सीधे मुख्य सामग्री पर जाएं

९. सूरह अत्–तौबा (मदनी)

   शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. हे मुस्लिमहरू हो ! यो अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को तर्फबाट ती बहुदेववादीहरूसँग सम्बन्ध विच्छेद तथा सन्धि भङ्ग गरिएको घोषणा हो जोसँग तिमीहरूले अरब टापूमा सन्धि गरेका थियौ ।
२. हे बहुदेववादीहरू हो ! तिमीहरू अझ चार महिनासम्म धर्तीमा शान्तिपूर्वक घुमफिर गर, यस अवधिपछि तिमीहरूसँगको सन्धि समाप्त हुन्छ र तिमीहरू निश्चिन्त रहन सक्दैनौ । विश्वास गर यदि तिमीहरूले कुफ्रमा जिद्दी गर्छौ भने अल्लाहको यातना तथा सजायबाट बच्न सक्दैनौ । अल्लाहले काफिरहरूलाई संसारमा हताहत पारेर तथा कैदी बनाएर अपमानित गर्नुहुनेछ भने महाप्रलयको दिन नर्कमा होमेर अपमानित गर्नुहुनेछ । यो सजाय ती मानिसहरूलाई पनि दिइनेछ जसले सन्धिलाई भङ्ग गरे र ती मानिसहरूलाई पनि जसको सन्धिको समय तोकिएको छैन । जुन मानिसहरसँग समय तोकिएर सन्धि गरिएको छ तिनीहरूसँग त्यस निर्धारित समयसम्म सन्धिको पालना गरिनेछ यद्यपि त्यो चार महिनाभन्दा बढीको होस् । 
३. हजका दिनहरू अन्तर्गत पर्ने बलिदानको दिन अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को तर्फबाट के सार्वजनिक घोषणा छ भने अबदेखि बहुदेववादीहरूसित कुनै वास्ता रहने छैन । हे बहुदेववादीहरू हो ! यदि तिमीहरू शिर्कबाट तौबा गर्छौ भने यो तिमीहरूकै लागि राम्रो हुनेछ र यदि तिमीहरू तौबा गर्नबाट विमुख हुन्छौ भने विश्वास गर तिमीहरू अल्लाह तथा उहाँको सजायबाट बच्न सक्दैनौ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! काफिरहरूलाई तिनीहरूको प्रतीक्षामा रहेको कठोर यातनाको शुभ सूचना दिनुहोस् ।
४. जुन बहुदेववादीहरूसँग तिमीहरूको सन्धि कायम छ र जसको पालना तिनीहरू गर्दै आएका छन् त्यसको म्याद पूरा गर । अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँको भय गर, यस अन्तर्गत सन्धिको पालना पनि आउँछ । निस्सन्देह अल्लाह भय राख्नेहरूलाई मन पराउनुहुन्छ ।
५. प्रतिष्ठित महिनाहरू समाप्त भएपछि बहुदेववादीहरूलाई जहाँकहीँ पाउँछौ हत्या गर, बन्दी बनाऊ, घेराउ गर र बाटोमा तिनीहरूको धरापमा बस । तर यदि तिनीहरूले शिर्कबाट तौबा गर्छन्, सलाह कायम गर्छन्, जकात चुक्ता गर्छन् भने तिनीहरू तिमीहरूका दाजु भाइ भए, तिनीहरूविरुद्ध युद्ध गर्न छोडिदेऊ । निश्चय नै अल्लाह आफ्ना तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ र दया गर्नुहुन्छ ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंकहाँ कुनै निर्दोष बहुदेववादी आएर शरण माग्छ भने त्यसलाई शरण दिनुहोस्,  यहाँसम्म कि ऊ कुर्आन सुनोस् । फेरि उसलाई उसको सुरक्षित गन्तब्यमा पुर्याइदिनुहोस् किनभने काफिरहरू यस धर्मको वास्तविक्तालाई जान्दैनन्, सम्भवतः कुर्आनको पाठ सुनेपछि सीधा मार्गमा आउन सक्छन् ।
७. हे मुस्लिमहरू हो ! अल्लाह, उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र बहुदेववादीहरूबीच अब कुनै सन्धि हुन सक्दैन, सिवाय ती बहुदेववादीहरू जोसँग तिमीहरूले मस्जिदे हरामनजिक हुदैबियामा सन्धि गर्यौ । यदि तिनीहरू आफ्नो सन्धिमा कायम रहन्छन् भने तिमीहरू पनि आफ्नो सन्धिमा कायम रह र त्यसलाई भङ्ग न गर । निस्सन्देह अल्लाह आफ्ना आदेशहरूको पालना गरेर तथा मनाहि गरिएका कार्यहरूलाई त्यागेर ईशभय राख्ने भक्तरूलाई मन पराउनुहुन्छ ।
८. तर अरू बहुदेववादीहरूसँग सन्धि तथा शान्ति कसरी बाँकी रहन सक्छ जब कि तिनीहरू तिमीहरूका शत्रु हुन् । तिनीहरूले तिमीहरूमाथि विजय पाएमा तिमीहरूबारे न त अल्लाह न नातागोता र न सन्धिको मान मर्यादा राख्नेछन्, बरु तिमीहरूलाई पीडादायी यातना दिनेछन् ?! तिनीहरूले आफ्ना रम्रो कुराले त तिमीहरूलाई राजी गर्ने प्रयास गर्छन् तर तिनीहरूका हृदय त्यसको साथ दिँदैनन् । सन्धि भङ्ग गरेकोले तिनीहरूमध्ये अधिकांश अल्लाहको आज्ञाबाट बाहिर निस्केकाछन् ।
९. तिनीहरूले अल्लाहका आयतहरू जसमध्ये सन्धिको पालना पनि हो, संसारको तुच्छ मूल्यमा बेचेका छन्, जसबाट तिनीहरू आफ्नो कुइच्छाहरू पूरा गर्छन् । आफूलाई पनि र अन्य मानिसहरूलाई पनि अल्लाहको मार्गबाट रोक्छन् । तिनीहरूले गर्ने गरेका कार्य अवश्य नै निकृष्ट हुन् ।
१०. मोमिनहरूसित शत्रुताले गर्दा उनीहरूको मामिलामा अल्लाह, नातेदारी तथा सम्झौताको मान मर्यादा राख्दैनन् । अत्याचार गरेको कारणले तिनीहरू सीमा उल्लङ्घनकारीहरू हुन् ।
११. यदि तिनीहरू तौबा गर्छन्, ईमान ल्याउँछ्न्, सलाह कायम गर्छन् र जकात चुक्ता गर्छन् भने तिनीहरू मुस्लिम बने, अब तिमीहरूका धार्मिक भाइ-बन्धु हुन् । तिमीहरू तथा उनीहरूको हक हीत एवं जिम्मेबारी एकसमान छन् र तिनीहरूविरुद्ध युद्ध जायज छैन । तिनीहरूको इस्लाम ग्रहणले तिनीहरूका रगत, धन-सम्पत्ति तथा सम्मानलाई सुरक्षित पारेको छ । हामी ज्ञानीहरूका लागि निशानीहरू स्पष्ट पारेका छौं, उनीहरू नै यसबाट फाइदा उठाउनेछन् र उनीहरूबाट अन्य मानिसहरूले फाइदा उठाउनेछन् ।
१२. यदि यी बहुदेववादीहरूले निश्चित अवधिको लागि युद्ध विरामको सन्धि गरेपछि त्यसको उल्लंघन् गर्छन्, त्यसपछि तिमीहरूको धर्ममा दोष लगाउँछन्, सन्धिलाई भङ्ग गर्छन् भने तिनीहरूविरुद्ध युद्ध गर । किनभने तिनीहरू कुफ्रका अगुवाहरू हुन्, तिनीहरूसँग अब कुनै सन्धि बाँकि रहेन । तिनीहरू विरुद्ध युद्ध गर, यस आशाका साथ कि तिनीहरूले कुफ्र, सन्धिको उल्लङ्घन तथा इस्लाम धर्मको निन्दा गर्न छोड्छन् । 
१३. हे मोमिनहरू हो ! तिमीहरू त्यस्ता मानिसहरूसँग किन युद्ध गर्दैनौ जसले आफ्ना सन्धिलाई भङ्ग गरे; दारुन्नदवहको आफ्नो सभामा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई मक्काबाट निकाल्ने निर्णय गरे । यिनीहरूले नै  युद्धको लागि पहल गरे जब यिनीहरूले बनू खुजाआको मुकाबिलामा बनू बक्रको मद्दत गरे । बनू बक्र कुरैशको सहयोगी थियो र बनू खुजाआ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सहयोगी थियो । के तिमीहरू यस्ता मानिसहरूविरुद्ध युद्ध गर्न डराउँछौ ?! यदि तिमीहरू पक्का मोमिन हौ भने अल्लाह यसका अधिक हकदार हुनुहुन्छ कि तिमीहरू उहाँसित डराऊ ।
१४. हे मोमिनहरू हो ! यी बहुदेववादीहरूविरुद्ध युद्ध गर । तिमीहरूले युद्ध गरेमा अल्लाहले तिमीहरूका हातबाट तिनीहरूलाई यातना दिनुहुनेछ, तिनीहरूलाई पराजित पारेर तथा बन्दी बनाएर अपमानित गर्नुहुनेछ र तिमीहरूलाई विजय प्रदान गरेर तिनीहरूविरुद्ध सहयोग पुर्याउनुहुनेछ अनि शत्रुहरूको हताहत, बन्दी बनाइने, पराजय तथा मोमिनहरूको विजयबाट ती मोमिनहरूका हृदयलाई शीतलता मिल्नेछ जो युद्धमा सहभागी हुन सकेनन् । 
१५. अल्लाहले मोमिनहरूको मद्दत गरेर तथा उनीहरूलाई विजय प्रदान गरेर उनीहरूका हृदयमा रहेको क्रोधलाई समाप्त पार्नुहुनेछ । यी विरोधीहरूमध्ये जसले तौबा गर्नेछन् उनीहरूका तौबालाई अल्लाहले स्वीकार गर्नुहुनेछ जसरी उहाँले मक्काको विजयको दिन केही मक्काबासीहरूलाई माफ गर्नुभयो । साँच्चिकै तौबा गर्नेहरूलाई अल्लाह जान्नुहुन्छ र उहाँ भाग्य निर्धारण, कार्य सञ्चालन तथा कानुन बनाउनमा विवेकशील हुनुनहुन्छ ।
१६. हे मोमिनहरू हो ! के तिमीहरूलाई अल्लाहले परीक्षाबिना नै छोडिदिनुहुनेछ भन्ने ठानेका छौ ?! जबकि परीक्षा अल्लाहको कानुन हो । तिमीहरूको परीक्षा चाँडै नै हुनेछ ताकि अल्लाहलाई जिहाद गर्ने भक्तहरूको बारेमा वाह्य जानकारी होस् , जसले अल्लाह, उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तथा मोमिनहरूलाई छोडेर काफिरहरूलाई भेदी बनाएनन् ? अल्लाह तिमीहरूले गरिरहेका सबै कार्यहरूसित अवगत हुनुहुन्छ । उहाँबाट केही पनि गोप्य छैन, उहाँले तिमीहरूका कार्यहरूको बदला दिनुहुनेछ । 
१७. बहुदेववादीहरूको लागि अल्लाहको मस्जिदमा उम्रा तथा अन्य भक्तिका कार्य गर्न उचित छैन किनभने तिनीहरू कुफ्र गर्छन् भन्ने कुरालाई स्वीकार गर्छन्, सत्कर्म स्वीकार्य हुने शर्त ईमान न ल्याएकोले तिनीहरूले गरेका सत्कर्महरू अकार्थ भए । महाप्रलयको दिन तिनीहरू नर्कमा जानेछन् जहाँ सदा-सर्वदा रहनेछन् । मृत्युअघि शिर्कबाट तौबा गर्छन् भने यो बेग्लै कुरा हो । 
१८. अल्लाहका घरलाई आवाद गर्ने हकदार ती व्यक्तिहरू हुन् जो अल्लाहमाथि ईमान राख्छन्, उहाँसँग कसैलाई साझेदार ठहर गर्दैनन्, महाप्रलयको दिनमाथि ईमान राख्दछन्, सलाह कायम गर्छन् तथा जकात चुक्ता गर्छन् र अल्लाहबाहेक अन्य कसैसित डराउँदैनन् । आशा छ, यिनीहरूले सत्मार्ग पाउनेछन् । बहुदेववादीहरू यसबाट टाढा रहनेछन् ।
१९. हे बहुदेववादीहरू हो ! के तिमीहरूले हाजीहरूलाई पानी खुवाउने र मस्जिदे हरामलाई आबाद गर्ने व्यक्तिहरूलाई ती व्यक्तिहरू जस्तो ठान्छौ जो अल्लाहमाथि ईमान राख्छन्, उहाँसँग शिर्क गर्दैनन् र महाप्रलयको दिनमाथि ईमान राख्दछन् र अल्लाहको वाणीलाई उच्च पार्नको लागि जन धनका साथ युद्ध गर्छन्, के यी दुवै किसिमका मानिसहरू अल्लाहकहाँ एकसमान हुन सक्छन् ?! अल्लाहको दृष्टिमा बराबर हुनै सक्दैनन् । अल्लाहले शिर्क गरेर अत्याचार गर्नेहरूलाई मार्ग देखाउनुहुन्न, यद्यपि तिनीहरूले हज यात्रुहरूलाई पानी खुवाउने जस्ता भलाइका काम गरुन् ।
२०. जुन मानिसहरूले ईमान ल्याए, काफिर राष्ट्रबाट इस्लामी राष्ट्रतर्फ हिज्रत गरे, जन धनबाट जिहाद गरे ।  अल्लाहको मार्गमा घर त्यागे र जन धनले युद्ध गरे अल्लाहकहाँ उनीहरूका लागि उच्चतम दर्जा रहेको छ । यस्ता मानिसहरू नै स्वर्ग पाएर विजयी हुनेछन् ।
२१. उनीहरूका पालनकर्ता अल्लाह आफ्नो तर्फबाट यस्तो कुराको सूचना दिनुहुन्छ जसमा उनीहरूको लागि दया, शुभसूचना तथा प्रसन्नता छ । अल्लाह उनीहरूसित कहिले रोष प्रकट गर्नुहुने छैन, उनीहरूलाई यस्ता बगैँचाको शुभसन्देश दिनुहुनेछ जहाँ कहिल्यै समाप्त न हुने वरदानहरू हुनेछन् ।
२२. उनीहरू ती स्वर्गहरूमा सदासर्वदा रहनेछन्, किनभने उनीहरूले संसारमा सत्कर्महरू गरेका थिए । जुन मानिसहरू निष्कपट भएर अल्लाहका आदेशहरूको पालना गर्छन् तथा उहाँले मनाहि गर्नु भएका कार्यहरूबाट बच्छन्, उनीहरूका लागि अल्लाहकहाँ महान पुण्य छ । 
२३. हे मोमिनहरू हो ! यदि तिमीहरूका पिता, दाजुभाइ तथा अन्य निकटतम नातेदारहरू एक अल्लाहमाथि ईमान न ल्याएर कुफ्रलाई मन पराउँछन् भने तिनीहरूलाई घनिष्ट-मित्र बनाएर मोमिनहरूको भेद न बताऊ, जसले तिनीहरूलाई घनिष्ट-मित्र बनाउँछन् ऊ अल्लाहको अवज्ञा गर्छ र आफूलाई बरबादीमा पारेर आँफैमाथि अत्याचार गर्छ ।
२४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्–  हे मोमिनहरू हो ! यदि तिमीहरूका पिता, सन्तान, दाजुभाइ, दम्पत्ती, नातेदार, तिमीहरूले आर्जन गरेका सम्पत्ति, त्यो व्यापार जसमा मन्दी हुनबाट डराउँछौ अनि तिमीहरूले मन पराएका घरहरू यी सबै अल्लाह, उहाँका रसूल र उहाँको मार्गमा युद्ध गर्नु भन्दा बढी मन पर्छ भने अल्लाहले आफ्नो आपदा पठाउञ्जेल पर्ख । अल्लाहले अवज्ञाकारी मानिसहरूलाई आफू खुशी हुने कार्य गर्ने अवसर दिनुहुन्न ।
२५. हे मोमिनहरू हो ! जब तिमीहरूले अल्लाहमाथि भरोसा गर्यौ, जुक्ति गर्यौ तथा तिमीहरूलाई तिमीहरूको ठूलो संख्याँले अहङ्कारी बनाएन तब तिमीहरूको कम संख्याँ तथा कम हात हतियारका बावजुद अल्लाहले धेरै युद्धहरूमा सहयोग गर्नुभयो । तिमीहरूको ठूलो संख्याँ तिमीहरूको विजयको कारण थिएन । हुनैनको युद्धमा पनि तिमीहरूको विजयको कारण तिमीहरूको ठूलो संख्याँ थिएन । तर जब तिमीहरूको ठूलो संख्याँले तिमीहरूलाई अहङ्कारी बनायो र तिमीहरूले भन्यौ- आज हामीहरू ठूलो संख्याँमा भएकोले विजयी हुनेछौं तब तिमीहरूको शत्रु तिमीहरूमाथि हावी भयो, पृथ्वी विस्तृत हुँदाहुँदै पनि तिमीहरूका निम्ति साँघुरो भयो अनि तिमीहरू पिठ्यूँ फर्काएर भाग्यौ ।
२६. तर, शत्रुहरूबाट भागेपछि फेरि अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तथा मोमिनहरूका लागि निश्चिन्तता अवतरित गर्नुभयो, अनि उनीहरूले डटेर युद्ध  गरे । अल्लाहले यस्ता फरिश्ताहरू पठाउनुभयो जसलाई उनीहरूले देख्न सकेनन् । अनि उहाँले काफिरहरूलाई हत्या, कैद, धन-सम्पत्ति लिएर तथा सन्तानहरूलाई बन्दी बनाएर यातना दिनुभयो । यो थियो काफिरहरूको सजाय किनभने तिनीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूटो ठहर गरे तथा उहाँको सन्देशबाट विमुख भए ।
२७. फेरि यस यातनापछि जसले कुफ्र तथा पथभ्रष्टताबाट तौबा गर्छ भने अल्लाहले उसको तौबा स्वीकार गर्नुहनेछ । अल्लाह आफ्ना तौबा गर्ने भक्तहरूप्रति क्षमाशील तथा दयावान हुनुहुन्छ, किनभने उहाँले कुफ्र तथा अवज्ञाका बावजुद भक्तको तौबा स्वीकार गर्नुहुन्छ ।
२८. हे मोमिनहरू हो ! बहुदेववादीहरूभित्र कुफ्रको फोहर भएकोले अपवित्र हुन्, तसर्थ तिनीहरू यस वर्ष ९ हिज्रीपछि मक्काको हरम --जस अन्तर्गत मस्जिदे हराम पनि पर्छ- निकट जान पाउँदैनन्, यद्यपि तिनीहरू हज वा उम्रा कै नियतले आउन् चाहे पनि । हे मोमिनहरू हो ! तिनीहरूमाथि प्रतिबन्धले गर्दा सेवा शुल्क न प्राप्त न हुनाले र ब्योपार बन्द हुनाले गरीबीको भय छ भने अल्लाहले चाहनुभएमा आफ्नो वरदानले तिमीहरूलाई सम्पन्न तुल्याउनुहुनेछ । निस्सन्देह अल्लाह तिमीहरूको अवस्थाबाट अवगत हुनुहुन्छ र तिमीहरूको लागि जुन कार्य गरिराख्नु भएको छ त्यसमा विवेकशील हुनुहुन्छ ।
२९. हे मोमिनहरू हो ! यहूदी तथा ईसाईहरूमध्ये ती मानिसहरूसँग युद्ध गर जो अल्लाह एवं महाप्रलयको दिनमाथि ईमान ल्याउँदैनन्; अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले हराम गर्नुभएका मृत जनावर, सुङ्गुर, रक्सी, तथा ब्याजलाई हराम ठान्दैनन् र सत्य धर्म इस्लामलाई आफ्ना धर्म बनाउँदैनन्, यहाँसम्म कि तिनीहरूले अपमानित भएर आफ्ना हातले जिज्या (रक्षा कर) तिरून् ।
३०. यहुदी तथा ईसाई दुवै बहुदेववादी हुन् र यहूदीहरूले उजैर (अलैहिस्सलाम) लाई र ईसाईहरूले ईसा मसीह (अलैहिस्सलाम) लाई अल्लाहका पुत्र बनाएर शिर्क गरेका छन् । यो कुरा तिनीहरूले बिना प्रमाण आफ्ना मुखबाट भनेका छन् । तिनीहरूले आफूभन्दा पहिलेका बहुदेववादीहरू झैँ यो कुरा भनेका छन् जो भन्ने गर्थे फरिश्ताहरू अल्लाहकी छोरी हुन् । यस्ता कुराबाट अल्लाह अति उच्च हुनुहुन्छ । अल्लाहले तिनीहरूलाई बर्बाद पारुन्, तिनीहरू कसरी स्पष्ट सत्यबाट असत्यतर्फ जाँदैछन् ?!
३१. यहूदी तथा ईसाईहरूले आफ्ना धर्मज्ञाताहरू र सन्यासीहरूलाई अल्लाहबाहेकका ‘रब’ (पूज्य) बनाएका छन्, जो तिनीहरूका लागि अल्लाहले हराम गर्नुभएका वस्तुहरूलाई हलाल बनाउँछन् र उहाँले हलाल गर्नुभएका वस्तुहरूलाई हराम बनाउँछन् । ईसाईहरूले मर्यम पुत्र ईसा (अलैहस्सलाम) लाई अल्लाहसँग पूज्य बनाए जबकि यहूदी, ईसाई, उजैर (अलैहिस्सलाम) तथा ईसा (अलैहिस्सलाम) सबैलाई केवल एक ईश्वरको भक्तिको आदेश दिइएको थियो र उहाँसँग कसैलाई साझेदार बनाउन मनाहि गर्नुभएको थियो । उहाँबाहेक कोही उपास्य छैन । उहाँ तिनीहरूले तुल्याइरहेका शिर्कबाट पवित्र हुनुहुन्छ । एक अल्लाह मात्र पूज्य हुनुहुन्छ, उहाँसँग कोही साझेदार छैन र बहुदेववादीहरूले ठहर गरिरहेका शिर्कबाट उहाँ पवित्र हुनुहुन्छ ।
३२. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको इस्लाम धर्म तथा एक अल्लाहको भक्तिको अहवान लाई काफिर समूहका मानिसहरू समाप्त पार्न चाहन्छन् र त्यसका प्रमाणहरूलाई असत्य ठहर गर्न चाहन्छन् जब कि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको धर्म सत्य हो, जसलाई अल्लाहले पूर्ण तथा विजयी गरेरै छोड्नुहुनेछ यद्यपि काफिरहरूले कत्ति पनि मन न पराउन् । जब अल्लाह कुनै कार्य गर्ने चाहना गर्नुहुन्छ तब सबै चाहनाहरू समाप्त हुन पुग्छन् ।
३३. अल्लाहले नै आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई कुर्आन दिएर पठाउनुभयो, जो सम्पूर्ण मानव जातिको लागि मार्गदर्शन हो । उहाँले सत्य-धर्म इस्लाम दिएर पठाउनु भयो ताकि त्यसका सबै प्रमाणहरूद्वारा यसलाई अन्य सबै धर्महरूमाथि विजयी बनाउन् चाहे बहुदेववादीहरूलाई अप्रिय किन न होस् ।
३४. हे मोमिनहरू हो ! वास्तवमा धेरैजसो यहूदी धर्मगुरु तथा ईसाई सन्यासीहरू मानिसहरूका धन-सम्पत्ति अनुचित तरीकाले खान्छन् र तिनीहरूबाट घूस इत्यादि लिन्छन् । अल्लाहको धर्म इस्लाममा प्रवेश गर्नबाट मानिसहरूलाई रोक्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जुन मानिसहरू सुन तथा चाँदी थुपारेर राख्छन्, र त्यसको जकात तिर्दैनन् तिनीहरूलाई महाप्रलयको दिनको दुःखदायी यातनाबारे सूचित गरिदिनुहोस् ।
३५. महाप्रलयको दिन तिनीहरूले थुपारेर राखेका र जकात न तिरेका सुन-चाँदीलाई नर्कको अग्निमा तताइनेछ अनि त्यसबाट तिनीहरूका निधार, काखी एवं पिठ्यूँहरूलाई डामिनेछ र निन्दा गरिँदै भनिनेछ यी हुन् तिमीहरूले थुपारेर राखेका अनि जकात चुक्ता न गरेका धन-सम्पत्ति, लौ अब भोग त्यसको सजाय !
३६. महिनाहरूको गणना अल्लाहको कानुन तथा भाग्यमा बाह्र रहेको छ,  यो कानुन उहाँको सुरक्षित पाटिकामा त्यसै दिनदेखि लेखिएको छ जुन दिन उहाँले आकाशहरू तथा पृथ्वीको सृष्टि गर्नुभयो । यी बाह्र महिनाहरूमध्ये चार महिनाहरू आदरका छन्, जसमा युद्ध हराम गरिएको छ । तीन महिना लगातार, जी कादा, जिल्हिज्जा तथा मुहर्रम र एक महिना छुट्टै रजब । यही सिधा धर्म हो, अनि यी आदरका महिनाहरूमा युद्ध गरेर स्वयंमाथि अत्याचार न गर । तिमीहरू सबै मिलेर बहुदेववादीहरूविरुद्ध युद्ध गर जसरी तिनीहरू सबै मिलेर तिमीहरूविरुद्ध युद्ध गर्छन् । जानिराख अल्लाहको मद्दत ती मानिसहरूसँग छ जो उहाँका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसँग डराउँछन् । जोसँग अल्लाह हुनुहुन्छ उसमाथि कोही पनि विजयी हुनसक्दैन ।
३७. निस्सन्देह इस्लाम पूर्वका मानिसहरूले प्रतिष्ठत महिनालाई सारेर अप्रतिष्ठत महिनाको स्थानमा राख्ने कार्य कुफ्रमा बृद्धी गर्नु हो । एउटा कुफ्र भयो प्रतिष्ठत महिनाको बारेमा अल्लाहको आदेशको इन्कार, दोस्रो कुफ्र भयो शैतानको बहकावामा आएर नराम्रो तरिका शुरु गर्नु । एक वर्ष त तिनीहरू प्रतिष्ठत महिनालाई हलाल गर्थे र अर्को वर्ष त्यसैलाई हराम गर्थे ताकि तिनीहरूले अल्लाहले हराम गर्नुभएका महिनाहरूको संख्यासँग एकरूपता देखाउन् । तिनीहरूले हलाल गरेको महिनाको स्थानमा अर्को हराम महिनालाई हलाल गर्थे र अल्लाहको आदेशको उल्लङ्घन गर्थे । शैतानले तिनीहरूका कुकर्महरूलाई तिनीहरूका दृष्टिमा सुन्दर बनाएर देखायो अनि तिनीहरूले त्यस्तै महिनालाई अघि पछि सार्ने काम गर्नथाले । अल्लाहले काफिरहरूलाई सत्मार्ग देखाउनुहुन्न ।
३८. हे मोमिनहरू हो ! यो तिमीहरूको के चाला छ, जब तिमीहरूलाई अल्लाहको मार्गमा शत्रुहरूविरुद्ध युद्धको लागि निस्क भनी बोलाइन्छ तब तिमीहरू ढीला सुस्ती गर्छौ र घरमा बसिराख्छौ ?! के तिमीहरू आखिरतको सदा सर्वदा रहने वरदानहरूलाई छोडेर क्षणिक सांसारिक जीवनमा नै प्रसन्न भएका छौ ?! अल्लाहले आखिरतका वरदानहरू मुजाहिदहरूको लागि तैयार पार्नुभएको छ । सांसारिक जीवनको मोज मज्जा त आखिरतको तुलनामा धेरै तुच्छ छ । अनि कसरी एक जना बुद्धिमान सधैँ बाकी रहने महान आखिरतलाई छोडेर क्षणिक तथा तुच्छ संसारलाई रोज्न सक्छ ?!
३९. हे मोमिनहरू हो ! यदि तिमीहरू शत्रुहरूविरुद्ध अल्लाहको मार्गमा जिहादको लागि निस्कने छैनौ भने अल्लाहले तिमीहरूलाई दुःखदायी तथा अपमानजनक सजाय दिनुहुनेछ र तिमीहरूको स्थानमा यस्ता आज्ञाकारी मानिसहरूलाई ल्याउनुहुनेछ जो जिहादको लागि निस्कनेछन् । तिमीहरूले अल्लाहको आदेशको उल्लङ्घन गरेर उहाँलाई कुनै क्षति पुर्याउन सक्ने छैनौ । अल्लाह सुसम्पन्न हुनुहुन्छ र र तिमीहरू गरीब छौ । उहाँ हरेक कार्यको र आफ्नो धर्म तथा नबी (सल्लल्लाहु अलैहि व सल्लम) को मद्दत गर्ने सामर्थ्य राख्नुहुन्छ ।
४०. हे मोमिनहरू हो ! यदि तिमीहरू अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सहयोग गर्दैनौ र अल्लाहको मार्गमा जिहाद गर्ने उहाँको अहवानको जवाफ दिँदैनौ भने अल्लाहले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को सहयोग तिमीहरूबिना नै त्यतिखेर गर्नुभयो जब उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) तथा अबू बक्र (रजि.) लाई बहुदेववादीहरूले निष्कासित गरेका थिए, अनि तेस्रो व्यक्तिबिना दुवै जना सौर नामी गुफामा काफिरहरूबाट लुकेका थिए । जब तिनीहरू दुवै जनालाई काफिरहरू खोज्दै थिए तब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो साथी अबू बक्र (रजि.) लाई भन्नुभएको थियो– चिन्ता न लिनुस्, अल्लाहको मद्दत हामीहरूका साथ छ । अनि अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई निश्चिन्तता प्रदान गर्नुभयो र यस्ता फरिश्ताहरूद्वारा सहयोग गर्नुभयो जसलाई तिमीहरूले देख्दैनथ्यौ । फरिश्ताहरूले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई सशक्त पारे । अल्लाहले काफिरहरूको वाणीलाई तल पार्नुभयो र अल्लाहको वाणीलाई उच्च पार्नुभयो । अल्लाह आफ्नो अस्तित्व तथा शासन-सत्तामा प्रभुत्वशाली हुनुहुन्छ र आफ्नो कार्य सञ्चालन, भाग्य तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
४१. हे मोमिनहरू हो ! तिमीहरू गरीबीको अवस्थामा छौ वा सम्पन्नताको अवस्थामा, युवा-वस्थामा छौ वा बुढेसकालमा, अल्लाहको मार्गमा आफ्नो जन-धनले जिहादको लागि निस्क । जन-धनले जिहाद गर्नु लोक तथा परलोक दुवैमा घरमा बसिरहनुभन्दा फाइदाजनक छ । यदि तिमीहरूलाई यस कुराको ज्ञान छ भने यो काम गर ।
४२. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि चाँडै तथा सहजपूर्वक प्राप्त हुने धन र छोटो यात्रा भएको भए यी मुनाफिकहरू अवश्य नै तपाईंसँग जान तयार हुने थिए तर कठिन तथा लामो यात्राले गर्दा तिनीहरू यस जिहादमा भाग न लिन तपाईंसँग अनुमति माग्दैछन् । जब तपाईं जिहादबाट फर्केर आउनुहुन्छ तब यी अनुमति माग्नेहरू यो भन्दै अल्लाहको कसम खाएर भन्नेछन्– यदि हामीहरूमा शक्ति भएको भए तपाईसँग अवश्य निस्कने थियौं । यस्तो बहाना गरेर तथा कसम खाएर पछाडि रहनको कारणले तिनीहरू आफैँलाई बरबादीमा पार्दैछन् र अल्लाहको आपदाको हकदार बनाउँदैछन् । निश्चय नै तिनीहरू आफ्नो दावी तथा कसममा झूटा हुन् भन्ने कुरा अल्लाहलाई थाहा छ ।
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले आफ्नो सोचाइ अनुसार तिनीहरूलाई पछाडि रहने जुन अनुमति दिनुभयो त्यस कार्यलाई अल्लाहले माफ गर्नुभयो । तपाईंले तिनीहरूलाई किन यसको अनुमति दिनुभयो ?  साँचो बोल्ने वा झूटो ठहर गर्नेलाई राम्ररी नठम्याईकन तपाईंले तिनीहरूलाई किन अनुमति दिनुभयो ? तपाईंले तिनीहरूमध्ये मात्र यस्ता मानिसहरूलाई अनुमति दिनुपर्ने थियो जोसँग वास्तवमा मजबूरी थियो, झूटा बहाना बनाएर अनुमति माग्नेहरूलाई अनुमति दिनुपर्दैन थियो । 
४४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाह एवं महाप्रलयको दिनमाथि साँच्चिकै विश्वास राख्ने मोमिनहरूको लागि अल्लाहको मार्गमा जिहादबाट पछाडि रहनको लागि तपाईंसँग अनुमति माग्नु उचित छैन । उनीहरूको लागि के उचित छ भने तपाईंले जहिले पनि युद्धको लागि पठाउँदा खुरुक्क जाउन् र अल्लाहको मार्गमा जन-धनले जिहाद गरुन् । अल्लाह ईशभय राख्ने भक्तहरूलाई जान्नुहुन्छ जो वास्तविक मजबूरीमा मात्र जिहादमा भाग न लिन अनुमति माग्छन् ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जिहादमा भाग न लिन तपाईंसँग अनुमति माग्ने व्यक्तिहरू मुनाफिक हुन् जो अल्लाह एवं महाप्रलयको दिनमाथि ईमान राख्दैनन् । इस्लाम धर्मको बारेमा तिनीहरूको मनमा शङ्का छ । तिनीहरू आफ्नो सन्देहमै हैरान भएर द्विविधामा छन् र सत्मार्ग भेटाइरहेका छैनन् ।
४६. यदि तिनीहरू तपाईंसँग जिहादको लागि साँच्चिकै निस्कन चाहन्थे भन्ने दावीमा सच्चा भएका भए तिनीहरूले हात हतिर तैयार गर्ने थिए । तर तिनीहरू तपाईंसँग निस्कुन् भन्ने कुरालाई अल्लाहले मन पराउनु भएन अनि तिनीहरूका लागि निस्कने कार्यलाई भारी बनाउनुभयो यहाँसम्म कि तिनीहरूले घर मै बस्ने कार्यलाई प्राथमिक्ता दिए ।
युद्धबाट पछाडि रहने यिनीहरूको कार्यले मोमिनहरूलाई चिन्तित पार्छ कि भनेर अल्लाहले उनीहरूलाई यो भन्दै निश्चिन्त पार्नुभयो- तिनीहरूले जिहादमा भाग लिएका भए झन हानिकारक हुन्थ्यो, अनि भन्नुभयोः    
४७. यी मुनाफिकहरू तिमीहरूसँग जिहादको लागि न निस्कनुमा नै भलाइ थियो । यदि तिनीहरू तिमीहरूसँग निस्केका भए तिनीहरूले तिमीहरूबीच शंका उत्पन्न गरेर उपद्रव मच्चाउने थिए र चुक्ली चाक्ली गरेर तिमीहरूबीच फूट पैदा गर्ने थिए । हे मोमिनहरू हो ! तिमीहरूबीच यस्ता मानिसहरू छन् जो झूट फैलाएर विभेद उत्पन्न गर्दैछन् । अल्लाह यस्ता अत्याचारी मुनाफिकहरूलाई राम्ररी जान्नुहुन्छ जो मोमिनहरूबीच शंका उपशंका उत्पन्न गर्दैन् ।
४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तबूक युद्धअघि यी मुनाफिकहरूले मोमिनहरूबीच विभेद पैदा गरेर तथा उनीहरूका एकतालाई भङ्ग गरेर उपद्रव मच्चाउने प्रयास गरे र तपाईंका जिहाद गर्ने अठोटलाई खल्बल्याउने प्रयास गरे । यहाँसम्म कि तपाईंका लागि अल्लाहको मद्दत आयो । अल्लाहले आफ्नो धर्मलाई बलियो पार्नुभयो र शत्रुहरूलाई परास्त पार्नुभयो यद्यपि तिनीहरूलाई यो अप्रीय थियो । किनभने तिनीहरू सत्यमाथि असत्यको जीत चाहन्थे । 
४९. मुनाफिकहरूमध्ये यस्ता व्यक्तिहरू छन् जो विभिन्न मजबूरी व्यक्त गरेर तपाईंसित बहाना गरे र भने– हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मलाई जिहादमा भाग न लिने अनुमति दिनुहोस् र आफूसँग निस्कन मजबूर न गर्नुहोस्, ताकि हामीहरू रूमका महिलाहरूले गर्दा उपद्रवमा परेर पापी न बनौं । जानि राख ! तिनीहरू यस भन्दा ठूलो उपद्रवमा परिसकेका छन्, त्यो हो छल कपटको उपद्रव र जिहादबाट पछाडि रहने उपद्रव । निस्सन्देह महाप्रलयको दिन नर्कले काफिरहरूलाई चारैतिरबाट घेरामा लिनेछ, त्यसबाट न कोही बच्न सक्छ र न भाग्न सक्छ ।
५०. हे रसूल (सल्लाहु अलैहि व सल्लम) ! जब मद्दत तथा युद्धमा प्राप्त धन प्राप्त गरेर तपाईं खुशी हुनुहुन्छ तब तिनीहरूलाई अप्रीय लाग्छ र तिनीहरू चिन्तित हुन्छन् । तर जब तपाईंमाथि शत्रुको तर्फबाट सङ्कट आउँछ तब तिनीहरू मुख फेरेर भन्छन्– हामीले पहिले नै आफ्नो मामिला ठीक पारिसकेका छौं र युद्धको लागि न निस्केर बुद्धिमानिको काम गरेका छौं । तर मोमिनहरू युद्धको लागि निस्के अनि तिनीहरूमध्ये केही हताहत भए र केही बन्दि बनाइए । तर मुनाफिकहरू आफ्नो परिवारतर्फ सकुशल खुशी खुशी फर्के । 
५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी मुनाफिकहरूलाई भनिदिनुहोस्– हामीमाथि अल्लाहले लेख्नुभएको बाहेक अरू कुनै सङ्कट आउने छैन, उहाँ हाम्रा मालिक हुनुहुन्छ, हामी उहाँकै शरण चाहन्छौं र सबै मामिलामा उहाँमाथि नै भरोसा गर्छौं । मोमिनहरू आफ्ना मामिला उहाँतर्फ हस्तान्त्रण गर्छन् र उहाँ उनीहरूका लागि प्रयाप्त हुनुहुन्छ, उहाँ कति राम्रा कर्य-साधक हुनुहुन्छ ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्– हामीहरूलाई कि त विजय प्राप्त होस् कि त शहादत, के तिमीहरू हामीहरूका लागि यसैको प्रतीक्षा गर्दैछौ ? अल्लाहले स्वयं तिमीहरूलाई यातना दिएर सखाप पारुन् कि त उहाँले हामीहरूलाई तिमीहरूविरुद्ध युद्धको अनुमति दिएर हामीहरूका हातबाट हत्या गरेर तथा बन्दी बनाएर दण्ड दिऊन् । तिमीहरू हामीहरूको परीणामको प्रतीक्षा गर र हामीहरू तिमीहरूको सजायको प्रतीक्षा गर्छौं ।
५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्– तिमीहरू इच्छापूर्वक खर्च गर वा अनिच्छापूर्वक धन खर्च गर, तिमीहरूको कुफ्र तथा अवज्ञाको कारणले त्यो स्वीकार गरिने छैन ।
५४. तीन वटा कारणहरूले तिनीहरूको दान स्वीकार गरिने छैन, अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को कुफ्र, सलाहमा ढिला सुस्ती, र अनिच्छापूर्वक खर्च गर्नु, किनभने तिनीहरू आफ्नो सलाह तथा दानबाट पुण्यको आशा राख्दैनन् ।
५५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मुनाफिकहरूका धन-सम्पत्ति तथा सन्तानहरूले तपाईंलाई अचम्म न पारुन्, किनभने यिनीहरूका धन-सम्पत्ति तथा सन्तानहरूको परीणाम नराम्रो हुनेछ । अल्लाहले लोकमा तिनीहरूलाई यसको लागि थकानमा पारे यातना दिनुहुनेछ, यिनीहरूको आत्मा कुफ्रको अवस्थामा निकाल्नुहुनेछ र परलोकमा सधैँको लागि नर्कको सबै भन्दा तल्लो श्रेणीमा होम्नुहुनेछ । 
५६. हे मोमिनहरू हो ! मुनाफिकहरू झूटो कसम खाएर भन्छन्-  हामी तिमीहरूमध्येकै हौं । तर वास्तवमा भित्रदेखि तिनीहरू तिमीहरूमध्येका होइनन् । बहुदेववादीहरू जस्तै तिनीहरूलाई हत्या गरेर तथा बन्दी बनाएर यातना दिइनेछ भन्ने कुराबाट डराउँछन्, जसबाट बच्नको लागि आफूलाई मुस्लिम भन्छन् ।
५७. यी मुनाफिकहरू आश्रय-स्थल वा गुफा पाएमा निश्चय नै त्यसमा भागेर लुक्नेछन् वा तिनीहरूले छिर्ने एउटा प्वाल मात्र पाए तुरुन्तै त्यसमा पसेर शरण लिनेछन् ।
५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मुनाफिकहरूमध्ये यस्ता व्यक्तिहरू पनि छन् जो दानहरूको वितरणको बारेमा तपाईंमाथि आरोप लगाउँछन् । तिनीहरूले खोजे जस्तो पाएमा खुशी हुन्छन्, तर तिनीहरूले खोजे जस्तो न पाएमा रिसाउँछन् ।
५९. तपाईंमाथि दानको वित्रणमा गडबड गर्ने दोष लगाउने मुनाफिकहरू यदि अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले प्रदान गर्नुभएका धनबाट सन्तुष्ट तथा राजी खुशी भएका भए र यो भनेका भए- अल्लाह हाम्रा लागि पर्याप्त हुनुहुन्छ, अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्ना कृपाबाट अझै दिनुहुनेछ, भने तिनीहरूका लागि राम्रो हुनेथियो ।
दानको वित्रणको बारेमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि लगाएको दोषको वर्णनपछि अल्लाहले त्यसका हकदार को को हुन् भन्ने कुरा बताउँदै भन्नुभयोः
६०. जकात (अनिवार्य दान) को धनलाई अनिवार्यरूपमा गरीबहरूहरूमा वित्रण गर्नुपर्छ । गरिब भनेको यस्ता मानिसहरू हुन् जोसँग सानो व्यवसाय वा कमाइको माध्यम हुन्छ तर त्यसबाट उनीहरूको आवश्यक्ता पूरा हुँदैन साथै तिनीहरूको अवस्थाबाट मानिसहरू बेखबर हुन्छन् । जकातलाई अभाव ग्रस्तहरूमा वित्रण गर्नुपर्छ । अभावग्रस्त भनेका ती मानिसहरू हुन् जोसँग केही पनि हुँदैन, उनीहरूको अवस्था तथा कुराबाट मानिसहरू अवगत हुन्छन् । जकात को हकदार त्यसको व्यवस्थापनमा नियुक्त व्यक्तिहरू पनि हुन् जसलाई इमाम जकात जम्म गर्न पठाउँछ । यस्ता काफिरहरू पनि जकातका हकदार हुन् जसलाई इस्लाममा प्रवेश गराइन्छ ताकि यसबाट तिनीहरूको हृदय सन्तुष्ट होस् र ईमान बलियो होस् । जकातलाई दासहरूको मुक्ति, ऋणीहरूको ऋण भुक्तानी, मुजाहिदहरूलाई अल्लाहको मार्गमा जिहाद र बाटो बिराएको यात्रीहरूमाथि पनि खर्च गर्नुपर्छ । यिनीहरू मात्र हुन् त्यस जकातका हकदारहरू जसलाई अल्लाहले अनिवार्य गर्नुभएको छ । अल्लाह आफ्ना भक्तहरूको हीतबारे ज्ञान राख्नुहुन्छ र कार्य सञ्चालन तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
६१. मुनाफिकहरूमध्ये केही व्यक्तिहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई आफ्नो कुराबाट दुखित तुल्याउँछन् र उहाँका सहिष्णुतालाई देखेर भन्छन्– उहाँ त सबैका कुरा सुन्नुहुन्छ र विश्वास गर्नुहुन्छ, सत्य असत्यमा फरक छुट्याउनु हुन्न । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भलाइका कुराहरू सुन्नुहुन्छ । उहाँ अल्लाह तथा मोमिनहरूको कुराको पुष्टि गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन मोमिनहरूका लागि दया हो । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट दिनेहरूका लागि दुखदायी यातना छ ।
६२. हे मोमिनहरू हो ! मुनाफिकहरू तिमीहरूलाई प्रसन्न पार्न अल्लाहको कसम खाएर के भन्छन् भने तिनीहरूले नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट पुर्याउने कुनै कुरा भनेकै छैनन् । यदि यिनीहरू वास्तविक मोमिन हुन् भने यिनीहरूले ईमान ल्याएर तथा सत्कर्म गरेर अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को प्रसन्नता प्राप्त गर्नुपर्ने थियो । 
६३. के यी मुनाफिकहरूलाई थाहा छैन कि यिनीहरू आफ्ना व्यवहारबाट अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को विरोध गर्दैछन्, जब कि उनीहरूको विरोध गर्नेहरू महाप्रलयको दिन नर्कमा जानेछन् जसमा सधैँ रहनेछन्, जो अति अपमानको कुरा हो ।
६४. मुनाफिकहरू कुन कुराबाट डराउँछन् भने अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुनै सूरह अवतरित गरेर मुसलमानहरूलाई तिनीहरूले हृदयमा लुकाएका कुफ्रबारे बताउनुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– हे मुनाफिकहरू हो ! तिमीहरू अझै ठट्टा गरिराख र इस्लाम धर्ममाथि दोष लगाउँदै गर, अल्लाहले अवश्य नै सूरह अवतरित गरेर तिमीहरूबारे त्यस कुराबाट सूचित गर्नुहुनेछ जुन कुराको तिमीहरूलाई डर छ । 
६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले तिनीहरूलाई सोध्नुहुन्छ- तिमीहरू धर्ममा के दोष लगाउँदै थियो र मोमिनहरूलाई के कस्तो गाली गर्दैथियो ? तिनीहरूले स्पष्ट रूपमा भन्नेछन्– हामी  त्यसै गफसफ र ख्याल ठट्टा गर्दै थियौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्ला) ! भनिदिनुहोस्– के तिमीहरू अल्लाह, उहाँका आयतहरू र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को ठट्टा गर्दै थियौ ?!
६६. झूटा बहाना न गर, तिमीहरूले लुकाएको कुफ्र ठट्टा गरेकोले स्पष्ट भइ सकेको छ । यदि हामीले तिमीहरूमध्ये एउटा तौबा गर्ने समूहलाई क्षमा गरिदिए पनि अर्को तौबा न गर्ने समूहलाई अवश्य दण्ड दिनेछौं ।
६७. सबै मुनाफिक पुरुष तथा महिलाहरू छल कपटमा एकसमान छन् । मोमिनहरूविपरीत तिनीहरू कुकर्मको आदेश दिन्छन्; पुण्य-कर्मबाट रोक्छन् र अल्लाहको मार्गमा धन खर्च गर्दैनन् । तिनीहरूले अल्लाहको आज्ञापालनलाई बिर्से तसर्थ अल्लाहले पनि तिनीहरूलाई सीधा मार्ग देखाउनु भएन । निस्सन्देह मुनाफिकहरू अवज्ञाकारी तथा पथभ्रष्ट हुन् ।
६८. अल्लाहले तौबा न गरेका मुनाफिक तथा काफिर पुरुष तथा महिलाहरूसँग नर्कको अग्निको वाचा गर्नुभएको छ जसमा तिनीहरू सदा रहनेछन् । त्यो तिनीहरूका लागि पर्याप्त हुनेछ । अल्लाहले तिनीहरूलाई आफ्नो कृपाबाट टाढा पार्नुभयो, तिनीहरूका लागि निरन्तर यातना छ ।
६९. हे मुनाफिकहरू हो ! तिमीहरू झूटो ठहर गर्न तथा ठट्टा गर्नमा विगतका झूटा ठहर गर्ने समुदायहरू जस्तै छौ जो तिमीहरूभन्दा बढी शक्तिशाली, धनि तथा सन्तानवाला थिए । तिनीहरूले आफ्ना भाग्यको मोज मज्जा गरिसके र तिमीहरूले पनि तिनीहरू झैँ मोज मज्जा गर्यौ, जसरी तिनीहरूले सत्य धर्म तथा रसूलहरूलाई झूटो ठहर गरे तिमीहरूले पनि इस्लाम धर्म तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूटो ठहर गर्यौ । यी अवगुणहरू बोकेका मानिसहरूका सुकर्महरू तिनीहरूका कुफ्रले गर्दा अकार्थ भए, तिनीहरूले आफूलाई बर्बादीमा पारेर घाटा खानेहरूमध्ये बने ।
७०. के यी मुनाफिकहरूले विगतका झूटो ठहर गर्ने समुदायहरूका परिणामबाट पाठ लिएनन्, नूह, हूद, सालेह, इब्राहीम, शुएब तथा लूत (अलैहिमुस्सलाम) का समुदायहरूबाट ?! तिनीहरूसमक्ष तिनीहरूका रसूलहरू स्पष्ट प्रमाण तथा तर्कहरू लिएर आए तर तिनीहरूले मानेनन् । तिनीहरूलाई नष्ट पारेर अल्लाहले तिनीहरूमाथि अत्याचार गर्नुभएन बरु तिनीहरूले अल्लाह तथा उहाँका रसूलहरूलाई झूटो ठहर गरेर आफैँमाथि अत्याचार गरे ।
७१. मोमिन पुरुष तथा महिलाहरू एक अर्काका मित्र तथा मद्दतगार हुन् । उनीहरूलाई ईमानले जोडेको छ, उनीहरू अल्लाहले मन पराउने एकेश्वरवाद, सलाह जस्ता पुण्य कर्मको आदेश दिन्छन् र अल्लाहलाई मन न पराउने कुफ्र, अवज्ञा जस्ता कुकर्मबाट रोक्छन्, पाबन्दी साथ सलाह कायम गर्छन्; जकात चुक्ता गर्छन् र अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गर्छन् । यिनीहरूलाई अल्लाहले आफ्नो कृपामा प्रवेश गराउनुहुनेछ । निस्सन्देह अल्लाह प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँमाथि विजयी हुन सक्दैन र उहाँ आफ्नो कार्य सञ्चालन तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
७२. अल्लाहले आफूमाथि ईमान ल्याउने पुरुष तथा महिलाहरूसित महाप्रलयको दिन यस्ता बगैंचाहरूमा प्रवेश गराउने वाचा गर्नुभएको छ जसका भवनहरूका तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन् । उनीहरू त्यसमा सदा-सर्वदा रहनेछन्, उनीहरूलाई कहिल्ये मृत्यु आउने छैन । सदाबहार वरदानहरू पाइराखेका हुनेछन् र अल्लाहले उनीहरूलाई अति सुन्दर बगैँचाहरूमा बसोबासको लागि प्रवेश गराउने वाचा गर्नुभएको छ । त्यो भन्दा पनि उच्च अल्लाहको प्रसन्नता प्राप्त हुनेछ र यही महान सफलता हो, यो भन्दा ठूलो सफलता केही हुन सक्दैन ।
७३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! काफिरहरू विरुद्ध तरवारले र मुनाफिकहरू विरुद्ध जिब्रो तथा तर्कले जिहाद गर्नुहोस् तथा दुवै गिरोहमाथि कडाइ गर्नुहोस्, तिनीहरू यसै योग्य छन्, महाप्रलयको दिन तिनीहरूको बास-स्थान नर्क हो र यो अति निकृष्ट बासस्थान हो ।
७४. मुनाफिकहरू अल्लाहको झूटो कसम खाएर भन्छन्– धर्ममा दोष लगाउने तथा तपाईंलाई गाली गर्ने कुरा हामीहरूले भनेका थिएनौं, जस्तो कि तपाईंसम्म कुरा पुग्यो । बरु तिनीहरूले ईमान ल्याएपछि कुफ्रको वाणी भनेका थिए । तिनीहरूले यस्तो कार्यको चेष्टा गरे जसमा तिनीहरू सफल हुन सकेनन् अर्थात नबी (सल्लल्लाहु अलैहि व सल्लम) को माया । तिनीहरूले यस्तो कुरालाई नकारे जसलाई नकार्नु हुँदैन, त्यो हो युद्धमा प्राप्त भएको धन जो अल्लाहले नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई प्रदान गर्नुभयो । यदि तिनीहरूले अल्लाहको मार्गमा खर्च गर्दै तौबा गर्छन् भने तिनीहरूका लागि उत्तम हुनेछ र यदि तिनीहरू विमुख हुन्छन् भने अल्लाहले तिनीहरूलाई लोकमा हताहत पारेर तथा बन्दी बनाएर दुखदायी यातना दिनुहुनेछ र परलोक नर्कको दुःखदायी यातना दिनुहुनेछ । कोही संरक्षक-मित्र तथा सहयोगीले तिनीहरूलाई यातनाबाट जोगाउन सक्दैन ।
७५. मुनाफिकहरूमध्ये केही मानिसहरू यस्ता पनि छन् जसले अल्लाहसित यो भनेर वाचा गरेका थिए- यदि अल्लाहले आफ्नो कृपाबाट धन प्रदान गर्नुहुन्छ भने हामी अवश्य नै असहायहरूलाई दान दिनेछौं र अवश्य नै सत्कर्मीहरूमध्ये बन्नेछौं ।
७६. तर जब अल्लाहले आफ्नो कृपाबाट धन सम्पन्न तुल्याउनुभयो तब तिनीहरूले आफूले गरेको वचन पूरा गरेनन्, बरु आफ्नो धनलाई रोकेर राखे र केही पनि दान गरेनन्, तिनीहरू ईमानबाट विमुख भए ।
७७. अतः अल्लाहले आफूसँग रहेको वाचा भङ्ग गरेको र झुट बोलेको परिणामस्वरूप तिनीहरूको हृदयमा महाप्रलयको दिनसम्मका लागि छल कपट उत्पन्न गरिदिनुभयो । 
७८. के मुनाफिकहरूलाई थाहा छैन- अल्लाह तिनीहरूका चलखेल तथा सभामा गर्ने गुप्त सर-सल्लाहलाई जान्नुहुछ र अदृश्यका ज्ञान राख्नुहुन्छ ? अल्लाहबाट तिनीहरूका कुकर्महरू गोप्य छैन र उहाँले त्यसको दण्ड दिनुहुनेछ । 
७९. यी मुनाफिकहरू यस्ता गरीब मोमिनहरूमाथि दोष लगाउँछन्, जो मिहिनेत मजदुरी गरेर थोरै दान दिन्छन् र यो भन्दै उनीहरूको उपहास गर्छन्- तिमीहरूलाई दान दिन के भेट्टायो ?! जसरी तिनीहरूले मोमिनहरूको ठट्टा गरे त्यसरी अल्लाहले पनि तिनीहरूको  उपहास आफ्नो शान अनुसार गर्नुभयो । तिनीहरूका लागि दुःखदायी यातना छ ।
८०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं मुनाफिकहरूका लागि क्षमाको प्रार्थना गर्नुस् वा न गर्नुस् एक समान छ, तपाईंले तिनीहरूका लागि सत्तरी पटकसम्म क्षमाको प्रार्थना गरे पनि अल्लाहले तिनीहरूलाई क्षमा गर्नुहुने छैन, किनभने तिनीहरूले अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को इन्कार गरे । अल्लाहका कानुनबाट जानिकन वा न जानिकन बाहिर निस्केका मानिसहरूलाई उहाँले सीधा मार्ग देखाउनुहुन्न ।
८१. तबूक युद्धमा पछाडि रहने मुनाफिकहरू अल्लाहको मार्गमा जिहाद छोडेर बस्न पाएकोमा प्रसन्न भए । मोमिनहरू जस्तो उनीहरू आफ्नो धन तथा ज्यानले जिहाद गर्न रुचाएनन् अनि आफ्ना मुनाफिक साथीहरूलाई भने– गर्मीमा युद्धका लागि बाहिर न निस्क । तबूकको युद्ध गर्मी महनामा भएको थियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– नर्कको अग्नि त यस गर्मीभन्दा पनि अधिक तातो छ यदि तिमीहरू बुझ्न सकेका भए ।
८२. यी मुनाफिकहरू यस क्षणिक संसारमा केही दिनका लागि हाँसुन् तर सधैँ रहने आखिरतको जीवनमा यिनीहरूले धेरै रुनु पर्नेहुन्छ । किनभने तिनीहरूले संसारमा कुफ्र, अवज्ञा तथा पापहरू गरे ।
८३. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि अल्लाहले तपाईंलाई यिनीहरूका कुनै समूहबीच फिर्ता ल्याउनुहुन्छ भने यिनीहरू अर्को युद्धमा पनि त्यस्तै अनुमति माग्नेछन् । भनिदिनुहोस्– हे मुनाफिकहरू हो ! सजायस्वरूप तथा तिमीहरूको उपद्रवबाट बच्नको लागि तिमीहरू मसँग कहिल्यै पनि जिहादको लागि निस्कन सक्ने छैनौ । जसरी तिमीहरूले पहिलो पटक पछाडि रहनेहरूसँग बस्न रूचायौ त्यस्तै अब महिला, रोगी तथा शिशुहरूसँग बस ।
८४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मुनाफिकहरूमध्ये कसैको मृत्यू भएमा कहिल्यै उसको ‘जनाजा’ (अन्तिम संस्कार) को सलाह न पढ्नुस् र कहिल्यै उसको चिहाननिर उसको क्षमादानको लागि दुआ गर्न खडा न हुनुस् किनभने तिनीहरूले अल्लाह तथा उहाँका रसूल (सल्लल्लाह अलैहि व सल्लम) लाई इन्कार गरे र अवज्ञाकारी भएको अवस्थामा नै मरे । यस्तो अवस्थामा रहेका मानिसको न सलाह पढिन्छ न उसको लागि दुआ गरिन्छ ।
८५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी मुनाफिकहरूका धन तथा सन्तानबाट तपाईंलाई भ्रम न होस् । अल्लाहले तिनीहरूलाई यी वस्तुहरूद्वारा सांसारिक जीवनमा दण्ड दिन चाहनुहुन्छ अनि त्यसकै लागि तिनीहरू हैरान भइ राखेका छन् । तिनीहरूको प्राण काफिर भएकै अवस्थामा जाओस् भन्ने अल्लाह चाहनुहुन्छ ।
८६. जब अल्लाहले आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुनै यस्तो सूरह अवतरित गर्नुहुन्छ जसमा अल्लाहमाथि ईमान ल्याउने तथा उहाँको मार्गमा जिहाद गर्ने आदेश हुन्छ तब तिनीहरूमध्येका धनी व्यक्तिहरू तपाईंसँग पछाडि रहने अनुमति माग्दछन् र भन्दछन्– हामीलाई घरमै बस्ने कमजोर तथा रोगीहरूहरूसँग बस्न दिनुस् ।
८७. यी मुनाफिकहरू मजबूर मानिसहरूसँगै पछाडि बसेर अपमानलाई नै मन पराए । तिनीहरूका कुफ्र तथा छल कपटको कारणले अल्लाहले तिनीहरूको मन-मष्तिस्कमा सिल (मोहर) लगाउनुभयो, त्यसैले तिनीहरूको हीत कुन कार्यमा छ भन्ने कुरा तिनीहरू जान्दैनन् ।
८८. तर, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तथा मोमिनहरू अल्लाहको मार्गमा जिहादबाट पछाडि रहेनन् बरु जन-धनले जिहाद गरे । लोकमा उनीहरूको बदला विजय तथा युद्धमा पराप्त भएका फाइदाहरू छन् भने आखिरतमा स्वर्ग तथा नर्कबाट मुक्ति छ ।
८९. अल्लाहले उनीहरूका लागि यस्ता बगैंचाहरू तयार पार्नुभएको छ जसका भवनहरूको तलतिरबाट नदीहरू बगिरहेका छन् । उनीहरू त्यसमा सदा रहनेछन् र यो महान् सफलता हो ।
९०. मदीना वरिपरि बस्ने गाउँलेहरूमध्ये केही व्यक्तिहरू बहाना बनाएर रसुल (सल्लल्लाहु अलैहि व सल्लम) कहाँ आए ताकि तिनीहरूलाईले जिहादमा निस्कन न परोस् । अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तथा अल्लाका वचनमाथि ईमान न राख्ने अन्य मानिसहरूले जिहादमा भाग न लिने अनुमति माग्ने आवश्यक्ता पनि महसूस गरेरनन् । यस्ता मानिसहरू आफ्नो कुफ्रको कारणले चाँडै नै  दुःखदायी यातना पाउनेछन् ।
९१. महिला, बाल बालिका, रोगी , अपाङ्ग तथा जिहादको खर्च जुटाउन न सक्ने व्यक्तिहरूसँग मजबूरी रहेकोले उनीहरू जिहादमा न गए पनि उनीहरूमाथि कुनै दोष छैन, यस शर्तमा कि उनीहरू अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) प्रति पूर्ण हितैषी रहुन् तथा इस्लामी कानुनको पालना गरुन्, यस्ता सुकर्मीहरूलाई सजाय दिने कुनै कारण छैन । अल्लाह सुकर्मीहरूलाई माफ गर्नुहुन्छ र दया गर्नुहुन्छ ।
९२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ती व्यक्तिहरूमाथि कुनै दोष छैन जो तपाईंकहाँ मलाइ जिहादमा जानको लागि कुनै सवारी दिनुहोस् भन्दै आउँछन्, अनि तपाईं जवाफ दिनुहुन्छ- मसँग तिम्रो लागि कुनै सवारी छैन, अनि यो सुनेर उनीहरू आफूसित खर्च गर्न केही न रहेको र तपाईंसँग पनि केही न रहेको पिरले आँखाबाट धर्धरी आँसु बगाउँदै फर्कन्छन् ।
अल्लाहले मजबूरी भएका मानिसहरूको वर्णनपछि ती व्यक्तिहरूको वर्णन गर्नुभयो जो सजायका भागीदार छन्, अनि भन्नुभयोः
९३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सजायको भागीदार व्यक्तिहरू ती हुन् जो धनि हुँदाहुँदै पनि तपाईंसित जिहादमा भाग न लिन अनुमति माग्न आउँछन् । तिनीहरूले पछाडि रहेर अपमानलाई नै मन पराए । अल्लाहले तिनीहरूका मन-मस्तिष्कमा सिल लगाउनुभयो, त्यसैले तिनीहरूमाथि उपदेशको कुनै प्रभाव परिरहेको छैन । कुन कुरामा तिनीहरूको हीत छ र कुन कुरामा हानि छ भन्ने कुरा जानिरहेका छैनन् ।
९४. जब मुस्लिमहरू जिहादबाट फर्के तब जिहादमा भाग नलिएका मुनाफिकहरूले विभिन्न किसिमका झूठा बहाना बनाउन थाले । त्यसको जवाफमा अल्लाहले आफ्ना नबी (सल्लल्लाहु अलैहि व सल्लम) र मोमिनहरूलाई यो जवाफ दिन लगाउनुभयो–  झूठा बहाना न बनाऊ,  हामी तिमीहरूको कुनै कुरामा विश्वास गर्ने छैनौं । अल्लाहले हामीलाई तिमीहरूका सम्पूर्ण स्थिति तथा मनका कुराहरूबारे सूचित गराइ सक्नुभएको छ । अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले चाँडै नै हेर्नुहुनेछ- तिमीहरू तौबा गर्छौ वा आफ्नो छल कपटमा नै रहन्छौ ? फेरि तिमीहरू अल्लाहतर्फ नै फर्काइनेछौ जो हरेक चीजका ज्ञाता हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूले गरेका कार्यहरूबारे अवगत गराउनुहुनेछ र त्यसको बदला दिनुहुनेछ । अतः चाँडै तौबा गरेर सत्कर्म गर ।
९५. हे मोमिनहरू हो ! जब तिमीहरू तिनीहरूतर्फ फर्केर जानेछौ तब यी जिहादमा भाग न लिनेहरूले आफ्ना झूठा बहानाहरूलाई सत्य सिद्ध गर्न अल्लाहको कसम खानेछन् ताकि तिमीहरू तिनीहरूको निन्दा नगर । अतः तिनीहरूलाई तिनीहरूकै अवस्थामा छोडिदेऊ । तिनीहरू फोहरी हुन् । तिनीहरूको छल कपट तथा पापको कारणले बास-स्थान नर्क हो । 
९६. हे मोमिनहरू हो ! यी जिहादमा भाग न लिएका मुनाफिकहरू तिमीहरूलाई प्रसन्न पार्न कसम खानेछन् ताकि तिमीहरू प्रसन्न होऊ । तिमीहरू तिनीहरूसँग प्रसन्न हुन्छौ भने अल्लाहको आदेशको अवज्ञा गर्छौ, किनभने अल्लाह कुफ्र र छल कपट गरेर अवज्ञा गर्नेहरूलाई मन पराउनुहुन्न । हे मुस्लिमहरू हो ! यस बारेमा सावधान !
९७. अरबका गाउँलेहरूमध्ये कुफ्र तथा छल कपटमा शहरका बासीहरूभन्दा अगाडि छन् । तिनीहरूका लागि अज्ञानता र अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गर्नुभएका फर्ज (अनिवार्य), सुन्नत (अतिरिक्त), कानुन तथा आदेशहरूसित अनभिज्ञ रहनु नै उचित छ । अल्लाह तिनीहरूका अवस्थाबाट अवगत हुनुहुन्छ । उहाँ कार्य सञ्चालन तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
९८. केही गाउँले मुनाफिकहरू अल्लाहको मार्गमा खर्च गर्नु घाटा तथा हर्जाना ठान्दछन् किनभने तिनीहरूको विचारमा त्यसलाई खर्च गरेमा पुण्य मिल्दैन र खर्च न गरेमा सजाय हुँदैन । यसका बावजुद तिनीहरू कहिले काहिं देखावटीको लागि र हे मोमिनहरू हो ! तिमीहरूको डरले खर्च गर्छन् । तिनीहरू के कामना गर्छन् भने मोमिनहरूमाथि कुनै प्रकोप अवतरित होस्, ताकि उनीहरूबाट मुक्ति मिलोस् । मोमिनहरूमाथि प्रकोप अवतरित होस् भन्ने तिनीहरूको कामनालाई अल्लाहले ती मुनाफिकहरूमाथि नै अवतरित गर्नुभयो । अल्लाह तिनीहरूले भनेका कुराहरूलाई सुन्नुहुन्छ र तिनीहरूले लुकाएका कुराहरूलाई जान्नुहुन्छ । 
९९. केही गाउँलेहरू अल्लाह तथा महाप्रलयको दिनमाथि ईमान राख्छन् र अल्लाहको निकटता प्राप्त गर्न र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आशिर्वाद तथा क्षमा प्राप्त गर्नको लागि खर्च गर्छन् । जानि राख ! त्यो निश्चय नै उनीहरूका लागि निकटता प्राप्त गर्ने साधन हो । अल्लाहले उनीहरूलाई अवश्य नै आफ्नो कृपा अन्तर्गत लिनुहुनेछ र क्षमा गरेर स्वर्ग प्रदान गर्नुहुनेछ । निस्सन्देह अल्लाह आफ्ना तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुनेछ र दया गर्नुहुनेछ । 
१००. घरबार त्यागेर शुरुमा ईमान ल्याएका मुहाजीरहरू, नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई मद्दत गरेका अन्सार तथा यी दुवैलाई राम्रो तरिकाले अनुसरण गरेका ताबिईन (सहाबा रजि. पछिको पुस्ता) सँग अल्लाह राजी खुशी हुनुभयो र उनीहरूको आज्ञापालनकलाई स्वीकार गर्नुभयो । उनीहरू पनि अल्लाहले प्रदान गर्नु भएको पुण्यबाट प्रसन्न भए । उहाँले उनीहरूका लागि यस्ता बगैंचाहरू तयार पार्नुभएको छ जसका भवनका तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरू त्यसमा सदासर्वदा रहनेछन् । यहि महान सफलता हो ।
१०१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मदीना वरिपरि बस्ने गाउँले र मदीनामा बस्ने मुनाफिकहरू छल कपटमा पक्का छन् । तपाईंलाई तिनीहरूको बारेमा थाहा छैन बरु अल्लाहलाई थाहा छ । उहाँले चाँडै नै तिनीहरूलाई दुई पटक यातना दिनुहुनेछ । एक पटक लोकमा तिनीहरूको छल कपटको पोल खुलेपछि हत्या तथा बन्दी बनाएर र दोस्रो पटक आखिरतमा चिहान र नर्कको सबैभन्दा तल्लो स्तरमा ।
१०२. मदीना बासीहरूमध्ये केही यस्ता पनि छन् जो बिना बाध्यता जिहादमा सहभागी न भएको आफ्नो दोषलाई स्वीकार गरे । उनीहरूसँग कुनै बाध्यता थिएन भन्ने कुरालाई स्वीकार गरे । उनीहरूले कुनै झूठा बहाना बनाएनन् । उनीहरू पहिला आज्ञापालन, इस्लामी कानुको पाबन्दी, जिहादमा सहभागी जस्ता पुण्य कर्म पनि गरे र केही दुष्कर्म पनि गरे । तर अल्लाहले यस दुष्कर्मलाई माफ गर्नुहुनेछ भन्ने आशा पनि राखे । निस्सन्देह अल्लाह आफ्ना तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुनेछ र दया पनि गर्नुहुनेछ ।
१०३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूको धनबाट जकात लिनुहोस् । जकातले उनीहरूलाई पापबाट शुद्ध पार्नेछ र उनीहरूले गरेका पुण्यकर्ममा बृद्धि गर्नेछ । जकात लिएर उनीहरूका लागि प्रार्थना गर्नुहोस् । निस्सन्देह तपाईंको प्रार्थना उनीहरूका लागि कृपा तथा सन्तुष्टता हुनेछ । अल्लाह तपाईंको प्रार्थना सुन्नुहुन्छ र उनीहरूका कर्म तथा नियतलाई जान्नुहुन्छ ।
१०४. ताकि यी जिहादमा भाग न लिएका तर अल्लाहसमक्ष तौबा गरेका मानिसहरूलाई थाहा होस् कि अल्लाहले नै आफ्ना भक्तहरूको तौबा स्वीकार गर्नुहुन्छ र जकात कबुल गर्नुहुन्छ । उहाँले जकात दिनेलाई अडिग राख्नुहुन्छ । निश्चय नै अल्लाह आफ्ना तौबा गर्ने भक्तहरूको तौबा स्वीकारकर्ता र दयावान हुनुहुन्छ ।
१०५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जिहादबाट पछाडि रहने तर तौबा गर्नेहरूलाई भनिदिनुहोस्– तिमीहरूले गरेको कमि कमजोरीलाई सत्कर्म गरेर पूरा गर । अल्लाहको लागि निष्कपट भएर उहाँको प्रसन्नता प्राप्त गर्नको लागि सत्कर्म गर । अल्लाह, उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र मोमिनहरूले तिमीहरूले गरेका कर्महरूलाई हेर्नुहुनेछ । महाप्रलयको दिन तिमीहरू आफ्ना पालनकर्तातर्फ फर्काइनेछौ, जसलाई तिमीहरूका गोप्य तथा वाह्य सबै कुराहरूको ज्ञान छ । उहाँले तिमीहरूलाई तिमीहरूले संसारमा गरिरहेका कार्यहरूबारे अवगत गराउनुहुनेछ र त्यसको बदला पनि चाँडै नै दिनुहुनेछ ।
१०६. तबूक युद्धमा भाग न लिनेहरूमध्ये यस्ता पनि छन् जोसँग कुनै बाध्यता थिएन । यिनीहरूको मामिलाको निर्णय अल्लाहको आदेश आउञ्जेल स्थगित गरिएको छ । उहाँले यिनीहरूको बारेमा जे चाहनुहुन्छ निर्णय गर्नुहुन्छ । यिनीहरूले तौबा नगरेमा सजाय दिनुहुनेछ र माफि मागेमा उहाँले माफ गर्नुहुनेछ । को सजायको हकदार हो र को माफिको हकदार हो भन्ने कुरा अल्लाह जान्नुहुन्छ । उहाँ कानुन बनाउन तथा कार्य सञ्चालनमा विवेकशील हुनुहुन्छ । जिहादबाट बिना कारण पछाडि रहने तर झूठो न बोल्ने र तौबा गर्नेहरू थिए- मुरारा बिन अर्रबी, कअब बिन मालिक र हिलाल बिन उमैय्या ।
१०७. केही मुनाफिकहरूले अल्लाहको अवज्ञा गर्दै मुस्लिमहरूलाई कष्ट पुर्याउनको लागि मस्जिदको निर्माण गरे । तिनीहरूको उद्देश्य मुनाफिकहरूलाई बल पुर्याएर कुफ्रलाई विजयी पार्नु र मोमिनहरूहरूबीच मतभेद उत्पन्न गर्नु हो । यस मस्जिदको निर्माणको अर्को उद्देश्य यसअघि अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) विरुद्ध युद्ध गरिसकेका मानिसहरूका लागि धराप-स्थल उपलब्ध गराउनु पनि हो । तर यी मुनाफिकहरूले अवश्य नै कसम खाएर भन्नेछन्- हाम्रो उद्देश्य मुस्लिमहरूसँग नम्रताको व्यवहार गर्नु हो । वास्तवमा यिनीहरू आफ्नो यस दावीमा पक्का झूठा हुन् भन्ने कुराको अल्लाहले साक्षी दिनुहुन्छ ।
१०८. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! मुनाफिकहरूले त्यस मस्जिदमा सलाह कायम गर्न बोलाउँदा त्यसमा कहिल्यै नजानुहोस्, बरु कुबा मस्जिदमा सलाह कायम गर्नु उचित छ । कुबा मस्जिदको निर्माण पहिले दिनदेखि नै ईशपरायणताको आधारमा भएको छ । यसभित्र यस्ता मानिसहरू छन् जो सफा सुघ्घर रहेर शारिरिकरूपमा र क्षमा याचना गरेर अध्यात्मिकरूपमा पवित्र रहन मन पराउँछन् । अल्लाह पवित्र रहनेहरूलाई मन पराउनुहुन्छ ।
१०९. के अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूबाट बचेर ईशभय तथा उहाँको प्रसन्नताको आधारमा मस्जिद निर्माण गर्ने व्यक्ति उत्तम हुनुहुन्छ वा त्यो व्यक्ति उत्तम छ जसले मुस्लिमहरूलाई कष्ट पुर्याउन, कुफ्रलाई बलियो पार्न तथा मोमिनहरूबीच विभेद उत्पन्न गर्नको लागि मस्जिदको निर्माण गरेको छ ?! दुवै कहिल्यै एकसमान हुन सक्दैनन् । पहिलो व्यक्तिको उदाहरण यस्तो भवन जस्तो छ जसको जग बलियो हुन्छ र भत्कने डर हुँदैन, जब कि दोस्रो किसिमको व्यक्तिको उदाहरण यस्तो भवन जस्तो छ जो नदीको किनारमा हुन्छ र जहिले पनि भत्कने डर हुन्छ । जहिले पनि त्यसको जग भत्केर नर्कमा खस्न सक्छ । अल्लाह कुफ्र तथा छल कपट गरेर अत्याचार गर्नेहरूलाई सीधा मार्ग देखाउनुहुन्न ।
११०. मुस्लिमहरूलाई कष्ट पुर्याउनको लागि निर्माण गरिएको मस्जिद सधैं तिनीहरूका हृदयमा सन्देह तथा छल कपटको जरो बनिरहनेछ यहाँसम्म कि तिनीहरूका हृदय मृत्यु वा तरवारबाट हत्याले छिया-छिया हुन पुगुन् । अल्लाह आफ्ना भक्तहरूको कर्महरूसित अवगत हुनुहुन्छ र भलाइ वा निकृष्टताको बदला दिनमा विवेकशील हुनुहुन्छ ।
जिहादमा भाग नलिने मुनाफिकहरूको अवगुणहरूको वर्णनपछि सत्मार्गमा जिहाद गर्नेहरूको पुण्यको वर्णन गर्दै अल्लाहले भन्नुभयो-
१११. निस्सन्देह अल्लाहले मोमिनहरूबाट उनीहरूका ज्यान तथा धन-सम्पत्ति स्वर्गको सट्टामा खरीद गरिसक्नुभएको छ । यो खरीद यसरी गर्नुभएको छ कि उनीहरू अल्लाहको मार्गमा काफिरहरूविरुद्ध उहाँको वाणी उच्च पार्नको लागि युद्ध गर्छन् अनि काफिरहरूको हत्या गर्छन् र काफिरहरू उनीहरूको हत्या गर्छन् । अल्लाहले उनीहरूबाट तौरात, इन्जील तथा कुर्आनमा सच्चा वाचा गर्नुभएको छ । तौरात मूसा (अलैहिस्सलाम), इन्जील ईसा  (अलैहिस्सलाम) र कुर्आन मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गरिए । अल्लाहभन्दा बढी वाचा पूरा गर्ने अरू को हुन सक्छ ? हे मोमिनहरू हो ! खुशी मनाऊ त्यस सौदाप्रति जुन तिमीहरूले अल्लाहसित गरेका छौ । यसमा धेरै फाइदा छ र यो महान सफलता हो ।
११२. सफलता प्राप्त गर्नेहरू ती हुन जो अल्लाहतर्फ फर्कन्छन् । उनीहरू वर्जित कार्यहरूलाई त्यग्छन्, अल्लाहले मन पराउने कार्य गर्छन्, विनम्र भएर उहाँको आज्ञापालन गर्छन्, हरेक अवस्थामा उहँको गुणगान गर्छन्, ब्रत बस्छन्, सलाह कायम गर्छन, सत्कर्मको आदेश दिन्छन् जसको आदेश अल्लाह वा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले दिनुभयो, दुष्कर्मबाट रोक्छन् जसबाट अल्लाह वा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मनाहि गर्नुभयो । सत्कर्मको अनुसरण गरेर तथा दुष्कर्मबाट बचेर अल्लाहका आदेशहरूको रक्षा गर्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्ता मोमिनहरूलाई लोक तथा परलोक दुवैमा खुशीको खबर सुनाउनुहोस् ।
११३. बहुदेववादीहरूका लागि क्षमाको प्रार्थना गर्नु  नबी (सल्लल्लाहु अलैहि व सल्लम) र मोमिनहरूको लागि उचित छैन, चाहे तिनीहरू उनीहरूका नातेदार नै किन नहोउन् । बहुदेववादीहरूको मृत्यु शिर्कमा भएकले तिनीहरू नर्कबासी हुन् ।
११४. इब्राहीम (अलैहिस्सलाम) ले आफ्ना बुवाका निम्ति गरेको क्षमाको प्रार्थना केवल एउटा वाचाको कारणले थियो, जो उनले आफ्ना पितासित गरिसकेका थिए । तर, उनको बुवा अल्लाहका शत्रु हुन्, उपदेश ग्रहण गरिराखेका छैनन् र उसको मृत्यु कुफ्र कै अवस्थामा हुनेछ भन्ने कुरा जब स्पष्ट भयो तब उनले बुवासितको नाता तोडे । इब्राहीम (अलैहिस्साम) ले बुवाको लागि क्षमा याचना आफ्नो विचारले गरेका थिए, अल्लाहको आदेशको उल्लङ्घन गरेका थिएन । निस्सन्देह इब्राहीम (अलैहिस्सलाम) अति बिन्ती गर्थे र आफ्नो समुदायलाई धेरै माफ गर्थे ।
११५. अल्लाहले कुनै समुदायलाई मार्गदर्शनपश्चात् त्यतिखेरसम्म पथभ्रष्ट गर्नुहुन्न जतिखेरसम्म उसले बच्नु पर्ने हराम कार्यहरू बताउनुहुन्न । यसका बावजुद तिनिहरू हराम गरिएका कार्यहरूबाट बच्दैनन् भने अल्लाहले तिनीहरूलाई पथभ्रष्ट पार्नुहुन्छ । निस्सन्देह अल्लाह हरेक कुराका ज्ञाता हुनुहुन्छ । कुनै कुरा उहाँबाट लुकेको छैन । उहाँले तिमीहरूलाई तिमीहरूले नजानेका कुराहरू सिकाउनुभयो । 
११६. निस्सन्देह आकाशहरू तथा पृथ्वीमा अल्लाहकै शासन रहेको छ । यी दुवैमा उहाँको कोही साझेदार छैन र कुनै पनि वस्तु उहाँबाट गोप्य छैन । उहाँ जसलाई चाहनुहुन्छ सृष्टि गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ मार्नुहुन्छ । हे मानव ! अल्लाहबाहेक न तिमीहरूको कोही संरक्षक-मित्र रहेको छ न कोही सहयोगी नै ।
११७. अल्लाहले सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई माफ गर्नुभयो जब उहाँले मुनाफिकहरूलाई तबूक युद्धमा भाग न लिने अनुमति दिनुभयो । उहाँले मुहाजिर तथा अन्सारलाई पनि माफ गर्नुभयो जसले यस युद्धमा भाग लिए । उनीहरूले कडा गर्मी, कम सर-सामान, हात हतियार र शत्रुका शक्तिका बावजुद उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गरे । जबकी कडा अवस्थाले गर्दा उनीहरूमध्ये एउटा समूहको हृदयमा युद्ध छोड्ने विचार आएको थियो । अनि अल्लाहले उनीहरूलाई अडिग पारेर युद्धको लागि प्रस्थान गर्ने अवसर दिनुभयो र माफ गर्नुभयो । निश्चय नै उहाँ उनीहरूप्रति करुणाशील एवं परम दयालु हुनुहुन्छ ।
११८. अल्लाहले तीन जनाको तौबा स्वीकार गर्नुभयो, उनीहरू हुन्ः कअब बिन मालिक, मुरारा बिन अर्रबी तथा हिलाल बिन उमैय्या । यिनीहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग तबूक गएका थिएनन् । केही दिनपछि यिनीहरूको तौबा स्वीकार गरिएको थियो । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले तिनीहरूको बहिष्कार गर्ने आदेश दिनुभएको थियो । जसले गर्दा उनीहरू यति चिन्तित भएका थिए कि उनीहरूका निम्ति पृथ्वी आफ्नो विशालताका बावजूद सङ्कीर्ण भएको थियो । उनीहरूको आफ्नो ज्यान पनि उनीहरूका लागि बोझ हुन पुगेको थियो । अल्लाहबाहेक अन्य कहीं शरण प्राप्त हुँदैन भन्ने कुरा उनीहरूले बुझेका थिए । अनि अल्लाहले उनीहरूलाई तौबा गर्ने अवसर दिएर कृपा गर्नुभयो । फेरि उनीहरूको तौबा स्वीकार गर्नुभयो । उहाँ भक्तहरूको तौबा स्वीकारकर्ता र दयावान हुनुहुन्छ ।
११९. हे मोमिनहरू हो ! अल्लाहका आदेशहरूको पालना गरेर तथा वर्जित कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । आफ्नो ईमान, कर्म तथा भनाईमा सत्यनिष्ठ मानिसहरूमध्ये बन । सच्चाइमा नै तिमीहरूको मुक्ति छ ।
१२०. जब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) आफैँ जिहादको लागि निस्कि राख्नुभएको छ भने मदीनाबासी तथा त्यसका वरिपरि बसोबास गर्ने गाउँलेहरूका निम्ति घरमा बसिरहनु र उहाँको ज्यानभन्दा आफ्नो ज्यानलाई प्रिय ठान्नु उचित छैन । बरु तिनीहरूले आफ्नो ज्यान त्यसमा लगाउनु पर्छ र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को रक्षा गर्नु पर्छ । किनभने तिनीहरूलाई अल्लाहको मार्गमा जुन तिर्खा, थकाइ तथा भोक लाग्छ, तिनीहरूले जति काफिरहरूको क्रोध सहन गर्छन्, शत्रुहरूको तर्फबाट जुनसुकै हत्या वा कैद वा युद्धमा प्राप्त धन वा पराजयको सामना गर्छन् त्यस सत्कर्मको पुण्य अल्लाहले लेख्नुहुन्छ । अल्लाह सुकर्मीहरूको बदलालाई बर्बाद पार्नुहुन्न । बरु त्यसलाई स्वीकार गरेर त्यसको पूरा पूरा बदला मात्र होइन बरु थपेर दिनुहुन्छ । 
१२१. उनीहरूले जुन सानो वा ठूलो धन-राशि खर्च गर्छन् वा जुन उपत्यका पार गर्छन् यी सबै लेखिने गरिन्छ ताकि अल्लाहले तिनीहरूलाई तिनीहरूले गरेका कार्यहरूको उत्तम पुण्य प्रदान गरुन् । अल्लाहले उनीहरूलाई आखिरतमा अति उत्तम बदला दिनुहुनेछ । 
१२२. सबै मोमिनहरूले युद्धको लागि निस्कनु उचित छैन ताकि शत्रुहरू विजयी भएमा सबैलाई सखाप नपारुन् । अनि यस्तो किन भएन कि एउटा जमात जिहादको लागि निस्कोस् र अर्को जमात चाहिँ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग बसेर कुर्आन, इस्लामी शरीअत र शिक्षा ग्रहण गरोस् । फेरि आफ्नो समुदायतर्फ फर्केपछि उनीहरूलाई सावधान गरोस् । आशा छ तिनीहरू अल्लाहका यातनाबाट डराउनेछन्, अनि उहाँका आदेशहरूको पालना गर्नेछन् र वर्जित कार्यहरूलाई छोड्नेछन् । यस्तो घटना यस्ता साना युद्धहरूमा घट्थ्यो जसको लागि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) केही सहाबा (रजियल्लाहु अन्हुम्) लाई मदीना वरिपरि पठाउने गर्नुहुन्थ्यो ।
१२३. अल्लाहले मोमिनहरूलाई उनीहरू वरिपरिका काफिरहरूविरुद्ध युद्ध गर्ने आदेश दिनुभएको छ किनभने तिनीहरू नजिक भएकोले बढी घातक हुन सक्छन् । काफिरहरूमाथि धाक जमाउन र तिनीहरूको दुष्टताबाट सुरक्षित रहनको लागि आफ्नो शक्ति प्रदर्शनको आदेश पनि अल्लाहले मोमिनहरूलाई दिनुभएको छ । अल्लाहको मद्दत ईशभय राख्ने मोमिनहरूका साथमा छ ।  
१२४. जब अल्लाह आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुनै सूरह अवतरित गर्नुहुन्छ तब केही मुनाफिकहरू ठट्टा गर्दै सोध्छन्– यस सूरहले तिमीहरूमध्ये कसको ईमानलाई बढाएको छ ? अनि जुन व्यक्तिहरू अल्लाह तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान राख्छन्, सूरहले उनीहरूको ईमानमा वृद्धि गर्छ । अवतरित गरिएको सूरहमा लोक तथा परलोकको भलाइ रहेकोले त्यसबाट मोमिनहरू प्रसन्न छन् । 
१२५. कुर्आनमा आदेश तथा सत्य कथाहरू भएकोले यसको अवतरणले मुनाफिकहरूको रोग तथा फोहरमै वृद्धि गर्छ । जति कुर्आन अवतरित हुन्छ त्यति नै तिनीहरूका हृदयको रोग बढछ । किनभने जति कुर्आन अवतरित भयो त्यति तिनीहरूको शंका बढयो र तिनीहरू काफिर भएकै अवस्थामा मरे ।
१२६. के मुनाफिकहरूले यस कुराबाट पाठ लिएनन्- हरेक वर्ष एक-दुई पटक तिनीहरूका छल कपटलाई स्पष्ट पारेर अल्लाहले परिक्षा लिनुहुन्छ ?! तिनीहरू यो जान्दा जान्दै कि अल्लाह नै तिनीहरूसँग यस्तो गरिराख्नुभएको छ, आफ्नो कुफ्र तथा छल कपटबाट तौबा गर्दैनन् र कुनै शिक्षा ग्रहण गर्दैनन् । 
१२७. जब अल्लाह कुनै यस्तो सूरह रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गर्नुहुन्छ जसमा मुनाफिकहरूको वास्तविक्ताको वर्णन हुन्छ तब तिनीहरू आँखै आँखामा एक अर्कासँग कुरा गर्छन्- कहीं तिमीलाई कसैले हेरिरहेको त छैन ? यदि कोही हेरिराखेको छैन भने तिनीहरू सुटुक्क सभाबाट हिँड्छन् । याद राख ! अल्लाहले तिनीहरूका हृदयहरूलाई नै मार्गदर्शन तथा भलाइबाट फेर्नुभएको छ । उहाँले तिनीहरूलाई अपमानित गर्नुभएको छ किनभने तिनीहरू बुद्धिले काम लिँदैनन् ।
१२८. हे अरबी मानिसहरू हो ! तिमीहरूसमक्ष तिमीहरूमध्येबाटै एकजना अरबी रसूलको आगमन भएको छ जसलाई तिमीहरूमाथि आइलाग्ने सङ्कटले दुखित तुल्याउँछ । उहाँ तिमीहरूलाई सीधा मार्ग मिलोस् भनी चाहनुहुन्छ । उहाँ मोमिनहरूप्रति अत्यन्तै ममतामय तथा दयावान हुनुहुन्छ । 
१२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरू तपाईंबाट विमुख हुन्छन् र ईमान ल्याउँदैनन् भने भनिदिनुहोस्- मेरो लागि अल्लाह पर्याप्त हुनुहुन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...