शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे मानिसहरू हो ! आफ्ना पालनकर्ताका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । वास्तवमा, कयामतको साथमा आउने भूकम्प र अन्य डर लाग्दा घटनाहरूले निकै महत्व बोकेका छन् । तसर्थ अल्लाहलाई प्रसन्न पार्ने कामहरू गरेर त्यसको तयारी गर ।२. त्यसदिन भयभीत भएर हरेक स्तनपान गराउने आमाले आफ्नो शिशुलाई बिर्सेको र हरेक गर्भवतीले गर्भपतन गरेको तिमीहरूले देख्नेछौ । घटनाको गम्भीरताको कारण तपाईंले मानिसहरूलाई मात्तेकाहरू सरह बुद्धिविहीन देख्नुहुनेछ । रक्सीले मात्तेर होइन बरू अल्लाहको कठोर यातनातो कारणले उनीहरूले आफ्नो मस्तिष्कको नियन्त्रण गुमाउनेछन् । कयामतको दिन हुने डर लाग्दो घटनाहरूको उल्लेख गरेर कयामत र फेरी जिउँदो पार्ने कुरालाई नकार्नेहरूको निन्दा गर्दै अल्लाहले भन्नुभयोः३. मरेपछि अल्लाहले पुनः जीवित पार्ने क्षमता राख्नुहुन्छ भन्ने विषयलाई लिएर वादविवाद गर्ने केही मानिसहरूसँग यसको आधारको लागि कुनै ज्ञान छैन । बरू उनीहरू यस धारणा र भनाईमा आफ्नो पालनकर्ताको बिद्रोह गर्ने हरेक शैतान र पथभ्रष्टहरूको अगुवाको अनुसरण गर्दछन् ।४. मानव र जिनमध्येको बिद्रोह शैतानको अनुसरण गर्ने र त्यसमाथि विश्वास गर्नेलाई उसले पथभ्रष्ट गर्नेछ र उसलाई कुफ्र र पापको बाटोमा हिँडाइएको हुनाले नर्कको यातनातिर डोर्याएर लानेछ भन्ने कुरा उसमाथि अनिवार्य गरिएको छ ।५. हे मानवहरू हो ! यदि तिमीहरूलाई मृत्युपश्चात जिउँदो पार्न सक्ने हाम्रो क्षमतामाथि शंका छ भने ध्यान दिएर सोँच । हामीले तिमीहरूको पुर्खा आदमलाई माटोले सृष्टि गर्यौं अनि उसको वंशलाई पुरूषले महिलाको गर्भमा हालेको वीर्यले सृष्टि गर्यौं । त्यसपछि वीर्य ढिक्को रगतमा परिणत हुन्छ र त्यसपछि त्यो ढिक्को रगत चपाएको मासु सरह मासुको एउटा टुक्रामा परिणत हुन्छ । त्यसपछि त्यो मासुको टुक्रा या त पूर्ण प्राणीमा रूपान्तरण हुन्छ जुन गर्भमा नै रहन्छ र पछि जीवित जन्म लिन्छ या त्यो पूर्ण प्राणीमा रूपान्तरण हुँदैन र गर्भपतन हुन पुग्छ । यो तिमीहरूलाई विभिन्न चरणमा सृजना गर्न सक्ने हाम्रो क्षमताको प्रदर्शन हो । अनि हामी जसलाई चाहन्छौं गर्भमा नजन्मेसम्म निर्धारित नौ महिना राख्छौं । त्यसपश्चात हामी तिमीहरूलाई बच्चाको रूपमा तिमीहरूको आमाको पेटबाट निकाल्छौं । अनि तिमीहरूको पूर्ण शारीरिक र मानसिक विकास हुन्छ । तिमीहरूमध्ये कोही त्यसभन्दा पहिले नै मर्छ, कोही बुढेसकालसम्म बाँच्छ जुनबेला शारीरिक र मानसिक शक्ति घट्छ र शिशुभन्दा पनि कमजोर अवस्थामा पुग्छ अनि जानिराखेका कुराहरू पनि बिर्सन्छ । तिमी धर्तीलाई निर्बीज र बोटबिरूवा रहित देख्छौ । तर जब हामी पानी पराउँछौं त्यो बोटबिरूवाको बृद्धिको कारणले बढ्छ र हरेक प्रकारका सुन्दर बोटबिरूवाहरू उब्जाउँछ ।६. तिमीहरूको सृष्टिको आरम्भ, त्यसका चरणहरू र तिमीहरूमध्ये जन्म लिएकाहरूको अवस्थाको वर्णन गर्नुको कारण तिमीहरूको वास्तविक सृष्टिकर्ता तिमीहरूले पूज्ने गरेका मूर्तिहरू होइनन् बरू अल्लाह नै हुनुमा कुनै शंका छैन, उहाँ नै मृतकलाई जीवित पार्नुहुन्छ, उहाँ सम्पूर्ण कामको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कसैले पनि असमर्थ तुल्याउन सक्दैन भन्ने कुरामा तिमीहरू विश्वास गर्न सक ।७. कयामत आउने कुरामा कुनै शंका छैन र अल्लाह नै मृतकहरूलाई उनीहरूको चिहानबाट जीवित पारेर उठाउनुहुनेछ र उनीहरूको कर्मको बदला दिनुहुनेछ भन्ने कुरामा तिमीहरू विश्वास गर्न सक । तेस्रो आयतमा अनुकरणको कारण पथभ्रष्ट हुने अवस्थाको उल्लेख गरेपछि अल्लाहले यस आयतमा कुफ्रका अगुवाहरूको पथभ्रष्टताको उल्लेख गर्नुभएको छः८. काफिरहरूमध्ये केही अल्लाहको एकेश्वरवादको विषयमा सत्यतासम्म पुर्याउने ज्ञान बिना विवाद गर्छन् । न उनीहरू मार्गदर्शन गर्नेको अनुसरण गर्छन् न उनीहरूको मार्गदर्शनको लागि अल्लाहको तर्फबाट अवतरित प्रकाशमय किताब नै छ ।९. मानिसहरूलाई आस्थाबाट र अल्लाहको धर्मलाई अपनाउनबाट रोक्नको लागि गर्वले अनुहार फेरेर विवाद गर्छन् । जसको यस किसिमको चरित्र छ उसलाई दिइने यातनाको कारण ऊ संसारमा अपमानित हुनुपर्नेछ र आखिरतमा हामी उसलाई आगोको यातनाको स्वाद चखाउनेछौं ।१०. उसलाई भनिनेछः तिमीहरूले गरेको कुफ्र र पापको कारणले तिमीहरूलाई यातना दिइएको हो । अल्लाह आफ्ना सृष्टिहरूले पाप नगरिकन उनीहरूलाई यातना दिनुहुन्न ।११. मानिसहरूमध्ये कोही यस्ता पनि छन् जो अलमलमा छन् र शंकामा परि अल्लाहको उपासना गर्छन् । यदि उनीहरूलाई स्वास्थ र धनमा लाभ हुन्छ भने उनीहरू आफ्नो धर्ममा र अल्लाहको उपासनामा अडिग रहन्छन् । यदि रोग र निर्धनता दिएर उनीहरूको परीक्षा लिइन्छ भने उनीहरू आफ्नो धर्मबाट निराश हुन्छन् त्यसलाई त्याग्छन् । परिणाम स्वरूप उसको संसार बर्बाद हुनेछ अनि उसको कुफ्रले उसलाई सांसारिक जीवनमा लेखिएको भन्दा बढी दिन सकेन र अल्लाहको यातना भोगेर उसको आखिरत बर्बाद हुनेछ । यो स्पष्ट पतन हो ।१२. ऊ अल्लाहलाई छोडी जुन मूर्तिहरूको उपासना गर्छ यदि उसले उनीहरूको विरोध गरे बापत उसलाई हानि पुर्याउन सक्दैनन् र उनीहरूको अनुसरण गरे बापत उसलाई फाइदा दिन सक्दैनन् । मूर्तिहरूसँग मागेको दुआले न हानि पुर्याउन सक्छ न फाइदा नै दिन सक्छ र यो वास्तविक पथभ्रष्टता हो जुन सत्यताबाट निकै टाढा छ ।१३. यो काफिर जो मूर्तिहरूको पूजा गर्छ उनीहरूसँग दुआ गर्छ वास्तवमा, उसको निश्चित हानि अनुपस्थित फाइदाभन्दा निकट रहेको छ । कति नराम्रो उपास्य हो यो जसको हानि उसको फाइदाभन्दा नजिक रहेको छ । ऊसँग सहयोग चाहने व्यक्तिको लागि ऊ धेरै नराम्रो सहयोगी हो र उसलाई साथी बनाउनेको लागि ऊ धेरै नराम्रो साथी हो ।१४. वास्तवमा, अल्लाह उहाँमाथि आस्था राख्ने र सत्कर्म गर्नेहरूलाई यस्ता स्वर्गहरूमा प्रवेश गराउनुहुनेछ जसको महलहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । अल्लाह जे चाहनुहुन्छ गर्नुहुन्छ । जसमाथि दया गर्न चाहनुहुन्छ दया गर्नुहुन्छ र जसलाई दण्ड दिन चाहनुहुन्छ दण्डित गर्नुहुन्छ । उहाँलाई रोक्ने कोही छैन ।१५. अल्लाहले यस संसारमा र आखिरतमा आफ्नो नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सहयोग गर्नुहुनेछैन भनी कसैले सोँच्ने गर्दथ्यो भने उसले आफ्नो घरको कौसीसम्म एउटा रस्सी झुन्ड्याओस् अनि आफ्नो खुट्टा भूइँमा नराखी त्यसमा झुन्डियोस् । उसको यस उपायले ऊभित्रको क्रोधबाट उसलाई बचाउन सक्यो कि भनी उसले हेरोस् । तसर्थ अल्लाह नै आफ्नो नबीको सहयोग गर्नुहुनेछ यद्यपि विरोधीहरूले मानुन् वा नमानुन् ।१६. जसरी हामीले तिमीहरूको लागि दोस्रो जीवनको स्पष्ट प्रमाणहरू प्रस्तुत गरेका छौं त्यसरी नै हामीले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुरआनका प्रष्ट आयतहरू अवतरण गरेका छौं । अल्लाह आफ्नो कृपाले जसलाई चाहनुहुन्छ मार्गदर्शन र सत्य धर्मको बाटो देखाउनुहुन्छ ।१७. वास्तवमा, कयामतका दिन यस उम्मतका आस्थावानहरू, यहूदी, साबिई (केही नबीहरूका अनुयायीहरू), ईसाई र आगो र मूर्तिका उपासकहरूबीच अल्लाहले फैसला गर्नुहुनेछ । अनि आस्थावानहरूलाई अल्लाहले स्वर्गमा प्रवेश गराउनुहुनेछ र त्यसबाहेक सम्पूर्णलाई नर्कमा हाल्नुहुनेछ । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूका सम्पूर्ण कुराहरू र क्रियाकलापहरूको शाक्षी हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र उहाँ त्यसै अनुसार बदला दिनुहुनेछ ।१८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, आकाशहरूमा बस्ने फरिश्ताहरू, पृथ्वीमा बस्ने मोमिन मुनष्य र जिनहरू उहाँको अनुसरण गर्छन् । सूर्य, चन्द्र, आकाशका ताराहरू र पृथ्वीका पहाडहरू, रूखहरू र चौपायाहरू उहाँको अधिमा छन् । अधिकतर मानिसहरू उहाँको अनुसरण गर्छन् र धेरैले उहाँके अनुसरण अपनाउन मनाही गरेका छन् । तसर्थ उनीहरूको यस कुफ्रको कारणले उनीहरूमाथि अल्लाहको यातना अनिवार्य भएको छ । जसको कुफ्रको कारणले उसमाथि अल्लाहले अपमानलाई लेखिदिनुभएको छ उसलाई कसैले पनि सम्मानीत गर्न सक्दैन । वास्तवमा, अल्लाह जे चाहनुहुन्छ गर्नुहुन्छ र उहाँलाई कसैले पनि रोक्न सक्दैन । जब अल्लाहले उहाँको अनुसरण गर्ने र नगर्नेहरूको उल्लेख गर्नभयो त्यसपछि यी दुबैको नियतिको पनि उल्लेख गर्नुभयो र भन्नुभयोः१९. यी दुई समूहहरू हुन् जो आफ्ना पालनकर्ताको विषयमा उनीहरूमध्ये को सत्यतामा छ भनी मतभेदमा परेका छन् । एउटा समूह मोमिनको र दोस्रो समूह काफिरको । अनि काफिरहरूको समूहलाई आगोले यसरी घेरेको छ जसरी लुगाले लगाउने मान्छेलाई घेरेको हुन्छ र उनीहरूको टाउकोमाथिबाट अत्यन्तै तातो पानी खन्याइनेछ ।२०. तातो पानीले गर्दा उनीहरूको पेट भित्रका अङ्गहरू पग्लनेछन् र उनीहरूको छालासम्म पुगेर त्यसलाई पगाल्नेछ ।२१. नर्कमा उनीहरूको लागि फलामका घनहरू हुनेछन् जसले फरिश्ताहरूले उनीहरूको टाउकोमा हिर्काउनेछन् ।२२. नर्कको पीडा सहन नसकेर जब उनीहरू त्यहाँबाट निस्कन खोज्नेछन् उनीहरूलाई त्यहाँ फर्काइनेछ र भनिनेछः नर्कको यातनाको स्वाद चाख ।२३. मोमिनहरूको समूह अल्लाहमाथि आस्था राख्दछन् र सत्कर्म गर्छन् । अल्लाहले उनीहरूलाई स्वर्गहरूमा प्रवेश गराउनेछन् जसका महलहरू र रूखहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । अल्लाहले उनीहरूलाई सुनका बालाहरू र मोतीहरूले सजाउनुहुनेछ र उनीहरूको लुगा रेशमको हुनेछ ।२४. अल्लाहले उनीहरूलाई सांसारिक जीवनमा उनीहरूलाई ला इलाह इल्लल्लाह, तक्बीर र तह्मीद जस्ता वाणीहरू र प्रशंसनीय इस्लामको बाटोको मार्गदर्शन गर्नुहुनेछ ।२५. वास्तवमा, अल्लाहलाई नकार्नेहरू, हुदैबियाको सालमा मुश्रिकहरूले गरे सरह अरूलाई इस्लाममा प्रवेश हुनबाट रोक्नेहरू र मस्जिदे हरामबाट टाढा राख्नेहरूलाई चाँडै नै हामी पीडादायी यातना दिनेछौं । हामीले यस मस्जिदलाई मानिसहरूका लागि सलाह पढ्दा किब्ला अनि हज र उम्रहका रीतिहरूमध्ये एउटा रीतिको स्थान बनाएका छौं । यस रीतिमा मक्काबासीहरू र गैर मक्काबासीहरू समान छन् । जो कोही यस ठाउँमा जानाजानी पाप गरी सत्यताबाट टाढिन चाहन्छ भने हामी उसलाई पीडादायी यातना दिनेछौं ।२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस्, जब हामीले इब्राहीम (अलैहिस्सलाम) लाई बैतुल्लाहको ठाउँ र त्यसका अज्ञात सीमाहरू देखायौं । अनि हामीले उनलाई मेरो उपासनामा कसैलाई पनि सामेल नगर्न बरू मेरो मात्र उपासना गर्न र मेरो घरलाई त्यहाँ सलाह पढ्ने र तवाफ गर्नेहरूका लागि देखिने र नदेखिने अपवित्रताबाट पवित्र राख्न वही गर्यौं ।२७. हामीले तिमीलाई निर्माण गर्न आदेश दिएको यस घरको हज गर्न आउन मानिसहरूमा घोषणा गर । उनीहरू तिमीकहाँ हिँडेर, लामो यात्राका कारण थकित उँटहरूमा आउनेछन् । उँटहरूले उनीहरूलाई टाढाका हरेक प्रकारका बाटोबाट ल्याउनेछन् ।२८. मानिसहरूलाई पापको क्षमामा, पुण्य प्राप्तिमा, एउटै समूह हुनुमा र यस बाहेक अन्य फाइदाहरू हेर्न आउन देऊ । निश्चित दिनहरूमा जनावरहरूको कुर्बानी गर्नेबेला अल्लाहले उनीहरूलाई उँट, गाई र भेडाहरू दिनुभएकोमा उहाँलाई धन्यबाद दिन उनीहरूलाई अल्लाहको नाम लिन देऊ । ती दिनहरू हुन्- दसौं जिल्-हिज्जा र त्यसपछिका तीन दिनहरू । तसर्थ यी जनावरहरूबाट खाऊ र गरिबगुरूवाहरूलाई खुवाऊ ।२९. अनि उनीहरू हजका बचेका रीतिहरूलाई पूरा गरून् अनि उनीहरू आफ्ना कपाल खौरेर एह्रामको अवस्थाबाट बाहिर आउन् र आफ्ना नङ काटुन् र उनीहरूको शरीरमा एह्रामको अवस्थाको कारणले जमा भएको मैलालाई सफा पारून् । उनीहरूले हज, उम्रह वा कुर्बानीका प्रतिज्ञाहरू पूरा गरून् र बैतुल्लाहको तवाफे इफादा गरून् जसलाई अल्लाहले तानाशाहको हातबाट मुक्त गर्नुभयो ।३०. तिमीहरूलाई जुन कुराको आदेश दिइएको छ जस्तै कपाल खौरेर एह्रामको अवस्थाबाट बाहिर आउनु, नङ काट्नु, मैला सफा गर्नु, प्रतिज्ञा पूरा गर्नु र बैतुल्लाहको तवाफ गर्नु तिमीहरूमाथि अनिवार्य गरिएको छ । तिमीहरूमाथि जे अनिवार्य गरिएको छ त्यसको मान राख । एह्रामको अवस्थामा अल्लाहले बच्न भन्नुभएको र उहाँले प्रतिबन्ध लगाउनुभएका कुराहरूबाट उहाँले निर्धारित गर्नुभएको सीमाको उल्लङघन नहोस् भनी त्यसको मान राख्दै कोही बच्छ भने यो उसको लागि यस संसारमा र आखिरतमा उसको पालनकर्ताको अगाडि राम्रो हुनेछ । हे मानिसहरू हो ! तिमीहरूको लागि उँट, गाई र भेडालाई हलाल गरिएको छ । तिमीहरूमाथि हामिया, बहीरा र वसीलालाई प्रतिबन्धित गरिएको छैन । हाँले त केवल कुरआनमा उल्लेख भएकाहरू मात्रै प्रतिबन्धित गर्नुभएको छ जस्तै मृत जनावर, रगत आदि । तसर्थ तिमीहरू मूर्ति जस्तो अपवित्रताबाट बच र अल्लाहमाथि वा उहाँका सृष्टिमाथि झूठा अभियोग लगाउन र हरेक प्रकारका असत्य कुरा गर्नबाट टाढा बस ।३१. उहाँलाई खुशी पार्ने धर्मबाहेक अन्य सम्पूर्ण धर्महरूबाट टाढा बस र उहाँको उपासनामा कसैलाई पनि साझेदार नबनाऊ । जसले अल्लाहको साझेदार बनाउँछ मानौं ऊ आकाशबाट खस्यो । या त चराले उसको मासु र हड्डी खोसेर लैजाने छन् या हवाले उसलाई टाढाको ठाउँमा लगेर खसाल्नेछ ।३२. अल्लाहले उहाँको मात्र उपासना गर्ने, उहाँप्रति एकाग्र रहने, मूर्तिहरू त्याग्ने र झूठा कुराहरूबाट बच्ने आदेश दिनुभएको छ । जसले धर्मका चिन्हहरूको सम्मान गर्छ जसमा कुर्बानीका जनावरहरू र हजका रीतिहरू समावेश छन् उसले जानिराखोस् ती चिन्हहरूको सम्मान हृदयमा तिनीहरूको पालनकरताको भय हुनुको प्रमाण हो ।३३. तिमीहरूले मक्कामा गर्ने कुर्बानीमा निश्चित समयावधिका लागि फाइदाहरू रहेका छन् जस्तै चढाई गर्नु, ऊन, सन्तान र दूध । अल्लाहले तानाशाहको हातबाट मुक्त गराउनुभएको घरको नजिक कुर्बानी गरे लगत्तै यो फाइदा प्रप्तिको क्रम आरम्भ हुन्छ ।३४. अघिल्ला हरेक समूदायमा हामीले अल्लाहको लागि भनेर कुर्बानीको एउटा तरिका निर्धारित गर्यौं र कुर्बानीलाई जबह गर्नेबेला अल्लाहको नाम उच्चारण गर्छन् भन्ने आशा राख्यौं । अल्लाहले उँट, गाई र भेडा प्रदान गर्नुभएकोमा उहाँलाई धन्यबाद गर्न । हे मानिसहरू हो ! तिमीहरूको वास्तविक उपास्य एक मात्र हुनुहुन्छ र उहाँको कोही साझेदार छैन । तसर्थ आज्ञाकारी भई र नम्रताका साथ केवल उहाँप्रति समर्पित होऊ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! नम्र र समर्पितहरूलाई प्रसन्न पार्ने खबर सुनाउनुहोस् ।३५. जसलाई अल्लाहको सम्झना गराउँदा उनीहरू उहाँको यातनादेखि डराउँछन्, उहाँको आदेश विपरित काम गर्नबाट बच्छन्, केही आईपरे धैर्य गर्छन्, सहि तरिकाले सलाह पढ्छन् र अल्लाहले दिनुभएकोमध्येबाट भलाईको लागि खर्च गर्छन् ।३६. कुर्बानीको लागि बैतुल्लाह लगिने उँट र गाईबस्तुलाई हामीले धर्मको रीति र त्यसको निशानी बनाएका छौं । यसमा तिमीहरूको संसारका र आखिरतका फाइदाहरू रहेका छन् । तसर्थ उनीहरूलाई खुट्टा सीधा पारेर भाग्न नदिन आगाडीको खुट्टा बाँधेर उभ्याएपछि जबह गर्नुअघि (बिस्मिल्लाह) भन । हे जबह गर्नेहरू ! जबह गरिसकेपछि जब उनीहरू एक तर्फ लड्छन् उनीहरूलाई खाऊ । अनि माग्ने र नमाग्ने दुबै थरीका गरिबहरूलाई त्यसबाट भाग देऊ । जसरी हामीले यी जनावरहरूलाई यातायातका उद्देश्यका लागि प्रयोग गर्न र सवारी गर्न तिमीहरूको अधीनमा गरेका छौं त्यसरी नै हामीले तिनीहरूलाई अधीनमा गरेका छौं जब तिमीहरू अल्लाहको निकट हुन तिनीहरूलाई जबह गर्छौ । उनीहरूलाई तिमीहरूको अधीनमा गर्नका लागि अल्लाहले गर्नुभएको कृपाको लागि तिमीहरूले धन्यबाद दिन्छौ भन्ने आशा छ ।३७. तिमीहरूले गरेको कुर्बानीको मासु र रगत कदापी अल्लाहसम्म पुग्दैन र न स्वयं त्यसलाई माथि उठाइन्छ बरू अल्लाहसम्म यस कुर्बानीलाई गर्नेबेला तिमीहरूले अपनाउने ईशभय मात्र पुग्छ किनकि तिमीहरू उहाँको नजिक हुनका निम्ति एकाग्रताका साथ उहाँको आज्ञापालन गर्छौ । त्यसैगरी उहाँले जनावरहरूलाई तिमीहरूको अधीनमा गर्नुभयो र तिमीहरूलाई सत्यताको निर्देशन दिनुभएकोमा परिणाम स्वरूप तिमीहरू उहाँको गुणगाण गर्न सक र उहाँलाई धन्यबाद दिन सक । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उत्तम तरिकाले आफ्नो पालनकर्ताको उपासना गर्नेहरू र उहाँका भक्तहरूसँग उत्तम व्यवहार अपनाउनेहरूलाई प्रसन्न पार्ने खबर सुनाइदिनुहोस् ।३८. वास्तवमा, अल्लाह उहाँमाथि आस्था राख्नेहरूलाई उनीहरूको शत्रुबाट बचाउनुहुन्छ । वास्तवमा, अल्लाह कुनैपनि विश्वासघाती र कृतघ्न व्यक्तिलाई मन पराउनुहुन्न । ऊ अल्लाहलाई धन्यवाद भन्दैन बरू यसो भन्न मन पराउँदैन ।जब अल्लाहले उहाँ नै मोमिनहरूको रक्षा गर्नुहुन्छ भन्ने कुरा स्पष्ट पारेर उनीहरूको मन सन्तुष्ट तुल्याउनुभयो उनीहरूलाई काफिरहरूसँग युद्ध गर्ने अनुमति दिनुभयो र भन्नुभयोः३९. मोमिनहरूलाई उनीहरूसँग युद्ध गर्ने मुश्रिकहरूसँग युद्ध गर्ने अनुमति प्रदान गर्नुभयो किनकि उनीहरूको शत्रुले उनीहरूमाथि अत्याचार गरे । वास्तवमा, अल्लाह युद्ध बिना नै मोमिनहरूको सहयोग गर्न सक्ष्म हुनुहुन्छ । तर मोमिनहरूको परीक्षा काफिरहरूसँगको युद्धद्वारा लिनु अल्लाहको तत्वदर्शितामा आधारित छ ।४०. मोमिनहरूले अपराध नगरेता पनि उनीहरूमाथि अत्याचार गर्दै काफिरहरूले उनीहरूलाई आफ्ना घरहरूबाट बाहिर निकाले । उनीहरूले केवल यति भनेः हाम्रा पालनकर्ता त केवल अललाह नै हुनुहुन्छ, उहाँबाहेक अरू कोही छैन । यदि अल्लाहले नबीहरू र मोमिनहरूमाथि आफ्ना शत्रुसँग युद्ध गर्ने अनिवार्य नगर्नुभएको भए उनीहरूले उपासनाका स्थानहरूमा आक्रमण गरेका हुनेथ्ये अनि सन्यासीहरूका आश्रमहरू, ईसाईहरूका गिर्जाघरहरू, यहूदीहरूका उपासना गृहहरू र मुस्लिमहरूले सलाह पढ्ने मस्जिदहरू जहाँ मुस्लिमहरू अधिक मात्रामा अल्लाहको गुणगाण गर्छन्, यी सबैलाई पूर्णरूपले भत्काउने थिए । अल्लाहको दीन (धर्म) र उहाँको नबीको सहयोग गर्नेहरूको सहयोग अल्लाह गर्नुहुन्छ किनकि उहाँको धर्मको सहयोग गर्नेहरूको सहयोग गर्न अल्लाह शक्तिशाली हुनुहुन्छ र कोही पनि अल्लाहमाथि विजय प्राप्त गर्न सक्दैन ।४१. उनीहरू सहयोगको वाचा गरिएकाहरू हुन् जसलाई यदि शत्रुको बिरूद्ध सहयोग प्रदान गरी हामीले धर्तीमा सत्ता प्रदान गरेमा उनीहरूले सलाह उत्तम तरिकाले पढ्नेछन्, जकाह दिनेछन्, धर्मको उपदेश दिनेछन् र दुष्कर्मबाट रोक्नेछन् । अनि पुण्य र यातनासँग सम्बन्धित सम्पूर्ण कुराहरू केवल अल्लाहतिर फर्केर आउनेछन् ।४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंको समुदायले तपाईंलाई झूठो ठहर गर्छन् भने धैर्य गर्नुहोस् किनकि रसूलहरूमा तपाईंलाई मात्र झूठो ठहर गरिएको छैन बरू तपाईंको समुदायभन्दा पहिले नै नूहको समुदायले नूहलाई, आद समुदायले हूदलाई र समूद समुदायले सालिहलाई झूठो ठहर गरिसकेका छन् ।४३. इब्राहीमको समुदायले इब्राहीमलाई र लूतको समुदायले लूतलाई झूठो ठहर गरे ।४४. मदयनबासीहरूले शुऐबलाई र फिर्औन र उसको समुदायले मूसालाई झूठो ठहर गरे । उनीहरूको समुदायलाई थप अवसर प्रदान गर्नका लागि मैले उनीहरूबाट यातनालाई स्थगित गरें । फेरी मैले उनीहरूलाई यातना दियौं । हेर्नुहोस्, कस्तो थियो उनीहरूप्रति हाम्रो तिरस्कार । उनीहरूको कुफ्रको कारण मैले उनीहरूलाई नष्ट पारें ।४५. जति पनि अत्याचारी नगरहरूलाई हामीले यातना दिएर सर्वनाश पार्यौं त्यहाँका घरहरू भत्केका र मानिसहरूबाट खाली छन् । जति पनि इनार छन् सबै पानी पिउनेहरू नष्ट भएका कारणले बेकार छन् । अग्ला र श्रङगारिएका महलहरूले त्यहाँ बस्नेहरूलाई यातनाबाट जोगाउन सकेनन् ।४६. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको कुरालाई झूठो ठहर गर्नेहरू धर्तीमा घुमेर हेर्दैनन् ?! उनीहरूले ती नष्ट पारिएका घरहरूको चिन्हको अवलोकन गर्न सक्नेछन् । यसरी उनीहरू आफ्नो दिमागको प्रयोगले सोंच्न सक्छन् र उपदेश लिने उद्देश्यले उनीहरूको कथालाई सुन्न सक्छन् किनकि वास्तविक अन्धो हुनु देख्न नसक्नु होइन बरू चेतनाको अन्धो हुनु विनाशकारी अन्धोपन हो । यस्तो अन्धो व्यक्तिले पाठ र चेतना प्राप्त गर्न सक्दैन ।४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायका काफिरहरू तपाईंसित यस संसारमा र आखिरतमा चाँढै यातना आओस् भन्ने माग गर्छन् जसको चेतावनी उनीहरूलाई दिइएको थियो । अल्लाहले आफ्नो वाचा पूरा गर्न पछि हट्नुहुनेछैन । अनि उनीहरूले हतार गरेका सजायको केही अंश बद्रको युद्धमा उनीहरूमाथि आई पुग्यो । वास्तवमा, आखिरतमा दिइने एक दिनको यातना त्यसको कठोरताको कारण यस संसारका हजार वर्षबरारको हुनेछ ।४८. जति पनि अत्याचारी नगरहरू छन् जसको यातनालाई मैले स्थगित गरेको छु उनीहरूलाई अवसर प्रदान गर्न मैले यातना पठाउन हतार गरिन । अनि मैले यातना दिएर उनीहरूको सर्वनाश गरें । उनीहरू कयामतको दिन मतिर नै फर्केर आउनेछन् र म उनीहरूलाई उनीहरूको कुफ्रको कारण सदाको लागि यातना दिनेछु ।४९. भन्नुहोस्- हे मानिसहरू ! म त तिमीहरूको लागि सचेतक मात्र हुँ । मलाई जे दिएर पठाइएको छ त्यसलाई तिमीहरूसमक्ष पुर्याउँछु र मेरो चेतावनी प्रष्ट छ ।५०. अनि अल्लाहमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूको पापलाई उनीहरूको पालनकर्ताले क्षमा गर्नुहुनेछ र उनीहरूलाई स्वर्गमा कहिल्यै समाप्त नहुने उत्तम जीविका प्रदान गरिनेछ ।५१. जो हाम्रा निशानीहरूलाई झूठो ठहर गर्न मेहनत गर्छन् र उनीहरू अल्लाहलाई शक्तिहीन गरेर उहाँको यातनालाई छल्न सक्षम हुनेछन् भनी ठान्दछन् । उनीहरू नर्कमा जानेछन् र जसरी दुईजना साथी साथमा रहन्छन् त्यसरी नै उनीहरू नर्कसँग रहनेछन् ।५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंभन्दा पहिले हामीले जति रसूल र नबी पठायौं र जब उनले अल्लाहको किताबको बाचन गर्न थाले शैतानले उनको बाचनमा अवरोध उत्पन्न गर्यो र मानिसहरूले त्यो वही भएको कुरामा शंका गरे । तर अल्लाहले शैतानको अवरोधलाई हटाइदिनुभयो र आफ्ना आयतहरूलाई सुरक्षित गर्नुभयो । अल्लाहलाई सबै कुराको ज्ञान छ, उहाँबाट केही पनि लुकेको छैन र उहाँ आफ्नो सृष्टि, योजना र प्रशासनमा निपुण हुनुहुन्छ ।५३. शैतान नबी (सल्लल्लाहु अलैहि व सल्लम) को बाचनमा अवरोध उत्पन्न गर्छ तर अल्लाह त्यस अवरोधलाई मुनाफिकहरू र कठोर हृदय भएका मुश्रिकहरूको लागि परीक्षा बनाउनुहुन्छ । वास्तवमा, मुनाफिक र मुश्रिकहरूमध्ये अत्याचारीहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का शत्रु हुन् र सत्यता एवं सीधा मार्गबाट धेरै टाढा छन् ।५४. अल्लाहले जसलाई ज्ञान दिनुभएको छ उनीहरूलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित कुरआन नितान्त सत्य रहेको छ र हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम), अल्लाहले यसलाई तपाईंमाथि वही गर्नुभएको हो भनी विश्वास होस् । यसले गर्दा उहाँमाथि उनीहरूको विश्वास बढ्छ, उनीहरूको हृदयहरू उहाँको लागि समर्पित रहन्छन् र उहाँसँग डराउँछ । वास्तवमा, अल्लाह नै उहाँमाथि आस्था राख्नेहरूलाई सत्य र सीधा बाटोको मार्गदर्शन गर्नुहुन्छ जसमा कुनै टेढोपन हुँदैन । यो उहाँको लागि उनीहरूले देखाएको समर्पनको बदला हो ।५५. अल्लाहसँग कुफ्र गर्ने र उहाँको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई नमान्नेहरू अल्लाहले तपाईंमाथि कुरआन अवतरण गर्नुभएको कुरामा शंकामा नै रहनेछन् र एक्कासी उनीहरूसमक्ष कयामत आउनेछ वा उनीहरूसमक्ष दया र भलाई नभएको दिनको यातना आउनेछ र त्यो दिन उनीहरूको लागि कयामतको दिन हुनेछ ।५६. कयामतको दिन- जुन दिन यिनीहरूसमक्ष वाचा गरिएको यातना आइपुग्नेछ- शासन केवल अल्लाहकै हातमा हुनेछ । उहाँप्रति आपत्ति जनाउने कोही हुनेछैन । उहाँ पवित्र हुनुहुन्छ र मोमिनहरू र काफिरहरूबीच फैसला गर्नुहुनेछ । अनि उनीहरूमध्ये प्रत्येक जुन कुराको योग्य छ त्यस अनुसार नै फैसला गर्नुहुनेछ । तसर्थ जो अल्लाहमाथि आस्था राख्दछन् र सत्कर्म गर्दछन् उनीहरूको लागि महान प्रतिदान अर्थात सदाका लागि कृपाका स्वर्गहरू रहेका छन् ।५७. अनि अल्लाहसँग कुफ्र गर्नेहरू र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित हाम्रा आयतहरूलाई झूठो ठहर गर्दछन्, उनीहरूको लागि अपमानजनक यातना रहेको छ र अल्लाह उनीहरूलाई यसमार्फत नर्कमा अपमानित गर्नुहुनेछ ।५८. जसले अल्लाहको प्रसन्नता प्राप्तिको लागि र उहाँको धर्मको समर्थनको लागि आफ्ना घर र भुमी त्यागे अनि युद्धमा मारिए वा उनीहरूको प्राकृतिक मृत्यु भयो भने उहाँले उनीहरूलाई स्वर्गमा उत्तम र सदा रहने जीविका प्रदान गर्नुहुनेछ । वास्तवमा, अल्लाह नै पवित्र हुनुहुन्छ र उहाँ सर्वश्रेष्ठ जीविका प्रदान गर्ने हुनुहुन्छ ।५९. अल्लाहले उनीहरूलाई यस्तो ठाउँमा प्रवेश गराउनुहुनेछ जसबाट उनीहरू सन्तुष्ट हुनेछन् र त्यो स्वर्ग हो । वास्तवमा, अल्लाह उनीहरूको कर्म र नियतबाट अवगत हुनुहुन्छ र उहाँ सहिष्णु हुनुहुन्छ किनकि उहाँले उनीहरूको गल्तीको कारणले यातना दिन हतार गर्नुभएको छैन ।६०. अल्लाहको मार्गमा हिज्रत (बसाइ सराइ) गर्नेहरूलाई स्वर्गमा प्रवेश गराइनेछ र उनीहरूलाई जति सताइएको थियो त्यति मात्रामा नै उनीहरूलाई बदला लिने अनुमति रहेको र यसमा उनीहरूलाई पाप नलाग्ने कुरा उल्लेख भई सकेको छ । यदि सताउनेले आफ्नो यातना दोहोर्याउँछ भने अल्लाह सताइएकाहरूलाई सहयोग पुर्याउनुहुनेछ । वास्तवमा, अल्लाह मोमिनहरूको पापलाई अवश्य क्षमा गर्नुहुनेछ ।६१. सताइएकाहरूका लागि यो अल्लाहको सहयोग हो किनकि अल्लाह जे चाहनुहुन्छ त्यसको शक्ति राख्नुहुन्छ । रातलाई दिनमा र दिनलाई रातमा एकलाई लामो र दोस्रोलाई छोटो बनाई प्रवेश गराउनु उहाँको शक्तिको उदाहरण हो । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूको कुराहरू सुन्नुहुन्छ र उनीहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र त्यसै अनुसार उनीहरूलाई बदला दिनुहुनेछ ।६२. अल्लाहले रातलाई दिनमा र दिनलाई रातमा प्रवेश गराउनुहुन्छ भन्ने कुराको उल्लेख भई सकेको छ । वास्तवमा, अल्लाह, उहाँको धर्म, वचन, मोमिनहरूको लागि उहाँको सहयोग नै नितान्त सत्य हो । अनि अल्लाहलाई छोडी जुन मूर्तिहरूको मुश्रिकहरू उपासना गर्छन् त्यो नितान्त असत्य रहेको छ र त्यसको कुनै आधार छैन । अल्लाह आफ्ना भक्तहरूको प्रकृति, शक्ति र बलको तुलनामा उच्च हुनुहुन्छ र उहाँ महान हुनुहुन्छ जो गर्व, महानता र प्रभुत्वको मालिक हुनुहुन्छ ।६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले आकाशबाट वर्षा गराउनुहुन्छ र यस कारणले विरूवाहरू पलाएर भूमि हरियो भएको तपाईंले देख्नुभएन । अल्लाह आफ्ना भक्तहरूका लागि कोमल हुनुहुन्छ किनकि उहाँले उनीहरूको लागि वर्षा गराउनु भयो र त्यसको सहयोगले धर्तीमा विरूवा पलायो । उहाँलाई सबैको लाभको ज्ञान छ र उहाँबाट केही पनि लुकेको छैन ।६४. आकाशहरू र पृथ्वीका सम्पूर्ण कुराहरूको मालिक अल्लाह नै हुनुहुन्छ । वास्तवमा, अल्लाह निस्पृह हुनुहुन्छ र उहाँलाई आफ्ना सृष्टिहरूमध्ये कसैको आवश्यकता छैन । तसर्थ उहाँ हरेक अवस्थामा प्रशंसनीय हुनुहुन्छ ।६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईं र मानिसहरूको फाइदा र आवश्यकता पूरा गर्नका लागि यस धर्तीमा जनावरहरू र निर्जिव बस्तुहरूलाई अधीनमा गर्नुभएको छ । अनि तिमीहरूको लागि डुङ्गालाई अधीनमा गर्नुभएको छ जुन उहाँकै आदेशबाट समुद्रमा चल्छ र तिमीहरूलाई एक ठाउँबाट अर्को ठाउँ जानको निम्ति सहज बनाउनुभएको छ । उहाँले आकाशलाई उहाँको आदेशबिना खस्नबाट थामेर राख्नुभएको छ । यदि उहाँले खस्ने आदेश दिनुभयो भने त्यो खस्नेछ । वास्तवमा, अल्लाह मानिसहरूप्रति स्नेही र दयालु हुनुहुन्छ किनकि उनीहरू अत्याचारी हुँदा हुँदै पनि उहाँले यी कुराहरूलाई अधीनमा गर्नुभएको छ ।६६. तिमीहरूको अस्तित्व नै नभएको बेला अल्लाहले नै तिमीहरूलाई अस्तित्व प्रदान गर्नुभयो र जीवन प्रदान गर्नुभयो । अनि तिमीहरूको अवधि समाप्त भएपछि तिमीहरूलाई मृत्यु दिनुहुनेछ । तिमीहरूको मृत्युपश्चात फेरी तिमीहरूको कर्मको हिसाब लिनका निम्ति तिमीहरूलाई जीवन दिनुहुनेछ र त्यस अनुसार नै तिमीहरूलाई बदला दिनुहुनेछ । वास्तवमा, अल्लाहका अनुग्रहहरू स्पष्ट हुँदा हुँदै पनि मानिसहरू अल्लाहसँग सँगै अरूको उपासना गरी अल्लाहका अनुग्रहहरूप्रति कृतघ्न छन् ।६७. हरेक समुदायकालागि हामीले शरीअत निर्धारण गरेका छौं र उनीहरूले आफ्नो शरीअत अनुसार नै गरे । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मुश्रिकहरू र अन्य धर्मका मान्नेहरू तपाईंसित तपाईंको शरीअतको विषयमा विवाद नगरून् । बरू विवाद गर्ने अधिकार तपाईंनै राख्नुहुन् किनकि उनीहरू नितान्त असत्यमा आधारीत छन् । मानिसहरूलाई अल्लाहको तौहीदतिर आह्वान गर्नुहोस् । वास्तवमा, तपाईं टेढोपन नभएको सीधा मार्गमा हुनुहुन्छ ।६८. प्रमाण देखाइसकेपछि पनि यदि यिनीहरू तपाईंसित विवाद गर्न चाहन्छन् भने मामिलालाई अल्लाहको हातमा छोड्नुहोस् र चेतावनी दिँदै भन्नुहोस्- अल्लाह तिमीहरूको क्रियाकलापलाई राम्ररी जान्नुहुन्छ । तिमीहरूको क्रियाकलापको सानो अंश पनि अल्लाहबाट लुकेको छैन र त्यस अनुसार नै तिमीहरूलाई बदला दिनुहुनेछ ।६९. संसारमा अल्लाहका मोमिन र काफिर भक्तहरूले धर्ममा लिएर मतभेद गर्ने गरेका कुराहरूबारे उनीहरूबीच कयामतको दिन निर्णय गर्नुहुनेछ ।७०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहलाई आकाशमा र पृथ्वीमा रहेका सम्पूर्ण कुराहरूको ज्ञान राख्नुहुन्छ भन्ने कुरा तपाईंलाई थाहा छैन । त्यहाँका कुनै कुरा पनि अल्लाहबाट लुकेको छैन । वास्तवमा, यो ज्ञान लौहे महफूज (सुरक्षित पेटिका) मा उल्लेख छ र यो सम्पूर्ण ज्ञान अल्लाहो निम्ति सहज रहेको छ ।७१. मुश्रिकहरू अल्लाहलाई छोडेर जुन मूर्तिहरूको उपासना गर्छन् उनीहरूको उपासनाको प्रमाण अल्लाहले आफ्नो किताबहरूमा उल्लेख गर्नुभएको छैन र उनीहरूसँग यस विषयमा कुनै प्रमाण छैन । उनीहरूको प्रमाण भनेको उनीहरूको पुर्खाहरूको आन्धो अनुसरण हो । यी अत्याचारीहरूलाई अल्लाहको यातनाबाट बचाउने कोही पनि सहयोगी हुनेछैन ।७२. जब यिनीहरूलाई हाम्रो कुरआनका आयतहरू स्पष्ट रूपमा पढेर सुनाइन्छ तब अल्लाहलाई नमान्नेहरूको अनुहारनमा त्यो वाचन सुन्न चाहेको चिन्ह स्पष्टरूपमा तपाईं देख्नुहुन्छ । मानौं हाम्रा आयतहरू सुनाउनेहरूमाथि यिनीहरूले क्रोधले आक्रमण गर्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- तिमीहरूको क्रोध र आँखीभुइँ उचाल्नुभन्दा नराम्रो कुरा के हो भनी म सूचना दिउँ ? त्यो नर्क हो जसमा प्रवेश गराउने वाचा अल्लाहले काफिरहरूसँग गर्नुभएको छ । कति नराम्रो ठाउँ हो जहाँ यिनीहरू पुग्नेछन् ।७३. हे मानिसहरू हो ! एउटा उदाहरण प्रस्तुत गरिएको छ, त्यसलाई ध्यानपूर्वक सुन र पाठ सिक । अल्लाहलाई छोडी जुन मूर्तिहरूको उपासना तिमीहरू गर्छौ वास्तवमा, तिनीहरू असहायताको कारणले एउटा सानो झिङ्गासम्म सृष्टि गर्न सक्दैनन् । यद्यपी त्यसको निम्ति सबैजना एकजुट भएपनि सृष्टि गर्नसक्ने छैनन् । यदि झिङ्गाले उनीहरूबाट कुनै राम्रो बस्तु वा त्यस जस्तै कुनै बस्तु लिएर गयो भने उनीहरू त्यसलाई रोक्न सक्षम हुनेछैनन् । उनीहरू झिङ्गा सृष्टि गर्न र त्यसले लगेको बस्तु फिर्ता ल्याउन असमर्थ भएको अवस्थाले त्यसभन्दा ठूलो बस्तुको सृष्टि गर्न असमर्थ भएको प्रष्ट पार्छ । तसर्थ उनीहरू असमर्थ हुँदा हुँदै पनि कसरी तिमीहरू अल्लाहलाई छाडी उनीहरूको उपासना गर्न सक्छौ ? त्यो पछी लाग्ने कमजोर रहेको छ र त्यो झूठो उपास्य मूर्ति हो जो झिङ्गाले उसबाट लिएर गएको बस्तु फिर्ता ल्याउन सक्दैन । जसको पछी लागिएको छ त्यो कमजोर रहेको छ र त्यो झिङ्गा हो ।७४. अल्लाहसँगै उहाँका केही सृष्टिहरूको उपासना गरी उनीहरूले अल्लाह जुन सम्मानको योग्य हुनुहुन्छ त्यो सम्मान गरेनन् । वास्तवमा, अल्लाह धेरै शक्तिशाली हुनुहुन्छ । उहाँको शक्तिको प्रतीक भनेको उहाँले आकाशहरू तथा पृथ्वी र ती दुईबीच रहेका सम्पूर्णको सृष्टि गर्नु हो । अल्लाह प्रभुत्वशाली हुनुहुन्छ र उहाँलाई कसैले पनि पराजित गर्न सक्दैन । मुश्रिकहरूका मूर्तिहरू सरह होइन किनकि उनीहरू कमजोर र अपमानित हुन् र उनीहरूले केही सृष्टि गरेका छैनन् ।७५. अल्लाहले फरिश्ताहरूमध्येबाट रसूलहरू चयन गर्नुभएको छ र त्यसरी नै मानिसहरूमध्येबाट पनि । उहाँ केही फरिश्ताहरूलाई नबीहरूतिर पठाउनुहुन्छ जस्तै जिब्रील (अलैहिस्सलाम) लाई मानवहरूमध्येका रसूलहरूतिर पठाउनुहुन्छ । अनि मानव रसूलहरूलाई मानिसहरूतिर पठाउनुहुन्छ । वास्तवमा, मुश्रिकहरूले रसूलहरूको विषयमा भन्ने कुराहरू अल्लाह सुन्नुहुन्छ र उहाँ राम्ररी हेरेर आफ्नो रसूल चुन्नुहुन्छ ।७६. अल्लाहका फरिश्ता र मानवमध्येका रसूलहरूको सृष्टि अगाडिको र मृत्युपश्चातको अवस्थाको ज्ञान उहाँलाई छ । कयामतको दिन सम्पूर्ण मामिलाहरू उहाँतर्फै फर्केर जानेछन् । त्यसदिन उहाँ आफ्ना भक्तहरूका क्रियाकलापको बदला दिन उनीहरूलाई फेरी जीवित पार्नुहुनेछ ।७७. हे अल्लाहमाथि आस्था राख्नेहरू र आदेशको अनुसरण गर्नेहरु ! केवल अल्लाहको लागि आफ्नो सलाहमा रूकू र सज्दा गर । अनि दान दिनु र नाता जोड्नु जस्ता भलाईका कामहरू गर । तिमीहरूले चाहेका कुराहरू पाउन र डर देखाइएका कुराहरूबाट बच्न सक्छौ भन्ने आशा छ ।७८. केवल अल्लाहको प्रसन्नता प्राप्तिको लागि उहाँको मार्गमा जिहाद (सङ्घर्ष) गर । उहाँले तिमीहरूलाई चयन गर्नुभएको छ, तिमीहरूको धर्मलाई शान्तीपूर्ण बनाउनुभएको छ अनि कष्ट र अतिवादबाट मुक्त राख्नुभएको छ । यही शान्तीपूर्ण समुदाय तपाईंको पुर्खा इब्राहीम (अलैहिस्सलाम) को समुदाय हो । अल्लाहले अघिल्ला किताबहरू र कुरआनमा तिमीहरूको नाम मुस्लिम राख्नुभएको छ । परिणाम स्वरूप रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले तिमीहरूसमक्ष सन्देश पुर्याउनुभएको छ भनी तिमीहरूको साक्षी बनुन् । अनि अघिल्ला समुदायसमक्ष उनीहरूका रसूलहरूले सन्देश पुर्याउनुभएको छ भनी तिमीहरू साक्षी बन । उत्तम तरीकाले सलाह पढेर, आफ्नो सम्पत्तिबाट जकात दिएर, अल्लाहको शरण लिएर र आफ्ना मामिलाहरूमा उहाँकै सहारा लिएर उहाँलाई धन्यबाद देऊ । उहाँसँग सुरक्षाको आशा राख्ने मोमिनहरूको लागि उहाँ उत्तम सुरक्षा प्रदान गर्ने हुनुहुन्छ र उहाँसँग सहयोग माग्नेहरूका लागि उहाँ उत्तम सहयोगी हुनुहुन्छ । उहाँमाथि विश्वास गर्नुहोस् र उहाँले सुरक्षा प्रदान गर्नुहुनेछ र उहाँसँग सहयोग माग्नुहोस् र उहाँले सहयोग गर्नुहुनेछ ।
१. हे मानिसहरू हो ! आफ्ना पालनकर्ताका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । वास्तवमा, कयामतको साथमा आउने भूकम्प र अन्य डर लाग्दा घटनाहरूले निकै महत्व बोकेका छन् । तसर्थ अल्लाहलाई प्रसन्न पार्ने कामहरू गरेर त्यसको तयारी गर ।
२. त्यसदिन भयभीत भएर हरेक स्तनपान गराउने आमाले आफ्नो शिशुलाई बिर्सेको र हरेक गर्भवतीले गर्भपतन गरेको तिमीहरूले देख्नेछौ । घटनाको गम्भीरताको कारण तपाईंले मानिसहरूलाई मात्तेकाहरू सरह बुद्धिविहीन देख्नुहुनेछ । रक्सीले मात्तेर होइन बरू अल्लाहको कठोर यातनातो कारणले उनीहरूले आफ्नो मस्तिष्कको नियन्त्रण गुमाउनेछन् ।
कयामतको दिन हुने डर लाग्दो घटनाहरूको उल्लेख गरेर कयामत र फेरी जिउँदो पार्ने कुरालाई नकार्नेहरूको निन्दा गर्दै अल्लाहले भन्नुभयोः
३. मरेपछि अल्लाहले पुनः जीवित पार्ने क्षमता राख्नुहुन्छ भन्ने विषयलाई लिएर वादविवाद गर्ने केही मानिसहरूसँग यसको आधारको लागि कुनै ज्ञान छैन । बरू उनीहरू यस धारणा र भनाईमा आफ्नो पालनकर्ताको बिद्रोह गर्ने हरेक शैतान र पथभ्रष्टहरूको अगुवाको अनुसरण गर्दछन् ।
४. मानव र जिनमध्येको बिद्रोह शैतानको अनुसरण गर्ने र त्यसमाथि विश्वास गर्नेलाई उसले पथभ्रष्ट गर्नेछ र उसलाई कुफ्र र पापको बाटोमा हिँडाइएको हुनाले नर्कको यातनातिर डोर्याएर लानेछ भन्ने कुरा उसमाथि अनिवार्य गरिएको छ ।
५. हे मानवहरू हो ! यदि तिमीहरूलाई मृत्युपश्चात जिउँदो पार्न सक्ने हाम्रो क्षमतामाथि शंका छ भने ध्यान दिएर सोँच । हामीले तिमीहरूको पुर्खा आदमलाई माटोले सृष्टि गर्यौं अनि उसको वंशलाई पुरूषले महिलाको गर्भमा हालेको वीर्यले सृष्टि गर्यौं । त्यसपछि वीर्य ढिक्को रगतमा परिणत हुन्छ र त्यसपछि त्यो ढिक्को रगत चपाएको मासु सरह मासुको एउटा टुक्रामा परिणत हुन्छ । त्यसपछि त्यो मासुको टुक्रा या त पूर्ण प्राणीमा रूपान्तरण हुन्छ जुन गर्भमा नै रहन्छ र पछि जीवित जन्म लिन्छ या त्यो पूर्ण प्राणीमा रूपान्तरण हुँदैन र गर्भपतन हुन पुग्छ । यो तिमीहरूलाई विभिन्न चरणमा सृजना गर्न सक्ने हाम्रो क्षमताको प्रदर्शन हो । अनि हामी जसलाई चाहन्छौं गर्भमा नजन्मेसम्म निर्धारित नौ महिना राख्छौं । त्यसपश्चात हामी तिमीहरूलाई बच्चाको रूपमा तिमीहरूको आमाको पेटबाट निकाल्छौं । अनि तिमीहरूको पूर्ण शारीरिक र मानसिक विकास हुन्छ । तिमीहरूमध्ये कोही त्यसभन्दा पहिले नै मर्छ, कोही बुढेसकालसम्म बाँच्छ जुनबेला शारीरिक र मानसिक शक्ति घट्छ र शिशुभन्दा पनि कमजोर अवस्थामा पुग्छ अनि जानिराखेका कुराहरू पनि बिर्सन्छ । तिमी धर्तीलाई निर्बीज र बोटबिरूवा रहित देख्छौ । तर जब हामी पानी पराउँछौं त्यो बोटबिरूवाको बृद्धिको कारणले बढ्छ र हरेक प्रकारका सुन्दर बोटबिरूवाहरू उब्जाउँछ ।
६. तिमीहरूको सृष्टिको आरम्भ, त्यसका चरणहरू र तिमीहरूमध्ये जन्म लिएकाहरूको अवस्थाको वर्णन गर्नुको कारण तिमीहरूको वास्तविक सृष्टिकर्ता तिमीहरूले पूज्ने गरेका मूर्तिहरू होइनन् बरू अल्लाह नै हुनुमा कुनै शंका छैन, उहाँ नै मृतकलाई जीवित पार्नुहुन्छ, उहाँ सम्पूर्ण कामको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कसैले पनि असमर्थ तुल्याउन सक्दैन भन्ने कुरामा तिमीहरू विश्वास गर्न सक ।
७. कयामत आउने कुरामा कुनै शंका छैन र अल्लाह नै मृतकहरूलाई उनीहरूको चिहानबाट जीवित पारेर उठाउनुहुनेछ र उनीहरूको कर्मको बदला दिनुहुनेछ भन्ने कुरामा तिमीहरू विश्वास गर्न सक ।
तेस्रो आयतमा अनुकरणको कारण पथभ्रष्ट हुने अवस्थाको उल्लेख गरेपछि अल्लाहले यस आयतमा कुफ्रका अगुवाहरूको पथभ्रष्टताको उल्लेख गर्नुभएको छः
८. काफिरहरूमध्ये केही अल्लाहको एकेश्वरवादको विषयमा सत्यतासम्म पुर्याउने ज्ञान बिना विवाद गर्छन् । न उनीहरू मार्गदर्शन गर्नेको अनुसरण गर्छन् न उनीहरूको मार्गदर्शनको लागि अल्लाहको तर्फबाट अवतरित प्रकाशमय किताब नै छ ।
९. मानिसहरूलाई आस्थाबाट र अल्लाहको धर्मलाई अपनाउनबाट रोक्नको लागि गर्वले अनुहार फेरेर विवाद गर्छन् । जसको यस किसिमको चरित्र छ उसलाई दिइने यातनाको कारण ऊ संसारमा अपमानित हुनुपर्नेछ र आखिरतमा हामी उसलाई आगोको यातनाको स्वाद चखाउनेछौं ।
१०. उसलाई भनिनेछः तिमीहरूले गरेको कुफ्र र पापको कारणले तिमीहरूलाई यातना दिइएको हो । अल्लाह आफ्ना सृष्टिहरूले पाप नगरिकन उनीहरूलाई यातना दिनुहुन्न ।
११. मानिसहरूमध्ये कोही यस्ता पनि छन् जो अलमलमा छन् र शंकामा परि अल्लाहको उपासना गर्छन् । यदि उनीहरूलाई स्वास्थ र धनमा लाभ हुन्छ भने उनीहरू आफ्नो धर्ममा र अल्लाहको उपासनामा अडिग रहन्छन् । यदि रोग र निर्धनता दिएर उनीहरूको परीक्षा लिइन्छ भने उनीहरू आफ्नो धर्मबाट निराश हुन्छन् त्यसलाई त्याग्छन् । परिणाम स्वरूप उसको संसार बर्बाद हुनेछ अनि उसको कुफ्रले उसलाई सांसारिक जीवनमा लेखिएको भन्दा बढी दिन सकेन र अल्लाहको यातना भोगेर उसको आखिरत बर्बाद हुनेछ । यो स्पष्ट पतन हो ।
१२. ऊ अल्लाहलाई छोडी जुन मूर्तिहरूको उपासना गर्छ यदि उसले उनीहरूको विरोध गरे बापत उसलाई हानि पुर्याउन सक्दैनन् र उनीहरूको अनुसरण गरे बापत उसलाई फाइदा दिन सक्दैनन् । मूर्तिहरूसँग मागेको दुआले न हानि पुर्याउन सक्छ न फाइदा नै दिन सक्छ र यो वास्तविक पथभ्रष्टता हो जुन सत्यताबाट निकै टाढा छ ।
१३. यो काफिर जो मूर्तिहरूको पूजा गर्छ उनीहरूसँग दुआ गर्छ वास्तवमा, उसको निश्चित हानि अनुपस्थित फाइदाभन्दा निकट रहेको छ । कति नराम्रो उपास्य हो यो जसको हानि उसको फाइदाभन्दा नजिक रहेको छ । ऊसँग सहयोग चाहने व्यक्तिको लागि ऊ धेरै नराम्रो सहयोगी हो र उसलाई साथी बनाउनेको लागि ऊ धेरै नराम्रो साथी हो ।
१४. वास्तवमा, अल्लाह उहाँमाथि आस्था राख्ने र सत्कर्म गर्नेहरूलाई यस्ता स्वर्गहरूमा प्रवेश गराउनुहुनेछ जसको महलहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । अल्लाह जे चाहनुहुन्छ गर्नुहुन्छ । जसमाथि दया गर्न चाहनुहुन्छ दया गर्नुहुन्छ र जसलाई दण्ड दिन चाहनुहुन्छ दण्डित गर्नुहुन्छ । उहाँलाई रोक्ने कोही छैन ।
१५. अल्लाहले यस संसारमा र आखिरतमा आफ्नो नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सहयोग गर्नुहुनेछैन भनी कसैले सोँच्ने गर्दथ्यो भने उसले आफ्नो घरको कौसीसम्म एउटा रस्सी झुन्ड्याओस् अनि आफ्नो खुट्टा भूइँमा नराखी त्यसमा झुन्डियोस् । उसको यस उपायले ऊभित्रको क्रोधबाट उसलाई बचाउन सक्यो कि भनी उसले हेरोस् । तसर्थ अल्लाह नै आफ्नो नबीको सहयोग गर्नुहुनेछ यद्यपि विरोधीहरूले मानुन् वा नमानुन् ।
१६. जसरी हामीले तिमीहरूको लागि दोस्रो जीवनको स्पष्ट प्रमाणहरू प्रस्तुत गरेका छौं त्यसरी नै हामीले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुरआनका प्रष्ट आयतहरू अवतरण गरेका छौं । अल्लाह आफ्नो कृपाले जसलाई चाहनुहुन्छ मार्गदर्शन र सत्य धर्मको बाटो देखाउनुहुन्छ ।
१७. वास्तवमा, कयामतका दिन यस उम्मतका आस्थावानहरू, यहूदी, साबिई (केही नबीहरूका अनुयायीहरू), ईसाई र आगो र मूर्तिका उपासकहरूबीच अल्लाहले फैसला गर्नुहुनेछ । अनि आस्थावानहरूलाई अल्लाहले स्वर्गमा प्रवेश गराउनुहुनेछ र त्यसबाहेक सम्पूर्णलाई नर्कमा हाल्नुहुनेछ । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूका सम्पूर्ण कुराहरू र क्रियाकलापहरूको शाक्षी हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र उहाँ त्यसै अनुसार बदला दिनुहुनेछ ।
१८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, आकाशहरूमा बस्ने फरिश्ताहरू, पृथ्वीमा बस्ने मोमिन मुनष्य र जिनहरू उहाँको अनुसरण गर्छन् । सूर्य, चन्द्र, आकाशका ताराहरू र पृथ्वीका पहाडहरू, रूखहरू र चौपायाहरू उहाँको अधिमा छन् । अधिकतर मानिसहरू उहाँको अनुसरण गर्छन् र धेरैले उहाँके अनुसरण अपनाउन मनाही गरेका छन् । तसर्थ उनीहरूको यस कुफ्रको कारणले उनीहरूमाथि अल्लाहको यातना अनिवार्य भएको छ । जसको कुफ्रको कारणले उसमाथि अल्लाहले अपमानलाई लेखिदिनुभएको छ उसलाई कसैले पनि सम्मानीत गर्न सक्दैन । वास्तवमा, अल्लाह जे चाहनुहुन्छ गर्नुहुन्छ र उहाँलाई कसैले पनि रोक्न सक्दैन ।
जब अल्लाहले उहाँको अनुसरण गर्ने र नगर्नेहरूको उल्लेख गर्नभयो त्यसपछि यी दुबैको नियतिको पनि उल्लेख गर्नुभयो र भन्नुभयोः
१९. यी दुई समूहहरू हुन् जो आफ्ना पालनकर्ताको विषयमा उनीहरूमध्ये को सत्यतामा छ भनी मतभेदमा परेका छन् । एउटा समूह मोमिनको र दोस्रो समूह काफिरको । अनि काफिरहरूको समूहलाई आगोले यसरी घेरेको छ जसरी लुगाले लगाउने मान्छेलाई घेरेको हुन्छ र उनीहरूको टाउकोमाथिबाट अत्यन्तै तातो पानी खन्याइनेछ ।
२०. तातो पानीले गर्दा उनीहरूको पेट भित्रका अङ्गहरू पग्लनेछन् र उनीहरूको छालासम्म पुगेर त्यसलाई पगाल्नेछ ।
२१. नर्कमा उनीहरूको लागि फलामका घनहरू हुनेछन् जसले फरिश्ताहरूले उनीहरूको टाउकोमा हिर्काउनेछन् ।
२२. नर्कको पीडा सहन नसकेर जब उनीहरू त्यहाँबाट निस्कन खोज्नेछन् उनीहरूलाई त्यहाँ फर्काइनेछ र भनिनेछः नर्कको यातनाको स्वाद चाख ।
२३. मोमिनहरूको समूह अल्लाहमाथि आस्था राख्दछन् र सत्कर्म गर्छन् । अल्लाहले उनीहरूलाई स्वर्गहरूमा प्रवेश गराउनेछन् जसका महलहरू र रूखहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । अल्लाहले उनीहरूलाई सुनका बालाहरू र मोतीहरूले सजाउनुहुनेछ र उनीहरूको लुगा रेशमको हुनेछ ।
२४. अल्लाहले उनीहरूलाई सांसारिक जीवनमा उनीहरूलाई ला इलाह इल्लल्लाह, तक्बीर र तह्मीद जस्ता वाणीहरू र प्रशंसनीय इस्लामको बाटोको मार्गदर्शन गर्नुहुनेछ ।
२५. वास्तवमा, अल्लाहलाई नकार्नेहरू, हुदैबियाको सालमा मुश्रिकहरूले गरे सरह अरूलाई इस्लाममा प्रवेश हुनबाट रोक्नेहरू र मस्जिदे हरामबाट टाढा राख्नेहरूलाई चाँडै नै हामी पीडादायी यातना दिनेछौं । हामीले यस मस्जिदलाई मानिसहरूका लागि सलाह पढ्दा किब्ला अनि हज र उम्रहका रीतिहरूमध्ये एउटा रीतिको स्थान बनाएका छौं । यस रीतिमा मक्काबासीहरू र गैर मक्काबासीहरू समान छन् । जो कोही यस ठाउँमा जानाजानी पाप गरी सत्यताबाट टाढिन चाहन्छ भने हामी उसलाई पीडादायी यातना दिनेछौं ।
२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस्, जब हामीले इब्राहीम (अलैहिस्सलाम) लाई बैतुल्लाहको ठाउँ र त्यसका अज्ञात सीमाहरू देखायौं । अनि हामीले उनलाई मेरो उपासनामा कसैलाई पनि सामेल नगर्न बरू मेरो मात्र उपासना गर्न र मेरो घरलाई त्यहाँ सलाह पढ्ने र तवाफ गर्नेहरूका लागि देखिने र नदेखिने अपवित्रताबाट पवित्र राख्न वही गर्यौं ।
२७. हामीले तिमीलाई निर्माण गर्न आदेश दिएको यस घरको हज गर्न आउन मानिसहरूमा घोषणा गर । उनीहरू तिमीकहाँ हिँडेर, लामो यात्राका कारण थकित उँटहरूमा आउनेछन् । उँटहरूले उनीहरूलाई टाढाका हरेक प्रकारका बाटोबाट ल्याउनेछन् ।
२८. मानिसहरूलाई पापको क्षमामा, पुण्य प्राप्तिमा, एउटै समूह हुनुमा र यस बाहेक अन्य फाइदाहरू हेर्न आउन देऊ । निश्चित दिनहरूमा जनावरहरूको कुर्बानी गर्नेबेला अल्लाहले उनीहरूलाई उँट, गाई र भेडाहरू दिनुभएकोमा उहाँलाई धन्यबाद दिन उनीहरूलाई अल्लाहको नाम लिन देऊ । ती दिनहरू हुन्- दसौं जिल्-हिज्जा र त्यसपछिका तीन दिनहरू । तसर्थ यी जनावरहरूबाट खाऊ र गरिबगुरूवाहरूलाई खुवाऊ ।
२९. अनि उनीहरू हजका बचेका रीतिहरूलाई पूरा गरून् अनि उनीहरू आफ्ना कपाल खौरेर एह्रामको अवस्थाबाट बाहिर आउन् र आफ्ना नङ काटुन् र उनीहरूको शरीरमा एह्रामको अवस्थाको कारणले जमा भएको मैलालाई सफा पारून् । उनीहरूले हज, उम्रह वा कुर्बानीका प्रतिज्ञाहरू पूरा गरून् र बैतुल्लाहको तवाफे इफादा गरून् जसलाई अल्लाहले तानाशाहको हातबाट मुक्त गर्नुभयो ।
३०. तिमीहरूलाई जुन कुराको आदेश दिइएको छ जस्तै कपाल खौरेर एह्रामको अवस्थाबाट बाहिर आउनु, नङ काट्नु, मैला सफा गर्नु, प्रतिज्ञा पूरा गर्नु र बैतुल्लाहको तवाफ गर्नु तिमीहरूमाथि अनिवार्य गरिएको छ । तिमीहरूमाथि जे अनिवार्य गरिएको छ त्यसको मान राख । एह्रामको अवस्थामा अल्लाहले बच्न भन्नुभएको र उहाँले प्रतिबन्ध लगाउनुभएका कुराहरूबाट उहाँले निर्धारित गर्नुभएको सीमाको उल्लङघन नहोस् भनी त्यसको मान राख्दै कोही बच्छ भने यो उसको लागि यस संसारमा र आखिरतमा उसको पालनकर्ताको अगाडि राम्रो हुनेछ । हे मानिसहरू हो ! तिमीहरूको लागि उँट, गाई र भेडालाई हलाल गरिएको छ । तिमीहरूमाथि हामिया, बहीरा र वसीलालाई प्रतिबन्धित गरिएको छैन । हाँले त केवल कुरआनमा उल्लेख भएकाहरू मात्रै प्रतिबन्धित गर्नुभएको छ जस्तै मृत जनावर, रगत आदि । तसर्थ तिमीहरू मूर्ति जस्तो अपवित्रताबाट बच र अल्लाहमाथि वा उहाँका सृष्टिमाथि झूठा अभियोग लगाउन र हरेक प्रकारका असत्य कुरा गर्नबाट टाढा बस ।
३१. उहाँलाई खुशी पार्ने धर्मबाहेक अन्य सम्पूर्ण धर्महरूबाट टाढा बस र उहाँको उपासनामा कसैलाई पनि साझेदार नबनाऊ । जसले अल्लाहको साझेदार बनाउँछ मानौं ऊ आकाशबाट खस्यो । या त चराले उसको मासु र हड्डी खोसेर लैजाने छन् या हवाले उसलाई टाढाको ठाउँमा लगेर खसाल्नेछ ।
३२. अल्लाहले उहाँको मात्र उपासना गर्ने, उहाँप्रति एकाग्र रहने, मूर्तिहरू त्याग्ने र झूठा कुराहरूबाट बच्ने आदेश दिनुभएको छ । जसले धर्मका चिन्हहरूको सम्मान गर्छ जसमा कुर्बानीका जनावरहरू र हजका रीतिहरू समावेश छन् उसले जानिराखोस् ती चिन्हहरूको सम्मान हृदयमा तिनीहरूको पालनकरताको भय हुनुको प्रमाण हो ।
३३. तिमीहरूले मक्कामा गर्ने कुर्बानीमा निश्चित समयावधिका लागि फाइदाहरू रहेका छन् जस्तै चढाई गर्नु, ऊन, सन्तान र दूध । अल्लाहले तानाशाहको हातबाट मुक्त गराउनुभएको घरको नजिक कुर्बानी गरे लगत्तै यो फाइदा प्रप्तिको क्रम आरम्भ हुन्छ ।
३४. अघिल्ला हरेक समूदायमा हामीले अल्लाहको लागि भनेर कुर्बानीको एउटा तरिका निर्धारित गर्यौं र कुर्बानीलाई जबह गर्नेबेला अल्लाहको नाम उच्चारण गर्छन् भन्ने आशा राख्यौं । अल्लाहले उँट, गाई र भेडा प्रदान गर्नुभएकोमा उहाँलाई धन्यबाद गर्न । हे मानिसहरू हो ! तिमीहरूको वास्तविक उपास्य एक मात्र हुनुहुन्छ र उहाँको कोही साझेदार छैन । तसर्थ आज्ञाकारी भई र नम्रताका साथ केवल उहाँप्रति समर्पित होऊ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! नम्र र समर्पितहरूलाई प्रसन्न पार्ने खबर सुनाउनुहोस् ।
३५. जसलाई अल्लाहको सम्झना गराउँदा उनीहरू उहाँको यातनादेखि डराउँछन्, उहाँको आदेश विपरित काम गर्नबाट बच्छन्, केही आईपरे धैर्य गर्छन्, सहि तरिकाले सलाह पढ्छन् र अल्लाहले दिनुभएकोमध्येबाट भलाईको लागि खर्च गर्छन् ।
३६. कुर्बानीको लागि बैतुल्लाह लगिने उँट र गाईबस्तुलाई हामीले धर्मको रीति र त्यसको निशानी बनाएका छौं । यसमा तिमीहरूको संसारका र आखिरतका फाइदाहरू रहेका छन् । तसर्थ उनीहरूलाई खुट्टा सीधा पारेर भाग्न नदिन आगाडीको खुट्टा बाँधेर उभ्याएपछि जबह गर्नुअघि (बिस्मिल्लाह) भन । हे जबह गर्नेहरू ! जबह गरिसकेपछि जब उनीहरू एक तर्फ लड्छन् उनीहरूलाई खाऊ । अनि माग्ने र नमाग्ने दुबै थरीका गरिबहरूलाई त्यसबाट भाग देऊ । जसरी हामीले यी जनावरहरूलाई यातायातका उद्देश्यका लागि प्रयोग गर्न र सवारी गर्न तिमीहरूको अधीनमा गरेका छौं त्यसरी नै हामीले तिनीहरूलाई अधीनमा गरेका छौं जब तिमीहरू अल्लाहको निकट हुन तिनीहरूलाई जबह गर्छौ । उनीहरूलाई तिमीहरूको अधीनमा गर्नका लागि अल्लाहले गर्नुभएको कृपाको लागि तिमीहरूले धन्यबाद दिन्छौ भन्ने आशा छ ।
३७. तिमीहरूले गरेको कुर्बानीको मासु र रगत कदापी अल्लाहसम्म पुग्दैन र न स्वयं त्यसलाई माथि उठाइन्छ बरू अल्लाहसम्म यस कुर्बानीलाई गर्नेबेला तिमीहरूले अपनाउने ईशभय मात्र पुग्छ किनकि तिमीहरू उहाँको नजिक हुनका निम्ति एकाग्रताका साथ उहाँको आज्ञापालन गर्छौ । त्यसैगरी उहाँले जनावरहरूलाई तिमीहरूको अधीनमा गर्नुभयो र तिमीहरूलाई सत्यताको निर्देशन दिनुभएकोमा परिणाम स्वरूप तिमीहरू उहाँको गुणगाण गर्न सक र उहाँलाई धन्यबाद दिन सक । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उत्तम तरिकाले आफ्नो पालनकर्ताको उपासना गर्नेहरू र उहाँका भक्तहरूसँग उत्तम व्यवहार अपनाउनेहरूलाई प्रसन्न पार्ने खबर सुनाइदिनुहोस् ।
३८. वास्तवमा, अल्लाह उहाँमाथि आस्था राख्नेहरूलाई उनीहरूको शत्रुबाट बचाउनुहुन्छ । वास्तवमा, अल्लाह कुनैपनि विश्वासघाती र कृतघ्न व्यक्तिलाई मन पराउनुहुन्न । ऊ अल्लाहलाई धन्यवाद भन्दैन बरू यसो भन्न मन पराउँदैन ।
जब अल्लाहले उहाँ नै मोमिनहरूको रक्षा गर्नुहुन्छ भन्ने कुरा स्पष्ट पारेर उनीहरूको मन सन्तुष्ट तुल्याउनुभयो उनीहरूलाई काफिरहरूसँग युद्ध गर्ने अनुमति दिनुभयो र भन्नुभयोः
३९. मोमिनहरूलाई उनीहरूसँग युद्ध गर्ने मुश्रिकहरूसँग युद्ध गर्ने अनुमति प्रदान गर्नुभयो किनकि उनीहरूको शत्रुले उनीहरूमाथि अत्याचार गरे । वास्तवमा, अल्लाह युद्ध बिना नै मोमिनहरूको सहयोग गर्न सक्ष्म हुनुहुन्छ । तर मोमिनहरूको परीक्षा काफिरहरूसँगको युद्धद्वारा लिनु अल्लाहको तत्वदर्शितामा आधारित छ ।
४०. मोमिनहरूले अपराध नगरेता पनि उनीहरूमाथि अत्याचार गर्दै काफिरहरूले उनीहरूलाई आफ्ना घरहरूबाट बाहिर निकाले । उनीहरूले केवल यति भनेः हाम्रा पालनकर्ता त केवल अललाह नै हुनुहुन्छ, उहाँबाहेक अरू कोही छैन । यदि अल्लाहले नबीहरू र मोमिनहरूमाथि आफ्ना शत्रुसँग युद्ध गर्ने अनिवार्य नगर्नुभएको भए उनीहरूले उपासनाका स्थानहरूमा आक्रमण गरेका हुनेथ्ये अनि सन्यासीहरूका आश्रमहरू, ईसाईहरूका गिर्जाघरहरू, यहूदीहरूका उपासना गृहहरू र मुस्लिमहरूले सलाह पढ्ने मस्जिदहरू जहाँ मुस्लिमहरू अधिक मात्रामा अल्लाहको गुणगाण गर्छन्, यी सबैलाई पूर्णरूपले भत्काउने थिए । अल्लाहको दीन (धर्म) र उहाँको नबीको सहयोग गर्नेहरूको सहयोग अल्लाह गर्नुहुन्छ किनकि उहाँको धर्मको सहयोग गर्नेहरूको सहयोग गर्न अल्लाह शक्तिशाली हुनुहुन्छ र कोही पनि अल्लाहमाथि विजय प्राप्त गर्न सक्दैन ।
४१. उनीहरू सहयोगको वाचा गरिएकाहरू हुन् जसलाई यदि शत्रुको बिरूद्ध सहयोग प्रदान गरी हामीले धर्तीमा सत्ता प्रदान गरेमा उनीहरूले सलाह उत्तम तरिकाले पढ्नेछन्, जकाह दिनेछन्, धर्मको उपदेश दिनेछन् र दुष्कर्मबाट रोक्नेछन् । अनि पुण्य र यातनासँग सम्बन्धित सम्पूर्ण कुराहरू केवल अल्लाहतिर फर्केर आउनेछन् ।
४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंको समुदायले तपाईंलाई झूठो ठहर गर्छन् भने धैर्य गर्नुहोस् किनकि रसूलहरूमा तपाईंलाई मात्र झूठो ठहर गरिएको छैन बरू तपाईंको समुदायभन्दा पहिले नै नूहको समुदायले नूहलाई, आद समुदायले हूदलाई र समूद समुदायले सालिहलाई झूठो ठहर गरिसकेका छन् ।
४३. इब्राहीमको समुदायले इब्राहीमलाई र लूतको समुदायले लूतलाई झूठो ठहर गरे ।
४४. मदयनबासीहरूले शुऐबलाई र फिर्औन र उसको समुदायले मूसालाई झूठो ठहर गरे । उनीहरूको समुदायलाई थप अवसर प्रदान गर्नका लागि मैले उनीहरूबाट यातनालाई स्थगित गरें । फेरी मैले उनीहरूलाई यातना दियौं । हेर्नुहोस्, कस्तो थियो उनीहरूप्रति हाम्रो तिरस्कार । उनीहरूको कुफ्रको कारण मैले उनीहरूलाई नष्ट पारें ।
४५. जति पनि अत्याचारी नगरहरूलाई हामीले यातना दिएर सर्वनाश पार्यौं त्यहाँका घरहरू भत्केका र मानिसहरूबाट खाली छन् । जति पनि इनार छन् सबै पानी पिउनेहरू नष्ट भएका कारणले बेकार छन् । अग्ला र श्रङगारिएका महलहरूले त्यहाँ बस्नेहरूलाई यातनाबाट जोगाउन सकेनन् ।
४६. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको कुरालाई झूठो ठहर गर्नेहरू धर्तीमा घुमेर हेर्दैनन् ?! उनीहरूले ती नष्ट पारिएका घरहरूको चिन्हको अवलोकन गर्न सक्नेछन् । यसरी उनीहरू आफ्नो दिमागको प्रयोगले सोंच्न सक्छन् र उपदेश लिने उद्देश्यले उनीहरूको कथालाई सुन्न सक्छन् किनकि वास्तविक अन्धो हुनु देख्न नसक्नु होइन बरू चेतनाको अन्धो हुनु विनाशकारी अन्धोपन हो । यस्तो अन्धो व्यक्तिले पाठ र चेतना प्राप्त गर्न सक्दैन ।
४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायका काफिरहरू तपाईंसित यस संसारमा र आखिरतमा चाँढै यातना आओस् भन्ने माग गर्छन् जसको चेतावनी उनीहरूलाई दिइएको थियो । अल्लाहले आफ्नो वाचा पूरा गर्न पछि हट्नुहुनेछैन । अनि उनीहरूले हतार गरेका सजायको केही अंश बद्रको युद्धमा उनीहरूमाथि आई पुग्यो । वास्तवमा, आखिरतमा दिइने एक दिनको यातना त्यसको कठोरताको कारण यस संसारका हजार वर्षबरारको हुनेछ ।
४८. जति पनि अत्याचारी नगरहरू छन् जसको यातनालाई मैले स्थगित गरेको छु उनीहरूलाई अवसर प्रदान गर्न मैले यातना पठाउन हतार गरिन । अनि मैले यातना दिएर उनीहरूको सर्वनाश गरें । उनीहरू कयामतको दिन मतिर नै फर्केर आउनेछन् र म उनीहरूलाई उनीहरूको कुफ्रको कारण सदाको लागि यातना दिनेछु ।
४९. भन्नुहोस्- हे मानिसहरू ! म त तिमीहरूको लागि सचेतक मात्र हुँ । मलाई जे दिएर पठाइएको छ त्यसलाई तिमीहरूसमक्ष पुर्याउँछु र मेरो चेतावनी प्रष्ट छ ।
५०. अनि अल्लाहमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूको पापलाई उनीहरूको पालनकर्ताले क्षमा गर्नुहुनेछ र उनीहरूलाई स्वर्गमा कहिल्यै समाप्त नहुने उत्तम जीविका प्रदान गरिनेछ ।
५१. जो हाम्रा निशानीहरूलाई झूठो ठहर गर्न मेहनत गर्छन् र उनीहरू अल्लाहलाई शक्तिहीन गरेर उहाँको यातनालाई छल्न सक्षम हुनेछन् भनी ठान्दछन् । उनीहरू नर्कमा जानेछन् र जसरी दुईजना साथी साथमा रहन्छन् त्यसरी नै उनीहरू नर्कसँग रहनेछन् ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंभन्दा पहिले हामीले जति रसूल र नबी पठायौं र जब उनले अल्लाहको किताबको बाचन गर्न थाले शैतानले उनको बाचनमा अवरोध उत्पन्न गर्यो र मानिसहरूले त्यो वही भएको कुरामा शंका गरे । तर अल्लाहले शैतानको अवरोधलाई हटाइदिनुभयो र आफ्ना आयतहरूलाई सुरक्षित गर्नुभयो । अल्लाहलाई सबै कुराको ज्ञान छ, उहाँबाट केही पनि लुकेको छैन र उहाँ आफ्नो सृष्टि, योजना र प्रशासनमा निपुण हुनुहुन्छ ।
५३. शैतान नबी (सल्लल्लाहु अलैहि व सल्लम) को बाचनमा अवरोध उत्पन्न गर्छ तर अल्लाह त्यस अवरोधलाई मुनाफिकहरू र कठोर हृदय भएका मुश्रिकहरूको लागि परीक्षा बनाउनुहुन्छ । वास्तवमा, मुनाफिक र मुश्रिकहरूमध्ये अत्याचारीहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का शत्रु हुन् र सत्यता एवं सीधा मार्गबाट धेरै टाढा छन् ।
५४. अल्लाहले जसलाई ज्ञान दिनुभएको छ उनीहरूलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित कुरआन नितान्त सत्य रहेको छ र हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम), अल्लाहले यसलाई तपाईंमाथि वही गर्नुभएको हो भनी विश्वास होस् । यसले गर्दा उहाँमाथि उनीहरूको विश्वास बढ्छ, उनीहरूको हृदयहरू उहाँको लागि समर्पित रहन्छन् र उहाँसँग डराउँछ । वास्तवमा, अल्लाह नै उहाँमाथि आस्था राख्नेहरूलाई सत्य र सीधा बाटोको मार्गदर्शन गर्नुहुन्छ जसमा कुनै टेढोपन हुँदैन । यो उहाँको लागि उनीहरूले देखाएको समर्पनको बदला हो ।
५५. अल्लाहसँग कुफ्र गर्ने र उहाँको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई नमान्नेहरू अल्लाहले तपाईंमाथि कुरआन अवतरण गर्नुभएको कुरामा शंकामा नै रहनेछन् र एक्कासी उनीहरूसमक्ष कयामत आउनेछ वा उनीहरूसमक्ष दया र भलाई नभएको दिनको यातना आउनेछ र त्यो दिन उनीहरूको लागि कयामतको दिन हुनेछ ।
५६. कयामतको दिन- जुन दिन यिनीहरूसमक्ष वाचा गरिएको यातना आइपुग्नेछ- शासन केवल अल्लाहकै हातमा हुनेछ । उहाँप्रति आपत्ति जनाउने कोही हुनेछैन । उहाँ पवित्र हुनुहुन्छ र मोमिनहरू र काफिरहरूबीच फैसला गर्नुहुनेछ । अनि उनीहरूमध्ये प्रत्येक जुन कुराको योग्य छ त्यस अनुसार नै फैसला गर्नुहुनेछ । तसर्थ जो अल्लाहमाथि आस्था राख्दछन् र सत्कर्म गर्दछन् उनीहरूको लागि महान प्रतिदान अर्थात सदाका लागि कृपाका स्वर्गहरू रहेका छन् ।
५७. अनि अल्लाहसँग कुफ्र गर्नेहरू र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित हाम्रा आयतहरूलाई झूठो ठहर गर्दछन्, उनीहरूको लागि अपमानजनक यातना रहेको छ र अल्लाह उनीहरूलाई यसमार्फत नर्कमा अपमानित गर्नुहुनेछ ।
५८. जसले अल्लाहको प्रसन्नता प्राप्तिको लागि र उहाँको धर्मको समर्थनको लागि आफ्ना घर र भुमी त्यागे अनि युद्धमा मारिए वा उनीहरूको प्राकृतिक मृत्यु भयो भने उहाँले उनीहरूलाई स्वर्गमा उत्तम र सदा रहने जीविका प्रदान गर्नुहुनेछ । वास्तवमा, अल्लाह नै पवित्र हुनुहुन्छ र उहाँ सर्वश्रेष्ठ जीविका प्रदान गर्ने हुनुहुन्छ ।
५९. अल्लाहले उनीहरूलाई यस्तो ठाउँमा प्रवेश गराउनुहुनेछ जसबाट उनीहरू सन्तुष्ट हुनेछन् र त्यो स्वर्ग हो । वास्तवमा, अल्लाह उनीहरूको कर्म र नियतबाट अवगत हुनुहुन्छ र उहाँ सहिष्णु हुनुहुन्छ किनकि उहाँले उनीहरूको गल्तीको कारणले यातना दिन हतार गर्नुभएको छैन ।
६०. अल्लाहको मार्गमा हिज्रत (बसाइ सराइ) गर्नेहरूलाई स्वर्गमा प्रवेश गराइनेछ र उनीहरूलाई जति सताइएको थियो त्यति मात्रामा नै उनीहरूलाई बदला लिने अनुमति रहेको र यसमा उनीहरूलाई पाप नलाग्ने कुरा उल्लेख भई सकेको छ । यदि सताउनेले आफ्नो यातना दोहोर्याउँछ भने अल्लाह सताइएकाहरूलाई सहयोग पुर्याउनुहुनेछ । वास्तवमा, अल्लाह मोमिनहरूको पापलाई अवश्य क्षमा गर्नुहुनेछ ।
६१. सताइएकाहरूका लागि यो अल्लाहको सहयोग हो किनकि अल्लाह जे चाहनुहुन्छ त्यसको शक्ति राख्नुहुन्छ । रातलाई दिनमा र दिनलाई रातमा एकलाई लामो र दोस्रोलाई छोटो बनाई प्रवेश गराउनु उहाँको शक्तिको उदाहरण हो । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूको कुराहरू सुन्नुहुन्छ र उनीहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र त्यसै अनुसार उनीहरूलाई बदला दिनुहुनेछ ।
६२. अल्लाहले रातलाई दिनमा र दिनलाई रातमा प्रवेश गराउनुहुन्छ भन्ने कुराको उल्लेख भई सकेको छ । वास्तवमा, अल्लाह, उहाँको धर्म, वचन, मोमिनहरूको लागि उहाँको सहयोग नै नितान्त सत्य हो । अनि अल्लाहलाई छोडी जुन मूर्तिहरूको मुश्रिकहरू उपासना गर्छन् त्यो नितान्त असत्य रहेको छ र त्यसको कुनै आधार छैन । अल्लाह आफ्ना भक्तहरूको प्रकृति, शक्ति र बलको तुलनामा उच्च हुनुहुन्छ र उहाँ महान हुनुहुन्छ जो गर्व, महानता र प्रभुत्वको मालिक हुनुहुन्छ ।
६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले आकाशबाट वर्षा गराउनुहुन्छ र यस कारणले विरूवाहरू पलाएर भूमि हरियो भएको तपाईंले देख्नुभएन । अल्लाह आफ्ना भक्तहरूका लागि कोमल हुनुहुन्छ किनकि उहाँले उनीहरूको लागि वर्षा गराउनु भयो र त्यसको सहयोगले धर्तीमा विरूवा पलायो । उहाँलाई सबैको लाभको ज्ञान छ र उहाँबाट केही पनि लुकेको छैन ।
६४. आकाशहरू र पृथ्वीका सम्पूर्ण कुराहरूको मालिक अल्लाह नै हुनुहुन्छ । वास्तवमा, अल्लाह निस्पृह हुनुहुन्छ र उहाँलाई आफ्ना सृष्टिहरूमध्ये कसैको आवश्यकता छैन । तसर्थ उहाँ हरेक अवस्थामा प्रशंसनीय हुनुहुन्छ ।
६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईं र मानिसहरूको फाइदा र आवश्यकता पूरा गर्नका लागि यस धर्तीमा जनावरहरू र निर्जिव बस्तुहरूलाई अधीनमा गर्नुभएको छ । अनि तिमीहरूको लागि डुङ्गालाई अधीनमा गर्नुभएको छ जुन उहाँकै आदेशबाट समुद्रमा चल्छ र तिमीहरूलाई एक ठाउँबाट अर्को ठाउँ जानको निम्ति सहज बनाउनुभएको छ । उहाँले आकाशलाई उहाँको आदेशबिना खस्नबाट थामेर राख्नुभएको छ । यदि उहाँले खस्ने आदेश दिनुभयो भने त्यो खस्नेछ । वास्तवमा, अल्लाह मानिसहरूप्रति स्नेही र दयालु हुनुहुन्छ किनकि उनीहरू अत्याचारी हुँदा हुँदै पनि उहाँले यी कुराहरूलाई अधीनमा गर्नुभएको छ ।
६६. तिमीहरूको अस्तित्व नै नभएको बेला अल्लाहले नै तिमीहरूलाई अस्तित्व प्रदान गर्नुभयो र जीवन प्रदान गर्नुभयो । अनि तिमीहरूको अवधि समाप्त भएपछि तिमीहरूलाई मृत्यु दिनुहुनेछ । तिमीहरूको मृत्युपश्चात फेरी तिमीहरूको कर्मको हिसाब लिनका निम्ति तिमीहरूलाई जीवन दिनुहुनेछ र त्यस अनुसार नै तिमीहरूलाई बदला दिनुहुनेछ । वास्तवमा, अल्लाहका अनुग्रहहरू स्पष्ट हुँदा हुँदै पनि मानिसहरू अल्लाहसँग सँगै अरूको उपासना गरी अल्लाहका अनुग्रहहरूप्रति कृतघ्न छन् ।
६७. हरेक समुदायकालागि हामीले शरीअत निर्धारण गरेका छौं र उनीहरूले आफ्नो शरीअत अनुसार नै गरे । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मुश्रिकहरू र अन्य धर्मका मान्नेहरू तपाईंसित तपाईंको शरीअतको विषयमा विवाद नगरून् । बरू विवाद गर्ने अधिकार तपाईंनै राख्नुहुन् किनकि उनीहरू नितान्त असत्यमा आधारीत छन् । मानिसहरूलाई अल्लाहको तौहीदतिर आह्वान गर्नुहोस् । वास्तवमा, तपाईं टेढोपन नभएको सीधा मार्गमा हुनुहुन्छ ।
६८. प्रमाण देखाइसकेपछि पनि यदि यिनीहरू तपाईंसित विवाद गर्न चाहन्छन् भने मामिलालाई अल्लाहको हातमा छोड्नुहोस् र चेतावनी दिँदै भन्नुहोस्- अल्लाह तिमीहरूको क्रियाकलापलाई राम्ररी जान्नुहुन्छ । तिमीहरूको क्रियाकलापको सानो अंश पनि अल्लाहबाट लुकेको छैन र त्यस अनुसार नै तिमीहरूलाई बदला दिनुहुनेछ ।
६९. संसारमा अल्लाहका मोमिन र काफिर भक्तहरूले धर्ममा लिएर मतभेद गर्ने गरेका कुराहरूबारे उनीहरूबीच कयामतको दिन निर्णय गर्नुहुनेछ ।
७०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहलाई आकाशमा र पृथ्वीमा रहेका सम्पूर्ण कुराहरूको ज्ञान राख्नुहुन्छ भन्ने कुरा तपाईंलाई थाहा छैन । त्यहाँका कुनै कुरा पनि अल्लाहबाट लुकेको छैन । वास्तवमा, यो ज्ञान लौहे महफूज (सुरक्षित पेटिका) मा उल्लेख छ र यो सम्पूर्ण ज्ञान अल्लाहो निम्ति सहज रहेको छ ।
७१. मुश्रिकहरू अल्लाहलाई छोडेर जुन मूर्तिहरूको उपासना गर्छन् उनीहरूको उपासनाको प्रमाण अल्लाहले आफ्नो किताबहरूमा उल्लेख गर्नुभएको छैन र उनीहरूसँग यस विषयमा कुनै प्रमाण छैन । उनीहरूको प्रमाण भनेको उनीहरूको पुर्खाहरूको आन्धो अनुसरण हो । यी अत्याचारीहरूलाई अल्लाहको यातनाबाट बचाउने कोही पनि सहयोगी हुनेछैन ।
७२. जब यिनीहरूलाई हाम्रो कुरआनका आयतहरू स्पष्ट रूपमा पढेर सुनाइन्छ तब अल्लाहलाई नमान्नेहरूको अनुहारनमा त्यो वाचन सुन्न चाहेको चिन्ह स्पष्टरूपमा तपाईं देख्नुहुन्छ । मानौं हाम्रा आयतहरू सुनाउनेहरूमाथि यिनीहरूले क्रोधले आक्रमण गर्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- तिमीहरूको क्रोध र आँखीभुइँ उचाल्नुभन्दा नराम्रो कुरा के हो भनी म सूचना दिउँ ? त्यो नर्क हो जसमा प्रवेश गराउने वाचा अल्लाहले काफिरहरूसँग गर्नुभएको छ । कति नराम्रो ठाउँ हो जहाँ यिनीहरू पुग्नेछन् ।
७३. हे मानिसहरू हो ! एउटा उदाहरण प्रस्तुत गरिएको छ, त्यसलाई ध्यानपूर्वक सुन र पाठ सिक । अल्लाहलाई छोडी जुन मूर्तिहरूको उपासना तिमीहरू गर्छौ वास्तवमा, तिनीहरू असहायताको कारणले एउटा सानो झिङ्गासम्म सृष्टि गर्न सक्दैनन् । यद्यपी त्यसको निम्ति सबैजना एकजुट भएपनि सृष्टि गर्नसक्ने छैनन् । यदि झिङ्गाले उनीहरूबाट कुनै राम्रो बस्तु वा त्यस जस्तै कुनै बस्तु लिएर गयो भने उनीहरू त्यसलाई रोक्न सक्षम हुनेछैनन् । उनीहरू झिङ्गा सृष्टि गर्न र त्यसले लगेको बस्तु फिर्ता ल्याउन असमर्थ भएको अवस्थाले त्यसभन्दा ठूलो बस्तुको सृष्टि गर्न असमर्थ भएको प्रष्ट पार्छ । तसर्थ उनीहरू असमर्थ हुँदा हुँदै पनि कसरी तिमीहरू अल्लाहलाई छाडी उनीहरूको उपासना गर्न सक्छौ ? त्यो पछी लाग्ने कमजोर रहेको छ र त्यो झूठो उपास्य मूर्ति हो जो झिङ्गाले उसबाट लिएर गएको बस्तु फिर्ता ल्याउन सक्दैन । जसको पछी लागिएको छ त्यो कमजोर रहेको छ र त्यो झिङ्गा हो ।
७४. अल्लाहसँगै उहाँका केही सृष्टिहरूको उपासना गरी उनीहरूले अल्लाह जुन सम्मानको योग्य हुनुहुन्छ त्यो सम्मान गरेनन् । वास्तवमा, अल्लाह धेरै शक्तिशाली हुनुहुन्छ । उहाँको शक्तिको प्रतीक भनेको उहाँले आकाशहरू तथा पृथ्वी र ती दुईबीच रहेका सम्पूर्णको सृष्टि गर्नु हो । अल्लाह प्रभुत्वशाली हुनुहुन्छ र उहाँलाई कसैले पनि पराजित गर्न सक्दैन । मुश्रिकहरूका मूर्तिहरू सरह होइन किनकि उनीहरू कमजोर र अपमानित हुन् र उनीहरूले केही सृष्टि गरेका छैनन् ।
७५. अल्लाहले फरिश्ताहरूमध्येबाट रसूलहरू चयन गर्नुभएको छ र त्यसरी नै मानिसहरूमध्येबाट पनि । उहाँ केही फरिश्ताहरूलाई नबीहरूतिर पठाउनुहुन्छ जस्तै जिब्रील (अलैहिस्सलाम) लाई मानवहरूमध्येका रसूलहरूतिर पठाउनुहुन्छ । अनि मानव रसूलहरूलाई मानिसहरूतिर पठाउनुहुन्छ । वास्तवमा, मुश्रिकहरूले रसूलहरूको विषयमा भन्ने कुराहरू अल्लाह सुन्नुहुन्छ र उहाँ राम्ररी हेरेर आफ्नो रसूल चुन्नुहुन्छ ।
७६. अल्लाहका फरिश्ता र मानवमध्येका रसूलहरूको सृष्टि अगाडिको र मृत्युपश्चातको अवस्थाको ज्ञान उहाँलाई छ । कयामतको दिन सम्पूर्ण मामिलाहरू उहाँतर्फै फर्केर जानेछन् । त्यसदिन उहाँ आफ्ना भक्तहरूका क्रियाकलापको बदला दिन उनीहरूलाई फेरी जीवित पार्नुहुनेछ ।
७७. हे अल्लाहमाथि आस्था राख्नेहरू र आदेशको अनुसरण गर्नेहरु ! केवल अल्लाहको लागि आफ्नो सलाहमा रूकू र सज्दा गर । अनि दान दिनु र नाता जोड्नु जस्ता भलाईका कामहरू गर । तिमीहरूले चाहेका कुराहरू पाउन र डर देखाइएका कुराहरूबाट बच्न सक्छौ भन्ने आशा छ ।
७८. केवल अल्लाहको प्रसन्नता प्राप्तिको लागि उहाँको मार्गमा जिहाद (सङ्घर्ष) गर । उहाँले तिमीहरूलाई चयन गर्नुभएको छ, तिमीहरूको धर्मलाई शान्तीपूर्ण बनाउनुभएको छ अनि कष्ट र अतिवादबाट मुक्त राख्नुभएको छ । यही शान्तीपूर्ण समुदाय तपाईंको पुर्खा इब्राहीम (अलैहिस्सलाम) को समुदाय हो । अल्लाहले अघिल्ला किताबहरू र कुरआनमा तिमीहरूको नाम मुस्लिम राख्नुभएको छ । परिणाम स्वरूप रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले तिमीहरूसमक्ष सन्देश पुर्याउनुभएको छ भनी तिमीहरूको साक्षी बनुन् । अनि अघिल्ला समुदायसमक्ष उनीहरूका रसूलहरूले सन्देश पुर्याउनुभएको छ भनी तिमीहरू साक्षी बन । उत्तम तरीकाले सलाह पढेर, आफ्नो सम्पत्तिबाट जकात दिएर, अल्लाहको शरण लिएर र आफ्ना मामिलाहरूमा उहाँकै सहारा लिएर उहाँलाई धन्यबाद देऊ । उहाँसँग सुरक्षाको आशा राख्ने मोमिनहरूको लागि उहाँ उत्तम सुरक्षा प्रदान गर्ने हुनुहुन्छ र उहाँसँग सहयोग माग्नेहरूका लागि उहाँ उत्तम सहयोगी हुनुहुन्छ । उहाँमाथि विश्वास गर्नुहोस् र उहाँले सुरक्षा प्रदान गर्नुहुनेछ र उहाँसँग सहयोग माग्नुहोस् र उहाँले सहयोग गर्नुहुनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें