सीधे मुख्य सामग्री पर जाएं

३५. सूरह फातिर (मक्की)

 शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. सबै प्रशंसाहरू त्यस अल्लाहको लागि छन् जसले बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वीको सृष्टि गर्नुभयो । उहाँले फरिश्ताहरूलाई प्रवक्ता बनाएर पठाउनुभयो जो अल्लाहले निर्धारित गर्नुभएका आदेशहरू लागु गर्छन् । उनीहरूमध्ये कोही रसूलहरूसम्म अल्लाहको वही पुर्याउँछ र उनीहरूलाई उनीहरूको जिम्मेबारी निर्वाह गर्नमा सशक्त पार्छन् । ती फरिश्ताहरूमध्ये कसैका दुई वटा, कसैका तीन वटा, कसैका चार वटा पखेटाहरू छन् । उनीहरू अल्लाहका आदेशहरू लागु गर्न त्यसबाट उड्ने गर्छन् । उहाँ आफ्नो सृष्टिमा जे चाहनुहुन्छ बृद्धि गर्नुहुन्छ । जस्तै सृष्टिहरूका अङ्ग, सुन्दरता वा आवाजमा । अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । उहाँलाई कसैले हैरान पार्न सक्दैन । 
२. सबै वस्तुहरूका साँचाहरू अल्लाहको हातमा छ । उहाँले मानिसहरूलाई जे जति जीविका प्रदान गर्नुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, भाग्यशाली बनाउनुहुन्छ र अन्य वरदान प्रदान गर्नुहुन्छ त्यसलाई कोही पनि रोक्न सक्दैन । अल्लाहले यी वरदानहरूमध्ये जसलाई रोक्नुहुन्छ त्यसलाई कोही पनि दिन सक्दैन । उहाँ प्रभुत्वशाली हुनुहुन्छ कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ । 
३. हे मानव ! तिमीहरू हृदय, जिब्रो र अङ्गबाट अल्लाहका वरदानलाई स्मरण गर । के अल्लाहबाहेक तिमीहरूका अन्य कोही सृष्टिकर्ता छ जो तिमीहरूलाई आकाशबाट पानी बर्साएर जीविका प्रदान गर्छ वा भूमिबाट फल फुल र बाली नाली इत्यादि उमारेर जीविका प्रदान गर्छ ? अल्लाहबाहे कोही पनि वास्तविक पूज्य छैन । अनि तिमीहरू कसरी सत्यबाट बहकिदैछौ, अल्लाहविरुद्ध झूठो रच्छौ, अल्लाहको लागि कोही साझेदार छ भन्ने कुरा ठान्छौ जब कि उहाँले नै तिमीहरूको सृष्टि गर्नुभयो र जीविका प्रदान गर्नुभयो ?! 
४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंको समुदायले तपाईंलाई झूठो ठहर गरेको छ भने धैर्य गर्नुहोस्, किनभने तपाईं झूठा ठहर गरिने पहिलो रसूल हुनुहुन्न बरु तपाईंअघि विगतका समुदायहरूले पनि आ-आफ्ना रसूलहरूलाई झूठो ठहर गरेका थिए । जस्तै आद, समूद र लूत (अलैहिस्सलाम) को समुदाय । सबै मामिलाहरू अल्लाहतर्फ नै फर्काएर लगिनेछन् । अनि उहाँले झूठा ठहर गर्नेहरूलाई सर्वनाश गर्नुहुनेछ र रसूलहरू र मोमिनहरूलाई सहयोग गर्नुहुनेछ । 
५. हे मानव हो ! महाप्रलयको दिन पुनर्जन्म र बदला दिने जुन वाचा अल्लाहले गर्नुभएको छ त्यो सत्य हो, यसमा कुनै शङ्का छैन । अतः सत्कर्म गरेर त्यस दिनको तयारी गर । सांसारिक जीवनको मोज मस्ती, शैतान र सांसारिक जीवनतर्फ झुकावले तिमीहरूलाई यसबाट नरोकोस् । 
६. हे मानव हो ! शैतान तिमीहरूको शुरु देखि नै शत्रु हो । शैतानविरुद्ध मुकाबिला गरेर यससँग शत्रु जस्तो व्यवहार गर । शैतान आफ्ना अनुयायीहरूलाई अल्लाहको इन्कार गर्न लगाउँछ, ताकि तिनीहरू महाप्रलयको दिन दन्कदो आगोमा जाउन् ।
७. शैतानको अनुसरण गर्दै जसले अल्लाहको इन्कार गरे, तिनीहरूलाई कडा यातना दिइनेछ । जुन मानिसहरूले अल्लाहमाथि ईमान ल्याए र सत्कर्म गरे अल्लाहले उनीहरूका पापहरू माफ गर्नुहुनेछ र स्वर्ग जस्तो महान बदला दिनुहुनेछ ।
८. शैतानले दुष्कर्मलाई सुन्दर बनाएर देखाउँदा त्यसलाई सुन्दर मान्ने मानिसहरू ती मानिसहरू जस्ता हुन सक्दैनन् जसलाई अल्लाहले सत्यलाई सुन्दर बनाएर देखाउनुहुन्छ अनि उनीहरूले सत्यलाई सत्य मान्छन् । निस्सन्देह अल्लाह जसलाई चाहनुहुन्छ पथभ्रष्ट पार्नुहुन्छ र जसलाई चाहनुहुन्छ सीधा मार्ग देखाउनुहुन्छ । उहाँलाई कसैले विवश पार्न सक्दैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं पथभ्रष्ट हुनेहरूलाई पथभ्रष्टताबाट निकाल्ने चिन्तामा आफ्नो ज्यान नगुमाउनुहोस् । अल्लाह तिनीहरूले गर्ने गरेका कार्यहरूलाई जान्नुहुन्छ । तिनीहरूका कर्महरूमध्ये केही पनि उहाँबाट लुकेको छैन ।
९. अल्लाहले नै हावा पठाउनुहुन्छ जसले बादललाई हाँक्छ, फेरि उहाँले नै बादललाई हाँकेर बोट बिरुवा नभएको भूमितर्फ पुर्याउनुहुन्छ । उहाँले नै त्यसको पानीबाट सुकेको भूमिलाई जीवित पार्नुहुन्छ र बोट बिरुवा उमार्नुहुन्छ । जसरी उहाँ मृत भूमिलाई जीवित पार्नुहुन्छ त्यसरी नै महाप्रलयको दिन मरेका मानिसहरूको पुनर्जन्म गर्नुहुनेछ । 
१०. जुन मानिसहरू लोक वा परलोकमा सम्मान चाहन्छन् उनीहरूले यो सम्मान मात्र अल्लाहबाट माग्नुपर्छ । किनभने लोक र परलोक दुवैमा सम्मान मात्र अल्लाहको लागि हो । उहाँको लागि गरिएका स्मरण र सत्कर्म उहाँतर्फ नै माथि जान्छ । जुन मानिसहरू मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को हत्या गर्ने खालका षड्यन्त्रहरू गर्छन् तिनीहरूका लागि कडा यातना छ । यस्ता काफिरहरूको षड्यन्त्रलाई अल्लाहले विफल पार्नुहुनेछ, तिनीहरू आफ्नो उद्देश्यमा सफल हुने छैनन् ।
११. अल्लाहले नै तिमीहरूका पूर्वज आदम (अलैहिस्सलाम) को सृष्टि माटोबाट गर्नुभयो । फेरि तिमीहरूको सृष्टि विर्यबाट गर्नुभयो, अनि तिमीहरूमध्ये पुरुष र महिला बनाउनुभयो, जो परस्पर बिहे गर्छन् । जुन सुकै स्त्रीलिङ्गले गर्भ धारण गर्छ र शिशुलाई जन्म दिन्छ ती सबैको ज्ञान अल्लाहलाई छ । उहाँबाट कुनै पनि कुरा लुकेको छैन । सृष्टिहरूमध्ये जसको पनि उमेरमा कुनै थप घट हुन्छ त्यो लौहे महफूज (सुरक्षित बही खाता) मा लेखिएको छ । उक्त वर्णन गरिएका सबै कार्यहरू अल्लाहको लागि सजिलो छ ।
१२. दुई किसिमका समुद्रहरू एकसमान हुन सक्दैनन्, एउटा झनै मिठो, मिठो भएकोले पिउनमा सजिलो, दोस्रो नुनिलो, नुनिलो भएकोले पिउन असम्भव । यी दुवैबाट तिमीहरू ताजा माछा खान्छौ, बहुमुल्य मोती र मर्जान निकाल्छौ, जसलाई सुन्दरताको लागि लाउँछौ । हे दर्शक ! तिमीले डुङ्गाहरूलाई आउने जाने क्रममा समुद्रको पानीलाई चिर्दै दगुरि रहेको देख्छौ, ताकि व्यापार गरेर अल्लाहको वरदानको खोजि गर र उहाँले दिनुभएका धेरै वरदानहरूका लागि उहाँप्रति आभार प्रकट गर ।  
१३. अल्लाह रातिलाई दिनमा प्रवेश गराउनुहुन्छ जसले गर्दा दिन लामो हुन पुग्छ र दिनलाई रातिमा प्रवेश गराउनुहुन्छ जसलेगर्दा राति लामो हुन पुग्छ । अल्लाहले सूर्य र चन्द्रमालाई आफ्नो नियन्त्रणमा लिनुभएकोछ । दुवै निर्धारित समय महाप्रलयसम्म गतिशील छन् जसको ज्ञान अल्लाहलाई मात्र छ । ती सबैको सञ्चालनकर्ता मात्र अल्लाह हुनुहुन्छ जो तिमीहरूका पालनकर्ता हुनुहुन्छ । सबैका मालिक उहाँ नै हुनुहुन्छ । उहाँलाई छोडेर तिमीहरू जुन मूर्तीहरूको पूजा गर्छौ ती सबै खजुरको बिउमाथि रहेको झिल्ली बराबर वस्तुको पनि मालिक होइनन् । अनि तिमीहरू कुन आधारमा मलाई छोडेर ती मूर्तीहरूको पूजा गर्छौ ?!    
१४. तिमीहरूले मूर्तिहरूलाई पुकार्दा तिनीहरूले जवाफ दिने छैनन्, किनभने तिनीहरूमा ज्यान छैन । मानौं तिनीहरूले सुने पनि जवाफ दिने छैनन् । तिनीहरूले महाप्रलयको दिन तिमीहरूको शिर्क र भक्तिसित कुनै सरोकार नरहेको घोषणा गर्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले जति सच्चा पक्का कुरा भन्नुहुन्छ त्यति अरू कोही पनि भन्न सक्दैन ।   
१५. हे मानव ! तिमीहरू आफ्ना सबै मामिला र अवस्थामा अल्लाहको आवश्यक्तामा छौ । अल्लाह मात्र कसैको आवश्यक्तामा हुनुहुन्न । उहाँले लोक र परलोकमा आफ्ना भक्तहरूको भाग्यमा जे जति लेख्नुहुन्छ त्यसमा उहाँ प्रशंसनीय हुनुहुन्छ ।  
१६. अल्लाहले चाहनुभएमा तिमीहरू सबैलाई सर्वनाश पारेर नयाँ सृष्टि ल्याउनुहुनेछ जसले उहाँको भक्ति गर्नेछन् र उहाँसँग कसैलाई साझेदार ठहर गर्ने छैनन् ।  
१७. तिमीहरू सबैको सर्वनाश पारेर नयाँ सृष्ट ल्याउनबाट कसैले पनि उहाँलाई रोक्न सक्दैन ।  
१८. कुनै पनि पापी व्यक्तिले अर्काको पापको भार उठाउन सक्दैन । बरु सबैले आफ्नै पापको भार उठाउनु पर्ने हुन्छ । यदि कोही पापी आफ्नो पापको अलि पनि भार उठाउन अरूलाई पुकार्छ भने कसैले पनि उसको अलि पनि भार उठाउने छैन यद्दपि पुकारिने व्यक्ति नजिक नै किन नहोस् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले यस्ता मानिसहरूलाई मात्र अल्लाहको यातनाबाट डराउन सक्नुहुन्छ जो परोक्षमा रहेर पनि अल्लाहसित डराउँछन् र पूर्णरूपमा सलाह कायम गर्छन् । यस्ता मानिसहरूले मात्र तपाईको सावधान गराइने कार्यबाट फाइदा उठाउन सक्छन् । शिर्कसमेत अन्य पापहरूबाट आफूलाई पवित्र राख्ने मानिसहरूलाई नै त्यसको फाइदा हुनेछ । अल्लाह कसैको आज्ञापालनको आवश्यक्तामा हुनुहुन्न । महाप्रलयको दिन हिसाब र बदलाको लागि सबैले उहाँतर्फ नै फर्केर जानुपर्छ ।
१९. जसरी अन्धो र देख्ने व्यक्ति एकसमान हुन सक्दैनन् त्यसरी नै काफिर र मोमिनको दर्जा एकसमान हुन सक्दैन । 
२०. जसरी अन्धकारहरू र प्रकाश एकसमान हुन सक्दैनन् त्यसरी नै कुफ्र र ईमान एकसमान हुन सक्दैनन् ।
२१. जसरी छायाँ र तातो हावा एकसमान हुन सक्दैनन् त्यसरी नै स्वर्ग र नर्क एकसमान हुन सक्दैनन् ।
२२. जसरी जीवित र मृतहरू एकसमान हुन सक्दैनन् त्यसरी नै मोमिनहरू र काफिरहरू एकसमान हुन सक्दैनन् । अल्लाह जसलाई चाहनुहुन्छ आफ्नो मार्गदर्शन सुनाउनुहुन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी तपाईं चिहानमा रहेका मुर्दाहरूलाई सुनाउन सक्नुहुन्न त्यसरी नै काफिरहरूलाई सुनाउन सक्नुहुन्न । 
२३. तपाईं त मात्र तिनीहरूलाई अल्लाहको यातनाबाट सचेत गर्दै हुनुहुन्छ ।
२४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह हामीले तपाईंलाई सत्यका साथ पठायौं । तपाईं मोमिनहरूलाई त्यस राम्रो प्रतिदानको शुभसूचना दिनुहुन्छ जसलाई अल्लाहले उनीहरूका लागि तयार पार्नुभएको छ । तपाईं काफिरहरूलाई त्यस पीडादायी यातनाबाट सावधान गर्नुहुन्छ जसलाई अल्लाहले तिनीहरूका लागि तयार पार्नुभएको छ । विगतमा जति पनि समुदायहरू बितेका छन् सबैतर्फ अल्लाहको तर्फबाट कुनै न कुनै रसूल आए र तिनीहरूलाई सावधान गराए ।
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंको समुदाय तपाईंलाई झूठो गर्दैछन् भने धैर्य गर्नुहोस् । तपाईं पहिला रसूल हुनुहुन्न जसलाई उनको समुदायले झूठा ठहर गर्यो, बरु विगतका आद, समूद र लूत (अलैहिस्सलाम) का समुदायहरू लगायत अन्य समुदायहरूले पनि आ-आफ्ना रसूलहरूलाई झूठा ठहर गरेका थिए ।         तिनीहरूसमक्ष तिनीहरूका रसूलहरू स्पष्ट प्रमाणहरू, साना किताबहरू र प्रकाशमय किताब लिएर आएका थिए । 
२६. यसका बावजुद ती समुदायहरूले अल्लाह र उहाँका रसूलहरू (अलैहिमुस्सलाम) को इन्कार गरे । उनीहरूले ल्याएको सन्देशको पुष्टि तिनीहरूले गरेनन् । अनि हामीले ती काफिरहरूको सर्वनाश गर्यौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, कस्तो भयो तिनीहरूको इन्कारको परिणाम ।
२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंले विचार गर्नुभएन, अल्लाहले आकाशबाट पानी बर्साउनुभयो र त्यस पानीलाई रुखहरूसम्म पुर्याएर त्यसबाट रातो, हरियो, पहेलो इत्यादि विभिन्न रङ्गका फलहरू सृष्टि गर्नुभयो । उहाँले पहाडहरूमा सेता, राता र काला मार्गहरू बनाउनुभयो । 
२८. अल्लाहले विभिन्न रङ्गका मानव, चौपाया, जनावर (ऊँट, गाई, भेड) बनाउनुभयो । उपर्युक्त वस्तुहरू अल्लाहको सम्मान गर्छन् र विद्वानाहरू अल्लाहसित डराउँछन् । किनभने उनीहरू अल्लाहका गुणहरू, कानुन र शक्तिका प्रमाणहरूलाई जान्दछन् । निस्सन्देह अल्लाह प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँमाथि विजय प्राप्त गर्न सक्दैन । उहाँ तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ ।
२९. निस्सन्देह जुन मानिसहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित किताबलाई पढ्छन्, त्यसमा  रहेका आदेशहरूको पालना गर्छन्, राम्ररी सलाह कायम गर्छन्, हामीले प्रदान गरेको धन-सम्पत्तिबाट खुल्लारूपमा जकात निकाल्छन् र गोप्यरूपमा दान गर्छन् र यी कर्महरूद्वारा अल्लाहसँग यस्तो ब्यापारको आशा राख्छन् जसमा घाटको आशङ्का हुँदैन,
३०. यस्ता मानिसहरूलाई अल्लाहले उनीहरूका कर्महरूको पूरा पूरा बदला दिनुहुनेछ । आफ्नो वरदानबाट थप दिनुहुनेछ । अल्लाह यसको सामर्थ्य राख्नुहुन्छ । उहाँ यस्ता गुणहरू राखेका मानिसहरूलाई माफ गर्नुहुन्छ । उनीहरूका सत्कर्महरूको कदर गर्नुहुन्छ ।
३१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले जुन किताब तपाईंतर्फ अवतरण गरेका छौं त्यो सत्य हो, त्यसमा कुनै सन्देह छैन । यो विगतका किताबहरूको पुष्टि गर्दछ । निस्सन्देह अल्लाह आफ्ना भक्तहरूसित अवगत हुनुहुन्छ र तिनीहरूलाई देखि राख्नुहुन्छ । उहाँ हरेक समुदायको रसूलतर्फ त्यस युगको आवश्यक्ता अनुसार सन्देश अवतरण गर्नुहुन्छ ।
३२. फेरि हामीले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को समुदायलाई कुरआन प्रदान गर्यौं । यस समुदायलाई अन्य समुदायहरूमध्ये चयन गर्यौं । उनीहरूमध्ये केही अत्याचारी हुन्, जसले हराम गरिएका कार्यहरू गरे र अनिवार्य गरिएका कार्यहरू गरेनन् । उनीहरूमध्ये केही मध्य मार्गी हुन्, जसले अनिवार्य गरिएका कार्यहरू गरे, हराम गरिएका कार्यहरू त्यागे, अतिरिक्त पुण्य-कर्महरू गरेनन् र मक्रूह (मन नपराइएका कार्यहरू) गरे । उहरूमध्ये केही अल्लाहको अनुमतिले भलाइको कार्यमा अग्रसरता देखाएकाहरू हुन्, जसले अनिवार्य तथा अतिरिक्त पुण्य-कर्महरू गरे र हराम तथा मक्रूह (मन नपराइएका कार्यहरू) बाट बचे । यस समुदायको चयन र कुरआन प्रदान गरिनु अल्लाहका यस्ता महान वरदान हुन् जो जस्तो कोही वरदान हुन सक्दैन । 
३३. यी चयन गरिएका मानिसहरू स्वर्गहरूमा प्रवेश गर्नेछन् । त्यहाँ मोती र सुनका कडाहरू र रेशमका लुगाहरू पहरिनेछन् ।
३४. उनीहरू स्वर्गमा प्रवेश गरेपछि भन्नेछन्− सबै प्रशंसा अल्लाहको लागि जसले नर्कमा जाने हाम्रो चिन्तालाई समाप्त पार्नुभयो । निस्सन्देह हाम्रा पालनकर्ता तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ र उनीहरूका आज्ञापालनलाई स्वीकार गर्नुहुन्छ । 
३५. अल्लाहले नै हामीहरूलाई सधैं रहने स्वर्गमा प्रवेश गराउनुभयो, उहाँको कृपाले जहाँबाट न सर्नु पर्छ, न हट्नुपर्छ, न त्यहाँ थकाइ लाग्छ र न कष्ट  नै पुग्छ । 
चयन गरिएका भक्तहरूको वर्णनपछि अपमानित काफिरहरूको वर्णन गर्दै अल्लाहले भन्नुभयोः
३६. काफिरहरूलाई नर्कको आगोमा फ्याकिनेछ, जहाँ तिनीहरूले सधैं बस्नुपर्छ । तिनीहरू त्यहाँ नमर्नेछन् न यातनाबाट मुक्ति पाउनेछन् । नर्कको यातनामा कमि पनि गरिने छैन । अल्लाहले महाप्रलयको दिन यस्तो यातना ती सबैलाई दिनुहुनेछ जसले उहाँको वरदानको लागि उहाँप्रति आभार प्रकट गरेनन् ।
३७. तिनीहरू नर्कमा ठूलो स्वरमा कराएर यो भन्दै मद्दत मागि रहेका हुनेछन्− हामीलाई नर्कबाट निकालेर संसारमा पुर्याइदिनुहोस्, अब हामीले पहिला जस्तो गर्दैनौं, अब तपाईंको खुशी प्राप्त गर्न र नर्कको यातनाबाट बच्नको लागि सत्कर्म गर्नेछौं । जवाफमा अल्लाहले भन्नुहुनेछ− के हामीले संसारमा यति लामो उमेर दिएनौं जसमा एक जना उपदेश ग्रहण गर्नेले उपदेश ग्रहण गर्न सकोस् र तौबा गरेर सत्कर्म गर्न सकोस्, जब कि तिमीहरूसमक्ष रसूल पनि आए र अल्लाहको यातनाबाट सावधान गराए ?! यसपछि अब तिमीहरूसँग न कुनै तर्क छ न कुनै बहाना । तसर्थ अल्लाहको यातनालाई भोग । कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेकाहरूका लागि न कोही सहयोगी छ जसले तिनीहरूलाई अल्लाहको यातनाबाट निकाल्न सकोस् वा यातनालाई कम गर्न सकोस् ।
३८. निस्सन्देह अल्लाह आकाशहरू र पृथ्वीका परोक्षका ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि छुटेको छैन र उहाँ भक्तहरूका मनमा लुकेका राम्रा र नराम्रा कुराहरू पनि जान्नुहुन्छ ।
३९. हे मानव ! अल्लाहले नै तिमीहरूलाई धर्तीमा एक पछि अर्का आउने प्रतिनिधी बनाउनुभयो, ताकि तिमीहरू कस्तो कर्म गर्छौ भन्ने कुराको परीक्षा लेउन् । जसले अल्लाह र रसूलहरूले ल्याएको सन्देशको इन्कार गरे त्यसको कुफ्रको पाप र परीणाम उसैतर्फ फर्कनेछ । तिनीहरूको कुफ्रले अल्लाहलाई कुनै हानि पुग्दैन । काफिरहरूको कुफ्रले तिनीहरूको शत्रुता र घाटामै बढोतरी गर्नेछ । अल्लाहले ईमान ल्याउनेहरूका लागि तयार पार्नुभएको स्वर्गबाट वञ्चित भएर तिनीहरू घाटा खानेछन् ।
४०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई सोध्नुहोस्− मलाई बताऊ तिमीहरूले पूजा गर्दै आएका मूर्तीहरूले पृथ्वीमध्ये र आकाशमध्ये के सृष्टि गरेका छन् ? के तिनीहरूले पहाड वा नदीहरू वा चौपायाहरू सृष्टि गरेका छन् ? के तिनीहरू आकाशको सृष्टिमा अल्लाहका साझेदार छन् ? के तिनीहरूलाई हामीले कुनै किताब दिएका छौं जसमा यस कुराको प्रमाण छ कि अल्लाहबाहेक अरूको भक्ति गर्नु ठीक हो ? यी मध्ये कुनै पनि कुरा ठीक छैन । बरु कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेकाहरू एक अर्कासित धोकामा आधारित वाचा गर्दैछन् ।
४१. निस्सन्देह अल्लाहले आकाशहरू र पृथ्वीलाई खस्नबाट रोक्नु भएको छ । मानौं यदि यी दुवै खस्छन् भने अल्लाहबाहेक कसैले पनि रोक्न सक्दैन । निस्सन्देह अल्लाह सहनशील हुनुहुन्छ, सजाय दिनमा हतार गर्नुहुन्न । उहाँ तौबा गर्ने भक्तहरूको पाप माफ गर्नुहुन्छ । 
४२. यी झूठा ठहर गर्ने बहुदेववादीहरूले पक्का कसम खाएका थिए− यदि अल्लाहको तर्फबाट उहाँको प्रकोपबाट सावधान गराउनको लागि कुनै रसूल आउँछन् भने हामीहरूले यहूदी, ईसाई र अन्य समुदायभन्दा बढी अडिग भएर सत्यको अनुसरण गर्नेछौं । तर जब तिनीहरूसमक्ष मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन भयो र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले अल्लाहको प्रकोपबाट डराउनुभयो तब तिनीहरू सत्यबाट अझै टाढा भए र असत्यसँग अझै निकट भए । तिनीहरूले खाएको कसम पूरा गरेनन् ।
४३. तिनीहरूले ठीक नियतले कसम खाएका थिएनन्, बरु धर्तीमा घमण्ड गर्न र मानिसहरूलाई धोका दिनको लागि खाएका थिए । चलखेल गर्नेहरूलाई तिनीहरूको चलखेलले नै आफ्नो घेरामा लिने गर्छ । के यी घमण्डी चलखेल गर्नेहरू अल्लाहको अटल कानुनको प्रतीक्षा गर्दैछन्ः सर्वनाश गरिने प्रतीक्षा, जसरी तिनीहरू जस्ता  विगतका अन्य समुदायहरू सर्वनाश गरिए ?! घमण्डीहरूको सर्वनाशबारे अल्लाहको कानुनमा तपाईंले कुनै परिवर्तन पाउनुहुन्न, यो अवश्य नै अवतरण हुनेछ । त्यसमा कुनै फेरबदल पाउनुहुन्न कि तिनीहरूमाथि अवतरण नभएर अरूमाथि अवतरण होस्, किनभने यो अल्लाहको अटल कानुन हो ।
४४. के कुरैशमध्ये झूठा ठहर गर्नेहरू धर्तीमा घुम फिर गरेनन् ताकि तिनीहरूले देखुन् कस्तो भयो विगतका झूठा ठहर गर्नेहरूको परिणाम ? के तिनीहरूको परिणाम नराम्रो भएन, तिनीहरू कुरैशभन्दा शक्तिशाली थिए तर अल्लाहले तिनीहरूलाई सर्वनाश गर्नुभयो ?! आकाशहरू र पृथ्वीको कुनै पनि वस्तु अल्लाहबाट लुकेको छैन, उहाँ यिनीहरूका कार्यहरूलाई हेर्नुहुन्छ । उहाँ जहिले पनि चाहनुभएमा यिनीहरूलाई सर्वनाश गर्नुहुन्छ ।   
४५. मानिसहरूले गरेको अवज्ञा र पापको लागि यदि अल्लाहले तत्कालै पकड गरेर सजाय दिनुहुन्थ्यो भने सबै धर्ती बासी, तिनीहरूका चौपाया र धन-सम्पत्तिलाई सर्वनाश पार्नुहुन्थ्यो । तर अल्लाह एउटा निश्चित अवधी महाप्रलयसम्म अवसर दिनुहुन्छ जसको ज्ञान मात्र उहाँलाई छ । अनि जब महाप्रलय आउनेछ तब अल्लाहले सबै भक्तहरूलाई देख्नुहुनेछ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले तिनीहरूका कर्महरूको बदला दिनुहुनेछ, राम्रो कर्मको राम्रो बदला र नराम्रो कर्मको नराम्रो बदला ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...