सीधे मुख्य सामग्री पर जाएं

६. सूरह अल्-अन्आम (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट




१. सबै किसिमका राम्रा तथा पूर्ण गुण र प्रेम पूर्ण प्रशंसा अल्लाहका लागि हुन् जसले आकाश तथा पृथ्वीलाई बिना कुनै अघिल्ला उदाहरण सृष्टि गर्नुभयो, रातो दिनलाई एकपछि अर्को आउने गरी सृष्टि गर्नुभयो । रातिलाई अन्ध्यारो र दिनलाई प्रकाशमय बनाउनुभयो । यसका बावजुद काफिरहरू अन्य वस्तुहरूलाई अल्लाहको बराबर तथा साझेदार बनाउँछन् ।
२. हे मानव ! अल्लाहले जब तिमीहरूको पूर्वज आदमलाई सृष्टि गर्नुभयो तब उनलाई माटोबाट सृष्टि गर्नुभयो, अनि उहाँले संसारमा तिमीहरू कति दिनसम्म बस्नेछौ भन्ने अवधि निश्चत गर्नुभयो, महाप्रलयको दिन तिमीहरूलाई पुनर्जन्म गरेर उठाउने अवधि पनि उहाँले निश्चित गर्नुभयो जसको ज्ञान मात्र अल्लाहलाई छ । यसका बावजुद तिमीहरू पुनर्जन्म गरिनेबारे अल्लाहको शक्तिमा शंका गर्छौ ।
३. आकाश तथा पृथ्वीमा मात्र अल्लाह वास्तविक पूज्य हुनुहुन्छ । उहाँबाट कुनै पनि वस्तु लुकेको छैन । तिमीहरूले लुकाउने गरेका तथा व्यक्त गरेका नियत तथा कर्महरूलाई अल्लाह जान्नुहुन्छ र चाँडै नै त्यसको बदला दिनुहुनेछ । 
४. बहुदेववादीहरूसमक्ष अल्लाहका जे जति प्रमाण आए पनि तिनीहरूले त्यसको पर्वाह न गरिकन त्यसलाई त्यागे । तिनीहरूसमक्ष तौहीद (एकेश्वारवाद) को बारेमा स्पष्ट प्रमाणहरू आए, उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सच्चा सन्देष्टा हुनुहुन्छ भन्नेबारे पनि निशानीहरू आए । यसका बावजुद तिनीहरूले त्यसबाट विमुख भए ।
५. यदि तिनीहरूले त्यस्ता स्पष्ट प्रमाणहरूलाई झुटो ठहर गरेकाछन् भने तिनीहरूले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्यानुभएका अझै स्पष्ट निशानी कुर्आनलाई पनि झुटो ठहर गरे । महाप्रलयको दिन जब तिनीहरूले आपदा देख्नेछन् तब तिनीहरूले जान्नेछन् कि तिनीहरू जुन कुराहरूको ठट्टा गर्दै थिए ती सबै सत्य थिए ।
६. के अत्याचारी समूदायहरूलाई सखाप पार्नेबारे अल्लाहको कानुन यी काफिरहरूलाई थाहा छैन ?! यिनीहरूअघि अल्लाहले धेरै समूदायहरूलाई सखाप पार्नुभयो जोसँग यी काफिरहरूभन्दा बढी धनमाल, हात हतियार तथा धर्तीमा बसोबास गर्ने सर सामान थिए । अल्लाहले तिनीहरूमाथि पटक पटक वर्षा पठाउनुभयो,र तिनीहरूका भवनका तलतिरबाट नदीहरू जारी गर्नुभयो । तर तिनीहरूले अल्लाहको अवज्ञा गरे अनि अल्लाहले तिनीहरूको पापको कारणले तिनीहरूलाई सखाप पार्नुभयो र तिनीहरूपछि अन्य समूदायहरू सृष्टि गर्नुभयो ।
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यदि हामीले तपाईंमाथि पानाहरूमा लेखिएका किताब अवतरित गरेका भयौं, जसलाई तिनीहरूले आँखाबाट देखे पनि र हातले छोएर राम्ररी महसुस गरे पनि तिनीहरूले इन्कार तथा शत्रुताको कारणले ईमान ल्याउने थिएन । भन्ने थिए- यो स्पष्ट जादू हो हामी कदापि यसमाथि ईमान ल्याउने छैन । 
८. यी काफिरहरूले भने- यदि अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) सँग फरिश्ता (देवदूत) पठाउनुहुन्छ जसले हामीहरूसँग कुरा गरेर उहाँ रसूल हुनुहुन्छ भन्ने गवाही दिनेछन् भने हामी ईमान ल्याउनेछौं । यदि तिनीहरूले गरेको माग अनुसार हामीले फरिश्ता पठाउनेछौं अनि यसका बावजुद तिनीहरूले ईमान ल्याउँदैनन् भने हामीले तिनीहरूको विनाश गर्नेछौं र तिनीहरूलाई तौबाको अवसर पनि दिइनेछैन ।
९. यदि हामीले फरिश्तालाई रसूल बनाएर तिनीहरूतर्फ पठाएको भए त्यसलाई मानवको रूपमा पठाउने थियौं ताकि तिनीहरू त्यसको कुरा सुन्ने थिए र भेँटघाट गर्ने थिए । यदि फरिश्ता अल्लाहले बनाउनु भएको वास्तविक रूपमा आएको भए तिनीहरू त्यसको कुरा न सुन्न सक्थे न भेटघाट गर्न सक्थे । यदि फरिश्तालाई मानवको रूपमा पठाउँदा पनि तिनीहरूसमक्ष त्यसको मामिला अस्पष्ट हुनेथियो ।
१०. यदि तपाईंसँग फरिश्ता अवतरित गर्ने माग गरेर यिनीहरू तपाईंको ठट्टा गर्दैछन् भने तपाईं भन्दाअघिका समुदायहरूले आफ्ना रसूलहरूका ठट्टा गरे । जुन आपदाबाट डराउँदा तिनीहरूले त्यसको ठट्टा तथा इन्कार गरे त्यही आपदाले तिनीहरूलाई घेरामा लिए ।
११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी झुटा ठहर गर्ने तथा ठट्टा गर्नेहरूलाई भन्नुहोस्- धर्तीमा भ्रमण गर अनि अल्लाहका रसूलहरूलाई झुटा ठहर गर्नेहरूको परीणाममा विचार गर । तिनीहरू शक्तिशाली हुँदाहुँदै पनि तिनीहरूमाथि अल्लाहको आपदा अवतरित भयो ।
१२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यिनीहरूलाई भन्नुहोस्- आकाशहरू, पृथ्वी तथा यी दुवैबीच रहेका वस्तुहरूको सत्ता शासन कस्को हातमा छ ? भनिदिनुहोस्- यी सबैका शासन सत्ता मात्र अल्लाहको हातमा छ । अल्लाहले आफ्ना भक्तहरूप्रति दया गर्दै आफूमाथि कृपा लेख्नुभयो । त्यसैले उहाँ आफ्ना भक्तहरूलाई तुरुन्तै सजाय दिनुहुन्न । यहाँसम्म कि जब तिनीहरूले तौबा गरेनन् । अल्लाहले अवश्य नै तिनीहरूलाई महाप्रलयको दिन जम्मा गर्नुहुनेछ जसमा कुनै सन्देह छैन । अल्लाहको इन्कार गरेर जसले घाटा बेहोरे तिनीहरू ईमान ल्याएर आफूलाई घाटाबाट बचाउन सक्ने छैनन् ।
१३. रातो दिनमा जे जति बस्छन् ती सबैका सत्ता शासन अल्लाह कै हातमा छ । उहाँ ती सबैका कुराहरू सुन्नेवाला तथा तिनीहरूका कार्यहरू जान्नेवाला हुनुहुन्छ र ती सबैका बदला उहाँले दिनुहुनेछ ।
१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहसँग मूर्तीहरूको पूजा गर्ने बहुदेववादीहरूलाई भनिदिनुहोस्- यदि मैले अल्लाहसँग अरूलाई मद्दतगार बनाउँछु वा अरूलाई मद्दतको लागि पुकार्छु भने के यो विवेकको कुरा हुनेछ ?! अल्लाहले नै आकाश तथा पृथ्वीलाई विगतको उदाहरणबिना सृष्टि गर्नुभयो । उहाँले नै आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ जीवीका प्रदान गर्नुहुन्छ, कुनै भक्तले जीवीका प्रदान गर्दैन, उहाँलाई आफ्ना भक्तहरूको आवश्यक्ता छैन बरु सबै भक्तहरू उहाँको आवश्यक्तामा छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- मलाई आदेश भएको छ कि यस समुदायमध्ये म सर्वप्रथम अल्लाहसमक्ष झुक्नेवाला बनूँ । उहाँसँग अन्य कसैलाई साझेदार बनाउनबाट मलाई मनाहि गरिएको छ ।
१५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- यदि मैले मनाहि गरिएको शिर्क गरेर वा आदेश भएको ईमान तथा आज्ञापालनलाई त्यागेर अल्लाहको अवज्ञा गर्छु भने महाप्रलयको दिन अल्लाहले मलाई ठूलो यातना दिनुहुनेछ भन्ने कुराबाट डराउँछु ।
१६. अल्लाहले महाप्रलयको दिन जसलाई यातनाबाट जोगाउनुहुनेछ उसलाई उहाँको कृपाले ठूलो सफलता प्राप्त हुनेछ । यातनाबाट मुक्ति महान सफलता हो । 
१७. हे आदमका सन्तान हो ! यदि तिमीहरूलाई कुनै संकट आउँछ भने त्यसलाई अल्लाहबाहेक कोही पनि टार्न सक्दैन । यदि तिमीहरूलाई अल्लाहको तर्फबाट कुनै भलाइ तथा कृपा प्राप्त हुन्छ भने त्यसलाई कोही पनि रोक्न सक्दैन । अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । कोही पनि उहाँलाई विवश पार्न सक्दैन ।
१८. अल्लाह आफ्ना भक्तहरूमाथि हरेक दृष्टिले सर्वोपरी हुनुहुन्छ, अपमान गर्नेवाला हुनुहुन्छ, कोही पनि उहाँलाई विवश पार्न सक्दैन, सबै उहाँसमक्ष निहुरेकाछन्, आफ्नो शान अनुसार सबै भक्तहरूमाथि हुनुहुन्छ, सृष्टि, कार्य सञ्चानल तथा कानुनमा तत्वदर्शी हुनुहुन्छ । उहाँ खबर राख्नेवाला हुनुहुन्छ, कुनै वस्तु उहाँबाट गोप्य छैन ।
१९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! झुटा ठहर गर्ने बहुदेववादीहरूलाई भनिदिनुहोस् - म सच्चा हुँ भन्ने कुरामाथि कसको गवाही सबै भन्दा उच्च तथा महान छ ?  अल्लहको गवाही सबै भन्दा उच्च तथा महान छ । उहाँ मेरो तथा तिमीहरूबीच गवाह हुनुहुन्छ । मैले तिमीहरूसमक्ष ल्याएको कुरालाई पनि उहाँ जान्नुहुन्छ र त्यसप्रति तिमीहरूको प्रतिकृया के हुनेछ भन्ने कुरालाई पनि जान्नुहुन्छ । तिमीहरूलाई तथा जिन्न तथा मानवमध्ये जो जोसम्म यो पुग्छ ती सबैलाई डराउनको लागि अल्लाहले ममाथि यो कुर्आन अवतरित गर्नुभएको छ । हे बहुदेववादीहरू ! अल्लाहसँग अन्य पूज्यहरू पनि छन् भन्ने कुरामाथि तिमीहरू विश्वास राख्छौ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- तिमीहरूको यो विश्वास झुटो विश्वास भएकोले म यसको गवाही दिन सक्दिन । अल्लाह मात्र पूज्य हुनुहुन्छ, उहाँसँग कोही साझेदार छैन । तिमीहरूले जे जस्तो शिर्क (साझेदार ठहर गर्ने कार्य) गर्छौ त्यससँग मेरो कुनै सरोकार छैन ।
२०. तौरात-बाहक यहूदीहरू तथा इन्जील-बाहक ईसाईहरू आफ्ना सन्तानहरूलाई चिन्ने झैँ पूर्णरूपमा सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई चिन्छन् । तिनीहरू नर्कबासी भएकोले आफूलाई घाटामा हाले । तिनीहरू ईमान ल्याउनेवाला छैनन् । 
२१. अल्लाहसँग साझेदार ठहर गर्नेहरू वा रसूल (सल्लल्लाहु अलैहि व सल्ल) माथि अवतरित गरिएका आयतहरूलाई झुटा ठहर गर्नेहरू नै सबै भन्दा ठूला अत्याचारी हुन् । अल्लाहसँग कसैलाई साझेदार ठहर गर्नेहरू तथा उहाँका आयतहरूलाई झुटा ठहर गर्नेहरूले जबसम्म तौबा गर्दैनन् तबसम्म सफल हुन सक्दैनन् ।
२२. महाप्रलयको दिनलाई याद गर्नुहोस् जब मैले एक जनालाई पनि न छोडिकन सबैलाई जम्मा गर्नेछु र मसँग अन्य कसैलाई साझेदार ठहर गर्नेहरूलाई निन्दा गर्दै भन्नेछु- कहाँ छन् ती साझेदारहरू जो तिमीहरू मसँग गर्ने गर्थ्यौ ?!
२३. यस परीक्षापछि तिनीहरूले माफि माग्दै तथा झुट बोल्दै भन्नेछन्- यी (झुटा) पूज्यहरूसित हाम्रो कुनै सम्बन्ध छैन, हे हाम्रा पालनकर्ता ! तपाईंको कसम ! हामी संसारमा तपाईंसँग साझेदार ठहर गर्दैनथे । बरु हामी तपाईंमाथि ईमान राख्थे र एक मान्थे ।
२४. हे मुहम्म्द (सल्लल्लाहु अलैहि व सल्लम) ! हेर्नुहोस् कसरी यिनीहरू झुट बोल्दैछन् कि यिनीहरूले अल्लाहसँग कसैलाई साझेदार बनाएनन् । यिनीहरूले संसारमा ठहर गरेका साझेदारहरूले कसरी हराएर गए र तिनीहरूलाई कसरी बेइज्जत नै गरे ?!
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईं कुर्आनको पाठ गर्नुहुन्छ तब केही बहुदेववादीहरू त्यसलाई सुन्छन् तर त्यसबाट फाइदा उठाउँदैनन् । किनभने हामीले तिनीहरूका विमुखता तथा शत्रुताको कारणले तिनीहरूका हृदयमाथि पर्दा हालेकाछौं ताकि तिनीहरू कुर्आन बुझ्न नसकुन् । तिनीहरूका कानमा बुजो हालेका छौं, जसले गर्दा तिनीहरू फाइदाजनक कुरा सुन्न सक्दैनन् । अति स्पष्ट तथा ठोस प्रमाण देखे पनि तिनीहरूले त्यसमाथि ईमान ल्याउँदैनन् । जब तिनीहरू तपाईंसमक्ष आउँछन् तब तिनीहरू सत्य कुरामा झुटो तरिकाले झगडा गर्छन् । तिनीहरू भन्छन्- तिमीले जे जति ल्याएका छौ ती सबै अघिल्ला जातिहरूका किताबहरूबाट लिइएका छन् ।
२६. तिनीहरू मानिसहरूलाई रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याउनबाट रोक्छन् र टाढा पार्छन् । अरूलाई पनि फाइदा उठाउन दिरहेका छैनन र स्वयम पनि फाइदा उठाइरहेका छैनन् । यसो गरेर न जानिकन आफैँलाई नष्ट पार्दैछन् ।
२७. हे रसूल (सल्लाहु अलैहि व सल्लम) ! तपाईंले तिनीहरूलाई अति नराम्रो अवस्थामा देख्नुहुनेछ अनि आश्चर्य गर्नुहुनेछ जब महाप्रलयको दिन तिनीहरूलाई नर्कमा होमिनेछ, त्यतिखेर तिनीहरू अपसोच गर्दै भन्नेछन्- हामीलाई सांसारिक जीवनतर्फ फर्काइयो भने हामी अल्लाहका आयतहरूलाई झुटो ठहर गर्ने छैनौं र अल्लाहमाथि ईमान ल्याउनेछौं ।
२८. तिनीहरूले गरेको यो दावी गलत हो कि यदि तिनीहरू संसारमा फर्काइएमा ईमान ल्याउनेछन् । तिनीहरूले लुकाएको यो कुरा कि (अल्लाहको कसम हामी उहाँसँग कसैलाई साझेदार बनाएका थिएनौं) त्यतिखेर खोलिनेछ जतिखेर तिनीहरूका अंगहरूले तिनीहरू विरुद्ध गवाही दिनेछन् । यदि तिनीहरूलाई फेरि संसारमा फर्काइनेछ भने तिनीहरूले पुनः मनाहि गरिएको शिर्क तथा कुफ्र नै गर्नेछन् । तिनीहरू आफ्नो यस दावीमा पनि झुटा हुन् कि जब तिनीहरूलाई संसारमा पुनः फर्काइनेछन् भने तिनीहरूले ईमान ल्याउनेछन् ।
२९. बहुदेववादीहरूले भने- जीवन त मात्र यो सांसारिक जीवन हो जसमा हामी छौं, हामीहरूलाई हिसाब किताबको लागि पुनः जीवित पारी उठाइने छैन ।  
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यतिखेर तपाईंले आखिरतको इन्कार गर्नेहरूलाई अति नराम्रो अवस्थामा देख्नुहुनेछ जतिखेर तिनीहरूलाई अल्लाहले भन्नुहुनेछ- के पुनः जीवित पारी उठाइने दिन सत्य होइन र ?! तिमीहरूले इन्कार गर्ने गरेको यस दिनमा के कुनै शंका छ र ?! तिनीहरूले अल्लाहको कसम खाएर भन्नेछन्- निस्सन्देह यो सत्य हो, यसमा कुनै सन्देह छैन । अनि अल्लाहले तिनीहरूलाई भन्नुहुनेछ- यस दिनलाई झुटो ठहर गरेको कारणले यातनाको स्वाद चाख ।
३१. महाप्रलयको दिन पुनः जीवित पारी उठाइने कुरालाई इन्कार गर्नेहरू घाटामा परे र अल्लाहसँग साक्षात्कारबाट टाढा पारिए । जब अकस्मात महाप्रलय आउनेछ तब तिनीहरूले अपसोच गर्दै भन्नेछन्- हाय अपसोच ! हामी त बर्बाद भयौं, अल्लाहको इन्कार गरेर तथा महाप्रलयको दिनको तयारी न गरेर हामीले अल्लाहको जुनाफमा कमि गर्यौ । तिनीहरूले आफ्ना पापहरूलाई आफ्ना पिठ्यूँमाथि बोक्नेछन् । जानि राख तिनीहरूले बोकेको पापको बोझ अति नराम्रो हुनेछ । 
३२. यस्ता मानिसहरूका लागि यो सांसारिक जीवन खेल कुद मात्र हो जो यसमा लिप्त भएर अल्लाहलाई खुशी पार्ने कार्य गर्दैनन् । जब कि आखिरतको दिन यस्ता मानिसहरूका लागि राम्रो छ जो ईमान तथा आज्ञापालन अवलम्बन गर्ने अल्लाहको आदेशको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका शिर्क तथा अवज्ञालाई त्यागेर ईशभय राख्छन् ।  हे बहुदेववादीहरू हो ! के तिमीहरू यो कुरा बुझ्दैनौ कि अल्लाहमाथि ईमान ल्याऊ तथा सत्कर्म गर ।
३३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीलाई थाहा छ कि यिनीहरूको वाहय झुटो ठहर गर्ने कुराले तपाईंलाई चिन्तामा पारेको छ । जानी राख्नुहोस्- तपाईंको सत्यता तथा इमान्दारीको कारणले तिनीहरू भित्रि मनले झुटो ठहर गरिराखेका छैनन्, तर तिनीहरू अत्याचारी मानिस हुन्, त्यसैले वाहयमा तपाईंको आदेशलाई नकार्छन् तर भित्री मनले विश्वास राख्छन् ।
३४. यो न ठान्नुहोस् कि तिनीहरू तपाईंले ल्याउनुभएको सन्देशलाई मात्र झुटो ठहर गर्दैछन्, तपाईंभन्दाअघि आएका रसूलहरू पनि झुटो ठहर गरिए । तिनीहरूका जातिहरूले उनीहरूलाई कष्ट दिए, जसको मुकाबिला उनीहरूले निरन्तर अल्लाहको मार्गमा दावत तथा जिहाद गरेर गरे । यहाँसम्म कि अल्लाहको मद्दत आयो । अल्लाहले आफ्ना रसूलहरूको जे जति मद्दत लेख्नु भएको छ र जे जति वाचा गर्नु भएकोको छ त्यसमा फेर बदल गर्नुहुन्न । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईसमक्ष तपाईंभन्दा अघिका रसूलहरूका समाचारहरू, उनीहरूले आफ्ना जातिहरूको तर्फबाट भोगेका पीडाहरू र उनीहरूका शत्रुहरूलाई नाश पारेर उनीहरूलाई अल्लाहले गर्नुभएको मद्दतको वर्णन आइसकेकाछन् ।
३५. हे रसूल (सल्लललाहु अलैहि व सल्लम) ! यदि उनीहरूको झुटो ठहर गर्नु र विमुखता तपाईंका लागि असहनीय छ र यदि तपाईं सक्नुहुन्छ भने पृथ्वीमा सुरुङ्ग वा आकाशमा कुनै भर्याङ्ग खोज्नुहोस् अनि तिनीहरूसमक्ष यस्ता प्रमाणहरू ल्याउनुहोस् जो मैले तपाईंलाई प्रदान गरेका छैनौं । अल्लाहले चाहनुभएमा ती सबैलाई तपाईंले ल्याउनुभएको सत्मार्गमा एकत्रित गर्नुहुनेथियो । तर उहाँले कुनै कारणले यसो गर्नु भएन । अतः तपाईं  यस बारेमा अज्ञानीहरूमध्ये न बन्नुहोस् कि तिनीहरूले ईमान न ल्याएको चिन्तामा आफूलाई नष्ट पार्नुहोस् ।
३६. तपाईंले ल्याउनुभएको सन्देशको जवाफ ती मानिसहरू मात्र दिन सक्छन् जो कुरा सुन्ने तथा बुझने क्षमता राख्छन् । काफिरहरू त मृत हुन्, यिनीहरूको कुनै कुरै न गर्नुस्, यिनीहरूको दिल मुर्दा भइ सकेकाछन् । अल्लाहले यी मृतहरूलाई महाप्रलयको दिन पुनर्जीवित गरी उठाउनुहुनेछ । फेरि तिनीहरूलाई मात्र उहाँतर्फ फर्काएर लगिनेछ ताकि उहाँले तिनीहरूले गरेका कार्यहरूको बदला देउन् ।
३७. बहुदेववादीहरूले ईमानप्रति घृणा व्यक्त गर्दै भने-  मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि उहाँका पालनकर्ताको तर्फबाट कुनै अदभुत निशानी किन अवतरित गरिदैन जो उहाँले ल्याउनुभएको सन्देशको प्रमाण बनोस् ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- निश्चय नै अल्लाह यिनीहरूले माग गरे झैं निशानी अवतरण गर्ने शक्ति राख्नुहुन्छ तर यस्तो किसिमको माग गर्नेहरूमध्ये अधिकांश मानिसहरू जान्दैनन् कि अल्लाह कुनै न कुनै कारणले निशानी अवतरित गर्नुहुन्छ, कसैको चाहनाको आधारमा निशानी अवतरित गर्नुहुन्न । यदि अल्लाहले निशानी अवतरित गर्नुहुन्छ भने त्यसका बावजुद ईमान न ल्याउनेहरूलाई नष्ट गर्नुहुनेछ ।
३८. हे आदमका सन्तान ! भूमिमा हिँड्डोल गर्ने जति प्रकारका जनावरहरू छन् र आफ्ना दुई पखेटाद्वारा उड्ने जति पंक्षीहरू छन् ती सबै सृष्टि तथा जीवीका खानमा तिमीहरू जस्तै समूह हुन् । हामीले लौहे महफूज (सुरक्षित बही खाता) मा केही पनि न छुटाएर सबै कुरा लेखिदिएकाछौं । अल्लाहलाई यी सबैको बारेमा पूर्ण ज्ञान छ । अनि यिनीहरू महाप्रलयको दिन निर्णयको लागि मात्र आफ्ना पालनकर्तासामु नै एकत्रित गरिनेछन् । अनि अल्लाहले तिनीहरूलाई तिनीहरूको कर्म अनुसार बदला दिनुहुनेछ ।
३९. जसले हाम्रा निशानीहरूलाई असत्य ठहर गरे तिनीहरू बहिरा झैँ  हुन्, जसले कुरा सुन्दैनन्, लाटा जस्तै हुन्, जो बोल्न सक्दैनन् । साथै तिनीहरू अन्धकारमा छन्, केही देख्दैनन् । यस्तो अवस्थामा रहेकाहरू कसरी सीधा मार्ग पाउन सक्छन् ?! अल्लाह जसलाई चाहनुहुन्छ पथभ्रष्ट पार्नुहुन्छ र जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ र सीधा मार्गमा राख्नुहुन्छ ।
४०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– अलि सोचेर बताऊ, यदि तिमीहरूमाथि अल्लाहको प्रकोप आइपरेमा वा महाप्रलय नै आएमा जसको वाचा तिमीहरूसित गरिएको छ के तिमीहरूले त्यसलाई टार्न अल्लाहबाहेक अन्य कसैलाई बोलाउँछौ ? बताऊ यदि तिमीहरू यस दावीमा सच्चा छ कि तिमीहरूका पूज्यहरूले फाइदा पुर्याउन सक्छन् वा हानि टार्न सक्छन् ?!
४१. बरु यस्तो अवस्थामा तिमीहरू मात्र अल्लाहलाई पुकार्दछौ जसले तिमीहरूको सृष्टि गर्नुभयो अनि उहाँले चाहनुभएमा त्यो सङ्कट टारिदिनुहुन्छ । उहाँ नै मालिक हुनुहुन्छ र त्यसलाई टार्ने सामर्थ्य राख्नुहुन्छ । त्यतिखेर तिमीहरूले ती पूज्यहरूलाई पुकार्दैनौ जसलाई तिमीहरूले अल्लाहसँग साझेदार बनाएकाछौ । किनभने तिमीहरूलाई थाहा छ कि तिनीहरूले न त फाइदा पुर्याउन सक्छन् न हानि नै ।
४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले धेरै समुदायहरूतर्फ रसूलहरू पठायौं तर तिनीहरूले उनीहरूलाई झुटा ठहर गरे र विमुख भए । अनि हामीले तिनीहरूलाई दरिद्रता तथा शारीरिक कष्टहरू तथा रोगहरूबाट ग्रस्त पारेर सजाय दियौं ताकि तिनीहरू आफ्ना पालनकर्ताप्रति विनम्र होउन् ।
४३. तिनीहरूसमक्ष हाम्रो प्रकोप आउँदा तिनीहरू बिनम्र भएमा हामीले तिनीहरूमाथि कृपा गर्नेथियौं ।  तर तिनीहरू विनम्र भएनन्, बरु तिनीहरूको हृदय झन् कठोर भयो । तिनीहरूले पाठ तथा नसीहत लिएनन् । तिनीहरूले गरिरहेका कुफ्र तथा अवज्ञा जस्ता नराम्रा कार्यहरूलाई शैतानले शोभनीय तुल्याइदियो । अनि तिनीहरूले निरन्तर कुफ्र तथा अवज्ञा नै गरिराखे । 
४४. अनि जब तिनीहरूले स्मरण गराइएका कुरा बिर्से र अल्लाहको आदेशको पालना गरेनन् तब हामीले तिनीहरूकालागि सबै जीवीका तथा सम्पन्नताका ढोका खोलेर  तथा निको पारेर छूट दियौं,  । अनि जब तिनीहरू प्रदान गरिएका चिजहरूमा खुबै मग्न भए तब अकस्मात् तिनीहरूमाथि हाम्रो प्रकोप आयो अनि तिनीहरू निराश हुन पुगे ।
४५. अन्ततः काफिरहरूलाई सर्वनाश पारिएर तिनीहरूको जरो नै काटियो र रसूलहरूको मद्दत गरियो, जसको लागि सम्पूर्ण प्रशंसा मात्र अल्लाहको लागि हो जो सम्पूर्ण जगतका पालनकर्ता हुनुहुन्छ ।
४६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई सोध्नुहोस्– यदि अल्लाहले तिमीहरूको सुन्ने क्षमता खोसेर बहिरा बनाउनुहुनेछ, आँखाको ज्योति खोसेर अन्धो बनाउनुहुनेछ र तिम्रा हृदयहरूमा सील  (मोहर) लगाइदिनुहनेछ जसले गर्दा तिमीहरू चिन्तन मनन गर्न सक्दैनौ भने अल्लाहवाहेक कुन उपास्यले तिमीहरूलाई त्यो फिर्ता दिन सक्छ ? हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, हामी कसरी विभिन्न तरिकाले प्रमाणहरू वर्णन गर्छौं तैपनि तिनीहरू बेवास्ता गर्छन् ।
४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम)  यिनीहरूलाई भनिदिनुहोस्– मलाई बताऊ यदि तिमीहरूमाथि अल्लाहको प्रकोप अकस्मात् तथा बिना जानकारी आइ पुग्छ वा स्पष्टरूपमा खुल्लम खुल्ला आइपुग्छ भने त्यसले अल्लाहको इन्कार गरेर तथा रसूलहरूलाई झुटो ठहर गरेर अत्याचार गरेकाहरूलाई मात्र नष्ट पार्नेछ ?
४८. हामीले रसूलहरूलाई ईमान ल्याउने तथा आज्ञापालन गर्नेहरूलाई सधैँ  रहने वरदानको शुभ सूचना दिनेवाला बनाएर र काफिर तथा अवज्ञाकारीहरूलाई आफ्नो कडा यातनाबाट डराउनेवाला बनाएर पठायौं । रसूलहरूमाथि ईमान ल्याउने तथा सत्कर्म गर्नेहरूका लागि आखिरतमा कुनै डर हुने छैन । संसारमा उनीहरूले जे जति सांसारिक अंश गुमाए त्यसप्रति चिन्तित हुने छैनन् ।
४९. जसले हाम्रा आयतहरूलाई झुटा ठहर गरे, हाम्रो अवज्ञा गरेको कारणले तिनीहरूमाथि आपदा आइलाग्नेछ ।
५०. हे रसूल (सल्लललाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्– मसित अल्लाहको खजाना छ जसलाई म जसरी चाहन्छु प्रयोग गर्छु  भन्ने म तिमीहरूसँग दावी गर्दिन । म यो पनि भन्दिन- मलाई गैब (परोक्ष) को ज्ञान छ, सिवाय ती  वही (प्रकाशना) को बारेमा जसबाट अल्लाहले मलाई सूचित गर्नुभएको छ । म यो पनि भन्दिन कि म फरिश्ताहरूमध्ये एउटा फरिश्ता हुँ । म मात्र अल्लाहका रसूल हुँ । म यस्तो कुराको दावी गर्दिन जो मसँग छैन । त्यस प्रकाशनाको अनुसरण मात्र गर्छु जुन ममाथि अवतरित गरिन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– के सत्यलाई देख्न न सक्ने काफिर र सत्यलाई देख्ने तथा त्यसमा ईमान राख्ने मोमिन समान हुन सक्छन् ? हे बहुदेववादीहरू हो ! के तिमीहरू आफ्ना वरिपरि रहेका निशानीहरूमा विचार गर्दैनौ ?
५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं  यस कुर्आनद्वारा ती मानिसहरूलाई डराउनुहोस् जो आफ्ना पालनकर्तासमक्ष महाप्रलयको दिन एकत्रित गरिनेछन् भनी डराउँछन् । यिनीहरूकालागि अल्लाहबाहेक कोही संरक्षक छैन जसले तिनीहरूलाई फाइदा पुर्याओस्, कोही सिफारिशकर्ता पनि छैन जसले हानिबाट जोगाओस् । आशा छ यिनीहरूले अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यलाई त्यागेर उहाँसँग डराउनेछन् । यस्ता मानिसहरू नै कुर्आनबाट फाइदा उठाउनेछन् ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं यस्ता गरीब मुस्लिमहरूलाई आपनो सभाबाट टाढा न पार्नुहोस् जो बिहान र साँझ पाबन्दीका साथ आफ्ना अल्लाहको भक्ति निष्कप्ट भएर गर्छन् ताकि तपाईंले बहुदेववादीहरूलाई आफूतर्फ आकर्षित गर्नुहोस् । यी गरीबहरूको कुनै पनि हिसाब तपाईंमाथि छैन, उनीहरूको हिसाब उनीहरूको पालनकर्तानजिक छ । न तपाईंको कुनै हिसाब तिनीहरूमाथि छ । यदि तपाईंले तिनीहरूलाई आफ्नो सभाबाट टाढा पार्नुहुनेछ भने तपाई सीमा उल्लंघन गर्नेहरूमध्ये बन्नुहुनेछ ।
५३. यसप्रकार हामीले तिनीहरूमध्ये एकलाई अर्कोद्वारा जाँचेकाछौं अनि तिनीहरूलाई फरक फरक सांसारिक अंश दिएकाछौं ताकि धनि काफिरहरूले गरीब मुस्लिमहरूलाई भनुन् – के हामीहरूबीच  यिनै गरीबहरू हुन् जसलाई अल्लाहले मार्गदर्शन गरेर हामीहरूमाथि ग्राहयता दिनुभयो । यदि ईमान राम्रो वस्तु भएको भए यिनीहरूले हामीभन्दा अघि अंगाल्ने थिएनन् बरु हामीहरू पहिला अंगाल्ने थियौं । के अल्लाह यस्ता भक्तहरूलाई जान्नुहुन्न जो अल्लाहका कृपाप्रति आभार व्यक्त गर्छन् अनि अल्लाहले उनीहरूलाई ईमान ल्याउने तौफीक देउन् । के अल्लाह काफिरहरूलाई जान्नुहुन्न कि तिनीहरूलाई बेइज्जत गरुन् अनि तिनीहरूले ईमान न ल्याउन् ?! किन नहुनु, अल्लाह तिनीहरूलाई राम्ररी जान्नुहुन्छ ।
५४. हे हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंसमक्ष हाम्रा आयतहरूमाथि आस्था राख्नेहरू आउँछन् तब तिनीहरूका सम्मानको लागि तिनीहरूलाई सलाम भन्नुहोस्, अल्लाहको महान कृपाको शुभसूचना दिनुहोस् । अल्लाहले आफूमाथि कृपालाई अनिवार्य गर्नुभएको छ । तिमीहरूमध्ये कसैले नजानीकन वा गलतीले कुकर्म गर्यो र त्यसपछि तौबा गर्यो अनि सुधार गर्यो भने अल्लाहले उनीहरूलाई माफ गर्नुहुनेछ, उहाँ अति क्षमाशील एवं परम दयालु हुनुहुन्छ ।
५५. यसरी हामी आयतहरू असत्यवादीहरूका लागि खुलस्त रूपमा वर्णन गर्छौं, अपराधीहरूका तरिकालाई स्पष्ट पार्छौं  ताकि तिमीहरू त्यसबाट सावधान रह र त्यस्तो कार्य न गर ।
५६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भन्नुहोस्- अल्लाहबाहेक तिमीहरू जसको भक्ति गर्छौ त्यसको भक्तिबाट मेरा पालनकर्ताले मलाई मनाहि गर्नुभएको छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- अल्लाहबाहेक अन्य कसैको भक्तिबारे म तिमीहरूको इच्छाको अनुसरण गर्दिन, यदि मैले यसबारेमा तिमीहरूको इच्छाको अनुसरण गर्छु भने म पथभ्रष्ट हुन्छु र सीधा मार्ग पाउन सक्दिन । जो सुकैले पनि अल्लाहको प्रमाणलाई त्यागेर इच्छाको अनुसरण गर्छ उसको यही अवस्था हुन्छ । 
५७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्- म आफ्नो पालनकर्ताको स्पष्ट प्रमाणमा छु, इच्छाको अनुसरण गर्दिन । तिमीहरूले यस प्रमाणलाई झुटो ठहर गरेका छौ । तिमीहरू जुन आपदाको लागि हतार गर्दैछौ र जस्तो खाले चमत्कारको माग गर्दैछौ त्यो मेरो हातमा छैन बरु अल्लाहको हातमा छ । सबै सत्ता शासन मात्र अल्लाहको हातमा छ, उहाँ सत्य तथ्य भन्नुहुन्छ र शासन गर्नुहुन्छ । उहाँ नै असत्यवादीबाट सत्यवादीलाई छुट्याउनुहुन्छ ।  
५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्- तिमीहरूले हतार गरिराखेको आपदा यदि मेरो हातमा भएको भए म अवतरित गरिदिने थिएं,अनि तिमीहरू तथा मबीच निर्णेय भइ सक्थ्यो । अल्लाहले अत्याचारी जातिहरूलाई कति मोहलत दिनुहुनेछ र कहिले समात्नुहुनेछ भन्ने कुरा राम्ररी जान्नुहन्छ ।
५९. मात्र अल्लाहसँग गैब (परोक्ष) को खजाना छ । उहाँबाहेक अरू कसैसँग गैबको ज्ञान छ । उहाँ थल तथा जलका सबै जनावर, बनस्पति तथा मृत वस्तुहरूलाई जान्नुहुन्छ । जहाँ पनि कुनै पात झर्छ, जमिनमा जहाँ पनि कुनै दाना लुकेको हुन्छ, कच्चा पक्का जुन सुकै वस्तु छ ती सबै एउटा स्पष्ट किताब अर्थात लौहे महफूज (सुरक्षित पाटिका) मा लेखिएको छ ।
६०. अल्लाह नै तिमीहरूका आत्माहरूलाई त्यतिखेर केही क्षिणको लागि नियन्त्रणमा लिनुहुन्छ जब तिमीहरू सुतिरहेका हुन्छौ । दिनमा कामको समयमा तिमीहरू जे जति कार्य गर्छौ त्यसलाई पनि अल्लाह नै जान्नुहुन्छ । निन्द्रामा लिएको आत्मालाई अल्लाहले दिनमा फिर्ता गर्नुहुन्छ ताकि तिमीहरूले काम गर्न सक । अल्लाहले जति उमेर लेख्नुभएको छ त्यसलाई पूरा गरेपछि मर्छौ, अनि महाप्रलयको दिन उहाँले नै पुनः जीवित पार्नुहुनेछ र उहाँसँग तिमीहरू भेट्नेछौ । तिमीहरूले संसारमा जे जति गर्यौ त्यसबारे उहाँले सूचित गर्नुहुनेछ र त्यसको बदला दिनुहुनेछ ।
६१. अल्लाह आफ्ना भक्तहरूमाथि हावी हुनुहुन्छ, तिनीहरूलाई अपमान गर्नेवाला हुनुहुन्छ, हरेक दृष्टिले उनीहरूमाथि सर्वोच्च हुनुहुन्छ, हरेक वस्तु उहाँसमक्ष निहुरेकाछन् । उहाँ आफ्नो शान अनुसार भक्तहरूमाथि हुनुहुन्छ । हे मानिसहरू हो ! तिमीहरूका कर्महरूको लेखा जोखा राख्नको लागि उहाँ प्रतिष्ठित फरिश्ताहरू पठाउनुहुन्छ । यहाँसम्म कि तिमीहरूको आत्मालाई यमदूत तथा त्यसका सहयोगीहरूले नियन्त्रणमा लिन्छन् अनि तिमीहरूको उमेर पूरा हुन्छ । फरिश्ताहरू आदेशको पालनामा कुनै कमि गर्दैनन् ।
६२. फेरि नियन्त्रणमा लिइएका तिनीहरूका आत्माहरूलाई वास्तविक मालिक अल्लाहतर्फ फर्काइनेछ ताकि उहाँले तिनीहरूको कर्मको बदला देउन । उहाँले नै निर्णयहरूलाई लागु गर्नुहुन्छ, निसाफ गर्नुहुन्छ र तिमीहरूका कर्महरूलाई झट गन्ती गर्नुहुन्छ ।
६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्- थल तथा जलका अन्धकारहरूमा आएका खतराहरूबाट कसले जोगाउँछ ? त्यतिखेर तिमीहरू अल्लाहलाई नै वाहय तथा गोप्य रूपमा अति अनुनय विनयका साथ पुकार्छौः यदि हाम्रा पालनकर्ताले हामीलाई यस खतराबाट जोगाउनुहुनेछ भने हामी उहाँका कृपाहरूप्रति अति आभारी हुनेछौं र उहाँबाहेक अरू कसैको भक्ति गर्दैनौं । 
६४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहस्- अल्लाहले नै तिमीहरूलाई हरेक किसिमको पीडाबाट जोगाउनुहुन्छ । तर तिमीहरू खुशीको अवस्थामा अल्लाहसँग अरूलाई साझेदार बनाउन थाल्छौ । यसो गरेर तिमीहरू कति ठूलो अपराध गर्छौ ?!
६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- अल्लाह तिमीहरूतर्फ माथिबाट पनि आपदा पठाउने सामर्थ्य राख्नुहुन्छ र मुनि बाट पनि । माथिबाट जस्तै ढुड्गा, चट्याङ, हावाहुरी, मुनिबाट जस्तै भूकम्प, पहिरो । वा तिमीहरूको हृदयहरूमा मतभेद उत्पन्न गर्न सक्नुहुन्छ । अनि तिमीहरूमध्ये सबै आफ्ना आफ्ना इच्छाको अनुसरण गर्नेछन् अनि एक अ।र्कासँग युद्ध गर्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्- हामी कसरी विभिन्न तरिकाले विभिन्न प्रमाणहरू बयान गर्छौं र स्पष्ट पार्छौं ताकि तिनीहरूले यो कुरा बुझुन् कि तपाईंले ल्याउनुभएको धर्म सत्य हो र तिनीहरूले मान्दै आएको धर्म गलत हो । 
६६. तपाईंका जातिले यस कुर्आनलाई झुटो ठहर गर्यो जब कि यो कुर्आन अल्लाहको तर्फबाट हो भन्ने कुरामा कुनै शंका छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस- मेरो जिम्मेबारी तिमीहरूको निगरानी होइन बरु तिमीहरूमाथि आउने कडा आपदाबाट डराउनेवाला हुँ ।  
६७. हरेक समाचारको लागि निश्चित समय हुन्छ जसमा त्यो आउने गर्छ र सम्पन्न हुनेगर्छ । ती खबरहरूमध्ये तिमीहरूको परिणामको खबर पनि हो । जब तिमीहरू महाप्रलयको दिन जीवित पारेर उठाइनेछौ तब चाँडै नै जान्नेछौ । 
६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईं बहुदेववादीहरूलाई हाम्रा श्लोकहरूको ठट्टा गर्दै देख्नुहुन्छ तब तिनीहरूबाट टाढा भइ हाल्नुस् यहाँसम्म कि ठट्टा गर्न छोडेर अन्य कुराहरूमा व्यस्त हुन्छन् । यदि तपाईंलाई शैतानले बिर्साइदिन्छ र तपाईं तिनीहरूसँग बस्नुहुन्छ भने याद आउन बित्तिकै तिनीहरूको सभाबाट निस्कि हाल्नुहोस् र ती अत्याचारीहरूसँग कहिल्यै न बस्नुहोस् ।
६९. जुन मानिसहरू अल्लाहका आदेशहरूको पालना गरेर तथा मनाहि गरिएका कार्यहरूलाई त्यागेर उहाँसँग डराउँछन् उनीहरूसित यी अत्याचारीहरूको बारेमा सोध पूछ हुने छैन । उनीहरूले मात्र ती अत्याचारीहरूलाई दुष्कर्म गर्नबाट मनाहि गर्नुपर्छ । आशा छ कि तिनीहरूले अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहँसित डराउनेछन् ।
७०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई छोडिदिनुहोस् जसले आफ्ना धर्मलाई खेल ठट्टा बनाएका छन् । संसारको क्षणिक मोज मज्जाले तिनीहरूलाई धोकामा पारेका छन् । हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! मानिसहरूलाई कुर्आनद्वारा उपदेश दिनुहोस् ताकि कोही पनि आफूले कमाएको पापको कारणले विनाशको शिकार न होस् । अल्लाहबेक कोही छैन जसबाट उसले मद्दत मागोस्, कोही माध्यम छैन जसले महाप्रलयको दिन उसलाई यातनाबाट जोगाउन सकोस्, उसले जति पनि अर्थ-दण्ड दिएमा त्यो स्वीकार्य हुनेछैन । यिनीहरू नै हुन् जसले आफ्नै पापको कारणले आफूलाई महाप्रलयको दिन विनाशमा हालेका छन् । तिनीहरूको कुफ्रको कारणले तिनीहरूलाई अति तातो पेय खुवाइनेछ र पीडादायी यातना दिइनेछ । 
७१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्- के हामी अल्लाहलाई छोडेर यस्तो मूर्तिहरूको पूजा गरौं जसले न त कुनै फाइदा पुर्याउन सक्छन् न हानि नै ? के अल्लाहले प्रदान गर्नुभएको ईमानलाई त्यागेर शैतानले पथभ्रष्ट पारेका मान्छेहरू जस्तै बनि हालौं जो बाटो बिराएर यता उति भटकि राखेका छन् जब कि सीधा मार्गमा रहेका उसका साथीहरू सत्यतर्फ बोलाउँदैछन् तर ऊ छ कि जवाफै दिरहेको छैन ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भन्नुहोस्- वास्तविक मार्गदर्शन त अल्लाहको मार्गदर्शन हो । अल्लाहले हामीलाई आदेश दिनुभएको छ कि हामी एक अल्लाहमाथि ईमान ल्याएर तथा उहाँ कै भक्ति गरेर उहाँसमक्ष आत्म-समर्पण गरौं, उहाँ सम्पूर्ण जगतका पालनकर्ता हुनुहुन्छ ।
७२. अल्लाहले हामीहरूलाई पूर्णरूपमा सलाह कायम गर्ने र उहाँले दिनुभएका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराउने आदेश दिनुभएकोछ । महाप्रलयको दिन मात्र उहाँसमक्ष भक्तहरूलाई जम्मा गरिनेछ ताकि उहाँले उनीहरूलाई उनीहरूका कर्महरूको बदला देउन् । 
७३. अल्लाहले नै आकाशहरू तथा पृथ्वीलाई सत्यका साथ सृष्टि गर्नुभयो । त्यस दिन अल्लाहले जुन सुकै वस्तुलाई भन्नुहुन्छ भइ हाल, त्यो भइ हाल्छ । महाप्रलयको दिन जब अल्लाहले उनीहरूलाई उभ्न भन्नुहुन्छ तब उनीहरू उभि हाल्छन् । उहाँको कुरा सत्य हो, जो अवश्य नै हुन्छ । महाप्रलयको दिन त्यतिखेर सबै शासन सत्ता मात्र उहाँ कै हातमा हुनेछ जब इस्राफील अ. ले दोस्रो पटक नरसिङ्घामा फुक्नेछन् । देखिने तथा नदेखिने दुवै किसिमका वस्तुहरूका ज्ञाता उहाँ नै हुनुहुन्छ । सृष्टि गर्न तथा कार्य सञ्चालनमा उहाँ विवेकशील हुनुहुन्छ, उहाँ सुसूचित हुनुहुन्छ, कुनै पनि वस्तु उहाँबाट लुकेको छैन । सबै किसिमका लुकेका मामिलाहरू उहाँको लागि वाहय छन् ।
७४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब इब्राहीम अ. ले आफ्नो बहुदेववादी पिता आजरलाई भने- हे मेरा बुवा ! के तपाई अल्लाहलाई छोडेर मूर्तीहरूको पूजा गर्नुहुन्छ ? ! म त तपाईंलाई तथा मूर्ती पूजा गर्ने तपाईंका जातिलाई स्पष्ट पथभ्रष्टतामा र सीधा मार्गबाट हटेका देख्दछु, जब कि अल्लाह मात्र वास्तविक पूज्य हुनुहुन्छ र उहाँबाहेक जसको पनि पूजा गरिन्छ ती सबै झुटा ईश्वर हुन् ।
७५. जसरी हामीले इब्राहीम अ. लाई उनका बुवाका पथभ्रष्टता देखायौं त्यसरी नै उनलाई आकाशहरू तथा पृथ्वीका विशाल राज्य-व्यवस्था पनि देखायौं ताकि उनी स्वयम पनि यसमा विश्वास गरुन् र अरूसमक्ष पनि प्रमाणित गरुन् कि अल्लाह एक मात्र हुनुहुन्छ, उहाँ नै भक्ति योग्य हुनुहुन्छ, उहाँसँग कोही साझेदार छैन र उहाँ सबै कार्य गर्ने सामर्थ्य राख्नुहुन्छ । 
७६. जब रातको अँध्यारो छायो तब उनले एउटा तारा देखेर भने– यो मेरो ईश्वर हो । अनि, जब त्यो बेपत्ता भयो तब उनले भने– म बेपत्ता हुने वस्तुलाई मन पराउँदिन किनभने वास्तविक ईश्वर हाजिर रहन्छ, बेपत्ता हुँदैन ।
७७. जब उनले उदाउँदो चन्द्रमा देखे तब भने– यही मेरो ईश्वर हो । अनि, जब त्यो पनि बेपत्ता भयो तब उनले भने– मेरा पालनकर्ताले मलाई मात्र एक अल्लाहमाथि ईमान तथा उहाँको भक्तिको अवसर न दिएको भए निश्चय नै म सत्य धर्मबाट टाढा हुने थिएँ ।
७८. जब उनले उदाउँदो सूर्यलाई देखे तब भने– यो उदाउँदो सूर्य मेरो ईश्वर हो । यो तारा तथा चन्द्रमाभन्दा ठूलो छ । जब त्यो पनि अस्तायो तब उनले भने– हे मेरा समुदायका दाजुभाइहरू हो ! जुन वस्तुहरूलाई तिमीहरू अल्लाहसँग साझेदार बनाउँछौ ती सबैबाट मेरो कुनै सरोकार छैन । 
जब उनले अल्लाहबाहेक झुटा ईश्वरहरूबाट कुनै सरोकार न भएको घोषणा गरे तब मानौं उनका जातिका मानिसहरूले सोधे- अनि कसको भक्ति गर्ने त ? उनले भनेः  
७९. मैले आफ्नो धर्मलाई एकाग्र भएर मात्र त्यस अल्लाहको लागि विशिष्ट पारें जसले बिना कुनै अघिल्ला उदाहरण आकाशहरू तथा पृथ्वीको सृष्टि गर्नुभयो । म शिर्क (अल्लाहसँग साझेदार ठहर) गर्ने कार्य छोडेर निष्कप्ट तौहीद (एकेश्वरवाद) तर्फ फर्कें । म कदापि मुश्रिकहरूमध्ये होइन जो अल्लाहसँग अरूको पूजा पनि गर्छन् । 
८०. उनका समुदायका बहुदेववादी मानिसहरूले उनीसँग मात्र एक अल्लाहको भक्तिको बारेमा वादविवाद गर्न थाले र उनलाई आफ्ना मूर्तीहरूको डर देखाए । अनि इब्राहीम अ. ले जवाफ दिए– के तिमीहरू मसँग यस कुरामा वादविवाद गर्छौ कि अल्लाह मात्र एक हुनुहुन्छ र उहाँको भक्ति मात्र गर्नुपर्छ  जो म उहाँको कृपाले गर्दैछु ?! म तिमीहरूको मूर्तीहरूबाट डराउँदिन किनभने तिनीहरू अल्लाहको चाहनाबिना कुनै किसिमको हानि वा लाभ पुर्याउने सामर्थ्य राख्दैनन । अल्लाह जे चाहनुहुन्छ त्यही हुन्छ । सबै कुराहरू अल्लाहको ज्ञानमा छ । पृथ्वी तथा आकाशमा कुनै पनि वस्तु उहाँबाट लुकेको छैन । हे मेरा जातिका मानिसहरू हो ! के तिमीहरू यस कुरालाई बुझ्दैनौ कि तिमी एक अल्लाहको इन्कार गर्दैछौ र उहाँसँग साझेदार ठहर गर्दैछौ ? अतः तिमीहरू मात्र एक अल्लाहमाथि ईमान ल्याऊ ।
८१. म तिमीहरूले पूजा गर्ने मूर्तीहरूसँग किन र कसरी डराऊँ जबकि तिमीहरू अल्लाहसँग ती वस्तुहरूलाई साझेदार बनाउन डराउँदैनौ जसलाई उहाँले नै सृष्टि गर्नुभएको छ र जसको कुनै प्रमाण अल्लाहले तिमीहरूमाथि अवतरण गर्नुभएको छैन ?! अनि दुवै समूह एकेश्वरवादीको समूह तथा बहुदेववादीहरूमध्ये को बढी अमन शान्ति को हकदार हो ? तिमीहरू जुन समूहलाई बढी हकदार ठान्दछौ त्यसैको अनुसरण गर । यसमा कुनै शंका छैन कि एक अल्लाहमाथि आस्था राख्ने जमात नै शान्तिका बढी हकदार छन् । 
८२. जुन मानिसहरूले अल्लाहमाथि ईमान ल्याए, शरीअत (इस्लामी कानुन) को अनुसरण गरे र आफ्नो ईमानलाई शिर्कसित मिसाएनन् उनीहरूका लागि निश्चिन्तता तथा  शान्ति छ र उनीहरूलाई उनका पालनकर्ताले सत्यमार्ग देखाउनुहुनेछ ।
८३. यो हाम्रो त्यो तर्क हो जो हामीले इब्राहीम अ. लाई उनका जातिका मानिसहरूविरुद्ध प्रदान गर्यौं । त्यो तर्क अल्लाहको यो भनाइ होः (कुन समूह शान्तिको बढी हकदार हो...) । यस तर्कले गर्दा इब्राहीम अ. आफ्ना जातिका मानिसहरूमाथि विजयी भए । यस तर्कद्वारा हामीले इब्राहीम अ. लाई उनका जातिसँग वाद विवाद गर्ने    शक्ति प्रदान गर्यौं । हामी जसलाई चाहन्छौं त्यसको लोक तथा परलोकका दर्जा उच्च पार्दछौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता सृष्टि गर्न तथा कार्य सञ्चालनमा विवेकशील हुनुहुन्छ र भक्तहरूबारे सबै थोकको ज्ञान राख्नुहुन्छ ।
८४. हामीले इब्राहीम अ. लाई छोरा इस्हाक तथा नाती याकूब प्रदान गर्यौं । उनीहरू सबैलाई सीधा मार्ग देखायौं । यसअघि हामीले नूह, उनका सन्तानहरूमध्ये दाऊद, उनका छोरा सुलैमान, अय्यूब, यूसुफ, मूसा एवं हारून (अलैहिमुस्सलाम) लाई पनि सीधा मार्ग देखायौं । जसरी हामीले यी सन्देष्टाहरूलाई उनीहरूका सुकर्मको बदला दियौं त्यसरी नै हामीले अन्य सुकर्मीहरूलाई पनि उनीहरूका सुकर्मको बदला दिनेछौं ।
८५. हामीले जकरिय्या, यहया, ईसा तथा इल्यास (अलैहिमुस्सलाम) लाई पनि  सत्मार्ग देखायौं । यी सबै सन्देष्टाहरू सत्कर्मीहरूमध्ये थिए जसलाई हामीले सन्देष्टा बनाउन छनोट गरेका थियौं ।
८६. हामीले इस्माईल, अल–यसअ, यूनुस र लूत (अलैहिमुस्सलाम) लाई पनि  सत्मार्ग देखायौं । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई सबै भन्दा उच्च दर्जा प्रदान गर्यौ । उनीहरू सबैलाई हामीले संसारबासीहरूमाथि प्रधानता प्रदान गर्यौं ।
८७. हामीले उनीहरूका केही पूर्वज, केही सन्तान तथा केही दाजुभाइहरूमध्ये जसलाई चाहना गर्यौं सत्मार्ग देखायौं, सन्देष्टा बनाउन चयन गर्यौ र सीधा मार्गमा हिँडायौं जो अल्लाहलाई एक मान्ने तथा उहाँ कै भक्ति गर्ने मार्ग हो ।
८८. यो अल्लाहको मार्गदर्शन तथा कृपा हो । उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ सत्मार्ग प्रदान गर्नुहुन्छ । यदि यिनीहरूले शिर्क (अल्लाहसँग कसैलाई साझेदार ठहर) गर्छन् भने यिनीहरूले गरेका सबै सत्कर्महरू अकार्थ हुनेछन् ।
८९. यी उल्लेखित सन्देष्टाहरू हुन् जसलाई हामीले किताब, निर्णय-शक्ति तथा ईशदूतत्व प्रदान गर्यौं । यदि तपाईंका जातिले उक्त तीनवटा वस्तुहरूको इन्कार गर्छन् भने हामीले त्यस मार्गदर्शनको लागि यस्ता मानिसहरू चयन गर्नेछौं जो इन्कार गर्नेवाला हुने छैनन् बरु ईमान ल्याउनेवाला र त्यसलाई बल पूर्वक समात्नेवाला हुनेछन् । उनीहरू नै हुन मुहाजिर (आप्रवासी), अन्सार (मद्दत गर्ने मदीना बासीहरू) तथा महाप्रलयसम्म आउने मानिसहरूमध्ये राम्रो  ढंगले उनीहरूको अनुसरण गर्नेहरू ।
९०. यी सन्देष्टाहरू तथा उनीहरूका बुवाहरू, छोराहरू तथा दाजुभाइहरू जसको वर्णन गरिएको छ नै सतमार्गमा छन् । उनीहरूको अनुसरण गर्नुहोस् र उनीहरूबाट धैर्य गर्न सिक्नुहोस् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म तिमीहरूसम्म यो कुर्आन पुर्याउने बापत कुनै बदला माग्दिन । कुर्आन सबै संसारका सबै मानव तथा जिन्नको लागि उपदेश हो ताकि तिनीहरू त्यसबाट सीधा तथा सही मार्ग पाउन सकुन् ।
९१. बहुदेववादीहरूले अल्लाहको सही कदर गरेनन् जब तिनीहरूले अल्लाहका नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई भने– अल्लाहले कुनै मनुष्यमाथि कुनै वही (प्रकाशना) अवतरित गर्नुभएको छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई सोध्नुहोस्– मूसा अ. माथि तौरात कसले अवतरित गर्नुभयो जो उनका जातिका लागि प्रकाश, मार्गदर्शन तथा निर्देशन थियो ? जसलाई यहूदीहरूले अलग अलग पानाहरूमा राखेका छन्, जसमध्ये आफ्नो इच्छा अनुसार रहेका कुरालाई व्यक्त गर्छन् तर इच्छा विपरीत कुरालाई लुकाउँछन्, जस्तै मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को बारेमा वर्णन भएका कुराहरू । हे अरब बासीहरू हो ! तिमीहरूलाई कुर्आनको यस्तो शिक्षा दिइएको छ जो यसअघि न त तिमीहरूलाई न तिमीहरूका पूर्वजहरूलाई दिइएको थियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्- यसलाई अल्लाहले अवतरित गर्नुभयो । अनि, तिनीहरूलाई तिनीहरूकै अज्ञानता तथा पथभ्रष्टतामा मग्न छोडिदिनुहोस् कि तिनीहरू ठट्टा  तथा उपहास गरुन् यहाँ सम्म कि तिनीहरूलाई विश्वास आइ हालोस् ।
९२. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! यो कुर्आन यस्तो किताब हो जो हामीले तपाईंमाथि अवतरित गरेका छौं । यो बरकतयुक्त (मङ्गलमय) किताब हो जो यसभन्दा पहिलेका आकाशीय किताबहरूको पुष्टि गर्दछ ताकि तपाईंले यसबाट मक्काबासी तथा पूर्व तथा पश्चिम चारैतिर फैलिएका सबै मानिसहरूलाई डराउनुहोस् यहाँसम्म कि तिनीहरू मार्गदर्शन पाउन् । जुन मानिसहरू आखिरत (परलोक) को जीवनमाथि ईमान राख्दछन् उनीहरू यस कुर्आनमाथि पनि ईमान राख्दछन्, यसका शिक्षा अनुसार कर्म गर्दछन् र फर्ज (अनिवार्य), सुन्नत तथा नफिल (एच्छिक) सलाहहरू समयमा, बताइएको तरिका अनुसार कायम गर्दछन् ।
९३. यस्तो व्यक्ति सबै भन्दा ठूलो अन्यायी हो जो अल्लाहमाथि झुटो आरोप लगाउँदै भन्दछ- अल्लाहले कुनै मानवमाथि कुनै वही अवतरित गर्नुभएको छैन । वा यो झुटो कुरा भन्छ- अल्लाहले ममाथि वही (प्रकाशना) अवतरित गर्नुभएको छ । जबकि अल्लाहले उसमाथि कुनै वही अवतरित गर्नुभएको छैन । वा ऊ भन्छ- जसरी अल्लाहले कुर्आन अवतरित गर्नुभयो त्यसरी म पनि किताब अवतरित गर्न सक्छु । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले त्यो समय हेर्न पाउने भए जब अत्याचारीहरू मृत्युवेदनामा हुनेछन् र फरिश्ताहरू हात फैलाएर तिनीहरूलाई यातना दिँदै तथा हिर्काउँदै कडा शब्दमा भन्नेछन्- त्याग आफ्ना प्राणहरू, हामीले त्यसलाई नियन्त्रणमा लिनेछौं ! आज तिमीहरूलाई अपमानजनक यातना दिइनेछ । किनभने तिमीहरूले ईशदूत बन्ने तथा अल्लाहले वही अवतरित गर्ने झैं वही अवतरित गर्न सक्ने दावी गरेर अल्लाहविरुद्ध असत्य कुरा भन्यौ  र घमण्डले गर्दा अल्लाहका आयतहरूमाथि ईमान ल्याएनौ । यदि तपाईंले देख्नुहुन्छ भने अति भयावह दृश्य देख्नुहुन्छ ।
९४. महाप्रलयको दिन तिनीहरूलाई भनिनेछ-  आज तिमीहरू हामीसमक्षा एक्लै उपस्थित भएका छौ, बिना धन सम्पत्ति तथा पद, जसरी हामीले तिमीहरूलाई शुरुमा बिना वस्त्र तथा खाली खुट्टा सृष्टि गरेका थियौं । हामीले तिमीहरूलाई जे प्रदान गरेका थियौं त्यो आफूपछि संसारमा छोडेर आएका छौ । हामीले तिमीहरूसँग ती झुटा ईश्वरहरूलाई पनि देखिरहेका छैनौं जसलाई तिमीहरूले मध्यस्तकर्ता तथा भक्तिमा अल्लाहका साझेदार ठानेका थियौ । तिमीहरूको सम्पूर्ण सम्बन्ध विच्छेद भयो र तिनीहरू सिफारिशकर्ता तथा अल्लाहका साझेदार हुन् भन्ने तिमीहरूको दावी पनि समाप्त भयो ।
९५. अल्लाहले नै अन्नका दाना फोडेर बाली निकाल्नुहुन्छ तथा खजुरको गेडालाई फोडेर खजुरका रुख निकाल्नुहुन्छ । उहाँले नै निर्जीवबाट सजीवलाई निकाल्नुहुन्छः जस्तै उहाँले मानव तथा सबै जनावरहरूलाई विर्यबाट निकाल्नुहुन्छ । उहाँले सजीवबाट निर्जीवलाई निकाल्नुहुन्छ जस्तै मानवबाट विर्य तथा कुखुरीबाट फुल । हे बहुदेववादीहरू हो ! यी सम्पूर्ण कार्यहरू गर्ने अल्लाहले नै हुनुहन्छ जसले तिमीहरूलाई पनि सृष्टि गर्नुभयो, अनि तिमीहरू अल्लाहका यी कार्यहरू देखेर पनि किन र कसरी सत्यबाट विमुख हुँदैछौ ?! 
९६. अल्लाह नै रातिको अंधकारलाई फोडर बिहानिको प्रकाश निकाल्नुहुन्छ । उहाँले नै रातलाई मानिसहरूका लागि आरामको समय बनाउनुभयो, जसमा उनीहरू दिनको थकाइ समाप्त पार्न आराम गर्छन् । उहाँले नै सूर्य तथा चन्द्रमालाई निश्चित गन्तीका साथ हिँड्न लगाउनुभयो । यी सबै अल्लाहले बनाउनुभयो जो शक्तिशाली हुनुहुन्छ जसमाथि कोही विजयी हुन सक्दैन तथा आफ्नो सृष्टिको बारेमा सर्वज्ञ हुनुहुन्छ ।
९७. हे आदमका सन्तान हो ! उहाँ नै हुनुहुन्छ जसले तिमीहरूका लागि आकाशमा ताराहरूलाई बनाउनुभयो ताकि तिमीहरू थल तथा जलमा बाटो बिराएमा मार्ग पत्ता लगाऊ । हामीले यस्ता मानिसहरूका लागि प्रमाणहरू परस्टसँग बयान गरिदिएका छौं जो त्यसमा चिन्तन मनन गर्छन् र त्यसबाट फाइदा उठाउँछन् ।
९८. अल्लाह नै हुनुहुन्छ जसले तिमीहरूलाई एउटै ज्यानबाट सृष्टि गर्नुभयो, त्यो हो तिमीहरूको पिता आदम अ. को ज्यान । सर्वप्रथम अल्लाहले आदम (अ.) लाई माटोबाट बनाउनुभयो अनि उनीबाट तिमीहरूलाई सृष्टि गर्नुभयो । तिमीहरूका लागि एउटा  बस्ने ठाउँ बनाउनुभयो त्यो हो तिमीहरूका आमाका गर्भ । तिमीहरूका लागि एउटा सुम्पिने ठाउँ बनाउनुभयो, त्यो हो तिमीहरूका बुवाका पिठ्यूँ । हामीले यस्ता मानिसहरूका लागि निशानीहरू परस्टसँग बयान गरेका छौं जो अल्लाहका भनाईलाई बुझ्दछन् ।
९९. अल्लाह नै हुन् जसले आकाशबाट पानी बर्साउनुभयो, त्यो हो वर्षाको पानी । त्यसपछि हामीले त्यसबाट हरेक किसिमका बनस्पति उमार्यौं । अनि, हामीले त्यसबाट हरिया रुख–विरुवाहरू उमार्यौं, जसबाट दानाहरू उमार्यौ जो एक अर्कामाथि चढेका हुन्छन् जस्तै झुप्पाहरू । खजुरका गाभाहरूबाट झुण्डिएका झुप्पाका झुप्पा खजुर उमार्यौं, जो यति नजिक रहन्छन् कि उभेका तथा बसेका मानिसहरू टिप्न सक्छन् । अंगुरका बगैंचाहरू बनायौं । जैतून तथा अनार उमार्यौं जसका पातहरू मिल्दा जुल्दा हुन्छन् र जसका फलहरू भिन्न भिन्न हुन्छन् । हे मानव ! यी सबैका फल हेर जब ती फल्छन् र जब पाक्छन् । निस्सन्देह यसमा अल्लाहका शक्तिका स्पष्ट प्रमाणहरू छन्, यस्ता मानिसहरूका लागि जो अल्लाहमाथि ईमान राख्छन् किनभने उनीहरू नै यस्ता प्रमाणहरूबाट फाइदा उठाउँछन् ।
१००. जिन्नहरूलाई साझेदार ठहर गर्नेहरू तिनीहरूलाई अल्लाहको भक्तिमा साझेदार गर्नेहरू भए किनभने तिनीहरूले यो विश्वास गरे कि तिनीहरू लाभ तथा हानि पुर्याउन सक्छन् । जबकि अल्लाहले नै जिन्नहरूको सृष्टि गर्नुभयो र जिन्नहरूले कसैलाई सृष्टि गरेका छैनन् । अतः अल्लाह नै भक्तिका हकदार हुनुहुन्छ । तर तिनीहरूले अल्लाहका छोरा गढे, जस्तै यहूदीहरूले उजैर अ. लाई र ईसाईहरूले ईसा (अ.) लाई । अल्लाह पवित्र तथा उच्च हुनुहुन्छ तिनीहरूले भनिरहेका कुराहरूबाट । तिनीहरूले अल्लाहका छोरी बनाए, जस्तै बहुदेववादीहरूले फरिश्ताहरूलाई । असत्यवादीहरूले गढेको कुराबाट अल्लाह पवित्र हुनुहुन्छ ।   
१०१. अल्लाहले नै बिना पूर्व उदाहरण आकाशहरू एवं पृथ्वीलाई सृष्टि गर्नुभयो । उहाँको कुनै छोरो कसरी हुन सक्छ जबकि उहाँको कोही पत्नी छैन ? उहाँले नै सबै चिजहरू सृष्टि गर्नुभयो । उहाँ हरेक वस्तुका ज्ञाता हुनुहुन्छ । उहाँबाट कुनै पनि वस्तु लुकेको छैन ।
१०२. हे मानव ! यी गुणहरू बोकेका अल्लाह नै तिमीहरूका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही पनि तिमीहरूका पालनकर्ता तथा उपास्य छैन । उहाँ सबै चिजका सृष्टिकर्ता हुनुहुन्छ । अतः तिमीहरू उहाँकै भक्ति गर । उहाँ मात्र भक्तिका योग्य हुनुहुन्छ । उहाँ सबै वस्तुका रक्षक हुनुहुन्छ ।
१०३. आँखाहरूले उहाँलाई देख्न सक्दैनन् तर उहाँले आँखाहरूलाई देख्नुहुन्छ र उहाँ आफ्ना सत्कर्मी भक्तहरूलाई सूक्ष्मरूपमा देख्नेवाला तथा उनीहरूबारे खबर राख्नेवाला हुनुहुन्छ ।
१०४. हे मानव ! निश्चय नै तिमीहरूसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाणहरू आइसकेका छन् । अनि जसले विवेक प्रयोग गर्छ त्यसको फाइदा उसैलाई पुग्नेछ । तर जो अन्धो बन्छ र विवेक प्रयोग गर्दैन त्यसको हानि उसैलाई पुग्नेछ । म तिमीहरूका संरक्षक होइन कि तिमीहरूका कर्महरूको गन्ती राखुँ । म त आफ्नो पालनकर्ताको तर्फबाट रसूल मात्र हुँ । उहाँ तिमीहरूमाथि निगरानी राख्ने वाला हुनुहुन्छ ।
१०५. जसरी हामीले अल्लाहको शक्तिका विभिन्न प्रमाणहरू वर्णन गर्यौं त्यसरी नै हामीले विभिन्न तरिकाले वाचा, धमकी, उपदेशबारे आफ्ना आयतहरू वर्णन गर्नेछौं । बहुदेववादीहरूले चाँडै नै भन्नेछन्- यो वही (प्रकाशना) होइन, यो त (हे मुहम्मद सल्लललाहु अलैहि व सल्लम) तिमीले पहिलाका अहले किताबबाट सिकेकाछौ । हामी विभिन्न प्रमाणहरू तथा निशानीहरू मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) का समुदाय मोमिनहरूका लागि बयान गर्छौं ताकि सत्यलाई यिनीहरूसमक्ष स्पष्ट पारौं । किनभने उनीहरू सत्यलाई स्वीकार गर्छन् र त्यसको अनुसरण गर्छन् ।
१०६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं त्यस सत्यताको अनुसरण गर्नुहोस् जो तपाईंका पालनकर्ताले तपाईंतर्फ वही (प्रकाशना) गर्नुभयो । उहाँबाहेक कोही पनि भक्ति योग्य छैन । तपाईं काफिरहरू तथा तिनीहरूका शत्रुताको चिन्ता न लिनुहोस् । तिनीहरूका मामिला अल्लाहको हातमा छ ।
१०७. यदि अल्लाहले चाहनुभएको भए तिनीहरूले शिर्क गर्ने थिएनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई तिनीहरूमाथि संरक्षक तैनात गरेका छैनौं कि तपाईंले तिनीहरूका कर्महरूको गन्ती राख्नुहोस् । तपाईं तिनीहरूमाथि हवल्दार हुनुहुन्न । तपाईं मात्र रसूल हुनुहुन्छ । तपाईंमाथि तिनीहरूसमक्ष इस्लामको सन्देश पुर्याउने जिम्मेबारी मात्र हो ।
१०८. हे मोमिनहरू हो ! तिमीहरू ती मूर्तीहरूलाई गाली न गर जसको पूजा यी बहुदेववादीहरू गर्ने गर्छन् । यद्यपि ती मूर्तीहरू अति तुच्छ छन् र गाली गर्ने योग्य छन् । ताकि बहुदेववादीहरूले सीमा उल्लङ्घन गर्दै अज्ञानतावश अल्लाहलाई गाली न गरुन् । जसरी हामीले यस समुदायको लागि तिनीहरूका पथभ्रष्टतालाई आकर्षक बनाएकाछौं त्यसरी नै हरेक समुदायको लागि तिनको कर्मलाई आकर्षक बनाएका थियौं, चाहे तिनीहरूका कर्महरू राम्रा होउन् वा नराम्रा । तिनीहरूले ती कार्यहरू गरे जो तिनीहरूलाई आकर्षक लाग्यो । महाप्रलयको दिन तिनीहरू तिनका पालनकर्ताकहाँ नै फर्केर जानेछन् । तब उहाँले तिनीहरूलाई तिनीहरूले संसारमा गरेका कर्मबारे बताउनुहुनेछ र त्यसको बदला दिनुहुनेछ । 
१०९. बहुदेववादीहरू अल्लाहको पक्का कसम खाएर भन्छन्– यदि तिनीहरूसमक्ष मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले तिनीहरूको माग अनुसार कुनै निशानी लिएर आउनुहुन्छ भने तिनीहरूले अवश्य त्यसमाथि ईमान ल्याउनेछन् । हे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– निशानीहरू मसँग छैन कि अवतरित गरिदेऊँ । निशानीहरू त अल्लासँग छ, उहाँ जहिले चाहनुहुनेछ अवतरित गर्नुहुनेछ । हे मोमिनहरू हो ! तिमीहरूलाई के थाहा, तिनीहरूले माग गरे अनुसार जब यी निशानीहरू आउनेछन् तब तिनीहरूले ईमान ल्याउने छैनन् । बरु आफ्ना शत्रुता तथा इन्कारमाथि नै कायम रहनेछन्, किनभने तिनीहरू मार्गदर्शन चाहदैनन् । 
११०. हामी तिनीहरूका हृदय तथा आँखाहरू र सत्यतर्फ मार्गदर्शनबीच पर्दा हालिदिन्छौं जसरी हामीले तिनीहरू तथा कुर्आनमाथि ईमानबीच पहिलो पल्ट तिनीहरूको शत्रुताको कारणले पर्दा हाल्यौं र तिनीहरूलाई तिनको उद्दण्डतामा नै बरालिन छोडिदियौं ।
१११. यी बहुदेववादीहरूले ईमान ल्याउने थिएनन् यद्यपि हामीले तिनीहरूका माग अनुसार फरिश्ताहरू अवतरण गरिदिन्थे अनि तिनीहरूले उनीहरूलाई देख्थे, मृतहरूले तिनीहरूसँग कुराकानीसमेत गर्थे, तपाईंले ल्याउनुभएको सन्देश सत्य हो भन्ने कुरा पुष्टि हुन्थ्यो र हामीले तिनीहरूसामु सम्पूर्ण चिज एकत्रित गरिदिन्थे, यदि अल्लाहले नै चाहनुभएको भए बेग्लै कुरा हुन्थ्यो । तर, तिनीहरूमध्ये अधिकांश अज्ञानी छन् । तिनीहरू अल्लाहतर्फ फर्कदैनन् कि उहाँले तिनीहरूलाई मार्गदर्शन गरुन् ।
११२. जसरी हामीले तपाईंलाई बहुदेववादीहरूको शत्रुताद्वारा तपाईंको परीक्षा लियौं त्यसरी नै हामीले प्रत्येक सन्देष्टाको परीक्षा लियौं । अनि हामीले तिनीहरूमध्ये प्रत्येकका लागि घमण्डी मनुष्य तथा जिन्नमध्येका शैतानहरूलाई शत्रु बनाएका थियौं जसले एक अर्कालाई गोप्य परामर्श दिने गर्थे र उनीहरूलाई धोका दिनको लागि असत्यलाई सुन्दर बनाएर पेश गर्ने गर्थे । यदि अल्लाहले चाहनु भएमा तिनीहरूले त्यस्तो गर्ने थिएनन् । तर तिनीहरूको परीक्षाको लागि अल्लाहले त्यो चाहनुभयो । अतः तिनीहरूलाई तथा तिनीहरूले गढेका असत्य तथा कुफ्रलाई छोडिदिनुहोस् ।
११३. ताकि आखिरतमाथि आस्था न राख्नेहरूका मन-मस्तिष्कहरू ती कुराहरूतर्फ आकर्षित रहुन् जो एक अर्काको मनमा हाल्छन् र ताकि तिनीहरूले ती कुराहरूलाई आफ्नो लागि स्वीकार गरुन्, त्यसैमा खुशी रहुन् तथा तिनीहरूले गर्ने पापहरूमा यिनीहरू पनि लिप्त होउन् ।
११४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहसँग अरूको भक्ति गर्ने बहुदेववादीहरूलाई भनिदिनुहोस्- के म आफ्नो तथा तिमीहरूबीच अल्लाहबाहेक अरू कुनै निर्णयकर्ता खोजुँ ? जब कि उहाँले नै तिमीहरूमाथि विस्तृत कुर्आन अवतरित गर्नुभएको छ । सत्यमा आधारित यो कुर्आन तपाईमाथि अवतरित भएको कुरा तौरात पाएका यहूदीहरू तथा इन्जील पाएका ईसाईहरू जान्दछन् । तिनीहरूले यसबारेमा प्रमाण पनि आफ्ना किताबहरूमा पाएका छन् । अतः तपाईं  हामीले अवतरित गरेको कुरामा कदापि शंका गर्नेहरूमध्ये  न बन्नुहोस् ।
११५. कुर्आनले भनेरको कुरा तथा दिएको सूचना अति सत्य हो । यसमा रहेका वाणीहरू कसैले पनि परिवर्तन गर्न सक्दैन । अल्लाह आफ्ना भक्तहरूको कुरा सुन्नुहुन्छ तथा जान्नुहुन्छ । जसले पनि उहाँका वाणीहरूमा फेरबदल गर्ने प्रयास गर्छ उसलाई उहाँले चाँडै नै सजाय दिनुहुनेछ ।
११६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! धर्तीमा बसोबास गरिरहेका धेरै मानिसहरू यस्ता छन्- यदि तपाईंले उनीहरूको आज्ञापालन गर्नुभयो भने तिनीहरूले तपाईंलाई अल्लाहको धर्मबाट पथभ्रष्ट पार्नेछन् । सत्यको अनुसरण गर्नेहरू सधैं अल्प संख्याँमा हुन्छन् भन्ने कुरा अल्लाहको तरिका नै रहँदै आएको छ । अधिकांश मानिसहरू अनुमानकै अनुसरण गर्छन् जसको कुनै आधार हुँदैन । जस्तो तिनीहरूको यो अनुमान- तिनीहरूका भगवानहरू तिनीहरूलाई अल्लाहको नजिक पार्छन् । यसबारेमा तिनीहरू झुट बोल्छन् ।
११७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता सीधा मार्गबाट पथभ्रष्ट भएका मानिसहरूलाई पनि राम्ररी जान्नुहुन्छ र सीधा मार्गमा रहेका मानिसहरूलाई पनि राम्ररी जान्नुहुन्छ । यस बारेमा कुनै पनि कुरा उहाँबाट लुकेको छैन ।
११८. हे मानव ! यदि तिमीहरूले अल्लाहका स्पष्ट प्रमाणहरूमाथि ईमान राख्छौ भने ती जनावरहरूको मासु खाऊ जसमाथि बध गरेको समयमा अल्लाहको नाम उच्चारण गरिएको हुन्छ ।
११९. हे मोमिनहरू हो ! कुन कारणले तिमीहरू ती जनावरहरूको मासु खाँदैनौ जसमाथि अल्लाहको नाम उच्चारण गरिएको छ जबकि तिमीहरूका लागि हराम गरिएका जनावरहरूको विवरण अल्लाहले स्पष्ट रूपमा बताइसक्नुभएको छ जुन । अतः ती जनावरहरूलाई छोड्नु जरुरी छ । यो बेग्लै कुरा हो कि तिमीहरू यसको लागि वाध्यताको स्थितिमा पुग । बाध्यताले मनाहि गरिएको वस्तुलाई पनि हलाल गरिदिन्छ । अधिकांश बहुदेववादीहरू आफ्ना अनुयायीहरूलाई नराम्रा विचार तथा अज्ञानताले गर्दा सत्यबाट टाढा पारिदिन्छन् । अनि हराम गरिएका जनावरहरूलाई तिनीहरूले हलाल गरिदिन्छन् जस्तै मृत जनावर इत्यादिलाई । हलाल गरिएका जनावरहरूलाई हराम गरिदिन्छन् जस्तै बहीरा, वसीला, हामी इत्यादिलाई । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता सीमा उल्लङ्घनकारीहरूलाई राम्ररी जान्नुहुन्छ र उहाँले तिनीहरूलाई त्यसको बदला दिनुहुनेछ ।
१२०. हे मानव ! तिमीहरूले खुल्लम खुल्ला तथा गोप्य दुवै किसिमका पापहरूलाई त्याग । यी दुवै किसिमका पापहरू गर्ने मानिसहरूले चाँडै नै त्यसको सजायँ पाउनेछन् ।
१२१. हे मुस्लिमहरू हो ! जुन जनावरमाथि अल्लाहको नाम उच्चारण गरिएको छैन त्यो न खाऊ । अल्लाहबाहेक अन्य कसैको नाम लिइएको जनावर पनि हराम हो र कसैको नाम न लिइएको जनावर पनि हराम हो । यदि कोही त्यसलाई खान्छ भने ऊ अल्लाहको आज्ञाबाट निस्केर अवज्ञामा गइ हाल्छ । निस्सन्देह शैतानहरूले आफ्ना साथीहरूको मनमा सन्देह उत्पन्न गर्छन् ताकि तिनीहरूले तिमीहरूसँग मृत जनावरहरू खानेबारेमा झगडा गरुन् । हे मुस्लिमहरू हो ! यदि तिमीहरूले मृत जनावर हलाल हो भन्ने तिनीहरूले उत्पन्न गरेको शंकाको आज्ञापालन गर्छौ भने तिमीहरू पनि तिनीहरू जस्तै बहुदेववादी हुनेछौ ।
१२२. कुफ्र, अज्ञानता तथा शिर्कमा लिप्त रहेको ले मुर्दा रहेको व्यक्ति, जसलाई  ईमान, ज्ञान तथा आज्ञापालन प्रदान गरेर जीवित तुल्यायौं, त्यस व्यक्ति सरह हुन सक्छ जो कुफ्र, अज्ञानता तथा पापहरूका अन्धकारबाट निस्कन सक्दैनन्, जो अन्धकारमा बाटो बिराएकाछन् ?! यी बहुदेववादीहरूका लागि तिनीहरूले गर्ने  गरेका शिर्क, मृत जनावरहरू खाने, असत्यमा झगडा गर्ने कामहरूलाई सुन्दर तुल्याइएका छन् । त्यस्तै काफिरहरूका लागि तिनीहरूले गरेका पापहरू सुन्दर तुल्याइएका छन् ताकि तिनीहरूलाई महाप्रलयको दिन पीडादायी सजाय दिइयोस् ।
१२३. अल्लाहका मार्गमामा बाधा उत्पन्न गर्ने मक्काका बहुदेववादीहरूको जे गती भयो त्यसरी नै हामीले हरेक गाउँमा ठूल-ठूला नेतालाई शैतानको मार्गतर्फ बोलाउन तथा रसूलहरू तथा उनीहरूका अनुयायीहरू विरुध्द झगडा गर्न लगाइदिएका छौं कि तिनीहरूले त्यहाँ षड्यन्त्र गरून्, तर तिनीहरू यसलाई महसूस गरिराखेका छैनन् । 
१२४. जब काफिरहरूका ठूला बडाहरूसमक्ष नबी करीम (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गरिएका आयत आउँदा तिनीहरू भन्छन्– हामी त्यतिखेरसम्म ईमान ल्याउँदैनौं जबसम्म हामीलाई पनि त्यस्तै ईशदूतत्व प्रदान गरिंदैन जस्तो अल्लाहका रसूलहरूलाई प्रदान गरिएको थियो । अल्लाहले जवाफ दिनुभयो- को ईशदूतत्वको लागि ठीक छ र यसको बोझ उठाउन सक्छ भन्ने कुरा अल्लाह राम्ररी जान्नुहुन्छ र उनलाई नै रसूल बनाउनुहुन्छ । यी अपराधीहरू जसले घमण्ड तथा चलखेलले गर्दा सत्य धर्म इस्लामलाई स्वीकार गरेन् चाँडै नै अपमान तथा कडा यातना पाउनेछन् । 
१२५. जसलाई अल्लाहले सत्मार्ग देखाउन चाहनुहुन्छ उसको छातीलाई इस्लामको लागि खोल्नुहुन्छ तथा इस्लाम स्वीकार गर्न तयार पार्नुहुन्छ । जसलाई अल्लाह अपमानित गर्न चाहनुहुन्छ तथा सीधा मार्ग देखाउन चाहनुहुन्न उसको छातीलाई यति सङ्कूचित तुल्याउनुहुन्छ कि सत्य त्यसमा प्रवेश गर्दैन, जसरी कुनै वस्तु आकाशतर्फ उक्लिन मान्दैन र स्वयम बाध्य हुनपुग्छ । यसरी नै अल्लाह पथभ्रष्टहरूलाई सङ्कुचित अवस्थामा पुर्याउनुभयो र अविश्वासीहरूलाई यातनामा ग्रस्त गर्नुभयो ।
१२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यो हो त्यो धर्म जो हामीले तपाईंलाई प्रदान गरेकाछौं । यही तपाईंका पालनकर्ताको सीधा मार्ग हो जो अलि पनि बाङ्गो टिङ्गो छैन । निश्चय नै हामीले ती मानिसहरूका लागि आयतहरू स्पष्ट गरिदिएका छौं जोसँग बुझ्ने क्षमता छ ।
१२७. उनीहरूका लागि तिनका पालनकर्ताकहाँ शान्ति-गृह रहेको छ, जसमा कुनै किसिमको कष्ट हुँदैन, त्यो हो स्वर्ग । उनीहरूले गर्ने गरेका सत्कर्महरूले गर्दा अल्लाह उनीहरूका  सहयोगी हुनुहुन्छ ।
१२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनलाई याद गर्नुहोस् जुन दिन अल्लाहले मानव तथा जिन्नलाई एकत्रित गर्नुहुनेछ र भन्नुहनेछ– हे जिन्नहरूको समुदाय ! तिमीहरूले धेरै मानिसहरूलाई पथभ्रष्ट पार्यौ र उनीहरूलाई अल्लाहको मार्गबाट रोक्यौ । तिनीहरूका मानव अनुयायीहरूले अल्लाहलाई जवाफ दिँदै भन्नेछन्- हे हाम्रा पालनकर्ता ! हामीहरूमध्ये हरेकले एक अर्काबाट फाइदा उठायो । अनि, जिन्नले आफ्नो मानव साथीको आज्ञापालनबाट फाइदा उठायो र मानवले आफ्नो इच्छा पूरा गरेर फाइदा उठायो । अनि हामीले त्यस अवधीलाई पूरा गर्यौं जो तपाईंले हाम्रो लागि निश्चित गर्नुभएकोथियो, अनि यो हो महाप्रलयको दिन । अल्लाहले भन्नुहुनेछ- तिमीहरूको बासस्थान नर्क हो; सदा त्यसमै रहनेछौ, सिवाय त्यस अवधीको जो अल्लाहले चाहनुहुनेछ, तिमीहरूको चिहानको जीवन देखि नर्कमा होमिने सम्मको अवधीमा तिमीहरू नर्कबाट सुरक्षित रहनेछौ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता भाग्य निर्धारण तथा कार्य सञ्चालनमा विवेकशील हुनुहुन्छ र आफ्ना भक्तहरू तथा तिनीहरूमध्ये को को यातनाका हकदार छन् भन्नेबारे सर्वज्ञ हुनुहुन्छ ।
१२९. जसरी हामीले कठोर जिन्नहरूलाई मानवका साथी बनायौं तथा तिनीहरूलाई पथभ्रष्ट गर्न तिनीहरूमाथि थोप्यौं त्यसरी नै हामीले हरेक अत्याचारीमाथि अर्को अत्याचारीलाई थोपेका छौं ताकि त्यसले उसले कमाएको पापले गर्दा दुष्कर्म गर्न प्रेरित गरोस् तथा भलाइ गर्नबाट रोकोस् ।
१३०. महाप्रलयको दिन हामीले भन्नेछौं- हे जिन्न तथा मनुष्यका जमातहरू हो ! के तिमीहरूसमक्ष तिमीहरूमध्येबाट रसूलहरू आएनन् जो मानवमध्ये थिए, जो अल्लाहले अवतरित गर्नुभएका आयतहरूको पाठ गरेर सुनाउने गर्थे र तिमीहरूलाई महाप्रलयको यस दिनबाट डराउनेगर्थे ? तिनीहरूले भन्नेछन्– किन न हुनु, हामी स्वयं आफैंविरुद्ध साक्षी छौं । हामी यस कुरालाई स्वीकार गर्छौं- तपाईंका रसूलहरूले हामीसमक्ष तपाईंका सन्देश पुर्याए । हामी त्यस दिनको भेंट हुने कुरालाई पनि स्वीकार गर्छौं । तर हामीले संसारमा तपाईंका रसूलहरूलाई झूटो ठहर गर्यौं  र त्यस दिनको भेँटलाई पनि झूटो ठहर गर्यौं । निश्चय नै तिनीहरूलाई संसार तथा सांसारिक जीवनको सौन्दर्यले धोकामा पारेको थियो । तिनीहरूले संसार।मा अल्लाह तथा उहाँका रसूलहरूको इन्कार गरेका थिए भन्ने कुरालाई स्वीकार गर्नेछन् । तर त्यस दिन समय बिती सकेकोले यस स्वीकार गर्ने  तथा ईमान ल्याउने कार्यले तिनीहरूलाई कुनै फाइदा पुर्याउने छैन ।
१३१. अल्लाहले जिन्न तथा मानवतर्फ रसुलहरू पठाउनुभयो ताकि उनीहरू सजायबाट जोगिन सकुन् । जुन सुकै समुदायलाई हामीले रसूलहरू पठाएपछि मात्र सजाय दिनेगर्छौं । 
१३२. सबै मानिसहरूका लागि तिनका कर्म अनुसार दर्जाहरू छन् । धेरै दुष्टता तथा थोरै दुष्टता एकसमान हुन सक्दैनन् । अनुयायी तथा नेता बराबर हुन सक्दैनन् । सत्कर्मीहरूको पुण्य बराबर हुन सक्दैन । तिनीहरूले गरिरहेका कार्यहरूबाट तिम्रा पालनकर्ता अनभिज्ञ हुनुहुन्न । बरु उहाँ सबैसित अवगत हुनुहुन्न । उहाँबाट कुनै पनि वस्तु लुकेको छैन । उहाँले चाँडै उनीहरूलाई उनीहरूको कर्महरूको बदला दिनुहुनेछ ।
१३३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता आत्मनिर्भर हुनुहुन्छ, भक्तहरूमाथि निर्भर तथा उनीहरूको भक्तिको आवश्यक्तमा हुनुहुन्न । तिनीहरूको कुफ्रले उहाँलाई कुनै हानि पुर्याउँदैन । उहाँ उनीहरूप्रति दयावान हुनुहुन्छ । हे अवज्ञाकारी भक्तहरू हो ! उहाँले चाहनुभएमा तिमीहरूलाई आफ्नो आपदाबाट जरोदेखि नै सखाप पार्नुहुनेछ । तिमीहरूलाई सखाप पारेपछि तिमीहरूको स्थानमा यस्तो समुदायलाई ल्याउनुहुन्छ जो उहाँमाथि ईमान राख्नेछन् र उहाँको आज्ञापालन गर्नेछन् । जसरी उहाँले तिमीहरूलाई तिमीहरूभन्दा अघिका समुदायबाट सृष्टि गर्नुभयो ।
१३४. हे काफिरहरू हो ! तिमीहरूसित वाचा गरिएका पुनर्जन्म, हिसाब, किताब तथा सजाय निश्चय नै हुनेछन् । तिमीहरू भागेर अल्लाहबाट बच्न सक्दैनौ । उहाँले तिमीहरूका निधारमाथि रहेका कपाल समात्नुहुनेछ र यातना दिनुहुनेछ ।
१३५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे मेरा समुदायका मानिसहरू हो ! तिमीहरू आफ्नो तरिका, कुफ्र तथा पथभ्रष्टतामा अडिग रह मैले तिमीहरूसम्म अल्लाहको सन्देश पुर्याएर तिमीहरूमाथि प्रमाण सिद्ध गरिदिएको छु । मलाई तिमीहरूका कुफ्र तथा पथभ्रष्टताको कुनै पर्वाह छैन । तर म चाँडै नै तिमीहरूसमक्ष त्यस सत्यलाई सिद्ध गर्नेछु जसमा म कायम छु । संसारमा कसको सहयोग हुनेछ, धर्तीको वारिस को बन्नेछ र आखिरतको सफलत कसलाई प्राप्त हुनेछ भन्ने कुरा तिमीहरूले चाँडै नै जान्नेछौ । बहुदेववादीहरू न त लोकमा सफल हुनेछन् न परलोकमा । संसारमा तिनीहरूले जे जति मोज मज्जा त गर्छन् तर आखिरतमा तिनीहरू असफल हुनेछन् ।
१३६. बहुदेववादीहरूले अल्लाहका लागि उहाँले सृष्टि गर्नुभएका खेती एवं पशुमा एक अंश निश्चित गर्छन् अनि आफ्ना धारणा अनुसार भन्छन्– यो अल्लाहको लागि हो र यो हामीले ठहराएका मूर्तीहरूको  लागि हो । अनि यिनीहरूले ठहराएका साझेदारहरूको अंशबाट अल्लाहले निर्धारित गर्नुभएका गरीब तथा असहायसम्म केही पुग्दैन तर अल्लाहका लागि निर्धारित अंश चाहिँ तिनीहरूले ठहराएका साझेदारहरू जस्तै मूर्तीहरूसम्म पुग्छ । कति नराम्रो फैसला तथा बाँड फाँड छन् जो यिनीहरू गर्छन् !
१३७. जसरी शैतानले बहुदेववादीहरूका लागि अत्याचारपूर्ण निर्णयलाई सुन्दर बनाएको छ त्यसरी नै धेरै बहुदेववादीहरूका लागि तिनीहरूका साझेदार शैतानहरूले तिनीहरूका गरीबीको डरले सन्तानलाई बध गर्ने कार्यलाई सुन्दर बनाएको छ । ताकि तिनीहरूले हराम गरिएका ज्यानलाई बध गरेर आफनै विनाश गरुन् र ताकि तिनका निम्ति तिनीहरूको धर्म सन्दिग्ध बनोस्, यहाँसम्म कि तिनीहरूले जायज नाजायजलाई नजानुन् । अल्लाहले चाहनुभएमा तिनीहरूले त्यस्तो गर्ने थिएनन् । तर अल्लाहले कुनै कारणले त्यस्तै चाहनुभयो । अतः हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! छोडिदिनुहोस् यी बहुदेववादीहरू तथा यिनीहरूले गढेका झूटलाई । यसले तपाईलाई कुनै हानि पुर्याउने छैन, तिनीहरूको मामिला अल्लाहलाई हस्तान्त्रण गर्नुहोस् ।
१३८. बहुदेववादीहरूले भनेः यी पशुहरू तथा खेतीको प्रयोग सबैका लागि अवैध छ तर मूर्तीहरूका सेवकहरू इत्यादिमध्ये जसलाई हामी चाहन्छौं उसले मात्र यो खान सक्छ । तिनीहरूले यो कुरा आफ्नो अनुमानबाट तथा झूट गढेर भने । केही पशुहरू यस्ता छन् जसका पिठ्यूँहरू हराम गरिएको छन् । अनि त्यसमाथि न त यात्रा गर्न मिल्छ न त सर सामान ढुवानी गर्न मिल्छ । यी हुन् बहीरा, साइबा, हामी तथा बध गर्दा अल्लाहको नाम उच्चारण न गरिएका जनावहरू, बरु तिनीहरूले आफ्ना मूर्तीहरूको नाममा बध गरेका जनावरहरू । तिनीहरूले यी सबै कार्यहरू यो झूट गढदै गरे- यी सबै अल्लाहको तर्फबाट हो । अल्लाहले तिनीहरूले झूट गढेको सजाय चाँडै नै यातना दिएर दिनुहुनेछ ।  
१३९. तिनीहरूले यो पनि भने– साइबा तथा बहीराहरूका गर्भमा रहेका शिशु जीवित जन्म लिएमा ती केवल हाम्रा पुरुषहरूका लागि हलाल छन् र हाम्रा स्त्रीहरूका लागि हराम छन् र यदि त्यो मृत अवस्थामा जन्म लिन्छन् भने त्यसमा पुरुष तथा महिला सबै शरीक हुनेछन् । चाँडै नै अल्लाहले तिनीहरूलाई तिनीहरूले भनेको कुराहरूको उचित सजाय दिनुहुनेछ । निस्सन्देह उहाँ कानुन बनाउन तथा सृष्टि को कार्य सञ्चालनमा विवेकशील तथा सर्वज्ञ हुनुहुन्छ ।
१४०. निस्सन्देह यस्ता मानिसहरू बर्बाद भए जसले अज्ञानता एवं मूर्खताले गर्दा आफ्ना सन्तानहरूको हत्या गरे र अल्लाहविरुद्ध झूट गढेर उहाँले प्रदान गर्नुभएका पशुहरूलाई हराम गरे । तिनीहरू सीधा मार्गबाट टाढा भए र मार्गदर्शन पाएनन् । 
१४१. अल्लाह नै हुनुहुन्छ जसले धर्तीमा विशाल बगैंचाहरू बनाउनुभयो  केही लहरा भएका तथा केही उच्च लहरा नभएका । उहाँले नै खजुर एवं विभिन्न रूप तथा स्वादका फल भएका खेती सृष्टि गर्नुभयो । उहाँले नै जैतुन तथा अनार सृष्टि गर्नुभयो, जसका पात एक अर्कासँग मिल्दाजुल्दा हुन्छन् तर स्वाद भिन्न हुन्छन् । हे मानव ! जब ती फल्छन् तब तिमीहरू त्यसका फल खाऊ र काट्ने दिन त्यसको जकात (अनिवार्य दान)  चुक्ता गर । त्यसलाई खान तथा खर्च गर्नमा कानुनको सीमाको उल्लंघन न गर । निस्सन्देह अल्लाह खान पीन, खर्च इत्यादिमा सीमा उल्लंघन गर्नेहरूलाई मन पराउनुहुन्न बरु रोष प्रकट गर्रनुहुन्छ । जसले यी सबैको सृष्टि गर्नुभयो उहाँले नै यी सबैलाई आफ्ना भक्तहरूका लागि हलाल गर्नुभयो । बहुदेववादीहरूलाई ती जनावरहरूलाई हराम ठहर गर्ने अधिकार छैन ।
१४२. अल्लाहले केही जनावरहरूलाई सवारीको लागि सृष्टि गर्नुभयो जस्तै ठूला ऊँट । केही यस्ता जनावरहरू सृष्टि गर्नुभयो जो सवारी योग्य छैनन् जस्तै साना ऊँट, भेड । हे मानव ! तिमीहरू अल्लाहले प्रदान गर्नुभएका हलाल खाद्य सामग्रीहरूमध्ये खाऊ । अल्लाहले हराम गर्नुभएका वस्तुहरूलाई हलाल गर्ने तथा उहाँले हलाल गर्नुभएका वस्तुहरूलाई हराम गर्ने कार्यमा शैतानका पदचिन्हहरूको अनुसरण तिमीहरू नगर । जसरी बहुदेववादीहरू गर्छन् । हे मानव ! निश्चय नै शैतान तिमीहरूको खुल्लम-खुल्ला शत्रु हो, जस्तो कि ऊ तिमीहरूलाई अल्लाहको अवज्ञा गर्ने कार्यमा लगाउन चाहन्छ ।
१४३. अल्लाहले आठ प्रकारका भाले पोथीहरू सृष्टि गर्नुभयो; दुईवटा भेडामध्येबाट र दुईवटा बाख्रामध्येबाट । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूलाई सोध्नुहोस्- के अल्लाहले यी दुवैका भालेलाई भाले हुनको कारणले हराम गर्नुभयो ? यदि तिनीहरूले भन्छन्- हो ! अनि तिनीहरूलाई सोध्नुहोस्- अनि तिमीहरूले पोथीहरूलाई किन हराम गर्यौ ? के अल्लाहले यी दुवैका पोथीहरूलाई पोथी हुनको कारणले हराम गर्नुभयो ? यदि तिनीहरूले भन्छन्- हो ! अनि तिनीहरूलाई सोध्नुहोस्- अनि तिमीहरूले भालेहरूलाई किन हराम गर्यौ ? के अल्लाहले भेडी र बाख्रीहरूका गर्भमा रहेका शिशुलाई गर्भमा रहेको कारणले हराम गर्नुभयो ? यदि तिनीहरूले भन्नेछन्- हो ! अनि तिनीहरूलाई सोध्नुहोस्- तिमीहरू किन विभेद गर्दै कहिले गर्भमा रहेको भालेलाई र कहिले गर्भमा रहेको पोथीलाई हराम गर्छौ ? हे बहुदेववादीहरू हो ! यी जनावरहरूलाई अल्लाहले हराम गर्नुभयो भन्ने दावीमा सच्चा हौ भने तिमीहरूसँग रहेको ठीक ज्ञानमा आधारित प्रमाण प्रस्तुत गर ।
१४४. आठ किसिमका जनावरहरूमध्ये हुन्- ऊँटका भाले पोथी गरी दुईवटा र गाईका भाले पोथी गरी दुईवटा । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूलाई सोध्नुहोस्, के अल्लाहले दुवैमध्ये कसैलाई भाले हुनको कारणले हराम गर्नुभयो वा दुवैका पोथीलाई पोथी हुनको कारणले हराम गर्नुभयो ? वा दुवैका गर्भमा रहेका शिशु भएको कारणले हराम गर्नुभयो ? हे बहुदेववादीहरू हो ! के तिमीहरू आफ्नो विचारमा त्यस समयमा उपस्थित थियौ जब अल्लाहले तिमीहरूले हराम बनाएका पशुहरूलाई हराम हो भन्ने उपदेश दिनुभएको थियो ?! त्योभन्दा ठूलो अत्याचारी तथा अपराधी को हुन सक्छ जसले बिना ज्ञान मानिसलाई सीधा मार्गबाट पथभ्रष्ट गर्न अल्लाहको बारेमा झूटो कुरो गढछ अनि उहाँले हराम न गरेको जनवरहरूको बारेमा यो अल्लाहले हराम गर्नुभयो भन्छ ? निश्चय नै अल्लाहमाथि झूट गढेर अत्याचार गर्नेहरूलाई उहाँले मार्गदर्शन गर्नुहुन्न ।
१४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– जो वही (प्रकाशना) अल्लाहले ममाथि अवतरित गर्नुभएको छ त्यसमा म कुनै पनि यस्तो चिज पाऊँदिन जुन खान हराम होस्, सिवाय बिना बध मृत जनावर वा बगेको रगत वा सुंगुरको मासु जो फोहर तथा हराम हो वा अल्लाहबाहे अन्य कुनै मूर्तीको नाम लिएर बध गरिएका जनावर । तर कसैले स्वादको लागि होइन बरु भोकबाट विवश भएर तथा आवश्यक्ताको सीमा न नाघेर खायो भने उसलाई पांप लाग्दैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निश्चय नै तपाईंका पालनकर्ता विवश भएर खाने व्यक्तिप्रति अति क्षमाशील एवं परम दयालु हुनुहुन्छ ।
यस समुदायमाथि अल्लाहले जे जति हराम गर्नुभएको छ त्यसको वर्णनपछि यहूदीहरूमाथि हराम गरिएका वस्तुहरूको वर्णन गर्नुभयोः 
१४६. यहूदीहरूका लागि हामीले हरेक नङ न छुट्टिएका जनावरहरू जस्तै ऊँट, अस्टिच हराम ठहर गरेका थियौं र गाई तथा बाख्राको बोसो पनि तिनीहरूकालागि हामीले हराम ठहर गरेका थियौं सिवाय तिनका पिठ्यूँ वा आन्द्रामा टाँसिएका वा हाडमा मिसिएको बोसो । ती जनावरहरूलाई तिनीहरूले हराम गरेर अत्याचार गरेको कारणले हामीले यो सजाय दिएका थियौं । हामीले जे जति भनेकाछौं त्यसमा सत्य हौं ।
१४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरूले तपाईंलाई झूटा ठहर गर्छन् र तपाईंले आफ्ना पालनकर्ताको तर्फबाट ल्याउनुभएको धर्मलाई सत्य मान्दैनन् भने तिनीहरूलाई आकर्षण गर्न भन्नुहोस्- तिमीहरूका पालनकर्ता अपार दयावान हुनुहुन्छ । उहाँका कृपामध्ये हो तिमीहरूलाई अवसर दिनु र आपदा अवतरित गर्ने मागमा हतार न गर्नु । उनीहरूलाई डराउँदै भन्नुहोस्- पाप तथा दुष्कर्म गर्नेहरूबाट यातनालाई टार्न सकिंदैन ।
१४८. बहुदेववादीहरूले आफ्ना अल्लाहसँग साझेदारी गर्ने कार्य अल्लाहको चाहना तथा शक्तिबाट भएकोले यो ठीक हो भन्ने कुरा प्रमाणित गर्न चाँडै भन्नेछन्– यदि अल्लाहले चाहनुभएको भए हामीले न त साझेदार ठहर गर्ने थियौं न हाम्रा पुर्खाले नै र न हामीले कुनै चिजलाई हराम ठहर गर्नेथियौं । यिनीहरूले गलत तरिकाले प्रमाण पेश गरे झैं यसभन्दा पूर्वका मानिसहरूले पनि यसरी नै यो भन्दै आफ्ना रसूलहरूलाई झूटो ठहर गरेका थिए- यदि अल्लाहले चाहनुभएको भए हामीले उनीहरूलाई झूटो ठहर गर्ने थिएन । तिनीहरूले निरन्तर झूटो ठहर गरे यहाँसम्म कि हामीले अवतरित गरेको आपदाको स्वाद चाखे । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्- अल्लाह तिमीहरूले गरेको शिर्क, हलाललाई हराम र हरामलाई हलाल बनाएको कार्यसँग खुशी हुनुहुन्छ भन्ने कुराको तिमीहरूसँग के प्रमाण छ ? के मात्र तिमीहरूले त्यो कार्य गर्यौ भने यो यस कुराको प्रमाण हुन सक्दैन कि अल्लाह त्यसबाट खुशी हुनुहुन्छ । यस बारेमा तिमीहरू मात्र अडकलको अनुसरण गर्दैछौ र अड्कलबाट सत्य प्रमाणित हुँदैन, तिमीहरू झूट बोल्दैछौ ।
१४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूलाई भनिदिनुहोस्– तिमीहरूका तर्कहरू वाहियात तर्कहरू हुन् । जबकि अल्लाहसँग सत्यसम्म पुग्ने निर्णायक तर्क त अल्लाहसँग छ जो तिमीहरूका शंकाहरूलाई निवारण गर्छन् । हे बहुदेववादीहरू हो ! यदि अल्लाहले चाहनुभएमा तिमीहरू सबैलाई सत्मार्गमा डोर्याउनु हुन्थ्यो ।
१५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्ता बहुदेववादीहरू जसले हलाल वस्तुहरूलाई हराम गरे र दावी गरे- यसलाई अल्लाहले हराम गर्नुभयो, लाई भनिदिनुहोस्– हाजिर गर आफ्ना साक्षीहरूलाई जसले यस कुराको साक्षी देउन् कि अल्लाहले नै यी चिजहरूलाई हराम ठहर गर्नुभयो । यदि तिनीहरूले बिना ज्ञान साक्षी दिन्छन्- अल्लाहले हराम गर्नुभयो भने हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले तिनीहरूका गवाहीलाई सत्य न मान्नुहोस्, किनभने त्यो झूटो गवाही हो । ती मानिसहरूका इच्छाहरूको अनुसरण न गर्नुहोस् जो आफ्नो इच्छा अनुसार निर्णय गरेर हाम्रा आयतहरूलाई झूटो ठहर गरे अनि हलाल वस्तुलाई हराम ठहर गरे । यस्ता मानिसहरूको अनुसरण न गर्नुहोस् जो आखिरतमा ईमान राख्दैनन् र आफ्ना पालनकर्तासँग साझेदार ठहर गर्छन्, अन्यलाई उहाँको बराबर बनाउँछन् । अरूलाई आफ्ना पालनकर्ताको बराबर बनाउनेहरूको अनुसरण कसरी गर्न सकिन्छ ?!
१५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मानिसहरूलाई भनिदिनुहोस्– आऊ म तिमीहरूलाई त्यो पढेर सुनाऊँ जुन तिम्रा पालनकर्ताले तिम्रो लागि हराम गर्नुभएको छ । ती हुन– प्राणीहरूमध्ये कुनै पनि चिजलाई अल्लाहसँग साझेदार बनाउनू हराम हो । मातापिताको अवज्ञा गर्नु पनि हराम हो, उनीहरूसँग राम्रो व्यवहार गर्नुपर्छ । गरीबीको डरले आफ्ना सन्तानको हत्या गर्नु पनि हराम गरिएको छ, अज्ञानताकालमा मानिसहरू सन्तानको हत्या गर्ने गर्थे । हामी तिमीहरूलाई पनि जीवीका प्रदान गर्छौं र उनीहरूलाई पनि हामीले नै जीवीका प्रदान गर्नेछौं । अल्लाहले अश्लील कुराहरूको नजिक जान पनि हराम गर्नुभयो, चाहे त्यो खुल्लारूपमा होस् वा गोप्य । कुनै यस्तो जीवको हत्या गर्नु पनि हराम हो जसको हत्या गर्न अल्लाहले हराम गर्नुभएको छ । न्यायको दृष्टिले हत्या गर्न जायज छ जस्तै बिहेपछि कसैले व्यभिचार गर्छ  वा कोही इस्लाम ल्याएपछि त्यसलाई त्याग्छ भने उसको हत्या जायज छ । उक्त कुराहरूको उपदेश अल्लाह दिनुहुन्छ आशा छ तिमीहरू विवेक प्रयोग गर्नेछौ, उहाँका आदेशहरूको पालना गर्छौ तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्नेछौ ।
१५२. अल्लाहले अनाथहरूको धन सम्पत्तिमा हस्तक्षेप गर्न पनि हराम गर्नुभएको छ । -अनाथ भनेको त्यो बालक हो जो बालिग हुनुअघि बुवाबाट वञ्चित हुन्छ- अनाथको धन सम्पत्तिमा भलाइ, फाइदा तथा बढोतरीको लागि उपाय गर्ने मन्शायले मात्र हस्तक्षेप गर्न मिल्छ । बालिग तथा बुद्धिमान भएपछि उसको धन सम्पत्ति उसलाई सुम्पिदेऊ । अल्लाहले नापतौलमा कमि बेशी गर्न पनि हराम गर्नुभयो । किन-बेच गर्दा  निसाफका साथ लेन-देन गर्न अनिवार्य गरिएको छ । हामी कुनै पनि व्यक्तिमाथि उसको सामर्थ्यभन्दा बढी जिम्मेवारी लाद्दैनौं । जहाँ नाप तौलमा कमि-बेशीबाट बच्न सम्भव छैन त्यहाँ कुनै पकड हुँदैन । अल्लाहले गलत सूचना दिन तथा झूटो गवाही दिनबाट पनि मनाहि गर्नुभयो । अल्लाहले वचनभंग गर्नु पनि हराम गर्नुभयो, चाहे त्यो अल्लाहसँग गरिएको वचन होस् वा अल्लाहको लागि गरिएको वचन होस्, वचन पूरा गर्नु अनिवार्य छ । अल्लाहले तिमीहरूलाई यी कुराहरूको कडा आदेश दिनुभएको छ, आशा छ तिमीहरूले राम्रो नतीजाको लागि यी आदेशहरूको पालना गर्नेछौ ।
१५३. अल्लाहले पथभ्रष्टताका मार्गहरूमा हिँड्न मनाहि गर्नुभएको छ । बरु अल्लाहको सीधा मार्गमा हिँड्नु तिमीहरूका लागि अनिवार्य छ, जो अलि पनि बाङ्गो टिड्गो छैन । गलत मार्गहरूको अनुसरणले तिमीहरूबीच विभेद उत्पन्न गर्छ र सत्मार्गबाट टाढा पार्छ । अल्लाहले आफ्नो सीधा मार्गको अनुसरणको उपदेश दिनुभएको छ । यस आशाका साथ कि तिमीहरूले उहाँका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बचेर उहाँबाट डराउनेछौ ।
१५४. उक्त कुराहरूबारे सूचित गरेपछि अब तिमीहरूलाई के बताउँदैछौं भने हामीले मूसा अ. लाई उनले राम्रो ढँगले कार्य गरे बापत उनीमाथि आफ्नो कृपा पूरा गर्न, धर्मको मामिलामा आवश्यक कुराहरू स्पष्ट पार्न र सत्य तथा दयाको कुरा बताउनको लागि तौरात प्रदान गर्यौं । यस आशाका साथ कि तिनीहरूले महाप्रयको दिन आफ्ना पालनकर्तासित भेट हुनेछ भन्ने कुरामा ईमान ल्याऊन् र सत्कर्म गरेर त्यसको तयारी गरुन् ।
१५५. यो कुर्आन यस्तो किताब हो जसलाई हामीले नै अवतरित गरेका हौं; जो बरकतयुक्त (मङ्गलमय) रहेको छ । यसमा लोक तथा धर्मका धेरै फाइदाहरू छन् । अतः यसमा रहेका कुराहरूको अनुसरण गर तथा यसको विरोध गर्नबाट बच । आशा छ तिमीहरूमाथि दया गरिनेछ ।
१५६. हे अरबका बहुदेववादीहरू हो ! ताकि तिमीहरू यो न भन– हामीभन्दा पहिले यहूदी तथा ईसाईहरूका लागि तौरात तथा इन्जील त अवतरित भए तर हाम्रा लागि कुनै किताब अवतरित भएन । तिनीहरूका किताब हाम्रो भाषामा न भएर तिनीहरूको भाषामा भएकोले हामी त्यसको पाठ गर्न जान्दैनौं । 
१५७. यो पनि नभन- यदि हाम्रा लागि पनि यहूदी तथा ईसाईका लागि किताब अवतरित गरिए झैँ कुनै किताब अवतरण भएको भए हामी तिनीहरूभन्दा बढी सत्मार्गमा अडिग रहने थियौं । ल, अब तिम्रा पालनकर्ताको तर्फबाट मुहम्मद (सल्लललाहु अलैहि व सल्लम) माथि तिमीहरू कै भाषामा किताब अवतरित भइसकेको छ । यो सम्पूर्ण समुदायको लागि स्पष्ट प्रमाण, मार्गदर्शन एवं दया हो । तसर्थ वाहियात तथा बेकार किसिमका बहाना तथा तर्कहरू पेश न गर । त्यसभन्दा ठूलो अत्याचारी कोही हुनै सक्दैन जो अल्लाहका आयतहरूलाई झूटो ठहर गर्छ र त्यसबाट विमुख हुन्छ । जोसुकै पनि हाम्रा आयतहरूबाट विमुख हुन्छ त्यसलाई यस विमुख हुने कार्यको बदलामा नर्कमा होमेर कडा सजाय दिनेछौं । 
१५८. झूटा ठहर गर्नेहरू यमदूत तथा उनका सहयोगीहरूको प्रतीक्षा गर्दैछन्- उनीहरू आएर तिनीहरूको आत्मा संसारमा नियन्त्रणमा लेउन् । वा आखिरतमा तपाईंका पालनकर्ता निर्णयको लागि आउन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मामिलाको निर्णयको लागि वा महाप्रलयलाई प्रमाणित गर्ने केही निशानीहरू तिमीहरूसमक्ष आउन् । जब त्यस दिन तपाईंका पालनकर्ताका केही निशानीहरू सामुन्ने आउनेछन् जस्तै सूर्य पश्चिम दिशाबाट उदाउनु, तब यो ईमान ल्याउने कार्यले पहिले ईमान न ल्याएको वा ईमान ल्याई पुण्यकर्म न गरेको व्यक्तिलाई कुनै फाइदा दिने छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूटा ठहर गर्ने बहुदेववादीहरूलाई भन्नुहोस्– तिमीहरू यी निशानीहरूमध्ये एउटा निशानीको प्रतीक्षा गर; हामी पनि प्रतीक्षा गर्दैछौं ।
१५९. यहूदी तथा ईसाईहरूमध्ये ज-जसले आफ्नो धर्मलाई विखण्डित तुल्याए, केही कुरा लिए तथा केही कुरा त्यागे र तिनीहरू विभिन्न सम्प्रदायमा विभाजित भए, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको पथभ्रष्टतासँग तपाईंको कुनै सरोकार छैन; तपाईंको जिम्मा मात्र तिनीहरूलाई डराउनु हो । तिनीहरूको मामिला अल्लाहको जिम्मामा छ । अनि तिनीहरूलाई तिनीहरूले गर्ने कार्यहरूबारे अल्लाहले नै महाप्रलयको दिन अवगत गराउनुहुनेछ र सजाय दिनुहुनेछ ।
१६०. मोमिनहरूमध्ये जो अल्लाहकहाँ पुण्यकर्म लिएर आउनेछ उसलाई अल्लाहले त्यसको दस गुणा पुण्य बनाउनुहुनेछ र जसले कुकर्म लिएर आउनेछ उसलाई केवल त्यस बराबरकै सजाय हुनेछ, त्यसभन्दा बढी हुने छैन । तिनीहरूको पुण्यलाई घटाएर वा सजायलाई बढाएर उनीहरूमाथि अन्याय गरिने छैन । 
१६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूटा ठहर गर्ने बहुदेववादीहरूलाई भन्नुहोस्– मलाई मेरा पालनकर्ताले सीधा मार्ग देखाउनुभएको छ; त्यो यस्तो धर्म हो जो लोक तथा परलोक दुवैका हीतलाई सुनिश्चित गर्छ । जो इब्राहीम अ. को मार्ग तथा ठीक धर्म हो । उनी बहुदेववादीहरूमध्येका थिएनन् ।
१६२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- मेरो सलाह, मेरो अल्लाहको लागि र अल्लाहकै नाम लिएर बध गर्नु,  मेरो जीवन तथा मेरो मरण सबै मात्र अल्लाह; सम्पूर्ण पराणीहरूका पालनकर्ताकै लागि हुन्, त्यसमा अन्य कसैको अंश छैन । यस समुदायमध्ये म पहिला मुस्लिम हुँ ।
१६३. उहाँको कोही साझेदार छैन, उहाँबाहेक अन्य कोही ईश्वर छैन । मलाई मेरा पालनकर्ताले यसै शुद्ध एकेश्वरवादको आदेश दिनुभएको छ, म नै सर्वप्रथम आत्मसमर्पण गर्ने हुँ ।
१६४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्– के म अल्लाहबाहेक कुनै अन्य पालनकर्ता खोजूँ जबकि उहाँ हरेक चिजका पालनकर्ता हुनुहुन्छ ?! म तिमीहरूले पूजा गर्ने पूज्यहरूको पनि पालनकर्ता हुँ । कुनै पनि भारी बोक्नेले अरू कसैको भारी बोक्ने छैन । अनि तिमीहरूलाई तिम्रा पालनकर्तातर्फ नै महाप्रलयको दिन फर्कनुछ । अनि जुन जुन कुरामा तिमीहरू मतभेद गर्दैथ्यौ त्यो उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।
१६५. अल्लाह नै हुनुहुन्छ जसले तिमीहरूलाई धर्तीका आफूअघिका उत्तराधिकारी बनाउनुभयो ताकि त्यसमा भवन बनाउ । तिमीहरूमध्ये केहीलाई अन्य केहीमाथि सृष्टि तथा जीवीका इत्यादिमा उच्च दर्जा प्रदान गर्नुभयो ताकि जेजति उहाँले दिनुभएको छ त्यसमा तिमीहरूको परीक्षा लेउन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता चाँडै नै सजाय दिनुहुनेछ । जे पनि आउनेवाला छ त्यो नजिक छ । भक्तहरूमध्ये जो पनि तौबा गर्छ उसलाई उहाँले क्षमा तथा दया गर्नुहुनेछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...