शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे काफिरहरू हो ! तिमीहरूका लागि अल्लाहले निर्णय गर्नुभएको प्रकोप नजिक आइसकेको छ । तिमीहरू त्यसको लागि अझै हतार नगर । बहुदेववादीहरूले अल्लाहसँग ठहर गरेका साझेदारहरूबाट उहाँ पवित्र हुनुहुन्छ । २. अल्लाह फरिश्ताहरूद्वारा आफ्नो वही (प्रकाशना) जुन रसूलहरूमाथि चाहनुहुन्छ पठाउनुहुन्छ । अल्लाहले आदेश दिनुभयो– हे रसूलहरू हो ! मानिसहरूलाई शिर्क गर्नबाट रोक । मबाहेक अरू कोही पूज्य छैन । मेरा आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूलाई त्यागेर मात्र मसँग डराऊ ।३. अल्लाहले नै बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वीलाई उद्देश्यका साथ सृष्टि गर्नुभयो । उहाँले यी दुवैलाई बिना उद्देश्य सृष्टि गर्नुभएको छैन । यी दुवैको सृष्टिको उद्देश्य यस कुरालाई प्रमाणित गर्नु हो कि अल्लाह महान हुनुहुन्छ र यिनीहरूले गर्ने गरेका शिर्कबाट उच्च हुनुहुन्छ ।४. अल्लाहले मानवलाई तुच्छ वीर्यद्वारा सृष्टि गर्नुभयो । मानव विभिन्न चरणमा परिपक्व भएपछि सत्यलाई दबाउनको लागि खुल्लम खुल्ला असत्यको पक्षमा झगडा गर्न थाल्छ । ५. हे मानव हो ! अल्लाहले तिमीहरूको फाइदाको लागि ऊँट, गाई र भेड जस्ता जनावरहरू सृष्टि गर्नुभयो । ती जनावरहरूका फाइदाहरूमध्ये त्यसका कपालबाट न्यानो वस्त्र र गोबरबाट मल इत्यादि हुन् । अन्य फाइदाहरूमध्ये त्यसका दूध, छाला, पिठ्यूँमाथि सवारी र त्यसका मासु पनि हुन् ।६. साँझ परेपछि यी जनावरहरूलाई लिएर आउँदा र बिहान चराउनको लागि लिएर जाँदा ती जनावरहरू तिमीहरूलाई सुन्दर देखिन्छन् ।७. अल्लाहले सृष्टि गर्नुभएका यी चौपायाहरू तिमीहरूका यात्रामा भारी बोकेर यस्तो देशहरूसम्म पुर्याउँछन् जहाँसम्म तिमीहरू कठिन परिश्रम बिना पुर्याउन सक्दैन थियो । हे मानव ! निस्सन्देह तिमीहरूका पालनकर्ता अति स्नेहशील र परम दयालु हुनुहुन्छ, त्यसैले उहाँले यी चौपायाहरूलाई तिमीहरूको अधीनमा दिनुभयो ।८. अल्लाहले नै घोडा, खच्चड र गधाहरू सृष्टि गर्नुभयो ताकि तिमीहरू त्यसमा सवारी गर, आफ्ना भारी बोक र मानिसहरूबीच तिमीहरूका लागि यी शोभा बनुन् । अल्लाह आफ्ना मनसाय अनुसार यस्ता वस्तुहरूको सृष्टि गर्नुहुन्छ जसबारे तिमीहरूलाई थाहा नै छैन ।९. अल्लाहले नै सीधा मार्ग इस्लामलाई स्पष्ट पार्नुभयो जो उहाँको प्रसन्नता प्राप्त गर्ने एक मात्र मार्ग हो । इस्लामबाहेक जति पनि धर्महरू छन् ती सबै शैतानी मार्गहरू हुन् । यी सबै सत्यबाट हटेका र बाङ्गा टिङ्गा मार्गहरू हुन् । अल्लाहले चाहनुभएमा तिमीहरू सबैलाई ईमान ल्याउने अवसर दिनुहुन्थ्यो । १०. अल्लाहले नै तिमीहरूका लागि बादलबाट पानी बर्साउनुभयो । त्यस पानीलाई तिमीहरू पिउने गर्छौ र आफ्ना चौपायाहरूलाई पिलाउने गर्छौ । त्यसै पानीले गर्दा उम्रेका घास र बनस्पतिबाट आफ्ना चौपायाहरू चराउने गर्छौ ।११. अल्लाहले त्यसै पानीद्वारा तिमीहरूका लागि खेती उमार्नुहुन्छ, जसबाट तिमीहरू खाने गर्छौ । उहाँले नै यस पानीद्वारा तिमीहरूका लागि जैतून, खजूर, अंगूर र सबै प्रकारका फलहरू सृष्टि गर्नुहुन्छ । निस्सन्देह यस पानीमा सोच-विचार गर्ने व्यक्तिहरूका लागि अल्लाहका सामर्थ्यका प्रमाणहरू छन् ।१२. अल्लाहले नै तिमीहरूलाई रात प्रदान गर्नुभयो जसमा आराम गर्छौ र दिन प्रदान गर्नुभयो जसमा जीविका आर्जनको लागि संघर्श गर्छौ । उहाँले नै सूर्यलाई तिमीहरूको सेवामा खटाउनुभयो र त्यसलाई प्रकाशमय बनाउनुभयो । उहाँले नै चन्द्रमालाई तिमीहरूको सेवामा खटाउनुभयो र त्यसलाई ज्योतिर्मय बनाउनुभयो । उहाँकै आदेशले ताराहरू तिमीहरूको सेवामा खटिएका छन्, जसबाट जल र थलमा यात्रा गर्दा मार्ग पाउँछौ र समय पनि पत्ता लगाउँछौ । निस्सन्देह यसमा विवेकशीलहरूका लागि अल्लाहको सामर्थ्यका प्रमाणहरू छन् ।१३. अल्लाहले नै जमीनमा नाना थरिका खनिज पदार्थ, जनावर, बोट बिरुवा र अनाज सृष्टि गर्नुभयो । निस्सन्देह त्यसमा पनि शिक्षा ग्रहण गर्नेहरूका लागि अल्लाहको सामर्थ्यका प्रमाणहरू छन् । १४. अल्लाहले नै समुद्रलाई तिमीहरूको सेवामा खटाउनुभयो । तिमीहरूका लागि त्यसमा यत्रा र शिकार सम्भव बनाउनुभयो । तिमीहरू त्यसबाट ताजा र नम्र माछा खान्छौ र मोती जस्ता गहना निकाल्छौ । समुद्रबाट निकालेको गहना तिमीहरू पनि लगाउँछौ र तिमीहरूका महिलाहरू पनि लगाउँछिन् । तिमीहरू डुङ्गाहरूलाई पानी चिर्दै गुडिरहका देख्छौ । अल्लाहका वरदान खोज्न र व्यापार गर्न तिमीहरू यी डुङ्गाहरूमा यात्रा गर्छौ । आशा छ तिमीहरूले अल्लाहप्रति आभार प्रकट गर्छौ र मात्र उहाँ कै भक्ति गर्छौ । १५. अल्लाहले नै पृथ्वीमा पहाडहरू गाड्नुभयो ताकि पृथ्वी सन्तुलित रहोस् र तिमीहरूलाई लिएर नढल्कोस् । उहाँले पृथ्वीमा नदीहरू निकाल्नुभयो ताकि त्यसबाट तिमीहरू पनि पानी खाऊ, चौपायालाई खुवाऊ र खेतीको पनि सीँचाइ गर । उहाँले त्यसमा मार्गहरू बनाउनुभयो ताकि तिमीहरू त्यसमा हिँडेर गन्तब्यसम्म पुग्न सक । १६. अल्लाहले पृथ्वीमा तिमीहरूका लागि थप निशानीहरू बनाउनुभयो जसले गर्दा दिनमा यात्रा गर्दा सजिलै गन्तब्यसम्म पुग्छौ । उहाँले आकाशमा ताराहरू बनाउनुभयो, जसले गर्दा तिमीहरू रातमा मार्ग पत्ता लगाउँछौ ।१७. के जुन अल्लाहले यी वस्तुहरू सृष्टि गर्नुभयो ती भगवानहरू जस्तो हुन सक्छन् जसले केही पनि सृष्टि गरेका छैनन् ?! के तिमीहरू अल्लाहको महानतालाई स्म्रण गर्दैनौ जसले सबै वस्तुहरूलाई सृष्टि गर्नुभयो ? ताकि तिमीहरू मात्र एक अल्लाहको भक्ति गर र उहाँसँग अन्य कसैलाई साझेदार नबनाऊ । १८. हे मानव ! तिमीहरूले अल्लाहका वरदानहरूलाई गणना गर्न चाहे पनि गर्न सक्दैनौ । किनभने ती वरदानहरू धेरै छन् र विभिन्न खालका छन् । निस्सन्देह अल्लाह अति क्षमाशील हुनुहुन्छ । तिमीहरूले आभार प्रकट गर्न बिर्से पनि उहाँले माफ गर्नुहुन्छ । उहाँ परम दयालु हुनुहुन्छ । तिमीहरूका अवज्ञा र पापले गर्दा उहाँको दया बन्द हुँदैन । १९. हे भक्तहरू हो ! तिमीहरूले लुकिछिपी गरेका र खुल्लम खुल्ला गरेका सबै कार्यहरूलाई अल्लाह जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले त्यसको बदला दिनुहुनेछ ।२०. अल्लाहलाई छोडी बहुदेववादीहरू जुन मूर्तीहरूको पूजा गर्छन् तिनीहरूले केही पनि सृष्टि गर्न सक्दैनन् । बहुदेववादीहरू आफैंले तिनीहरूलाई बनाउनेगर्छन् । अनि कसरी तिनीहरू आफ्नै हातले बनाएका मूर्तीहरूको पूजा गर्छन् ?!२१. बहुदेववादीहरूले आफ्नै हातले बनाएकोले ती मूर्तीहरू निर्जीव वस्तु हुन् । ती मूर्तीहरूमा न ज्यान छ न ज्ञान । तिनीहरूलाई महाप्रलयको दिन आफ्ना भक्तहरूसँग कहिले जीवित पारेर उठाइनेछन् भन्ने कुरा पनि तिनीहरू जान्दैनन । ताकि तिनीहरूलाई बहुदेववादीहरूसँगै नर्कमा फ्याकिउन् । २२. तिमीहरूका पूज्य मात्र एक अल्लाह हुनुहुन्छ । उहाँसँग कोही साझेदार छैन । परलोकमा ईमान न राख्नेहरूका हृदयहरू एक अल्लाहको इन्कार गर्छन् । तिनीहरूका हृदयमा डर हुँदैन र हिसाब र सजायमा ईमान राख्दैनन् । तिनीहरू घमण्डी भएकोले सत्यलाई स्वीकार गर्दैनन् र नम्र हुँदैनन् । २३. निश्चय नै तिनीहरूले लुकाउने र प्रकट गर्ने कार्यहरूलाई अल्लाह जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै तिनीहरूको कर्महरूको बदला दिनुहुनेछ । वास्तवमा अल्लाहले अहङ्कारीहरूलाई मन पराउनुहुन्न बरु घृणा गर्नुहुन्छ ।२४. एकमात्र सृष्टिकर्ता अल्लाह र परलोकको इन्कार गर्नेहरूलाई जब सोधिन्छ- अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि के अवतरण गर्नुभयो ? तिनिहरूले भने– उहाँमाथि केही पनि अवतरण गरिएन । उहाँले आफैँ अतीतका कथाहरू रचना गरेर ल्याउनुभएको छ ।२५. महाप्रलयको दिन तिनीहरूले आफ्ना पापहरूको भार पनि पूर्णरूपमा उठाउनुपर्छ र ती व्यक्तिहरूका पापहरूको भार पनि उठाउनुपर्छ जसलाई तिनीहरूले बिना ज्ञान र अनुयायी बनाएर इस्लामबाट पथभ्रष्ट गरे । तिनीहरूले उठाउने आफ्ना पापहरूको भार र आफ्ना अनुयायीहरूका पापहरूको भार अति निकृष्ट हुनेछ ।२६. तिनीहरूभन्दा अघिका काफिरहरूले पनि आफ्ना रसूलहरूसँग यस्तै चलखेल गरेका थिए तर अल्लाहले तिनीहरूका घरहरूलाई जगसमेत उखेलेर फ्याँक्नुभयो । तिनीहरूमाथि तिनीहरूका घरका छानाहरू भत्केर खसे । तिनीहरूमाथि त्यस दिशाबाट प्रकोप आयो जहाँबाट तिनीहरूले कल्पनासमेत गरेका थिएनन् । तिनीहरूका घरहरूले तिनीहरूलाई बचाउनेछन् भन्ने कुरा ठानेका थिए । त्यसैले अल्लाहले तिनीहरूका घहरका छानाहरू नष्ट पार्नुभयो ।२७. फेरि अल्लाहले महाप्रलयको दिन तिनीहरूलाई यातना दिएर अपमानित गर्नुहुनेछ । उहाँले सोध्नुहुनेछ– कहाँ छन् तिमीहरूले मेरो भक्तिमा ठहर गरेका साझेदारहरू, जसले गर्दा तिमीहरू हाम्रा रसूलहरू र मोमिनहरूसित शत्रुता राखेका थियौ ? असल धर्मगुरुहरू भन्छन्– महाप्रलयको दिन काफिरहरूलाई अवश्य नै यातना र अपमानमा ग्रस्त गरिनेछ ।२८. यी काफिरहरूले कुफ्र गरेर स्वयममाथि अत्याचार गरिरहेको अवस्थामा यमदूत र उनका सहयोगीहरूले तिनीहरूको प्राण ग्रस्त गर्नेछन् । त्यस समय तिनीहरूले आत्म-समर्पण गर्नेछन् र आफूले गरेको कुफ्र र अवज्ञाबाट इन्कार गर्नेछन् । तिनीहरूले यो ठानेर इन्कार गर्नेछन् कि यस इन्कारले तिनीहरूलाई यातनाबाट बचाउनेछन् । तिनीहरूलाई जवाफ दिइनेछन्– तिमीहरू झूठ बोल्दैछौ, तिमीहरू काफिर थियौ र अवज्ञा गर्दै थियो । तिमीहरूले संसारमा गरिराखेका कार्यहरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ । उहाँबाट कुनै पनि कुरा लुकेको छैन । उहाँले तिमीहरूलाई त्यसको बदला दिनुहुनेछ ।२९. तिनीहरूलाई भनिनेछ– तिमीहरू आफ्नो कुकर्महरू अनुसार नर्कका विभिन्न ढोकाहरूमा पस । तिमीहरूले त्यसमा सदा सर्वदा बस्नु पर्छ । कति निकृष्ट छ घमण्डी मानिसहरूको बास-स्थान ! यही घमण्डले तिनीहरूलाई अल्लाहमाथि ईमान ल्याउन र उहाँको भक्ति गर्नबाट रोकेको थियो ।३०. अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूबाट बचेर उहाँसँग डराउनेहरूलाई सोधिनेछ– अल्लाहले तिमीहरूका नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि के अवतरण गर्नुभयो ? उनीहरूले जवाफ दिनेछन्– अल्लाहले उहाँमाथि धेरै भलाइ अवतरण गर्नुभयो । संसारमा राम्रो तरिकाले अल्लाहको भक्ति गर्ने र मानिसहरूसँग राम्रो व्यवहार गर्नेहरूलाई लोक र परलोक दुवैमा राम्रो बदला दिइनेछ । लोकको भलाइ अल्लाहको मद्दत र जीविकामा बढोतरीको रूपमा मिल्नेछ । परलोकमा मिल्ने बदला लोकको क्षणिक सांसारिक बदलाभन्दा उत्तम हुनेछ । अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूलाई त्यगागेर ईशभय राख्नेहरूका लागि आखिरतको कति राम्रो घर हुनेछ ।३१. उनीहरू सदा रहने बगैंचाहरू प्रवेश गर्नेछन् जसको तलबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरूका लागि त्यसमा मन पराउने खाद्द-समग्री इत्यादि हुनेछन् । अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को समुदाय र विगतका सबै सन्देष्टाहरूका समुदायहरूलाई यस्तै बदला दिनुहुनेछ ।३२. मोमिनहरूको प्राण उनीहरूका हृदय कुफ्रबाट पवित्र भएको अवस्थामा यमदूत र उनका सहयोगीहरूले नियन्त्रणमा लिनेछन् । फरिश्ताहरूले भन्नेछन्– तपाईंहरूमाथि शान्ति होस् । तपाईंहरू सबै किसिमका सङ्कटहरूबाट सुरक्षित हुनुभयो । संसारमा तपाईंहरूले ठीक आस्था राखेको ले र सत्कर्म गरेको ले स्वर्गमा प्रवेश गर्नुहोस् ।३३. के यी झूठा ठहर गर्ने बहुदेववादीहरू यस प्रतीक्षामा छन्– यमदूत र उनका सहयोगीहरू आउन् र तिनीहरूका अनुहार र पिठ्यूँमाथि प्रहार गर्दै तिनीहरूका प्राण नियन्त्रणमा लेउन् ? वा तिनीहरूलाई संसारमा पूर्णरूपमा विनाश गर्ने प्रकोपको आदेश अल्लाहको तर्फबाट आओस् ? मक्काका बहुदेववादीहरूले गरिराखेका कार्यहरू जस्तै विगतमा बहुदेववादीहरूले कार्य गरेका थिए, अनि अल्लाहले तिनीहरूको सर्वनाश गर्नुभएको थियो । अल्लाहले तिनीहरूलाई सर्वनाश गरेर तिनीहरूमाथि अत्याचार गर्नुभएको थिएन बरु तिनीहरूले कुफ्र गरेर स्वयममाथि अत्याचार गरेका थिए ।३४. अतः तिनीहरूले गरेका कुकर्महरूले गर्दा तिनीहरूमाथि प्रकोप अवतरण भयो । तिनीहरू जुन प्रकोपको ठट्टा गर्दै थिए त्यही प्रकोपले तिनीहरूलाई घेरामा लियो ।३५. बहुदेववादीहरूले भने– यदि अल्लाहले चाहनुभएको भए हामीहरू र हाम्रा पूर्वजहरूले उहाँको भक्तिमा कसैलाई साझेदार बनाउने थिएनौं । उहाँले चाहनुभएमा हामीहरूले कुनै पनि वस्तु हराम गर्ने थिएनौं । यस्तै किसिमका गलत तर्कहरू विगतका काफिरहरूले पनि दिएका थिए । रसूलहरूको जिम्मेबारी अल्लाहको आदेश अनुसार उहाँको सन्देश स्पष्टरूपमा पुर्याउनु मात्र हो । रसूलहरूले अल्लाहको सन्देश स्पष्टरूपमा पुर्याएर आफ्ना जिम्मेबारी पूरा गरे । काफिरहरूले गर्ने गरेका भाग्यको यो बहाना अस्वीकार्य हो । किनभने अल्लाहले तिनीहरूलाई विवश पार्नुभएन बरु अधिकार दिनुभयो र रसूलहरू पठाउनुभयो । ३६. हामीले प्रत्येक समुदायमा रसूल पठायौं । रसूलले आफ्ना समुदायलाई भने– मात्र अल्लाहको उपासना गर र मूर्ती र शैतानहरू इत्यादिको भक्ति नगर । तिनीहरूमध्ये जसलाई अल्लाहले सीधा मार्ग देखाउनुभयो उनीहरू ईमान ल्याए र रसूलले ल्याएको सन्देशको अनुसरण गरे । तिनीहरूमध्ये जसले अल्लाहको इन्कार गरे र रसूलको अवज्ञा गरे तिनीहरूलाई अल्लाहले सीधा मार्ग देखाउनुभएन, अनि तिनीहरू पथभ्रष्ट भए । तिमीहरू धर्तीमा घुमफिर गर अनि हेर अल्लाहको प्रकोपले गर्दा झूठा ठहर गर्नेहरूको के कस्तो परीणाम भयो । ३७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले तिनीहरूलाई जति आह्वान गरे पनि, तिनीहरूको मार्गदर्शनको लागि जति लालायित भए पनि र संघर्ष गरे पनि अल्लाहले तिनीहरूलाई मार्गदर्शन गर्न सक्नुहुन्न । तिनीहरूमाथि आएको प्रकोपबाट बचाउन अल्लाहबाहेक कोही सहयोगी हुने छैन ।३८. पुनर्जन्मलाई झूठा ठहर गर्नेहरू अल्लाहको पक्का कसम खाएर भन्छन्– मृत व्यक्तिहरूलाई अल्लाहले पुनः जीवित पार्नुहुन्न । तिनीहरू यो कुरा बिना तर्क भन्छन् । अल्लाहले तिनीहरूको पुनर्जन्म किन गर्नुहुन्न ? उहाँले अवश्य र चाँडै नै सबै मृतहरूको पुनर्जन्म गर्नुहुन्छ । यो उहाँको सत्य वाचा हो । तर अधिकांश मानिसहरू यो कुरा जान्दैनन् र यसको इन्कार गर्छन् ।३९. अल्लाहले महाप्रलयको दिन सबै मानिसहरूलाई पुनः जीवित पार्नुहुनेछ ताकि उनीहरूले तौहीद, पुनर्जन्म र नुबुव्वत (ईश्दूतत्व) मा गरेको विभेदबारे स्पष्ट पारुन् । साथै काफिरहरूले जानुन्- अल्लाहसँग साझेदार बनाउने दावीमा र पुनर्जन्मको इन्कार गर्ने कार्यमा पनि तिनीहरू झूठा थिए ।४०. जब हामी मृतहरूलाई जीवित पार्ने निर्णय गर्छौं तब हामीलाई कसैले पनि रोक्न सक्दैन । हामीले भइहाल भन्छौं अनि त्यो अवश्य नै भइहाल्छ ।४१. काफिरहरूको अत्याचारको शिकार भएपछि अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि आफ्ना घर, परिवार र धन-सम्पत्ति त्यागेर हिज्रत (पलायन) गर्नेहरूलाई हामीले अवश्य यस लोकमा पनि सम्मानित बास-स्थान प्रदान गर्नेछौं र परलोकको प्रतिदानमध्ये स्वर्ग पनि भएको ले त्यो झन् महान हुनेछ । हिज्रत गर्नेहरूले कति पुण्य प्राप्त गरे भन्ने कुरा हिज्रत नगर्नेहरूले जानेका भए तिनीहरूले अवश्य हिज्रत गर्ने थिए ।४२. अल्लाहको मार्गमा हिज्रत गरेका यी मुहाजिरहरूले नै धैर्य धारण गरे । उनीहरूले आफ्ना समुदायले दिएका कष्टमा धैर्य गरे, घर परिवार र स्वदेशलाई त्यागेर धैर्य गरे, अल्लाहको आज्ञापालनमा अडिग रहेर धैर्य गरे । यस्ता मानिसहरू सबै मामिलामा मात्र अल्लाहमाथि भरोसा गर्छन् । त्यसैले उहाँले उनीहरूलाई यो महान बदला दिनुभएको छ ।४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले मात्र मानवमध्ये पुरुषहरूलाई रसूल बनाएर पठायौं । उनीहरूमाथि हामीले वही (प्रकाशना) अवतरण गर्यौं । हामीले फरिश्ताहरूमध्ये रसूल पठाएनौं । यही हाम्रो कायम रहने कानुन रहदै आएको छ । यदि तिमीहरू यस कुराको इन्कार गर्छौ भने यहूदी र ईसाईहरूलाई सोध । रसूलहरू मानव थिए, फरिश्ता थिएनन् भन्ने कुरा तिनीहरूले बताउनेछन् ।४४. हामीले यी रसूलहरूलाई स्पष्ट प्रमाण र किताबहरूका साथ पठायौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि कुरआन अवतरण गरेका छौं । ताकि तपाईंले मानिसहरूका निम्ति आवश्यक्ता अनुसार यसलाई स्पष्ट पार्नुहोस् । आशा छ मानिसहरूले यसमा रहेका विचार र उपदेश ग्रहण गर्नेछन् । ४५. के मानिसहरूलाई अल्लाहको मार्गबाट रोक्नको लागि षड्यन्त्र गर्नेहरू यस कुराबाट निश्चिन्त छन्– अल्लाहले तिनीहरूलाई धर्तीमा धसाउन् जसरी कारूनलाई धसाउनुभएको थियो वा तिनीहरूमाथि अकस्मात प्रकोप आओस् ।४६. के तिनीहरू यस कुराबाट निश्चिन्त छन् कि यात्रा र जीविकाको आर्जनको लागि भाग-दौड गरिरहेको अवस्थामा अल्लाहको प्रकोपले तिनीहरूलाई समातुन् । तिनीहरू यसबाट बच्न पनि सक्दैनन् र यसो गर्नबाट अल्लाहलाई रोक्न पनि सक्दैनन् ।४७. के तिनीहरू यस कुराबाट निश्चिन्त छन्– खतरा महसुस गरिरहेकै अवस्थामा अल्लाहको प्रकोपले तिनीहरूलाई समातुन् ? अल्लाह हरेक अवस्थामा यातना दिने सामर्थ्य राख्नुहुन्छ । निस्सन्देह तिमीहरूका पालनकर्ता स्नेहशील र परम दयालु हुनुहुन्छ । उहाँले प्रकोप पठाउनमा हतार गर्नुहुन्न, यस आशाका साथ कि तिनीहरूले तौबा गरुन् । ४८. के यी झूठा ठहर गर्नेहरूले अल्लाहका सृष्टिहरूमा विचार गरेनन् ? यी सृष्टिहरूका छायाँहरू दिनमा सूर्य र रातिमा चन्द्रमाको आवत जावतको अनुसरण गर्दै दायाँबायाँ फर्कंदै र विनम्रताका साथ अल्लाहसमक्ष सज्दा गर्ने गर्छन् ?४९. आकाशहरू र धर्तीमा रहेका सबै सृष्टि, जनावर र फरिश्ताहरू मात्र अल्लाहकै सज्दा गर्छन् । उनीहरू अल्लाहको भक्ति र आज्ञापालनबाट अलि कति पनि घमण्ड गर्दैनन् ।५०. उनीहरू सधैं अल्लाहको भक्ति र आज्ञाकारी गर्दै आफूमाथि पूर्ण हावी रहेका पालनकर्तासित डराउँछन् । उनीहरू अल्लाहको आदेशहरूको पूर्ण पालना गर्छन् । ५१. अल्लाहले सबै भक्तहरूलाई भन्नुभयो– दुईवटा उपास्य न बनाऊ । वास्तवमा म एक मात्र उपास्य छु । मसँग कोही साझेदार छैन । तिमीहरू मात्र मसँग डराऊ अन्य कसैसँग नडराऊ ।५२. आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूलाई अल्लाहले नै सृष्टि गर्नुभयो, यी सबै उहाँकै अधीनमा छन् र सबैमाथि उहाँकै आदेश चल्दैछ । यी सबै वस्तुहरू अल्लाहकै आज्ञापालन गर्दैछन् । अनि के तिमीहरू अल्लाहबाहेक अरूसित डराउँछौ ?! तिमीहरू मात्र अल्लाहसित डराऊ ।५३. हे मानव ! तिमीहरूलाई प्राप्त धार्मिक र सांसारिक सबै वरदानहरू अल्लाहले नै प्रदान गर्नुभएको छ, अन्य कसैले प्रदान गरेको छैन । जहिले पनि तिमीहरूलाई कुनै दुःख, रोग र गरीबी पुगेमा उहाँसँग नै दुआ (प्रार्थना) गर्छौ ताकि उहाँले तिमीहरूको दुःख निवारण गरुन् । वरदानहरू प्रदान गर्ने र दुःखलाई हरण गर्ने अल्लाह कै भक्ति गर्नु अनिवार्य छ ।५४. जब अल्लाह तिमीहरूको दुःख निवारण गर्नुहुन्छ तब तिमीहरूमध्येको एउटा गिरोह उहाँबाहेक अरूको भक्ति गरेर उहाँसँग साझेदार बनाउन थाल्छ । यो कस्तो विडम्बनाको विषय हो ?!५५. अल्लाहसँग साझेदार बनाउने कार्यले तिनीहरूलाई कृतघ्न बनायो । तिनीहरूमाथि अल्लाहका धेरै वरदानहरू छन् जसमध्ये कष्टको निवारण पनि हो, तर तिनीहरूले त्यसको लागि अल्लाहप्रति आभार प्रकट गरेनन् । अनि तिनीहरूलाई भनियो–। चाँडै वा ढिलो आउने अल्लाहको प्रकोपअघि तिमीहरू उहाँका वरदानहरूमा मोजमस्ती गर । ५६. बहुदेववादीहरू मूर्तीहरूको निकट्ता प्राप्त गर्न हामीले प्रदान गरेको धन-सम्पत्तिमा तिनीहरूका लागि अंश छुट्याउँछन् । तर यी मूर्तीहरू निर्जीव भएको केही पनि जान्दैनन्, न लाभ पुर्याउन सक्छन् र न हानि नै । हे बहुदेववादीहरू हो ! अल्लाहको कसम ! तिमीहरूले ईश्वर ठानेका मूर्तीहरू र तिनीहरूका लागि धनमा अंश निकाल्नेबारे अल्लाहले अवश्य सोध पूछ गर्नुहुनेछ । ५७. बहुदेववादीहरूले अल्लाहका लागि छोरीहरू ठहर गर्छन् । फरिश्ताहरू अल्लाहका छोरीहरू हुन् भन्ने कुरा तिनीहरू विश्वास गर्छन् । तिनीहरू अल्लाहको लागि छोरी ठहर गर्छन् तर आफ्नो लागि छोरी मन पराउँदैनन्, बरु छोरा मन पराउँछन् । तिनीहरूले ठहर गरेको कुराबाट अल्लाह पवित्र हुनुहुन्छ । यो कति ठूलो अपराध हो ?!५८. जब यी बहुदेववादीहरूमध्ये कसैलाई छोरी जन्मिएको खबर दिइन्छ तब अति घृणा र दुःखले गर्दा तिनीहरूको अनुहार कालो हुन पुग्छ । अनि तिनीहरू अल्लाहको लागि त्यो कुरा ठहर गर्छ जो आफ्नो लागि मन पराउँदैनन् !५९. छोरीको जन्मको शुभ-सूचनालाई अशुभ ठानेर ऊ मानिसहरूसित लुकेर हिँड्छ । मनमा भन्छः अपमान सहेर यसलाई जीवित राखुँ कि माटोमा पुरिदेउँ ? पछुतो छ बहुदेववादीहरूप्रति, कति नराम्रो निर्णय गर्छन् । अल्लाहको लागि त्यो कुरा ठहर गर्छन् जो आफ्नो लागि मन पराउँदैनन् ।६०. परलोकमा ईमान नराख्ने काफिरहरूका अवगुणहरू अति नराम्रो छन्, जस्तै छोराको आवश्यक्ता, अज्ञानता, कुफ्र । अल्लाहका गुणहरू अति उच्च छन्, जस्तै शान शौकत, पूर्णता, सम्पन्नता, ज्ञान । उहाँ प्रभुत्वशाली हुनुहुन्छ जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ सृष्टि, कार्य सञ्चालन र कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।६१. यदि अल्लाहले मानिसहरूलाई तिनीहरूको अत्याचारको कारण तुरुन्तै समात्नु भएका भए उहाँले धर्तीका कुनै मानिस र प्राणीलाई छोड्नुहुने थिएनन् । तर एउटा निर्धारित म्यादसम्म उहाँले तिनीहरूलाई अवसर प्रदान गर्नुहुन्छ । अनि जब त्यो निर्धारित म्याद आइपुग्छ तब एक क्षिणको लागि पनि तिनीहरू न एक घडी पछि हट्न सक्नेछन् न अघि नै बढ्न सक्नेछन् ।६२. तिनीहरू अल्लाहका निम्ति छोरी सिद्ध गर्छन् जुन तिनीहरू स्वयम् मन पराउँदैनन् । तिनीहरूको जिब्राहरू झूठो मात्र बोल्ने गर्छन् । महाप्रलयको दिन तिनीहरूका लागि राम्रो बदला रहेको छ भन्ने कुरा तिनीहरू ठानेका छन् । होइन, वास्तवमा तिनीहरूको बास-स्थान नर्क हो । तिनीहरू त्यसमा फ्याँकिनेछन् र कहिले पनि निकालिने छैनन् । ६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको कसम, निश्चय नै हामीले तपाईंभन्दा अघिका समूदायहरूसमक्ष आफ्ना रसूलहरू पठायौं । तर शैतानले तिनीहरूका शिर्क, कुफ्र र अवज्ञा जस्ता कुकर्महरूलाई तिनीहरूको दृष्टिमा सुन्दर तुल्याएर देखायो, मानौं त्यसले महाप्रलयको दिन तिनीहरूको सहयोग गर्नेछ र तिनीहरूले त्यससित मद्दत माग्नुपर्छ । वास्तविक्ता के छ भने तिनीहरू सबैका लागि दुःखदायी यातना छ ।६४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि कुरआन यस उद्देश्यले अवतरण गरेका छौं कि तपाईंले तिनीहरूसमक्ष एकेश्वरवाद, पुनर्जन्म, इस्लामी कानुन स्पष्ट पार्नुहोस् जसमा तिनीहरू मतभेद गर्छन् । यो किताब र यसमा रहेका सन्देश मोमिनहरूका लागि मार्गदर्शन र दया हो भन्ने कुरा पनि बताउनुहोस् किनभने उनीहरू नै सत्यबाट फाइदा उठाउँछन् ।६५. अल्लाहले नै आकाशबाट पानी बर्साउनुभयो । वर्षाको पानीबाट मृत र सुकेको भूमिलाई जीवित पार्नुभयो र त्यसमा बाली नाली उमार्नुभयो । निस्सन्देह आकाशबाट वर्षा बर्साउने र बाली नाली उमार्ने कार्यमा अल्लाहको शक्तिको स्पष्ट प्रमाण छ । यी प्रमाणहरूबाट अल्लाहका वाणी सुन्ने र त्यसमा चिन्तन-मनन गर्ने मानिसहरू लाभ उठाउने गर्छन् । ६६. हे मानव ! तिमीहरूका लागि ऊँट, गाइ र भेडमा पनि शिक्षा छ । हामीले तिनीहरूका पेटभित्रका गोबर र रगतको बीचबाट तिमीहरूलाई शुद्ध दूध खुवाउने गर्छौं । गोबर र रगतको बीचबाट निस्के पनि यो दूध अति शुद्ध, सफा र स्वादिष्ट हुन्छ र पिउने व्यक्तिहरू मन पराउँछन् । ६७. हामीले प्रदान गरेका खजुर र अंगुरका फलहरूमा पनि तिमीहरूका लागि उपदेश छ । तिमीहरू त्यसबाट नशालु पदार्थ पनि बनाउने गर्छौ जसले गर्दा बुद्धि हराउँछ । यो नराम्रो वस्तु हो । यसबाट पवित्र र लाभदायक खानेकुरा प्राप्त गर्छौ जस्तै खजुर, किश्मिश, भ्यानिगर, गोली । निस्सन्देह यसमा बुद्धिमानहरूका लागि अल्लाहको सामर्थ्यका प्रमाणहरू छन् । यस्ता मानिसहरू नै यसबाट शिक्षा ग्रहण गर्छन् ।६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले माहुरीलाई निर्देशन दिनुभयो- तिमीहरू पहाड, रूख तथा मानिसहरूले उठाएका छानाहरूमा आफ्ना घर बनाऊ ।६९. त्यसपछि तिमीहरूले मन पराएकी हरेक प्रकारका फलहरू खाऊ र पालनकर्ताले बताएको सहज मार्गमा हिड्ने गर । ती माहुरीका पेटबाट सेतो र पहेलो इत्यादि विभिन्न रङ्गका मह निस्कन्छ । त्यसमा मानिसहरूका लागि उपचार छ । मानिसहरू विभिन्न रोगहरूको उपचार गर्ने गर्छन् । निस्सन्देह माहुरी र मह दुवैमा चिन्तन-मनन गर्ने मानिसहरूका लागि अल्लाहका सामर्थ्य र सत्ता-शासनका प्रमाणहरू छन् । ७०. अल्लाहले नै तिमीहरूलाई बिना कुनै अघिल्लो उदाहरण सृष्टि गर्नुभयो । तिमीहरूको उमेर पूरा भएपछि उहाँले नै तिमीहरूलाई मृत्यु दिनुहुनेछ । तिमीहरूमध्ये केही व्यक्तिहरू निकृष्टतम आयुसम्म पुगेपछि मर्छन् । यहाँसम्म कि तिनीहरूले जानेका कुराहरू पनि बिर्सन्छन् । निस्सन्देह अल्लाह भक्तका सबै कार्यहरू जान्नुहुन्छ । केही पनि उहाँबाट लुकेको छैन । उहाँ सामर्थ्यवान हुनुहुन्छ, कोही पनि उहाँलाई विवश पार्न सक्दैन ।७१. अल्लाहले तिमीहरूमध्ये केही व्यक्तिहरूलाई अन्य केही व्यक्तिहरूमाथि जीविकामा प्रधानता प्रदान गर्नुभयो । कसैलाई धनि बनाउनुभयो र कसैलाई गरीब बनाउनुभयो । कसैलाई पदाधिकारी बनाउनुभयो र कसैलाई अनुयायी बनाउनुभयो । धनि र पदाधिकारी मानिसहरू आफ्ना मातहत र अनुयायीहरूलाई आफ्नो धन र पद यति मात्रामा दिने गर्दैनन् कि तिनीहरू त्यसमा बराबर होउन् । जब धनि र पदाधिकारीहरू आफ्ना अनुयायी र मातहतलाई आफ्नो बराबर बनाउन चाहदैन भने अल्लाहले कसरी आफ्ना भक्तहरूलाई आफ्नो साझेदार बनाउन सक्नुहुन्छ । अल्लाहसँग कसैलाई साझेदार बनाउनु कति ठूलो अत्याचार हो र उहाँको वरदानको कति ठूलो इन्कार हो ?! ७२. हे मानव ! अल्लाहले तिमीहरूका लागि तिमीहरूमध्येबाट जोडीहरू बनाउनुभयो जोसँग तिमीहरू हेलमेल गर्छौ । उहाँले नै तिमीहरूका पत्नीहरूबाट सन्तान र सन्तानबाट नातिहरू प्रदान गर्नुभयो । तिमीहरूलाई मासु, अनाज र फलहरू जस्ता पवित्र जीविका प्रदान गर्नुभयो । के यसका बावजुद पनि मानिसहरू मूर्ती र देवी देवता जस्ता असत्यमाथि ईमान राख्दछन् ? के यिनीहरू अल्लाहका यति धेरै वरदानलाई अस्वीकार गर्दछन् ? के यिनीहरू एक अल्लाहमाथि ईमान ल्याएर यी वरदानहरूप्रति आभार प्रकट गर्दैनन् ।७३. यी बहुदेववादीहरू अल्लाहलाई छोडेर मूर्तीहरूको पूजा गर्छन्, जो तिनीहरूलाई न त आकाशहरूबाट जीविका दिन सक्छन् न पृथ्वीबाट । तिनीहरू निर्जीव वस्तु भएको ले तिनीहरूका लागि केही पनि गर्ने क्षमता राख्दैनन् । तिनीहरूमा न जीवन छ न ज्ञान ।७४. हे बहदेववादीहरू हो ! यी कमजोर मूर्तीहरूलाई अल्लाह जस्तो नबनाऊ । यी मूर्तीहरू न लाभ पुर्याउन सक्छन् न हानि नै । अल्लाह जस्तो केही पनि छैन जसलाई उहाँको भक्तिमा साझेदार बनाउन सक । निस्सन्देह अल्लाह आफ्ना शक्तिशाली र सुन्दर गुणहरूलाई राम्ररी जान्नुहुन्छ । तिमीहरूलाई ज्ञान न भएको ले तिमीहरू शिर्क गर्न थाल्छौ र मूर्तीहरूलाई अल्लाह जस्तो बनाउन थाल्छौ । ७५. अल्लाह बहुदेववादीहरूको खण्डनको लागि एउटा उदाहरण दिनुहुन्छ; एकजना दास छ जो स्वयम् कुनै अधिकार राख्दैन । ऊसँग खर्च गर्नको लागि धन पनि छैन । के यस्तो दास त्यस मुक्त व्यक्ति जस्तो हुन सक्छ जसलाई हामीले हलाल जीविका प्रदान गरेका छौं जसबाट ऊ गोप्य र वाह्य रूपमा जसरी र जहिले चाहन्छ खर्च गर्दछ । यी दुवै किसिमका व्यक्तिहरू एक समान हुन सक्दैनन् । अनि तिमीहरू महान मालिक अल्लाह र निरीह मूर्तीहरूलाई कुन आधारमा एक समान ठान्दछौ ?! सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् तर अधिकांश बहुदेववादीहरू अल्लाह मात्र ईश्वर हुनुहुन्छ र उहाँ मात्र भक्ति योग्य हुनुहुन्छ भन्ने कुरालाई जान्दैनन् ।७६. बहुदेववादीहरूको खण्डनको लागि अल्लाह एउटा अर्को उदाहरण दिनुहुन्छ । दुई जना व्यक्तिहरू छन् जसमध्ये एकजना लाटो छ न सुन्न सक्छ न बोल्न सक्छ र न केही बुझ्न सक्छ । लाटो भएको ले न स्वयमलाई कुनै फाइदा पुर्याउन सक्छ न अरू कसैलाई । त्यो आफ्नो मालिकमाथि बोझ बनेको छ । उसले त्यसलाई जता पठाए पनि त्यसले कुनै ठीक कार्य गरेर आउँदैन । के यस्तो व्यक्ति त्यस व्यक्ति समान हुन सक्छ जोसँग सुन्ने र बोल्ने क्षमता छ, मानिसहरूलाई फाइदा पुर्याउँछ, न्यायको आदेश दिन्छ र सीधा मार्गमा छ ?! हे बहुदेववादीहरू हो ! अनि तिमीहरू कुन आधारमा सुन्दर शक्तिशाली गुणहरू बोकेका महान अल्लाह र निरीह मूर्तीहरूलाई एकसमान ठान्दछौ, जो न सुन्न सक्छन्, न बोल्न सक्छन्, न कुनै फाइदा पुर्याउन सक्छन् र न कष्टलाई समाप्त पार्न सक्छन् ?!७७. आकाशहरू र पृथ्वीमा लुकेका अदृश्य वास्तविक्ताहरूको ज्ञान मात्र अल्लाहलाई छ, अरू कसैलाई छैन । महाप्रलय यति नजिक छ मानौं त्यो पलभरमा वा त्योभन्दा पनि छिटो हुनेछ । निस्सन्देह अल्लाह प्रत्येक कार्यको सामर्थ्य राख्नुहुन्छ, उहाँलाई कसैले विवश पार्न सक्दैन । जब उहाँ कुनै कार्य गर्ने नीयत गर्नुहुन्छ तब भन्नुहुन्छ भइ हाल, अनि त्यो हुन पुग्छ । ७८. हे मानव ! जब तिमीहरू आमाको गर्भमा पूर्णरूपमा शिशु बन्यो तब अल्लाहले तिमीहरूका आमाहरूका कोखबाट निकाल्नुभयो । त्यतिखेर तिमीहरू केही पनि जानिरहेरका थिएनौ । उहाँले तिमीहरूका लागि कान बनाउनुभयो ताकि सुन्न सक । यहाँले तिमीहरूका लागि आँखा बनाउनुभयो ताकि हेर्न सक । यहाँले तिमीहरूका लागि मन-मस्तिष्क बनाउनुभयो ताकि तिमीहरू बुद्धि-विवेकले काम लेऊ । आशा छ तिमीहरूले यी वरदानहरूको लागि अल्लाहप्रति आभार प्रकट गर्नेछौ ।७९. के बहुदेववादीहरूले चराहरूलाई आकाशमा उडिरहेका देखेनन् ? अल्लाहले तिनीहरूलाई पखेटा प्रदान गरेर र हावालाई अनुकुल बनाएर उड्न सम्भव बनाउनुभयो । अल्लाहले नै चराहरूलाई पखेटाहरूलाई फैलाउन र समेट्न सिकाउनुभयो ताकि तिनीहरू नखसुन् । निस्सन्देह चराहरूको उड्ने र खस्नबाट बच्ने यस कार्यमा मोमिनहरूका लागि प्रमाणहरू छन् । उनीहरू नै निशानी र उपदेशहरूबाट फाइदा उठाउनेगर्छन् ।८०. अल्लाहले नै तिमीहरूका लागि ढुङ्गा इत्यादिबाट तिमीहरूका घरहरूलाई बास-स्थान बनाउनुभयो । उहाँले तिमीहरूका लागि ऊँट, गाई, भेडका छालाहरूबाट खेमा बनाउनुभयो । तिमीहरू यात्रा गर्दा हलुका अनुभव गर्दै यसलाई लिएर हिँड्छौ । कतै झर्दा खेमा लगाउनमा पनि सजिलो हुन्छ । अल्लाहले नै तिमीहरूका लागि भेडका ऊन, ऊँटका गोबर, बाख्राका कपालहरूलाई घरका उपभोग्य वस्तुहरू बनाउनुभयो । यी वस्तुहरूबाट तिमीहरू सर-सामान, लुगा, छाना इत्यादि बनाएर एउटा निश्चित अवधिको लागि लाभ उठाउँछौ ।८१. अल्लाहले नै तिमीहरूका लागि रूख र घरहरूबाट तिमीहरूलाई छायाँ प्रदान गर्नुभयो । पहाडहरूमा तिमीहरूका लागि गुफाहरू बनाउनुभयो जसमा तिमीहरू जाडो, गर्मी र शत्रुबाट बच्छौ । उहाँले नै तिमीहरूका लागि कपासबाट वस्त्रहरू बनाउनुभयो, जसले तिमीहरूलाई गर्मी र जाडोबाट बचाउँछन् । उहाँले यस्ता वस्त्रहरू पनि बनाउनुभयो जसले तिमीहरूलाई युद्धमा हतियारको प्रहारबाट सुरक्षित राख्छन् । अल्लाहले तिमीहरूलाई यी वरदानहरू प्रदान गर्नुभयो, आशा छ तिमीहरूले मात्र अल्लाहको आज्ञापालन गर्नेछौ र उहाँसँग कसैलाई साझेदार बनाउने छैनौ ।८२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यदि तिनीहरूले तपाईले ल्याउनुभएको सन्देशमाथि ईमान ल्याउँदैनन् र त्यसको पुष्टि गर्दैनन् भने तपाईंमाथि यसलाई स्पष्ट रूपमा पुर्याउने जिम्मेवारी मात्र छ । मार्गदर्शनमा ल्याउने जिम्मेबारी तपाईंमाथि छैन । ८३. अल्लाहले प्रदान गर्नुभएका वरदानहरूलाई बहुदेववादीहरू जान्दछन् । ती वरदानहरूमध्ये तिनीहरूमाझ मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन पनि हो । तैपनि अल्लाहप्रति आभार प्रकट नगरेर र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठो ठहर गरेर ती वरदानहरूको इन्कार गर्छन् । तिनीहरूमध्ये अधिकांश अल्लाहका वरदानहरूको इन्कार गर्नेहरू नै हुन् । ८४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) स्म्रण गर्नुहोस् त्यस दिनलाई जब अल्लाहले सबै समुदायबाट त्यसका रसूललाई खडा गर्नुहुनेछ, जसले मोमिनको ईमान र काफिरको कुफ्रको साक्षी दिनेछन् । त्यसपछि काफिरहरूलाई कुफ्रमा रहेको कुराप्रति माफि माग्ने अनुमति दिइने छैन । अल्लाहलाई खुशी पार्न सत्कर्म गर्नको लागि तिनीहरूलाई पुनः संसारमा फर्काइने पनि छैन । किनभने आखिरत हिसाबको दिन हो न कि कर्मको दिन ।८५. अत्याचारी बहुदेववादीहरूले यातना देखेपछि तिनीहरूको यातना हलुका गरिने छैन र त्यसलाई स्थगित गरेर तिनीहरूलाई अवसर पनि दिइने छैन । बरु तिनीहरू सधैंको लागि नर्कमा जानेछन् ।८६. जब संसारमा पूज्दै गरेका भगवानहरूलाई बहुदेववादीहरूले आखिरतमा देख्नेछन् तब भन्नेछन्– हे अल्लाह ! यिनीहरू हुन् ती साझेदारहरू जसको पूजा हामीहरू तपाईंलाई छोडेर गर्ने गर्थ्यौं । तिनीहरूले यो कुरा आफ्नो भारी झारेर ती भगवानहरूमाथि हाल्नको लागि गर्नेछन् । अल्लाहले ती भगवानहरूलाई बोल्न लगाएपछि तिनीहरूले जवाफ दिनेछन्– हे बहुदेववादीहरू हो ! अल्लाहको भक्तिमा साझेदार बनाउने कुरामा तिमीहरू झूठा हौ । अल्लाहसँग कोही साझेदार छैन । ८७. त्यस दिन बहुदेववादीहरू मात्र अल्लाहसमक्ष आत्म-समर्पण गर्नेछन् । तिनीहरूले रचेको यो दावी हराउनेछ कि मूर्तीहरूले अल्लाहसमक्ष तिनीहरूको सिफारिश गर्नेछन् ।८८. जुन व्यक्तिहरू अल्लाहको इन्कार गर्छन्, अरूलाई अल्लाहको मार्गबाट फेर्छन् तिनीहरूले अरूलाई पथभ्रष्ट पारेर आतङ्क मच्चाएको ले तिनीहरूलाई दिइने यातनामाथि हामी अझ बढी यातना थप्नेछौं ।८९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनलाई स्म्रण गर्नुहोस् जब हामी प्रत्येक समुदायका रसूललाई साक्षी खडा गर्नेछौं । अनि तिनीहरू कुफ्रमा थिए वा ईमानमा भन्ने कुराको गवाही रसूलले दिनेछन् । ती रसूलहरू उनीहरूमध्ये कै हुनेछन् र उनीहरूले बोल्ने भाषा नै बोल्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई सबै समुदायहरूका लागि साक्षीको रूपमा खडा गर्नेछौं । हामीले तपाईंमाथि कुरआन अवतरण गर्यौं । यस कुरआनले तिनीहरूसमक्ष सबै हलाल, हराम, सत्कर्म र दुष्कर्म इत्यादि कुराहरूलाई स्पष्ट पार्दछ । यस कुरआनले मानवलाई सत्मार्गतर्फ मार्गदर्शन गर्छ । यो मोमिन र सत्कर्मीहरूका लागि दया हो । अल्लाहमाथि ईमान ल्याउनेहरूका लागि यो कुरआन सधैं रहने स्वर्गको शुभसूचना दिन्छ जसको प्रतीक्षा उनीहरू गर्दैछन् । ९०. निस्सन्देह अल्लाह भक्तहरूलाई न्याय गर्ने आदेश दिनुहुन्छ । भक्तले अल्लाहको हक पनि पूरा गर्नुपर्छ र भक्तहरूको हक पनि पूरा गर्नुपर्छ । भक्तले आदेशमा एक अर्कालाई एक अर्कामाथि प्राथमिक्ता हुनुहुन्न, सिवाय त्यस हकको मामिलामा जसमा प्राथमिक्ता दिनु जरुरी छ । अल्लाह परोपकार गर्ने आदेश दिनुहुन्छ । भक्तले त्यो कार्य गर्नुपर्छ जो उसमाथि अनिवार्य छैन, जस्तै दान दिनु, अत्याचारीलाई माफ गर्नु, नातेदारहरूमाथि खर्च गर्नु, दुष्कर्म, अश्लील कुरा र अश्लील कार्य जस्तै व्यभिचार, पाप, अत्याचार र घमण्डबाट मनाहि गर्नु । अल्लाह तिमीहरूलाई आदेशको पालना गर्ने र मनाहि गरिएका कार्यहरूबाट बच्न्रे आदेश दिनुहुन्छ । आशा छ तिमीहरूले उपदेश ग्रहण गर्नेछौ । ९१. तिमीहरूले अल्लाहसित र मानिसहरूसित गरेका वाचाहरू पूरा गर । अल्लाहसित खाएको कसम त्यसलाई बलियो पारेपछि नतोड । तिमीहरूले खाएको कसम पूरा गर्न अल्लाहलाई गवाह बनाएका छौ । निस्सन्देह अल्लाह तिमीहरूले गर्ने गरेका कर्महरूबाट अवगत हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ । ९२. तिमीहरू वचन भङ्ग गरेर त्यस महिला जस्तो बेवकुफ नबन जसले पहिला त परिश्रम गरेर धागो कात्यो अनि आफैं त्यसलाई फुकाल्यो । त्यसलाई कातेर अनि फुकालेर हेरान मात्र भयो । केही पनि प्राप्त भएन । तिमीहरू आफ्ना कसमलाई एक अर्कालाई मात्र धोका दिने साधन बनाउँछौ । ताकि तिमीहरूको समुदायको संख्याँ शत्रुको समुदायभन्दा बढी होस् । वाचाबारे तिमीहरूको परीक्षा यो हेर्नको लागि अल्लाहले लिनुहुन्छ कि कसले वाचा पूरा गर्छ र कसले त्यसलाई भङ्ग गर्छ ? तिनीहरू संसारमा विभेद गर्ने कुरालाई अल्लाहले महाप्रलयको दिन अवश्य नै स्पष्ट पार्नुहुनेछ । अनि उहाँले सत्यवादीलाई झूठाहरूबाट अलग छुट्याउनुहुनेछ । ९३. अल्लाहले चाहनुभएमा सबै मानिसहरूलाई सत्यमा एकत्रित गरेर एउटै समुदाय बनाउनुहुने थियो । तर उहाँले जसलाई चाहनुहुन्छ पथभ्रष्ट गर्नुहुन्छ, किनभने तिनीहरू सत्यबाट विमुख भएका हुन्छन् र वचन भङ्ग गरेका हुन्छन् । उहाँ जसलाई चाहनुहुन्छ आफ्नो कृपाले सीधा मार्ग देखाउनुहुन्छ । तिमीहरूले संसारमा गरेका कार्यहरूबारे अल्लाहले अवश्य सोध पूछ गर्नुहुनेछ । ९४. तिमीहरूले आफ्नो इच्छाको अनुसरण गर्दै कसमहरूलाई आपसमा धोका दिने साधन नबनाऊ । मनचाही हिसाबले कहिले कसमलाई तोड्ने र कहिले पूरा गर्ने काम नगर । यसो गर्छौ भने तिमीहरूका पाउहरू सीधा मार्गमा स्थिर भएपछि पुनः चिप्लन पुग्नेछन् । तिमीहरू अल्लाहको मार्गबाट पथभ्रष्ट भएको कारणले यातनाको स्वाद चाख्छौ । अरू मानिसहरूलाई पथभ्रष्ट गर्ने कारणले कय्यौं गुणा यातनाको स्वाद चाख्छौ । ९५. अल्लाहसित गरेका वाचालाई तुच्छ मूल्यमा नबेच । वाचालाई नतोड, बरु त्यसलाई पूरा गर । तिमीहरू ज्ञानी हौ भने अल्लाहकहाँ रहेका लोकका मद्दत तथा युद्धमा प्राप्त धन र आखिरतमा रहेका सधैं रहने वरदान त्यस तुच्छ लाभ भन्दा उत्तम छ जो तिमीहरू वाचा भङ्ग गरेर प्राप्त गर्छौ ।९६. हे मानव ! तिमीहरूसँग भएको धन-सम्पत्ति र मोज मस्तीका सर-सामान जति धेरै भए पनि समाप्त हुनेछ । अल्लाहसँग भएको बदला बाँकी रहनेछ । अनि तिमीहरू कुन आधारमा समाप्त हुने धन-सम्पत्तिलाई सधैं बाँकी रहने बदलामाथि प्राथमिक्ता दिन्छौ । निस्सन्देह वाचामा कायम रहने र त्यसलाई भङ्ग नगर्नेहरूलाई हामीले उनीहरूले गरेका सत्कर्महरूभन्दा राम्रा बदला दिनेछौं । उनीहरूले गरेको एउटा सत्कर्मको बदला दस गुणा देखि सात शय गुणासम्म बरु त्यसभन्दा पनि बढी दिनेछौं ।९७. पुरुष होस् वा महिला जसले पनि अल्लाहमाथि ईमान ल्याएर इस्लामी कानुन अनुसार सत्कर्म गर्छ हामीले अवश्य नै उसलाई संसारमा पवित्र जीवन प्रदान गर्नेछौं । उसले सांसारिक जीवन अल्लाहको भाग्यसँग राजी खुशी, धैर्य र आज्ञापालन गर्दै बिताउनेछ । आखिरतमा यस्तो व्यक्तिलाई उसले संसारमा गरेका सत्कर्मभन्दा उत्तम बदला हामीले दिनेछौं ।९८. हे मोमिन ! तिमीले कुरआनको पाठ सुरु गर्दा तिरस्कृत शैतानका गोप्य प्रामर्शहरूबाट अल्लाहको शरण माग्ने गर ।९९. अल्लाहमाथि ईमान ल्याउने र सबै मामिलाहरूमा मात्र उहाँमाथि भरोसा गर्ने मानिसहरूमाथि शैतानको वश चल्दैन ।१००. शैतानका गोप्य प्रामर्शको वश मात्र यस्ता व्यक्तिहरूमाथि चल्छ जो उसलाई मित्र बनाउँछन्, आज्ञापालन गर्छन् र उसलाई अल्लाहको भक्तिमा साझेदार ठहर गर्छन् । १०१. जब हामी कुनै आयतको आदेशलाई अर्को आयतको आदेशबाट रद्द गर्छौं तब काफिरहरू भन्छन्– हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! तिमी झूठो छौ । तिमी अल्लाहमाथि झूठ रच्छौ । –कुरआनबाट कुनै कारणले जे पनि रद्द गरिन्छ वा बाँकि राखिन्छ त्यसलाई अल्लाह राम्ररी जान्नुहुन्छ– । तिनीहरूमध्ये अधिकांश मानिसहरू यो कुरा जान्दैनन् कि अल्लाहले कुनै कारणले कुनै आयतको आदेशलाई रद्द गर्नुहुन्छ ।१०२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– यस कुरआनलाई जिब्रील (अलैहिस्सलाम) ले अल्लाहको तर्फबाट सत्यका साथ अवतरण गरेका छन् । यसमा कुनै त्रुटि, कुनै फेरबदल र कुनै थपघट गरिएको छैन । ताकि अल्लाहले नयाँ नयाँ आदेशहरू अवतरण गरेर र केही आदेशहरूलाई रद्द गरेर मोमिनहरूलाई सुदृढता प्रदान गरून् । साथै मुस्लिमहरूको लागि मार्गदर्शन होस्, उनीहरूले यसबाट पुण्य प्राप्त गरुन् र यो उनीहरूका लागि शुभ-सूचना होस् ।१०३. हामीलाई राम्ररी थाहा छ कि बहुदेववादीहरूले भन्छन्– निस्सन्देह मुहम्मद (सल्लल्लाहु अलैहि व सल्ल) लाई एकजना व्यक्तिले कुरआन सिकाउँछ । तर तिनीहरू आफ्नो दावीमा झूठा हुन् । तिनीहरूको सङ्केत जुन व्यक्तितर्फ छ उसको भाषा त गैर-अरबी हो । जबकि यो कुरआन बिशुद्ध, उच्च स्तरीय र स्पष्ट अरबीमा भाषामा छ । अनि तिनीहरू कुन आधारमा यो ठानेका छन् कि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) कुनै गैर-अरबी ब्यक्तिबाट कुरआन सिक्नुभयो ?!१०४. वास्तवमा जुन व्यक्तिहरू अल्लाहले अवतरण गर्नुभएका आयतहरूमाथि ईमान ल्याउँदैनन् अल्लाह पनि तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्न । तिनीहरूका लागि दुःखदायी यातना छ किनभने तिनीहरूले अल्लाहको इन्कार गरे र उहाँका आयतहरूलाई झूठा ठहर गरे ।१०५. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले जे जति अल्लाहको तर्फबाट ल्याउनुभएको छ त्यसमा उहाँ झूठा हनुहुन्न । अल्लाहका आयतहरूको पुष्टि नगर्नेहरू वास्तवमा झूठो रच्छन् । किनभने तिनीहरू प्रकोपबाट डराउँदैनन् र पुण्यको आशा राख्दैनन् । निस्सन्देह काफिरहरू नै झूठा हुन् । किनभने तिनीहरूलाई झूठको बानी बसेको छ ।१०६. यस्ता ब्यक्तिहरू इस्लामबाट फिरेका छन् जो ईमान ल्याएपछि अल्लाहको इन्कार गर्छन्, स्पष्टरूपमा ईमानको तुल्नामा कुफ्रलाई मन पराउँछ र कुफ्रको आज्ञापालन गर्छन् । तिनीहरूमाथि अल्लाहको क्रोध अवतरण हुन्छ र तिनीहरूका लागि ठूलो यातना छ । यस्ता मानिसहरू यातनाबाट सुरक्षित रहनेछन् जो बाध्य भएर कुफ्रको वाणी भन्छन् तर उनीहरूका हृदय ईमानमाथि सन्तुष्ट रहन्छ ।१०७. सांसारिक जीवनलाई परलोकमाथि प्राथमिकता दिएको कारणले तिनीहरू इस्लामबाट फिरे । निस्सन्देह अल्लाह काफिरहरूलाई ईमान ल्याउने अवसर दिनुहुन्न बरु अपमानित गर्नुहुन्छ ।१०८. ईमानबाट फिरेका काफिरहरूका हृदयहरूमाथि अल्लाहले मोहर लगाउनुभयो, जसले गर्दा तिनीहरू उपदेशहरूलाई बुझ्दैनन् । तिनीहरूका कानमाथि पनि उहाँले मोहर लगाउनुभयो जसले गर्दा तिनीहरू फाइदा उठाउने गरी सुन्दैनन् । तिनीहरूका आँखाहरूमाथि पनि उहाँले मोहर लगाउनुभयो जसले गर्दा तिनीहरू ईमानलाई प्रमाणित गर्ने प्रमाणहरूलाई देख्दैनन् । तिनीहरू सौभाग्य र दुर्भाग्यका माध्यमहरू र अल्लाहले तयार पार्नुभएको यातनाबाट असावधान छन् । १०९. निस्सन्देह तिनीहरू महाप्रलयको दिन घाटा खानेछन् । तिनीहरूले ईमान ल्याएपछि कुफ्र गरेको ले आफूलाई घाटामा पारे । तिनीहरू ईमानमा कायम रहेका भए स्वर्गमा प्रवेश गर्ने थिए । ११०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्दे तपाईंका पालनकर्ता कमजोर पारिएका मोमिनहरूमाथि दयावान र क्षमाशील हुनुहुन्छ । उनीहरू नै हुन जसमाथि मक्काका बहुदेववादीहरूले अत्याचार गरे, जसले गर्दा उनीहरूमध्ये केही जिब्रोबाट कुफ्रको वाणी भन्न बाध्य भए जब कि उनीहरूका हृदय ईमानमाथि सन्तुष्ट थिए । अनि उनीहरू मक्काबाट मदीना हिज्रत (पलायन) गरे । फेरि उनीहरूले अल्लाहको वाणी उच्च पार्न र कुफ्रको वाणी तल पार्नको लागि जिहाद गरे । उनीहरूले पाएको कष्टहरूमाथि धैर्य गरे । उनीहरूले कष्टबाट बच्नको लागि कुफ्रको वाणी भने पनि अल्लाह अति क्षमाशील र परम दयालु हुनुहुन्छ । किनभने उनीहरूले बाध्य भएर कुफ्रको वाणी भनेका थिए ।१११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनलाई स्मरण गर्नुहोस् जब प्रत्येक व्यक्ति आफ्नै बचाव गर्दै हाजिर हुनेछ । भयावह अवस्थाले गर्दा कसैले अरूको बचाव गर्ने छैन । प्रत्येक व्यक्तिलाई उसको सत्कर्म र दुष्कर्मको पूरा पूरा बदला प्रदान गरिनेछ । कसैका सत्कर्महरूमा कुनै कमि गरेर वा दुष्कर्महरूमा थपेर तिनीहरूमाथि अत्याचार गरिने छैन ।११२. अल्लाह मक्का नगरको उदाहरण प्रस्तुत गर्नुहुन्छ जो शान्त थियो र त्यहाँका बासीहरूलाई कुनै डर थिएन । चारैतिरबाट खाद्य-सामग्री प्रशस्त मात्रामा सजिलै त्यहाँ आइरहेको थियो । तर त्यहाँका बासीहरूले अल्लाहको वरदानहरूप्रति कृतघ्नता देखाए । तिनीहरूले अल्लाहप्रति आभार प्रकट गरेरनन् । अतः अल्लाहले तिनीहरूलाई तिनीहरूको कुकर्मले गर्दा भोक र त्रासको स्वाद चखाउनुभयो । तिनीहरूले कुफ्र र झूठा ठहर गरेका ले पोशाक जस्तै सधैँको लागि तिनीहरू भोक र त्रासमा ग्रस्त भए । ११३. मक्का बासीहरूसमक्ष तिनीहरूमध्येबाट रसूलको आगमन भयो । तिनीहरू उहाँलाई एकजना सच्चा र इमानदार ब्यक्तिको हैसियतमा जान्दथे । उहाँ हुनुहुन्थ्यो मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) । तर तिनीहरूले उहाँमाथि अवतरण भएको कुरालाई झूठा ठहर गरे । अनि तिनीहरूमाथि भोक र त्रासको रूपमा अल्लाहको प्रकोप अवतरण भयो । तिनीहरूले अल्लासँग अरूलाई साझेदार बनाएर र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठा ठहर गरेर आफूलाई बरबादीमा हाले । यसरी आफैंमाथि अत्याचार गरे । ११४. हे भक्तहरू हो ! अल्लाहले जेजति वैध र पवित्र जीविका तिमीहरूलाई प्रदान गर्नुभएको छ त्यसमबाट खाऊ । यदि तिमीहरू अल्लाहकै उपासना गर्छौ र उहाँसँग अन्य कसैलाई साझेदार बनाउँदैनौ भने उहँका वरदानहरूलाई स्वीकार गरेर र त्यसलाई अल्लाहको इच्छा अनुसार खर्च गरेर उहाँप्रति आभार प्रकट गर । ११५. अल्लाहले तिमीहरूका लागि हराम गर्नुभएको छ खाने कुराहरूमध्ये बध नगरिकन मरेका जनावर, बगेको रगत, सुँगुरको मासु र त्यसका सबै अंश, अल्लाह बाहेक अन्य कसैको नाममा चढाएको बली । यी जनावरहरू विवश नभएको अवस्थामा हराम छन् । तर कोही विवश भयो, उसले अनिच्छापूर्वक र सीमा उल्लङ्घन नगरीकन खायो भने अल्लाह निस्सन्देह अति क्षमाशील हुनुहुन्छ । उहाँले विवश भएर खाएका मानिसहरूलाई माफ गर्नुभयो । उहाँ परम दयालु हुनुहुन्छ, त्यसैले हराम गरिएका वस्तुहरूलाई पनि आवश्यक्ता परेको खण्डमा हलाल गर्नुभयो ।११६. हे बहुदेववादीहरू हो ! तिमीहरू अल्लाहको बारेमा आफ्ना जिब्राले रचेको झूठो बोल्दै यो वस्तु हलाल हो र यो वस्तु हराम हो नभन । अल्लाहमाथि झूठ रच्ने मनसायले उहाँले हराम नगरेको वस्तुलाई हराम र उहाँले हलाल नगरेको वस्तुलाई हलाल नभन । निस्सन्देह अल्लाहविरुद्ध झूठो कुरा रच्नेहरू आफ्नो उद्देश्यमा सफल हुन सक्दैनन् र यातनाबाट बच्न सक्दैनन् ।११७. आफ्नो इच्छाको अनुसरण गरेको तिनीहरूलाई सांसारमा क्षणिक थोरै सुख मात्र मिल्नेछ । महाप्रलयको दिन तिनीहरूका लागि दुखदायी यातना छ ।अल्लाहले यस समुदायको लागि हराम गरिएका वस्तुहरूको वर्णनपछि यहूदीहरूमाथि हराम गरिएका वस्तुहरूको वर्णन गर्नुभयोः११८. यहूदीहरूका लागि विशेषरूपमा जुन वस्तुहरू हामीले हराम गर्यौं त्यसको वर्णन यसअघि (सूरह अन्आम १४६ मा) गरि सकेका छौं । हामीले तिनीहरूका लागि ती वस्तुहरू हराम गरेर तिनीहरूमाथि अत्याचार गरेनौं । तिनीहरू स्वयम् प्रकोपलाई निम्त्याउने कार्य गरेर आफैंमाथि अत्याचार गर्ने गर्थे । हामीले तिनीहरूलाई तिनीहरूले गरेका अत्याचारको सजाय दियौं । हामीले सजाय स्वरूप तिनीहरूका लागि ती वस्तुहरू हराम गर्यौं ।११९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाह यस्ता मानिसहरूलाई माफ गर्नुहुन्छ र दया गर्नुहुन्छ जसले दुष्कर्मको परीणामबाट अज्ञानतामा दुष्कर्म गर्छन् यद्यपि जानी जानी गर्छन् फेरि प्रायश्चित गरेर आफ्नो कर्मको सुधार गर्छन् ।बहूदेववादीहरू इब्राहीम (अलैहिस्सलाम) को धर्ममा छन् भन्न ठानेका थिए । अल्लाहले तिनीहरूको खण्डन गर्दै भन्नुभयोः १२०. इब्राहीम (अलैहिस्सलाम) भलाइलाई जम्मा गर्ने, सधैं अल्लाहको आज्ञापालन गर्ने, सबै धर्महरूलाई छोडेर इस्लाम धर्ममा समर्पित थिए । उनी कदापि पनि बहुदेववादीहरूमध्ये थिएनन् । १२१. उनी अल्लाहका वरदानहरूप्रति कृतज्ञ थिए । अल्लाहले उनलाई रसूल बनाउनको लागि रोज्नुभएको थियो । अल्लाहले उनलाई इस्लामको सीधा मार्गतर्फ मार्गदर्शन गर्नुभयो ।१२२. हामीले उनलाई लोकमा सन्देष्टा बनायौं, राम्रो ख्याति र स्वस्थ्य सन्तान प्रदान गर्यौं । उनी परलोकमा यस्ता योग्य मानिसहरूमध्ये हुनेछन् जसको लागि अल्लाहले स्वर्गमा उच्च स्थान तयार पार्नुभएको छ ।१२३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! फेरि हामीले तपाईंतर्फ वही (प्रकाशना) गर्यौं- एक अल्लाहको भक्ति, बहुदेववादीहरूबाट असंलग्नता, अल्लाहतर्फ आह्वान र अल्लाहको कानुनको पालनामा इब्राहीम (अलैहिस्सलाम) को धर्मको पालना गर । सबै धर्महरूलाई त्यागेर मात्र इस्लाम धर्मलाई अङ्गाल । इब्राहीम (अलैहिस्सलाम) बहुदेववादीहरूमध्येका थिएनन्, जस्तो कि बहुदेववादीहरू ठान्छन् । बरु उनी पक्का एकेश्वारवादी थिए ।१२४. सब्त (शनिबार) को दिनको आदर यहूदीहरूमाथि अनिवार्य गरिएको थियो, ताकि त्यस दिनलाई भक्तिको लागि विशिष्ट गरुन् । तर तिनीहरूले त्यसमा विभेद गरे । यसअघि तिनीहरूका लागि शुक्रवारको दिन विशिष्ट गरिएको थियो तर त्यसबारे तिनीहरू पथभ्रष्ट भए । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! महाप्रलयको दिन अल्लाहले मतभेद गर्नेहरूबीचका विवादित मुद्दाहरूबारे निर्णय गर्नुहुनेछ । उहाँले तिनीहरूलाई तिनीहरूका कर्म अनुसार बदला दिनुहुनेछ ।१२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं पनि र तपाईंका अनुयायी मोमिनहरूले पनि मानिसहरूलाई अल्लाहको मार्गतर्फ मानिसहरूको अवस्था र बुद्धि अनुसार हीतैषी बनेर आह्वान गर्नुहोस् । तिनीहरूलाई प्रेरित गरेर, डराएर र सर्वोत्तम तरीकाले तर्कवितर्क गरेर आह्वान गर । तपाईंको जिम्मेबारी मानिसहरूलाई सीधा मार्गमा ल्याउनु होइन, बरु तपाईंमाथि इस्लामको सन्देश पुर्याउनु मात्र हो । अल्लाह राम्ररी जान्नुहुन्छ कुन मानिसहरू इस्लाम धर्मबाट भ्रष्ट भएका छन् र कुन मानिसहरू इस्लाम धर्ममा कायम छन् । तपाईंले तिनीहरूबारे चिन्ता लिनुपर्दैन । १२६. यदि तिमीहरू आफ्ना शत्रुहरूसित बदला लिन चाहन्छौ भने त्यही हदसम्म लेऊ जति तिमीहरूमाथि अत्याचार गरिएको छ । यदि तिमीहरू शक्तिका बावजुद धैर्य गर्दै बदला लिँदैनौ भने यो धैर्यवानहरूका लागि झन् राम्रो हुनेछ ।१२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको तर्फबाट पुगेको कष्टमाथि धैर्य गर्नुहोस् । तपाईंभित्र अल्लाहकै कृपाले धैर्य आउनेछ । काफिरहरू विमुख भएकोमा चिन्तित नहुनुहोस् । तिनीहरूका चलखेलप्रति मन सानो नपार्नुहोस् । १२८. निस्सन्देह अल्लाह त्यस्ता व्यक्तिहरूका साथ हुनुहुन्छ जो उहाँका अवज्ञालाई छोडेर ईशभय राख्छन् र उहाँका आदेशहरूको पालना गर्छन् । अल्लाहको मद्दत यस्ता मानिसहरूको साथमा छ ।
१. हे काफिरहरू हो ! तिमीहरूका लागि अल्लाहले निर्णय गर्नुभएको प्रकोप नजिक आइसकेको छ । तिमीहरू त्यसको लागि अझै हतार नगर । बहुदेववादीहरूले अल्लाहसँग ठहर गरेका साझेदारहरूबाट उहाँ पवित्र हुनुहुन्छ ।
२. अल्लाह फरिश्ताहरूद्वारा आफ्नो वही (प्रकाशना) जुन रसूलहरूमाथि चाहनुहुन्छ पठाउनुहुन्छ । अल्लाहले आदेश दिनुभयो– हे रसूलहरू हो ! मानिसहरूलाई शिर्क गर्नबाट रोक । मबाहेक अरू कोही पूज्य छैन । मेरा आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूलाई त्यागेर मात्र मसँग डराऊ ।
३. अल्लाहले नै बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वीलाई उद्देश्यका साथ सृष्टि गर्नुभयो । उहाँले यी दुवैलाई बिना उद्देश्य सृष्टि गर्नुभएको छैन । यी दुवैको सृष्टिको उद्देश्य यस कुरालाई प्रमाणित गर्नु हो कि अल्लाह महान हुनुहुन्छ र यिनीहरूले गर्ने गरेका शिर्कबाट उच्च हुनुहुन्छ ।
४. अल्लाहले मानवलाई तुच्छ वीर्यद्वारा सृष्टि गर्नुभयो । मानव विभिन्न चरणमा परिपक्व भएपछि सत्यलाई दबाउनको लागि खुल्लम खुल्ला असत्यको पक्षमा झगडा गर्न थाल्छ ।
५. हे मानव हो ! अल्लाहले तिमीहरूको फाइदाको लागि ऊँट, गाई र भेड जस्ता जनावरहरू सृष्टि गर्नुभयो । ती जनावरहरूका फाइदाहरूमध्ये त्यसका कपालबाट न्यानो वस्त्र र गोबरबाट मल इत्यादि हुन् । अन्य फाइदाहरूमध्ये त्यसका दूध, छाला, पिठ्यूँमाथि सवारी र त्यसका मासु पनि हुन् ।
६. साँझ परेपछि यी जनावरहरूलाई लिएर आउँदा र बिहान चराउनको लागि लिएर जाँदा ती जनावरहरू तिमीहरूलाई सुन्दर देखिन्छन् ।
७. अल्लाहले सृष्टि गर्नुभएका यी चौपायाहरू तिमीहरूका यात्रामा भारी बोकेर यस्तो देशहरूसम्म पुर्याउँछन् जहाँसम्म तिमीहरू कठिन परिश्रम बिना पुर्याउन सक्दैन थियो । हे मानव ! निस्सन्देह तिमीहरूका पालनकर्ता अति स्नेहशील र परम दयालु हुनुहुन्छ, त्यसैले उहाँले यी चौपायाहरूलाई तिमीहरूको अधीनमा दिनुभयो ।
८. अल्लाहले नै घोडा, खच्चड र गधाहरू सृष्टि गर्नुभयो ताकि तिमीहरू त्यसमा सवारी गर, आफ्ना भारी बोक र मानिसहरूबीच तिमीहरूका लागि यी शोभा बनुन् । अल्लाह आफ्ना मनसाय अनुसार यस्ता वस्तुहरूको सृष्टि गर्नुहुन्छ जसबारे तिमीहरूलाई थाहा नै छैन ।
९. अल्लाहले नै सीधा मार्ग इस्लामलाई स्पष्ट पार्नुभयो जो उहाँको प्रसन्नता प्राप्त गर्ने एक मात्र मार्ग हो । इस्लामबाहेक जति पनि धर्महरू छन् ती सबै शैतानी मार्गहरू हुन् । यी सबै सत्यबाट हटेका र बाङ्गा टिङ्गा मार्गहरू हुन् । अल्लाहले चाहनुभएमा तिमीहरू सबैलाई ईमान ल्याउने अवसर दिनुहुन्थ्यो ।
१०. अल्लाहले नै तिमीहरूका लागि बादलबाट पानी बर्साउनुभयो । त्यस पानीलाई तिमीहरू पिउने गर्छौ र आफ्ना चौपायाहरूलाई पिलाउने गर्छौ । त्यसै पानीले गर्दा उम्रेका घास र बनस्पतिबाट आफ्ना चौपायाहरू चराउने गर्छौ ।
११. अल्लाहले त्यसै पानीद्वारा तिमीहरूका लागि खेती उमार्नुहुन्छ, जसबाट तिमीहरू खाने गर्छौ । उहाँले नै यस पानीद्वारा तिमीहरूका लागि जैतून, खजूर, अंगूर र सबै प्रकारका फलहरू सृष्टि गर्नुहुन्छ । निस्सन्देह यस पानीमा सोच-विचार गर्ने व्यक्तिहरूका लागि अल्लाहका सामर्थ्यका प्रमाणहरू छन् ।
१२. अल्लाहले नै तिमीहरूलाई रात प्रदान गर्नुभयो जसमा आराम गर्छौ र दिन प्रदान गर्नुभयो जसमा जीविका आर्जनको लागि संघर्श गर्छौ । उहाँले नै सूर्यलाई तिमीहरूको सेवामा खटाउनुभयो र त्यसलाई प्रकाशमय बनाउनुभयो । उहाँले नै चन्द्रमालाई तिमीहरूको सेवामा खटाउनुभयो र त्यसलाई ज्योतिर्मय बनाउनुभयो । उहाँकै आदेशले ताराहरू तिमीहरूको सेवामा खटिएका छन्, जसबाट जल र थलमा यात्रा गर्दा मार्ग पाउँछौ र समय पनि पत्ता लगाउँछौ । निस्सन्देह यसमा विवेकशीलहरूका लागि अल्लाहको सामर्थ्यका प्रमाणहरू छन् ।
१३. अल्लाहले नै जमीनमा नाना थरिका खनिज पदार्थ, जनावर, बोट बिरुवा र अनाज सृष्टि गर्नुभयो । निस्सन्देह त्यसमा पनि शिक्षा ग्रहण गर्नेहरूका लागि अल्लाहको सामर्थ्यका प्रमाणहरू छन् ।
१४. अल्लाहले नै समुद्रलाई तिमीहरूको सेवामा खटाउनुभयो । तिमीहरूका लागि त्यसमा यत्रा र शिकार सम्भव बनाउनुभयो । तिमीहरू त्यसबाट ताजा र नम्र माछा खान्छौ र मोती जस्ता गहना निकाल्छौ । समुद्रबाट निकालेको गहना तिमीहरू पनि लगाउँछौ र तिमीहरूका महिलाहरू पनि लगाउँछिन् । तिमीहरू डुङ्गाहरूलाई पानी चिर्दै गुडिरहका देख्छौ । अल्लाहका वरदान खोज्न र व्यापार गर्न तिमीहरू यी डुङ्गाहरूमा यात्रा गर्छौ । आशा छ तिमीहरूले अल्लाहप्रति आभार प्रकट गर्छौ र मात्र उहाँ कै भक्ति गर्छौ ।
१५. अल्लाहले नै पृथ्वीमा पहाडहरू गाड्नुभयो ताकि पृथ्वी सन्तुलित रहोस् र तिमीहरूलाई लिएर नढल्कोस् । उहाँले पृथ्वीमा नदीहरू निकाल्नुभयो ताकि त्यसबाट तिमीहरू पनि पानी खाऊ, चौपायालाई खुवाऊ र खेतीको पनि सीँचाइ गर । उहाँले त्यसमा मार्गहरू बनाउनुभयो ताकि तिमीहरू त्यसमा हिँडेर गन्तब्यसम्म पुग्न सक ।
१६. अल्लाहले पृथ्वीमा तिमीहरूका लागि थप निशानीहरू बनाउनुभयो जसले गर्दा दिनमा यात्रा गर्दा सजिलै गन्तब्यसम्म पुग्छौ । उहाँले आकाशमा ताराहरू बनाउनुभयो, जसले गर्दा तिमीहरू रातमा मार्ग पत्ता लगाउँछौ ।
१७. के जुन अल्लाहले यी वस्तुहरू सृष्टि गर्नुभयो ती भगवानहरू जस्तो हुन सक्छन् जसले केही पनि सृष्टि गरेका छैनन् ?! के तिमीहरू अल्लाहको महानतालाई स्म्रण गर्दैनौ जसले सबै वस्तुहरूलाई सृष्टि गर्नुभयो ? ताकि तिमीहरू मात्र एक अल्लाहको भक्ति गर र उहाँसँग अन्य कसैलाई साझेदार नबनाऊ ।
१८. हे मानव ! तिमीहरूले अल्लाहका वरदानहरूलाई गणना गर्न चाहे पनि गर्न सक्दैनौ । किनभने ती वरदानहरू धेरै छन् र विभिन्न खालका छन् । निस्सन्देह अल्लाह अति क्षमाशील हुनुहुन्छ । तिमीहरूले आभार प्रकट गर्न बिर्से पनि उहाँले माफ गर्नुहुन्छ । उहाँ परम दयालु हुनुहुन्छ । तिमीहरूका अवज्ञा र पापले गर्दा उहाँको दया बन्द हुँदैन ।
१९. हे भक्तहरू हो ! तिमीहरूले लुकिछिपी गरेका र खुल्लम खुल्ला गरेका सबै कार्यहरूलाई अल्लाह जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले त्यसको बदला दिनुहुनेछ ।
२०. अल्लाहलाई छोडी बहुदेववादीहरू जुन मूर्तीहरूको पूजा गर्छन् तिनीहरूले केही पनि सृष्टि गर्न सक्दैनन् । बहुदेववादीहरू आफैंले तिनीहरूलाई बनाउनेगर्छन् । अनि कसरी तिनीहरू आफ्नै हातले बनाएका मूर्तीहरूको पूजा गर्छन् ?!
२१. बहुदेववादीहरूले आफ्नै हातले बनाएकोले ती मूर्तीहरू निर्जीव वस्तु हुन् । ती मूर्तीहरूमा न ज्यान छ न ज्ञान । तिनीहरूलाई महाप्रलयको दिन आफ्ना भक्तहरूसँग कहिले जीवित पारेर उठाइनेछन् भन्ने कुरा पनि तिनीहरू जान्दैनन । ताकि तिनीहरूलाई बहुदेववादीहरूसँगै नर्कमा फ्याकिउन् ।
२२. तिमीहरूका पूज्य मात्र एक अल्लाह हुनुहुन्छ । उहाँसँग कोही साझेदार छैन । परलोकमा ईमान न राख्नेहरूका हृदयहरू एक अल्लाहको इन्कार गर्छन् । तिनीहरूका हृदयमा डर हुँदैन र हिसाब र सजायमा ईमान राख्दैनन् । तिनीहरू घमण्डी भएकोले सत्यलाई स्वीकार गर्दैनन् र नम्र हुँदैनन् ।
२३. निश्चय नै तिनीहरूले लुकाउने र प्रकट गर्ने कार्यहरूलाई अल्लाह जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै तिनीहरूको कर्महरूको बदला दिनुहुनेछ । वास्तवमा अल्लाहले अहङ्कारीहरूलाई मन पराउनुहुन्न बरु घृणा गर्नुहुन्छ ।
२४. एकमात्र सृष्टिकर्ता अल्लाह र परलोकको इन्कार गर्नेहरूलाई जब सोधिन्छ- अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि के अवतरण गर्नुभयो ? तिनिहरूले भने– उहाँमाथि केही पनि अवतरण गरिएन । उहाँले आफैँ अतीतका कथाहरू रचना गरेर ल्याउनुभएको छ ।
२५. महाप्रलयको दिन तिनीहरूले आफ्ना पापहरूको भार पनि पूर्णरूपमा उठाउनुपर्छ र ती व्यक्तिहरूका पापहरूको भार पनि उठाउनुपर्छ जसलाई तिनीहरूले बिना ज्ञान र अनुयायी बनाएर इस्लामबाट पथभ्रष्ट गरे । तिनीहरूले उठाउने आफ्ना पापहरूको भार र आफ्ना अनुयायीहरूका पापहरूको भार अति निकृष्ट हुनेछ ।
२६. तिनीहरूभन्दा अघिका काफिरहरूले पनि आफ्ना रसूलहरूसँग यस्तै चलखेल गरेका थिए तर अल्लाहले तिनीहरूका घरहरूलाई जगसमेत उखेलेर फ्याँक्नुभयो । तिनीहरूमाथि तिनीहरूका घरका छानाहरू भत्केर खसे । तिनीहरूमाथि त्यस दिशाबाट प्रकोप आयो जहाँबाट तिनीहरूले कल्पनासमेत गरेका थिएनन् । तिनीहरूका घरहरूले तिनीहरूलाई बचाउनेछन् भन्ने कुरा ठानेका थिए । त्यसैले अल्लाहले तिनीहरूका घहरका छानाहरू नष्ट पार्नुभयो ।
२७. फेरि अल्लाहले महाप्रलयको दिन तिनीहरूलाई यातना दिएर अपमानित गर्नुहुनेछ । उहाँले सोध्नुहुनेछ– कहाँ छन् तिमीहरूले मेरो भक्तिमा ठहर गरेका साझेदारहरू, जसले गर्दा तिमीहरू हाम्रा रसूलहरू र मोमिनहरूसित शत्रुता राखेका थियौ ? असल धर्मगुरुहरू भन्छन्– महाप्रलयको दिन काफिरहरूलाई अवश्य नै यातना र अपमानमा ग्रस्त गरिनेछ ।
२८. यी काफिरहरूले कुफ्र गरेर स्वयममाथि अत्याचार गरिरहेको अवस्थामा यमदूत र उनका सहयोगीहरूले तिनीहरूको प्राण ग्रस्त गर्नेछन् । त्यस समय तिनीहरूले आत्म-समर्पण गर्नेछन् र आफूले गरेको कुफ्र र अवज्ञाबाट इन्कार गर्नेछन् । तिनीहरूले यो ठानेर इन्कार गर्नेछन् कि यस इन्कारले तिनीहरूलाई यातनाबाट बचाउनेछन् । तिनीहरूलाई जवाफ दिइनेछन्– तिमीहरू झूठ बोल्दैछौ, तिमीहरू काफिर थियौ र अवज्ञा गर्दै थियो । तिमीहरूले संसारमा गरिराखेका कार्यहरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ । उहाँबाट कुनै पनि कुरा लुकेको छैन । उहाँले तिमीहरूलाई त्यसको बदला दिनुहुनेछ ।
२९. तिनीहरूलाई भनिनेछ– तिमीहरू आफ्नो कुकर्महरू अनुसार नर्कका विभिन्न ढोकाहरूमा पस । तिमीहरूले त्यसमा सदा सर्वदा बस्नु पर्छ । कति निकृष्ट छ घमण्डी मानिसहरूको बास-स्थान ! यही घमण्डले तिनीहरूलाई अल्लाहमाथि ईमान ल्याउन र उहाँको भक्ति गर्नबाट रोकेको थियो ।
३०. अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूबाट बचेर उहाँसँग डराउनेहरूलाई सोधिनेछ– अल्लाहले तिमीहरूका नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि के अवतरण गर्नुभयो ? उनीहरूले जवाफ दिनेछन्– अल्लाहले उहाँमाथि धेरै भलाइ अवतरण गर्नुभयो । संसारमा राम्रो तरिकाले अल्लाहको भक्ति गर्ने र मानिसहरूसँग राम्रो व्यवहार गर्नेहरूलाई लोक र परलोक दुवैमा राम्रो बदला दिइनेछ । लोकको भलाइ अल्लाहको मद्दत र जीविकामा बढोतरीको रूपमा मिल्नेछ । परलोकमा मिल्ने बदला लोकको क्षणिक सांसारिक बदलाभन्दा उत्तम हुनेछ । अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूलाई त्यगागेर ईशभय राख्नेहरूका लागि आखिरतको कति राम्रो घर हुनेछ ।
३१. उनीहरू सदा रहने बगैंचाहरू प्रवेश गर्नेछन् जसको तलबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरूका लागि त्यसमा मन पराउने खाद्द-समग्री इत्यादि हुनेछन् । अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को समुदाय र विगतका सबै सन्देष्टाहरूका समुदायहरूलाई यस्तै बदला दिनुहुनेछ ।
३२. मोमिनहरूको प्राण उनीहरूका हृदय कुफ्रबाट पवित्र भएको अवस्थामा यमदूत र उनका सहयोगीहरूले नियन्त्रणमा लिनेछन् । फरिश्ताहरूले भन्नेछन्– तपाईंहरूमाथि शान्ति होस् । तपाईंहरू सबै किसिमका सङ्कटहरूबाट सुरक्षित हुनुभयो । संसारमा तपाईंहरूले ठीक आस्था राखेको ले र सत्कर्म गरेको ले स्वर्गमा प्रवेश गर्नुहोस् ।
३३. के यी झूठा ठहर गर्ने बहुदेववादीहरू यस प्रतीक्षामा छन्– यमदूत र उनका सहयोगीहरू आउन् र तिनीहरूका अनुहार र पिठ्यूँमाथि प्रहार गर्दै तिनीहरूका प्राण नियन्त्रणमा लेउन् ? वा तिनीहरूलाई संसारमा पूर्णरूपमा विनाश गर्ने प्रकोपको आदेश अल्लाहको तर्फबाट आओस् ? मक्काका बहुदेववादीहरूले गरिराखेका कार्यहरू जस्तै विगतमा बहुदेववादीहरूले कार्य गरेका थिए, अनि अल्लाहले तिनीहरूको सर्वनाश गर्नुभएको थियो । अल्लाहले तिनीहरूलाई सर्वनाश गरेर तिनीहरूमाथि अत्याचार गर्नुभएको थिएन बरु तिनीहरूले कुफ्र गरेर स्वयममाथि अत्याचार गरेका थिए ।
३४. अतः तिनीहरूले गरेका कुकर्महरूले गर्दा तिनीहरूमाथि प्रकोप अवतरण भयो । तिनीहरू जुन प्रकोपको ठट्टा गर्दै थिए त्यही प्रकोपले तिनीहरूलाई घेरामा लियो ।
३५. बहुदेववादीहरूले भने– यदि अल्लाहले चाहनुभएको भए हामीहरू र हाम्रा पूर्वजहरूले उहाँको भक्तिमा कसैलाई साझेदार बनाउने थिएनौं । उहाँले चाहनुभएमा हामीहरूले कुनै पनि वस्तु हराम गर्ने थिएनौं । यस्तै किसिमका गलत तर्कहरू विगतका काफिरहरूले पनि दिएका थिए । रसूलहरूको जिम्मेबारी अल्लाहको आदेश अनुसार उहाँको सन्देश स्पष्टरूपमा पुर्याउनु मात्र हो । रसूलहरूले अल्लाहको सन्देश स्पष्टरूपमा पुर्याएर आफ्ना जिम्मेबारी पूरा गरे । काफिरहरूले गर्ने गरेका भाग्यको यो बहाना अस्वीकार्य हो । किनभने अल्लाहले तिनीहरूलाई विवश पार्नुभएन बरु अधिकार दिनुभयो र रसूलहरू पठाउनुभयो ।
३६. हामीले प्रत्येक समुदायमा रसूल पठायौं । रसूलले आफ्ना समुदायलाई भने– मात्र अल्लाहको उपासना गर र मूर्ती र शैतानहरू इत्यादिको भक्ति नगर । तिनीहरूमध्ये जसलाई अल्लाहले सीधा मार्ग देखाउनुभयो उनीहरू ईमान ल्याए र रसूलले ल्याएको सन्देशको अनुसरण गरे । तिनीहरूमध्ये जसले अल्लाहको इन्कार गरे र रसूलको अवज्ञा गरे तिनीहरूलाई अल्लाहले सीधा मार्ग देखाउनुभएन, अनि तिनीहरू पथभ्रष्ट भए । तिमीहरू धर्तीमा घुमफिर गर अनि हेर अल्लाहको प्रकोपले गर्दा झूठा ठहर गर्नेहरूको के कस्तो परीणाम भयो ।
३७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले तिनीहरूलाई जति आह्वान गरे पनि, तिनीहरूको मार्गदर्शनको लागि जति लालायित भए पनि र संघर्ष गरे पनि अल्लाहले तिनीहरूलाई मार्गदर्शन गर्न सक्नुहुन्न । तिनीहरूमाथि आएको प्रकोपबाट बचाउन अल्लाहबाहेक कोही सहयोगी हुने छैन ।
३८. पुनर्जन्मलाई झूठा ठहर गर्नेहरू अल्लाहको पक्का कसम खाएर भन्छन्– मृत व्यक्तिहरूलाई अल्लाहले पुनः जीवित पार्नुहुन्न । तिनीहरू यो कुरा बिना तर्क भन्छन् । अल्लाहले तिनीहरूको पुनर्जन्म किन गर्नुहुन्न ? उहाँले अवश्य र चाँडै नै सबै मृतहरूको पुनर्जन्म गर्नुहुन्छ । यो उहाँको सत्य वाचा हो । तर अधिकांश मानिसहरू यो कुरा जान्दैनन् र यसको इन्कार गर्छन् ।
३९. अल्लाहले महाप्रलयको दिन सबै मानिसहरूलाई पुनः जीवित पार्नुहुनेछ ताकि उनीहरूले तौहीद, पुनर्जन्म र नुबुव्वत (ईश्दूतत्व) मा गरेको विभेदबारे स्पष्ट पारुन् । साथै काफिरहरूले जानुन्- अल्लाहसँग साझेदार बनाउने दावीमा र पुनर्जन्मको इन्कार गर्ने कार्यमा पनि तिनीहरू झूठा थिए ।
४०. जब हामी मृतहरूलाई जीवित पार्ने निर्णय गर्छौं तब हामीलाई कसैले पनि रोक्न सक्दैन । हामीले भइहाल भन्छौं अनि त्यो अवश्य नै भइहाल्छ ।
४१. काफिरहरूको अत्याचारको शिकार भएपछि अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि आफ्ना घर, परिवार र धन-सम्पत्ति त्यागेर हिज्रत (पलायन) गर्नेहरूलाई हामीले अवश्य यस लोकमा पनि सम्मानित बास-स्थान प्रदान गर्नेछौं र परलोकको प्रतिदानमध्ये स्वर्ग पनि भएको ले त्यो झन् महान हुनेछ । हिज्रत गर्नेहरूले कति पुण्य प्राप्त गरे भन्ने कुरा हिज्रत नगर्नेहरूले जानेका भए तिनीहरूले अवश्य हिज्रत गर्ने थिए ।
४२. अल्लाहको मार्गमा हिज्रत गरेका यी मुहाजिरहरूले नै धैर्य धारण गरे । उनीहरूले आफ्ना समुदायले दिएका कष्टमा धैर्य गरे, घर परिवार र स्वदेशलाई त्यागेर धैर्य गरे, अल्लाहको आज्ञापालनमा अडिग रहेर धैर्य गरे । यस्ता मानिसहरू सबै मामिलामा मात्र अल्लाहमाथि भरोसा गर्छन् । त्यसैले उहाँले उनीहरूलाई यो महान बदला दिनुभएको छ ।
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले मात्र मानवमध्ये पुरुषहरूलाई रसूल बनाएर पठायौं । उनीहरूमाथि हामीले वही (प्रकाशना) अवतरण गर्यौं । हामीले फरिश्ताहरूमध्ये रसूल पठाएनौं । यही हाम्रो कायम रहने कानुन रहदै आएको छ । यदि तिमीहरू यस कुराको इन्कार गर्छौ भने यहूदी र ईसाईहरूलाई सोध । रसूलहरू मानव थिए, फरिश्ता थिएनन् भन्ने कुरा तिनीहरूले बताउनेछन् ।
४४. हामीले यी रसूलहरूलाई स्पष्ट प्रमाण र किताबहरूका साथ पठायौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि कुरआन अवतरण गरेका छौं । ताकि तपाईंले मानिसहरूका निम्ति आवश्यक्ता अनुसार यसलाई स्पष्ट पार्नुहोस् । आशा छ मानिसहरूले यसमा रहेका विचार र उपदेश ग्रहण गर्नेछन् ।
४५. के मानिसहरूलाई अल्लाहको मार्गबाट रोक्नको लागि षड्यन्त्र गर्नेहरू यस कुराबाट निश्चिन्त छन्– अल्लाहले तिनीहरूलाई धर्तीमा धसाउन् जसरी कारूनलाई धसाउनुभएको थियो वा तिनीहरूमाथि अकस्मात प्रकोप आओस् ।
४६. के तिनीहरू यस कुराबाट निश्चिन्त छन् कि यात्रा र जीविकाको आर्जनको लागि भाग-दौड गरिरहेको अवस्थामा अल्लाहको प्रकोपले तिनीहरूलाई समातुन् । तिनीहरू यसबाट बच्न पनि सक्दैनन् र यसो गर्नबाट अल्लाहलाई रोक्न पनि सक्दैनन् ।
४७. के तिनीहरू यस कुराबाट निश्चिन्त छन्– खतरा महसुस गरिरहेकै अवस्थामा अल्लाहको प्रकोपले तिनीहरूलाई समातुन् ? अल्लाह हरेक अवस्थामा यातना दिने सामर्थ्य राख्नुहुन्छ । निस्सन्देह तिमीहरूका पालनकर्ता स्नेहशील र परम दयालु हुनुहुन्छ । उहाँले प्रकोप पठाउनमा हतार गर्नुहुन्न, यस आशाका साथ कि तिनीहरूले तौबा गरुन् ।
४८. के यी झूठा ठहर गर्नेहरूले अल्लाहका सृष्टिहरूमा विचार गरेनन् ? यी सृष्टिहरूका छायाँहरू दिनमा सूर्य र रातिमा चन्द्रमाको आवत जावतको अनुसरण गर्दै दायाँबायाँ फर्कंदै र विनम्रताका साथ अल्लाहसमक्ष सज्दा गर्ने गर्छन् ?
४९. आकाशहरू र धर्तीमा रहेका सबै सृष्टि, जनावर र फरिश्ताहरू मात्र अल्लाहकै सज्दा गर्छन् । उनीहरू अल्लाहको भक्ति र आज्ञापालनबाट अलि कति पनि घमण्ड गर्दैनन् ।
५०. उनीहरू सधैं अल्लाहको भक्ति र आज्ञाकारी गर्दै आफूमाथि पूर्ण हावी रहेका पालनकर्तासित डराउँछन् । उनीहरू अल्लाहको आदेशहरूको पूर्ण पालना गर्छन् ।
५१. अल्लाहले सबै भक्तहरूलाई भन्नुभयो– दुईवटा उपास्य न बनाऊ । वास्तवमा म एक मात्र उपास्य छु । मसँग कोही साझेदार छैन । तिमीहरू मात्र मसँग डराऊ अन्य कसैसँग नडराऊ ।
५२. आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूलाई अल्लाहले नै सृष्टि गर्नुभयो, यी सबै उहाँकै अधीनमा छन् र सबैमाथि उहाँकै आदेश चल्दैछ । यी सबै वस्तुहरू अल्लाहकै आज्ञापालन गर्दैछन् । अनि के तिमीहरू अल्लाहबाहेक अरूसित डराउँछौ ?! तिमीहरू मात्र अल्लाहसित डराऊ ।
५३. हे मानव ! तिमीहरूलाई प्राप्त धार्मिक र सांसारिक सबै वरदानहरू अल्लाहले नै प्रदान गर्नुभएको छ, अन्य कसैले प्रदान गरेको छैन । जहिले पनि तिमीहरूलाई कुनै दुःख, रोग र गरीबी पुगेमा उहाँसँग नै दुआ (प्रार्थना) गर्छौ ताकि उहाँले तिमीहरूको दुःख निवारण गरुन् । वरदानहरू प्रदान गर्ने र दुःखलाई हरण गर्ने अल्लाह कै भक्ति गर्नु अनिवार्य छ ।
५४. जब अल्लाह तिमीहरूको दुःख निवारण गर्नुहुन्छ तब तिमीहरूमध्येको एउटा गिरोह उहाँबाहेक अरूको भक्ति गरेर उहाँसँग साझेदार बनाउन थाल्छ । यो कस्तो विडम्बनाको विषय हो ?!
५५. अल्लाहसँग साझेदार बनाउने कार्यले तिनीहरूलाई कृतघ्न बनायो । तिनीहरूमाथि अल्लाहका धेरै वरदानहरू छन् जसमध्ये कष्टको निवारण पनि हो, तर तिनीहरूले त्यसको लागि अल्लाहप्रति आभार प्रकट गरेनन् । अनि तिनीहरूलाई भनियो–। चाँडै वा ढिलो आउने अल्लाहको प्रकोपअघि तिमीहरू उहाँका वरदानहरूमा मोजमस्ती गर ।
५६. बहुदेववादीहरू मूर्तीहरूको निकट्ता प्राप्त गर्न हामीले प्रदान गरेको धन-सम्पत्तिमा तिनीहरूका लागि अंश छुट्याउँछन् । तर यी मूर्तीहरू निर्जीव भएको केही पनि जान्दैनन्, न लाभ पुर्याउन सक्छन् र न हानि नै । हे बहुदेववादीहरू हो ! अल्लाहको कसम ! तिमीहरूले ईश्वर ठानेका मूर्तीहरू र तिनीहरूका लागि धनमा अंश निकाल्नेबारे अल्लाहले अवश्य सोध पूछ गर्नुहुनेछ ।
५७. बहुदेववादीहरूले अल्लाहका लागि छोरीहरू ठहर गर्छन् । फरिश्ताहरू अल्लाहका छोरीहरू हुन् भन्ने कुरा तिनीहरू विश्वास गर्छन् । तिनीहरू अल्लाहको लागि छोरी ठहर गर्छन् तर आफ्नो लागि छोरी मन पराउँदैनन्, बरु छोरा मन पराउँछन् । तिनीहरूले ठहर गरेको कुराबाट अल्लाह पवित्र हुनुहुन्छ । यो कति ठूलो अपराध हो ?!
५८. जब यी बहुदेववादीहरूमध्ये कसैलाई छोरी जन्मिएको खबर दिइन्छ तब अति घृणा र दुःखले गर्दा तिनीहरूको अनुहार कालो हुन पुग्छ । अनि तिनीहरू अल्लाहको लागि त्यो कुरा ठहर गर्छ जो आफ्नो लागि मन पराउँदैनन् !
५९. छोरीको जन्मको शुभ-सूचनालाई अशुभ ठानेर ऊ मानिसहरूसित लुकेर हिँड्छ । मनमा भन्छः अपमान सहेर यसलाई जीवित राखुँ कि माटोमा पुरिदेउँ ? पछुतो छ बहुदेववादीहरूप्रति, कति नराम्रो निर्णय गर्छन् । अल्लाहको लागि त्यो कुरा ठहर गर्छन् जो आफ्नो लागि मन पराउँदैनन् ।
६०. परलोकमा ईमान नराख्ने काफिरहरूका अवगुणहरू अति नराम्रो छन्, जस्तै छोराको आवश्यक्ता, अज्ञानता, कुफ्र । अल्लाहका गुणहरू अति उच्च छन्, जस्तै शान शौकत, पूर्णता, सम्पन्नता, ज्ञान । उहाँ प्रभुत्वशाली हुनुहुन्छ जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ सृष्टि, कार्य सञ्चालन र कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
६१. यदि अल्लाहले मानिसहरूलाई तिनीहरूको अत्याचारको कारण तुरुन्तै समात्नु भएका भए उहाँले धर्तीका कुनै मानिस र प्राणीलाई छोड्नुहुने थिएनन् । तर एउटा निर्धारित म्यादसम्म उहाँले तिनीहरूलाई अवसर प्रदान गर्नुहुन्छ । अनि जब त्यो निर्धारित म्याद आइपुग्छ तब एक क्षिणको लागि पनि तिनीहरू न एक घडी पछि हट्न सक्नेछन् न अघि नै बढ्न सक्नेछन् ।
६२. तिनीहरू अल्लाहका निम्ति छोरी सिद्ध गर्छन् जुन तिनीहरू स्वयम् मन पराउँदैनन् । तिनीहरूको जिब्राहरू झूठो मात्र बोल्ने गर्छन् । महाप्रलयको दिन तिनीहरूका लागि राम्रो बदला रहेको छ भन्ने कुरा तिनीहरू ठानेका छन् । होइन, वास्तवमा तिनीहरूको बास-स्थान नर्क हो । तिनीहरू त्यसमा फ्याँकिनेछन् र कहिले पनि निकालिने छैनन् ।
६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको कसम, निश्चय नै हामीले तपाईंभन्दा अघिका समूदायहरूसमक्ष आफ्ना रसूलहरू पठायौं । तर शैतानले तिनीहरूका शिर्क, कुफ्र र अवज्ञा जस्ता कुकर्महरूलाई तिनीहरूको दृष्टिमा सुन्दर तुल्याएर देखायो, मानौं त्यसले महाप्रलयको दिन तिनीहरूको सहयोग गर्नेछ र तिनीहरूले त्यससित मद्दत माग्नुपर्छ । वास्तविक्ता के छ भने तिनीहरू सबैका लागि दुःखदायी यातना छ ।
६४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि कुरआन यस उद्देश्यले अवतरण गरेका छौं कि तपाईंले तिनीहरूसमक्ष एकेश्वरवाद, पुनर्जन्म, इस्लामी कानुन स्पष्ट पार्नुहोस् जसमा तिनीहरू मतभेद गर्छन् । यो किताब र यसमा रहेका सन्देश मोमिनहरूका लागि मार्गदर्शन र दया हो भन्ने कुरा पनि बताउनुहोस् किनभने उनीहरू नै सत्यबाट फाइदा उठाउँछन् ।
६५. अल्लाहले नै आकाशबाट पानी बर्साउनुभयो । वर्षाको पानीबाट मृत र सुकेको भूमिलाई जीवित पार्नुभयो र त्यसमा बाली नाली उमार्नुभयो । निस्सन्देह आकाशबाट वर्षा बर्साउने र बाली नाली उमार्ने कार्यमा अल्लाहको शक्तिको स्पष्ट प्रमाण छ । यी प्रमाणहरूबाट अल्लाहका वाणी सुन्ने र त्यसमा चिन्तन-मनन गर्ने मानिसहरू लाभ उठाउने गर्छन् ।
६६. हे मानव ! तिमीहरूका लागि ऊँट, गाइ र भेडमा पनि शिक्षा छ । हामीले तिनीहरूका पेटभित्रका गोबर र रगतको बीचबाट तिमीहरूलाई शुद्ध दूध खुवाउने गर्छौं । गोबर र रगतको बीचबाट निस्के पनि यो दूध अति शुद्ध, सफा र स्वादिष्ट हुन्छ र पिउने व्यक्तिहरू मन पराउँछन् ।
६७. हामीले प्रदान गरेका खजुर र अंगुरका फलहरूमा पनि तिमीहरूका लागि उपदेश छ । तिमीहरू त्यसबाट नशालु पदार्थ पनि बनाउने गर्छौ जसले गर्दा बुद्धि हराउँछ । यो नराम्रो वस्तु हो । यसबाट पवित्र र लाभदायक खानेकुरा प्राप्त गर्छौ जस्तै खजुर, किश्मिश, भ्यानिगर, गोली । निस्सन्देह यसमा बुद्धिमानहरूका लागि अल्लाहको सामर्थ्यका प्रमाणहरू छन् । यस्ता मानिसहरू नै यसबाट शिक्षा ग्रहण गर्छन् ।
६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले माहुरीलाई निर्देशन दिनुभयो- तिमीहरू पहाड, रूख तथा मानिसहरूले उठाएका छानाहरूमा आफ्ना घर बनाऊ ।
६९. त्यसपछि तिमीहरूले मन पराएकी हरेक प्रकारका फलहरू खाऊ र पालनकर्ताले बताएको सहज मार्गमा हिड्ने गर । ती माहुरीका पेटबाट सेतो र पहेलो इत्यादि विभिन्न रङ्गका मह निस्कन्छ । त्यसमा मानिसहरूका लागि उपचार छ । मानिसहरू विभिन्न रोगहरूको उपचार गर्ने गर्छन् । निस्सन्देह माहुरी र मह दुवैमा चिन्तन-मनन गर्ने मानिसहरूका लागि अल्लाहका सामर्थ्य र सत्ता-शासनका प्रमाणहरू छन् ।
७०. अल्लाहले नै तिमीहरूलाई बिना कुनै अघिल्लो उदाहरण सृष्टि गर्नुभयो । तिमीहरूको उमेर पूरा भएपछि उहाँले नै तिमीहरूलाई मृत्यु दिनुहुनेछ । तिमीहरूमध्ये केही व्यक्तिहरू निकृष्टतम आयुसम्म पुगेपछि मर्छन् । यहाँसम्म कि तिनीहरूले जानेका कुराहरू पनि बिर्सन्छन् । निस्सन्देह अल्लाह भक्तका सबै कार्यहरू जान्नुहुन्छ । केही पनि उहाँबाट लुकेको छैन । उहाँ सामर्थ्यवान हुनुहुन्छ, कोही पनि उहाँलाई विवश पार्न सक्दैन ।
७१. अल्लाहले तिमीहरूमध्ये केही व्यक्तिहरूलाई अन्य केही व्यक्तिहरूमाथि जीविकामा प्रधानता प्रदान गर्नुभयो । कसैलाई धनि बनाउनुभयो र कसैलाई गरीब बनाउनुभयो । कसैलाई पदाधिकारी बनाउनुभयो र कसैलाई अनुयायी बनाउनुभयो । धनि र पदाधिकारी मानिसहरू आफ्ना मातहत र अनुयायीहरूलाई आफ्नो धन र पद यति मात्रामा दिने गर्दैनन् कि तिनीहरू त्यसमा बराबर होउन् । जब धनि र पदाधिकारीहरू आफ्ना अनुयायी र मातहतलाई आफ्नो बराबर बनाउन चाहदैन भने अल्लाहले कसरी आफ्ना भक्तहरूलाई आफ्नो साझेदार बनाउन सक्नुहुन्छ । अल्लाहसँग कसैलाई साझेदार बनाउनु कति ठूलो अत्याचार हो र उहाँको वरदानको कति ठूलो इन्कार हो ?!
७२. हे मानव ! अल्लाहले तिमीहरूका लागि तिमीहरूमध्येबाट जोडीहरू बनाउनुभयो जोसँग तिमीहरू हेलमेल गर्छौ । उहाँले नै तिमीहरूका पत्नीहरूबाट सन्तान र सन्तानबाट नातिहरू प्रदान गर्नुभयो । तिमीहरूलाई मासु, अनाज र फलहरू जस्ता पवित्र जीविका प्रदान गर्नुभयो । के यसका बावजुद पनि मानिसहरू मूर्ती र देवी देवता जस्ता असत्यमाथि ईमान राख्दछन् ? के यिनीहरू अल्लाहका यति धेरै वरदानलाई अस्वीकार गर्दछन् ? के यिनीहरू एक अल्लाहमाथि ईमान ल्याएर यी वरदानहरूप्रति आभार प्रकट गर्दैनन् ।
७३. यी बहुदेववादीहरू अल्लाहलाई छोडेर मूर्तीहरूको पूजा गर्छन्, जो तिनीहरूलाई न त आकाशहरूबाट जीविका दिन सक्छन् न पृथ्वीबाट । तिनीहरू निर्जीव वस्तु भएको ले तिनीहरूका लागि केही पनि गर्ने क्षमता राख्दैनन् । तिनीहरूमा न जीवन छ न ज्ञान ।
७४. हे बहदेववादीहरू हो ! यी कमजोर मूर्तीहरूलाई अल्लाह जस्तो नबनाऊ । यी मूर्तीहरू न लाभ पुर्याउन सक्छन् न हानि नै । अल्लाह जस्तो केही पनि छैन जसलाई उहाँको भक्तिमा साझेदार बनाउन सक । निस्सन्देह अल्लाह आफ्ना शक्तिशाली र सुन्दर गुणहरूलाई राम्ररी जान्नुहुन्छ । तिमीहरूलाई ज्ञान न भएको ले तिमीहरू शिर्क गर्न थाल्छौ र मूर्तीहरूलाई अल्लाह जस्तो बनाउन थाल्छौ ।
७५. अल्लाह बहुदेववादीहरूको खण्डनको लागि एउटा उदाहरण दिनुहुन्छ; एकजना दास छ जो स्वयम् कुनै अधिकार राख्दैन । ऊसँग खर्च गर्नको लागि धन पनि छैन । के यस्तो दास त्यस मुक्त व्यक्ति जस्तो हुन सक्छ जसलाई हामीले हलाल जीविका प्रदान गरेका छौं जसबाट ऊ गोप्य र वाह्य रूपमा जसरी र जहिले चाहन्छ खर्च गर्दछ । यी दुवै किसिमका व्यक्तिहरू एक समान हुन सक्दैनन् । अनि तिमीहरू महान मालिक अल्लाह र निरीह मूर्तीहरूलाई कुन आधारमा एक समान ठान्दछौ ?! सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् तर अधिकांश बहुदेववादीहरू अल्लाह मात्र ईश्वर हुनुहुन्छ र उहाँ मात्र भक्ति योग्य हुनुहुन्छ भन्ने कुरालाई जान्दैनन् ।
७६. बहुदेववादीहरूको खण्डनको लागि अल्लाह एउटा अर्को उदाहरण दिनुहुन्छ । दुई जना व्यक्तिहरू छन् जसमध्ये एकजना लाटो छ न सुन्न सक्छ न बोल्न सक्छ र न केही बुझ्न सक्छ । लाटो भएको ले न स्वयमलाई कुनै फाइदा पुर्याउन सक्छ न अरू कसैलाई । त्यो आफ्नो मालिकमाथि बोझ बनेको छ । उसले त्यसलाई जता पठाए पनि त्यसले कुनै ठीक कार्य गरेर आउँदैन । के यस्तो व्यक्ति त्यस व्यक्ति समान हुन सक्छ जोसँग सुन्ने र बोल्ने क्षमता छ, मानिसहरूलाई फाइदा पुर्याउँछ, न्यायको आदेश दिन्छ र सीधा मार्गमा छ ?! हे बहुदेववादीहरू हो ! अनि तिमीहरू कुन आधारमा सुन्दर शक्तिशाली गुणहरू बोकेका महान अल्लाह र निरीह मूर्तीहरूलाई एकसमान ठान्दछौ, जो न सुन्न सक्छन्, न बोल्न सक्छन्, न कुनै फाइदा पुर्याउन सक्छन् र न कष्टलाई समाप्त पार्न सक्छन् ?!
७७. आकाशहरू र पृथ्वीमा लुकेका अदृश्य वास्तविक्ताहरूको ज्ञान मात्र अल्लाहलाई छ, अरू कसैलाई छैन । महाप्रलय यति नजिक छ मानौं त्यो पलभरमा वा त्योभन्दा पनि छिटो हुनेछ । निस्सन्देह अल्लाह प्रत्येक कार्यको सामर्थ्य राख्नुहुन्छ, उहाँलाई कसैले विवश पार्न सक्दैन । जब उहाँ कुनै कार्य गर्ने नीयत गर्नुहुन्छ तब भन्नुहुन्छ भइ हाल, अनि त्यो हुन पुग्छ ।
७८. हे मानव ! जब तिमीहरू आमाको गर्भमा पूर्णरूपमा शिशु बन्यो तब अल्लाहले तिमीहरूका आमाहरूका कोखबाट निकाल्नुभयो । त्यतिखेर तिमीहरू केही पनि जानिरहेरका थिएनौ । उहाँले तिमीहरूका लागि कान बनाउनुभयो ताकि सुन्न सक । यहाँले तिमीहरूका लागि आँखा बनाउनुभयो ताकि हेर्न सक । यहाँले तिमीहरूका लागि मन-मस्तिष्क बनाउनुभयो ताकि तिमीहरू बुद्धि-विवेकले काम लेऊ । आशा छ तिमीहरूले यी वरदानहरूको लागि अल्लाहप्रति आभार प्रकट गर्नेछौ ।
७९. के बहुदेववादीहरूले चराहरूलाई आकाशमा उडिरहेका देखेनन् ? अल्लाहले तिनीहरूलाई पखेटा प्रदान गरेर र हावालाई अनुकुल बनाएर उड्न सम्भव बनाउनुभयो । अल्लाहले नै चराहरूलाई पखेटाहरूलाई फैलाउन र समेट्न सिकाउनुभयो ताकि तिनीहरू नखसुन् । निस्सन्देह चराहरूको उड्ने र खस्नबाट बच्ने यस कार्यमा मोमिनहरूका लागि प्रमाणहरू छन् । उनीहरू नै निशानी र उपदेशहरूबाट फाइदा उठाउनेगर्छन् ।
८०. अल्लाहले नै तिमीहरूका लागि ढुङ्गा इत्यादिबाट तिमीहरूका घरहरूलाई बास-स्थान बनाउनुभयो । उहाँले तिमीहरूका लागि ऊँट, गाई, भेडका छालाहरूबाट खेमा बनाउनुभयो । तिमीहरू यात्रा गर्दा हलुका अनुभव गर्दै यसलाई लिएर हिँड्छौ । कतै झर्दा खेमा लगाउनमा पनि सजिलो हुन्छ । अल्लाहले नै तिमीहरूका लागि भेडका ऊन, ऊँटका गोबर, बाख्राका कपालहरूलाई घरका उपभोग्य वस्तुहरू बनाउनुभयो । यी वस्तुहरूबाट तिमीहरू सर-सामान, लुगा, छाना इत्यादि बनाएर एउटा निश्चित अवधिको लागि लाभ उठाउँछौ ।
८१. अल्लाहले नै तिमीहरूका लागि रूख र घरहरूबाट तिमीहरूलाई छायाँ प्रदान गर्नुभयो । पहाडहरूमा तिमीहरूका लागि गुफाहरू बनाउनुभयो जसमा तिमीहरू जाडो, गर्मी र शत्रुबाट बच्छौ । उहाँले नै तिमीहरूका लागि कपासबाट वस्त्रहरू बनाउनुभयो, जसले तिमीहरूलाई गर्मी र जाडोबाट बचाउँछन् । उहाँले यस्ता वस्त्रहरू पनि बनाउनुभयो जसले तिमीहरूलाई युद्धमा हतियारको प्रहारबाट सुरक्षित राख्छन् । अल्लाहले तिमीहरूलाई यी वरदानहरू प्रदान गर्नुभयो, आशा छ तिमीहरूले मात्र अल्लाहको आज्ञापालन गर्नेछौ र उहाँसँग कसैलाई साझेदार बनाउने छैनौ ।
८२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यदि तिनीहरूले तपाईले ल्याउनुभएको सन्देशमाथि ईमान ल्याउँदैनन् र त्यसको पुष्टि गर्दैनन् भने तपाईंमाथि यसलाई स्पष्ट रूपमा पुर्याउने जिम्मेवारी मात्र छ । मार्गदर्शनमा ल्याउने जिम्मेबारी तपाईंमाथि छैन ।
८३. अल्लाहले प्रदान गर्नुभएका वरदानहरूलाई बहुदेववादीहरू जान्दछन् । ती वरदानहरूमध्ये तिनीहरूमाझ मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन पनि हो । तैपनि अल्लाहप्रति आभार प्रकट नगरेर र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठो ठहर गरेर ती वरदानहरूको इन्कार गर्छन् । तिनीहरूमध्ये अधिकांश अल्लाहका वरदानहरूको इन्कार गर्नेहरू नै हुन् ।
८४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) स्म्रण गर्नुहोस् त्यस दिनलाई जब अल्लाहले सबै समुदायबाट त्यसका रसूललाई खडा गर्नुहुनेछ, जसले मोमिनको ईमान र काफिरको कुफ्रको साक्षी दिनेछन् । त्यसपछि काफिरहरूलाई कुफ्रमा रहेको कुराप्रति माफि माग्ने अनुमति दिइने छैन । अल्लाहलाई खुशी पार्न सत्कर्म गर्नको लागि तिनीहरूलाई पुनः संसारमा फर्काइने पनि छैन । किनभने आखिरत हिसाबको दिन हो न कि कर्मको दिन ।
८५. अत्याचारी बहुदेववादीहरूले यातना देखेपछि तिनीहरूको यातना हलुका गरिने छैन र त्यसलाई स्थगित गरेर तिनीहरूलाई अवसर पनि दिइने छैन । बरु तिनीहरू सधैंको लागि नर्कमा जानेछन् ।
८६. जब संसारमा पूज्दै गरेका भगवानहरूलाई बहुदेववादीहरूले आखिरतमा देख्नेछन् तब भन्नेछन्– हे अल्लाह ! यिनीहरू हुन् ती साझेदारहरू जसको पूजा हामीहरू तपाईंलाई छोडेर गर्ने गर्थ्यौं । तिनीहरूले यो कुरा आफ्नो भारी झारेर ती भगवानहरूमाथि हाल्नको लागि गर्नेछन् । अल्लाहले ती भगवानहरूलाई बोल्न लगाएपछि तिनीहरूले जवाफ दिनेछन्– हे बहुदेववादीहरू हो ! अल्लाहको भक्तिमा साझेदार बनाउने कुरामा तिमीहरू झूठा हौ । अल्लाहसँग कोही साझेदार छैन ।
८७. त्यस दिन बहुदेववादीहरू मात्र अल्लाहसमक्ष आत्म-समर्पण गर्नेछन् । तिनीहरूले रचेको यो दावी हराउनेछ कि मूर्तीहरूले अल्लाहसमक्ष तिनीहरूको सिफारिश गर्नेछन् ।
८८. जुन व्यक्तिहरू अल्लाहको इन्कार गर्छन्, अरूलाई अल्लाहको मार्गबाट फेर्छन् तिनीहरूले अरूलाई पथभ्रष्ट पारेर आतङ्क मच्चाएको ले तिनीहरूलाई दिइने यातनामाथि हामी अझ बढी यातना थप्नेछौं ।
८९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनलाई स्म्रण गर्नुहोस् जब हामी प्रत्येक समुदायका रसूललाई साक्षी खडा गर्नेछौं । अनि तिनीहरू कुफ्रमा थिए वा ईमानमा भन्ने कुराको गवाही रसूलले दिनेछन् । ती रसूलहरू उनीहरूमध्ये कै हुनेछन् र उनीहरूले बोल्ने भाषा नै बोल्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई सबै समुदायहरूका लागि साक्षीको रूपमा खडा गर्नेछौं । हामीले तपाईंमाथि कुरआन अवतरण गर्यौं । यस कुरआनले तिनीहरूसमक्ष सबै हलाल, हराम, सत्कर्म र दुष्कर्म इत्यादि कुराहरूलाई स्पष्ट पार्दछ । यस कुरआनले मानवलाई सत्मार्गतर्फ मार्गदर्शन गर्छ । यो मोमिन र सत्कर्मीहरूका लागि दया हो । अल्लाहमाथि ईमान ल्याउनेहरूका लागि यो कुरआन सधैं रहने स्वर्गको शुभसूचना दिन्छ जसको प्रतीक्षा उनीहरू गर्दैछन् ।
९०. निस्सन्देह अल्लाह भक्तहरूलाई न्याय गर्ने आदेश दिनुहुन्छ । भक्तले अल्लाहको हक पनि पूरा गर्नुपर्छ र भक्तहरूको हक पनि पूरा गर्नुपर्छ । भक्तले आदेशमा एक अर्कालाई एक अर्कामाथि प्राथमिक्ता हुनुहुन्न, सिवाय त्यस हकको मामिलामा जसमा प्राथमिक्ता दिनु जरुरी छ । अल्लाह परोपकार गर्ने आदेश दिनुहुन्छ । भक्तले त्यो कार्य गर्नुपर्छ जो उसमाथि अनिवार्य छैन, जस्तै दान दिनु, अत्याचारीलाई माफ गर्नु, नातेदारहरूमाथि खर्च गर्नु, दुष्कर्म, अश्लील कुरा र अश्लील कार्य जस्तै व्यभिचार, पाप, अत्याचार र घमण्डबाट मनाहि गर्नु । अल्लाह तिमीहरूलाई आदेशको पालना गर्ने र मनाहि गरिएका कार्यहरूबाट बच्न्रे आदेश दिनुहुन्छ । आशा छ तिमीहरूले उपदेश ग्रहण गर्नेछौ ।
९१. तिमीहरूले अल्लाहसित र मानिसहरूसित गरेका वाचाहरू पूरा गर । अल्लाहसित खाएको कसम त्यसलाई बलियो पारेपछि नतोड । तिमीहरूले खाएको कसम पूरा गर्न अल्लाहलाई गवाह बनाएका छौ । निस्सन्देह अल्लाह तिमीहरूले गर्ने गरेका कर्महरूबाट अवगत हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।
९२. तिमीहरू वचन भङ्ग गरेर त्यस महिला जस्तो बेवकुफ नबन जसले पहिला त परिश्रम गरेर धागो कात्यो अनि आफैं त्यसलाई फुकाल्यो । त्यसलाई कातेर अनि फुकालेर हेरान मात्र भयो । केही पनि प्राप्त भएन । तिमीहरू आफ्ना कसमलाई एक अर्कालाई मात्र धोका दिने साधन बनाउँछौ । ताकि तिमीहरूको समुदायको संख्याँ शत्रुको समुदायभन्दा बढी होस् । वाचाबारे तिमीहरूको परीक्षा यो हेर्नको लागि अल्लाहले लिनुहुन्छ कि कसले वाचा पूरा गर्छ र कसले त्यसलाई भङ्ग गर्छ ? तिनीहरू संसारमा विभेद गर्ने कुरालाई अल्लाहले महाप्रलयको दिन अवश्य नै स्पष्ट पार्नुहुनेछ । अनि उहाँले सत्यवादीलाई झूठाहरूबाट अलग छुट्याउनुहुनेछ ।
९३. अल्लाहले चाहनुभएमा सबै मानिसहरूलाई सत्यमा एकत्रित गरेर एउटै समुदाय बनाउनुहुने थियो । तर उहाँले जसलाई चाहनुहुन्छ पथभ्रष्ट गर्नुहुन्छ, किनभने तिनीहरू सत्यबाट विमुख भएका हुन्छन् र वचन भङ्ग गरेका हुन्छन् । उहाँ जसलाई चाहनुहुन्छ आफ्नो कृपाले सीधा मार्ग देखाउनुहुन्छ । तिमीहरूले संसारमा गरेका कार्यहरूबारे अल्लाहले अवश्य सोध पूछ गर्नुहुनेछ ।
९४. तिमीहरूले आफ्नो इच्छाको अनुसरण गर्दै कसमहरूलाई आपसमा धोका दिने साधन नबनाऊ । मनचाही हिसाबले कहिले कसमलाई तोड्ने र कहिले पूरा गर्ने काम नगर । यसो गर्छौ भने तिमीहरूका पाउहरू सीधा मार्गमा स्थिर भएपछि पुनः चिप्लन पुग्नेछन् । तिमीहरू अल्लाहको मार्गबाट पथभ्रष्ट भएको कारणले यातनाको स्वाद चाख्छौ । अरू मानिसहरूलाई पथभ्रष्ट गर्ने कारणले कय्यौं गुणा यातनाको स्वाद चाख्छौ ।
९५. अल्लाहसित गरेका वाचालाई तुच्छ मूल्यमा नबेच । वाचालाई नतोड, बरु त्यसलाई पूरा गर । तिमीहरू ज्ञानी हौ भने अल्लाहकहाँ रहेका लोकका मद्दत तथा युद्धमा प्राप्त धन र आखिरतमा रहेका सधैं रहने वरदान त्यस तुच्छ लाभ भन्दा उत्तम छ जो तिमीहरू वाचा भङ्ग गरेर प्राप्त गर्छौ ।
९६. हे मानव ! तिमीहरूसँग भएको धन-सम्पत्ति र मोज मस्तीका सर-सामान जति धेरै भए पनि समाप्त हुनेछ । अल्लाहसँग भएको बदला बाँकी रहनेछ । अनि तिमीहरू कुन आधारमा समाप्त हुने धन-सम्पत्तिलाई सधैं बाँकी रहने बदलामाथि प्राथमिक्ता दिन्छौ । निस्सन्देह वाचामा कायम रहने र त्यसलाई भङ्ग नगर्नेहरूलाई हामीले उनीहरूले गरेका सत्कर्महरूभन्दा राम्रा बदला दिनेछौं । उनीहरूले गरेको एउटा सत्कर्मको बदला दस गुणा देखि सात शय गुणासम्म बरु त्यसभन्दा पनि बढी दिनेछौं ।
९७. पुरुष होस् वा महिला जसले पनि अल्लाहमाथि ईमान ल्याएर इस्लामी कानुन अनुसार सत्कर्म गर्छ हामीले अवश्य नै उसलाई संसारमा पवित्र जीवन प्रदान गर्नेछौं । उसले सांसारिक जीवन अल्लाहको भाग्यसँग राजी खुशी, धैर्य र आज्ञापालन गर्दै बिताउनेछ । आखिरतमा यस्तो व्यक्तिलाई उसले संसारमा गरेका सत्कर्मभन्दा उत्तम बदला हामीले दिनेछौं ।
९८. हे मोमिन ! तिमीले कुरआनको पाठ सुरु गर्दा तिरस्कृत शैतानका गोप्य प्रामर्शहरूबाट अल्लाहको शरण माग्ने गर ।
९९. अल्लाहमाथि ईमान ल्याउने र सबै मामिलाहरूमा मात्र उहाँमाथि भरोसा गर्ने मानिसहरूमाथि शैतानको वश चल्दैन ।
१००. शैतानका गोप्य प्रामर्शको वश मात्र यस्ता व्यक्तिहरूमाथि चल्छ जो उसलाई मित्र बनाउँछन्, आज्ञापालन गर्छन् र उसलाई अल्लाहको भक्तिमा साझेदार ठहर गर्छन् ।
१०१. जब हामी कुनै आयतको आदेशलाई अर्को आयतको आदेशबाट रद्द गर्छौं तब काफिरहरू भन्छन्– हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! तिमी झूठो छौ । तिमी अल्लाहमाथि झूठ रच्छौ । –कुरआनबाट कुनै कारणले जे पनि रद्द गरिन्छ वा बाँकि राखिन्छ त्यसलाई अल्लाह राम्ररी जान्नुहुन्छ– । तिनीहरूमध्ये अधिकांश मानिसहरू यो कुरा जान्दैनन् कि अल्लाहले कुनै कारणले कुनै आयतको आदेशलाई रद्द गर्नुहुन्छ ।
१०२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– यस कुरआनलाई जिब्रील (अलैहिस्सलाम) ले अल्लाहको तर्फबाट सत्यका साथ अवतरण गरेका छन् । यसमा कुनै त्रुटि, कुनै फेरबदल र कुनै थपघट गरिएको छैन । ताकि अल्लाहले नयाँ नयाँ आदेशहरू अवतरण गरेर र केही आदेशहरूलाई रद्द गरेर मोमिनहरूलाई सुदृढता प्रदान गरून् । साथै मुस्लिमहरूको लागि मार्गदर्शन होस्, उनीहरूले यसबाट पुण्य प्राप्त गरुन् र यो उनीहरूका लागि शुभ-सूचना होस् ।
१०३. हामीलाई राम्ररी थाहा छ कि बहुदेववादीहरूले भन्छन्– निस्सन्देह मुहम्मद (सल्लल्लाहु अलैहि व सल्ल) लाई एकजना व्यक्तिले कुरआन सिकाउँछ । तर तिनीहरू आफ्नो दावीमा झूठा हुन् । तिनीहरूको सङ्केत जुन व्यक्तितर्फ छ उसको भाषा त गैर-अरबी हो । जबकि यो कुरआन बिशुद्ध, उच्च स्तरीय र स्पष्ट अरबीमा भाषामा छ । अनि तिनीहरू कुन आधारमा यो ठानेका छन् कि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) कुनै गैर-अरबी ब्यक्तिबाट कुरआन सिक्नुभयो ?!
१०४. वास्तवमा जुन व्यक्तिहरू अल्लाहले अवतरण गर्नुभएका आयतहरूमाथि ईमान ल्याउँदैनन् अल्लाह पनि तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्न । तिनीहरूका लागि दुःखदायी यातना छ किनभने तिनीहरूले अल्लाहको इन्कार गरे र उहाँका आयतहरूलाई झूठा ठहर गरे ।
१०५. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले जे जति अल्लाहको तर्फबाट ल्याउनुभएको छ त्यसमा उहाँ झूठा हनुहुन्न । अल्लाहका आयतहरूको पुष्टि नगर्नेहरू वास्तवमा झूठो रच्छन् । किनभने तिनीहरू प्रकोपबाट डराउँदैनन् र पुण्यको आशा राख्दैनन् । निस्सन्देह काफिरहरू नै झूठा हुन् । किनभने तिनीहरूलाई झूठको बानी बसेको छ ।
१०६. यस्ता ब्यक्तिहरू इस्लामबाट फिरेका छन् जो ईमान ल्याएपछि अल्लाहको इन्कार गर्छन्, स्पष्टरूपमा ईमानको तुल्नामा कुफ्रलाई मन पराउँछ र कुफ्रको आज्ञापालन गर्छन् । तिनीहरूमाथि अल्लाहको क्रोध अवतरण हुन्छ र तिनीहरूका लागि ठूलो यातना छ । यस्ता मानिसहरू यातनाबाट सुरक्षित रहनेछन् जो बाध्य भएर कुफ्रको वाणी भन्छन् तर उनीहरूका हृदय ईमानमाथि सन्तुष्ट रहन्छ ।
१०७. सांसारिक जीवनलाई परलोकमाथि प्राथमिकता दिएको कारणले तिनीहरू इस्लामबाट फिरे । निस्सन्देह अल्लाह काफिरहरूलाई ईमान ल्याउने अवसर दिनुहुन्न बरु अपमानित गर्नुहुन्छ ।
१०८. ईमानबाट फिरेका काफिरहरूका हृदयहरूमाथि अल्लाहले मोहर लगाउनुभयो, जसले गर्दा तिनीहरू उपदेशहरूलाई बुझ्दैनन् । तिनीहरूका कानमाथि पनि उहाँले मोहर लगाउनुभयो जसले गर्दा तिनीहरू फाइदा उठाउने गरी सुन्दैनन् । तिनीहरूका आँखाहरूमाथि पनि उहाँले मोहर लगाउनुभयो जसले गर्दा तिनीहरू ईमानलाई प्रमाणित गर्ने प्रमाणहरूलाई देख्दैनन् । तिनीहरू सौभाग्य र दुर्भाग्यका माध्यमहरू र अल्लाहले तयार पार्नुभएको यातनाबाट असावधान छन् ।
१०९. निस्सन्देह तिनीहरू महाप्रलयको दिन घाटा खानेछन् । तिनीहरूले ईमान ल्याएपछि कुफ्र गरेको ले आफूलाई घाटामा पारे । तिनीहरू ईमानमा कायम रहेका भए स्वर्गमा प्रवेश गर्ने थिए ।
११०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्दे तपाईंका पालनकर्ता कमजोर पारिएका मोमिनहरूमाथि दयावान र क्षमाशील हुनुहुन्छ । उनीहरू नै हुन जसमाथि मक्काका बहुदेववादीहरूले अत्याचार गरे, जसले गर्दा उनीहरूमध्ये केही जिब्रोबाट कुफ्रको वाणी भन्न बाध्य भए जब कि उनीहरूका हृदय ईमानमाथि सन्तुष्ट थिए । अनि उनीहरू मक्काबाट मदीना हिज्रत (पलायन) गरे । फेरि उनीहरूले अल्लाहको वाणी उच्च पार्न र कुफ्रको वाणी तल पार्नको लागि जिहाद गरे । उनीहरूले पाएको कष्टहरूमाथि धैर्य गरे । उनीहरूले कष्टबाट बच्नको लागि कुफ्रको वाणी भने पनि अल्लाह अति क्षमाशील र परम दयालु हुनुहुन्छ । किनभने उनीहरूले बाध्य भएर कुफ्रको वाणी भनेका थिए ।
१११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनलाई स्मरण गर्नुहोस् जब प्रत्येक व्यक्ति आफ्नै बचाव गर्दै हाजिर हुनेछ । भयावह अवस्थाले गर्दा कसैले अरूको बचाव गर्ने छैन । प्रत्येक व्यक्तिलाई उसको सत्कर्म र दुष्कर्मको पूरा पूरा बदला प्रदान गरिनेछ । कसैका सत्कर्महरूमा कुनै कमि गरेर वा दुष्कर्महरूमा थपेर तिनीहरूमाथि अत्याचार गरिने छैन ।
११२. अल्लाह मक्का नगरको उदाहरण प्रस्तुत गर्नुहुन्छ जो शान्त थियो र त्यहाँका बासीहरूलाई कुनै डर थिएन । चारैतिरबाट खाद्य-सामग्री प्रशस्त मात्रामा सजिलै त्यहाँ आइरहेको थियो । तर त्यहाँका बासीहरूले अल्लाहको वरदानहरूप्रति कृतघ्नता देखाए । तिनीहरूले अल्लाहप्रति आभार प्रकट गरेरनन् । अतः अल्लाहले तिनीहरूलाई तिनीहरूको कुकर्मले गर्दा भोक र त्रासको स्वाद चखाउनुभयो । तिनीहरूले कुफ्र र झूठा ठहर गरेका ले पोशाक जस्तै सधैँको लागि तिनीहरू भोक र त्रासमा ग्रस्त भए ।
११३. मक्का बासीहरूसमक्ष तिनीहरूमध्येबाट रसूलको आगमन भयो । तिनीहरू उहाँलाई एकजना सच्चा र इमानदार ब्यक्तिको हैसियतमा जान्दथे । उहाँ हुनुहुन्थ्यो मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) । तर तिनीहरूले उहाँमाथि अवतरण भएको कुरालाई झूठा ठहर गरे । अनि तिनीहरूमाथि भोक र त्रासको रूपमा अल्लाहको प्रकोप अवतरण भयो । तिनीहरूले अल्लासँग अरूलाई साझेदार बनाएर र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठा ठहर गरेर आफूलाई बरबादीमा हाले । यसरी आफैंमाथि अत्याचार गरे ।
११४. हे भक्तहरू हो ! अल्लाहले जेजति वैध र पवित्र जीविका तिमीहरूलाई प्रदान गर्नुभएको छ त्यसमबाट खाऊ । यदि तिमीहरू अल्लाहकै उपासना गर्छौ र उहाँसँग अन्य कसैलाई साझेदार बनाउँदैनौ भने उहँका वरदानहरूलाई स्वीकार गरेर र त्यसलाई अल्लाहको इच्छा अनुसार खर्च गरेर उहाँप्रति आभार प्रकट गर ।
११५. अल्लाहले तिमीहरूका लागि हराम गर्नुभएको छ खाने कुराहरूमध्ये बध नगरिकन मरेका जनावर, बगेको रगत, सुँगुरको मासु र त्यसका सबै अंश, अल्लाह बाहेक अन्य कसैको नाममा चढाएको बली । यी जनावरहरू विवश नभएको अवस्थामा हराम छन् । तर कोही विवश भयो, उसले अनिच्छापूर्वक र सीमा उल्लङ्घन नगरीकन खायो भने अल्लाह निस्सन्देह अति क्षमाशील हुनुहुन्छ । उहाँले विवश भएर खाएका मानिसहरूलाई माफ गर्नुभयो । उहाँ परम दयालु हुनुहुन्छ, त्यसैले हराम गरिएका वस्तुहरूलाई पनि आवश्यक्ता परेको खण्डमा हलाल गर्नुभयो ।
११६. हे बहुदेववादीहरू हो ! तिमीहरू अल्लाहको बारेमा आफ्ना जिब्राले रचेको झूठो बोल्दै यो वस्तु हलाल हो र यो वस्तु हराम हो नभन । अल्लाहमाथि झूठ रच्ने मनसायले उहाँले हराम नगरेको वस्तुलाई हराम र उहाँले हलाल नगरेको वस्तुलाई हलाल नभन । निस्सन्देह अल्लाहविरुद्ध झूठो कुरा रच्नेहरू आफ्नो उद्देश्यमा सफल हुन सक्दैनन् र यातनाबाट बच्न सक्दैनन् ।
११७. आफ्नो इच्छाको अनुसरण गरेको तिनीहरूलाई सांसारमा क्षणिक थोरै सुख मात्र मिल्नेछ । महाप्रलयको दिन तिनीहरूका लागि दुखदायी यातना छ ।
अल्लाहले यस समुदायको लागि हराम गरिएका वस्तुहरूको वर्णनपछि यहूदीहरूमाथि हराम गरिएका वस्तुहरूको वर्णन गर्नुभयोः
११८. यहूदीहरूका लागि विशेषरूपमा जुन वस्तुहरू हामीले हराम गर्यौं त्यसको वर्णन यसअघि (सूरह अन्आम १४६ मा) गरि सकेका छौं । हामीले तिनीहरूका लागि ती वस्तुहरू हराम गरेर तिनीहरूमाथि अत्याचार गरेनौं । तिनीहरू स्वयम् प्रकोपलाई निम्त्याउने कार्य गरेर आफैंमाथि अत्याचार गर्ने गर्थे । हामीले तिनीहरूलाई तिनीहरूले गरेका अत्याचारको सजाय दियौं । हामीले सजाय स्वरूप तिनीहरूका लागि ती वस्तुहरू हराम गर्यौं ।
११९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाह यस्ता मानिसहरूलाई माफ गर्नुहुन्छ र दया गर्नुहुन्छ जसले दुष्कर्मको परीणामबाट अज्ञानतामा दुष्कर्म गर्छन् यद्यपि जानी जानी गर्छन् फेरि प्रायश्चित गरेर आफ्नो कर्मको सुधार गर्छन् ।
बहूदेववादीहरू इब्राहीम (अलैहिस्सलाम) को धर्ममा छन् भन्न ठानेका थिए । अल्लाहले तिनीहरूको खण्डन गर्दै भन्नुभयोः
१२०. इब्राहीम (अलैहिस्सलाम) भलाइलाई जम्मा गर्ने, सधैं अल्लाहको आज्ञापालन गर्ने, सबै धर्महरूलाई छोडेर इस्लाम धर्ममा समर्पित थिए । उनी कदापि पनि बहुदेववादीहरूमध्ये थिएनन् ।
१२१. उनी अल्लाहका वरदानहरूप्रति कृतज्ञ थिए । अल्लाहले उनलाई रसूल बनाउनको लागि रोज्नुभएको थियो । अल्लाहले उनलाई इस्लामको सीधा मार्गतर्फ मार्गदर्शन गर्नुभयो ।
१२२. हामीले उनलाई लोकमा सन्देष्टा बनायौं, राम्रो ख्याति र स्वस्थ्य सन्तान प्रदान गर्यौं । उनी परलोकमा यस्ता योग्य मानिसहरूमध्ये हुनेछन् जसको लागि अल्लाहले स्वर्गमा उच्च स्थान तयार पार्नुभएको छ ।
१२३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! फेरि हामीले तपाईंतर्फ वही (प्रकाशना) गर्यौं- एक अल्लाहको भक्ति, बहुदेववादीहरूबाट असंलग्नता, अल्लाहतर्फ आह्वान र अल्लाहको कानुनको पालनामा इब्राहीम (अलैहिस्सलाम) को धर्मको पालना गर । सबै धर्महरूलाई त्यागेर मात्र इस्लाम धर्मलाई अङ्गाल । इब्राहीम (अलैहिस्सलाम) बहुदेववादीहरूमध्येका थिएनन्, जस्तो कि बहुदेववादीहरू ठान्छन् । बरु उनी पक्का एकेश्वारवादी थिए ।
१२४. सब्त (शनिबार) को दिनको आदर यहूदीहरूमाथि अनिवार्य गरिएको थियो, ताकि त्यस दिनलाई भक्तिको लागि विशिष्ट गरुन् । तर तिनीहरूले त्यसमा विभेद गरे । यसअघि तिनीहरूका लागि शुक्रवारको दिन विशिष्ट गरिएको थियो तर त्यसबारे तिनीहरू पथभ्रष्ट भए । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! महाप्रलयको दिन अल्लाहले मतभेद गर्नेहरूबीचका विवादित मुद्दाहरूबारे निर्णय गर्नुहुनेछ । उहाँले तिनीहरूलाई तिनीहरूका कर्म अनुसार बदला दिनुहुनेछ ।
१२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं पनि र तपाईंका अनुयायी मोमिनहरूले पनि मानिसहरूलाई अल्लाहको मार्गतर्फ मानिसहरूको अवस्था र बुद्धि अनुसार हीतैषी बनेर आह्वान गर्नुहोस् । तिनीहरूलाई प्रेरित गरेर, डराएर र सर्वोत्तम तरीकाले तर्कवितर्क गरेर आह्वान गर । तपाईंको जिम्मेबारी मानिसहरूलाई सीधा मार्गमा ल्याउनु होइन, बरु तपाईंमाथि इस्लामको सन्देश पुर्याउनु मात्र हो । अल्लाह राम्ररी जान्नुहुन्छ कुन मानिसहरू इस्लाम धर्मबाट भ्रष्ट भएका छन् र कुन मानिसहरू इस्लाम धर्ममा कायम छन् । तपाईंले तिनीहरूबारे चिन्ता लिनुपर्दैन ।
१२६. यदि तिमीहरू आफ्ना शत्रुहरूसित बदला लिन चाहन्छौ भने त्यही हदसम्म लेऊ जति तिमीहरूमाथि अत्याचार गरिएको छ । यदि तिमीहरू शक्तिका बावजुद धैर्य गर्दै बदला लिँदैनौ भने यो धैर्यवानहरूका लागि झन् राम्रो हुनेछ ।
१२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको तर्फबाट पुगेको कष्टमाथि धैर्य गर्नुहोस् । तपाईंभित्र अल्लाहकै कृपाले धैर्य आउनेछ । काफिरहरू विमुख भएकोमा चिन्तित नहुनुहोस् । तिनीहरूका चलखेलप्रति मन सानो नपार्नुहोस् ।
१२८. निस्सन्देह अल्लाह त्यस्ता व्यक्तिहरूका साथ हुनुहुन्छ जो उहाँका अवज्ञालाई छोडेर ईशभय राख्छन् र उहाँका आदेशहरूको पालना गर्छन् । अल्लाहको मद्दत यस्ता मानिसहरूको साथमा छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें