सीधे मुख्य सामग्री पर जाएं

१२. सूरह यूसुफ (मक्की)

    शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट



१. अलिफ० लाम० रा० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । यस सूरहमा अवतरण भएका आयतहरू स्पष्ट कुरआनका आयतहरू हुन् ।
२. हामीले कुरआनलाई अरबी भाषामा अवतरण गर्यौं । हे अरबीहरू हो ! ताकि तिमीहरू यसको अर्थहरू बुझ्न सक ।
३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंलाई यस कुरआनमा अति सुन्दर सत्य कथा सुनाउँदैछौं । जो सत्यता, शब्द तथा भाषाको शुद्धता हरेक दृष्टकोणले अति रमाइलो छ । यस कुरआनको अवतरणअघि तपाईंलाई यस कथाको बारेमा थाहा थिएन । 
४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंलाई सूचित गराउँदैछौं, त्यस समयको बारेमा जब यूसुफ (अलैहिस्सलाम) ले आफ्ना पिता याकूब (अलैहिस्सलाम) लाई भने– हे मेरा पिता ! मैले ११ वटा तारा, सूर्य र चन्द्रमालाई सपनामा देखेको छु । तिनीहरू मेरासामु सज्दा गर्दैछन् भन्ने सपना देखेको छु । यो सपना यूसुफ (अलैहिस्सलाम) को लागि चाँडै पूरा हुने शुभसूना थियो ।
५. याकूब (अलैहिस्सलाम) ले आफ्नो पुत्र यूसुफ (अलैहिस्सलाम) लाई भने– हे मेरो पुत्र ! आफ्नो यो सपना आफ्ना दाजुहरूलाई नसुनाउनु, तिनीहरूले यसलाई बुझेपछि तिमीसँग डाहा गर्नेछन् । फेरि तिनीहरूले तिमीविरुद्ध षडयन्त्र गर्नेछन् । किनभने शैतान मानवको स्पष्ट शत्रु हो ।
६. हे यूसुफ ! यस सपनाको अर्थ के छ भने अल्लाहले तिमीलाई चयन गर्नुहुनेछ, सपनाको अर्थ सिकाउनुहुनेछ र तिमीलाई ईशदूतत्व प्रदान गरेर आफ्नो वरदान पूर्णरूपमा दिनुहुनेछ । अल्लाहले यस अघि तिम्रा पूर्वज इब्राहीम र इस्हाक (अलैहिमस्सलाम) लाई पनि पूर्णरूपमा वरदान दिनुभएको थियो । निस्सन्देह अल्लाह सृष्टिहरूको बारेरमा ज्ञान राख्नुहुन्छ र विवेकपूर्ण तरिकाले कार्य सञ्चालन गर्नुहुन्छ । 
७. वास्तवमा यूसुफ (अलैहिस्सलाम) र उनका दाजुहरूको कथामा उनकोबारेमा सोध्नेहरूका लागि पाठ तथा उपदेशहरू छन् । 
८. जब यूसुफ (अलैहिस्सलाम) का दाजुहरूले आपसमा भने– यूसुफ तथा उनका साख्खै भाइ हाम्रा पिताका लागि हामीभन्दा अधिक प्रिय छन् जबकि हामीहरू ठूलो संख्यामा एउटा जमात छौं । पिताले उनीहरूलाई हामीहरूमाथि किन प्राथमिक्ता दिंदैछन् । हामी आफ्ना पितालाई स्पष्ट गलतीमा देख्छौं किनभने उनले बिनाकारण उनीहरूलाई हामीमाथि प्राथमिक्ता दिन्छन् ।
९. यूसुफ (अलैहिस्सलाम) लाई मारि देऊ वा उसलाई कुनै टाढा स्थानमा बेपत्ता बनाइदेऊ । यसो गरेमा तिम्रा पिताको ध्यान पूर्णरूपले मात्र तिमीहरूतर्फ नै केन्द्रित हुनेछ र उनले तिमीहरूसँग पूरा पूरा माया गर्नथाल्नेछ । यूसुफ (अलैहिस्सलाम) लाई मारेपछि वा बेपत्ता बनाएपछि यस पापबाट तौबा गरेर सत्कर्मी बनिहाल ।
१०. उनका दाजुहरूमध्ये एकजनाले भन्यो– उसको हत्या नगर बरु उसलाई कुनै गहिरो इनारको पिंधमा फ्याँकिदेऊ जहाँबाट हिँडिरहेको कुनै यात्रु-दलले निकालेर लैजान्छ । यसमा उसलाई कम कष्ट पुग्छ । तिमीहरूले भने अनुसार केही गर्ने नै अडान लिएका छौ  भने यो कार्य गर । 
११. यूसुफ (अलैहिस्सलाम) लाई टाढा पार्ने कुरामा एकमत भएपछि उनका दाजुहरूले याकूब (अलैहिस्सलाम) लाई भने– हे हाम्रा पिता ! आखिर यूसुफको सम्बन्धमा तपाईं हामीमाथि भरोसा किन गर्नुहुन्न ? जबकि हामी ऊसँग माया गर्छौं, उसको रेखदेख गर्छौं र उसको वास्तविक शुभचिन्तक हौं ? तपाईं किन उसलाई हामीसँग जान दिनुहुन्न । हामी उसलाई सुरक्षित तपाईंसमक्ष फिर्ता ल्याइदिनेछौं ।
१२. भोलि उसलाई हामीसँग जाने अनुमति दिनुहोस् ताकि उसले खानपीन गरोस् र खेलोस् । हामी पूर्णरूपमा उनको रक्षा गर्नेछौं र कुनै किसिमको कष्ट हुन दिने छैनौं । 
१३. याकूब (अलैहिस्सलाम) ले पुत्रहरूलाई भने– तिमीहरूले उनलाई लग्यो भने मलाई उनको चिन्ता लागिरहनेछ । ऊबिना म रहन सक्दिन । तिमीहरू खेलकुदमा व्यस्त हुँदा उसलाई ब्वाँसोले खाला कि भन्ने पनि मलाई डर लाग्छ । 
१४. तिनीहरूले पितालाई भने– हामी एउटा समूह हुंदाहुंदै पनि यदि ब्वाँसोले यूसुफलाई खायो भने हामीमा कुन कामको रहनेछौं । उसलाई हामीहरूले ब्वाँसोबाट बचाएनौं भने हामी घाटा खानेहरूमध्ये हुनेछौं ।
१५. याकूब (अलैहिस्सलाम) ले यूसुफ (अलैहिस्सलाम) लाई तिनीहरूसँग पठाए । जब तिनीहरू उनलाई लिएर टाढा पुगे र ईनारको पेंधमा हाल्ने निश्चय गरे तब हामीले यूसुफ (अलैहिस्सलाम) तर्फ वही (प्रकाशना) गर्यौं, तिमीले तिनीहरूलाई तिनीहरूको यस कर्तूतबारे अवगत गराउनेछौ र तिनीहरू त्यसबारे अनभिज्ञ हुनेछन् ।
१६. यूसुफ (अलैहिस्सलाम) का दाजुहरू राति बनावटी रुँदै कराउँदै आफ्ना पितासमक्ष आए । 
१७. तिनीहरू भन्न थाले– पिता ज्यू ! हामी आपसमा दौडको प्रतिस्पर्धामा व्यस्त थियौं र यूसुफलाई आफ्ना लुगा तथा सामानहरूको सुरक्षाको लागि छोडेका थियौं । त्यत्तिकैमा ब्वाँसोले उसलाई खाइदियो । हामीले जतिसुकै सत्य बोले पनि तपाईं हाम्रो कुरा पत्याउनुहुन्न ।
१८. तिनीहरूले आफ्नो दावीको पुष्टिको लागि यूसुफ (अलैहिस्सलाम) को कमिजमा अरूको रगत पनि लगाएर ल्याएका थिए । याकूब (अलैहिस्सलाम) ले कमीज च्यातिएको छैन भन्ने सङ्केतबाट बुझिहाले कि यिनीहरू झूठो बोल्दैछन् । उनले भने- तिमीहरूले भनेको कुरा गलत हो । बरु तिमीहरूले आफैं यो कुरा रचेका छौ । अनि म राम्ररी धैर्य गर्छु । तिमीहरूले यूसुफ (अलैहिस्सलाम) को बारेमा भनेको मामिलामा अल्लाहकै सहयोग खोज्नेछु ।
१९. त्यसतर्फ एउटा यात्रुदल आयो र त्यसले पानी भर्न आफ्नो एउटा मान्छे पठायो । जब उसले आफ्नो बाल्टिन खसाल्यो तब यूसुफ (अलैहिस्सलाम) ले डोरीलाई समाते । पानी भर्ने व्यक्तिले यूसुफ (अलैहिस्सलाम) लाई देखेपछि पुकार्यो– शुभ-सूचना ! यहाँ एउटा केटा पो रहेछ । तिनीहरूले उनलाई एउटा ब्यापारिक सम्पत्ति ठानेर लुकाए । तिनीहरूले गरिराखेका कार्यसित अल्लाह राम्ररी अवगत हुनुहुन्थ्यो । कुनै पनि कार्य उहाँबाट लुकेको थिएन ।
२०. यात्रु–दलले उनलाई धेरै कम मूल्यमा बिक्री गरे । ती गन्तीका केही दिर्हम थिए । तिनीहरू उनीबाट चाँडै छुटकारा पाउन चाहन्थे, त्यसैले कुनै चासो देखाएन । किनभने यूसुफ (अलैहिस्सलाम) तिनीहरूको आफ्नो सम्पत्ति थिएन भन्ने कुरा तिनीहरूलाई थाहा थियो । कसैले यो हाम्रो सम्पत्ति हो भन्ने दावी गर्छ कि भन्ने कुराबाट तिनीहरू डराएका थिए । यी सबै अल्लाहको कृपाले हुंदै थियो ताकि यूसुफ (अलैहिस्सलाम) तिनीहरूसँग लामो समयसम्म नरहुन् ।
२१. उनलाई खरीद गर्ने मिस्रको व्यक्तिले आफ्नी पत्नीलाई भने– उसको राम्रो हेरचाह गर । आशा छ यो हाम्रो लागि लाभदायक हुनेछ वा यसलाई हामी धर्म-पुत्र नै बनाउँछौं ।  यसरी हामीले यूसुफ (अलैहिस्सलाम) लाई हत्याबाट जोगायौं, ईनारबाट निकाल्यौं र मिस्रको अजीजको हृदयमा उनको लागि माया उत्पन्न गर्यौं । यसरी उनलाई मिस्रको भूमिमा स्थापित गर्यौं । ताकि उनलाई सपनाको अर्थ बुझ्न सिकाऔं । अल्लाह आफ्नो कार्यको पूरा सामर्थ्य राख्नुहुन्छ । उहाँको आदेश अवश्य नै लागु हुन्छ । उहाँलाई कसैले बाध्य पार्न सक्दैन । तर अधिकांश मानिसहरू विशेषरूपमा काफिरहरूलाई थाहा छैन ।
२२. जब यूसुफ (अलैहिस्सलाम) युवावस्थामा पुगे र हस्ट पुष्ट भए तब हामीले उनलाई बुद्धि र ज्ञान प्रदान गर्यौं । यसरी नै हामी सत्कर्मीहरूलाई प्रतिदान दिने गर्छौं ।
२३. अजीजको श्रीमतिले उनीसँग अश्लील कार्य गर्नको लागि उनलाई फकाउन थालिन् । उनीसँग एकान्तमा हुनको लागि उनले ढोकाहरू बन्द गरिन् अनि भनिन्– मेरो नजिक आऊ । यूसुफ (अलैहिस्सलाम) ले भने– तिमी जुन कार्यको लागि बोलाउँदैछौ त्यसबाट बच्न म अल्लाहको शरण चाहन्छु । अजीजले मलाई कति राम्रो तरिकाले राखेका छन् । उनीसँग म कदापि विश्वासघात गर्दिन । उनीसँग विश्वासघात गरेमा म अत्याचारी हुन्छु । अत्याचारीहरू कहिल्यै सफल हुन सक्दैनन् ।
२४. अजीजकी श्रीमतिले अश्लील कार्यको चाहना गरिन । यूसुफ (अलैहिस्सलाम) को मनमा पनि नराम्रो विचार आयो । यूसुफ (अलैहिस्सलाम) ले अल्लाहको निशानी नदेखेका भए उनी यसबाट बच्न सक्ने थिएन । हामीले उनलाई अश्लील कार्य, विश्वासघात तथा व्यभिचारबाट जोगाउनको लागि निशानी देखायौं । निस्सन्देह यूसुफ (अलैहिस्सलाम) ईशदूतत्वको लागि छानिएका हाम्रा भक्तहरूमध्ये थिए ।
२५. दुवैजना ढोकातर्फ हुत्तिए । यूसुफ (अलैहिस्सलाम) आफूलाई बचाउनको लागि र पछाडिबाट महिलाले उनलाई रोक्नको लागि ढोकातर्फ भागे । महिलाले उनलाई निस्कनबाट रोक्नको लागि उनको कमिज समातिन, जसले गर्दा कमिज पछाडिबाट च्यातियो । ढोकानजिक ती दुवैले अजीजलाई पाए । उनले भनिन्– हे अजीज ! तपाईंको श्रीमतिसँग व्यभिचार गर्न खोज्नेलाई कि त जेल चालान गर्नुपर्छ कि त पीडादायी यातना दिनुपर्छ । 
२६. यूसुफ (अलैहिस्सलाम) ले भने– उनले नै मसँग अश्लील कार्य गर्न खोजिन् । मैले गर्न खोजेको होइन । महिलाको आफ्नै परिवारका एक जना बालकले काखिबाट यो भन्दै गवाही दियो– यदि यूसुफ (अलैहिस्सलाम) को कमिज अघिल्तिरबाट च्यातिएको छ भने यो महिला सच्चा हो भन्ने कुराको सङ्केत हो । उसले आफूलाई जोगाउने क्रममा च्यातेको हुन सक्छ । यूसुफ (अलैहिस्सलाम) झूठो हुन् ।
२७. यदि उनको कमिज पछिल्तिरबाट च्यातिएको छ भने यो यूसुफ (अलैहिस्सलाम) को सच्चा हुने सङ्केत हो । महिलाले उनलाई फकाउन पीछा गरेको र उनले आफूलाई जोगाउनको लागि भाग्ने क्रमा च्यातेको हुन सक्छ ।  महिला झूठो हुन् ।
२८. अजीजले कमिज पछिल्तिरबाट च्यातिएको देखे । यूसुफ (अलैहिस्सलाम) सच्चा हुन् भन्ने विश्वास भयो । उनले भने– हे महिलाहरू ! यो आरोप तिम्रो  षड्यन्त्र हो । तिमी महिलाहरूको षड्यन्त्र अति बलियो हुनेगर्छ ।  
२९. उनले यूसुफ (अलैहिस्सलाम) लाई भने - यस कुरालाई माफ गरिदेऊ । यसलाई गोप्य राख, कसैलाई नभन ।  हे महिला ! तिमी आफ्नो पापकोलागि प्रायश्चित गर । वास्तवमा तिमीले यूसुफ (अलैहिस्सलाम) लाई फकाउन खोजेकोले तिम्रै दोष हो ।
३०. शहरमा यो खबर फैलियो । महिलाहरूको एउटा समूहले भन्यो- अजीजकी पत्नीले आफ्नो युवा दासलाई आफ्नो कामेच्छा पूरा गर्न फकाउन खोजेकी छिन् र उसको प्रेममा बौलाहा बनेकी छिन् । हाम्रो विचारमा त उनी ठूलो गलती गर्दैछिन् ।
३१. जब अजीजकी श्रीमतिले आफ्नो बदनामीको कुरा सुनिन् तब उनले शहरका महिलाहरूलाई बोलाउन पठाइन् । ताकि तिनीहरूले यूसुफ (अलैहिस्सलाम) लाई देखुन् र बदनामी गरेको कार्यप्रति माफि मागुन् । उनले तिनीहरूका लागि विशेष बैठकको व्यवस्था गरिन् जसमा राम्रो खालको बिछ्यौना र सिरानीहरू राखिए । तिनीहरूमध्ये प्रत्येकलाई फल काट्न एक एक वटा छुरी दिइन् । यूसुफ (अलैहिस्सलाम) लाई तिनीहरूसमक्ष आउने आदेश दिइन् । ती महिलाहरू उनलाई देखेपछि उनको सुन्दरताले गर्दा दङ्ग परिन् । उनको सुन्दरतामा यसरी मख्ख भइन् कि तिनीहरूले आफ्ना हात नै काटिन् । तिनीहरूले भनिन्– अल्लाह पवित्र हुनुहुन्छ ! यो व्यक्ति मानव होइन । मानवमा यस्तो सुन्दरता हुँदैन । यो त महान फरिश्ता हो !
३२. अजीजकी श्रीमतिले यो अवस्था देखेपछि भनिन्– यही हो त्यो व्यक्ति जसको बारेमा तिमीहरू मेरो बदनामी गर्दै थियौ । साँच्चिकै मैले उसलाई फकाउने प्रयास गरेकी थिएँ तर ऊ मेरो फन्दामा आएन । यदि उसले मेरो कुरा मानेन भने निश्चय नै ऊ कैद गरिनेछ र धेरै अपमानित हुनेछ ।
३३. यूसुफ (अलैहिस्सलाम) ले दुआ (प्रार्थना) गरे– हे मेरा पालनकर्ता ! जुन अश्लील कार्यतर्फ यो महिला मलाई बोलाउँदैछिन् त्यसभन्दा बढी प्रिय त कारागार नै छ जसको धमकी दिंदैछिन् । यदि तपाईंले तिनका षड्यन्त्रबाट मलाई जोगाउनुहुन्न भने म तिनीहरूको जालमा फस्नेछु र अज्ञानीहरूमध्ये हुनेछु । 
३४. अल्लाहले उनको दुआ (प्रार्थना) लाई स्वीकार गर्नुभयो । अजीजकी श्रीमति र शहरकी महिलाहरूको षडयन्त्रलाई उनीबाट हटाउनुभयो । निस्सन्देह अल्लाह यूसुफ (अलैहिस्सलाम) समेत सबै दुआ गर्नेहरूको दुआ सुन्नुहुन्छ र उनीसमेत सबैको अवस्थाबाट अवगत हुनुहुन्छ । 
३५. अजीज र शहरका अगुवाहरूले यूसुफ (अलैहिस्सलाम) को पवित्रताका प्रमाण देखेपछि बदनामीबाट बच्नको लागि अनिश्चित अवधिको लागि यूसुफ (अलैहिस्सलाम) लाई कारागारमा हाल्ने निर्णय गरे ।
३६. तिनीहरूले यूसुफ (अलैहिस्सलाम) लाई कारागारमा हालिदिए । उनीसँगै अन्य दुई जना व्यक्तिहरू पनि कारागारमा प्रवेश गरे । ती दुईमध्ये एकजनाले भन्यो– मैले सपनामा के देखेको छु भने अङ्गूरबाट मदिरा बनाउँदैछु । अर्कोले भन्यो– मैले सपनामा के देखेको छु भने म आफ्नो टाउकोमाथि रोटी बोकेको छु जसबाट पंक्षीहरू खाँदैछन् । हे यूसुफ ! हामीलाई सपनाको अर्थ बताइदिनुहोस् । हाम्रो दृष्टिमा तपाईं सुकर्मी हुनुहुन्छ ।
३७. यूसुफ (अलैहिस्सलाम) ले भने– तिमीहरूलाई दिइने सरकारी भोजन तिमीहरूसमक्ष आउनुभन्दाअघि नै म तिमीहरूलाई सपनाको अर्थ बताइदिनेछु । मलाई मेरो पालनकर्ताले सपनाको अर्थ सिकाउनुभएको छ । रिषी मुनि वा ज्योतिषीले सिकाएको छैन । मैले ती मानिसहरूको धर्म छोडिसकेको छु जो अल्लाह र आखिरतको दिनमाथि ईमान राख्दैनन् ।
३८. म आफ्ना पूर्वज इब्राहीम, इस्हाक तथा याकूब (अलैहिमुस्सलाम) को धर्मको अनुसरण गर्दैछु । त्यो धर्म हो अल्लाहलाई एक मान्ने धर्म । अल्लाहसँग कुनै चिजलाई साझेदार बनाउनु हाम्रो लागि ठीक छैन । उहाँ एक मात्र हुनुहुन्छ । अल्लाहको विशेष कृपाले म र मेरा पूर्वजहरू एकेश्वरवादी र मोमिन हौं । सबै मानिसहरूतर्फ सन्देष्टाहरू पठाउनु पनि अल्लाहको कृपा हो । तर अधिकांश मानिसहरू यस्ता वरदानहरूका लागि अल्लाहप्रति आभार व्यक्त गर्दैनन् बरु कृतघ्न छन् । 
३९. फेरि यूसुफ (अलैहिस्सलाम) ले कारागारमा रहेका दुई जना व्यक्तिहरूलाई सम्बोधन गरेर भने-  के अनेक ईश्वरहरूको पूजा राम्रा हो वा मात्र एक अल्लाहको भक्ति जोसँग कोही साझेदार छैन र जसलाई सबैमाथि प्रभुत्व प्राप्त छ ?
४०. अल्लाहबाहेक तिमीहरू ज-जसको पूजा गर्छौ तिनीहरू केवल नाम हुन् जुन तिमीहरू तथा तिम्रा पुर्वजहरूले रचेका हुन् । भक्तिमा तिनीहरूको कुनै साझेदारी छैन । तिमीहरूले राखेको नाम ठीक हो भन्नेबारे अल्लाहले कुनै प्रमाण अवतरण गर्नुभएकै छैन । सबै सृष्टिमाथि मात्र अल्लाहकै शासन-सत्ता चल्छ । तिमी र तिम्रा पूर्वजहरूले राखेका नामहरूको सत्ता-शासन चल्दैन । अल्लाहको आदेश छ– मात्र उहाँकै उपासना गर । आफूसँग कसैलाई साझेदार बनाउनबाट उहाँले मनाहि गर्नुभएको छ । यही सीधा धर्म हो, जो अलि पनि बाङ्गो टिङ्गो छैन । तर अधिकांश मानिसहरू यो कुरा जान्दैनन् । त्यसैले तिनीहरू शिर्क गर्छन् र केही सृष्टिको पूजा गर्छन् । 
४१. हे मेरा कारागारका दुवै साथीहरू ! तिमीहरू दुवैमध्ये पहिलो व्यक्ति जसले अङ्गूरबाट मदिरा बनाउने सपना देखेको छ ऊ कारागारबाट रिहा गरिएपछि आफ्नो काममा फर्कनेछ र आफ्नो मालिकलाई मदिरा पिलाउनेछ । आफ्नो टाउकोमाथि रोटी छ जसलाई पंक्षीहरू खाँदैछन भन्ने सपना देखेको दोस्रो व्यक्तिलाई शूली चढाइनेछ र हत्या गरिनेछ । मरेपछि उसको टाउकोका मासुलाई पंक्षीहरूले लुछेर खानेछन् । तिमीहरूले सोधेका प्रश्नहरूको जवाफ पूरा भयो । निस्सन्देह यस्तै हुनेछ । 
४२. यूसुफ (अलैहिस्सलाम) ले ती दुवैमध्ये रिहा भएर राजालाई मदिरा पान गराउने व्यक्तिलाई भने– राजासमक्ष मेरो मुद्दा-मामिलाको  चर्चा गर्नु । आशा छ उनले मलाई कारागारबाट रिहा गर्नेछन् । तर शैतानले उसलाई राजासमक्ष चर्चा गर्न भुलाइदियो, जसले गर्दा उनी केही वर्षसम्म कारागारमै रहे ।
४३. राजाले भने– मैले सपनामा के देखेको छु भने सातवटा मोटा गाईहरूलाई अन्य सातवटा दुब्ला गाईहरूले खाँदैछन् । सातवटा अन्नका हरिया बाला छन् र अन्य सातवटा सुकेका बाला छन् । हे दरबारीहरू हो ! यदि तिमीहरू सपनाको अर्थ जान्दछौ भने मलाई मेरो सपनाको अर्थ बताऊ ।
४४. तिनीहरूले भने– यी छ्यास्मिस् सपनाहरू हुन् । यस्ता सपनाहरूको कुनै अर्थ हुँदैन । हामीलाई यस्ता छ्यास्मिस् सपनाको अर्थ थाहा छैन ।
४५. कारागारबाट रिहा भएको मदीरा पान गराउने व्यक्तिलाई धेरै समयपछि यूसुफ (अलैहिस्सलाम) र सपनाको अर्थ बताउने कुरा याद आयो । उसले भन्यो– राजाले देखेको सपनाको अर्थ एकजना जानकारलाई सोधेर म बताउनेछु । हे महाराज ! मलाई यूसुफ (अलैहिस्सलाम) कहाँ जाने अनुमति दिनुस्, ताकि उनले तपाईंको सपनाको अर्थ बताउन् ।
४६. त्यो व्यक्ति यूसुफ (अलैहिस्सलाम) कहाँ पुगेर भन्यो, हे सच्चा यूसुफ ! हामीलाई एउटा सपनाको अर्थ बताऊ– सातवटा मोटा गाईलाई अन्य सातवटा दुब्ला गाईले खाँदैछन् । सातवटा अन्नका हरिया बाला छन् र अन्य सातवटा सुकेका बाला छन् । ताकि म राजा र उनका दरबारीहरूसमक्ष फर्केर सपनाको अर्थ बताउं । उनीहरूले सपनाको अर्थ जानेपछि तिम्रो महत्व र स्थानलाई जान्नेछन् । 
४७. यूसुफ (अलैहिस्सलाम) ले सपनाको अर्थ बताउँदै भने– तिमीहरू सात वर्ष लगातार मेहनतका साथ खेती गर । अन्नलाई त्यसको बालामै रहन देऊ ताकि त्यसमा किरा नलागोस् । आवश्यक्ता अनुसार मात्र बालाबाट निकाल ।
४८. त्यसपछि भोकमरीका सातवटा कठिन वर्षहरू आउनेछन् । त्यस अवधिमा ती सबै अन्नहरू ग्रहण गरिनेछन् जुन तिमीहरूले जम्मा गरेर राखेका हुनेछौ । तिमीहरूले जोगाएर राखेका अन्न मात्र बाँकी रहनेछ ।
४९. त्यसपछि एउटा यस्तो साल आउनेछ जसमा धेरै वर्षा हुनेछ । त्यस वर्ष खुबै खेती बाडी हुनेछ । मानिसहरूले अङ्गुर, जैतून तथा उखुबाट आवश्यक्ता अनुसार मदिरा बनाउनेछन् ।
५०. जब यूसुफ (अलैहिस्सलाम) ले बताएको सपनाको अर्थ पुग्यो तब राजाको आदेश भयो– यूसुफ (अलैहिस्सलाम) लाई कारागारबाट निकालेर हाजिर गर । जब राजाको दूत यूसुफ (अलैहिस्सलाम) लाई बोलाउनको लागि आयो तब यूसुफ (अलैहिस्सलाम) ले भने– तिमी राजाकहाँ जाऊ र जुन महिलाहरूले आफ्ना हात घाइते पारेका थिए तिनीहरूको वास्तविक मामिला के हो भनी सोध । ताकि कारागारबाट निस्कनुअघि मेरो निर्दोष हुने कुरा छर्लङ्ग होस् । महिलाहरूले मलाई फकाउनको लागि गरेको प्रयाससित मेरा पालनकर्ता अवगत हुनुहुन्छ । उहाँबाट कुनै पनि कुरा लुकेको छैन ।  
५१. राजाले महिलाहरूलाई सोधे– त्यस समय के भएको थियो जब तिमीहरूले यूसुफ (अलैहिस्सलाम) सँग अश्लील कार्य गर्नको लागि उनलाई फकाउन खोजेका थियौ ? तिनीहरूले राजालाई भनिन्– अल्लाहको आश्रय ! यूसुफ (अलैहिस्सलाम) माथि कुनै पनि आरोप लगाउनु ठीक होइन । हामीहरूले उनमा कुनै किसिमको त्रुटि पाएनौ । अजीजकी श्रीमतिले जे जति चलखेल गरेकी थिइ त्यसलाई स्वीकार गर्दै भनिन्– अब सत्य कुरा स्पष्ट भइसकेकै छ । मैले नै उसलाई फकाउने प्रयास गरेकी थिएँ । उनले मलाई फकाउने प्रयास गरेको थिएन । उनीमाथि लगाइएको आरोपसित उनको कुनै सरोकार छैन ।  
५२. अजीजकी श्रसीमतिले भनिन्- यूसुफ (अलैहिस्सलाम) लाई थाहा होस् कि मैले नै उनलाई फकाउने प्रयास गरेको थिएं । म यस कुरालाई स्वीकार गर्छु । उनी सच्चा हुन् । म उनको अनुपस्थितिमा उनीमाथि आरोप लगाउँदिन । यस घटनाबाट के स्पष्ट भयो भने अल्लाहले झूठो तथा षडयन्त्र गर्नेलाई मद्दत गर्नुहुन्न ।
५३. अजीजकी श्रीमतिले थप भनिन्– दुष्कर्म गर्ने इच्छा मभित्र जाग्छ । यस इच्छाबाट म चोखो छु भन्ने दावी गर्दिन । निस्सन्देह मानवलाई उसको मनले दुष्कर्म गर्न प्रेरित गर्छ । यसबाट त्यस्ता मानिसहरू मात्र बच्न सक्छन् जसमाथि अल्लाहको कृपा हुन्छ । अनि उहाँले मनलाई दुष्कर्मको आदेश दिनबाट बचाउनुहुन्छ । तौबा गर्ने भक्तहरूलाई अल्लाहले माफ गर्नुहुन्छ र दया गर्नुहुन्छ ।
५४. यूसुफ (अलैहिस्सलाम) निर्दोष रहेको तथ्य खुलेपछि राजाले आफ्ना सहयोगीहरूलाई भने-  यूसुफ (अलैहिस्सलाम) लाई मसमक्ष हाजिर गर । म उनलाई आफ्नो निकट्तम बनाउनेछु । तिनीहरूले यूसुफ (अलैहिस्सलाम) लाई राजासमक्ष हाजिर गरे । उनीसँग कुरा गरेपछि उनको ज्ञान तथा बुद्धिबाट राजा धेरै प्रभावित भए । उनले भने– हे यूसुफ ! तिमी आजदेखि हामीकहाँ उच्च पदस्थ, सम्मानित र विश्वासीलो भयौ ।
५५. यूसुफ (अलैहिस्सलाम) ले राजालाई भने- मलाई मिस्रको कोष तथा खाद्यान पदार्थको जिम्मेबारी दिनुहोस् । म विश्वासीलो कोषाध्यक्ष हुँ । यसबारेमा मलाई ज्ञान र विवेक छ । 
५६. हामीले यूसुफ (अलैहिस्सलाम) लाई कारागारबाट मुक्त पारेर पनि र मिस्रमा सत्ता प्रदान गरेर पनि उपकार गर्यौं । उनी जहाँ चाहन्थे जाने गर्थे र बसोबास गर्ने गर्थे । हामी जुन भक्तलाई चाहन्छौं संसारमा कृपा गर्छौं । हामी सत्कर्मीहरूको पुण्य बर्बाद पार्दैनौं । कमि नगरिकन पूरा पूरा दिने गर्छौं ।
५७. अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूलाई त्यागेर उहाँसित डराउने मोमिनहरूका लागि आखिरतको बदला संसारको बदलाभन्दा उत्तम छ ।
५८. यूसुफ (अलैहिस्सलाम) का दाजुहरू आफ्ना  मूलधन लिएर मिस्रमा प्रवेश गरे । उनीसमक्ष आएपछि यी मेरा दाजुहरू हुन् भनी उनी चिनिहाले । तर तिनीहरूले यूसुफ (अलैहिस्सलाम) मेरो भाइ हो भनेर चिन्न सकेनन् । किनभने तिनीहरूले उनलाई ईनारमा फ्याँक्दा बालक थिए र यति लामो अवधि बितेपछि उनको रङ्ग रूप बदलि सकेको थियो ।  
५९. यूसुफ (अलैहिस्सलाम) ले तिनीहरूलाई तिनीहरूको माग अनुसार अनाज दिए । तिनीहरूको एक जना बुवा पट्टीका भाइ पनि छ भन्ने कुरा तिनीहरूले स्वीकारेपछि यूसुफ (अलैहिस्सलाम) ले भने- अब आउँदा बुवा पट्टीको भाइलाई पनि लिएर आउनु । म थप एक ऊँट अनाज दिन्छु । तपाईंहरूले देख्नु भएन, मैले तपाईंहरूलाई कम गरेर सामान दिएन बरु राम्ररी थपेर दिएको छु । 
६०. यदि तपाईंहरूले भाइलाई लिएर आउनुहुन्न भने तपाईंहरूको बुवा पट्टीको एकजना भाइ पनि छ भन्ने दावीमा तपाईंहरू झूठो ठहर हुनुहुन्छ । उनलाई लिएर आउनुहुन्न भने तपाईंहरूलाई अनाज मिल्दैन, म कहाँ नआउनु होला ।
६१. दाजुहरूले भने- हामी बुवासँग माग गर्छौं । तपाईंको आदेश अनुसार उनलाई लिएर आउने सकभर प्रयास गर्छौं । 
६२. यूसुफ (अलैहिस्सलाम) ले कर्मचारीहरूलाई भने– उनीहरूको मूलधन फिर्ता गरिदेऊ ताकि तिनीहरू घर फर्केपछि हामीले तिनीहरूबाट मूल्य लिएनौं भन्ने कुरा जान्नेछन् अनि भाइलाई लिएर फर्कन बाध्य हुनेछन् । यसरी आफू सच्चा हुन् भन्ने कुरा यूसुफ (अलैहिस्सलाम) समक्ष प्रमाणित गर्नेछन् र उनले मूल धनलाई स्वीकार गर्नेछन् ।
६३. जब तिनीहरू आफ्ना पितासमक्ष पुगे तब तिनीहरूले यूसुफ (अलैहिस्सलाम) ले गरेको पाहुना सत्कार बारे बताए । तिनीहरूले भने– बुवा ! यदि हामी आफ्नो भाइलाई लिएर गएनौं भने हामीलाई अन्न मिल्दैन । अनि हामीसँग हाम्रो भाइलाई पनि जाने अनुमति दिनुहोस् ताकि अन्न लिएर आउन सकौं । हामी उसको रक्षा गर्ने वाचा गर्छौं । तपाईंसमक्ष उसलाई सुरक्षित लिएर आउनेछौं ।
६४. याकूब (अलैहिस्सलाम) ले भने– के म उसको बारेमा तिमीहरूमाथि त्यसरी नै भरोसा गरूँ जसरी यसभन्दाअघि उसको साख्खै दाजु यूसुफ (अलैहिस्सलाम) को बारेमा गरेको थिएँ ?! तिमीहरूमाथि मैले यूसुफ (अलैहिस्सलाम) को बारेमा भरोसा गरें, तर तिमीहरूले विश्वासघात गर्यौ । तिमीहरूको वाचामाथि मलाई भरोसा रहेन । म मात्र अल्लाहमाथि भरोसा गर्छु । उहाँ उत्तम रक्षक र सर्वश्रेष्ठ दयालु हुनुहुन्छ ।
६५. जब तिनीहरूले आफ्नो सामान खोले तब आफ्ना मूलधन पनि फर्काइएको पाए । तिनीहरूले भने– बुवा ! हामीलाई के चाहियो ? हेर्नुस्, हामीले दिएको मूलधन फिर्ता गरिएको छ । अब हामीलाई त्यस अजीजसँग कस्तो सत्कार चाहियो । अब यस अजीजले कृपा गर्दै फिर्ता गरेको मूलधनबाट आफ्ना परिवारका लागि थप खाद्यान्न ल्याउनेछौं र आफ्नो भाइको रक्षा पनि गर्नेछौं । भाइको कारणले एउटा ऊँटले बोक्न सक्ने जति खाद्यान्न थप प्राप्त गर्नेछौं । यति खाद्यान्न त सजिलै प्राप्त हुनेछ ।
६६. याकूब (अलैहिस्सलाम) ले भने– जबसम्म उसलाई मसमक्ष ल्याउनेछौ भन्ने अल्लाहको नाममा दृढ वचन दिंदैनौ तबसम्म म उसलाई तिमीहरूसँग पठाउदिनं । तिमीहरू सबै सङ्कटमा पर्छौ, वा घेरिनेछौ, जस्ले गर्दा सबै मारिनेछौ वा फिर्ता आउन सक्दैनौ भने यो बेग्लै कुरा हो । जब तिनीहरूले आफ्नो वचन दिए, तब याकूब (अलैहिस्सलाम) ले भने– हामीले भनेको कुरामाथि अल्लाह साक्षी हुनुहुन्छ । उहाँको गवाही हाम्रो लागि पर्याप्त छ । 
६७. उनीहरूका बुवाले उपदेश दिंदै भने– हे मेरा पुत्रहरू ! तिमीहरू एउटै ढोकाबाट एकसाथ मिस्रमा प्रवेश नगर बरु विभिन्न ढोकाहरूबाट प्रवेश गर । ताकि कसैले कष्ट पुर्याउन खोजेमा सबैलाई कष्ट पुर्याउन नसकोस् । म तिमीहरूलाई अल्लाहको चाहना विपरीत न कष्ट निवारण गर्न सक्छु न फाइदा पुर्याउन सक्छु । आदेश त मात्र अल्लाहकै चल्छ । मेरो पूर्ण भरोसा उहाँमाथि छ । सबै भरोसा गर्नेहरूले आफ्नो मामिलामा उहाँमाथि नै भरोसा गर्नुपर्छ ।
६८. तिनीहरू यूसुफ (अलैहिस्सलाम) का साख्खै भाइलाई लिएर हिंडे । आफ्ना बुवाको आदेश अनुसार तिनीहरू विभिन्न ढोकाहरूबाट प्रवेश गरे । तर तिनीहरूको यो उपाय अल्लाहको निर्णयअगाडि काम आएन । केवल याकूब (अलैहिस्सलाम) को पुत्र-मोह थियो जो उनले व्यक्त गरेका थिए र पुत्रहरूलाई उपदेश दिएका थिए । जे हुन्छ त्यो अल्लाहको निर्णय अनुसार नै हुन्छ भन्ने कुरा उनलाई थाहा थियो । हामीले सिकाएको ज्ञानले गर्दा उनलाई भाग्यमाथि ईमान र उपाय गर्ने ज्ञान थियो । तर, अधिकांश व्यक्तिहरूलाई थाहा नै छैन । 
६९. जब तिनीहरू यूसुफ (अलैहिस्सलाम) का भाइलाई लिए उनीसमक्ष पुगे तब यूसुफ (अलैहिस्सलाम) ले आफ्नो भाइलाई अंगालो मारे र कानमा मधुरो स्वरमा भने– म तिम्रो साख्खै दाजु यूसुफ हुँ । अब यिनीहरूले हामीहरूसँग जति डाहा र उपाय गरे पनि कष्ट पुर्याउन सक्दैनन् । अब तिमीले कुनै चिन्ता लिनुपर्दैन ।
७०. यूसुफ (अलैहिस्सलाम) ले तिनीहरूको ऊँटहरूमाथि खाद्यान्न राख्दा आफ्ना कर्मचारीहरूलाई भाइको सामानमा राजाको कचौरा राखिदिने आदेश दिए । जब तिनीहरू फर्कन थाले तब एकजना घोषणा गर्नेले पुकार्दै भन्यो– हे यात्रु-दल ! तिमीहरू निश्चय नै चोर हौ ।
७१. यूसुफ (अलैहिस्सलाम) का दाजुहरू तिनीहरूतर्फ फर्केर भने– तिमीहरूले कुन चिज गुमाएका छौ जसले गर्दा हामीहरूमाथि चोरीको आरोप लगाउँदैछौ ?
७२. कर्मचारीहरूले भने– राजाको कचौरा गुमेको छ । जसले तलाशी लिनुअघि त्यो खोजेर ल्याउनेछ उसलाई एउटा ऊँटले बोक्न सक्ने बराबर अन्न प्राप्त हुनेछ जसको जिम्मा म लिंदैछु ।
७३. यूसुफ (अलैहिस्सलाम) का दाजुहरूले भने– अल्लाहको कसम ! चोरीसँग हाम्रो कुनै सम्बन्ध छैन । हामी यस देशमा आतंक मच्चाउन आएका होइनौं । हामीले जीवनमा कहिले चोरी गरेका छैनौं ।
७४. कर्मचारीहरूले भने- यदि तिमीहरू आफ्नो दावीमा झूठा प्रमाणित भयौ भने के सजाय हुनुपर्छ ?
७५. यूसुफ (अलैहिस्सलाम) का दाजुहरूले भने– जसको सामानमा त्यो वस्तु भेटिनेछ त्यसलाई नै दण्डस्वरूप राखिनेछ । हामी अत्याचारीहरूलाई यस्तै सजाय दिने गर्छौं ।
७६. खोज तलासको लागि तिनीहरूलाई यूसुफ (अलैहिस्सलाम) सम्म पुर्याइयो । गोप्य योजना अनुसार उनले भाइको सामानभन्दा पहिले दाजुहरूका सामानको खोज तलास शुरु गरे । फेरि भाइको सामानको खोज तलास गरे अनि उसको सामानबाट हराएको राजाको कचौरा बाहिर निकाले । यसरी हामीले यूसुफ (अलैहिस्सलाम) को लागि उपाय गर्यौं । दोस्रो उपाय हामीले उनको लागि के गर्यौं भने उनी उनीहरूको देशको कानुन अनुसार भाइलाई साथमा राख्न सफल भए । मिस्रको कानून अनुसार आफ्नो भाइलाई रोक्न सक्दैनथे ।  मिस्रको कानुन अनुसार उनले मात्र चोरलाई सजाय र दण्ड मात्र दिन सक्थे । तर अल्लाह नै उनको लागि अर्को उपाय गर्नुभयो । अल्लाह यसको सामर्थ्य राख्नुहुन्छ ।  हामी आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छौं पदोन्नति गर्छौं । जसरी हामीले यूसुफ (अलैहिस्सलाम) को पदोन्नति गर्यौं । प्रत्येक ज्ञानी भन्दा कोही नकोही ठूलो ज्ञानी हुन्छ । सबै ज्ञानीहरूभन्दा महान ज्ञानी अल्लाह हुनुहुन्छ । उहाँ हरेक कुराको ज्ञान राख्नुहुन्छ ।
७७. यूसुफ (अलैहिस्सलाम) का दाजुहरूले भने– हे अजीज ! यदि उसले चोरेको हो भने यो कुनै आश्चर्यको कुरा होइन, यसअघि उसका दाजु यूसुफले पनि चोरी गरेको थियो ! यूसुफ (अलैहिस्सलाम) ले यस कुरालाई आफ्नो मनमै लुकाइराखे । तिनीहरूसमक्ष व्यक्त गरेनन् । उनले मनमनै भने– तिमीहरूले पहिला पनि अति डाहा गरेर निकृष्ट कार्य गर्यौ । अल्लाह यस झूठो कुरालाई राम्ररी जान्नुहुन्छ ।
७८. यूसुफ (अलैहिस्सलाम) का दाजुहरूले उनलाई भने– हे अजीज ! उसका बुवा अति वृद्ध छन् र उनीसँग धेरै माया गर्छन् । तपाईं उसको स्थानमा हामीहरूमध्ये कसैलाई राख्नुस् । हाम्रो दृष्टिमा तपाईं अति परोपकारी हुनुहुन्छ । अतः हामीहरूसँग राम्रो व्यवहार गर्नुहोस् । 
७९. यूसुफ (अलैहिस्सलाम) ले भने– निर्दोषमाथि अत्याचार गर्नु र जोसँग हामीले राजाको कचौरा पाएका छौं त्यसलाई छोडी अन्य कसैलाई समात्नु अन्याय । हामी यसो गर्नबाट अल्लाहको शरण चाहन्छौं ।
८०. जब तिनीहरू यूसुफ (अलैहिस्सलाम) को जवाफबाट निराश भए तब एकान्तमा परामर्श गर्न थाले । तिनीहरूका जेठो दाजुले भने– म तिमीहरूलाई स्म्रण गराउँछु कि बुवाले तिमीहरूसँग अल्लाहको नाममा दृढ वचन लिनुभएको थियो कि उनको कान्छो छोरालाई अवश्य फिर्ता लिएर आउनेछौ । कहीं  बाध्य पारिएर घेरियो भने यो बेग्लै कुरा हो । यसअघि पनि तिमीहरूले यूसुफ (अलैहिस्सलाम) को मामिलामा गलती गरिसकेका छौ । अतः म मिस्रबाट फर्केर जान्न । मेरो बुवाले मिस्र फर्कने अनुमति दिनुहुन्छ वा अल्लाहले नै मेरो लागि भाइलाई लिएर जाने कुनै बाटो निकाल्नुहुन्छ भने मात्र फर्कनेछु । उहाँ सर्वश्रेष्ठ निर्णायक हुनुहुन्छ र सत्य र निसाफका साथ निर्णय गर्नुहुन्छ ।
८१. जेठो दाजुले भने– तिमीहरू सबै आफ्ना बुवाकहाँ फर्क र भन– बुवा ! तपाईंको पुत्रले चोरी गर्यो जसले गर्दा मिस्रको अजीजले उसलाई दास बनायो । हामी त त्यही भन्न सक्छौं जो हामीले देखेका छौं । उसको सामानबाट राजाको कचौरा निस्केको हामीले देख्यौं । उसले चोरी गर्छ भन्ने कुरा हामीलाई थाहा भएको भए हामीले तपाईंलाई वचन दिने थिएनौं । 
८२. तपाईं त्यस मिस्र बासीहरूलाई सोध्नुहोस् जसको बीचमा हामी थियौं । त्यस यात्रुदललाई पनि सोध्नुहोस् जोसँग हामी आयौं । हामी उसको चोरीको बारेमा जे सूचना दिंदैछौं त्यसमा हामीहरू सच्चा छौं ।
८३. उनीहरूका बुवाले भने– उसले चोरी गरेको छ भन्ने कुरा गलत हो । बरु तिमीहरूले उसको बारेमा पनि त्यस्तै षड्यन्त्र गरेका छौ जस्तो उसको दाजु यूसुफ (अलैहिस्सलाम) को बारेमा गरेका थियौ । तर म राम्ररी धैर्य गर्नेछु । मात्र अल्लाहसित गुनासो गर्नेछु । अल्लाहले यूसुफ, उनको साख्खै भाइ र दुवैका दाजुलाई फिर्ता दिनुहुनेछ भन्ने मलाई आशा छ । निस्सन्देह उहाँ मेरो अवस्थासित अवगत हुनुहुन्छ र मेरो समस्याको समाधानमा विवेकशील हुनुहुन्छ ।
८४. याकूब (अलैहिस्सलाम) तिनीहरूबाट मुन्टो फर्काएर टाढा भए र भने– हाय यूसुफ ! र पीर तथा चिन्ताले  रुँदा रुँदा उनका आँखाहरू सेता भए । उनी शोकमग्न भए र मानिसहरूबाट शोकलाई लुकाए ।
८५. यूसुफ (अलैहिस्सलाम) का दाजुहरूले भने– हे बुवा ! अल्लाहको कसम ! तपाईं सधैं यूसुफ (अलैहिस्सलाम) लाई नै याद गरिरहनु हुन्छ । यहाँसम्म कि या त तपाईं झन बिरामी पर्नुहुन्छ या आफ्नो ज्यान नै गुमाउनुहुन्छ ।
८६. याकूब (अलैहिस्सलाम) ले भने– म आफ्नो शोक र वेदना मात्र अल्लाहसमक्ष प्रकट गर्छु । मलाई त्यस कुराको ज्ञान जो तिमीहरू जान्दैनौ कि अल्लाह कृपावान, उपकार-कर्ता, शोकाकुलको दुआ (प्रार्थना) सुन्नेवाला र पीडितलाई बदला दिनेवाला हुनुहुन्छ । 
८७. उनीहरूका बुवाले भने– हे मेरा पुत्रहरू ! तिमीहरू जाऊ र यूसुफ (अलैहिस्सलाम) र उनका भाइको बारेमा पत्ता लगाऊ । अल्लाहको दयाबाट निराश नहोऊ । उहाँको दयाबाट मात्र अवज्ञाकारीहरू निराश हुने गर्छन् । किनभने तिनीहरू अल्लाहको महानता र कृपाबाट अनभिज्ञ छन् ।
८८. तिनीहरू बुवाको आदेशको पालना गर्दै यूसुफ (अलैहिस्सलाम) कहाँ पुगेर भने– हामी र हाम्रा परिवारलाई सङ्कट र गरिबीले घेरेको छ । हामीले अति थोरै मूलधन ल्याएका छौं । अतः हामीलाई पूरा पूरा अन्न प्रदान गर्नुहोस् र दान पनि गर्नुहोस् । अल्लाहले दान गर्नेलाई निश्चय नै प्रतिदान प्रदान गर्नुहुन्छ ।
८९. जब यूसुफ (अलैहिस्सलाम) तिनीहरूको कुरा सुने तब तिनीहरूमाथि दया आयो । उनले आफ्नो पहिचान खोल्दै सोधे– यूसुफ र उनको भाइसँग अज्ञानतामा गरेको व्यवहार तपाईंहरूलाई याद छ ?!
९०. तिनीहरूले आश्चर्य  प्रकट गर्दै भने– के तपाईं नै यूसुफ हुनुहुन्छ र ?! उनले भने– हो, म यूसुफ हुँ र यो मेरो साख्खै भाइ हो । निस्सन्देह अल्लाहले हामीप्रति उपकार गर्नुभयो । नराम्रो अवस्थाबाट मुक्ति प्रदान गर्नुभयो र हाम्रो स्थानलाई उच्च पार्नुभयो । सत्य यो हो कि जुन व्यक्तिहरू अल्लाहका आदेशहरूको पालना गरेर, वर्जित कार्यहरूलाई त्यागेर उहाँसँग डराउँछन् र सङ्कटमा धैर्यधारण गर्छन्, अल्लाहले त्यस्ता सुकर्मीहरूको प्रतिदानलाई कदापि नष्ट गर्नुहुन्न । बरु त्यसको रक्षा गर्नुहुन्छ ।
९१. दाजुहरूले माफि माग्दै भने– अल्लाहको कसम ! उहाँले तपाईंलाई हामीहरूमाथि श्रेष्ठता प्रदान गर्नुभयो । वास्तवमा हामी नै दोषी र अत्याचारी थियौं ।
९२. यूसुफ (अलैहिस्सलाम) ले तिनीहरूको माफि स्वीकार गर्दै भने– आज तपाईंहरूमाथि कुनै धिक्कार र निन्दा छैन । मैले माफ गर्छु र अल्लाहसित तपाईंहरूका क्षमाको लागि दुआ (प्रार्थना) गर्छु । उहाँ अति दयावान हुनुहुन्छ ।
९३. बुवाले रुँदा रुँदै आँखाको ज्योति गुमाएको खबर सुनेपछि उनले आफ्नो कमिज दिंदै भने– मेरो यो कमिज लिएर जानुस् र मेरा बुवाको अनुहारमा राख्नुस् । उनको नेत्र-ज्योति फर्किनेछ । आफ्नो सम्पूर्ण परिवारलाई लिएर मकहाँ आउनुस् ।
९४. जब यात्रु-दल मिस्रतर्फ प्रस्थान गर्यो तब उनका बुवाले वरिपरि रहेका मानिसहरूलाई भने– तिमीहरू मलाई यो बूढो त खुस्केछ क्यारे नभन्ने हो भने मलाई त यूसुफको सुगन्ध आइरहेको छ । 
९५. तिनीहरूले भने– अल्लाहको कसम ! तपाईं अहिलेसम्म पुरानै भ्रममा हुनुहुन्छ ।
९६. शुभ-सूचनावाहकले यूसुफ (अलैहिस्सलाम) को कमिज याकूब (अलैहिस्सलाम) को अनुहारमाथि राख्यो, जसले गर्दा उनको आँखाको ज्योति फर्केर आयो । उनले सन्तानहरूलाई भने– म अल्लाहका ती कृपा तथा उपकारको बारेमा जान्दछु जुन तिमीहरू जान्दैनौ भनेर के मैले तिमीहरूलाई भनेको थिइन र ? 
९७. याकूब (अलैहिस्सलाम) का सन्तानहरूले यूसुफ (अलैहिस्सलाम) र उनका भाइसँग गरेका दुर्व्यवहारप्रति माफि मग्दै भने– हे बुवा ! हामीहरूले यूसुफ (अलैहिस्सलाम) र उनका भाइको बारेमा गरेका पापहरूका लागि अल्लाहसित क्षमा याचना गरिदिनुहोस् । निस्सन्देह हामीहरूले यूसुफ (अल्हिस्सलाम) र उनका भाइसँग दुर्व्यवाहर गरेका थियौं ।
९८. बुवाले सन्तानहरूलाई भने– म तिमीहरूका लागि आफ्ना पालनकर्तासँग क्षमायाचना गर्नेछु । निश्चय नै उहाँ तौबा गर्ने भक्तहरूलाई माफ र दया गर्नुहुन्छ । 
९९. याकूब (अलैहिस्सलाम) पूरा परिवारका साथ मिस्र यूसुफ (अलैहिस्सलाम) कहाँ जानको लागि निस्के । जब उनीहरू यूसुफ (अलैहिस्सलाम) कहाँ पुगे तब उनले बुवा आमा दुवैलाई अङ्गालो मारे । उनले दाजुहरू र उनीहरूका परिवारहरूलाई भने– मिस्रमा तपाईंहरूलाई स्वागत छ ! शान्तिपूर्वक यहाँ बसोबास गर्नुहोस् । यहाँ तपाईंहरूलाई कुनै कष्ट पुग्ने छैन । 
१००. उनले आफ्ना आमा-बुवालाई आफू बस्ने सिंहासनमा बसाए । आमा-बुवा र ११ जना दाजु भाइ उनीसमक्ष सज्दा गरे । यो सज्दा उनको सम्मानको लागि थियो, भक्तिको लागि थिएन । यो त्यस आदेशको पालना थियो जो अल्लाहले यूसुफ (अलैहिस्सलाम) लाई सपनामा दिनुभएको थियो । यूसुफ (अलैहिस्सलाम) ले भने– बुवा ! यो हो त्यस सपनाको अर्थ जो मैले देखेपछि तपाईंलाई बताएको थिएं । यसलाई मेरो पालनकर्ताले सत्य सिद्ध गर्नुभयो । अल्लाहले कृपा गरेर मलाई कारागारबाट निकाल्नुभयो । म र मेरा दाजुहरूबीच शैतानद्वारा सिर्जित फूटको स्थितिपश्चात् तपाईहरूलाई गाउँबाट यहाँ पुर्याउनुभयो । वास्तवमा मेरा पालनकर्ताले चाहनु भएका कार्यहरू सूक्ष्म उपायद्वारा पूरा गर्नुहुन्छ । निस्सन्देह उहाँ आफ्ना भक्तहरूका अवस्थासित अवगत हुनुहुन्छ र आफ्नो योजनामा विवेकशील हुनुहुन्छ ।
१०१. फेरि यूसुफ (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गर्नुभयो– हे मेरो पालनकर्ता ! तपाईंले नै मलाई मिस्रमा सत्ता प्रदान गर्नुभयो । तपाईंले नै मलाई सपनाको अर्थ सिकाउनुभयो । हे आकाशहरू तथा धर्तीका सृष्टिकर्ता ! तपाईं नै लोक र परलोकमा मेरा सबै मामिलाका संरक्षक हुनुहुन्छ । मलाई मुस्लिम भएको अवस्थामा मृत्यु दिनुहोस् । मलाई मेरा सत्कर्मी पूर्वजहरू र सन्देष्टाहरूका साथ फिर्दौस नामी स्वर्गमा प्रवेश गराउनुहोस् ।
१०२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यूसुफ (अलैहिस्सलाम) र उनका दाजुहरूको यो कथा परोक्षका समाचारहरूमध्ये हो जसको वही (प्रकाशना) हामी तपाईंमाथि गर्दैछौं । हामीले नबताएमा तपाईंलाई थाहा हुने थिएन । किनभने तपाईं यूसुफ (अलैहिस्सलाम) र उनका दाजुहरूले गरेको षड्यन्त्रको समयमा उपस्थित थिएन ।
१०३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले जति सङ्घर्ष गरे पनि अधिकांश मानिसहरूले ईमान ल्याउने छैनन् । अतः तिनीहरूको चिन्तामा आफ्नो ज्यान नगुमाउनुस् । 
१०४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरूले बुद्धिले काम लिएमा तपाईंमाथि ईमान ल्याउने थिए । किनभने तपाईं कुरआन र आह्वानको सट्टामा कुनै बदला माग्नुहुन्न । कुरआन त सम्पूर्ण मानवजातिका लागि एउटा शिक्षा मात्र हो ।
१०५. आकाशहरू र धर्तीमा अल्लाह एक मात्र हुनुहुन्छ भन्ने कुराको कतिपय निशानीहरू फैलिएका छन् । ती निशानीहरू भएका भूमिबाट तिनीहरू हिड्ने गर्दछन् तर त्यसमा चिन्तन मनन गर्दैनन् ।
१०६. अल्लाह नै सृष्टिकर्ता, पालनकर्ता, जीवन र मृत्यु दाता हुनुहुन्छ भन्ने कुरामाथि यिनीहरूमध्ये अधिकांश मानिसहरू ईमान राख्छन् तर साथै उहाँको भक्तिका साथ साथ मूर्ती र भगवानहरूको पनि पूजा गर्छन् । तिनीहरू अल्लाहको लागि सन्तान छ भन्ने कुराको पनि दावी गर्छन् । जबकि अल्लाह यी कुराहरूबाट पवित्र हुनुहुन्छ ।
१०७. के यी बहुदेववादीहरू यस कुराबाट निश्चिन्त छन् कि तिनीहरूमाथि अल्लाहको कुनै प्रकोप आइलाग्नेछ जसबाट तिनीहरू बच्ने छैनन् वा अकस्मात तिनीहरूमाथि महाप्रलय आइहाल्छ जसलाई तिनीहरू महसूस गर्न सक्ने छैनन् र त्यसको तयारी गर्न सक्ने छैनन् । त्यसैले तिनीहरू ईमान ल्याइ रहेका छैनन् ?!
१०८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यो हो मेरो मार्ग, जसतर्फ मानिसहरूलाई स्पष्ट प्रमाणका साथ म पनि बुलाउँछु र मेरा अनुयायीहरू पनि बोलाउँछन् । अल्लाह ती कुराहरूबाट पवित्र हुनुहुन्छ जुन कुरा तिनीहरू उहाँसँग जोड्छन् । यस्ता कुराहरू उहाँको शान र पूर्णतासँग मेल खाँदैनन् ।  म अल्लाहसँग कसैलाई साझेदार बनाउदिन । म त एकेश्वरवादीहरूमध्ये हुँ ।
१०९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले मानवमध्ये पुरुषलाई नै पठायौं फरिश्तालाई पठाएनौं । जसरी तपाईंमाथि वही (प्रकाशना) गर्यौं त्यसरी उनीहरूमाथि पनि वही गर्यौं । सबै सन्देष्टाहरू शहरबाट थिए गाउँबाट थिएनन् । तिनीहरूका समुदायहरूले तिनीहरूलाई झूठो ठहर गरे । अनि हामीले तिनीहरूलाई नष्ट पार्यौं । के यी झूठो ठहर गर्नेहरूले धर्तीमा घुमफिर गरेनन्, देखेनन् र पाठ लिएनन् कि तिनीहरूभन्दा अघिका झुठलाउनेहरूको परिणाम के कस्तो भयो ?! ईशभय राख्नेहरूका लागि आखिरतमा रहेका वरदानहरू नै उत्तम रहेको छ । के तिमीहरू यो कुरा बुझ्दैनौ र अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कुराहरूबाट बचेर उहाँबाट डराउँदैनौ ? अल्लाहका आदेशहरूमध्ये सबैभन्दा उत्तम ईमान हो । वर्जित कुराहरूमध्ये सबैभन्दा निकृष्ट कुरा शिर्क हो ।
११०. रसूलहरूका शत्रुहरूलाई हामीले अवसर दियौं र चाँडै  समातेनौं । यहाँसम्म कि जब रसूलहरू निराश भए र उनीहरूले दिएको प्रकोपको धमकीलाई मानिसहरूले झूठा ठाने तब अकस्मात हाम्रो सहयोग उनीहरूकहाँ पुग्यो । झूठा ठहर गर्ने अपराधीहरूलाई हाम्रो प्रकोपले समात्यो । हामीले रसूलहरू र मोमिनहरूलाई त्यसबाट सुरक्षित राख्यौं ।
१११. निस्सन्देह रसूलहरू, उनीहरूका समुदायहरू, यूसुफ (अलैहिस्सलाम) र उनका दाजुहरूको सत्य कथामा बुद्धि र विवेकले काम लिने मानिसहरूका लागि ठूलो उपदेश छ । कुरआनमा यस्ता जति कुराहरू छन् ती रचिएका कुराहरू होइनन् । यो किताब यसअघि अवतरित किताबहरूको पुष्टि गर्दछ । यसमा सबै आवश्यक आदेश, कानु र भलाइका निर्देशनहरू छन् । यो मोमिनहरूका लागि दया हो । यसबाट उनीहरू नै फाइदा उठाउने गर्छन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...