शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाह पवित्र र महान हुनुहुन्छ ती शक्तिहरूको कारणले जो अरू कसैलाई प्राप्त छैन । उहाँले नै आफ्ना भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई उहाँको आत्मा र जिउका साथ जागेको अवस्थामा रातको एक भागमा प्रतिष्ठित मस्जिद (काबा) देखि बैतुल मक्दिसको भ्रमण गराउनुभयो । अल्लाहले नै यसको वरिपरि फल फुल र सन्देष्टाहरूका चिहान स्थापित गरेर यसलाई बर्कतमय तुल्याउनुभयो । ताकि तिनीहरूलाई आफ्नो शक्तिलाई स्पष्ट पार्ने निशानीहरू देखाउनुभयो । निस्सन्देह अल्लाह सर्वश्रोता हुनुहुन्छ, कुनै पनि सुनिने वस्तु उहाँबाट लुकेको छैन । उहाँ सर्वद्रष्टा हुनुहुन्छ, कुनै पनि देखिने वस्तु उहाँबाट लुकेको छैन ।२. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं र त्यसलाई बनी इस्राईलका लागि मार्गदर्शक बनायौं । हामीले बनी इस्राईललाई भन्यौं- मबाहेक अरू कसैलाई आफ्नो कार्य-साधक नबनाऊ । आफ्नो मामिला अन्य कसैलाई हस्तान्त्रण नगर, मात्र ममाथि भरोसा गर ।३. तिमीहरू ती मानिसहरूका सन्तान हौ जसलाई हामीले नूह (अलैहिस्सलाम) सँग बाढीमा डुब्नबाट जोगाएका थियौं । तिमीहरू यस कृपालाई याद राख र मात्र अल्लाहको भक्ति र आज्ञापालन गरेर उहाँप्रति आभार प्रकट गर । यसबारेमा नूह (अलैहिस्सलाम) को अनुसरण गर । उनी अल्लाहप्रति धेरै आभार प्रकट गर्थे ।४. हामीले बनी इस्राईललाई तौरातमा खबरदार गर्यौं- तिमीहरूले धर्तीमा अवश्य नै अवज्ञा गरेर दुई पटक आतङ्क मच्चाउनेछौ र घमण्ड, अत्याचार तथा सीमा उल्लङ्घन गरेर मानिसहरूमाथि विजय प्राप्त गर्नेछौ ।५. जब तिनीहरूले पहिलो पटक आतङ्क मच्चाए तब हामीले तिनीहरूमाथि शक्तिशाली भक्तहरूलाई तैनात गर्यौं, जसले तिनीहरूको हत्या गरे, तिनीहरूको घरहरूभित्र पुगेर आतङ्क मच्चाए र घरबाट बाहिर निकाले । यसरी अल्लाहको वचन निश्चित रूपमा पूरा भयो ।६. हे बनी इस्राईल ! जब तिमीहरूले तौबा गर्यौ तब हामीले तिमीहरूलाई तिमीहरूले गुमाएका देश, सत्ता, धन-सम्पत्ति र सन्तान फिर्ता दियौं । तिमीहरूको संख्याँ शत्रुहरूभन्दा बढी गर्यौं ।७. हे बनी इस्राईल ! तिमीहरूले सत्कर्म गर्छौ भने त्यसको फाइदा तिमीहरूलाई नै पुग्नेछ । अल्लाहलाई तिमीहरूको सत्कर्मको आवश्यक्ता छैन । तिमीहरूले कुकर्म गर्छौ भने त्यसको सजाय तिमीहरूले नै भोग्नुपर्छ । त्यसले गर्दा अल्लाहलाई कुनै हानि पुग्दैन । जब तिमीहरूले दोस्रो पटक आतङ्क मच्चायौ तब हामीले शक्तिशाली भक्तहरूलाई फेरि तिमीहरूमाथि तैनाथ गर्यौं । ताकि तिनीहरूले तिमीहरूलाई अपमानित गरुन् र विभिन्न तरिकाले कष्ट पुर्याएर तिमीहरूको अनुहारहरूलाई बिगारुन् । जसरी तिनीहरूले पहिलो पटक बैतुल्-मक्दिसमा पसेर तोड फोड गरेका थिए त्यसरी नै दोस्रो पटक पनि त्यसमा पसेर तोड फोड गरुन् र पूरा देशलाई नै तहस नहस पारुन् ।८. हे बनी इस्राईल ! यदि तिमीहरू यस कडा बदलापछि तौबा गर्छौ र सत्कर्म गर्छौ भने आशा छ अल्लाहले तिमीहरूमाथि दया गरुन् । यदि तिमीहरू तेस्रो पटक वा त्यो भन्दा बढी आतङ्क मच्चाउँछौ भने हामी फेरि तिमीहरूबाट बदला लिनेछौं । काफिरहरूका लागि हामीले नर्कलाई बास-स्थान बनाएका छौं ।९. वास्तवमा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित भएको यो कुरआन विभिन्न मार्गहरूबीच बिलकुल सीधा मार्ग इस्लाम देखाउँछ । यसले सत्कर्मी मोमिनहरूलाई अल्लाहको तर्फबाट महान बदलाको शुभ-सूचना दिन्छ ।१०. महाप्रलयमाथि ईमान न ल्याउनेहरूलाई यसले दुःखदायी यातनाको सूचना दिन्छ ।११. मानव रिसाएको बेला अज्ञानतामा आफ्नो र आफ्नो सन्तान र धन-समपत्तिको कुभलो लागि यसरी प्रार्थना गर्छ जसरी आफ्नो भलोको लागि प्रार्थना गर्नु पर्ने थियो । यदि हामीले उसको कुभलोको लागि गरेको प्रार्थना स्वीकार गरेका भयौं ऊ बर्बाद हुने थियो र उसका सन्तान तथा धन-सम्पत्ति पनि बर्बाद हुने थिए । वास्तवमा मानवको प्राकृतिमा नै हतार गर्ने बानि बसेको छ । त्यसैले ऊ कहिले यस्तो कार्यको लागि हतार गर्छ जसमा उसको हानि हुन्छ । १२. हामीले रात तथा दिनलाई दुईवटा निशानीको रूपमा बनाएका छौं जसले के प्रमाणित गर्छ भने अल्लाह एक मात्र हुनुहुन्छ र उहाँ शक्तिशाली हुनुहुन्छ । रात र दिन कहिले लामो हुन्छन् भने कहिले छोटो, कहिले तातो हुन्छ भने कहिले चिसो । हामीले रातलाई अँध्यारो बनायौं ताकि त्यसमा तिमीहरू आराम गर । हामीले दिनलाई प्रकाशमय बनायौं ताकि तिमीहरूले आफ्नो भाग्यमा रहेका जीविका खोज । ताकि दिन र रातको पालै पालो आवत जावतले तिमीहरू वर्षहरूको संख्या, महिना, दिन र घण्टाको हिसाब जान्न सक । हामीले प्रत्येक वस्तुलाई विस्तृतरूपमा स्पष्ट पारेका छौं र सत्यलाई असत्यबाट स्पष्ट पारेका छौं ।१३. प्रत्येक मनुष्यले गर्ने कार्यहरूलाई हामीले यसरी त्यससँग टाँसेका छौं जसरी उसको गर्धनमा डोरी बाँधिएको हुन्छ । उसले गरेको सबै कार्यको हिसाब अनिवार्यरूपमा दिनै पर्नेहुन्छ । महाप्रलयको दिन उसको लागि हामीले एउटा बही (खाता) निकाल्नेछौं जसमा उसले गरेका सबै राम्रा तथा नराम्रा कर्महरूलाई स्पष्ट र खुल्ला पाउनेछ ।१४. हामीले त्यसलाई भन्नेछौं– हे मानव ! आफ्नो कर्म-पत्र पढ । आफूले गरेका कार्यहरूको हिसाबको जिम्मेबारी आफैंमाथि लेऊ । महाप्रलयको दिन तिमी आफ्नो हिसाब आफैं गर्न पर्याप्त छौ ।१५. जसले ईमानको मार्ग ग्रहण गर्छ उसको मार्गदर्शनको पुण्य उसैलाई प्राप्त हुन्छ । जो पथभ्रष्ट हुन्छ, पथभ्रष्टताको सजाय उसैले भोग्नुपर्छ । कसैले पनि अन्य कसैको पापको भारी बोक्ने छैन । जबसम्म हामी कुनै समुदायतर्फ रसूलहरू पठाएर प्रमाण प्रमाणित गर्दैनौं तबसम्म त्यसलाई यातना दिँदैनौं ।१६. जब हामी कुनै अत्याचारी गाऊँलाई नष्ट गर्ने चाहना गर्छौं तब त्यहाँका सम्पन्न मानिसहरूलाई आज्ञापालन गर्ने आदेश दिन्छौं तर तिनीहरू आज्ञापालन गर्दैनन् बरु अवज्ञा गर्छन् । अनि तिनीहरूलाई जरोबाट समाप्त पार्ने प्रकोपको आदेश तिनीहरूमाथि लागु हुन्छ । अन्ततः हामी तिनीहरूलाई पूर्ण रूपमा नष्ट गरिदिन्छौं ।१७. नूह (अलैहिस्सलाम) पछि हामीले कतिपय झूठा ठहर गर्ने समुदायहरूलाई नष्ट पारिदियौं, जस्तै आद र समूद समुदायहरूलाई । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंका पालनकर्ता आफ्ना भक्तहरूको पापहरूसँग पूर्ण रूपमा अवगत हुनुहुन्छ र त्यसलाई देखि राख्नुभएको छ । उहाँबाट केही पनि लुकेको छैन र उहाँले त्यसको बदला दिनुहुनेछ ।१८. जुन मानिसहरू सत्कर्म गरेर त्यसबाट सांसारिक लाभ चाहन्छन् र आखिरतमाथि ईमान राख्दैनन् तथा त्यससँग वास्ता राख्दैनन्, हामीले तिनीहरूमध्ये जसलाई चाहन्छौं र जति वरदान चाहन्छौं त्यति चाँडै प्रदान गर्छौं । तर उसको भाग्यमा नर्क लेखिदिन्छौं जसमा तिनीहरू महाप्रलयको दिन फ्याँकिनेछन् र त्यसको आगोको स्वाद चाख्नेछन् । यो सजाय हामीले यस कारणले दिनेछौं कि तिनीहरूले सांसारिक जीवनलाई रोजे र आखिरतको इन्कार गरे । यसरी तिनीहरू अल्लाहको कृपाबाट टाढा पारिए । १९. जुन मानिसहरू परलोकको लागि सत्कर्म गर्छन्, त्यसको लागि सक्दो प्रयत्न गर्छन्, देखावटी र नाम कमाउने मनसाय राख्दैनन्, साथै जुन कुराहरूमाथि ईमान राख्न अनिवार्य छ ती कुराहरूमाथि ईमान राख्छन् त्यस्ता सबै मानिसहरूको प्रयन्तलाई अल्लाहले स्वीकार गर्नुहुनेछ र त्यसको बदला दिनुहुनेछ ।२०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) हामीले दुष्कर्मी र सत्कर्मी दुवै समूहलाई आफ्नो वरदान खुबै र निरन्तर प्रदान गर्नेछौं । यो संसारमा सत्कर्मी र दुष्कर्मी कसैलाई पनि अल्लाहको वरदानबाट वञ्चित गरिदैन । २१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, कसरी हामीले कसैलाई अन्य कसैमाथि जीविका र स्थानमा प्रधानता प्रदान गरेका छौं । वरदान दिइने मामिलामा लोकभन्दा बढी अन्तर परलोकमा हुनेछ । मोमिनले परलोकको लागि लालच गर्नुपर्छ ।२२. हे भक्त ! अल्लाहसँग अन्य कसैलाई पूज्य नबनाऊ । यसो गर्छौ भने तिमी अल्लाहको नजरमा तिरस्कृत हुनेछौ र सत्कर्मी भक्तहरूको नजरमा पनि । कसैले तिम्रो प्रशंसा गर्दैन, बरु अपमानित हुनेछौ । कोही सहयोगी पनि हुने छैन । २३. हे भक्त ! तिम्रा पालनकर्ताले आदेश दिनुभएको छ र अनिवार्य गर्नुभएको छ- अल्लाहबाहेक कसैको भक्ति नगर, आमा बुवासँग राम्रो व्यवहार गर, विशेषरूपमा जब उनीहरू बुढेसकालमा पुग्छन् । यदि ती दुवैमध्ये एक वा दुवै तिम्रो उपस्थितिमा बुढेस कालमा पुग्छन् भने उनीहरूलाई उफ् ! समेत नभन, न उनीहरूलाई हप्काऊ बरु उनीहरूसित आदरपूर्वक र नम्रतापूर्वक कुरा गर ।२४. आमा बुवासँग नम्रता र दयापूर्ण व्यवहार गर । प्रार्थना गर– हे मेरा पालनकर्ता ! उहाँहरूमाथि दया गर्नुहोस् । किनभने उहाँहरूले बाल्यकालमा मेरो पालनपोषण गरेका थिए ।२५. हे मानव ! तिमीहरूको मनमा भएका अल्लाहको भक्ति भाव, सत्कर्ममा निष्कपटता र आमा बुवासँग राम्रो व्यवहार जस्ता कुराहरूसित अल्लाह राम्ररी अवगत हुनुहुन्छ । यदि तिमीहरूको मनसाय अल्लाहको भक्ति र आमा बुवासँग राम्रो व्यवहार इत्यादिमा राम्रो रहन्छ भने अल्लाह तौबा गर्नेहरूलाई माफ गर्नुहुन्छ । अल्लाहको आज्ञापालन र आमा बुवाको सेवामा भएका अघिल्ला गलतीहरूको बारेमा तौबा गर्नेहरूलाई अल्लाहले माफ गर्नुहुन्छ । २६. हे मोमिन ! नातेदार, दीन-दुःखी र यात्रामा अलपत्र परेकाहरूलाई उनीहरूका हक-अधिकार प्रदान गर । आफ्नो धन-सम्पत्ति पाप-कर्ममा खर्च नगर वा न अपब्यय गर ।२७. पाप-कर्ममा खर्च गर्ने र अपब्ययीहरू शैतानका भाइबन्धु हुन् । तिनीहरू अपब्यय गर्नमा शैतानका आज्ञापालन गर्छन् । शैतान आफ्ना पालनकर्ताको अवज्ञा गर्छ र उहाँलाई रिस दिलाउने काम गर्छ ।२८. यदि तिमीसँग नातेदार, गरीब, यात्रु इत्यादिमाथि खर्च गर्न केही छैन, जसले गर्दा उनीहरूमाथि खर्च गर्न सक्दैनौ भने उनीहरूसँग नम्रताका साथ कुरा गर । उदाहरणस्वरूप उनीहरूलाई फराकिलो जीविका प्राप्त होस् भन्ने दुआ गर । उनीहरूसँग के वाचा गर भने यदि तिमीहरूलाई जीविका प्राप्त हुन्छ भने उनीहरूलाई अवश्य प्रदान गर्नेछौ । २९. खर्च गर्नमा न त कञ्जुस्याईं गर न अपव्यय गर । तिमीहरूले कञ्जुस्याईं गरेमा मानिसहरूले निन्दा गर्नेछन् भने अपव्यय गरेमा खर्च गर्न केही पाउँदैनौ । ३०. निस्सन्देह अल्लाह जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ । उहाँले जसलाई चाहनुहुन्छ विशेष कारणले कम जीविका प्रदान गर्नुहुन्छ । निस्सन्देह उहाँ आफ्ना भक्तहरूसित राम्ररी अवगत हुनुहुन्छ र उनीहरूलाई हेरिराख्नुभएको छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँ जसरी चाहनुहुन्छ उनीहरूमाथि आदेश चलाउनुहुन्छ ।३१. तिमीहरूले भविष्यमा हुने गरीबीको आशङ्काले आफ्ना सन्तानको हत्या नगर । हामी नै उनीहरूलाई जीविका प्रदान गर्नेछौं र तिमीहरूलाई पनि जीविका प्रदान गर्छौं । निस्सन्देह उनीहरूको हत्या महापाप हो । किनभने सन्तानहरूको न कुनै दोष छ न हत्या गरिने कुनै कारण छ ।३२. व्यभिचार गर्नबाट सावधान ! व्यभिचारको लागि प्रेरित गर्ने कार्यबाट पनि टाढा बस । किनभने यो अति घृणित कार्य हो । यसले गर्दा वंशमा मिसावट हुन्छ र यसले अल्लाहको प्रकोपलाई निम्त्याउँछ ।३३. ईमान ल्याएको करणले र कसैले आश्रय दिएको कारणले अल्लाहले जोगाउनुभएका मानिसको हत्या नगर । अँ यस्ता मानिसहरूको हत्या मात्र वैध छ जो इस्लामबाट फिर्छ वा विवाहित हुँदा हुँदै व्यभिचार गर्छ वा कसैको हत्या गरेको कारणले उसमाथि किसास लागु हुन्छ । यदि कोही अत्याचारपूर्ण तरिकाले कसैको हत्या गर्छ भने हताहत भएको व्यक्तिको अभिभावकले किसास स्वरूप हत्यराको हत्या गर्ने माग गर्न सक्छ । अभिभावकले रक्त-मूल्य नलिएर पनि हत्यारालाई माफ गर्न सक्छ र रक्त-मूल्य लिएर पनि माफ गर्न सक्छ । अभिभावकलाई जियादती गर्ने अधिकार छैन, जस्तै हत्यारालाई हत्या गरेर टुक्रा टुक्रा पार्ने वा हत्याराले जुन तरिकाले हत्या गरेको छ त्यो भन्दा फरक तरिकाले हत्या गर्ने वा हत्यारालाई हत्या नगरेर अन्य कसैको हत्या गर्ने । यदि कसैले यस्तो गर्छ भने पीडितको मद्दत गरिनेछ ।३४. जुन बालकको बुवा बितेको छ त्यसको धन-सम्पत्तिलाई अनुचित तरिकाले नखाऊ । त्यस बालकको विकास र सुरक्षाको लागि खर्च गर । यहाँसम्म कि उसको जिउ र बुद्धि परिपक्व हुन पुगोस् । ती वाचाहरूलाई पूरा गर जो तिमीहरू तथा अल्लाहबीच छन् र जो तिमीहरू तथा भक्तहरूबीच छन् । न वचन भङ्ग गर न त्यसमा कमि गर । निस्सन्देह अल्लाहले महाप्रलयको दिन वाचा गर्नेहरूलाई सोध-पूछ गर्नुहुनेछ । वाचा पूरा गर्नेहरूलाई बदला दिनुहुनेछ र वाचा पूरा नगर्नेहरूलाई सजाय दिनुहुनेछ ।३५. अरूलाई नापतौल गरेर दिँदा पूरा नापतौल गरेर दिने गर र त्यसमा कमि नगर । सही तराजुले जोख्ने गर । पूरा पूरा नापतौल गर्नु नै लोक र परलोक दुवैको लागि र परिणामस्वरूप उत्तम हो । ३६. हे आदमका सन्तान ! ज्ञान नभएको कुराको पछि नलाग कि अनुमानको अनुसरण गर्न थाल । किनभने कान, आँखा र हृदयका प्रयोगको बारेमा सोध-पूछ गरिनेछ कि भलाइको काममा प्रयोग गरियो कि दुष्कर्ममा । भलाइको काममा प्रयोग गरेमा राम्रो बदला मिल्छ भने दुष्कर्ममा प्रयोग गरेमा सजाय मिल्छ ।३७. धर्तीमा घमण्ड र मपाईँ गर्दै नहिँड । घमण्ड गर्दै हिँडेमा तिमीले धर्तीलाई चिर्न सक्दैनौ र उँचाइमा पहाड बराबर पनि हुन सक्दैनौ । अनि तिमी कुन आधारमा घमण्ड गर्छौ ?!३८. हे मानव ! उक्त सबै कुकर्महरूलाई तिम्रा पालनकर्ताले मनाहि गर्नु भएको छ । यी कार्य गर्नेहरूलाई अल्लाह मन पराउनुहुन्न बरु घृणा गर्नुहुन्छ । ३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंमाथि जे जति आदेश, मनाहि र सन्देशहरू अवतरण गर्नुभएको छ त्यसमा विवेकहरू लुकेका छन् । हे मानव ! अल्लाहसित अन्य कसैलाई पूज्य नबनाऊ, अन्यथा तिमी महाप्रलयको दिन नर्कमा होमिनेछौ । तिमीमाथि तिम्रो आत्माले पनि धिक्कार्नेछ र मानिसहरूले पनि धिक्कार्नेछन् । तिमी सबै किसिमका भलाइबाट टाढा पारिनेछौ । ४०. फरिश्ताहरूलाई अल्लाहको छोरी ठहर गर्ने बहुदेववादीहरू हो ! के अल्लाहले तिमीहरूलाई छोरा प्रदान गर्नको लागि छान्नुभएको छ र आफ्ना लागि फरिश्ताहरूलाई छोरी ग्रहण गर्नुभएको छ ? तिमीहरूले भनेको कुराबाट अल्लाह अति उच्च हुनुहुन्छ । तिमीहरू अल्लाहको इन्कार गर्ने मनसायले उहाँको लागि छोरी ठहर गर्छौ । ४१. निस्सन्देह हामीले यस कुरआनमा विभिन्न प्रकारले आदेश र उपदेशहरू वर्णन गरेका छौं ताकि मानिसहरूले पाठ लेउन् । जुन कुरामा उनीहरूको फाइदा छ त्यसलाई ग्रहण गरुन् र जुन कुरामा हानि छ त्यसलाई त्यागुन् । तर तिनीहरूमध्ये जसको स्वभाव बिग्रेको छ सत्यबाट टाढा भाग्छन् र त्यसप्रति घृणा गर्छन् ।४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्ल) यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– तिमीहरूको झूठो भनाइ अनुसार यदि अल्लाहसँग अन्य ईश्वरहरू भएका भए तिनीहरूले अवश्य सिंहासनको मालिक अल्लाहमाथि विजय प्राप्त गर्न र उहाँसँग झगडा गर्नको लागि उहाँसम्म पुग्न कुनै न कुनै मार्ग खोजेर निकाल्ने थिए ।४३. बहुदेववादीहरूले रचेको र भनेका कुराहरूबाट अल्लाह पवित्र र अति उच्च हुनुहुन्छ ।४४. आकाश, पृथ्वी र तिनीहरूबीच रहेका सम्पूर्ण सृष्टिहरू अल्लाहको पवित्रताको गुणगान र प्रशंसा गर्दैछन् । तर तिनीहरू कसरी अल्लाहको पवित्रताको गुणगान गर्दैछन् भन्ने करालाई बुझ्दैनौ । तिमीहरू मात्र पवित्रताका ती गुणगानहरूलाई बुझ्छौ जुन तिमीहरूले आफ्ना जिब्राबाट गर्छौ । निस्सन्देह अल्लाह सहनशील हुनुहुन्छ, तुरुन्तै सजाय दिनुहुन्न । अल्लाह तौबा गर्नेहरूप्रति क्षमाशील हुनुहुन्छ ।४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जब तपाईं कुरआनको पाठ गर्नुहुन्छ र यी बहुदेववादीहरूले त्यसमा रहेका उपदेश र डरावा सुन्छन् तब हामीले तपाईं र महाप्रलयको दिनमाथि ईमान नराख्ने बहुदेववादीहरूबीच एउटा अदृश्य पर्दा कायम गरिदिन्छौं, जसले तिनीहरूलाई कुरआन बुझ्नबाट रोक्छ । तिनीहरू विमुख भएको सजाय स्वरूप हामी यस्तो गर्छौं ।४६. हामीले तिनीहरूका हृदयलाई पर्दाले ढाकिदिन्छौं ताकि तिनीहरू कुरआन बुझ्नै नसकुन् र तिनीहरूका कानमा बहिरोपन हालिदिन्छौं ताकि तिनीहरू त्यसबाट फाइदा उठाउने गरी सुन्न नसकुन् । जब तपाईंले कुरआनमा एक मात्र अल्लाहको चर्चा गर्नुहुन्छ र तिनीहरूले रचेका भगवानहरूको वर्णन गर्नुहुन्न तब तिनीहरू पिठ्यूँ फर्काएर अल्लाहलाई एक मान्नबाट टाढा भाग्छन् ।४७. तिनीहरूका अगुवाहरूले कसरी कुरआन सुन्छन् भन्ने कुरालाई हामी राम्ररी जान्दछौं । तिनीहरू मार्गदर्शन चाँहदैनन् । तपाईंले कुरआनको पाठ गर्दा तिनीहरू त्यसलाई हलुका लिन्छन् र त्यसमा बाधा उत्पन्न गर्ने प्रयास गर्छन् । तिनीहरू त्यसलाई झूठो ठहर गर्न र त्यसमा बाधा उत्पन्न गर्ने बारे जे जति कानेखुसी गर्छन् त्यसलाई हामी राम्ररी जान्दछौं । त्यतिखेर यी अत्याचारीहरू मनमा कुफ्र गर्दै भन्छन्– हे मानव ! तिमीहरू मात्र एकजना जादूपीडित र बुद्धिहीन व्यक्तिको अनुसरण गर्छौ ।४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूले तपाईंको बारेमा यस्ता नराम्रा कुराहरू भन्दैछन् जसमा तपाईंले विचार गर्दा तपाईंलाई आश्चर्य हुनेछ । तिनीहरू पथभ्रष्ट भए र सत्मार्ग पाउनै सक्दैनन् । ४९. बहुदेववादीहरूले पुनर्जन्मको इन्कार गर्दै भने– के जब हामी मरेर हाडखोड र टुक्रा-टुक्रा हुनेछौं तब हामी पुनः जीवित पारिनेछौं त ? यो असम्भव कुरा हो ।५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– हे बहुदेववादीहरू हो ! तिमीहरू कठोरतामा ढुङ्गा बन्न सक्छौ भने बन वा शक्तिमा फलाम बन्न सक्छौ भने बन । तिमीहरू कदापि ढुङ्गा वा फलाम बन्न सक्दैनौ ।५१. वा तिमीहरू यिनीहरूभन्दा पनि महान सृष्टि बन्न सक्छौ भने बन । तिमीहरू जे बने पनि अल्लाहले तिमीहरूलाई शुरुको अवस्थामा ल्याउनुहुनेछ र पुनः पहिला जस्तै सृष्टि गर्नुहुनेछ । यी शत्रुहरूले जवाफमा भन्नेछन्- मृत्युपछि हामीहरूलाई कसले जीवित पार्नुहुनेछ त ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- जसले तिमीहरूलाई पहिलो पटक बिना कुनै अघिल्लो उदाहरण सृष्टि गर्नुभयो उहाँले नै दोस्रो पटक पनि सृष्टि गर्नुहुनेछ । तपाईंको जवाफको ठट्टा गर्दै, टाउको हल्लाउँदै र यसलाई टाढा ठान्दै सोध्नेछन्–यो कहिले हुनेछ ?! भनिदिनुहोस्– यो चाँडै नै हुनेछ ! किनभने जुनसुकै वस्तु आउनेवाला छ त्यो नजिक नै हो ।५२. अल्लाहले तिमीहरूलाई त्यस दिन पुनर्जन्म गर्नुहुनेछ जुन दिन तिमीहरूलाई हश्रको मैदानमा बोलाउनुहुनेछ । अनि तिमीहरूले उहाँको आज्ञापालन गर्दै र प्रशंसा गर्दै हाजिर हुनेछौ । त्यस दिन तिमीहरूले संसारमा थोरै दिन बिताएका छौ भन्ने अनुमान गर्नेछौ ।५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मेरा मोमिन भक्तहरूलाई भनिदिनुहोस्- उनीहरूले वार्तालाप गर्दा राम्रो कुरा मात्र गर्ने गरुन् र घृणित तथा नराम्रा कुरा नगरुन् । वास्तवमा शैतानले मानवहरूबीच वैमनस्यता उत्पन्न गरेर उनीहरूका लोक र परलोक दुवैलाई बर्बाद पार्न चाहन्छ । निश्चय नै शैतान मानवको खुल्लम खुल्ला शत्रु हो । मानवले त्यसबाट सावधान रहनुपर्छ ।५४. हे मानव ! अल्लाह तिमीहरूको बारेमा सबै कुरा जान्नुहुन्छ । उहाँबाट तिमीहरूको कुनै पनि कुरा लुकेको छैन । उहाँले चाहनुभएमा तिमीहरूमाथि दया गर्दै ईमान ल्याउने र सत्कर्म गर्ने अवसर दिनुहुनेछ । उहाँले चाहनुभएमा तिमीहरूलाई ईमान ल्याउने अवसर नदिएर र कुफ्रमाथि मृत्यु गराएर यातनाको भागीदार बनाउनुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई मानिसहरूका कार्य-साधक बनाएर पठाएका छैनौ कि तपाईंले उनीहरूलाई ईमान ल्याउन बाध्य पार्नुहोस्, कुफ्रबाट रोक्नुहोस् र तिनीहरूका कर्महरूको गन्ती गर्नुहोस् । तपाईंको जिम्मेबारी तिनीहरूसम्म अल्लाहको आदेश अनुसार उहाँको सन्देश पुर्याउनु मात्र हो ।५५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूसँग अल्लाह राम्ररी अवगत हुनुहुन्छ । उहाँ तिनीहरूका अवस्थालाई जान्नुहुन्छ । तिनीहरू कुन कुराको हकदार छन् भन्ने कुरालाई पनि उहाँ जान्नुहुन्छ । हामीले केही सन्देष्टाहरूलाई बढी संख्यामा अनुयायी प्रदान गरेर र किताब प्रदान गरेर अन्य केही सन्देष्टाहरूमाथि श्रेष्ठता प्रदान गरेका छौं । हामीले नै दाऊद (अलैहिस्सलाम) लाई जबूर नामक किताब प्रदान गरेकाछौं ।५६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे बहुदेववादीहरू हो ! तिमीहरूको विचारमा अल्लाहबाहेक अन्य कोही ईश्वरहरू छन् भने कष्टको समयमा तिनीहरूलाई पुकारेर हेर । तिनीहरूमा केही पनि गर्ने क्षमता नभएकोले न त तिमीहरूको कष्ट निवारण गर्न सक्छन् न त्यसलाई सारेर अन्य कसैसम्म पुर्याउन सक्छन् । केही पनि गर्न सक्ने क्षमता नराख्ने ईश्वर हुन सक्दैन ।५७. तिनीहरू जुन फरिश्ताहरूलाई पुकार्छन् उनीहरू स्वयम् आफ्ना पालनकर्ताको निकटता प्राप्त गर्नका लागि सत्कर्म जस्ता माध्यम खोज्दैछन् र आज्ञापालन गर्दै यसको लागि प्रतीसप्रधा गर्दैछन् । उनीहरू अल्लाहको दयाको आशा राख्छन् र उहाँको यातनाबाट डराउँछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा तपाईंका पालनकर्ताको यातना यति भयावह छ कि त्यसबाट डर मान्नुपर्छ ।५८. काफिरहरू बसोबास गरेको जुनसुकै गाऊँ वा शहर छ, त्यसलाई हामीले सांसारिक जीवनमा तिनीहरूको कुफ्रको कारणले प्रकोप पठाएर ध्वस्त पार्यौं वा हत्या गरेर यातना दियौं । यो अल्लाहले निश्चित गर्नुभएको भाग्य हो जो लौहे महफूज (सुरक्षित बही खाता) मा लिपीबद्ध भइसकेको छ ।५९. बहुदेववादीहरूले गरेको माग अनुसार रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई हामीले भौतिक चमत्कारहरू जस्तै मृतलाई जीवित पार्नु, इत्यादि प्रदान गरेनौं । किनभने हामीले विगतका समुदायहरूतर्फ भौतिक चमत्कारहरू अवतरण गरेका थियौं तर तिनीहरूले झूठो ठहर गरेका थिए । हामीले समूद समुदायलाई ठूलो र स्पष्ट निशानीको रूपमा ऊँटनी प्रदान गरेका थियौं, तर तिनीहरूले झूठो ठहर गरे । अनि हामीले तुरुन्तै प्रकोप पठाएर तिनीहरूलाई समात्यौं । हामीले रसूलहरूको हातबाट जुनसुकै चमत्कारहरू पठाउँछौं त्यो उनीहरूका समुदायलाई डराउनको लागि पठाउँछौं ताकि तिनीहरूले इस्लाम ग्रहण गरुन् ।६०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) स्मरण गर्नुहोस् जब हामीले भन्यौं– निस्सन्देह तपाईंका पालनकर्ताले मानिसहरूलाई आफ्नो शक्तिबाट घेरामा लिनुभएको छ । तिनीहरू उहाँको नियन्त्रणमा छन् । अल्लाहले तपाईंलाई तिनीहरूबाट सुरक्षित राख्नुहुनेछ । तपाईंलाई जुन सन्देश पुर्याउने आदेश भएको छ त्यसको प्रचार प्रसार गर्नुहोस् । इस्रा (मक्कादेखि बैतुल्-मक्दिससम्म रातीको द्रुतगतिको यात्रा) मा हामीले तपाईंलाई जे जति देखायौं त्यो मानिसहरूका लागि परीक्षा थियो कि उनीहरू त्यसको पुष्टि गर्छन् वा झूठो ठहर गर्छन् ? कुरआनमा वर्णन गरिएको जक्कूम (सिउँडी) नामी तिरस्कार गरिएको रूखलाई मानिसहरूका लागि परीक्षा बनायौं । यो कृक्ष नर्कको जरोबाट उम्रनेछ । यदि तिनीहरूले यी दुई वटा निशानीहरूमा ईमान ल्याउँदैनन् भने तिनीहरूले अन्य निशानीहरूमा पनि ईमान ल्याउने छैनन् । हामी आफ्ना निशानीहरू अवतरण गरेर तिनीहरूलाई डराउँदैछौं तर चेतावनीले तिनीहरूको कुफ्र र पथभ्रष्टतामा नै वृद्धि गर्दछ ।६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् त्यस अवसरलाई जब हामीले फरिश्ताहरूलाई भन्यौं- आदम (अलैहिस्सलाम) लाई सलामी दिनको लागि सज्दा गर, उनको भक्तिको लागि होइन । तब आदेशको पालना गर्दै सबैले सज्दा गरे । तर इब्लीसले घमण्ड गर्दै सज्दा गर्न इन्कार गर्यो र भन्यो– के म यस्तो व्यक्तिलाई सज्दा गरुँ जसलाई तपाईंले माटोबाट सृष्टि गर्नुभयो र मलाई आगोबाट सृष्टि गर्नुभयो ?! म त्यसभन्दा श्रेष्ठ छु ।६२. इब्लीसले अल्लाहलाई भन्यो– के तपाईंले यस प्राणीमा विचार गर्नुभयो जसको सामु मलाई सज्दा गर्ने आदेश दिएर उसलाई ममाथि श्रेष्ठता प्रदान गर्नुभयो ? यदि तपाईंले मलाई यस लोकको अन्तसम्म जीवित राख्नुहुन्छ भने उसका सम्पूर्ण सन्तानलाई तपाईंको सीधा मार्गबाट बहकाउनेछु । मेरो बहकावाबाट तपाईंका थोरै निष्कपट भक्तहरू सुरक्षित रहनेछन् जसलाई तपाईंले जोगाउनुहुनेछ । ६३. अल्लाहले भन्नुभयो– तिमी र तिम्रो आज्ञापालन गर्नेहरू जाऊ । निस्सन्देह नर्क तिमी र तिनीहरूका कर्महरूको पूर्ण बदला हो । ६४. तिनीहरूमध्ये ज-जसलाई तिमी बहकाउन सक्छौ आफ्नो आवाजले बहकाऊ र अवज्ञा गर्ने आह्वान गर । तिनीहरूमाथि आफ्ना घोडसवार र पैदल हिंड्ने दुवैद्वारा जाइलाग र आफ्नो आज्ञापालनको आह्वान गर । इस्लामी कानुन विपरीत तिनीहरूका धन-सम्पत्तिलाई सुन्दर तुल्याऊ र साझेदार बन । झूठो वचन दिएर, व्यभिचार गराएर र शुरु गर्दा अल्लाहबाहेक अन्य कसैको दास बनाएर तिनीहरूका सन्तानमा पनि साझेदार बन । झूठो वचन र चाहनालाई सुन्दर तुल्याऊ । शैतानले तिनीहरूलाई दिएको वचन झूठो मात्र हो जसले गर्दा तिनीहरू धोका खान्छन् ।६५. हे इब्लीस ! मेरो आज्ञापालन गर्ने मोमिन भक्तहरूमाथि तिम्रो वश चल्ने छैन । किनभने अल्लाहले उनीहरूलाई तिम्रो दुष्टताबाट जोगाउनुहुनेछ । कार्य-साधकको रूपमा अल्लाह ती मानिसहरूका लागि पर्याप्त हुनुहुन्छ जसले आफ्ना मामिलाहरूमा उहाँमाथि भरोसा गर्छन् ।६६. हे मानव ! तिमीहरूका पालनकर्ता अल्लाह नै हुनुहुन्छ जसले समुद्रमा डुङ्गा गुड्न लगाउनुहुन्छ ताकि तिमीहरूले व्यापार इत्यादिद्वारा जीविका खोज । निस्सन्देह उहाँ तिमीहरूप्रति परम दयालु हुनुहुन्छ त्यसैले यी साधनहरू प्रदान गर्नुभयो ।६७. हे बहुदेववादीहरू हो ! जब समुद्रमा तिमीहरूमाथि सङ्कट आइलाग्छ र तिमीहरूको ज्यान नै जाने खतरा हुन्छ तब तिमीहरूले पूजा गर्ने गरेका सबै देवी देवताहरूलाई बिर्सेर मात्र अल्लाहलाई पुकार्छौ र उहाँसँग मद्दत खोज्दछौ । जब उहाँले सुरक्षित ढङ्गले तिमीहरूलाई भूमितर्फ पुर्याइदिनुहुन्छ तब तिमीहरू उहाँबाट विमुख हुन्छौ र मात्र उहाँलाई नपुकारेर देवी देवताहरूलाई पुकार्न थाल्छौ । मानव अल्लाहका वरदानहरूको इन्कार गर्नेगर्छ ।६८. हे बहुदेववादीहरू हो ! जब अल्लाहले तिमीहरूलाई जलबाट जोगाएर थलमा ल्याउनुभयो, के तिमीहरू यस कुराबाट निश्चिन्त छौ कि उहाँले तिमीहरूलाई धर्तीमा धँसाउनुहुनेछ वा तिमीहरूमाथि ढुङ्गा बर्साउनुहुनेछ, जसरी लूत (अलैहिस्सलाम) को समुदायमाथि बर्साउनुभयो ? उहाँले यस्तो गरेमा तिमीहरू आफूलाई यसबाट जोगाउने कुनै सहयोगी पाउने छैनौ ।६९. के तिमीहरू यस कुराबाट पनि निश्चिन्त छौ कि अल्लाहले तिमीहरूलाई फेरि समुद्रमा फिर्ता लिएर जानुहुनेछ र तिमीहरूमाथि कृतघ्नताले गर्दा भयानक आँधी पठाएर डुबाउनुहुनेछ ? यस्तो भयो भने तिमीहरूले त्यस बारेमा कसैलाई हामीसित सोधपूछ गर्नेवाला पाउने छैनौ ।७०. हामीले आदम (अलैहिस्सलाम) का सन्तानलाई बुद्धि प्रदान गरेर तथा उनीहरूका पूर्वजलाई फरिश्ताहरूद्वारा सज्दा गराएर सम्मानित तुल्याएका छौं । तिनीहरूलाई हामीले थलमा जनावर र गाडी जस्ता सवारी प्रदान गर्यौं र जलमा डुङ्गा जस्ता सवारी प्रदान गर्यौं । हामीले तिनीहरूलाई भोजन, पेयपदार्थ र विवाह जस्ता पवित्र जीविका प्रदान गर्यौं । हामीले सृष्टि गरेका धेरै वस्तुहरूमाथि तिनीहरूलाई स्पष्ट श्रेष्ठता प्रदान गर्यौं । तिनीहरूले यी वरदानहरूका लागि अल्लाहप्रति आभार प्रकट गर्नुपर्छ ।७१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनको कल्पना गर्नुहोस् जब हामीले प्रत्येक समूहलाई संसारमा रहेका उनका अगुवासहित बोलाउनेछौं । जसलाई उसको कर्म-पत्र दाहिने हातमा दिइनेछ ती व्यक्तिहरूले उल्लासका साथ आफ्नो कर्म-पत्र पढ्नेछन् । उनीहरूका पुण्यमा कण बराबर पनि कमि गरिने छैन । ७२. जो व्यक्ति यस लोकमा सत्यलाई स्वीकार गर्न र त्यसको पालना गर्नबाट अन्धो बनेर बस्नेछ त्यो महाप्रलयको दिन झन अन्धो बन्नेछ र स्वर्ग जाने मार्ग पाउने छैन बरु मार्ग विहीन भएर रहनेछ । कर्म अनुसार नै बदला मिल्ने गर्छ ।७३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि अवतरण गरेको कुरआनको वही (प्रकाशना) बाट यी बहुदेववादीहरूले तपाईंलाई पथभ्रष्ट गर्ने आँट गरेका थिए ताकि तपाईंले हाम्रो नाममा आफ्नो तर्फबाट अन्य कुनै कुरा रचेर पेश गर्नुहोस् जो तिनीहरूको चाहना अनुसार होस् । तपाईंले यस्तो गरेको भए तिनीहरूले पक्कै तपाईंलाई मित्र बनाउने थिए ।७४. यदि हामीले तपाईंलाई सत्यमाथि अडिग नपारेका भए तपाईंले तिनीहरूतर्फ केही हदसम्म झुक्नु हुन्थ्यो र तिनीहरूको चलखेलले गर्दा तथा यस कुराको चाहनामा तिनीहरूको कुराको पुष्टि गर्नुहुन्थ्यो कि तिनीहरूले ईमान ल्याउन् । तर हामीले यसबाट तपाईंलाई जोगायौं । ७५. यदि तपाईं तिनीहरूतर्फ झुक्नुहुन्थ्यो भने हामीले तपाईंलाई यस लोकमा पनि दुईगुणा यातनाको स्वाद चखाउने थियौं र परलोकमा पनि । त्यतिखेर मेरो यातनाबाट जोगाउने कुनै सहयोगी पाउनुहुन्न थियो ।७६. काफिरहरू शत्रुताले गर्दा तपाईंलाई मक्काबाट निष्कासित गर्न बाध्य पार्दै थिए । तर अल्लाहले यसबाट रोक्नुभयो । यहाँसम्म कि तपाईंले अल्लाहको आदेशबाट मक्काबाट हिज्रत (बसाइँ-सराई) गर्नुभयो । यदि तिनीहरूले तपाईंलाई त्यहाँबाट निष्कासित गरेका भए तपाईंको निष्कासनपछि तिनीहरू केही दिन मात्र बस्न सक्ने थिए ।७७. तपाईंलाई निष्कासित गरेपछि तिनीहरू केही दिन सम्म मात्र त्यहाँ बस्ने थिए भन्ने कुरा हाम्रो सुन्नत (कानुन) हो जसलाई हामीले तपाईंभन्दा पहिले पठाएका आफ्ना रसूलहरूमाथि लागु गर्दै आएका छौं । जब जब कुनै समुदायले आफ्नो रसूललाई निष्कासित गर्यो तब तब अल्लाहले त्यसमाथि आफ्नो प्रकोप अवतरण गर्नुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले हाम्रो सुन्नतमा कुनै परिवर्तन पाउनुहुन्न । ७८. पूर्णरूपमा समयको पालनाका साथ सलाह कायम गर । सूर्य ढल्केपछि सलाह कायम गर, यसमा जुहर र अस्रको सलाह पर्दछन् । राति पूरै अंध्यारो हुञ्जेलसम्म सलाह कायम गर । यसमा मग्रिब र इशाको सलाह पर्दछन् । फज्रको सलाह कायम गर र त्यसमा कुरआनको लामो पाठ गर । निस्सन्देह फज्रको सलाहमा राति र दिन दुवैका फरिश्ताहरू हाजिर हुन्छन् ।७९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम !) रातको केही भागमा तहज्जुद पढ्ने गर्नुहोस् । यो अतिरिक्त सलाहले तपाईंको स्थानलाई उच्च पार्नेछ । तपाईंका पालनकर्ताले महाप्रलयको दिन तपाईंलाई सिफारिशकर्ता बनाउनुहुनेछ । तपाईले महाप्रलयको भयावह घडीमा मानिसहरूको सिफारिश गर्नुहुनेछ । तपाईंको लागि सिफारिशको उच्च स्थान हुनेछ जसको प्रशंसा शुरुदेखि लिएर अन्तसम्मका मानिसहरूले गर्नेछन् ।८०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! प्रार्थना गर्नुहोस्– हे मेरा पालनकर्ता ! मलाई जहाँ पनि लिएर जानुहोस् र जहाँबाट पनि निकाल्नु होस् आफ्नो आज्ञापालन र खुशीका साथ निकाल्नुहोस् । आफ्नो तर्फबाट मलाई यस्तो प्रमाण प्रदान गर्नुहोस् जसले गर्दा शत्रुविरुद्ध सहयोगी पुगोस् ।८१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्– इस्लाम धर्मको विजय भयो । अल्लाहको सहयोग आइ पुग्यो । शिर्क र कुफ्र निर्मूल भयो । सत्यको अगाडि असत्य निर्मूल नै हुन्छ । ८२. हामी यस्तो कुरआन अवतरण गरिरहेकाछौं जो हृदयहरूमा रहेका अज्ञानता, कुफ्र र शङ्काको उपचार हो । इन्द्रेणीमाथि पढेर फुँक्दा त्यसको पनि उपचार गर्छ । कुरआन ती मोमिनहरूका लागि दया हो जो त्यस अनुसार कर्म गर्छन् । यसले काफिरहरूको बर्बादीमा मात्र अभिवृद्धि गर्छ । किनभने जब तिनीहरू यसलाई सुन्छन् तब तिनीहरूको रिस, झूठो ठहर गर्ने र विमुख हुने कार्यमा नै अभिवृद्धि हुन्छ ।८३. जब हामी मानवलाई स्वास्थ्य र धन जस्ता वरदानहरू प्रदान गर्छौं तब ऊ हामीप्रति आभार र आज्ञापालन गर्नबाट विमुख हुन्छ र घमण्ड गर्दै टाढा भाग्छ । तर जब उसलाई रोग र गरीबी जस्तो कुनै कष्ट पुग्छ तब ऊ अल्लाहको कृपाबाट अति नै निराश हुन्छ ।८४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– प्रत्येक व्यक्ति त्यसै प्रकार कार्य गर्छ जति ऊ मार्गदर्शन र पथभ्रष्टतामा हुन्छ । कुन व्यक्ति सीधा मार्गमा छ भन्ने कुरा अल्लाहले नै राम्ररी जान्नुहुन्छ ।८५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यहूदी र ईसाईमध्ये काफिरहरू तपाईंसित रूह (आत्मा) को वास्तविक्ता बारे सोध्छन् । भनिदिनुहोस्– रूहको वास्तविक्ता अल्लाहलाई मात्र थाहा छ । तिमीहरू र सबै सृष्टिलाई अल्लाहको तर्फबाट एकदमै कम ज्ञान दिइएको छ ।८६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम !) तपाईंतर्फ अवतरण गरेका वही (प्रकाशना) लाई छाती र किताबबाट हामीले समाप्त पार्न चाहेमा समाप्त पार्न सक्छौं । अनि तपाईंले आफ्नो लागि कुनै सहयोगी पाउनुहुन्न, जसले यसलाई फिर्ता ल्याएर देओस् ।८७. तर अल्लाहले आफ्नो कृपाले गर्दा तपाईंबाट वही खोस्नु भएन बरु यसलाई सुरक्षित छोड्नुभयो । वास्तवमा तपाईंमाथि अल्लाहको ठुलो कृपा छ । जस्तो कि उहाँले तपाईंलाई रसूल बनाउनुभयो, तपाईंमाथि ईश्दूतत्व समाप्त पार्नुभयो र तपाईंमाथि कुरआन अवतरण गर्नुभयो ।जब बहुदेववादीहरूले कुरआनलाई मानवको वाणी ठानेर यसमा फेरबदल गर्ने प्रस्ताव राखे तब अल्लाहले यस जस्तो वाणी ल्याउन चुनौति दिनुभयोः ८८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यदि मनुष्य र जिन्न सबै मिलेर यस कुरआन जस्तो शुद्ध, सन्तुलित र साहित्यिक किताब ल्याउने प्रयास गरे पनि ल्याउन सक्ने छैनन् चाहे तिनीहरू आपसमा एक अर्काको सहयोग नै किन नगरुन् ।८९. हामीले यस कुरआनमा मानवलाई प्रशिक्षण दिनका लागि हरेक प्रकारको उपदेश, पाठ, आदेश, मनाहि र सत्य कथा प्रस्तुत गरेका छौं । यस आशाका साथ कि मानवले ईमान ल्याउन् । तर अधिकांश मानिसहरूले इन्कार गरे । तिनीहरूले कुरआनलाई झूठो ठहर गरे । जब तिनीहरू कुरआन जस्तो वाणी ल्याउन सकेनन् तब तिनीहरूले निम्न खालका प्रस्तावहरू प्रस्तुत गर्न थालेः९०. बहुदेववादीहरूले भने– हामी तपाईंमाथि ईमान ल्याउँदैनौं जब सम्म तपाईंले मक्काको भूमिबाट हाम्रो लागि यस्तो मूल फुटाउनु हुन्न जसको पानी सधैं बगि रहोस् ।९१. वा तपाईंसँग खजुर र अंगुरको यस्तो बगैंचा हुनुपर्छ जसको बीचमा नहरहरू कलकल बगिरहेका होउन् । ९२. वा तपाईंले गरेको दावी अनुसार आकाशलाई फुटाएर प्रकोप ल्याउनुहोस् । वा अल्लाह र फरिश्ताहरूलाई ल्याएर हाम्रा सामुन्ने साक्षातरूपमा खडा गर्नुहोस् जसले तपाईंले गरेको दावी ठीक हो भनेर गवाही देउन् ।९३. वा तपाईंको सुन इत्यादिको घर होस् । वा तपाईं आकाशमाथि चढ्नुहोस् । हामी तपाईंले चढेको कुरालाई पनि विश्वास गर्दैनौं जबसम्म तपाईंले त्यहाँबाट कुनै किताब अवतरण गर्नुहुन्न जसमा यो कुरा लेखेको होस् कि तपाईं अल्लाहका रसूल हुनुहुन्छ, जसलाई हामी स्वयम् पढौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– मेरा पालनकर्ता पवित्र हुनुहुन्छ । म त अन्य रसूलहरू जस्तै मानव र रसूल हुँ । म केही पनि ल्याउने सामर्थ्य राख्दिन । अनि तिमीहरूले प्रस्ताव गरेको वस्तु कसरी ल्याउन सक्छु त ?!९४. काफिरहरूले अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याउन र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देश अनुसार कर्म गर्न यस कारणले इन्कार गरे कि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) मानव हुनुहुन्थ्यो । तिनीहरूले भने– के अल्लाहले एकजना मानवलाई हामीतर्फ रसूल बनाएर पठाउनुभयो त ?!९५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको खण्डन गर्दै भनिदिनुहोस्– यदि धर्तीमा फरिश्ताहरू निश्चिन्त भई हिंड्डोल र बसोबास गरेका भए हामीले तिनीहरूसमक्ष आकाशबाट कुनै फरिश्तालाई नै रसूल बनाएर पठाउने थियौं । किनभने उनीहरूले नै अल्लाहको सन्देशलाई बुझाउन सक्थे ।९६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म र तिमीहरूबीच अल्लाह नै साक्षीको रूपमा पर्याप्त हुनुहुन्छ कि म उहाँको रसूल हुँ र मैले उहाँको सन्देश तिमीहरूसमक्ष पुर्याइ सकेको छु । उहाँ आफ्ना भक्तहरूका अवस्थाहरूबारे पूर्ण ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँ उनीहरूका मनमा लुकेका कुराहरू पनि देखि राख्नुभएको छ ।९७. जसलाई अल्लाहले मार्गदर्शन गर्नुहुन्छ मात्र त्यो व्यक्ति मार्गदर्शन पाउँछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसलाई अल्लाहले अपमानित र पथभ्रष्ट गर्नुहुन्छ उसको लागि तपाईंले सत्मार्ग देखाउने, हानिलाई टार्ने र फाइदा पुर्याउने मित्र पाउनुहुन्न । हामीले तिनीहरूलाई महाप्रलयको दिन घोप्टो पारेर एकत्रित गर्नेछौं, न तिनीहरू देख्न सक्नेछन्, न बोल्न सक्नेछन् र न सुन्न सक्नेछन् । तिनीहरूको बास-स्थान नर्क हुनेछ । जब जब नर्कको आगो निभ्न थाल्नेछ तब तब हामीले त्यसको ज्वालालाई सल्काउनेछु ।९८. यो हुनेछ तिनीहरूको सजाय । किनभने तिनीहरूले हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित निशानीहरूको इन्कार गरे । साथै पुनर्जन्मालाई टाढा ठान्दै भने– के जब हामी सडेर हाडका टुक्रा टाक्री हुन पुग्नेछौं तब हाम्रो पुनर्जन्म एउटा नयाँ सृष्टिको रूपमा हुनेछ त ?तिनीहरूको इन्कारको वर्णनपछि त्यसको खण्डन गर्दै अल्लाहले भन्नुभयोः९९. के पुनर्जन्मको इन्कार गर्नेहरूले जानेनन्– जुन अल्लाहले यति महान आकाशहरू र पृथ्वीको सृजना गर्नुभयो उहाँ त्यस्तै र त्यसभन्दा सानो वस्तुलाई सृजना गर्ने अवश्य नै सामर्थ्य राख्नुहुन्छ ? उहाँले उनीहरूका लागि संसारमा एउटा समय निर्धारित गर्नुभएको छ, जो एक दिन समाप्त हुन्छ । उनीहरूको पुनर्जन्मको लागि उहाँले एउटा समय निर्धारित गर्नुभएको छ जसमा कुनै सन्देह छैन । तर बहुदेववादीहरूले पुनर्जन्मका स्पष्ट निशानीहरूका बावजुद त्यसको इन्कार गरे ।१००. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– यदि कहिले समाप्त नहुने मेरा पालनकर्ताको दयाको खजाना पनि तिमीहरूसँग भएको भए तिमीहरूले त्यसलाई समाप्त हुने डरले रोकेर राख्ने थियौ र खर्च गर्ने थिएनौ । ताकि तिमीहरू गरीब नहोऊ । कञ्जुस हुनु मानवको स्वभाव हो । मोमिनहरूको कुरा बेग्लै छ । उनीहरू पुण्य पाउने आशाले खर्च गर्नेगर्छन् ।जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई बहुदेववादीहरूले झूठो ठहर गरेर दुःख दिए तब अल्लाहले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को सान्त्वनाको लागि मूसा (अलैहिस्सलाम) को सत्य कथा अवतरण गर्नुभयो र भन्नुभयोः१०१. हामीले मूसा (अलैहिस्सलाम) लाई नौ वटा स्पष्ट प्रमाणहरू प्रदान गर्यौं । ती प्रमाणहरू थिएः लौरो, हात, सुख्खा, फलको कमि, बाढी, सलह, उडुस, भ्यागुतो र रगत । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यहूदीलाई सोध्नुहोस्- जब मूसा (अलैहिस्सलाम) तिनीहरूका पूर्वजसमक्ष ती प्रमाणहरू लिएर आए तब फिरऔनले उनलाई भन्यो– हे मूसा ! म तिमीलाई जादूपीडित ठान्दछु । किनभने तिमी यी अचम्मका कुराहरू लिएर आएका छौ ।१०२. मूसा (अलैहिस्सलाम) ले उसको खण्डन गर्दै भने– तिमीलाई थाहा छ कि यी स्पष्ट निशानीहरू मात्र आकाशहरू र पृथ्वीका पालनकर्ताले आफ्नो सामर्थ्यको प्रमाणस्वरूप र आफ्नो रसूलको पुष्टिको लागि अवतरण गर्नुभएको छ । तर तिमी यसको इन्कार गर्छौ । हे फिरऔन ! मलाई थाहा छ तिमी विनाश भएको व्यक्ति हौ ।१०३. फिरऔनले मूसा (अलैहिस्सलाम) र बनी इस्राईललाई मिस्रको भूमिबाट निष्कासित गरेर सजाय दिने विचार गर्यो तर हामीले ऊसमेत ऊसँग रहेका सबै सैनिकहरूलाई डुबाइदियौं ।१०४. फिरऔन र ऊसँग रहेका सैनिकहरूलाई विनाश गरेपछि हामीले बनी इस्राईललाई भन्यौं– सीरियाको भूभागमा बसोबास गर । अनि जब महाप्रलयको वाचा आइपुग्छ हामी तिमीहरू सबैलाई हिसाबको लागि हश्रको मैदानमा जम्मा गरेर ल्याउनेछौं ।१०५. हामीले यस कुरआनलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि सत्यका साथ अवतरण गर्यौं र त्यो सत्यकै साथ बिना कुनै फेरबदल अवतरण भएको छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई मात्र ईशभय राख्नेहरूलाई स्वर्गको शुभ-सूचना दिन र काफिर र अवज्ञाकारीहरूलाई नर्कबाट सचेत गर्न पठाएका छौं ।१०६. यस कुरआनलाई हामीले थोरै-थोरै गरी स्पष्टरूपमा अवतरण गरेका छौं । यस आशाका साथ कि तपाईंले मानिसहरूलाई समयको अन्तरालमा पढेर सुनाउनुहोस् । किनभने यसलाई बुझ्न र यसमा चिन्तन-मनन गर्नको लागि सजिलो पारिएको छ । हामीले यसलाई क्रमिकरूपमा अवस्था र घटना अनुसार अवतरण गरेका छौं ।१०७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– तिमीहरू यसमाथि ईमान ल्याए पनि तिमीहरूको ईमानमा बृद्धि हुँदैन । तिमीहरूले ईमान नल्याए पनि तिमीहरूको कुफ्रमा कमि हुँदैन । वास्तवमा जुन मानिसहरूले विगतका आकाशीय किताबहरू पढेका छन् र वही (प्रकाशना) तथा ईशदूतत्वबाट अवगत छन्, जब उनीहरूसमक्ष यसको पाठ गरिन्छ तब अल्लाहप्रति आभार प्रकट गर्नको लागि सज्दामा खस्छन् ।१०८. उनीहरू सज्दामा भन्छन्– हाम्रा पालनकर्ता वचन भङ्ग गर्नबाट पवित्र हुनुहुन्छ । उहाँले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमनको बारेमा जुन वाचा गर्नुभएको छ त्यसलाई अवश्य पूरा गर्नुहुनेछ ।१०९. उनीहरू अल्लाहको डरले गर्दा रुँदै घोप्टो पर्छन् । कुरआन सुन्दा र यसको अर्थमा विचार गर्दा उनीहरूको विनम्रतामा झन् बृद्धि हुन्छ । ११०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हे अल्लाह हे रहमान भनेर दुआ गर्दा रोक्नेहरूलाई भनिदिनुहोस्– अल्लाह र अर्रहमान अल्लाहका दुईवटा नामहरू हुन् । तिमीहरूले अल्लाहलाई उहाँका यी दुईवटा नामहरूबाट पुकार्न सक्छौ र अन्य नामहरूबाट पनि पुकार्न सक्छौ । अल्लाहका धेरै सुन्दर नामहरू छन् । आफ्नो सलाहमा अति उच्च स्वरमा कुरआनको पाठ नगर्नुहोस् कि बहुदेववादीहरूले सुनुन् र अति निम्न स्वरमा पनि पाठ नगर्नुहोस् कि मोमिनहरूले सुन्न नसकुन् । बरु यी दुवैका बीचको मार्ग अपनाउनुहोस् ।१११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । उहाँ हरेक किसिमका प्रशंसाका हकदार हुनुहुन्छ । उहाँ पुत्र ग्रहण गर्नबाट पवित्र हुनुहुन्छ र साझेदारबाट पनि पवित्र हुनुहुन्छ । उहाँको सत्ता-शासनमा कोही साझेदार छैन । उहाँलाई कसैले पनि र कहिल्यै अपमानित गर्न सक्दैन । उहाँलाई न त सहयोगीको आवश्यक्ता छ न शक्ति पुर्याउने व्यक्तिको । अल्लाहको खुबै महिमागान गर । उहाँको लागि कसैलाई पुत्र, साझेदार र सहयोगी नबनाऊ ।
१. अल्लाह पवित्र र महान हुनुहुन्छ ती शक्तिहरूको कारणले जो अरू कसैलाई प्राप्त छैन । उहाँले नै आफ्ना भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई उहाँको आत्मा र जिउका साथ जागेको अवस्थामा रातको एक भागमा प्रतिष्ठित मस्जिद (काबा) देखि बैतुल मक्दिसको भ्रमण गराउनुभयो । अल्लाहले नै यसको वरिपरि फल फुल र सन्देष्टाहरूका चिहान स्थापित गरेर यसलाई बर्कतमय तुल्याउनुभयो । ताकि तिनीहरूलाई आफ्नो शक्तिलाई स्पष्ट पार्ने निशानीहरू देखाउनुभयो । निस्सन्देह अल्लाह सर्वश्रोता हुनुहुन्छ, कुनै पनि सुनिने वस्तु उहाँबाट लुकेको छैन । उहाँ सर्वद्रष्टा हुनुहुन्छ, कुनै पनि देखिने वस्तु उहाँबाट लुकेको छैन ।
२. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं र त्यसलाई बनी इस्राईलका लागि मार्गदर्शक बनायौं । हामीले बनी इस्राईललाई भन्यौं- मबाहेक अरू कसैलाई आफ्नो कार्य-साधक नबनाऊ । आफ्नो मामिला अन्य कसैलाई हस्तान्त्रण नगर, मात्र ममाथि भरोसा गर ।
३. तिमीहरू ती मानिसहरूका सन्तान हौ जसलाई हामीले नूह (अलैहिस्सलाम) सँग बाढीमा डुब्नबाट जोगाएका थियौं । तिमीहरू यस कृपालाई याद राख र मात्र अल्लाहको भक्ति र आज्ञापालन गरेर उहाँप्रति आभार प्रकट गर । यसबारेमा नूह (अलैहिस्सलाम) को अनुसरण गर । उनी अल्लाहप्रति धेरै आभार प्रकट गर्थे ।
४. हामीले बनी इस्राईललाई तौरातमा खबरदार गर्यौं- तिमीहरूले धर्तीमा अवश्य नै अवज्ञा गरेर दुई पटक आतङ्क मच्चाउनेछौ र घमण्ड, अत्याचार तथा सीमा उल्लङ्घन गरेर मानिसहरूमाथि विजय प्राप्त गर्नेछौ ।
५. जब तिनीहरूले पहिलो पटक आतङ्क मच्चाए तब हामीले तिनीहरूमाथि शक्तिशाली भक्तहरूलाई तैनात गर्यौं, जसले तिनीहरूको हत्या गरे, तिनीहरूको घरहरूभित्र पुगेर आतङ्क मच्चाए र घरबाट बाहिर निकाले । यसरी अल्लाहको वचन निश्चित रूपमा पूरा भयो ।
६. हे बनी इस्राईल ! जब तिमीहरूले तौबा गर्यौ तब हामीले तिमीहरूलाई तिमीहरूले गुमाएका देश, सत्ता, धन-सम्पत्ति र सन्तान फिर्ता दियौं । तिमीहरूको संख्याँ शत्रुहरूभन्दा बढी गर्यौं ।
७. हे बनी इस्राईल ! तिमीहरूले सत्कर्म गर्छौ भने त्यसको फाइदा तिमीहरूलाई नै पुग्नेछ । अल्लाहलाई तिमीहरूको सत्कर्मको आवश्यक्ता छैन । तिमीहरूले कुकर्म गर्छौ भने त्यसको सजाय तिमीहरूले नै भोग्नुपर्छ । त्यसले गर्दा अल्लाहलाई कुनै हानि पुग्दैन । जब तिमीहरूले दोस्रो पटक आतङ्क मच्चायौ तब हामीले शक्तिशाली भक्तहरूलाई फेरि तिमीहरूमाथि तैनाथ गर्यौं । ताकि तिनीहरूले तिमीहरूलाई अपमानित गरुन् र विभिन्न तरिकाले कष्ट पुर्याएर तिमीहरूको अनुहारहरूलाई बिगारुन् । जसरी तिनीहरूले पहिलो पटक बैतुल्-मक्दिसमा पसेर तोड फोड गरेका थिए त्यसरी नै दोस्रो पटक पनि त्यसमा पसेर तोड फोड गरुन् र पूरा देशलाई नै तहस नहस पारुन् ।
८. हे बनी इस्राईल ! यदि तिमीहरू यस कडा बदलापछि तौबा गर्छौ र सत्कर्म गर्छौ भने आशा छ अल्लाहले तिमीहरूमाथि दया गरुन् । यदि तिमीहरू तेस्रो पटक वा त्यो भन्दा बढी आतङ्क मच्चाउँछौ भने हामी फेरि तिमीहरूबाट बदला लिनेछौं । काफिरहरूका लागि हामीले नर्कलाई बास-स्थान बनाएका छौं ।
९. वास्तवमा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित भएको यो कुरआन विभिन्न मार्गहरूबीच बिलकुल सीधा मार्ग इस्लाम देखाउँछ । यसले सत्कर्मी मोमिनहरूलाई अल्लाहको तर्फबाट महान बदलाको शुभ-सूचना दिन्छ ।
१०. महाप्रलयमाथि ईमान न ल्याउनेहरूलाई यसले दुःखदायी यातनाको सूचना दिन्छ ।
११. मानव रिसाएको बेला अज्ञानतामा आफ्नो र आफ्नो सन्तान र धन-समपत्तिको कुभलो लागि यसरी प्रार्थना गर्छ जसरी आफ्नो भलोको लागि प्रार्थना गर्नु पर्ने थियो । यदि हामीले उसको कुभलोको लागि गरेको प्रार्थना स्वीकार गरेका भयौं ऊ बर्बाद हुने थियो र उसका सन्तान तथा धन-सम्पत्ति पनि बर्बाद हुने थिए । वास्तवमा मानवको प्राकृतिमा नै हतार गर्ने बानि बसेको छ । त्यसैले ऊ कहिले यस्तो कार्यको लागि हतार गर्छ जसमा उसको हानि हुन्छ ।
१२. हामीले रात तथा दिनलाई दुईवटा निशानीको रूपमा बनाएका छौं जसले के प्रमाणित गर्छ भने अल्लाह एक मात्र हुनुहुन्छ र उहाँ शक्तिशाली हुनुहुन्छ । रात र दिन कहिले लामो हुन्छन् भने कहिले छोटो, कहिले तातो हुन्छ भने कहिले चिसो । हामीले रातलाई अँध्यारो बनायौं ताकि त्यसमा तिमीहरू आराम गर । हामीले दिनलाई प्रकाशमय बनायौं ताकि तिमीहरूले आफ्नो भाग्यमा रहेका जीविका खोज । ताकि दिन र रातको पालै पालो आवत जावतले तिमीहरू वर्षहरूको संख्या, महिना, दिन र घण्टाको हिसाब जान्न सक । हामीले प्रत्येक वस्तुलाई विस्तृतरूपमा स्पष्ट पारेका छौं र सत्यलाई असत्यबाट स्पष्ट पारेका छौं ।
१३. प्रत्येक मनुष्यले गर्ने कार्यहरूलाई हामीले यसरी त्यससँग टाँसेका छौं जसरी उसको गर्धनमा डोरी बाँधिएको हुन्छ । उसले गरेको सबै कार्यको हिसाब अनिवार्यरूपमा दिनै पर्नेहुन्छ । महाप्रलयको दिन उसको लागि हामीले एउटा बही (खाता) निकाल्नेछौं जसमा उसले गरेका सबै राम्रा तथा नराम्रा कर्महरूलाई स्पष्ट र खुल्ला पाउनेछ ।
१४. हामीले त्यसलाई भन्नेछौं– हे मानव ! आफ्नो कर्म-पत्र पढ । आफूले गरेका कार्यहरूको हिसाबको जिम्मेबारी आफैंमाथि लेऊ । महाप्रलयको दिन तिमी आफ्नो हिसाब आफैं गर्न पर्याप्त छौ ।
१५. जसले ईमानको मार्ग ग्रहण गर्छ उसको मार्गदर्शनको पुण्य उसैलाई प्राप्त हुन्छ । जो पथभ्रष्ट हुन्छ, पथभ्रष्टताको सजाय उसैले भोग्नुपर्छ । कसैले पनि अन्य कसैको पापको भारी बोक्ने छैन । जबसम्म हामी कुनै समुदायतर्फ रसूलहरू पठाएर प्रमाण प्रमाणित गर्दैनौं तबसम्म त्यसलाई यातना दिँदैनौं ।
१६. जब हामी कुनै अत्याचारी गाऊँलाई नष्ट गर्ने चाहना गर्छौं तब त्यहाँका सम्पन्न मानिसहरूलाई आज्ञापालन गर्ने आदेश दिन्छौं तर तिनीहरू आज्ञापालन गर्दैनन् बरु अवज्ञा गर्छन् । अनि तिनीहरूलाई जरोबाट समाप्त पार्ने प्रकोपको आदेश तिनीहरूमाथि लागु हुन्छ । अन्ततः हामी तिनीहरूलाई पूर्ण रूपमा नष्ट गरिदिन्छौं ।
१७. नूह (अलैहिस्सलाम) पछि हामीले कतिपय झूठा ठहर गर्ने समुदायहरूलाई नष्ट पारिदियौं, जस्तै आद र समूद समुदायहरूलाई । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंका पालनकर्ता आफ्ना भक्तहरूको पापहरूसँग पूर्ण रूपमा अवगत हुनुहुन्छ र त्यसलाई देखि राख्नुभएको छ । उहाँबाट केही पनि लुकेको छैन र उहाँले त्यसको बदला दिनुहुनेछ ।
१८. जुन मानिसहरू सत्कर्म गरेर त्यसबाट सांसारिक लाभ चाहन्छन् र आखिरतमाथि ईमान राख्दैनन् तथा त्यससँग वास्ता राख्दैनन्, हामीले तिनीहरूमध्ये जसलाई चाहन्छौं र जति वरदान चाहन्छौं त्यति चाँडै प्रदान गर्छौं । तर उसको भाग्यमा नर्क लेखिदिन्छौं जसमा तिनीहरू महाप्रलयको दिन फ्याँकिनेछन् र त्यसको आगोको स्वाद चाख्नेछन् । यो सजाय हामीले यस कारणले दिनेछौं कि तिनीहरूले सांसारिक जीवनलाई रोजे र आखिरतको इन्कार गरे । यसरी तिनीहरू अल्लाहको कृपाबाट टाढा पारिए ।
१९. जुन मानिसहरू परलोकको लागि सत्कर्म गर्छन्, त्यसको लागि सक्दो प्रयत्न गर्छन्, देखावटी र नाम कमाउने मनसाय राख्दैनन्, साथै जुन कुराहरूमाथि ईमान राख्न अनिवार्य छ ती कुराहरूमाथि ईमान राख्छन् त्यस्ता सबै मानिसहरूको प्रयन्तलाई अल्लाहले स्वीकार गर्नुहुनेछ र त्यसको बदला दिनुहुनेछ ।
२०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) हामीले दुष्कर्मी र सत्कर्मी दुवै समूहलाई आफ्नो वरदान खुबै र निरन्तर प्रदान गर्नेछौं । यो संसारमा सत्कर्मी र दुष्कर्मी कसैलाई पनि अल्लाहको वरदानबाट वञ्चित गरिदैन ।
२१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, कसरी हामीले कसैलाई अन्य कसैमाथि जीविका र स्थानमा प्रधानता प्रदान गरेका छौं । वरदान दिइने मामिलामा लोकभन्दा बढी अन्तर परलोकमा हुनेछ । मोमिनले परलोकको लागि लालच गर्नुपर्छ ।
२२. हे भक्त ! अल्लाहसँग अन्य कसैलाई पूज्य नबनाऊ । यसो गर्छौ भने तिमी अल्लाहको नजरमा तिरस्कृत हुनेछौ र सत्कर्मी भक्तहरूको नजरमा पनि । कसैले तिम्रो प्रशंसा गर्दैन, बरु अपमानित हुनेछौ । कोही सहयोगी पनि हुने छैन ।
२३. हे भक्त ! तिम्रा पालनकर्ताले आदेश दिनुभएको छ र अनिवार्य गर्नुभएको छ- अल्लाहबाहेक कसैको भक्ति नगर, आमा बुवासँग राम्रो व्यवहार गर, विशेषरूपमा जब उनीहरू बुढेसकालमा पुग्छन् । यदि ती दुवैमध्ये एक वा दुवै तिम्रो उपस्थितिमा बुढेस कालमा पुग्छन् भने उनीहरूलाई उफ् ! समेत नभन, न उनीहरूलाई हप्काऊ बरु उनीहरूसित आदरपूर्वक र नम्रतापूर्वक कुरा गर ।
२४. आमा बुवासँग नम्रता र दयापूर्ण व्यवहार गर । प्रार्थना गर– हे मेरा पालनकर्ता ! उहाँहरूमाथि दया गर्नुहोस् । किनभने उहाँहरूले बाल्यकालमा मेरो पालनपोषण गरेका थिए ।
२५. हे मानव ! तिमीहरूको मनमा भएका अल्लाहको भक्ति भाव, सत्कर्ममा निष्कपटता र आमा बुवासँग राम्रो व्यवहार जस्ता कुराहरूसित अल्लाह राम्ररी अवगत हुनुहुन्छ । यदि तिमीहरूको मनसाय अल्लाहको भक्ति र आमा बुवासँग राम्रो व्यवहार इत्यादिमा राम्रो रहन्छ भने अल्लाह तौबा गर्नेहरूलाई माफ गर्नुहुन्छ । अल्लाहको आज्ञापालन र आमा बुवाको सेवामा भएका अघिल्ला गलतीहरूको बारेमा तौबा गर्नेहरूलाई अल्लाहले माफ गर्नुहुन्छ ।
२६. हे मोमिन ! नातेदार, दीन-दुःखी र यात्रामा अलपत्र परेकाहरूलाई उनीहरूका हक-अधिकार प्रदान गर । आफ्नो धन-सम्पत्ति पाप-कर्ममा खर्च नगर वा न अपब्यय गर ।
२७. पाप-कर्ममा खर्च गर्ने र अपब्ययीहरू शैतानका भाइबन्धु हुन् । तिनीहरू अपब्यय गर्नमा शैतानका आज्ञापालन गर्छन् । शैतान आफ्ना पालनकर्ताको अवज्ञा गर्छ र उहाँलाई रिस दिलाउने काम गर्छ ।
२८. यदि तिमीसँग नातेदार, गरीब, यात्रु इत्यादिमाथि खर्च गर्न केही छैन, जसले गर्दा उनीहरूमाथि खर्च गर्न सक्दैनौ भने उनीहरूसँग नम्रताका साथ कुरा गर । उदाहरणस्वरूप उनीहरूलाई फराकिलो जीविका प्राप्त होस् भन्ने दुआ गर । उनीहरूसँग के वाचा गर भने यदि तिमीहरूलाई जीविका प्राप्त हुन्छ भने उनीहरूलाई अवश्य प्रदान गर्नेछौ ।
२९. खर्च गर्नमा न त कञ्जुस्याईं गर न अपव्यय गर । तिमीहरूले कञ्जुस्याईं गरेमा मानिसहरूले निन्दा गर्नेछन् भने अपव्यय गरेमा खर्च गर्न केही पाउँदैनौ ।
३०. निस्सन्देह अल्लाह जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ । उहाँले जसलाई चाहनुहुन्छ विशेष कारणले कम जीविका प्रदान गर्नुहुन्छ । निस्सन्देह उहाँ आफ्ना भक्तहरूसित राम्ररी अवगत हुनुहुन्छ र उनीहरूलाई हेरिराख्नुभएको छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँ जसरी चाहनुहुन्छ उनीहरूमाथि आदेश चलाउनुहुन्छ ।
३१. तिमीहरूले भविष्यमा हुने गरीबीको आशङ्काले आफ्ना सन्तानको हत्या नगर । हामी नै उनीहरूलाई जीविका प्रदान गर्नेछौं र तिमीहरूलाई पनि जीविका प्रदान गर्छौं । निस्सन्देह उनीहरूको हत्या महापाप हो । किनभने सन्तानहरूको न कुनै दोष छ न हत्या गरिने कुनै कारण छ ।
३२. व्यभिचार गर्नबाट सावधान ! व्यभिचारको लागि प्रेरित गर्ने कार्यबाट पनि टाढा बस । किनभने यो अति घृणित कार्य हो । यसले गर्दा वंशमा मिसावट हुन्छ र यसले अल्लाहको प्रकोपलाई निम्त्याउँछ ।
३३. ईमान ल्याएको करणले र कसैले आश्रय दिएको कारणले अल्लाहले जोगाउनुभएका मानिसको हत्या नगर । अँ यस्ता मानिसहरूको हत्या मात्र वैध छ जो इस्लामबाट फिर्छ वा विवाहित हुँदा हुँदै व्यभिचार गर्छ वा कसैको हत्या गरेको कारणले उसमाथि किसास लागु हुन्छ । यदि कोही अत्याचारपूर्ण तरिकाले कसैको हत्या गर्छ भने हताहत भएको व्यक्तिको अभिभावकले किसास स्वरूप हत्यराको हत्या गर्ने माग गर्न सक्छ । अभिभावकले रक्त-मूल्य नलिएर पनि हत्यारालाई माफ गर्न सक्छ र रक्त-मूल्य लिएर पनि माफ गर्न सक्छ । अभिभावकलाई जियादती गर्ने अधिकार छैन, जस्तै हत्यारालाई हत्या गरेर टुक्रा टुक्रा पार्ने वा हत्याराले जुन तरिकाले हत्या गरेको छ त्यो भन्दा फरक तरिकाले हत्या गर्ने वा हत्यारालाई हत्या नगरेर अन्य कसैको हत्या गर्ने । यदि कसैले यस्तो गर्छ भने पीडितको मद्दत गरिनेछ ।
३४. जुन बालकको बुवा बितेको छ त्यसको धन-सम्पत्तिलाई अनुचित तरिकाले नखाऊ । त्यस बालकको विकास र सुरक्षाको लागि खर्च गर । यहाँसम्म कि उसको जिउ र बुद्धि परिपक्व हुन पुगोस् । ती वाचाहरूलाई पूरा गर जो तिमीहरू तथा अल्लाहबीच छन् र जो तिमीहरू तथा भक्तहरूबीच छन् । न वचन भङ्ग गर न त्यसमा कमि गर । निस्सन्देह अल्लाहले महाप्रलयको दिन वाचा गर्नेहरूलाई सोध-पूछ गर्नुहुनेछ । वाचा पूरा गर्नेहरूलाई बदला दिनुहुनेछ र वाचा पूरा नगर्नेहरूलाई सजाय दिनुहुनेछ ।
३५. अरूलाई नापतौल गरेर दिँदा पूरा नापतौल गरेर दिने गर र त्यसमा कमि नगर । सही तराजुले जोख्ने गर । पूरा पूरा नापतौल गर्नु नै लोक र परलोक दुवैको लागि र परिणामस्वरूप उत्तम हो ।
३६. हे आदमका सन्तान ! ज्ञान नभएको कुराको पछि नलाग कि अनुमानको अनुसरण गर्न थाल । किनभने कान, आँखा र हृदयका प्रयोगको बारेमा सोध-पूछ गरिनेछ कि भलाइको काममा प्रयोग गरियो कि दुष्कर्ममा । भलाइको काममा प्रयोग गरेमा राम्रो बदला मिल्छ भने दुष्कर्ममा प्रयोग गरेमा सजाय मिल्छ ।
३७. धर्तीमा घमण्ड र मपाईँ गर्दै नहिँड । घमण्ड गर्दै हिँडेमा तिमीले धर्तीलाई चिर्न सक्दैनौ र उँचाइमा पहाड बराबर पनि हुन सक्दैनौ । अनि तिमी कुन आधारमा घमण्ड गर्छौ ?!
३८. हे मानव ! उक्त सबै कुकर्महरूलाई तिम्रा पालनकर्ताले मनाहि गर्नु भएको छ । यी कार्य गर्नेहरूलाई अल्लाह मन पराउनुहुन्न बरु घृणा गर्नुहुन्छ ।
३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंमाथि जे जति आदेश, मनाहि र सन्देशहरू अवतरण गर्नुभएको छ त्यसमा विवेकहरू लुकेका छन् । हे मानव ! अल्लाहसित अन्य कसैलाई पूज्य नबनाऊ, अन्यथा तिमी महाप्रलयको दिन नर्कमा होमिनेछौ । तिमीमाथि तिम्रो आत्माले पनि धिक्कार्नेछ र मानिसहरूले पनि धिक्कार्नेछन् । तिमी सबै किसिमका भलाइबाट टाढा पारिनेछौ ।
४०. फरिश्ताहरूलाई अल्लाहको छोरी ठहर गर्ने बहुदेववादीहरू हो ! के अल्लाहले तिमीहरूलाई छोरा प्रदान गर्नको लागि छान्नुभएको छ र आफ्ना लागि फरिश्ताहरूलाई छोरी ग्रहण गर्नुभएको छ ? तिमीहरूले भनेको कुराबाट अल्लाह अति उच्च हुनुहुन्छ । तिमीहरू अल्लाहको इन्कार गर्ने मनसायले उहाँको लागि छोरी ठहर गर्छौ ।
४१. निस्सन्देह हामीले यस कुरआनमा विभिन्न प्रकारले आदेश र उपदेशहरू वर्णन गरेका छौं ताकि मानिसहरूले पाठ लेउन् । जुन कुरामा उनीहरूको फाइदा छ त्यसलाई ग्रहण गरुन् र जुन कुरामा हानि छ त्यसलाई त्यागुन् । तर तिनीहरूमध्ये जसको स्वभाव बिग्रेको छ सत्यबाट टाढा भाग्छन् र त्यसप्रति घृणा गर्छन् ।
४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्ल) यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– तिमीहरूको झूठो भनाइ अनुसार यदि अल्लाहसँग अन्य ईश्वरहरू भएका भए तिनीहरूले अवश्य सिंहासनको मालिक अल्लाहमाथि विजय प्राप्त गर्न र उहाँसँग झगडा गर्नको लागि उहाँसम्म पुग्न कुनै न कुनै मार्ग खोजेर निकाल्ने थिए ।
४३. बहुदेववादीहरूले रचेको र भनेका कुराहरूबाट अल्लाह पवित्र र अति उच्च हुनुहुन्छ ।
४४. आकाश, पृथ्वी र तिनीहरूबीच रहेका सम्पूर्ण सृष्टिहरू अल्लाहको पवित्रताको गुणगान र प्रशंसा गर्दैछन् । तर तिनीहरू कसरी अल्लाहको पवित्रताको गुणगान गर्दैछन् भन्ने करालाई बुझ्दैनौ । तिमीहरू मात्र पवित्रताका ती गुणगानहरूलाई बुझ्छौ जुन तिमीहरूले आफ्ना जिब्राबाट गर्छौ । निस्सन्देह अल्लाह सहनशील हुनुहुन्छ, तुरुन्तै सजाय दिनुहुन्न । अल्लाह तौबा गर्नेहरूप्रति क्षमाशील हुनुहुन्छ ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जब तपाईं कुरआनको पाठ गर्नुहुन्छ र यी बहुदेववादीहरूले त्यसमा रहेका उपदेश र डरावा सुन्छन् तब हामीले तपाईं र महाप्रलयको दिनमाथि ईमान नराख्ने बहुदेववादीहरूबीच एउटा अदृश्य पर्दा कायम गरिदिन्छौं, जसले तिनीहरूलाई कुरआन बुझ्नबाट रोक्छ । तिनीहरू विमुख भएको सजाय स्वरूप हामी यस्तो गर्छौं ।
४६. हामीले तिनीहरूका हृदयलाई पर्दाले ढाकिदिन्छौं ताकि तिनीहरू कुरआन बुझ्नै नसकुन् र तिनीहरूका कानमा बहिरोपन हालिदिन्छौं ताकि तिनीहरू त्यसबाट फाइदा उठाउने गरी सुन्न नसकुन् । जब तपाईंले कुरआनमा एक मात्र अल्लाहको चर्चा गर्नुहुन्छ र तिनीहरूले रचेका भगवानहरूको वर्णन गर्नुहुन्न तब तिनीहरू पिठ्यूँ फर्काएर अल्लाहलाई एक मान्नबाट टाढा भाग्छन् ।
४७. तिनीहरूका अगुवाहरूले कसरी कुरआन सुन्छन् भन्ने कुरालाई हामी राम्ररी जान्दछौं । तिनीहरू मार्गदर्शन चाँहदैनन् । तपाईंले कुरआनको पाठ गर्दा तिनीहरू त्यसलाई हलुका लिन्छन् र त्यसमा बाधा उत्पन्न गर्ने प्रयास गर्छन् । तिनीहरू त्यसलाई झूठो ठहर गर्न र त्यसमा बाधा उत्पन्न गर्ने बारे जे जति कानेखुसी गर्छन् त्यसलाई हामी राम्ररी जान्दछौं । त्यतिखेर यी अत्याचारीहरू मनमा कुफ्र गर्दै भन्छन्– हे मानव ! तिमीहरू मात्र एकजना जादूपीडित र बुद्धिहीन व्यक्तिको अनुसरण गर्छौ ।
४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूले तपाईंको बारेमा यस्ता नराम्रा कुराहरू भन्दैछन् जसमा तपाईंले विचार गर्दा तपाईंलाई आश्चर्य हुनेछ । तिनीहरू पथभ्रष्ट भए र सत्मार्ग पाउनै सक्दैनन् ।
४९. बहुदेववादीहरूले पुनर्जन्मको इन्कार गर्दै भने– के जब हामी मरेर हाडखोड र टुक्रा-टुक्रा हुनेछौं तब हामी पुनः जीवित पारिनेछौं त ? यो असम्भव कुरा हो ।
५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– हे बहुदेववादीहरू हो ! तिमीहरू कठोरतामा ढुङ्गा बन्न सक्छौ भने बन वा शक्तिमा फलाम बन्न सक्छौ भने बन । तिमीहरू कदापि ढुङ्गा वा फलाम बन्न सक्दैनौ ।
५१. वा तिमीहरू यिनीहरूभन्दा पनि महान सृष्टि बन्न सक्छौ भने बन । तिमीहरू जे बने पनि अल्लाहले तिमीहरूलाई शुरुको अवस्थामा ल्याउनुहुनेछ र पुनः पहिला जस्तै सृष्टि गर्नुहुनेछ । यी शत्रुहरूले जवाफमा भन्नेछन्- मृत्युपछि हामीहरूलाई कसले जीवित पार्नुहुनेछ त ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- जसले तिमीहरूलाई पहिलो पटक बिना कुनै अघिल्लो उदाहरण सृष्टि गर्नुभयो उहाँले नै दोस्रो पटक पनि सृष्टि गर्नुहुनेछ । तपाईंको जवाफको ठट्टा गर्दै, टाउको हल्लाउँदै र यसलाई टाढा ठान्दै सोध्नेछन्–यो कहिले हुनेछ ?! भनिदिनुहोस्– यो चाँडै नै हुनेछ ! किनभने जुनसुकै वस्तु आउनेवाला छ त्यो नजिक नै हो ।
५२. अल्लाहले तिमीहरूलाई त्यस दिन पुनर्जन्म गर्नुहुनेछ जुन दिन तिमीहरूलाई हश्रको मैदानमा बोलाउनुहुनेछ । अनि तिमीहरूले उहाँको आज्ञापालन गर्दै र प्रशंसा गर्दै हाजिर हुनेछौ । त्यस दिन तिमीहरूले संसारमा थोरै दिन बिताएका छौ भन्ने अनुमान गर्नेछौ ।
५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मेरा मोमिन भक्तहरूलाई भनिदिनुहोस्- उनीहरूले वार्तालाप गर्दा राम्रो कुरा मात्र गर्ने गरुन् र घृणित तथा नराम्रा कुरा नगरुन् । वास्तवमा शैतानले मानवहरूबीच वैमनस्यता उत्पन्न गरेर उनीहरूका लोक र परलोक दुवैलाई बर्बाद पार्न चाहन्छ । निश्चय नै शैतान मानवको खुल्लम खुल्ला शत्रु हो । मानवले त्यसबाट सावधान रहनुपर्छ ।
५४. हे मानव ! अल्लाह तिमीहरूको बारेमा सबै कुरा जान्नुहुन्छ । उहाँबाट तिमीहरूको कुनै पनि कुरा लुकेको छैन । उहाँले चाहनुभएमा तिमीहरूमाथि दया गर्दै ईमान ल्याउने र सत्कर्म गर्ने अवसर दिनुहुनेछ । उहाँले चाहनुभएमा तिमीहरूलाई ईमान ल्याउने अवसर नदिएर र कुफ्रमाथि मृत्यु गराएर यातनाको भागीदार बनाउनुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई मानिसहरूका कार्य-साधक बनाएर पठाएका छैनौ कि तपाईंले उनीहरूलाई ईमान ल्याउन बाध्य पार्नुहोस्, कुफ्रबाट रोक्नुहोस् र तिनीहरूका कर्महरूको गन्ती गर्नुहोस् । तपाईंको जिम्मेबारी तिनीहरूसम्म अल्लाहको आदेश अनुसार उहाँको सन्देश पुर्याउनु मात्र हो ।
५५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूसँग अल्लाह राम्ररी अवगत हुनुहुन्छ । उहाँ तिनीहरूका अवस्थालाई जान्नुहुन्छ । तिनीहरू कुन कुराको हकदार छन् भन्ने कुरालाई पनि उहाँ जान्नुहुन्छ । हामीले केही सन्देष्टाहरूलाई बढी संख्यामा अनुयायी प्रदान गरेर र किताब प्रदान गरेर अन्य केही सन्देष्टाहरूमाथि श्रेष्ठता प्रदान गरेका छौं । हामीले नै दाऊद (अलैहिस्सलाम) लाई जबूर नामक किताब प्रदान गरेकाछौं ।
५६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे बहुदेववादीहरू हो ! तिमीहरूको विचारमा अल्लाहबाहेक अन्य कोही ईश्वरहरू छन् भने कष्टको समयमा तिनीहरूलाई पुकारेर हेर । तिनीहरूमा केही पनि गर्ने क्षमता नभएकोले न त तिमीहरूको कष्ट निवारण गर्न सक्छन् न त्यसलाई सारेर अन्य कसैसम्म पुर्याउन सक्छन् । केही पनि गर्न सक्ने क्षमता नराख्ने ईश्वर हुन सक्दैन ।
५७. तिनीहरू जुन फरिश्ताहरूलाई पुकार्छन् उनीहरू स्वयम् आफ्ना पालनकर्ताको निकटता प्राप्त गर्नका लागि सत्कर्म जस्ता माध्यम खोज्दैछन् र आज्ञापालन गर्दै यसको लागि प्रतीसप्रधा गर्दैछन् । उनीहरू अल्लाहको दयाको आशा राख्छन् र उहाँको यातनाबाट डराउँछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा तपाईंका पालनकर्ताको यातना यति भयावह छ कि त्यसबाट डर मान्नुपर्छ ।
५८. काफिरहरू बसोबास गरेको जुनसुकै गाऊँ वा शहर छ, त्यसलाई हामीले सांसारिक जीवनमा तिनीहरूको कुफ्रको कारणले प्रकोप पठाएर ध्वस्त पार्यौं वा हत्या गरेर यातना दियौं । यो अल्लाहले निश्चित गर्नुभएको भाग्य हो जो लौहे महफूज (सुरक्षित बही खाता) मा लिपीबद्ध भइसकेको छ ।
५९. बहुदेववादीहरूले गरेको माग अनुसार रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई हामीले भौतिक चमत्कारहरू जस्तै मृतलाई जीवित पार्नु, इत्यादि प्रदान गरेनौं । किनभने हामीले विगतका समुदायहरूतर्फ भौतिक चमत्कारहरू अवतरण गरेका थियौं तर तिनीहरूले झूठो ठहर गरेका थिए । हामीले समूद समुदायलाई ठूलो र स्पष्ट निशानीको रूपमा ऊँटनी प्रदान गरेका थियौं, तर तिनीहरूले झूठो ठहर गरे । अनि हामीले तुरुन्तै प्रकोप पठाएर तिनीहरूलाई समात्यौं । हामीले रसूलहरूको हातबाट जुनसुकै चमत्कारहरू पठाउँछौं त्यो उनीहरूका समुदायलाई डराउनको लागि पठाउँछौं ताकि तिनीहरूले इस्लाम ग्रहण गरुन् ।
६०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) स्मरण गर्नुहोस् जब हामीले भन्यौं– निस्सन्देह तपाईंका पालनकर्ताले मानिसहरूलाई आफ्नो शक्तिबाट घेरामा लिनुभएको छ । तिनीहरू उहाँको नियन्त्रणमा छन् । अल्लाहले तपाईंलाई तिनीहरूबाट सुरक्षित राख्नुहुनेछ । तपाईंलाई जुन सन्देश पुर्याउने आदेश भएको छ त्यसको प्रचार प्रसार गर्नुहोस् । इस्रा (मक्कादेखि बैतुल्-मक्दिससम्म रातीको द्रुतगतिको यात्रा) मा हामीले तपाईंलाई जे जति देखायौं त्यो मानिसहरूका लागि परीक्षा थियो कि उनीहरू त्यसको पुष्टि गर्छन् वा झूठो ठहर गर्छन् ? कुरआनमा वर्णन गरिएको जक्कूम (सिउँडी) नामी तिरस्कार गरिएको रूखलाई मानिसहरूका लागि परीक्षा बनायौं । यो कृक्ष नर्कको जरोबाट उम्रनेछ । यदि तिनीहरूले यी दुई वटा निशानीहरूमा ईमान ल्याउँदैनन् भने तिनीहरूले अन्य निशानीहरूमा पनि ईमान ल्याउने छैनन् । हामी आफ्ना निशानीहरू अवतरण गरेर तिनीहरूलाई डराउँदैछौं तर चेतावनीले तिनीहरूको कुफ्र र पथभ्रष्टतामा नै वृद्धि गर्दछ ।
६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् त्यस अवसरलाई जब हामीले फरिश्ताहरूलाई भन्यौं- आदम (अलैहिस्सलाम) लाई सलामी दिनको लागि सज्दा गर, उनको भक्तिको लागि होइन । तब आदेशको पालना गर्दै सबैले सज्दा गरे । तर इब्लीसले घमण्ड गर्दै सज्दा गर्न इन्कार गर्यो र भन्यो– के म यस्तो व्यक्तिलाई सज्दा गरुँ जसलाई तपाईंले माटोबाट सृष्टि गर्नुभयो र मलाई आगोबाट सृष्टि गर्नुभयो ?! म त्यसभन्दा श्रेष्ठ छु ।
६२. इब्लीसले अल्लाहलाई भन्यो– के तपाईंले यस प्राणीमा विचार गर्नुभयो जसको सामु मलाई सज्दा गर्ने आदेश दिएर उसलाई ममाथि श्रेष्ठता प्रदान गर्नुभयो ? यदि तपाईंले मलाई यस लोकको अन्तसम्म जीवित राख्नुहुन्छ भने उसका सम्पूर्ण सन्तानलाई तपाईंको सीधा मार्गबाट बहकाउनेछु । मेरो बहकावाबाट तपाईंका थोरै निष्कपट भक्तहरू सुरक्षित रहनेछन् जसलाई तपाईंले जोगाउनुहुनेछ ।
६३. अल्लाहले भन्नुभयो– तिमी र तिम्रो आज्ञापालन गर्नेहरू जाऊ । निस्सन्देह नर्क तिमी र तिनीहरूका कर्महरूको पूर्ण बदला हो ।
६४. तिनीहरूमध्ये ज-जसलाई तिमी बहकाउन सक्छौ आफ्नो आवाजले बहकाऊ र अवज्ञा गर्ने आह्वान गर । तिनीहरूमाथि आफ्ना घोडसवार र पैदल हिंड्ने दुवैद्वारा जाइलाग र आफ्नो आज्ञापालनको आह्वान गर । इस्लामी कानुन विपरीत तिनीहरूका धन-सम्पत्तिलाई सुन्दर तुल्याऊ र साझेदार बन । झूठो वचन दिएर, व्यभिचार गराएर र शुरु गर्दा अल्लाहबाहेक अन्य कसैको दास बनाएर तिनीहरूका सन्तानमा पनि साझेदार बन । झूठो वचन र चाहनालाई सुन्दर तुल्याऊ । शैतानले तिनीहरूलाई दिएको वचन झूठो मात्र हो जसले गर्दा तिनीहरू धोका खान्छन् ।
६५. हे इब्लीस ! मेरो आज्ञापालन गर्ने मोमिन भक्तहरूमाथि तिम्रो वश चल्ने छैन । किनभने अल्लाहले उनीहरूलाई तिम्रो दुष्टताबाट जोगाउनुहुनेछ । कार्य-साधकको रूपमा अल्लाह ती मानिसहरूका लागि पर्याप्त हुनुहुन्छ जसले आफ्ना मामिलाहरूमा उहाँमाथि भरोसा गर्छन् ।
६६. हे मानव ! तिमीहरूका पालनकर्ता अल्लाह नै हुनुहुन्छ जसले समुद्रमा डुङ्गा गुड्न लगाउनुहुन्छ ताकि तिमीहरूले व्यापार इत्यादिद्वारा जीविका खोज । निस्सन्देह उहाँ तिमीहरूप्रति परम दयालु हुनुहुन्छ त्यसैले यी साधनहरू प्रदान गर्नुभयो ।
६७. हे बहुदेववादीहरू हो ! जब समुद्रमा तिमीहरूमाथि सङ्कट आइलाग्छ र तिमीहरूको ज्यान नै जाने खतरा हुन्छ तब तिमीहरूले पूजा गर्ने गरेका सबै देवी देवताहरूलाई बिर्सेर मात्र अल्लाहलाई पुकार्छौ र उहाँसँग मद्दत खोज्दछौ । जब उहाँले सुरक्षित ढङ्गले तिमीहरूलाई भूमितर्फ पुर्याइदिनुहुन्छ तब तिमीहरू उहाँबाट विमुख हुन्छौ र मात्र उहाँलाई नपुकारेर देवी देवताहरूलाई पुकार्न थाल्छौ । मानव अल्लाहका वरदानहरूको इन्कार गर्नेगर्छ ।
६८. हे बहुदेववादीहरू हो ! जब अल्लाहले तिमीहरूलाई जलबाट जोगाएर थलमा ल्याउनुभयो, के तिमीहरू यस कुराबाट निश्चिन्त छौ कि उहाँले तिमीहरूलाई धर्तीमा धँसाउनुहुनेछ वा तिमीहरूमाथि ढुङ्गा बर्साउनुहुनेछ, जसरी लूत (अलैहिस्सलाम) को समुदायमाथि बर्साउनुभयो ? उहाँले यस्तो गरेमा तिमीहरू आफूलाई यसबाट जोगाउने कुनै सहयोगी पाउने छैनौ ।
६९. के तिमीहरू यस कुराबाट पनि निश्चिन्त छौ कि अल्लाहले तिमीहरूलाई फेरि समुद्रमा फिर्ता लिएर जानुहुनेछ र तिमीहरूमाथि कृतघ्नताले गर्दा भयानक आँधी पठाएर डुबाउनुहुनेछ ? यस्तो भयो भने तिमीहरूले त्यस बारेमा कसैलाई हामीसित सोधपूछ गर्नेवाला पाउने छैनौ ।
७०. हामीले आदम (अलैहिस्सलाम) का सन्तानलाई बुद्धि प्रदान गरेर तथा उनीहरूका पूर्वजलाई फरिश्ताहरूद्वारा सज्दा गराएर सम्मानित तुल्याएका छौं । तिनीहरूलाई हामीले थलमा जनावर र गाडी जस्ता सवारी प्रदान गर्यौं र जलमा डुङ्गा जस्ता सवारी प्रदान गर्यौं । हामीले तिनीहरूलाई भोजन, पेयपदार्थ र विवाह जस्ता पवित्र जीविका प्रदान गर्यौं । हामीले सृष्टि गरेका धेरै वस्तुहरूमाथि तिनीहरूलाई स्पष्ट श्रेष्ठता प्रदान गर्यौं । तिनीहरूले यी वरदानहरूका लागि अल्लाहप्रति आभार प्रकट गर्नुपर्छ ।
७१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनको कल्पना गर्नुहोस् जब हामीले प्रत्येक समूहलाई संसारमा रहेका उनका अगुवासहित बोलाउनेछौं । जसलाई उसको कर्म-पत्र दाहिने हातमा दिइनेछ ती व्यक्तिहरूले उल्लासका साथ आफ्नो कर्म-पत्र पढ्नेछन् । उनीहरूका पुण्यमा कण बराबर पनि कमि गरिने छैन ।
७२. जो व्यक्ति यस लोकमा सत्यलाई स्वीकार गर्न र त्यसको पालना गर्नबाट अन्धो बनेर बस्नेछ त्यो महाप्रलयको दिन झन अन्धो बन्नेछ र स्वर्ग जाने मार्ग पाउने छैन बरु मार्ग विहीन भएर रहनेछ । कर्म अनुसार नै बदला मिल्ने गर्छ ।
७३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि अवतरण गरेको कुरआनको वही (प्रकाशना) बाट यी बहुदेववादीहरूले तपाईंलाई पथभ्रष्ट गर्ने आँट गरेका थिए ताकि तपाईंले हाम्रो नाममा आफ्नो तर्फबाट अन्य कुनै कुरा रचेर पेश गर्नुहोस् जो तिनीहरूको चाहना अनुसार होस् । तपाईंले यस्तो गरेको भए तिनीहरूले पक्कै तपाईंलाई मित्र बनाउने थिए ।
७४. यदि हामीले तपाईंलाई सत्यमाथि अडिग नपारेका भए तपाईंले तिनीहरूतर्फ केही हदसम्म झुक्नु हुन्थ्यो र तिनीहरूको चलखेलले गर्दा तथा यस कुराको चाहनामा तिनीहरूको कुराको पुष्टि गर्नुहुन्थ्यो कि तिनीहरूले ईमान ल्याउन् । तर हामीले यसबाट तपाईंलाई जोगायौं ।
७५. यदि तपाईं तिनीहरूतर्फ झुक्नुहुन्थ्यो भने हामीले तपाईंलाई यस लोकमा पनि दुईगुणा यातनाको स्वाद चखाउने थियौं र परलोकमा पनि । त्यतिखेर मेरो यातनाबाट जोगाउने कुनै सहयोगी पाउनुहुन्न थियो ।
७६. काफिरहरू शत्रुताले गर्दा तपाईंलाई मक्काबाट निष्कासित गर्न बाध्य पार्दै थिए । तर अल्लाहले यसबाट रोक्नुभयो । यहाँसम्म कि तपाईंले अल्लाहको आदेशबाट मक्काबाट हिज्रत (बसाइँ-सराई) गर्नुभयो । यदि तिनीहरूले तपाईंलाई त्यहाँबाट निष्कासित गरेका भए तपाईंको निष्कासनपछि तिनीहरू केही दिन मात्र बस्न सक्ने थिए ।
७७. तपाईंलाई निष्कासित गरेपछि तिनीहरू केही दिन सम्म मात्र त्यहाँ बस्ने थिए भन्ने कुरा हाम्रो सुन्नत (कानुन) हो जसलाई हामीले तपाईंभन्दा पहिले पठाएका आफ्ना रसूलहरूमाथि लागु गर्दै आएका छौं । जब जब कुनै समुदायले आफ्नो रसूललाई निष्कासित गर्यो तब तब अल्लाहले त्यसमाथि आफ्नो प्रकोप अवतरण गर्नुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले हाम्रो सुन्नतमा कुनै परिवर्तन पाउनुहुन्न ।
७८. पूर्णरूपमा समयको पालनाका साथ सलाह कायम गर । सूर्य ढल्केपछि सलाह कायम गर, यसमा जुहर र अस्रको सलाह पर्दछन् । राति पूरै अंध्यारो हुञ्जेलसम्म सलाह कायम गर । यसमा मग्रिब र इशाको सलाह पर्दछन् । फज्रको सलाह कायम गर र त्यसमा कुरआनको लामो पाठ गर । निस्सन्देह फज्रको सलाहमा राति र दिन दुवैका फरिश्ताहरू हाजिर हुन्छन् ।
७९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम !) रातको केही भागमा तहज्जुद पढ्ने गर्नुहोस् । यो अतिरिक्त सलाहले तपाईंको स्थानलाई उच्च पार्नेछ । तपाईंका पालनकर्ताले महाप्रलयको दिन तपाईंलाई सिफारिशकर्ता बनाउनुहुनेछ । तपाईले महाप्रलयको भयावह घडीमा मानिसहरूको सिफारिश गर्नुहुनेछ । तपाईंको लागि सिफारिशको उच्च स्थान हुनेछ जसको प्रशंसा शुरुदेखि लिएर अन्तसम्मका मानिसहरूले गर्नेछन् ।
८०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! प्रार्थना गर्नुहोस्– हे मेरा पालनकर्ता ! मलाई जहाँ पनि लिएर जानुहोस् र जहाँबाट पनि निकाल्नु होस् आफ्नो आज्ञापालन र खुशीका साथ निकाल्नुहोस् । आफ्नो तर्फबाट मलाई यस्तो प्रमाण प्रदान गर्नुहोस् जसले गर्दा शत्रुविरुद्ध सहयोगी पुगोस् ।
८१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्– इस्लाम धर्मको विजय भयो । अल्लाहको सहयोग आइ पुग्यो । शिर्क र कुफ्र निर्मूल भयो । सत्यको अगाडि असत्य निर्मूल नै हुन्छ ।
८२. हामी यस्तो कुरआन अवतरण गरिरहेकाछौं जो हृदयहरूमा रहेका अज्ञानता, कुफ्र र शङ्काको उपचार हो । इन्द्रेणीमाथि पढेर फुँक्दा त्यसको पनि उपचार गर्छ । कुरआन ती मोमिनहरूका लागि दया हो जो त्यस अनुसार कर्म गर्छन् । यसले काफिरहरूको बर्बादीमा मात्र अभिवृद्धि गर्छ । किनभने जब तिनीहरू यसलाई सुन्छन् तब तिनीहरूको रिस, झूठो ठहर गर्ने र विमुख हुने कार्यमा नै अभिवृद्धि हुन्छ ।
८३. जब हामी मानवलाई स्वास्थ्य र धन जस्ता वरदानहरू प्रदान गर्छौं तब ऊ हामीप्रति आभार र आज्ञापालन गर्नबाट विमुख हुन्छ र घमण्ड गर्दै टाढा भाग्छ । तर जब उसलाई रोग र गरीबी जस्तो कुनै कष्ट पुग्छ तब ऊ अल्लाहको कृपाबाट अति नै निराश हुन्छ ।
८४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– प्रत्येक व्यक्ति त्यसै प्रकार कार्य गर्छ जति ऊ मार्गदर्शन र पथभ्रष्टतामा हुन्छ । कुन व्यक्ति सीधा मार्गमा छ भन्ने कुरा अल्लाहले नै राम्ररी जान्नुहुन्छ ।
८५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यहूदी र ईसाईमध्ये काफिरहरू तपाईंसित रूह (आत्मा) को वास्तविक्ता बारे सोध्छन् । भनिदिनुहोस्– रूहको वास्तविक्ता अल्लाहलाई मात्र थाहा छ । तिमीहरू र सबै सृष्टिलाई अल्लाहको तर्फबाट एकदमै कम ज्ञान दिइएको छ ।
८६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम !) तपाईंतर्फ अवतरण गरेका वही (प्रकाशना) लाई छाती र किताबबाट हामीले समाप्त पार्न चाहेमा समाप्त पार्न सक्छौं । अनि तपाईंले आफ्नो लागि कुनै सहयोगी पाउनुहुन्न, जसले यसलाई फिर्ता ल्याएर देओस् ।
८७. तर अल्लाहले आफ्नो कृपाले गर्दा तपाईंबाट वही खोस्नु भएन बरु यसलाई सुरक्षित छोड्नुभयो । वास्तवमा तपाईंमाथि अल्लाहको ठुलो कृपा छ । जस्तो कि उहाँले तपाईंलाई रसूल बनाउनुभयो, तपाईंमाथि ईश्दूतत्व समाप्त पार्नुभयो र तपाईंमाथि कुरआन अवतरण गर्नुभयो ।
जब बहुदेववादीहरूले कुरआनलाई मानवको वाणी ठानेर यसमा फेरबदल गर्ने प्रस्ताव राखे तब अल्लाहले यस जस्तो वाणी ल्याउन चुनौति दिनुभयोः
८८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यदि मनुष्य र जिन्न सबै मिलेर यस कुरआन जस्तो शुद्ध, सन्तुलित र साहित्यिक किताब ल्याउने प्रयास गरे पनि ल्याउन सक्ने छैनन् चाहे तिनीहरू आपसमा एक अर्काको सहयोग नै किन नगरुन् ।
८९. हामीले यस कुरआनमा मानवलाई प्रशिक्षण दिनका लागि हरेक प्रकारको उपदेश, पाठ, आदेश, मनाहि र सत्य कथा प्रस्तुत गरेका छौं । यस आशाका साथ कि मानवले ईमान ल्याउन् । तर अधिकांश मानिसहरूले इन्कार गरे । तिनीहरूले कुरआनलाई झूठो ठहर गरे ।
जब तिनीहरू कुरआन जस्तो वाणी ल्याउन सकेनन् तब तिनीहरूले निम्न खालका प्रस्तावहरू प्रस्तुत गर्न थालेः
९०. बहुदेववादीहरूले भने– हामी तपाईंमाथि ईमान ल्याउँदैनौं जब सम्म तपाईंले मक्काको भूमिबाट हाम्रो लागि यस्तो मूल फुटाउनु हुन्न जसको पानी सधैं बगि रहोस् ।
९१. वा तपाईंसँग खजुर र अंगुरको यस्तो बगैंचा हुनुपर्छ जसको बीचमा नहरहरू कलकल बगिरहेका होउन् ।
९२. वा तपाईंले गरेको दावी अनुसार आकाशलाई फुटाएर प्रकोप ल्याउनुहोस् । वा अल्लाह र फरिश्ताहरूलाई ल्याएर हाम्रा सामुन्ने साक्षातरूपमा खडा गर्नुहोस् जसले तपाईंले गरेको दावी ठीक हो भनेर गवाही देउन् ।
९३. वा तपाईंको सुन इत्यादिको घर होस् । वा तपाईं आकाशमाथि चढ्नुहोस् । हामी तपाईंले चढेको कुरालाई पनि विश्वास गर्दैनौं जबसम्म तपाईंले त्यहाँबाट कुनै किताब अवतरण गर्नुहुन्न जसमा यो कुरा लेखेको होस् कि तपाईं अल्लाहका रसूल हुनुहुन्छ, जसलाई हामी स्वयम् पढौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– मेरा पालनकर्ता पवित्र हुनुहुन्छ । म त अन्य रसूलहरू जस्तै मानव र रसूल हुँ । म केही पनि ल्याउने सामर्थ्य राख्दिन । अनि तिमीहरूले प्रस्ताव गरेको वस्तु कसरी ल्याउन सक्छु त ?!
९४. काफिरहरूले अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याउन र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देश अनुसार कर्म गर्न यस कारणले इन्कार गरे कि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) मानव हुनुहुन्थ्यो । तिनीहरूले भने– के अल्लाहले एकजना मानवलाई हामीतर्फ रसूल बनाएर पठाउनुभयो त ?!
९५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको खण्डन गर्दै भनिदिनुहोस्– यदि धर्तीमा फरिश्ताहरू निश्चिन्त भई हिंड्डोल र बसोबास गरेका भए हामीले तिनीहरूसमक्ष आकाशबाट कुनै फरिश्तालाई नै रसूल बनाएर पठाउने थियौं । किनभने उनीहरूले नै अल्लाहको सन्देशलाई बुझाउन सक्थे ।
९६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म र तिमीहरूबीच अल्लाह नै साक्षीको रूपमा पर्याप्त हुनुहुन्छ कि म उहाँको रसूल हुँ र मैले उहाँको सन्देश तिमीहरूसमक्ष पुर्याइ सकेको छु । उहाँ आफ्ना भक्तहरूका अवस्थाहरूबारे पूर्ण ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँ उनीहरूका मनमा लुकेका कुराहरू पनि देखि राख्नुभएको छ ।
९७. जसलाई अल्लाहले मार्गदर्शन गर्नुहुन्छ मात्र त्यो व्यक्ति मार्गदर्शन पाउँछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसलाई अल्लाहले अपमानित र पथभ्रष्ट गर्नुहुन्छ उसको लागि तपाईंले सत्मार्ग देखाउने, हानिलाई टार्ने र फाइदा पुर्याउने मित्र पाउनुहुन्न । हामीले तिनीहरूलाई महाप्रलयको दिन घोप्टो पारेर एकत्रित गर्नेछौं, न तिनीहरू देख्न सक्नेछन्, न बोल्न सक्नेछन् र न सुन्न सक्नेछन् । तिनीहरूको बास-स्थान नर्क हुनेछ । जब जब नर्कको आगो निभ्न थाल्नेछ तब तब हामीले त्यसको ज्वालालाई सल्काउनेछु ।
९८. यो हुनेछ तिनीहरूको सजाय । किनभने तिनीहरूले हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित निशानीहरूको इन्कार गरे । साथै पुनर्जन्मालाई टाढा ठान्दै भने– के जब हामी सडेर हाडका टुक्रा टाक्री हुन पुग्नेछौं तब हाम्रो पुनर्जन्म एउटा नयाँ सृष्टिको रूपमा हुनेछ त ?
तिनीहरूको इन्कारको वर्णनपछि त्यसको खण्डन गर्दै अल्लाहले भन्नुभयोः
९९. के पुनर्जन्मको इन्कार गर्नेहरूले जानेनन्– जुन अल्लाहले यति महान आकाशहरू र पृथ्वीको सृजना गर्नुभयो उहाँ त्यस्तै र त्यसभन्दा सानो वस्तुलाई सृजना गर्ने अवश्य नै सामर्थ्य राख्नुहुन्छ ? उहाँले उनीहरूका लागि संसारमा एउटा समय निर्धारित गर्नुभएको छ, जो एक दिन समाप्त हुन्छ । उनीहरूको पुनर्जन्मको लागि उहाँले एउटा समय निर्धारित गर्नुभएको छ जसमा कुनै सन्देह छैन । तर बहुदेववादीहरूले पुनर्जन्मका स्पष्ट निशानीहरूका बावजुद त्यसको इन्कार गरे ।
१००. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– यदि कहिले समाप्त नहुने मेरा पालनकर्ताको दयाको खजाना पनि तिमीहरूसँग भएको भए तिमीहरूले त्यसलाई समाप्त हुने डरले रोकेर राख्ने थियौ र खर्च गर्ने थिएनौ । ताकि तिमीहरू गरीब नहोऊ । कञ्जुस हुनु मानवको स्वभाव हो । मोमिनहरूको कुरा बेग्लै छ । उनीहरू पुण्य पाउने आशाले खर्च गर्नेगर्छन् ।
जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई बहुदेववादीहरूले झूठो ठहर गरेर दुःख दिए तब अल्लाहले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को सान्त्वनाको लागि मूसा (अलैहिस्सलाम) को सत्य कथा अवतरण गर्नुभयो र भन्नुभयोः
१०१. हामीले मूसा (अलैहिस्सलाम) लाई नौ वटा स्पष्ट प्रमाणहरू प्रदान गर्यौं । ती प्रमाणहरू थिएः लौरो, हात, सुख्खा, फलको कमि, बाढी, सलह, उडुस, भ्यागुतो र रगत । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यहूदीलाई सोध्नुहोस्- जब मूसा (अलैहिस्सलाम) तिनीहरूका पूर्वजसमक्ष ती प्रमाणहरू लिएर आए तब फिरऔनले उनलाई भन्यो– हे मूसा ! म तिमीलाई जादूपीडित ठान्दछु । किनभने तिमी यी अचम्मका कुराहरू लिएर आएका छौ ।
१०२. मूसा (अलैहिस्सलाम) ले उसको खण्डन गर्दै भने– तिमीलाई थाहा छ कि यी स्पष्ट निशानीहरू मात्र आकाशहरू र पृथ्वीका पालनकर्ताले आफ्नो सामर्थ्यको प्रमाणस्वरूप र आफ्नो रसूलको पुष्टिको लागि अवतरण गर्नुभएको छ । तर तिमी यसको इन्कार गर्छौ । हे फिरऔन ! मलाई थाहा छ तिमी विनाश भएको व्यक्ति हौ ।
१०३. फिरऔनले मूसा (अलैहिस्सलाम) र बनी इस्राईललाई मिस्रको भूमिबाट निष्कासित गरेर सजाय दिने विचार गर्यो तर हामीले ऊसमेत ऊसँग रहेका सबै सैनिकहरूलाई डुबाइदियौं ।
१०४. फिरऔन र ऊसँग रहेका सैनिकहरूलाई विनाश गरेपछि हामीले बनी इस्राईललाई भन्यौं– सीरियाको भूभागमा बसोबास गर । अनि जब महाप्रलयको वाचा आइपुग्छ हामी तिमीहरू सबैलाई हिसाबको लागि हश्रको मैदानमा जम्मा गरेर ल्याउनेछौं ।
१०५. हामीले यस कुरआनलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि सत्यका साथ अवतरण गर्यौं र त्यो सत्यकै साथ बिना कुनै फेरबदल अवतरण भएको छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई मात्र ईशभय राख्नेहरूलाई स्वर्गको शुभ-सूचना दिन र काफिर र अवज्ञाकारीहरूलाई नर्कबाट सचेत गर्न पठाएका छौं ।
१०६. यस कुरआनलाई हामीले थोरै-थोरै गरी स्पष्टरूपमा अवतरण गरेका छौं । यस आशाका साथ कि तपाईंले मानिसहरूलाई समयको अन्तरालमा पढेर सुनाउनुहोस् । किनभने यसलाई बुझ्न र यसमा चिन्तन-मनन गर्नको लागि सजिलो पारिएको छ । हामीले यसलाई क्रमिकरूपमा अवस्था र घटना अनुसार अवतरण गरेका छौं ।
१०७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– तिमीहरू यसमाथि ईमान ल्याए पनि तिमीहरूको ईमानमा बृद्धि हुँदैन । तिमीहरूले ईमान नल्याए पनि तिमीहरूको कुफ्रमा कमि हुँदैन । वास्तवमा जुन मानिसहरूले विगतका आकाशीय किताबहरू पढेका छन् र वही (प्रकाशना) तथा ईशदूतत्वबाट अवगत छन्, जब उनीहरूसमक्ष यसको पाठ गरिन्छ तब अल्लाहप्रति आभार प्रकट गर्नको लागि सज्दामा खस्छन् ।
१०८. उनीहरू सज्दामा भन्छन्– हाम्रा पालनकर्ता वचन भङ्ग गर्नबाट पवित्र हुनुहुन्छ । उहाँले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमनको बारेमा जुन वाचा गर्नुभएको छ त्यसलाई अवश्य पूरा गर्नुहुनेछ ।
१०९. उनीहरू अल्लाहको डरले गर्दा रुँदै घोप्टो पर्छन् । कुरआन सुन्दा र यसको अर्थमा विचार गर्दा उनीहरूको विनम्रतामा झन् बृद्धि हुन्छ ।
११०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हे अल्लाह हे रहमान भनेर दुआ गर्दा रोक्नेहरूलाई भनिदिनुहोस्– अल्लाह र अर्रहमान अल्लाहका दुईवटा नामहरू हुन् । तिमीहरूले अल्लाहलाई उहाँका यी दुईवटा नामहरूबाट पुकार्न सक्छौ र अन्य नामहरूबाट पनि पुकार्न सक्छौ । अल्लाहका धेरै सुन्दर नामहरू छन् । आफ्नो सलाहमा अति उच्च स्वरमा कुरआनको पाठ नगर्नुहोस् कि बहुदेववादीहरूले सुनुन् र अति निम्न स्वरमा पनि पाठ नगर्नुहोस् कि मोमिनहरूले सुन्न नसकुन् । बरु यी दुवैका बीचको मार्ग अपनाउनुहोस् ।
१११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । उहाँ हरेक किसिमका प्रशंसाका हकदार हुनुहुन्छ । उहाँ पुत्र ग्रहण गर्नबाट पवित्र हुनुहुन्छ र साझेदारबाट पनि पवित्र हुनुहुन्छ । उहाँको सत्ता-शासनमा कोही साझेदार छैन । उहाँलाई कसैले पनि र कहिल्यै अपमानित गर्न सक्दैन । उहाँलाई न त सहयोगीको आवश्यक्ता छ न शक्ति पुर्याउने व्यक्तिको । अल्लाहको खुबै महिमागान गर । उहाँको लागि कसैलाई पुत्र, साझेदार र सहयोगी नबनाऊ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें