू उपासनाको अधिकार राख्छन् भन्ने प्रमाण ऊसँग छैन (यही मामिला अल्लाह बाहेक सम्पूर्ण झूठा उपास्यहरूको हो) । तसर्थ उसको नराम्रा कर्महरूको बदला उसको पालनकर्तासँगै छ । उहाँले नै उसलाई यातना दिनुहुनेछ । काफिरहरूले खोजेको पाउन सक्दैनन् र उनीहरूले डराएको कुराबाट मुक्त हुन सक्दैनन् ।
११८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- हे मेरा पालनकर्ता, मेरा पापहरू क्षमा गरिदिनुहोस् र ममाथि दया गर्नुहोस् । तपाईं पापीमाथि दया गर्नेहरूभन्दा सर्वश्रेष्ठ हुनुहुन्छ र पापीको पश्चाताप स्वीकार गर्नुहुन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...