सीधे मुख्य सामग्री पर जाएं

१४. सूरह इब्राहीम (मक्की)

  शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट



१. अलिफ० लाम० रा० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यो कुरआन यस्तो किताब हो जसलाई हामीले तपाईंमाथि अवतरण गरेका छौं । ताकि तपाईंले मानिसहरूलाई अल्लाहको आदेशले कुफ्र, अज्ञानता र पथभ्रष्टताबाट निकालेर ईमान, ज्ञान र मार्गदर्शनमा ल्याउनुहोस् । इस्लाम धर्म प्रभुत्वशाली, प्रशंसनीय  अल्लाहको मार्ग हो ।
२. आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूका मालिक अल्लाह नै हुनुहुन्छ । उहाँ मात्र भक्तिको हकदार हुनुहुन्छ । जगतको कुनै पनि वस्तु उहँसँग साझेदार छैन । काफिरहरूले अति कठोर दण्ड पाउनेछन् । 
३. काफिरहरू लोक र यसमा रहेका क्षणिक वस्तुहरूलाई सधैं रहने परलोकमाथि प्राथमिकता दिन्छन् । तिनीहरू मानिसहरूलाई अल्लाहको मार्गबाट फेर्छन् । अल्लाहको मार्गलाई सत्यबाट बङ्ग्याउन खोज्छन् ताकि कोही त्यसमा हिँड्न नसकोस् । यस्ता काफिरहरू पथभ्रष्टतामा धेरै टाढा पुगिसकेका छन् । 
४. हामीले प्रत्येक रसूललाई उनीहरूको समुदायले बोल्ने भाषामा पठायौं । ताकि मानिसहरूलाई ईश्वरीय आदेशहरू बुझ्न सजिलो होस् । रसूलले तिनीहरूलाई अल्लाहमाथि ईमान ल्याउन बाध्य पारुन् भन्ने उद्देश्यले हामी उनलाई पठाएनौं । अल्लाहले जसलाई चाहनुहुन्छ आफ्नो निसाफको आधारमा पथभ्रष्ट पार्नुहुन्छ । उहाँ जसलाई चाहनुहुन्छ आफ्नो कृपाले सत्मार्ग देखाउनुहुन्छ । उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँलाई पराजित गर्न सक्दैन । उहाँ सृष्टि गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ । 
५. हामीले मूसा (अलैहिस्सलाम) लाई यस्ता चमत्कारहरू दिएर पठायौं जो उनको सत्यतालाई स्पष्ट पार्दथ्यो र उनी अल्लाहको तर्फबाट पठाइएका छन् भन्ने कुरालाई प्रमाणित गर्दथ्यो । आफ्नो समुदायलाई कुफ्र र अज्ञानताबाट निकालेर ईमान र ज्ञानमा ल्याउने आदेश हामीले उनलाई दियौं । उनीहरूलाई विशेष दिनहरू याद दिलाउने आदेश पनि हामीले दियौं  । निस्सन्देह ती दिनहरूमा एकेश्वरवादका स्पष्ट प्रमाणहरू र मोमिनहरूमाथि उहाँका महान उपकार र वरदानहरू थिए । यसबाट धैर्यवान र कृतज्ञहरू मात्र फाइदा उठाउने गर्छन् ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) त्यस समयलाई याद गर्नुहोस् जब मूसा (अलैहिस्सलाम) ले अल्लाहको आदेशको पालना गर्दै आफ्नो समुदायलाई भने– हे मेरा समुदाय ! तिमीहरूप्रति अल्लाहले गर्नुभएका वरदानलाई याद गर । त्यस समयलाई याद गर जब उनले तिमीहरूलाई फिर्अौन र उसका अनुयायीहरूबाट मुक्त गरे । फिरऔन र उसका अनुयायीहरू तिम्रा छोराहरूलाई वध गर्थे ताकि तिमीहरूमध्ये उनको सत्ता-शासनलाई कब्जा गर्ने कोही जन्मोस् । तिनीहरू तिम्रा छोरीहरूलाई जीवित छोड्ने गर्थे ताकि तिनीहरूलाई अपमानित गरुन् । यसरी तिनीहरू तिमीहरूलाई पीडा दिने गर्थे जसमा तिमीहरूको धैर्यको ठूलो परीक्षा थियो । अल्लाहले तिमीहरूको धैर्यको कारणले फिरऔन र उसका अनुयायीहरूका पीडाबाट निकाल्नुभयो ।
७. मूसा (अलैहिस्सलाम) ले भने–  स्म्रण गर जब अल्लाहले तिमीहरूलाई खबरदार गर्नुभयोः यदि तिमीहरू अल्लाहका वरदानहरूप्रति आभार प्रकट गर्छौ भने उहाँले थप वरदान प्रदान गर्नुहुनेछ । यदि तिमीहरू उहाँका वरदानहरूप्रति कृतघ्न हुन्छौ र आभार प्रकट गर्दैनौ भने उहाँले कडा सजाय दिनुहुनेछ । 
८. मूसा (अलैहिस्सलाम) ले भने– हे मेरा समुदाय ! यदि तिमीहरू र तिमीहरूसँग संसारका सबै मानिसहरूले कुफ्र गरे पनि अल्लाहलाई कुनै फरक पर्ने छैन । त्यसले गर्दा तिमीहरूलाई नै हानि पुग्नेछ । अल्लाह आफैंमा सम्पन्न र प्रशंसनीय हुनुहुन्छ । मोमिनहरूको ईमानले उहाँलाई कुनै लाभ पुर्याउँदैन र काफिरहरूको कुफ्रले पनि उहाँलाई कुनै हानि पुर्याँउदैन ।  
९. हे काफिरहरू हो ! के तिमीहरूलाई तिमीहरूभन्दा पहिले बितेका समुदायहरूको सत्य कथाहरू पुगेनन् ? जब तिनीहरूले रसूलहरूलाई झूठा ठहर गरे तब अल्लाहले तिनीहरूलाई सर्वनाश पार्नुभयो । ती समुदायहरूमध्ये थिए- नूह (अलैहिस्सलाम) को समुदाय, हूद (अलैहिस्सलाम) को समुदाय आद, सालेह (अलैहिस्सलाम) को समुदाय समूद र तिनीहरूपछिका धेरै समुदायहरू जसको संख्या अल्लाहलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन । तिनीहरूसमक्ष तिनीहरूका रसूलहरू स्पष्ट चमत्कार लिएर आए । तर तिनीहरूले रिसले गर्दा आफ्ना हात मुखमाथि राखे र औंलाहरूलाई टोके । तिनीहरूले रसूलहरूलाई भने– हामी तिमीहरूले ल्याएका सन्देशलाई मान्दैनौं बरु त्यसको बारेमा द्विविधाजनक सन्देहमा छौं ।
१०. रसूलहरूले तिनीहरूलाई जवाफ दिंदै भने– के तिमीहरूलाई एकेश्वरवाद र मात्र अल्लाहको भक्ति गर्नुपर्छ भन्ने कुरामा सन्देह छ ? जबकि उहाँले बिना कुनै अघिल्लो उदाहरण आकाशहरू तथा पृथ्वी सृष्टि गर्नुभयो । उहाँ तिमीहरूलाई ईमानतर्फ बोलाउनुहुन्छ ताकि तिम्रा पापहरूलाई माफ गरुन् र सांसारिक जीवनमा तिमीहरूको मृत्युसम्म अवसर प्रदान गरुन् । समुदायले उत्तर दियो– तिमीहरू त हामी जस्तै मानव हौ । तिमीहरूभित्र कामीहरूमाथि कुनै विशेषता प्राप्त छैन । हामीहरूलाई हाम्रा पूर्वजहरूले पूजा गर्दै आएका मूर्तीहरूको पूजाबाट तिमीहरू हटाउन चाहन्छौ । यदि तिमीहरू अल्लाहका रसूलहरू हौ भन्ने दावीमा सच्चा छौ भने स्पष्ट प्रमाण प्रस्तुत गर ।
११. तिनीहरूका रसूलहरूले भने– हामी वास्तवमा तिमीहरू जस्तै मानव हौं । हामीहरू र तिमीहरूबीच केही समानता छ । तर हरेक चिजमा यो समानता छैन । अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ विशेष वरदान प्रदान गर्नुहुन्छ र उनीहरूलाई सन्देष्टा बनाउनुहुन्छ । तिमीहरूले माग गरे अनुसार अल्लाहको चाहनाबिना हामीहरू चमत्कार प्रस्तुत गर्न सक्दैनौं । यो हाम्रो वशमा छैन । अल्लाहले मात्र यसको सामर्थ्य राख्नुहुन्छ । मोमिहरूले आफ्ना सबै मामिलामा मात्र अल्लाहहमाथि भरोसा गर्नुपर्छ ।
१२. मात्र अल्लाहमाथि भरोसा किन नराखौं जबकि उहाँले हामीहरूलाई यसबारे स्पष्ट तरिका बताउनुभयो ? झूठो ठहर गरेर र ठट्टा गरेर जुन कष्टहरू तिमीहरूले हामीलाई दिने गर्छौ त्यसमा अवश्य धैर्य गर्नेर्छौं । मोमिनहरूले आफ्ना सबै मामिलामा अवश्यरूपमा मात्र अल्लाहमाथि भरोसा राख्नुपर्छ ।
१३. काफिरहरूले आ-आफ्ना रसूलहरूसँग वादविवादमा पराजित भएपछि भने– कि त हामीले तिमीहरूलाई आफ्नो समुदायबाट निष्कासित गरिदिन्छौं कि त तिमीहरूले हाम्रै धर्ममा फर्कनुपर्छ । अनि अल्लाहले रसूलहरूतर्फ वही (प्रकाशना) गर्नुभयो– हामी अवश्य नै अल्लाह र रसूलहरूका इनकार गर्ने अत्याचारीहरूलाई सर्वनाश गर्नेछौं ।
१४. हे रसूलहरू र उनीहरूका अनुयायीहरू हो ! यी अत्याचारी समुदायहरूलाई विनाश गरेपछि तिमीहरूलाई त्यस भूमिमा पुनर्बास गराउनेछौं । तिमीहरूमध्ये पुनर्बास ती व्यक्तिहरूलाई गराउनेछौं जो मोरो महानता तथा निरिक्षणलाई याद राख्छन् र मैले दिएको प्रकोपको चेतावनीबाट डराउँछन् ।  
१५. रसूलहरूले शत्रुहरूविरुद्ध अल्लाहसित मद्दत मागे । यस्ता सबै उद्दण्ड र सत्य-विरोधि शत्रुहरू घाटामा परे जसले स्पष्ट सत्यको अनुसरण गरेनन् ।
१६. महाप्रलयको दिन घमण्डीसमक्ष नर्क हुनेछ । नर्क तिनीहरूलाई पर्खि राखेको छ । नर्कमा तिनीहरूका घाउबाट निस्केका रगत र पीप तिनीहरूलाई पिलाइनेछ, जसले गर्दा तिनीहरूको तिर्खा मेटिने छैन । यसरी तिनीहरूलाई तिर्खा र त्यस जस्ता विभिन्न पीडाहरूबाट निरन्तर यातना दिइनेछ ।
१७. घाउका रगत र पीपलाई अति तीतो, तातो र घिन लाग्दो भएकोले नर्कबासीहरू पिउने प्रयास गरे पनि निल्न सक्ने छैनन् । अति कडा यातनाले गर्दा तिनीहरू चारै तिरबाट मृत्यु आइ रहेको र मर्न आँटेका महसूस गर्नेछन् तर मर्ने छैनन् । बरु निरन्तर यातना भोगि राखेका हुनेछन् । एकपछि अर्को कठोर दण्ड तिनीहरूका लागि तयार हुनेछ ।
१८. महाप्रलयको दिन काफिरहरूले गरेका सत्कर्म जस्तै दान, कमजोरमाथि उपकार र दया ठीक त्यस्तै बर्बाद हुनेछन् जसरी खरानीलाई कुनै आँधी र हुरीले यसरी उडाएर लैजान्छ कि त्यसको कुनै चिन्ह बाँकि रहँदैन । तिनीहरूले गरेका सत्कर्मले तिनीहरूलाई कुनै लाभ पुर्याउने छैन । ईमानबिनाको सत्कर्म टाढाको पथभ्रष्टता हो ।
१९. हे मानव ! के तिमीहरूले विचार गरेनौ अल्लाहले सत्यकासाथ आकाशहरू र धर्ती सृष्टि गर्नुभयो, बिना उद्देश्य गर्नुभएन । उहाँले चाहनुभएमा तिमीहरूलाई नष्ट पारेर तिमीहरूको स्थानमा नयाँ प्राणीको सृष्टि गर्नुहुनेछ जसले उहाँको आज्ञापालन र भक्ति गर्नेछ । उहाँको लागि यो अति सजिलो कार्य हो । 
२०. तिमीहरूलाई नष्ट पारेर अन्य प्राणीहरूलाई ल्याउनु अल्लाहको लागि कत्ति पनि कठिन छैन । उहाँ हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ ।
२१. महाप्रलयको दिन सबै प्राणीहरू अल्लाहकहाँ उपस्थित हुनेछन् । दुर्बल अनुयायीहरूले अगुवाहरूलाई भन्नेछन्– संसारमा हामी त तिमीहरूका अनुयायी थियौं । के तिमीहरू आज हामीहरूलाई अल्लाहको यातनाबाट बचाउन सक्छौ त ? तिनीहरूले जवाफ दिनेछन्–यदि अल्लाहले हामीहरूलाई सीधा मार्ग देखाउनु भएका भए अवश्य तिमीहरूलाई त्यो मार्ग देखाउने थियौं र हामीहरू सबै उहाँको यातनाबाट बच्ने थियौं । तर हामीहरू स्वयम् पनि पथभ्रष्ट भयौं र तिमीहरूलाई पनि पथभ्रष्ट पार्यौं । अब हामी र तिमीहरू दुर्बलता देखाऔं वा धैर्य गरौं एक समान छ । हाम्रो लागि यातनाबाट बाँच्ने कुनै उपाय छैन ।
२२. स्वर्गबासीहरू स्वर्गमा र नर्कबासीहरू नर्कमा गएपछि इब्लीसले भन्नेछ– वास्तविक्ता के छ भने अल्लाहले तिमीहरूलाई सत्य वचन दिनुभएको थियो जसलाई उहाँले पूरा गर्नुभयो । तर, मैले तिमीहरूलाई झूठो वचन दिएको थिएं, जसलाई मैले पूरा गरिनं । संसारमा मैले तिमीहरूलाई कुफ्र र पथभ्रष्टताको लागि कर गरेको थिएनं । मैले तिमीहरूलाई मात्र कुफ्रतर्फ बोलाएं र अवज्ञालाई शोभनीय बनाएं अनि तिमीहरूले तुरुन्तै मेरो कुरा मान्यौ । तसर्थ तिमीहरू आफ्नो पथभ्रष्टताको लागि मेरो निन्दा नगर, बरु स्वयम् आफ्नै निन्दा गर । म यातनाबाट जोगाउन तिमीहरूलाई डाक्दिनं । तिमीहरू पनि मलाई यातनाबाट जोगाउनको लागि नपुकार । मैले तिमीहरूलाई अल्लाहसँग साझेदार बनाएर कुफ्र गरें । निस्सन्देह शिर्क गरेर अत्याचार गर्नेहरूका लागि महाप्रलयको दिन दुखदायी यातना पर्खि राखेको छ ।
काफिरहरूलाई डराउनको लागि तिनीहरूको बास-स्थान नर्कको वर्णन गरेपछि अल्लाहले मोमिनहरूलाई प्रोत्साहन गर्नको लागि उनीहरूको बास-स्थान स्वर्गको वर्णन गर्दै भन्नुभयो–
२३. सत्कर्मी मोमिनहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराइनेछ जसको तल नदीहरू बगिरहेका हुनेछन् । उनीहरू अल्लाहको आज्ञाबाट त्यसमा सदा सर्वदा रहनेछन् । उनीहरूले आपसमा पनि, साथै फरिश्ताहरू र अल्लाहले अस्सालु अलैकुम (तिमीहरूमाथि शान्ति होस्) भनेर अभिनन्दन गर्नेछन् ।
२४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंलाई थाहा छ, अल्लाहले एकेश्वरवादको वाणी, ला इलाह इल्लल्लाह (अल्लाहबाहेक कोही पूज्य छैन) को उदाहरण कसरी बयान गर्नुभएको छ ? त्यो एउटा खजुरको असल रूख जस्तै हो जसको जरो भूमिभित्र जमेको हुन्छ र त्यसको पानी खाइराखेको हुन्छ  । त्यसका हाँगाहरू आकाशसम्म पुगेका हुन्छन् र शीत र ताजा हावा खाइरहेका हुन्छन् ।
२५. यस असल रूखले निरन्तर आफ्ना पालनकर्ताको आज्ञाबाट राम्रो फल दिने गर्छ । अल्लाह मानिसहरूका लागि यस आशाका साथ उपमा बयान गर्नुहुन्छ कि तिनीहरूले उपदेश ग्रहण गरुन् ।
२६. शिर्कको अपवित्र वाणीको उपमा यस्तो कुजात सिउँडीको रूख जस्तो छ, जसको जरो भूमिभित्र पसेको हुँदैन, यसलाई भूमिको माथिल्लो भागबाट सजिलै उखेल्न सकिन्छ । यो आकाशतर्फ अग्लो पनि हुँदैन । तेज हावाले सजिलै उखेलिन्छ अनि सुक्छ । कुफ्रको वाणीको परीणाम विनाश नै हो । यस वाणी-बाहकका सत्कर्म अल्लाहसम्म पुग्दैन ।
२७. अल्लाहले मोमिनहरूलाई एकेश्वरवादको वाणीद्वारा लोकमा दृढता प्रदान गर्नुहुन्छ यहाँसम्म कि उनीहरूको मृत्यु ईमानको अवस्थामा हुन्छ । बर्जख (चिहान) को जीवनमा पनि अल्लाहले मोमिनहरूलाई दृढता प्रदान गर्नुहुन्छ यहाँसम्म कि उनीहरू फरिश्ताले गरेको प्रश्न ठीक ठीक दिनेछन् । महाप्रलयको दिन पनि अल्लाहले उनीहरूलाई दृढता प्रदान गर्नुहुनेछ । तर अल्लाहले अत्याचारीहरूलाई तिनीहरूको शिर्क र कुफ्रको कारणले पथभ्रष्ट गर्नुहुन्छ । अल्लाह आफ्नो निसाफले पथभ्रष्टता चाहनेलाई पथभ्रष्ट गर्नुहुन्छ । उहाँले आफ्नो कृपाले मार्गदर्शन चाहनेहरूलाई मार्गदर्शन प्रदान गर्नुहुन्छ । उहाँलाई कसैले विवश पार्न सक्दैन ।
२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले कुरैशका काफिरहरूको अवस्था देख्नुभयो । तिनीहरूले हरममा शान्ति र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) जस्ता अल्लाहका वरदानहरूप्रति आभार प्रकट गरेनन् । बरु उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गरे । यसरी तिनीहरू ईमान ल्याउनुको सट्टा वरदानहरूप्रति कृतघ्नता देखाएर काफिर अनुयायीहरूलाई विनाशको घरमा पुर्याए ।
२९. विनाशको घर हो नर्क, जसमा तिनीहरू पस्नेछन् । तिनीहरू त्यसमा डढ्नेछन् । अति निकृष्ट बास-स्थान हो नर्क । 
३०. बहुदेववादीहरूले आफ्ना अनुयायीहरूलाई पथभ्रष्ट पार्नको लागि अल्लाहका प्रतिद्वन्दी ठहर गरे । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– केही दिनसम्म यस संसारमा अश्लीलता फैलाएर र भ्रम उत्पन्न गरेर मोज मस्ती गरिराख । अन्ततः महाप्रलयको दिन तिमीहरूको बास-स्थान नर्क नै हो ।
३१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे मोमिनहरू हो ! तिमीहरू पूर्णरूपमा सलाह कायम गर । अल्लाहले प्रदान गर्नुभएको धन-सम्पत्तिबाट अनिवार्य र अतिरिक्त दान गर । तिमीहरू लुकाएर पनि दान गर ताकि देखावटी नहोस् र वाह्य पनि खर्च गर ताकि अरूले पनि तिम्रो अनुसरण गरोस् । तिमीहरू त्यस दिनको आगमनभन्दा अघि नै खर्च गर जुन दिन न किनबेच हुनेछ, न अर्थ-दण्ड तिरेर यातनाबाट बाँच्न सकिन्छ र न कुनै मित्रले सिफारिश गर्न सक्नेछ ।  
३२. हे मानव ! अल्लाहले नै आकाशहरू र पृथ्वी बिना कुनै अघिल्लो उदाहरण सृष्टि गर्नुभयो । उहाँले नै आकाशबाट वर्षा बर्साएर तिमीहरूको जीविकाको लागि विभिन्न प्रकारका फलहरू उत्पन्न गर्नुभयो । उहाँले नै डुङ्गाहरूलाई तिमीहरूको अधीनमा गर्नुभयो जो पानीमाथि उहाँ कै भाग्य अनुसार गुड्छन् । उहाँले नै नदीहरूलाई पनि तिमीहरूको अधीनमा पार्नुभयो ताकि तिमीहरूले पनि त्यसका पानी खाऊ र आफ्ना जनावर तथा खेतीलाई पनि पानी देऊ ।
३३. उहाँले नै निरन्तर गतिशील रहने सूर्य र चन्द्रमालाई तिमीहरूको सेवामा खटाउनुभयो । उहाँले नै एकपछि अर्को आउने रात र दिनलाई पनि तिमीहरूको सेवामा खटाउनुभयो । रातलाई तिमीहरूको निन्द्रा तथा आरामको लागि र दिनलाई तिमीहरूको काम तथा सङ्घर्षको लागि उहाँले बनाउनुभयो ।
३४. अल्लाहले नै तिमीहरूलाई तिमीहरूले मागेका र नमागेका वस्तुहरू प्रदान गर्नुभयो । यदि तिमीहरूले अल्लाहका वरदानहरूको गणना गर्न चाहे पनि ठूलो संख्यामा रहेकोले गणना गर्न सक्ने छैनौ । निस्सन्देह मानव आफूमाथि अन्याय गर्छन् र उहाँका वरदानहरूको इन्कार गर्छन् । 
३५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) स्म्रण गर्नुहोस् जब इब्राहीम (अलैहिस्सलाम) ले पुत्र इस्माईल र उनकी आमा हाजिरालाई मक्का उपत्यकामा छोडेपछि प्रार्थना गरे– हे पालनकर्ता ! मैले आफ्नो परिवारलाई बसाएको मक्का नगरलाई शान्तिपूर्ण नगर बनाउनुहोस्, जहाँ रक्तपात नहोस् र कसैले अत्याचार नगरोस् । मलाई र मेरा सन्तानलाई मूर्ति पूजाबाट बचाउनुहोस् । 
३६. हे मेरा पालनकर्ता ! यी मूर्तिहरूले धेरै मानिसहरूलाई पथभ्रष्टतामा पारेका छन् । यी मूर्तीहरूले मूर्तीपूजकहरूको सिफारिश गर्नेछन् भन्ने ठानेका छन् । यसै भ्रममा परेर तिनीहरूले मूर्ती पूजा गर्न थाले । जसले एक अल्लाहको भक्तिमा मेरो अनुसरण गर्नेछ ऊ मेरो अनुयायी हुनेछ । हे मेरा पालनकर्ता ! मेरा अवज्ञाकारीहरूमध्ये जसलाई तपाईंले चाहेमा माफ गर्नुहोस् र दया गर्नुहोस् ।  
३७. हे पालनकर्ता ! मैले आफ्ना सन्तान इस्माईललाई बाँझो उपत्यका मक्कामा बसाएको छु, जहाँ कुनै बाली नाली उम्रँदैन । जहाँ पानी पनि छैन । मैले उनीहरूलाई तपाईंका प्रतिष्ठित घरको छेउमा ल्याएर बसाएको छु । हे पालनकर्ता ! यस घरको छेउमा यस कारणले बसाएको छु कि उनीहरूले त्यहाँ सलाह कायम गरुन् । हे पालनकर्ता ! मानिसहरूका हृदयलाई मेरा परिवार र यस नगरतर्फ आकर्षित गरिदिनुहोस् । उनीहरूलाई फलफूलहरूद्वारा जीविका प्रदान गर्नुहोस् ताकि उनीहरू यी वरदानहरूप्रति तपाईंका आभार प्रकट गरुन् । 
३८. हे पालनकर्ता ! हामीले लुकाएका वा व्यक्त गरेका कुराहमरूसित तपाईं अवगत हुनुहुन्छ । पृथ्वी र आकाशमा कुनै चिज तपाईंसित लुकेको छैन । तपाईं हाम्रा आवश्यक्तालाई पनि जान्नुहुन्छ । 
३९. सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् जसले मेरो दुआ (प्रार्थना) लाई स्वीकार गरेर मलाई बुढेसकालमा हाजिराबाट इस्माईल र साराबाट इस्हाक प्रदान गर्नुभयो । निस्सन्देह मेरा पालनकर्ता दुआ सुन्नुहुन्छ ।
४०. हे मेरा पालनकर्ता ! मलाई पूर्णरूपमा सलाह कायम गर्ने बनाउनुस् । मेरा सन्तानहरूलाई पनि सलाह कायम गर्ने बनाउनुहोस् । हे पालनकर्ता ! मेरो दुआ स्वीकार गर्नुहोस् ।
४१. हे पालनकर्ता ! मेरा पापहरूलाई माफ गर्नुहोस् । मेरा बुवा-आमालाई पनि माफ गर्नुहोस् । (उनले यो दुआ त्यतिखेर गरे जतिखेर उनको बुवा अल्लाहको शत्रु हो भन्ने कुरा उनलाई थाहा थिएन । जब यो कुरा स्पष्ट भयो तब उनले ऊसँग कुनै सम्बन्ध नभएको कुराको घोषणा गरे) । हे पालनकर्ता ! सम्पूर्ण मोमिनहरूलाई हिसाब किताबको दिन क्षमा प्रदान गर्नुहोस् ।
४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब अल्लाह अत्याचारीहरूमाथि प्रकोप अवतरित गर्न ढीलो गर्नुहुन्छ तब अल्लाहलाई तिनीहरूबाट असावधान नबुझ्नुहोस् । बरु उहाँ झूठो ठहर गर्ने र उहाँका मार्गबाट रोक्ने अत्याचारीहरूलाई जान्नुहुन्छ । अल्लाह तिनीहरूको प्रकोपलाई महाप्रलयसम्म स्थगित गर्नुहुनेछ । त्यस दिन डरलाग्दो दृश्य देखेकोले आँखाहरू एकोहोरो हेरिरहनेछन् ।
४३. जब मानिसहरू चिहानबाट टाउको उठाएर तेज गतिमा भागिरहेका हुनेछन्, तब आफ्नो आँखा नझुकाइकन त्रासले गर्दा आकाशतर्फ ट्वाल्ल पारी हेरिरहेका हुनेछन् । तिनीहरूका हृदयहरू उडिरहेका हुनेछन् र तिनीहरूको बुद्धि हराउनेछ ।
४४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं आफ्नो समुदायलाई महाप्रलयको दिनबाट सावधान गराउनुहोस् । अनि कुफ्र र शिर्क गरेर आफूमाथि अत्याचार गरेकाहरूले भन्नेछन्– हे हाम्रा पालनकर्ता ! हामीहरूलाई अवसर दिनुहोस् र प्रकोपलाई स्थगित गर्नुहोस् । हामीहरूलाई केही दिनको लागि संसारमा पठाउनुहोस्, हामी तपाईंमाथि ईमान ल्याउनेछौं र तपाईंका रसूलहरूको अनुसरण गर्नेछौं । तिनीहरूको निन्दा गर्दै उत्तर दिइनेछ– के तिमीहरूले पुनर्जन्मको इन्कार गरेका थिएनौ ? के तिमीहरू कसम खाएर भनेका थिएनौ– हामीहरू सांसारिक जीवनबाट सरेर आखिरतको जीवनमा आउने छैनौं ?!
४५. तिमीहरू त हूद र सालेह (अलैहिमस्सलाम) का समुदायहरू जस्ता अत्याचारीहरूका बास-स्थानहरू देखिसकेका छौ ।  तिनीहरूलाई हामीले किन नष्ट गर्यौं भन्ने कुरा पनि बुझि सकेका छौ । अल्लाहको किताबमा तिनीहरूको उदाहरण तिमीहरूलाई उपदेश दिनको लागि वर्णन गरिएको छ । 
४६. विगतका अत्याचारी समुदायहरूका बास-स्थानहरू देखिसकेका मक्काका यी काफिरहरूले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई हत्या गर्न र उहाँका आह्वानलाई समाप्त पार्न सक्दो चलखेल गरे । अल्लाह तिनीहरूको चलखेलसित अवगत हुनुहुन्छ, उहाँबाट केहि पनि लुकेको छैन । तिनीहरूका चलखेल यति दुर्बल छ कि पहाड र अन्य कुनै पनि वस्तु आ-आफ्नो स्थानहरूबाट हल्लिंदैनन् । जबकि अल्लाहको योजना अति शक्तिशाली छ ।
४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहले आफ्ना रसूलहरूको मद्दत र इस्लाम धर्मलाई सबै धर्महरूमाथि विजयी पार्ने वाचा गर्नुभएको छ । अल्लाहले आफ्नो यो वाचा भङ्ग गर्नुहुने छैन बरु अवश्य पूरा गर्नुहुनेछ । निस्सन्देह अल्लाह प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँमाथि विजयी हुन सक्दैन । उहाँ आफ्ना मित्रहरूलाई स-शक्त पार्नुहुनेछ र आफ्ना तथा आफ्ना रसूलहरूका शत्रुहरूसँग बदला लिनुहुनेछ । 
४८. अल्लाहले काफिरहरूसित यो बदला महाप्रलयको दिन लिनुहुनेछ, जुन दिन उहाँले यस पृथ्वीलाई अर्कै सेतो चमकिलो पृथ्वीमा परिणत गर्नुहुनेछ । उहाँले आकाशहरूलाई अर्कै आकाशहरूमा परिणत गर्नुहुनेछ । सबै मानिसहरू आ-आफ्ना चिहानहरूबाट आफ्ना जिऊ र कर्महरूका साथ निस्कनेछन् र एक मात्र महान सर्वशक्तिमान अल्लाहसमक्ष उपस्थित हुनेछन् ।  
४९.-५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) महाप्रलयको दिन तपाईंले काफिर र बहुदेववादीहरूलाई बन्दी बनाइएका देख्नुहुनेछ । तिनीहरूका हात, खुट्टा र गर्धनहरूलाई जञ्जीरले बाँधिनेछ । तिनीहरूका वस्त्र तारकोलको हुनेछ । तिनीहरूका अनुहारहरू आगोले डढेको ले काला हुनेछन् । 
५१. ताकि अल्लाहले प्रत्येक व्यक्तिलाई उसले गरेको सत्कर्म र दुष्कर्मको बदला देउन् । निस्सन्देह अल्लाह कर्महरूको हिसाब किताब चाँडै नै लिनुहुनेछ ।
५२. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित भएको कुरआ मानिसहरूका लागि अल्लाहको सन्देश हो । यसमा रहेका डरावा र धमकीसित तिनीहरूले डराउनुपर्छ । अल्लाह एक मात्र उपास्य हुनुहुन्छ भन्ने कुरा पनि तिनीहरूले जान्नुपर्छ । तिनीहरूले मात्र उहाँकै भक्ति गर्नुपर्छ र उहाँसँग कसैलाई साझेदार बनाउनु हुँदैन । बुद्धिमानहरूले यसबाट उपदेश ग्रहण गर्नुपर्छ । किनभने तिनीहरूले नै उपदेशहरूबाट फाइदा उठाउने गर्छन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...