सीधे मुख्य सामग्री पर जाएं

१०. सूरह यूनुस (मक्की)

  शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट



१. अलिफ० लाम० रा० ! यी जस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा कुरा भइ सकेको छ । यस सूरहमा रहेका आयतहरू कुरआनका विवेक तथा आदेशहरूमा आधारित छन् ।
२. के मानिसहरूका निम्ति यो आश्चर्यको विषय बनेको छ कि हामीले तिनीहरूमध्येकै एकजना पुरुषमाथि वही (प्रकाशना) अवतरित गरेर मानिसहरूलाई सावधान गर्ने आदेश दियौं ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहमाथि ईमान ल्याउने मानिसहरूलाई शुभसूचना दिनुहोस् । उनीहरूले गरेको सत्कर्मको बदलास्वरूप उनीहरूका पालनकर्ताकहाँ उच्च दर्जा छ भनी शुभसन्देश दिनुहोस् । काफिरहरूले भने– यी आयतहरू लिएर आएको व्यक्ति वास्तवमा स्पष्ट जादुगर हो ।
३. हे आश्चर्यचकित हुनेहरू हो ! तिमीहरूका पालनकर्ता अल्लाहले नै ६ दिनमा विशाल आकाशहरू तथा फैलिएको पृथ्वी सृजना गर्नुभयो । फेरि उहाँ राजसिंहासनमाथि विराजमान हुनुभयो । उहाँले तिमीहरूमध्ये एक जना रसूल पठाउनुभएकोमा किन आश्चर्य गर्दैछौ ?! उहाँ मात्र यस विशाल सत्ता-शासनको निर्णय गर्नुहुन्छ र भाग्य निर्धारण गर्नुहुन्छ । उहाँको अनुमतिबिना कोही पनि उहाँनजिक सिफारिश गर्न सक्दैन । यी गुणहरू राख्ने तिमीहरूका पालनकर्ता अल्लाह नै भएकोले मात्र उहाँ कै उपासना गर । के यति प्रमाणहरूले अल्लाह एक मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दैनन् ? अनि तिमीहरू किन उपदेश ग्रहण गरेर ईमान ल्याउँदैनौ ?
४. महाप्रलयको दिन तिमीहरू मात्र उहाँतर्फ नै फर्केर जानेछौ, ताकि उहाँले कर्महरूको बदला देउन् । मानिसहरूसँग अल्लाहको यो सच्चा वचन हो, यसमा कुनै फेरबदल हुँदैन । उहाँ यसको सामर्थ्य राख्नुहुन्छ । विगतका कुनै उदाहरणबिना उहाँले सृष्टिहरूलाई पहिलो पटक सृजना गर्नुभयो । तिनीहरूको मृत्युपछि फेरि उहाँले नै सृष्टि गर्नुहुनेछ । ताकि उहाँले ईमान ल्याएर सत्कर्म गर्नेहरूलाई न्यायकासाथ बदला देउन् । काफिरहरूलाई तिनीहरूले गरेका कुफ्रले गर्दा अति उम्लिँदो पानी खुवाइनेछ र अति दुःखद यातना दिइनेछ ।
५. उहाँ नै हुनुहुन्छ जसले सूर्यलाई प्रकाशमान तथा चन्द्रमालाई ज्योतिर्मय बनाउनुभयो र त्यसका लागि २८ वटा गन्तब्यहरू निर्धारित गर्नुभयो । गन्तब्य भनेको चन्द्रमाले एक दिन रातमा हिँडेको दूरी हो । हे मानव ! ताकि तिमीहरू सूर्यबाट दिनको गन्ती र चन्द्रमाबाट महिना तथा सालको गन्ती गर्न सक । अल्लाहले आकाशहरू, पृथ्वी र यी दुवैबीच जे जति सृष्टि गर्नुभयो सत्यका साथ गर्नुभयो । ताकि उहाँले मानिसहरूका लागि आफ्ना सामर्थ्य तथा महानता स्पष्ट पारुन् । उहाँ एक मात्र हुनुहुन्छ भन्ने कुरा स्पष्ट पार्नको लागि ज्ञानी मानिसहरूसमक्ष प्रमाणहरू प्रस्तुत गर्नुहुन्छ ।
६. रात तथा दिनको आवत जावत र त्यसले गर्दा हुने अन्धकार तथा प्रकाश, एक अर्काको सानो ठूलो हुनु, आकाशहरू तथा पृथ्वीमा रहेका सृष्टिहरूमा अल्लाहको शक्तिलाई स्पष्ट पार्ने निशानीहरू छन् । अल्लाहका आदेशहरूको पालना गरेर तथा वर्जित कार्यहरूलाई त्यागेर उहाँसित डराउने मानिसहरू यसबाट फाइदा उठाउँछन् ।
७. निस्सन्देह जुन काफिरहरू अल्लाहसित भेट्ने आशा राख्दैनन्, आखिरतको जीवनको सट्टामा क्षणिक सांसारिक जीवनलाई रोजेका छन्, त्यसमा सन्तुष्ट छन् र अल्लाहका निशानी एवं प्रमाणहरूसित विमुख तथा असावधान छन्,
८. त्यस्ता व्यक्तिहरूको बास तिनीहरूको कुफ्र तथा झूठो ठहर गरेकोले महाप्रलयको दिन नर्क हुनेछ ।
९. तर, सत्कर्मी मोमिनहरूलाई उनीहरूको ईमानले गर्दा अल्लाहले सीधा मार्ग देखाउनुहुनेछ । उहाँले उनीहरूलाई यस्तो सत्कर्म गर्ने अवसर प्रदान गर्नुहुनेछ जसलाई उहाँले मन पराउनुहुन्छ । फेरि महाप्रलयको दिन अल्लाहले वरदानबाट भरिपूर्ण स्वर्गमा प्रवेश गराउनुहुनेछ, जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् ।
१०. स्वर्गबासीहरूले अल्लाहको पवित्रताको गुणगान गरेर प्रर्थना गर्नेछन् । अल्लाह, फरिश्ताहरू र उनीहरू आपसमा सलाम गरेर अभिनन्दन गर्नेछन् । सबै प्रशंसाहरू सम्पूर्ण सृष्टिका पालनकर्ता अल्लाहका निम्ति हुन् भनेर उनीहरूले आफ्ना प्रार्थना समाप्त पार्नेछन् ।
११. मानिसहरूले आफ्नो भलाइको लागि गरेको प्रार्थनालाई जसरी अल्लाहले तुरुन्तै स्वीकार गर्नुहुन्छ त्यसरी नै उनीहरूले रिसमा आफूविरुद्ध, सन्तानहरू र धन-सम्पत्तिविरुद्ध गरेको प्रर्थनालाई स्वीकार गर्नुभएको भए पहिला नै तिनीहरू नष्ट हुनेथिए । तर अल्लाहले तिनीहरूलाई अवसर दिनुभयो । यस्ता मानिसहरूलाई छोडनुभयो जो उहँसित भेट्ने आशा राखेनन् किनभने तिनीहरू न त उहाँको यातनाबाट डराए, न पुण्यको आशा राखे । अल्लाहले तिनीहरूलाई हिसाब किताबको दिन हैरान तथा शंकामा छोड्नुहुनेछ ।     
१२. जब आफूमाथि जियादती गरेको व्यक्ति रोग वा सङ्कट ग्रस्त हुन्छ तब उसले कोल्टो परेर, बसेर तथा उभिएर पनि बिन्ती गर्दै हामीलाई पुकार्छ तर जब हामी उसको प्रार्थना स्वीकार गरेर उसबाट सङ्कट निवारण गर्छौं तब यसरी हिँड्छ मानौं उसले आफूमाथि परेको सङ्कट टार्नको लागि कहिल्यै हामीलाई पुकारेकै थिएन । यस्तो गर्ने मानिसहरूका लागि पथभ्रष्टतामाथि जिद्दी गर्ने कार्यलाई शोभनीय बनाइएको छ । त्यस्तै सीमा उल्लङ्घनकारीहरूका लागि तिनीहरूले गर्ने कुफ्र तथा अवज्ञालाई शोभनीय तुल्याइएको छ । तिनीहरूले त्यसलाई छोड्ने छैनन् । 
१३. हे बहुदेववादीहरू हो ! हामीले तिमीहरूभन्दा पहिलेका कैयौं समुदायहरूलाई तिनीहरूको अवज्ञा र रसूलहरूलाई झूठो ठहर गरेको कारणले नष्ट गर्यौं । जब कि तिनीहरूसमक्ष स्पष्ट निशानीहरू लिएर तिनीहरूका रसूलहरू आएका थिए तर तिनीहरू ईमान ल्याउने खालका थिएनन् । त्यसैले अल्लाहले तिनीहरूलाई अपमानित गर्नुभयो र सीधा मार्ग देखाउनुभएन । विगतका अपराधी समुदायहरूलाई दिएको यातना जस्तै हामी हरेक युगमा तथा हरेक स्थानमा त्यस्ता खालका समुदायहरूलाई सजाय दिनेगर्छौं । 
१४. हे मानव ! विगतमा नष्ट पारिएका समुदायहरूको स्थानमा अब तिमीहरूलाई ल्याएका छौं, ताकि तिमीहरू सत्कर्म गर्छौ कि दुष्कर्म भन्ने कुरा हेरौं ।
१५. जब तिनीहरूसमक्ष अल्लाह एक मात्र हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट पार्ने आयतहरूको पाठ गरिन्छ तब पुनर्जन्मलाई इन्कार गर्ने, बदला पाउने आशा न राख्ने तथा सजायसित न डराउनेहरू भन्छन्- हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! मूर्ती पूजालाई गाली गर्ने यस कुरआनको सट्टामा अर्को कुरआन फेर बदल गरी लिएर आऊ, जो हाम्रो चाहना अनुकुल होस् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– यही कुरआन उचित भएकोले मलाई आफ्नोतर्फबाट परिवर्तन गर्ने कुनै अधिकार छैन । बरु अल्लाहले चाहनुभएमा परिवर्तन गर्न सक्नुहुन्छ । म त त्यसै आदेशको अनुसरण गर्छु जो अल्लाहले ममाथि वही (प्रकाशना) गर्नुभएको छ । यदि मैले तिमीहरूको माग स्वीकार गरेर आफ्ना पालनकर्ताको अवज्ञा गरें भने मलाई महाप्रलयको दिनको यातनाबाट डर लाग्छ ।  
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यदि अल्लाहले चाहनुभएको भए म तिमीहरूसमक्ष कुरआनको पाठ गर्ने थिएन र आफ्नो जिब्रोबाट कुरआनबाट अवगत गराउने थिएन । मैले आफ्नो जीवनको एउटा ठूलो अंश, ४० वर्ष तिमीहरूमाझ बिताएको छु । जसमा म न त पढें, न लिखें र न यस गरिमामय पदको लागि प्रयास गरें । म जेजति लिएर आएको छु त्यो अल्लाहको तर्फबाट हो र यसमा मेरो कुनै कमाल छैन भन्ने कुरा के तिमीहरू बुझ्दैनौ ?!
१७. त्यो व्यक्तिभन्दा बढी अत्याचारी कोही हुन सक्दैन जसले अल्लाहविरुद्ध झूट रचना गर्छ । म कसरी झूट रचना गरेर कुरआनमा फेरबदल गर्न सक्छु ? निस्सन्देह अल्लाहविरुद्ध झूट रचना गरेर सीमा उल्लङ्घन गर्नेहरू आफ्नो उद्देश्यमा सफल हुन सक्दैनन् ।
१८. बहुदेववादीहरू अल्लाहलाई छोडेर मन गढन्त देवी देवताहरूको पूजा गर्छन्, जो न लाभ पुर्याउन सक्छन् न हानि नै । जब कि वास्तविक पूज्य जहिले पनि चाहेमा लाभ तथा हानि पुर्याउन सक्छन् । तिनीहरू यी मूर्तीहरूलाई आफूबीच तथा अल्लाहबीच मध्यस्तकर्ता हुन् भन्छन्, जसले तिनीहरूको पक्षमा सिफारिश गर्नेछन् र अल्लाहले तिनीहरूलाई पापको सजाय दिनुहुने छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम ! यिनीहरूलाई भन्नुहोस्– के तिमीहरू ज्ञानवान अल्लाहको कोही साझेदार छ भन्ने कुरा उहाँलाई बताउँछौ जब कि उहाँले न त आकाशहरूमा न पृथ्वीमा नै कुनै साझेदारलाई जान्नुहुन्छ । बहुदेववादीहरूले भनेको यस असत्य तथा झूठो कुराबाट अल्लाह अति पवित्र तथा उच्च हुनुहुन्छ । 
१९. वास्तवमा सम्पूर्ण मानव एउटै समुदाय थियो, तर तिनीहरूले विभेद गरे, अनि तिनीहरूमध्ये केही मोमिन रहे र केही काफिर भए । यदि अल्लाहले तिनीहरूबीचको विभेदको निर्णय आखिरतमा गर्नुहुनेछ भन्ने कुरा पहिला नै नलेखेको भए उहाँले संसारमै त्यसको निर्णय गरिदिनुहुन्थ्यो र मार्गदर्शन पाउनेहरू पथभ्रष्टहरूबाट स्पष्ट हुनेथिए । 
२०. बहुदेववादीहरू भन्छन– मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि उहाँको पालनकर्तको तर्फबाट किन कुनै चमत्कार अवतरित गरिंदैन जसले उहाँको सत्य रसूल हुन् भन्ने कुरालाई प्रमाणित गरोस् ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– चमत्कारहरूको अवतरण अदृश्य वास्तविकताको ज्ञानमध्ये हो, जो मात्र अल्लाहलाई छ । तिमीहरू चमत्कारको अवतरणको प्रतीक्षा गर जसको माग तिमीहरू गर्दैछौ । म पनि तिमीहरूसँगै प्रतीक्षा गर्दछु ।
२१. जब हामीले बहुदेववादीहरूलाई तिनीहरूले भोगेको सुख्खा र भोकमरीपछि वर्षा तथा हरियालीको वरदान प्रदान गर्छौं तब तिनीहरू ठट्टा गर्छन् र हाम्रा निशानीहरूविरुद्ध जुक्ति रचना गर्न थाल्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– अल्लाह योजना बनाउन तथा सजाय दिनमा अति तिब्र हुनुहुन्छ । वास्तवमा तिमीहरू जे चलखेल गर्छौ त्यसलाई कर्महरू लेख्ने फरिश्ताहरू बिना कुनै कमि लेखिरहेका छन्, अनि उनीहरूका सृष्टिकर्ताले कसरी कमि गर्नुहुनेछ ?! अल्लाहले तिमीहरूको चलखेलको सजाय चाँडै नै दिनुहुनेछ ।
२२. हे मानव ! अल्लाह नै तिमीहरूलाई थलमा पैदल तथा सवारीमा र जलमा डुङ्गामा हिँडाउनुहुन्छ । यहाँसम्म कि जब तिमीहरू समुद्रमा डुंगाहरूमा हुन्छौ र डुंगाहरू अनुकूल वायुका साथ मानिसहरूलाई लिएर गइरहेका हुन्छन् र तिनीहरू प्रसन्न हुन्छन् त्यत्तिकैमा अकस्मात् प्रतिकूल हुरी चल्न थाल्छ; हरेक दिशाबाट लहरहरू उठ्न थाल्छन् र तिनीहरू स्वयं त्यसमा नष्ट हुन्छन् भन्ने बुझ्छन्, तब  तिनीहरू आफ्नो भक्तिलाई अल्लाहकै निम्ति शुद्ध पार्दै उहाँलाई पुकार्दछन् । उहाँसँग कसैलाई साझेदार बनाउँदैनन् । तिनीहरू भन्छन्– यदि तपाईंले यस सङ्कटबाट हामीलाई बचाउनुभयो भने हामीहरू निश्चय नै आभारी  हुनेछौं ।
२३. जब अल्लाहले तिनीहरूको दुआ (प्रार्थना) स्वीकार गरेर तिनीहरूलाई सङ्कटबाट निकाल्नुभयो तब तिनीहरू पृथ्वीमा कुफ्र, अवज्ञा तथा पाप गरेर विध्वंश मच्चाउन थाले । हे मानव ! तिमीहरूको यस विद्रोहको दुष्परिणाम तिमीहरूविरुद्ध नै गइ रहेको छ । यसले अल्लाहलाई कुनै हानि पुर्याउने छैन । यसबाट क्षणिक सांसारिक जीवनमा केही दिन मोज मस्ती गर । फेरि महाप्रलयको दिन तिमीहरूले हामीतर्फ नै फर्केर आउनुपर्छ अनि तिमीहरूले गरेको अवज्ञाबाट हामी अवगत गराउनेछौं र त्यसको बदला दिनेछौं ।
२४. तिमीहरूले मोज मस्ती गरिराखेको सांसारिक जीवन तुरुन्तै समाप्त हुनेछ भन्ने कुराको उदाहरण वर्षा जस्तो छ जो धर्तीको बोट बिरुवामा मिसिन्छ, जसका फल तथा दाना मानिसले खान्छ र जसको बालीलाई जनावरले खान्छ । जब धर्ती विभिन्न किसिमका बाली नालीबाट मनमोहक बन्छ र त्यसका किसानहरूले के ठान्छन् भने तिनीहरू त्यसलाई काटेर लाभ उठाउने सामर्थ्य राख्छन् तब अकस्मात त्यसलाई सखाप पार्ने हाम्रो आदेश आउँछ । फेरि हामीले त्यसलाई काटेर यस्तो पारिदिन्छौं मानौं हिजोसम्म त्यसमा कुनै बिरुवा तथा रुख थिएन । जसरी हामीले संसार तथा यसमा चाँडै समाप्त हुने कुराको वर्णन गर्यौं त्यसरी हामीले चिन्तन मनन गर्ने मानिसहरूका लागि आफ्ना निशानीहरू विस्तृत रूपमा बयान गर्छौं ।
२५. अल्लाहले सबै मानिसहरूलाई शान्ति गृह स्वर्गतर्फ बोलाउनुहुन्छ जसमा उनीहरू सबै चिन्ता, दुख तथा मृत्युबाट सुरक्षित रहनेछन् । अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ इस्लाम स्वीकार गर्ने अवसर प्रदान गर्नुहुन्छ जो शान्ति गृह स्वर्गसम्म पुर्याउँछ ।
२६. अल्लाहले अनिवार्य गर्नुभएका आदेशहरूको पालना गरेर र हराम गर्नुभएका कार्यहरूलाई त्यागेर सत्कर्म गर्नेहरूका लागि अति राम्रो बदला छ, त्यो हो स्वर्ग । अझ थप प्राप्त हुनेछ, त्यो हो अल्लाहको अनुहारको अवलोकन । यस्ता मानिसहरूका अनुहारमा न धुलो माटो न अपमान नै छाएको हुनेछ । उनीहरू नै स्वर्गका बासिन्दा हुन् जहाँ सदा-सर्वदा बस्नेछन् ।
२७. जुन मानिसहरूले कुफ्र तथा अवज्ञा गरेर नराम्रो कार्य गरे त्यसको बदला त्यसकै समान आखिरतमा सजाय हुनेछ । तिनीहरूका अनुहारमा अपमान छाएको हुनेछ । तिनीहरूलाई अल्लाहको यातनाबाट बचाउने कोही हुने छैन । तिनीहरूका अनुहारहरू नर्कको आगो तथा धुवाँले गर्दा अन्धकार राति जस्तो एकदम कालो हुनेछन् । तिनीहरू हुन् नर्कबासी जसमा सदा-सर्वदा रहनेछन् ।
२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! महाप्रलयको दिनलाई याद गर्नुहोस् जब हामीले सबै सृष्टिलाई एकत्रित गर्नेछौं । अनि बहुदेववादीहरूसित सोध्नेछौं– हे बहुदेववादीहरू हो ! तिमीहरू तथा तिम्रा साझेदारहरू आ-आफ्ना स्थानमै उभिराख । अनि हामीले तिनीहरूले बनाएका भगवानहरू तथा भक्तहरूलाई अलग अलग छुट्याउनेछौं । अनि ती भगवानहरूले भक्तहरूसँग कुनै सरोकार न रहेको कुरा गर्दै भन्नेछन्– तिमीहरू संसारमा हाम्रो भक्ति त गर्दैनथ्यौ । 
२९. भगवानहरूले भक्तहरूसँग कुनै सरोकार न रहेको कुरा गर्दै भन्नेछन्- अल्लाह साक्षीको रूपमा पर्याप्त हुनुहुन्छ- हामी तिमीहरूको भक्तिबाट खुशी थिएनौं । हामीले यसको आदेश पनि दिएका थिएनौं र यसलाई महसूस पनि गरेका थिएनौं । 
३०. त्यस महान घडीमा उनीहरू सबैले सांसारिक जीवनमा गरेका कर्महरूको जाँच गरिनेछ । बहुदेववादीहरूलाई वास्तविक पालनकर्ता अल्लाहतर्फ हिसाब किताबको लागि फर्काइनेछ र तिनीहरूले रचना गरेका झूठा भगवानहरू हराउनेछन् ।
३१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्– तिमीहरूलाई आकाशबाट वर्षा बर्साएर तथा धर्तीबाट बोट बिरुवा  इत्यादि उमारेर कसले खाद्यान्न प्रदान गर्छ ? कसले मृतबाट जीवित जस्तै विर्यबाट मानव तथा फुलबाट चरा निकाल्छ ? कसले जीवितबाट मृत जस्तै जनावरबाट विर्य तथा चराबाट फुल निकाल्छ ? कसले आकाशहरू, धर्ती र यी दुवैमा रहेका सृष्टिहरूका कार्य सञ्चालन गर्छ ? तिनीहरूले झट जवाफ दिनेछन्– यी सबै अल्लाहले गर्नुहुन्छ । अनि तिनीहरूलाई सोध्नुस्– त्यसो भए तिमीहरू किन ज्ञान प्राप्त गर्दैनौ र किन अल्लाहका आदेशहरूको पालना गरेर तथा वर्जित कार्यहरूलाई त्यागेर उहाँसँग डराउँदैनौ ?!
३२. हे मानव ! यी सबै कार्य गर्नेहरू अल्लाह नै हुनुहुन्छ जो तिमीहरूका वास्तविक सृष्टिकर्ता तथा मामिलाहरूका सञ्चालनकर्ता हुनुहुन्छ । अनि सत्यलाई जानेपछि किन त्यसबाट टाढा हुँदैछौ ? यति स्पष्ट सत्यलाई पनि तिमीहरू किन बुझि रहेका छैनौ ? 
३३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै यो कुरा प्रमाणित भयो- अल्लाह नै सबैका सृष्टिकर्ता तथा पालनकर्ता हुनुहुन्छ त्यसरी नै अल्लाहको यो निर्धारित भाग्य पनि प्रमाणित भयो- जुन मानिसहरू सत्य धर्म इस्लामबाट शत्रुताले गर्दा निस्के तिनीहरू ईमान ल्याउने छैनन् ।
३४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी बहुदेववादीहरूलाई सोध्नुहोस्- के तिमीहरूले बनाएका साझेदारहरूमध्ये कोही यस्तो छ जसले विगतका कुनै उदाहरणबिना सृष्टिको आरम्भ गरेको होस् फेरि त्यसको मृत्युपछि पुनः सृष्टि गर्न सकोस् ? भनिदिनुहोस्– अल्लाहले नै विगतका कुनै उदाहरणबिना सृष्टिको आरम्भ गर्नुभयो र त्यसको मृत्युपछि पुनः सृष्टि गर्नुहुनेछ । हे बहुदेववादीहरू हो ! तिमीहरू सत्यलाई छोडेर असत्यतर्फ किन जाँदैछौ ?!
३५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई सोध्नुहोस्– के तिमीहरूले बनाएका साझेदारहरूमध्ये कोही यस्तो पनि छ जसले सत्य धर्म बताउन सकोस् ? भनिदिनुहोस्– अल्लाह मात्र सत्य धर्म बताउनुहुन्छ । के सत्य धर्म बताउने अल्लाह बढी अनुसरण योग्य हुनुहुन्छ वा तिमीहरूले रचना गरेका भगवानहरू जसलाई मार्ग नदेखाउञ्जेल स्वयंले मार्ग प्राप्त गर्न सक्दैनन् ?! आखिर तिमीहरू कुन आधारमा अल्लाहसँग अरूलाई साझेदार बनाएर गलत निर्णय गर्छौ ?! तिमीहरूले गरेको कुराबाट अल्लाह अति उच्च हुनुहुन्छ ।
३६. अधिकांश बहुदेववादीहरू बिनाज्ञान मात्र अनुमान तथा अटकलबाजीको भरमा हिँड्छन्, जबकि अडकलबाजी ज्ञानको स्थान लिन सक्दैन र अलिकति पनि लाभदायक हुँदैन । निस्सन्देह तिनीहरूले गरिरहेका कार्यहरूसँग अल्लाह पूर्ण रूपमा अवगत हुनुहुन्छ र उहाँले चाँडै नै तिनीहरूलाई त्यसको बदला दिनुहुनेछ ।
३७. यो कुरआन अल्लाहबाहेक अन्य कसैद्वारा रचिएको होइन । कुनै व्यक्तिले यस जस्तो किताब रचना गर्न नसकेकोले यसलाई अल्लाहबाहेक कसैसित जोड्न मिल्दैन । बरु यो किताब यस अघिका किताबहरूको पुष्टि गर्दछ र ती किताबहरूमा संक्षिप्तमा रहेका आदेशहरूलाई विस्तारमा बताउँछ । यो किताब सम्पूर्ण सृष्टिका पालनकर्ताको तर्फबाट अवतरित भएको कुरामा कुनै सन्देह छैन ।
३८. के बहुदेववादीहरू भन्छन्- यस कुरआनलाई मुहम्मद (सल्लल्लहु अलैहि व सल्लम) ले रचना गरेर यसलाई अल्लाहतर्फ जोड्नुभएको छ ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूले भनेको कुराको खण्डन गर्दै भन्न्नुहोस्– यदि मैले आफ्नोतर्फबाट रचना गरेर ल्याएको छु र म तिमीहरू जस्तै मानव हुँ भने तिमीहरू यो जस्तै कुनै एउटा सूरह प्रस्तुत गर । कुरआन रचिएको तथा झूठो पारिएको आफ्नो दावीलाई प्रमाणित गर्नको लागि तिमीहरू अल्लाहबाहेक ज-जसलाई बोलाउन चाहन्छौ बोलाऊ । तिमीहरू अरबी भाषाका विज्ञ तथा कवि भए पनि कुरआनमा भएको जस्तो एउटा सूरह पनि ल्याउन सक्दैनौ । यो यस कुराको प्रमाण हो- यो कुरआन अल्लाहको तर्फबाट अवतरित गरिएको हो ।
३९. तिनीहरूले कुरआनले दिएको चुनौतिको जवाफ दिन सकेनन् । बरु कुरआनलाई नबुझेर, त्यसमा चिन्तन मनन नगरेर र जुन यातनाबाट डराइएको थियो त्यसलाई मनन नगरेर हतारमा यसलाई झूठो ठहर गरे । जब कि जुन यातनाबाट डराइएको छ त्यो नजिक आइ पुगेको छ । जसरी यी बहुदेववादीहरू झूठो ठहर गर्दैछन् त्यसरी नै विगतका समुदायहरूले पनि अस्वीकार गरेका थिए, अनि तिनीहरूमाथि प्रकोप  अवतरित भयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) विचार गर्नुहोस्, अल्लाहले कसरी झूठो ठहर गर्ने समुदायहरूलाई नष्ट पार्नुभयो ।
४०. बहुदेववादीहरूमध्ये केही व्यक्तिहरू मृत्युअघि चाँडै नै कुरआनमाथि ईमान ल्याउनेछन् । तिनीहरूमध्ये केही शत्रुता तथा घमण्डले गर्दा मरुन्जेल पनि ईमान ल्याउने छैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता कुफ्रमाथि जिद्दी गर्नेहरूलाई  राम्ररी जान्नुहुन्छ र चाँडै नै तिनीहरूको कुफ्रको सजाय दिनुहुनेछ ।
४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंलाई तपाईंको समुदायले झूठो ठहर गर्छन् भने, भनिदिनुहोस्– मैले गरेको कर्मको बदला मलाई मिल्नेछ र म त्यसको जिम्मेबार हुनेछु । तिमीहरूले गरेको कार्यको बदला तिमीहरूलाई मिल्नेछ र त्यसको सजाय तिमीहरूलाई मिल्नेछ । मैले गरेका कार्यको जवाफदेही तिमीहरूमाथि छैन र तिमीहरूले गरेको कार्यको सजाय मलाई मिल्ने छैन । 
४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईं कुरआनको पाठ गर्नुहुन्छ तब केही बहुदेववादीहरू त्यसलाई स्वीकार नगर्ने मन्शायले तपाईंतिर कान लगाएर सुन्छन् । के तपाईं यस्तो व्यक्तिलाई सुनाउन सक्नुहुन्छ जसको सुन्ने क्षमता खोसिएको छ ?! के तपाईं यस्ता व्यक्तिहरूलाई मार्गदर्शन गर्न सक्नुहुन्छ जो न सुन्न सक्छन् न बुझ्न सक्छन् ?!
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बहुदेववादीहरूमध्ये केही तपाईंतर्फ वाह्य दृष्टिले हेर्छन् विवेकपूर्ण दृष्टिले हेर्दैनन् । के तपाईं यस्ता मानिसहरूलाई मार्ग देखाउन सक्नुहुन्छ जसका दृष्टिहरू खोसिएका छन् ?! तपाईं यस्तो गर्न सक्नुहुन्न र अन्धालाई सीधा मार्ग देखाउन सक्नुहुन्न ।
४४. निस्सन्देह अल्लाह मानिसहरूमाथि अत्याचार गर्नबाट पवित्र हुनुहुन्छ । उहाँ तिनीहरूमाथि कण बराबर पनि अत्याचार गर्नुहुन्न । तर मानिसहरू शत्रुता तथा घमण्डले गर्दा आफैंलाई विनाशमा हालेर स्वयममाथि अत्याचार गर्छन् ।
४५. महाप्रलयको दिन अल्लाहले मानिसहरूलाई हिसाबको लागि एकत्रित गर्दा तिनीहरूले के महसूस गर्नेछन् भने तिनीहरू संसारमा तथा चिहानको जीवनमा एक अर्कासँग परिचयको लागि दिनका केही क्षणभन्दा बढी बसेकै थिएनन् । महाप्रलयको भयावह घटनाले गर्दा एक अर्कालाई बिर्सनेछन् । महाप्रलयको दिन अल्लाहसित भेँटको आशा नराख्नेहरूले घाटा बिहोरे । पुनर्जन्ममा ईमान नराखेकाले तिनीहरू घाटाबाट बच्न सकेनन् ।
४६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तिनीहरूलाई जुन प्रकोपको धमकी दिइरहेका छौं त्यसको केही अंश कि त तपाईंलाई तपाईंको मृत्युअघि देखाउनेछौं कि त त्यस अघि नै तपाईंलाई मृत्यु दिनेछौं । दुवै अवस्थामा तिनीहरूले महाप्रलयको दिन हामीकहाँ नै फर्केर आउनुछ । फेरि अल्लाहले तिनीहरूलाई तिनीहरूले गरेका कार्यहरूसित अवगत गराउनुहुनेछ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले तिनीहरूलाई तिनीहरूले गरेका कार्यहरूको बदला चाँडै नै दिनुहुनेछ ।
४७. विगतमा हरेक समुदायतर्फ रसूलहरू पठाइए । सबै रसूलहरूले आफ्ना समुदायमा आदेशबमोजिम अल्लाहका सन्देश पुर्याए, तर मानिसहरूले उनीहरूलाई झूठो ठहर गरे अनि अल्लाहले उनीहरूबीच निसाफका साथ निर्णय गर्नुभयो । रसूलहरूलाई आफ्नो कृपाले जोगाउनुभयो र झुट्लाउनेहरूलाई निसाफको आधारमा नष्ट पार्नुभयो । तिनीहरूमाथि कुनै अत्याचार गरिएन । 
४८. यी काफिरहरू शत्रुतामा चुनौति दिँदै भन्छन्– यदि तिमीहरू आफ्नो प्रकोप  पठाउने वाचामा सच्चा हौ भने त्यो कहिले पूरा हुनेछ ?!
४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तिनीहरूलाई भनिदिनुहोस्– म स्वयम आफ्नो हानि तथा लाभको अधिकार राख्दिन भने अरूलाई कसरी हानि वा लाभ पुर्याउन सक्छु ? अल्लाहले नै चाहनुभएमा यो बेग्लै कुरा हो । मलाई कसरी अदृश्य वास्तविक्ताको ज्ञान हुन सक्छ ? हरेक समुदायको विनाशको लागि एउटा निर्धारित समय छ, जसको ज्ञान अल्लाहलाई मात्र छ । जब त्यो समय आइपुग्छ तब त्यसमा अलि कति पनि अगाडि पछाडि हुने छैन । 
५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! प्रकोप को लागि हतार गर्नेहरूलाई भनिदिनुहोस्– मलाई बताऊ, यदि अल्लाहको प्रकोप तिमीहरूमाथि रात वा दिनको कुनै समयमा आउँछ भने त्यसमा कुन यस्तो चिज हो जसको लागि तिमीहरू हतार गर्दैछौ ?!
५१. के जब तिमीहरूसित वाचा गरिएको प्रकोप आइपुग्नेछ तब ईमान ल्याउनेछौ, जब कि प्रकोप  आएपछि ल्याएको ईमानले कुनै फाइदा दिने छैन ? के तिमीहरू अब ईमान ल्याउनेछौ जबकि यसलाई झूठो ठहर गर्ने उद्देश्यले यसको लागि हतार गर्दै थियौ ?
५२. प्रकोप मा ग्रस्त गरिएपछि र यसबाट निकालिने माग गरेपछि तिनीहरूलाई भनिनेछ– तिमीहरू आखिरतको सधैं रहने यातना भोग । तिमीहरूलाई तिमीहरूले गरेको कुफ्र तथा अवज्ञाको बदला नै मिलेको छ !
५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरू तपाईंसित सोध्छन्– के हामीसित गरिएको यातनाको वाचा सत्य हो ? भनिदिनुहोस्– हो, अल्लाहको कसम त्यो सत्य हो, तिमीहरू यसबाट बच्न सक्दैनौ ।
५४. यदि प्रत्येक बहुदेववादीलाई पृथ्वीका सम्पूर्ण धन-सम्पत्ति पनि प्राप्त हुन्छन् भने उसले अल्लाहको यातनाबाट बच्नको लागि ती सबै अर्थदण्डको रूपमा दिन तयार हुनेछ । जब बहुदेववादीहरूले महाप्रलयको दिन यातनालाई देख्नेछन्, तब आफ्ना कुफ्रप्रति लागेको लाजलाई लुकाउनेछन् । अल्लाहले तिनीहरूबीच न्यायकासाथ निर्णय गर्नुहुनेछ । तिनीहरूसँग अन्याय गरिने छैन । तिनीहरूलाई त तिनीहरूले गरेका कार्यहरूको बदला दिइनेछ । 
५५. जानिराख ! आकाशहरू तथा पृथ्वीमाथि अल्लाहकै सत्ता शासन चल्छ । जानिराख, अल्लाहको तर्फबाट काफिरहरूलाई दिने यातनाको वचन सत्य हो । यसमा कुनै सन्देह छैन । तर अधिकांश मानिसहरूलाई थाहा नै छैन, त्यसैले यसको बारेमा शंकामा छन् ।
५६. अल्लाह नै मृतहरूलाई जीवित पार्नुहुन्छ र जीवितहरूलाई मार्नुहुन्छ । महाप्रलयको दिन मात्र उहाँतर्फ तिमीहरूलाई फर्काएर लगिनेछ, अनि उहाँले तिमीहरूको कर्मको बदला दिनुहुनेछ । 
५७. हे मानव हो ! तिमीहरूसमक्ष तिम्रा पालनकर्ताकोतर्फबाट कुरआन आइसकेको छ । यसमा उपदेश, हृदयमा भएका शंकाको रोगको उपचार र मार्गदर्शन छ । यसमा मोमिनहरूका लागि दया छ ।
५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मानिसहरूलाई भनिदिनुहोस्– म तिमीहरूसमक्ष जुन कुरआन लिएर आएको छु यो तिमीहरूका लागि अल्लाहको वरदान तथा दया हो । तसर्थ तिमीहरू अल्लाहको यस वरदान तथा दयाबाट प्रसन्न होऊ । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको कुरआन तिनीहरूले जम्मा गरिराखेका क्षणिक धन-सम्पत्तिभन्दा उत्तम छ ।
५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्– मलाई बताऊ अल्लाहले तिमीहरूलाई प्रदान गर्नुभएको खाद्या पदार्थमध्ये स्वयंले केहीलाई हराम र केहीलाई हलाल किन गरेका छौ । सोध्नुहोस्– के अल्लाहले हलाल तथा हराम गर्ने अनुमति दिनुभएको थियो वा तिमीहरू उहाँमाथि झूट रच्छौ ?!
६०. अल्लाहमाथि झूट रच्नेहरू जुन यातनाबारे सोच्दैछन् त्यो महाप्रलयको दिन तिनीहरूमाथि अवश्य आउनेछ ?! के अल्लाहले तिनीहरूलाई माफ गर्नुहुनेछ ? होइन, बरु अल्लाह तिनीहरूलाई अवसर दिएर तथा हतार नगरेर कृपा गर्नुहुन्छ । तर अधिकांश मानिसहरू अल्लाहका कृपालाई नकार्छन् । त्यसप्रति आभार प्रकट गर्दैनन् ।
६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं जुन अवस्थामा रहनुहुन्छ, कुरआन बाट जे पनि पढ्नुहुन्छ र हे मोमिनहरू हो ! तिमीहरू जुन कार्य पनि गर्छौ, हामी ती सबैलाई देख्छौं । हामी तिमीहरूबारे अवगत छौं र तिमीहरूलाई सुन्छौं । कुनै रत्तिबराबरको चिज आकाश तथा जमीनमा छैन, न सानो र न त्योभन्दा ठूलो जुन तपाईंका पालनकर्ताको दृष्टिबाट ओझेलमा होस् । बरु सबै एउटा सुरक्षित किताबमा लेखिएका छन् ।
६२. जानिराख ! अल्लाहका मित्रहरू महाप्रलयको खतरनाक अवस्थाबाट डराउँदैनन् र उनीहरूले संसारमा जे जति गुमाए त्यसप्रति चिन्तित हुने छैनन् ।
६३. अल्लाहका यस्ता मित्रहरूले नै उहाँ तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान राख्छन् र अल्लाहका आदेशहरूको पालना गरेर तथा वर्जित कार्यहरूबाट बचेर उहाँबाट डराउँछन् । 
६४. उनीहरूका लागि सांसारिक जीवनमा पनि शुभसूचना छ जस्तै राम्रो सपना, मानिसहरूको प्रशंसा, आत्मा लिँदाखेरि, मृत्यूपछि तथा हश्रको मैदानमा फरिश्ताहरूको शुभसूचना । अल्लाहले उनीहरूसँग गरेको वाचामा कुनै फेर बदल हुने छैन । यो बदला महान सफलता हो, किनभने उनीहरूले चाहेको कुरा पाउनेछन् र डराइएको कुराबाट सुरक्षित राखिनेछन् ।  
६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूले इस्लाम धर्ममा जुन दोष लगाउँछन् त्यसप्रति चिन्ता नलिनुहोस् । निस्सन्देह सम्पूर्ण प्रभुत्व अल्लाहकै निम्ति हुन् । उहाँ उनीहरूका कुराहरू सुन्नुहुन्छ र कर्महरूलाई जान्नु हुन्छ ।
६६. जानिराख ! आकाशहरू एवं पृथ्वीमाका सबै सृष्टिमाथि अल्लाहकै सत्ता-शासन छ । अल्लाहलाई छोडेर अरू साझेदारहरूलाई पुकार्नेहरू कुन चिजको अनुसरण गर्दैछन् ?! तिनीहरू मात्र शङ्काको अनुसरण गर्दैछन् र साझेदारहरूलाई अल्लाहसँग जोडेर झूट बोल्दैछन् । अल्लाह तिनीहरूले भनेको कुराबाट अति उच्च हुनुहुन्छ ।  
६७. हे मानव ! अल्लाह नै हुनुहुन्छ जसले तिमीहरूका लागि रात बनाउनुभयो ताकि त्यसमा आराम गर । उहाँले दिनलाई उज्यालो बनाउनुभयो ताकि त्यसमा जीविकाको लागि भाग दौड गर । निस्सन्देह यस्ता व्यक्तिहरूका लागि त्यसमा निशानीहरू छन् जो ध्यान पूर्वक पाठ लिनको लागि सुन्छन् ।
६८. बहुदेववादीहरूको एउटा गिरोहले भन्यो– अल्लाहले फरिश्ताहरूलाई आफ्नो छोरी बनाउनुभएको छ । अल्लाह तिनीहरूले भनेका कुराबाट पवित्र हुनुहुन्छ । उहाँ सबै सृष्टिभन्दा सुसम्पन्न हुनुहुन्छ । आकाशहरू एवं पृथ्वीमा जेजति छन् सबैमाथि उहाँ कै सत्ता-शासन छ । हे बहुदेववादीहरू हो ! तिमीहरूसँग तिमीहरूले भनेको कुराको कुनै प्रमाण छैन । के अल्लाहको लागि पुत्र ठहर गरेर तिमीहरू आपत्तिजनक कुरा गर्दैछौ, जसको न त कुनै वास्तविक्ता छ न कुनै प्रमाण ?! के तिमीहरू अल्लाहविरुद्ध त्यो कुरा गर्छौ जसबारे तिमीहरूलाई कुनै ज्ञान नै छैन । 
६९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– जुन व्यक्तिहरू अल्लाहको लागि पुत्र ठहर गरेर उहाँमाथि झूट रच्छन् तिनीहरू न त चाहेका सफलता पाउन सक्छन् न डराइएका यातनाबाट बच्न सक्छन् । तिनीहरू कदापि सफल हुने छैनन् ।
७०. संसारको मोज मस्तीबाट तिनीहरूले धोका खानुहुन्न । यो क्षणिक तथा थोरै सर-सामान हो, फेरि महाप्रलयको दिन तिनीहरूले हामीतर्फ नै फर्कनु पर्नेछ । अनि तिनीहरूको कुफ्रले गर्दा हामी कठोर दण्ड दिनेछौं ।
७१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई नूह (अलैहिस्सलाम) को सत्य कथा सुनाउनुहोस् । जब उनले आफ्ना समूदायलाई भने– हे मेरा समुदाय ! तिमीहरूलाई मेरो बसाई, अल्लाहका आयतहरूद्वारा उपदेश दिनु कष्टपूर्ण लागिरहेको छ र तिमीहरू मेरो हत्या गर्न चाहन्छौ भने म मात्र अल्लाहमाथि भरोसा गर्छु । तिमीहरू आफ्ना निर्णय गर, मलाई मार्ने प्रयास गर, मद्दतको लागि साझेदारहरूलाई पनि बोलाऊ । तिमीहरूको योजना गोप्य तथा अन्योलमा नरहोस् । फेरि मलाई मार्ने प्रयास गर र त्यसमा अलि पनि ढीलो नगर । 
७२. यदि तिमीहरू मेरो अहवानबाट विमुख हुन्छौ भने तिमीहरूलाई थाहा छ- मैले गरेको अहवानको बदला मैले माग्दिन । मेरो पुण्य त मात्र अल्लाहकहाँ रहेको छ । चाहे तिमीहरू ममाथि ईमान ल्याऊ वा इन्कार गर । अल्लाहले मलाई आज्ञाकारी बन्ने तथा सत्कर्म गर्ने आदेश दिनुभएको छ ।
७३. तर उनको समुदायले उनलाई झूठो ठहर गरे र उनीमाथि ईमान ल्याएन । हामीले नूह (अलैहिस्सलाम) तथा डुङ्गामा रहेका मोमिनहरूलाई जोगायौं र उनीहरूलाई विगतका समुदायको उत्तराधिकारी बनायौं । हामीले यस्ता सबै मानिसहरूलाई बाढीमा डुबाइदियौं जसले उनले ल्याएका निशानी तथा प्रमाणहरूलाई असत्य ठहर गरे । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हेर्नुहोस्, कस्तो परिणाम भयो ती व्यक्तिहरूको जसलाई नूह (अलैहिस्सलाम) ले सचेत गरेका थिए तर तिनीहरूले ईमान ल्याएका थिएनन् । 
७४. नूह (अलैहिस्सलाम) बितेको एक अन्तरालपछि हामीले अन्य रसूलहरूलाई तिनीहरूका समुदायहरूतर्फ पठायौं । उनीहरू स्पष्ट निशानीहरूसाथ तिनीहरूसमक्ष पुगे तर तिनीहरूले रसूलहरूलाई झूठो ठहर गर्ने पूरानै जिद्दीको कारणले ईमान ल्याएनन् । अनि अल्लाहले तिनीहरूका मन-मस्तिष्कमाथि सिल लगाउनुभयो । हामी हरेक युगका सीमा उल्लङ्घनकारीहरूका मन-मस्तिष्कमाथि यसरी नै सिल लगाउने गर्छौं । 
७५. उनीहरू पश्चात् हामीले मूसा तथा हारून (अलैहिमस्सलाम) लाई आफ्ना निशानीहरूसाथ मिस्रका राजा फिरऔन एवं उनका दरबारीहरूसमक्ष पठायौं, तर तिनीहरूले घमण्ड गरे, कुफ्र गरे र ईमान न ल्याएर अपराधी बने ।
७६. जब फिरऔन तथा उसका दरबारीहरूसमक्ष मूसा तथा हारून (अलैहिमस्सलाम) ले अल्लाहको धर्म तथा निशानीहरू पेश गरे तब तिनीहरूले भने– निश्चय नै यो एउटा स्पष्ट जादू हो ।
७७. मूसा (अलैहिस्सलाम) ले खण्डन गर्दै भने– के  तिमीहरू आफूसमक्ष आएको सत्यलाई जादू भन्छौ ?! कदापि होइन, यो जादू होइन । मलाई थाहा छ जादूगर कहिल्यै सफल हुन सक्दैन, अनि म कसरी जादूगर हुन सक्छु ?!
७८. फिरऔनको समुदायले जवाफमा भन्यो– के तिमी हामीले आफ्ना पूर्वजहरूबाट पाएका धर्मबाट हटाउनको लागि आएका छौ ताकि यहाँ तिमीहरू दुवैको सत्ता कायम होस् ? हे मूसा तथा हारून ! हामी तिमीहरू दुवैलाई कहिल्यै अल्लाहका रसूल मान्ने छैनौं ।
७९. फिरऔनले आफ्नो समूदायलाई भन्यो–जानकार तथा निपुण जादूगरहरूलाई मसमक्ष उपस्थित गराऊ ।
८०. जब जादूगरहरू आए तब मूसा (अलैहिस्सलाम) ले तिनीहरूलाई भने– हे जादूगरहरू हो ! जुन वस्तुहरू तिमीहरूले फ्यांक्नुछ फ्यांक ।
८१. जब तिनीहरूले जादू-सामग्री फ्यांके तब मूसा (अलैहिस्सलाम) ले भने– तिमीहरूले फ्यांकेका सामग्री जादू हो । निश्चय नै अल्लाहले त्यसलाई व्यर्थ तुल्याउनुहुनेछ र त्यसको प्रभावलाई समाप्त पार्नुहुनेछ । तिमीहरू आफ्नो जादूबाट विध्वंश उत्पन्न गर्न चाहन्छौ । अल्लाहले विध्वंसकारीको कार्यलाई सफल पार्नुहुन्न ।
८२. अल्लाहले आफ्नो आदेशले सत्यलाई आफ्ना वाणी तथा प्रमाणहरूबाट स्थापित गर्नुहुनेछ चाहे फिरऔनको समुदायका अपराधी काफिरहरूले कत्ति पनि मन नपराउन् । 
८३. मूसा (अलैहिस्सलाम) ले अति स्पष्ट निशानी तथा प्रमाणहरू प्रस्तुत गरे पनि फिरऔनको समुदाय विमुख भयो र उनलाई झूठो ठहर गर्यो । मूसा (अलैहिस्सलाम) माथि बनी इस्राईलका केही युवाहरूबाहेक अन्य कसैले फिरऔनको र आफ्नै अधिकारीहरूको डरले ईमान ल्याएनन्, कि कदाचित तिनीहरूले यातना दिएर ईमानबाट फेर्नेछन् । निस्सन्देह फिरऔन घमण्डी थियो र मिस्रमाथि प्रभुत्व कायम गरेको थियो । ऊ कुफ्रमा,  बनी इस्राईललाई हत्या गर्नमा र यातना दिनमा सीमा उल्लङ्घन गरेको थियो ।
८४. मूसा (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भने– यदि तिमीहरू अल्लाहमाथि पक्का ईमान राख्छौ भने उहाँमाथि नै भरोसा राख । अल्लाहमाथि भरोसाले गर्दा तिमीहरू दुष्टताबाट बच्नेछौ र भलाइ प्राप्त गर्नेछौ ।
८५. उनीहरूले जवाफ दिए– हामीहरूले मात्र अल्लाहमाथि भरोसा गर्यौं । हे हाम्रा पालनकर्ता ! हामीहरूमाथि अत्याचारीहरूलाई न थोप्नुहोस् । तिनीहरूले हामीहरूलाई यातना दिएर र हत्या गरेर हाम्रो धर्मबाट फेर्नेछन् ।
८६. हे हाम्रा पालनकर्ता ! हामीहरूलाई आफ्नो कृपाद्वारा फिरऔनका काफिरहरूबाट मुक्ति प्रदान गर्नुहोस्, किनभने तिनीहरूले हामीहरूलाई दास बनाएका छन्, यातना दिएर तथा हत्या गरेर कष्ट पुर्याउँदैछन् ।
८७. हामीले मूसा तथा उनका भाइ हारून (अलैहिमस्सलाम) माथि वही (प्रकाशना) अवतरित गर्यौं- तिमीहरू मिस्रमा आफ्ना समुदायका निम्ति मात्र एक अल्लाहको भक्तिको लागि घरहरू बनाऊ र ती घरहरूको दिशा बैतुल मक्दिसतर्फ गर । पूर्णरूपमा सलाह कायम गर । हे मूसा ! मोमिनहरूलाई शुभ-सूचना देऊ- तिमीहरूलाई अल्लाहको मद्दत प्राप्त हुनेछ । उहाँले शत्रुहरूलाई नष्ट गर्नुहुनेछ र तिमीहरूलाई धर्तीमा उत्तराधिकारी बनाउनुहुनेछ ।
८८. मूसा (अलैहिस्सलाम) ले प्रार्थना गरे– हे हाम्रा पालनकर्ता ! तपाईंले फिरऔन र उसका दरबारीहरूलाई सांसारिक जीवनमा सौन्दर्य तथा धन-सम्पत्ति प्रदान गर्नुभएको छ ताकि तिनीहरूले तपाईंप्रति आभार प्रकट गरुन् । तर तिनीहरूले मानिसहरूलाई तपाईंको मार्गबाट पथभ्रष्ट गर्न थाले । हे हाम्रा पालनकर्ता ! तिनीहरूका धनसम्पत्ति नष्ट गरिदिनुहोस्, तिनीहरूका हृदयलाई कठोर पारिदिनुहोस् ताकि दुःखदायी यातना देखुञ्जेलसम्म ईमान नल्याउन्, जब कि त्यतिखेरको ईमानले तिनीहरूलाई फाइदा पुर्याउने छैन ।
८९. अल्लाहले भन्नुभयो– हे मूसा तथा हारून ! फिरऔन तथा उसका दरबारीहरूविरुद्ध तिमी दुवैको दुआ (प्रार्थना) लाई मैले स्वीकार गरें । तिमी दुवैजना आफ्नो धर्ममा कायम रह र अज्ञानीहरूको मार्गको अनुसरण नगर ।
९०. हामीले समुद्रलाई दूई भागमा पारेर बनी इस्राईललाई सुरक्षित पार गरायौं । फिरऔन तथा उसका सैनिकहरूले अत्याचार तथा अन्याय गर्ने मन्शायले तिनीहरूको पीछा गरे । जब तिनीहरू समुद्रमा पुगे हामीले पानीलाई मिलाइदियौं । जब फिरऔन डुब्न थाल्यो र बच्ने आशा रहेन तब भन्यो– मैले ईमान ल्याएं बनी इस्राईलले ईमान ल्याएको सत्य ईश्वरमाथि । उहाँबाहेक कोही उपास्य छैनन् र म अल्लाहको आज्ञाकारी हुँ ।
मृत्यु हुँदाखेरिको तौबा स्वीकार्य हुँदैन भन्ने कुरालाई स्पष्ट पार्दै अल्लाहले भन्नुभयोः
९१. के तिमीहरू जीवनबाट निराश भएपछि यतिखेर ईमान ल्याउँदैछौ ?! जब कि हे फिरऔन ! यस प्रकोपअघि तिमीले अल्लाहको इन्कार गर्यौ । तिमी स्वयम पनि पथभ्रष्ट भएर र अरूलाई पथभ्रष्ट पारेर विध्वंसकारीहरू मध्ये बन्यौ ?
९२. हे फिरऔन ! आज हामी तिम्रो शवलाई समुद्रबाट निकालेर उच्च स्थानमा राख्नेछौं ताकि तिमी आफूपछि आउनेहरूका लागि पाठ बन । निश्चय नै धेरै मानिसहरू हाम्रा निशानी तथा प्रमाणहरूबाट विमुख छन्, त्यसमा विचार गर्दैनन् ।
९३. हामीले बनी इस्राईललाई सिरियामा धेरै राम्रो बास-स्थान तथा पवित्र खाद्यान्न प्रदान गर्यौं, तर जब तिनीहरूसमक्ष कुरआन आयो जसले तौरातमा वर्णन भएको मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को गुणको पुष्टि गर्यो तब तिनीहरूले धर्मको मामिलामा मतभेद गरे । जब तिनीहरूले त्यसको इन्कार गरे तब तिनीहरूबाट तिनीहरूको देश खोसियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ताले महाप्रलयको दिन तिनीहरू मतभेद गरिराखेका कुराबारे निर्णय गर्नुहुनेछ र सत्यवादी तथा असत्यवादी दुवैलाई तिनीहरूका कर्म अनुसार बदला दिनुहुनेछ ।
९४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि हामीले अवतरित गरेको कुरआनबारे तपाईंलाई शङ्का छ भने तौरात पढने यहूदीहरू र इन्जील पढने ईसाईहरूमध्ये इस्लाम ग्रहण गरेका मानिसहरूलाई सोध्नुहोस् । वास्तवमा तपाईंमाथि अवतरित भएको कुरआन सत्य हो भन्ने कुरा तिनीहरूले बताउनेछन् । तपाईंसमक्ष तपाईंका पालनकर्ताको तर्फबाट सत्य आइपुगेको छ जसमा कुनै सन्देह छैन । तपाईं कदापि सन्देह गर्नेहरूमध्ये नबन्नुहोस् ।
९५. तपाईं ती व्यक्तिहरूमध्ये नबन्नुहोस् जसले अल्लाहका निशानी र प्रमाणहरूलाई असत्य ठहर गरे । नत्र तपाईं घाटा खानेहरूमध्ये बन्नुहुनेछ । जसले पनि कुफ्र गरे आफूलाई बर्बादीमा पारेर घाटा खानेहरूमध्ये बने । नबी (सल्लल्लाहु अलैहि व सल्लम) बाट यस्तो केही कार्य हुने सम्भावना थिएन । यो त मात्र शंका गर्नु कति न राम्रो कार्य हो भन्न बताउनको लागि भनिएको छ । 
९६. निस्सन्देह यस्ता मानिसहरू कहिल्ये ईमान ल्याउने छैनन् जसमाथि अल्लाहको यो वचन सिद्ध भइसकेको छ कि तिनीहरू कुफ्रमा जिद्दी गरेको कारण त्यसैमा मर्नेछन् । 
९७. तिनीहरूसमक्ष सबै प्रकारका निशानी तथा प्रमाणहरू आए पनि तिनीहरूले ईमान ल्याउने छैनन् । दुःखदायी यातना आएपछि मात्र ईमान ल्याउनेछन् जतिखेर ईमान ल्याउनु कुनै फाइदा दिने छैन ।
९८. यूनुस (अलैहिस्सलाम) का समुदायबाहेक कुनै यस्तो समुदाय छैन जोतर्फ रसूल पठाइएको होस् अनि त्यसपछि उसले यातना देखेर ईमान ल्याएको होस् र उसको ईमानले उसलाई फाइदा पुर्याएको होस् । जब उनको समुदायले सच्चा ईमान ल्याए तब हामीले सांसारिक जीवनमा तिनीहरूबाट अपमानजनक यातना हटाइदियौं । जबसम्म उनीहरू जीवित रहे तबसम्म हामीले सांसारिक लाभ उठाउने अवसर प्रदान गर्यौं ।
९९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि अल्लाहले चाहनुभएको भए पृथ्वीमा बस्ने सबै मानिसहरूले ईमान ल्याउने थिए । तर उहाँले आफ्नो विवेकलले यस्तै चाहनुभयो । उहाँले जसलाई चाहनुहुन्छ आफ्नो निसाफले पथभ्रष्ट गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ आफ्नो कृपाले मार्गदर्शन गर्नुहुन्छ । मानिसहरूलाई ईमान ल्याउन बाध्य पार्नु तपाईंको वशमा छैन । मात्र अल्लाहले जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ । 
१००. कुनै पनि व्यक्तिको लागि अल्लाहको अनुमतिबिना ईमान ल्याउन सम्भव छैन । अल्लाहको अनुमतिबाट मात्र कसैले ईमान ल्याउन सक्छ । तपाईं तिनीहरूबारे चिन्ता न लिनुहोस् । जुन व्यक्तिहरू अल्लाहका प्रमाणहरूलाई बुझ्दैनन्, उहाँका आदेशहरूको पालना गर्दैनन् र वर्जित कार्यहरूबाट बच्दैनन् तिनीहरूलाई अल्लाहले प्रकोप तथा अपमान दिनुहुन्छ । 
१०१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निशानीहरू माग्ने बहुदेववादीहरूलाई भनिदिनुहोस्–तिमीहरू आकाशहरू तथा पृथ्वीमा फैलिएका निशानीहरूमा चिन्तन मनन गर । यी निशानीहरूले अल्लाह एक मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छन् । ईमान नल्याउने समुदायलाई निशानी, चेतावनी तथा रसूलको आगमनले पनि फाइदा पुर्याउँदैनन्, किनभने तिनीहरू कुफ्रमा जिद्दी गर्छन् ।
१०२. के यी झूठो ठहर गर्नेहरू त्यस्तै प्रकोपको प्रतीक्षा गरिरहेका छन् जस्तो प्रकोप अल्लाहले विगतका समुदायमाथि अवतरित गर्नुभयो ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– तिमीहरू अल्लाहको प्रकोप को प्रतीक्षा गर, म पनि तिमीहरूसँगै आफ्नो पालनकर्ताको वचनको प्रतीक्षा गर्दैछु ।
१०३. फेरि हामीले तिनीहरूमाथि प्रकोप अवतरित गर्छौं र आफ्ना रसूलहरू तथा मोमिनहरूलाई जोगाउँछौं । जसरी हामीले विगतका रसूलहरूलाई जोगायौं त्यसरी नै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र मोमिनहरूलाई पूर्णरूपमा जोगाउनेछौं । 
१०४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे मानव ! म तिमीहरूलाई एकेश्वरवादमा आधारित जुन इस्लाम धर्मतर्फ बोलाउँदैछु त्यो सत्य धर्म हो । यसमा श्ङ्का नगर । तिमीहरूको धर्म गलत धर्म हो भन्ने कुरामा म विश्वस्त छु । म त्यसको अनुसरण गर्दिन । अल्लाहबाहेक जसको उपासना तिमीहरू गर्छौ म चाहिं त्यसको उपासना गर्दिनं । म त्यस अल्लाहको उपासना गर्छु जसले तिमीहरूलाई मृत्यु दिनुहुन्छ । मलाई निष्कपट मोमिन बनेर रहने आदेश भएको छ ।
१०५. मलाई सत्य धर्म इस्लाममा कायम रहने आदेश छ । अन्य सबै धर्महरूलाई छोडेर मात्र इस्लाम धर्ममाथि अडिग रहनेछु । म कदापि बहुदेववादीहरूमध्ये न बनुं भन्ने मलाई आदेश छ ।
१०६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं अल्लाहलाई छोडी अन्य देवी देवतालाई नपुकार्नुहोस्, जो न त फाइदा पुर्याउन सक्छन् न हानि नै । यदि तपाईंले तिनीहरूको भक्ति गर्नुहुन्छ भने निश्चय नै अत्याचारीहरूमध्ये बन्नुहुन्छ ।
१०७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि अल्लाहले तपाईंलाई कुनै कष्ट दिनुहुन्छ र तपाईंले त्यसको निवारण चाहनुहुन्छ भने त्यसको निवारण अल्लाहले मात्र गर्न सक्नुहुन्छ । यदि उहाँले तपाईंलाई कुनै भलाइ प्रदान गर्न चाहनुहुन्छ भने त्यसलाई कसैले रोक्न सक्दैन । अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ उसलाई वरदान प्रदान गर्नुहुन्छ । उहाँलाई कसैले कर गर्न सक्दैन । उहाँ आफ्ना तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
१०८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे मानव हो ! तिमीहरूसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट कुरआन आइपुगेको छ । जसले पनि मार्गदर्शनको अुनसरण गर्छ र त्यसमाथि ईमान ल्याउँछ त्यसको फाइदा उसैलाई हुन्छ । किनभने अल्लाहलाई आफ्ना भक्तहरूको आज्ञापालनको खाँचो छैन । जसले पथभ्रष्टता अपनाउंछ उसले आफ्नै हानि गर्छ । भक्तहरूको अवज्ञाले अल्लाहको केही बिगार्दैन । म तिमीहरूमाथि हवलदार होइन कि तिमीहरूका कर्महरूको अनुगमन तथा मुल्याङ्कन गरुं । 
१०९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले वही (प्रकाशना) द्वारा तपाईंलाई जे भन्नु भएको छ त्यसको अनुसरण गर्नुहोस् र त्यसलाई व्यवहारमा ल्याउनुहोस् । तपाईंका विरोधी समुदायले जे जति कष्ट पुर्याउँछ त्यसप्रति धैर्यधारण गर्नुहोस् । अल्लाहको आदेश अनुसार उहाँको सन्देशलाई पुर्याउने काम जारी राख्नुहोस्, यहाँसम्म कि संसारमा अल्लाहको मद्दत आओस् र काफिरहरूको विनाश होस् । यदि तिनीहरूको मृत्यु कुफ्रकै अवस्थामा हुन्छ भने तिनीहरू आखिरतमा यातनाको भागी हुनेछन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...