शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका साथीहरू तपाईसँग अन्फाल (युद्धमा प्राप्त शत्रु-धन) को बाँडफाँड कसरी गर्नुपर्छ र को यसको हकदार छ भन्नेबारे सोध्दछन् ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई भनिदिनुहोस्– अन्फाल त अल्लाह तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को लागि हो । यसलाई कहाँ खर्च गर्नुपर्छ र कसरी वित्रण गर्नुपर्छ भन्ने कुराको निर्णय अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदेश अनुसार गरिनेछ । तिमीहरूले मात्र यसको पालना तथा अनुसरण गर्नुपर्छ । हे मोमिनहरू हो ! अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँको भय गर । प्रेम, माया, राम्रो आचरण तथा एक अर्कालाई माफ गरेर आपसी सम्बन्धलाई ठीक राख । यदि तिमीहरू वास्तविक मोमिन हौ भने अनिवार्यरूपमा अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञा पालन गर, किनभने ईमानले आज्ञापालन तथा अवज्ञाबाट टाढा रहने कार्यको लागि प्रेरित गर्छ । उनीहरूले यो प्रश्न बद्रको युद्धपछि गरेका थिए ।२. वास्तविक मोमिनहरू ती हुन् जसका हृदय अल्लाहलाई सम्झिन बित्तिकै डराउँछन् अनि हृदय तथा जिउ अल्लाहको आज्ञापालन गर्न थाल्छन् र उहाँका आयतहरू पढेर सुनाउँदा अनि त्यसमा चिन्तन मनन गर्दा उनीहरूको ईमान झन् बढ्न थाल्छ र उनीहरू हीतकारी वस्तुहरू प्राप्त गर्नको लागि तथा हानिकारक वस्तुहरूलाई धपाउनको लागि मात्र आफ्ना पालनकर्तामाथि भरोसा राख्छन् ।३. जो सलाहलाई त्यसका सबै गुणका साथ समयमा कायम गर्छन् र हामीले उनीहरूलाई जे-जति धन-सम्पत्ति प्रदान गरेका छौं त्यसबाट अनिवार्य तथा एच्छिक दुवै प्रकारका दान दिन्छन् ।४. यस्ता मानिसहरू नै सच्चा मोमिनहरू हुन्, किनभने उनीहरूभित्र आन्तरिक ईमान तथा वाहय इस्लाम दुवै गुणहरू छन् । उनीहरूका लागि उनका पालनकर्ताकहाँ उच्च दर्जाहरू, पापहरूका माफि तथा पवित्र जीवीका छन् । यी वरदानहरू छन् जो अल्लाहले उनीहरूका लागि तयार पार्नुभएको छ ।५. जसरी तिमीहरूबीच अन्फालको भागबण्डामा मतभेद तथा झगडा भएपछि अल्लाहले तिमीहरूबाट यसलाई खोसेर आफ्नो हातमा राख्नुभयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को हातमा दिनुभयो त्यस्तै हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंका पालनकर्ताले तपाईंलाई बहुदेववादीहरूसित मुठभेडको लागि वहीद्वारा मदीनाबाट निस्कने आदेश दिनुभयो । यद्यपि मोमिनहरूको एउटा समूहलाई अप्रिय थियो । ६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिनहरूमध्ये एउटा समूह बहुदेववादीहरूसँग युद्धबारे तपाईंसँग झगडा गर्छन्, जबकि यो युद्ध अवश्य हुनेछ भन्ने कुरा स्पष्ट भइसकेको छ । युद्धको लागि निस्कनु तिनीहरूलाई यति अप्रिय लागिरहेको थियो मानौं तिनीहरू मृत्युतर्फ हाँकेर लगिदैछन् र मृत्युलाई आफ्नो आँखासामु देखिराखेका छन्, किनभने तिनीहरू यसलाई महत्व दिरहेका छैनन् न यसको लागि तयारी गरेका छन् । ७. हे वाद विवाद गर्ने मोमिनहरू हो ! याद गर जब अल्लाहले तिमीहरूसँग बहुदेववादीहरूका दुई समूहमध्ये एउटा समूहमाथि तिमीहरूले विजय प्राप्त गर्नेछौ भनेर वचन दिनुभएको थियो । एउटा समूह खाद्य सामग्री बोकेको ऊँटको निर्बल समूह थियो जसबाट तिमीहरू अन्फाल प्राप्त गर्ने थियो र अर्को समूह योद्धाहरूको समूह थियो जोसँग तिमीहरूले युद्ध गर्नु पर्नेथियो र तिमीहरूको सहयोग गरिने थियो । तिमीहरू चाहिँ खाद्य सामग्री बोकेको ऊँटको समूहमाथि विजय प्राप्त गर्न चाहन्थ्यो किनभने त्यसमाथि बिना युद्ध सजिलोसँग विजय गर्न सकिन्थ्यो । तर अल्लाहको चाहना थियो तिमीहरूलाई युद्धको आदेश दिएर सत्यलाई सत्यसिद्ध गर्नु ताकि तिमीहरूले बहुदेववादीहरूका नेताहरूलाई हत्या गर तथा तिनीहरूमध्ये धेरैलाई कैदी बनाऊ यहाँसम्म कि इस्लामको प्रभुत्व कायम होस् ।८. ताकि इस्लाम तथा मुस्लिमहरूको विजय गराएर तथा अन्य प्रमाणहरूबाट अल्लाहले सत्यलाई सत्य तथा असत्यलाई असत्य प्रमाणित गरुन् जस्तो कि अन्य प्रमाणहरूबाट त्यो असत्य हो भन्ने कुरा स्पष्ट छ । बहुदेववादीहरूलाई जतिसुकै अप्रिय लागे पनि अल्लाहले यसलाई विजयी गर्नुहुनेछ ।९. बद्रको दिनलाई याद गर जब तिमीहरू शत्रुको मुकाबिलामा सहयोग गर्न अल्लाहसँग प्रार्थना गर्दै थियो । हे मोमिनहरू हो ! अल्लाहले लगातार एक अर्कापछि आउने एक हजार फरिश्ताद्वारा तिमीहरूको मद्दत गर्नुहुनेछ भनेर तिमीहरूको प्रार्थना स्वीकार गर्नुभयो ।१०. हे मोमिनहरू हो 1 अल्लाहले शत्रुहरूविरुद्ध फरिश्ताहरूद्वारा तिमीहरूको मद्दत शुभ-सूचनास्वरूप गर्नुभयो । उहाँ नै शत्रुहरूविरुद्ध तिमीहरूको सहयोगी हुनुहुन्छ । ताकि मद्दतको आश्वासनले गर्दा तिमीहरूको मन सन्तुष्ट होस् । अल्लाहको मद्दत धेरै संख्याँ तथा धेरै हातहतियारले आउँदैन बरु उहाँको विशेष कृपाले आउँछ । निस्सन्देह अल्लाह सत्ता शसन चलाउनमा अत्यन्त प्रभुत्वशाली हुनुहुन्छ कोही उहाँमाथि विजय प्राप्त गर्न सक्दैन । कानुन बनाउन तथा भाग्य निर्धारण गर्नमा विवेकशील हुनुहुन्छ ।११. हे मोमिनहरू हो ! स्मरण गर जब अल्लाहले तिमीहरूभित्र शत्रुको डर उत्पन्न भएपछि तिमीहरूलाई निश्चिन्त पार्नको लागि निन्द्राले ढाक्नुभयो । अल्लाहले आकाशबाट पानी बर्साउनुभयो ताकि तिमीहरूलाई अपवित्रताबाट पवित्र पारुन्, शैतानका गोप्य प्रामर्श समाप्त पारुन्, बालुवा युक्त जमिनलाई कडा बनाउन् ताकि त्यसमा तिमीहरूका खुट्टा न धसोस् ।१२. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस् जब तपाईंका पालनकर्ताले बद्रको युद्धमा मोमिनहरूको मद्दतको लागि पठाउनु भएका फरिश्ताहरूलाई वही गर्नुभयो– हे फरिश्ताहरू हो ! म तिमीहरूको मद्दत गर्दैछु अनि शत्रुविरुद्ध युद्धको लागि मोमिनहरूका हौसला बढाऊ । म चाँडै नै काफिरहरूका हृदयमा धाक एवं त्रास उत्पन्न गर्नेछु । हे मोमिनहरू हो ! काफिरहरूलाई मार्नको लागि तिनीहरूका घँटी तथा जोर्नीहरूमा प्रहार गर ताकि तिनीहरू तिमीहरूविरुद्ध युद्ध गर्न छोडुन् । १३. काफिरहरूको हत्या तथा तिनीहरूका जोर्नीहरूमाथि प्रहारको आदेश यस कारणले दिइएको छ कि तिनीहरूले अल्लाह एवं उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को विरोध गरे, जुन कार्य गर्ने आदेश दिइएको थियो त्यसको पालना गरेनन् र जुन कार्यहरूबाट मनाहि गरिएको थियो त्यसलाई त्यागेनन् । यस मामिलामा जसले पनि अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को विरोध गर्छन् निस्सन्देह अल्लाह तिनीहरूलाई लोकमा हत्या तथा कैदी बनाएर सजाय दिनुहुनेछ र आखिरतमा नर्कमा हालेर यातना दिनुहुनेछ ।१४. हे अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का विरोधीहरू हो ! उक्त यातना तिमीहरूका लागि हो, यसलाई संसारमा चाँडै चाख र कुफ्र तथा शत्रुतामै मर्छौ भने आखिरतमा नर्कको यातना चाख्नेछौ ।१५. हे मोमिनहरू हो ! जब तिमीहरूको भिडन्त युद्धको मैदानमा बहुदेववादीहरूसित हुन्छ भने तिमीहरू भागेर तिनीहरूलाई पिठ्युँ न देखाऊ । बरु अडिग भएर तिनीहरूको मुकाबिला गर । अल्लाह आफ्नो सहयोगका साथ तिमीहरूसँग हुनुहुन्छ । १६. जो त्यस दिन तिनीहरूबाट पिठ्यूँ फर्काउँछ – यो बेग्लै कुरा हो कि उसले युद्धको रणनीति स्वरुप वा आफ्नो मुस्लिम सैन्यमा शरण लिन यस्तो गरोस्– त्यस्तो व्यक्ति अल्लाहको रोष लिएर फर्कनेछ । आखिरतमा त्यसको बासस्थान नर्क हुनेछ र त्यो अति नराम्रो स्थान हो ।१७. हे मोमिनहरू हो ! बद्रको दिन बहुदेववादीहरूलाई तिमीहरूले आफ्नो शक्तिबाट हत्या गरेनौ बरु अल्लाहले यसमा तिनीहरूको मद्दत गर्नुभयो । हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंले (मुठ्ठी भर) बालुवा फ्याँक्नुभयो त्यो तपाईंले फ्याँक्नुभएन बरु अल्लाहले फ्याँक्नुभयो । संख्याँ तथा हातहतियारमा कमिका बावजुद मोमिनहरूलाई अल्लाहले विजय प्रदान गरेर कृपा गर्नुभयो जसको उद्देश्य उनीहरूको परीक्षा लिनु थियो कि को उहाँप्रति आभार प्रकट गर्छ । निस्सन्देह अल्लाह तिमीहरूका दुआ तथा कुराहरू सुन्नुहुन्छ र तिमीहरूका सुकर्म तथा दुष्कर्म जान्नुहुन्छ । १८. बहुदेववादीहरूको पराजय तथा मोमिनहरूलाई विजय प्रदान गरेर उनीहरूमाथि अल्लाहले नै कृपा गर्नुभयो, उहाँ काफिरहरूको चलखेललाई कमजोर पार्नुहुन्छ जो इस्लामविरुद्ध जोडतोड गरिराख्छन् ।१९. हे बहुदेववादीहरू हो ! अत्याचारीहरूमाथि अल्लाहले आपदा अवतरित गरुन् भनी तिमीहरूको माग थियो भने उहाँले तिमीहरूको माग अनुसार आफ्नो आपदा तिमीहरूमाथि अवतरित गर्नुभयो, यसमा तिमीहरूका लागि सजाय छ भने ईशभय राख्नेहरूका लागि पाठ छ । यदि तिमीहरू यस्तो माग गर्नबाट रोकिन्छौ भने यही तिमीहरूका लागि राम्रो हुनेछ । सम्भवतः उहाँले अवसर दिनुहुनेछ र तिमीहरूबाट बदला लिनुहुने छैन । यदि फेरि त्यही माग दोहोर्याउँछौ र मोमिनहरूविरुद्ध युद्ध गर्छौ भने हामी फेरि तिमीहरूलाई यातना दिनेछौं र मोमिनहरूको मद्दत गर्नेछौं । तिमीहरूको ठूलो जत्था, भारी हात हतियार तथा मोमिनहरूको सानो संख्यँले तिमीहरूलाई कुनै फाइदा दिने छैन । अल्लाहको मद्दत मोमिनहरूका साथमा छ र जसको साथमा अल्लाहको मद्दत छ उसलाई कसैले पराजित गर्न सक्दैन ।२०. हे मोमिनहरू हो ! अल्लाहको आदेशको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यलाई त्यागेर अल्लाह एवं उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गर । उहाँको आदेशको उल्लङ्घन गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्य गरेर उहाँबाट विमुख न होऊ जब कि तिमीहरू आयतहरू सुनिरहेका छौ ।२१. हे मोमिनहरू हो ! तिमी बहुदेववादी तथा मुनाफिकहरू जस्तो न बन जो अल्लाहका आयतहरू सुनेपछि भन्छन्- हामीले पाठ गरिएका आयतहरू आफ्नो कानले सुन्यौं जबकि तिनीहरूले त्यसमा चिन्तन मनन गर्दैनन् र त्यसबाट उपदेश ग्रहण गरी सुन्दैनन् कि त्यसबाट फाइदा उठाउन सकुन् । २२. निस्सन्देह अल्लाहको दृष्टिमा धर्तीमा हिँडडोल गर्ने प्राणीहरूमध्ये सबैभन्दा निकृष्ट ती बहिराहरू हुन् जो सत्य धर्म इस्लामलाई स्वीकार गर्ने गरी सुन्दैनन्, लाटाहरू हुन् जो बोल्दैनन् । यिनीहरू नै हुन् जो अल्लाहका आदेशहरू तथा उहाँले मनाहि गर्नुभएका कुराहरू जान्दैनन् ।२३. यदि अल्लाहले यी झूटा ठहर गर्ने बहुदेववादीहरूभित्र कुनै भलाइ जान्नु भएमा अवश्य नै तिनीहरूलाई सुन्ने योग्य बनाउनुहुन्थ्यो जसले गर्दा तिनीहरू फाइदा उठाउने थिए र प्रमाणहरूलाई बुझ्ने थिए । तिनीहरूभित्र कुनै भलाइ छैन भन्ने कुरा अल्लाहलाई थाहा छ । मानौँ यदि अल्लाहले तिनीहरूलाई सुन्ने शक्ति प्रदान गर्नुहुन्छ भने तिनीहरू शत्रुताले गर्दा ईमानबाट विमुख हुन पुग्छन् ।२४. हे आस्थावानहरू हो ! अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष आत्मसमर्पण गर्दै उनीहरूका आदेशहरूलाई स्वीकार गर । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तिमीहरूलाई यस्तो कार्यका लागि बोलाउनुहुन्छ जसमा तिमीहरूको वास्तविक जीवन छ । विश्वास राख अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । यदि तिमीहरू सत्यलाई अस्वीकार गरेपछि त्यसलाई स्वीकार गर्न खोज्छौ भने त्यसबीच पनि उहाँ पर्दा हाल्ने सामर्थ्य राख्नुहुन्छ । अतः उहाँतर्फ रुजु गर र यस कुरामा विश्वास गर कि महाप्रलयको दिन तिमीहरू मात्र उहाँसमक्ष भेला गराइनेछौ । अनि उहाँले तिमीहरूलाई तिमीहरूले संसारमा गरेको कर्मको बदला दिनुहुनेछ ।२५. सावधान हे मोमिनहरू हो ! यस्तो यातनाबाट जो तिमीहरूमध्ये अवज्ञाकारीहरूलाई होइन बरु अरूलाई पनि दिइनेछ । यो त्यतिखेर हुन्छ जब अत्याचार हावी हुन्छ र यसमा बदलाव आउँदैन । विश्वास गर अल्लाह अवज्ञाकारीहरूका लागि कठोर दण्डदाता हुनुहुन्छ । अवज्ञाबाट सावधान !२६. हे मोमिनहरू हो ! याद गर त्यस समयलाई जब तिमीहरू मक्का नगरमा अल्पसंख्यक थियौ; त्यहाँका बासीहरूले तिमीहरूलाई कमजोर बनाएर राखेका थिए, तिमीहरूमाथि अत्याचार गर्थे, तिमीहरूलाई तिमीहरूका शत्रुहरूले समात्नेछन् भनी डराउँथ्यौ अनि अल्लाहले तिमीहरूलाई मदीनामा शरण प्रदान गर्नुभयो, बद्र इत्यादि युद्धमा उहाँले तिमीहरूलाई शत्रुहरूविरुद्ध सहयोग गरेर तिमीहरूलाई सशक्त बनाउनुभयो । उहाँले पवित्र वस्तुहरू प्रदान गर्नुभयो ती मध्ये युद्धमा प्राप्त भएको धन पनि हो जो तिमीहरूले शत्रुहरूबाट प्राप्त गर्यो ताकि तिमीहरूले अल्लाहप्रति उहाँले प्रदान गर्नुभएका कृपाहरूबापत आभार प्रकट गर अनि उहाँले तिमीहरूलाई अझै प्रदान गर्नुहुनेछ । उहाँप्रति कृतघ्नता प्रकट न गर नत्र उहाँले आफ्नो कृपालाई फिर्ता लिनुहुनेछ र तिमीहरूलाई यातना दिनुहुनेछ ।२७. हे मोमिनहरू हो ! अल्लाहका आदेशहरूको उल्लङ्घन गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरू गरेर अल्लाह एवं रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग विश्वासघात न गर र आफ्नो नासोहरू जस्तै रिण इत्यादिमा हिनामिना पनि न गर । यदि तिमीहरू हिनमिना गर्छौ भने तिमीहरूको गणना पनि विश्वासघातीहरूमा हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहै छ । धन-सम्पत्ति तथा सन्तानको मोह मायाले मानिसलाई हिनमिना गर्न प्रेरित गर्छ, त्यसैले यी परीक्षा सामग्री हुन् भन्ने कुरासित अल्लाहले सूचित गर्दै भन्नुभयोः२८. हे मोमिनहरू हो ! जानिराख तिमीहरूका धन-सम्पत्ति तथा सन्तानहरू अल्लाहको तर्फबाट परीक्षा तथा उत्पीडन हुन्, यसले आखिरतका कर्म गर्नबाट रोक्छ, हिनामिना गर्न प्रेरित गर्छ । जानिराख ! अल्लाहकहाँ ठूलो पुण्य छ । अतः आफ्ना धन-सम्पत्ति तथा सन्तानमा बढी लिप्त भएर पुण्यलाई बर्बाद न पार । २९. हे मोमिनहरू हो ! यदि तिमीहरू अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूलाई छोडर उहाँसँग डराउँछौ भने उहाँले तिमीहरूभित्र सत्य तथा असत्यबीच फरक छुट्याउने क्षमता प्रदान गर्नुहुनेछ, दुष्कर्महरूलाई मेटाउनुहुनेछ र पापहरूलाई माफ गर्नुहुनेछ । अल्लाह महान वरदानवाला हुनुहुन्छ जसमध्ये स्वर्ग पनि हो जसलाई उहाँले आफ्ना ईशभय राख्ने भक्तहरूका लागि तयार पार्नुभएको छ ।३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब बहुदेववादीहरूले तपाईंलाई बन्दी बनाएर वा हत्या गरेर वा देश-निकाला गरेर तपाईंविरुद्ध षड्यन्त्र रचेका थिए । तिनीहरू आफ्नो चलखेल गर्दैथिए र अल्लाह आफ्नो योजना बनाउदै हुनुहुन्थ्यो, अल्लाह नै सर्वोत्तम योजनाविद् हुनुहुन्छ ।३१. जब तिनीहरूसमक्ष हाम्रा आयतहरूको पाठ गरिन्छ तब तिनीहरू शत्रुताले गर्दा भन्छन्– अँ, हामीले यस प्रकारका आयतहरू पहिला पनि सुनि सकेको छौं । कुर्आनमा रहेका वाणी जस्तै हामी पनि बनाउन सक्छौं । हामीले सुनेको कुर्आनमा मात्र अतीतका झूटा कथाहरू छन्, त्यसैले हामी यसमा कदापि ईमान ल्याउने छैनौं । तिनीहरू इन्कारमा अति कठोर भएकोले यो कुरा भने । ३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्ल) ! याद गर्नुहोस् जब बहुदेववादीहरूले भने– हे अल्लाह ! यदि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको यो कुर्आन तपाईंको तर्फबाट नितान्त सत्य हो भने हामीलाई सखाप पार्नको लागि आकाशबाट ढुङ्गा बर्साउनुहोस् वा कुनै दुःखदायी यातना पठाउनुहोस् । ३३. तर हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम)! तपाईं तिनीहरूबीच रहुन्जेल वा उनीहरूले क्षमायाचना गरिरहुन्जेल अल्लाहले तपाईंको समुदायलाई सखाप पार्ने गरी यातना दिनु हुने छैन चाहे ईमान ल्याएको समूह होस् वा ईमान न ल्याएको समूह होस् । तपाईंको उपस्थितीले गर्दा तिनीहरूका लागि सुरक्षा छ ।३४. तिनीहरूलाई अब कसले सजायबाट बचाउनेछ जब कि तिनीहरूले मानिसहरूलाई मस्जिदे हराममा तवाफ (परिक्रमा) तथा सलाहबाट रोकेर यातनालाई निम्त्याएका छन् ? बहुदेववादीहरू अल्लाहका संरक्षक-मित्र होइनन् बरु ईशभय राख्नेहरू अल्लाहका संरक्षक-मित्र हुन्, जो उहाँका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसँग डराए, तर तिनीहरूमध्ये अधिकांशलाई थाहा नै छैन ।३५. मस्जिदे हराम नजिक बहुदेववादीहरूको सलाह सुसेल्नु तथा ताली पिट्नुबाहेक अन्य केही थिएन । हे बहुदेववादीहरू ! अब अल्लाहको इन्कार तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूटो ठहर गरेको कारणले बद्रको दिन हत्या तथा कैदको यातना चाख । ३६. काफिरहरू मानिसहरूलाई अल्लाहको धर्मबाट रोक्नको लागि आफ्नो धन-सम्पत्ति खर्च गर्छन् । तिनीहरूले अझ खर्च गर्नेछन् तर तिनीहरूले खोजेको योजनामा सफल हुन सक्दैनन् । अन्ततः त्यो प्रयास तिनीहरूका लागि पश्चातापको कारण बन्नेछ, किनभने तिनीहरूले गरेको खर्च तथा योजना खेर जानेछन् । फेरि तिनीहरू मोमिनहरूबाट पराजित हुनेछन् । काफिरहरू महाप्रलयको दिन नर्कतर्फ हाँकिएर एकत्रित गरिनेछन् अनि सधैँको लागि नर्कमा होमिनेछन् ।३७. अल्लाहको मार्गबाट रोक्नको लागि खर्च गर्ने काफिरहरू नर्कको आगोतर्फ हाँकिएर लगिनेछन् ताकि अल्लाहले अपवित्र काफिरहरू तथा पवित्र मोमिनहरूबीच निर्णय गरुन् र अपवित्र व्यक्ति, कर्म तथा धन-सम्पत्ति एक अर्कामाथि राखेर जम्मा पारुन् अनि त्यस थुप्रोलाई नर्कमा होमिदिउन् । यस्ता मानिसहरू नै घाटा खानेहरू हुन् किनभने तिनीहरूले महाप्रलयको दिन आफूलाई तथा आफ्नो परिवारलाई घाटामा पारे ।३८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो समुदायका काफिरहरूलाई भनिदिनुहोस्– यदि तिनीहरू अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को कुफ्र तथा मोमिनलाई अल्लाहको मार्गबाट रोक्न छोड, अल्लाहले तिनीहरूलाई तिनीहरूका अघिल्ला पापहरू माफ गर्नुहुनेछ, इस्लामले अघिल्ला कर्महरूलाई समाप्त पार्छ । यदि इस्लाम ल्याएपछि फेरि कुफ्रतर्फ फर्कन्छौ भने अल्लाहले चाँडै नै आफ्नो कानुन अनुसार आपदा पठाउनुहुनेछ । ३९. हे मोमिनहरू हो ! तिमीहरू आफ्ना काफिर शत्रुहरूविरुद्ध युद्ध गर यहाँसम्म कि शिर्क तथा धर्मको मामिलामा मुस्लिमहरूको बाधा समाप्त होओस् तथा धर्म तथा आज्ञापालन पूर्णरूपमा मात्र अल्लाहकै लागि भइहालोस् जसको कोही साझेदार छैन । यदि तिनीहरूले शिर्क तथा मुस्लिमहरूलाई अल्लाहको मार्गबाट रोक्न छोड्छ भने तिनीहरू विरुद्ध युद्ध न गर । अल्लाहले तिनीहरूको कार्यलाई देखिराख्नुभएको छ, कोही गुप्त रहने उहाँबाट लुकेर रहन सक्दैन ।४०. यदि तिनीहरू कुफ्र तथा मुस्लिमहरूलाई सीधा मार्गबाट रोक्ने कार्य गर्न छोड्दैनन् भने हे मोमिनहरू हो ! तिमीहरू विश्वास गर अल्लाह तिनीहरूविद्ध तिमीहरूका सहयोगी हुनुहुन्छ । कत्ति सर्वोत्तम संरक्षक-मित्र एवं सहायक हुनुहुन्छ उहाँ ! उहाँ जसलाई संरक्ष दिनुहुन्छ र मद्दत गर्नुहुन्छ ऊ सफल तथा विजयी हुन्छ ।४१. हे मोमिनहरू हो ! जानिराख ! अल्लाहको मार्गमा जिहाद गर्दा काफिरहरूमाथि विजय प्राप्त गरेपछि जे जति शत्रु-धन तिमीहरूले प्राप्त गरेका छौ त्यसलाई पाँच भागमा बाँड्नुपर्छ । जसमध्ये चार भाग मुजाहिदहरूबीच बाँड्नुपर्छ र एक भागलाई पाँच भागमा बाँड्नुपर्छ, एकभाग अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को लागि, जसलाई मुस्लिमहरूको जनहितको कार्यमा खर्च गरिनेछ, एक भाग नबी (सल्लाहु अलैहि व सल्लम) का नातेदार बनू हाशिम तथा बनू मुत्तलिबमा, एक भाग अनाथहरूमा, एक भाग निर्धनहरूमा र एक भाग बाटो बिराएका यात्रुहरूमा बाँडिनेछ । यदि तिमीहरूले अल्लाह र बद्रको दिन मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित भएको सहयोगमाथि ईमान राख्छौ भने उक्त आदेशहरूको पालना गर । अल्लाहले बद्रको युद्धमा शत्रुहरूको मुकाबिलामा तिमीहरूको मद्दत गरेर सत्य एवं असत्यबीच फरक छुट्याउनुभयो । यस्तो मद्दत गर्ने अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्नुहुन्छ । ४२. याद गर जब तिमीहरू मदीनानजिक उपत्यकाको निकटतम किनारामा थियौ र बहुदेववादीहरू मक्का नजिक टाढाको किनारामा थिए र सर-सामान लादिएका ऊँटको समूह लालसागर नजिक तिमीहरूभन्दा तल थियो । यदि तिमीहरू तथा बहुदेववादीहरूले बद्रको मैदानमा परस्पर मिल्ने वचन दिएको भए निर्धारित समयमा पुग्न सक्दैन थियो, तर अल्लाहले बिना वचन बद्रको मैदानमा जम्मा गराउनुभयो, ताकि एउटा हुनै पर्ने काम पूरा गरुन, त्य थियो मोमिनहरूको मद्दत, काफिहरूको अपमान, धर्मलाई बलियो पार्नु तथा शिर्कलाई अपमानित पार्नु, ताकि जसले विनष्ट हुनुछ त्यो प्रत्यक्ष प्रमाणसाथ विनष्ट होस् र जसले जीवित रहनुछ त्यो स्पष्ट प्रमाणसाथ जीवित रहोस् । निश्चय नै अल्लाह सबैका कुराहरू सुन्नुहुन्छ र सबैले गरेको काम जान्नुहुन्छ र त्यसको बदला चाँडै नै दिनुहुनेछ ।४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) हो ! तपाईं तथा मोमिनहरूमाथि भएको कृपाहरूलाई याद गर्नुहोस्, जब अल्लाहले तपाईंलाई सपनामा बहुदेववादीहरूको संख्याँ कम गरेर देखाउनुभयो । तपाईंले यो कुरा मोमिनहरूलाई बताउनुभयो अनि उनीहरू खुशी भए, जसले गर्दा शत्रुहरूको मुकाबिलाको लागि उनीहरूको मनोबल बढयो । यदि अल्लाहले तिनीहरूको संख्या बढी देखाउनुभएको भए अवश्य नै तपाईंका साथीहरूका साहस गुम्ने थियो । यस विषयमा झगडा गर्ने थियौ र उनीहरू युद्ध गर्नबाट डराउनेथिए । तर अल्लाहले तिमीहरूलाई त्यसबाट सुरक्षित राख्नुभयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को नजरमा कम देखाउनुभयो । कुन कुराहरूबाट हृदयमा डर पैदा हुन्छ भन्ने कुरा अल्लाह जान्नुहुन्छ । ४४. हे मोमिनहरू हो ! याद गर जब तिमीहरूको बहुदेववादीहरूसँग मुठभेड हुँदा अल्लाहले तिनीहरूलाई तिमीहरूको दृष्टिमा कम संख्यामा देखाउनुभयो र यसरी तिनीहरूविरुद्ध आक्रमण गर्ने साहस प्रदान गर्नुभयो । तिमीहरूलाई तिनीहरूको दृष्टिमा कम संख्याँमा देखाउनुभयो ताकि तिनीहरूले आक्रमण गरुन् र फर्कनेबारे न सोचुन् ताकि बहुदेववादीहरूलाई हत्या गरी तथा कैदी बनाइ बदला लिएर तथा मोमिनहरूमाथि कृपा गरी तथा शत्रुहरू विरुद्ध मद्दत गरी हुनै पर्ने काम अल्लाहले पूरा गरुन । सम्पूर्ण मामिलाहरू अल्लाहतर्फ नै फर्काइनेछन् अनि अल्लाहले दुष्कर्मीहरूलाई तिनीहरूको दुष्कर्मको सजाय देउन् र सुकर्मीहरूलई उनीहरूको सुकार्यको बदला देउन् । ४५. हे मोमिनहरू हो ! काफिरहरूको समूहसँग तिमीहरूको मुठभेड हुँदा अडिग रहने गर, अल्लाहलाई धेरै जप गर्ने गर तथा उहाँसँग दुआ गर्ने गर, आशा छ उहाँले तिमीहरूले खोजेको वस्तु दिनुहुनेछ र डराइ रहने कुराबाट जोगाउनुहुनेछ ।४६. आफ्नो भनाई, गराई तथा हरेक अवस्थामा अल्लाह एवं उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गर र परस्पर विभेद न गर । आपसी विभेदले तिमीहरूलाई कमजोर पार्नेछ । शत्रुहरूसँग मुठभेड हुँदा अडिग रहने गर । निश्चय नै अल्लाहको मद्दत तथा समर्थन धैर्यवानहरूका साथमा छ र अल्लाहको मद्दत जसको साथमा हुन्छ ऊ पक्कै विजयी हुन्छ ।४७. तिमीहरू बहुदेववादीहरू जस्तो न बन जो मक्काबाट घमण्ड गर्दै तथा मानिसहरूलाई देखाउँदै निस्के, जो अल्लाहको धर्ममा प्रवेश गर्नबाट मानिसहरूलाई रोक्छन् । जुन कार्य तिनीहरू गर्दैछन् त्यो अल्लाहको नियन्त्रणभन्दा बाहिर छैन । तिनीहरूका कर्महरू अल्लाहबाट गोप्य छैन, उहँले चाँडै नै तिनीहरूको कर्मको बदला दिनुहुनेछ । ४८. हे मोमिनहरू हो ! अल्लाहको कृपालाई याद गर जब शैतानले बहुदेववादीहरूलाई तिनीहरूका क्रियाकलाप शोभनीय बनाएर देखायो र मुस्लिमहरूविरुद्ध युद्ध गर्न प्रेरित गर्यो र भन्यो– आज कोही पनि तिमीहरूमाथि विजयी हुन सक्दैन र म तिमीहरूको सहयोगी छु । तर जब मोमिनहरूको दल जोसँग फरिश्ताहरू थिए र बहुदेववादीहरूको दल जोसँग शैतान थियो, बीच मुठभेड भयो तब शैतान पिठ्यूँ फर्काएर भाग्दै भन्यो– तिमीहरूसँग मेरो कुनै सरोकार छैन । म मोमिनहरूको मद्दतको लागि आएका फरिश्ताहरूलाई देख्दैछु । मलाई अल्लाहले नष्ट पार्नुहुन्छ भन्ने डर लागिरहेको छ, अल्लाहले कठोर यातना दिनुहुनेछ, उहाँको यातनालाई कोही सहन गर्न सक्दैन । ४९. याद गर जब मुनाफिकहरू तथा हृदय-रोगी मानिसहरूले भने– यी मुस्लिमहरूलाई यिनीहरूको धर्मले धोकामा पारेको छ, जोसँग अल्लाहले मद्दत गर्ने वाचा गर्नुभएको छ, जब कि यिनीहरू कम संख्याँमा छन्, हात हतियार पनि कम छ, शत्रुहरूको संख्याँ धेरै छ र तिनीहरूसँग हातहतियार पनि धेरै छ । जो मात्र अल्लाह तथा उहाँको मद्दतमाथि भरोसा गर्छ निस्सन्देह अल्लाह उनीहरूको मद्दत गर्नुहुनेछ भन्ने कुरा यी मुनाफिकहरूलाई थाहा छैन, उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँमाथि विजयी हुन सक्दैन, उहाँ भाग्य निर्धारित गर्न तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले त्यो स्थिति हेर्न सक्नु भएको भए जब फरिश्ताहरू काफिरहरूको मुख तथा ढाडमा हिर्काउँदै प्राण लुछ्दै थिए र भन्दै थिए– काफिरहरू हो ! चाख आगोको यातना ! यदि तपाईंले त्यो स्थिती हेर्नु भएको भए अति ठूलो मामिला हेर्नु हुनेथियो । ५१. हे काफिरहरू हो ! यो यातना तिमीहरूको आत्मा निकाल्दा खेरी दिइनेछ र चिहान तथा आखिरतमा आगोको यातना दिइनेछ, तिमीहरूका हातले संसारमा गरेका कार्यहरूले गर्दा यस्तो यातना हुनेछ । निस्सन्देह अल्लाह आफ्ना भक्तहरूमाथि अत्याचार गर्नुहुन्न, उहाँ निसाफका साथ निर्णय गर्नुहुन्छ किनभने उहाँ न्यायी हुनुहुन्छ ।५२. यस्तो यातना यी काफिरहरूलाई मात्र होइन, अल्लाहको कानुन अनुसार हेरक युग तथा हरेक स्थानका काफिरहरूलाई दिइएको थियो । फिर्औनको समुदाय तथा तिनीहरूभन्दा अघिका समुदायहरूले पनि जब अल्लाहका निशानीहरूलाई अस्वीकार गरेका थिए तब उहाँले तिनीहरूलाई तिनका पापहरूको कारणले बेस्सरी समात्नुभएको थियो र कडा यातना दिनुभएको थियो । निस्सन्देह अल्लाह शक्तिशाली हुनुहुन्छ कोही उहाँमाथि विजयी हुन सक्दैन, साथै उहाँ अवज्ञाकारीहरूका लागि कठोर दण्डदाता हुनुहुन्छ ।५३. यो कडा यातना त्यतिखेर दिइन्छ जब कुनै समुदाय अल्लाहले प्रदान गर्नुभएको ईमान, सत्कर्म तथा कृपाप्रति आभार व्यक्त गर्ने अवस्थालाई कुफ्र, अवज्ञा तथा कृतघ्नतामा परिवर्तित गरिदिन्छ । निस्सन्देह अल्लाह आफ्ना भक्तहरूका कुराहरू सुन्नुहुन्छ, उनीहरूका कर्महरूलाई जान्नुहुन्छ र उहाँबाट कुनै पनि वस्तु लुकेको छैन ।५४. तिनीहरूको अवस्था फिर्औनको समुदाय तथा तिनीहरूभन्दा अघिका समुदाय जस्तो छ, तिनीहरूले आफ्ना पालनकर्ताका निशानीहरूलाई झुटो ठहर गरे अतः अल्लाहले तिनीहरूका अवज्ञाको कारणले तिनीहरूलाई नष्ट पार्नुभयो । अल्लाहले फिर्औनको समुदायलाई समुद्रमा चुर्लुम्मै डुबाएर नष्ट पार्नुभयो । तिनीहरू सबैले शिर्क तथा कुफ्र गरेकाले अत्याचारी भए त्यसैले तिनीहरू अल्लाहको यातनाको शिकार भए ।५५. निस्सन्देह अल्लाहको दृष्टिमा संसारका सबै प्राणीहरूमध्ये सबैभन्दा निकृष्ट काफिरहरू हुन्, जोसमक्ष जस्तो सुकै निशानी आए पनि तिनीहरूले ईमान ल्याउने छैनन् । कुफ्रमा जिद्दी गरेको कारणले तिनीहरूका आँखा, कान तथा बुद्धिले काम गरिराखेका छैनन् । ५६. बनू कुरैजा इत्यादि जोसँग तपाईंले सन्धि गर्नुभएको छ फेरि हरेक पटक तिनीहरू सन्धि भङ्ग गर्छन्, अल्लाहसित अलिकति पनि डराउँदैनन् र सन्धिको पालना गर्दैनन्, ५७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि युद्धमा तिनीहरू भेट्टाछन् भने तपाईं यति कडा सजाय दिनुहोस् कि तिनीहरूको खबर पछि रहेका व्यक्तिहरूमा फैलियोस् ताकि तिनीहरूले शिक्षा ग्रहण गरुन् र तपाईंका शत्रुहरूमा रुवाफ कायम होस् ।५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुनै सन्धि गरिएका समुदायको तर्फबाट यदि तपाईंलाई विश्वासघातको आशङ्का छ भने तिनीहरूसँगको सन्धि बराबरीको तवरले भङ्ग गरिदिनुहोस् । निश्चय नै अल्लाह विश्वासघातीहरूलाई मन पराउनुहुन्न, बरु घृणा गर्नुहुन्छ, अतः विश्वासघातबाट सावधान !५९. काफिरहरू अल्लाहको आपदाबाट बचिसकेका छन् भन्ने कुरा कदापि नठानुन् । तिनीहरू अल्लाहको आपदाबाट बचेका छैनन् । आपदाले अवश्य नै तिनीहरूलाई समात्नुहुनेछ ।६०. हे मोमिनहरू हो ! तिमीहरू तिनीहरूविरुद्ध बढीभन्दा बढी सैन्य शक्ति तथा हात हतियार तयार पार, जस्तै तीर । तिमीहरू तिनीहरूविरुद्ध अल्लाहको मार्गमा घोडा पनि तैयार पार, ताकि त्यसबाट तिमीहरू अल्लाहका शत्रु र आफ्ना शत्रुहरूलाई डराऊ, यस्ता काफिर शत्रुहरू जो तिमीहरूको बर्बादीको प्रतीक्षामा छन् । तिनीहरूबाहेक अन्य शत्रुहरूलाई पनि डराऊ जसलाई तथा जसका शत्रुतालाई तिमीहरू जान्दैनौ, मात्र अल्लाहलाई थाहा छ । तिमीहरूले अल्लाहको मार्गमा जे पनि कम बेस खर्च गर्नेछौ त्यसलाई उहाँले संसारमा दिनुहुनेछ र बिना कमि पूरा पूरा बदला आखिरतमा दिनुहुनेछ । अतः अल्लाहको मार्गमा खर्च गर्न प्रतिस्प्रधा गर ।६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरू युद्ध छोडेर सन्धि गर्न चाहन्छन् भने तपाईं पनि त्यसका लागि तयार हुनुहोस्, तिनीहरूसँग सन्धि गर्नुहोस् र अल्लामाथि भरोसा गर्नुहोस् । उहाँले तपाईंलाई कदापि अपमानित गर्नुहुने छैन । निश्चय नै अल्लाह तिनीहरूका कुरा सुन्नहुन्छ र तिनीहरूका नियत तथा कार्य जान्नुहुन्छ ।६२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरूले सन्धि गर्ने तथा युद्ध न गर्ने बहानामा तपाईंलाई धोका दिन खोज्छन् भने तपाईंका लागि अल्लाह नै पर्याप्त हुनुहुन्छ । उहाँले तपाईंलाई तथा मुहाजिर एवं अन्सार मोमिनहरूलाई मद्दत गरेर तपाईंलाई शक्ति प्रदान गर्नुभयो ।६३. अल्लाहले नै मोमिनहरूका हृदयलाई जोडेर तपाईंलाई शक्ति प्रदान गर्नुभयो, जब कि पहिला उनीहरूबीच मतभेद थियो । यदि तपाईंले धर्तीका सम्पूर्ण सम्पत्ति खर्च गर्नुभए ता पनि उनीहरूका हृदय जोड्न सक्नुहुन्न थियो, तर अल्लाहले एक्लै तिनीहरूबीच प्रेम उत्पन्न गर्नुभयो । निस्सन्देह सत्ता-शासन चलाउनमा उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँमाथि प्रभुत्व जमाउन सक्दैन, उहाँ भाग्य निर्धारण, कार्य सञ्चालन तथा कानु बनाउनमा विवेकशील हुनुहुन्छ ।६४. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई शत्रुहरूको दुष्टताबाट जोगाउनको लागि अल्लाह प्रयाप्त हुनुहुन्छ र तपाईंसँग रहेका मोमिनहरू तपाईंका लागि पर्याप्त छन्, अतः अल्लाहमाथि भरोसा गर्नुहोस् ।६५. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिनहरूलाई युद्धका लागि प्रेरित गर्नुहोस् र हौसला बढाउनुहोस् । हे मोमिनहरू हो ! तिमीहरूमध्येका बीस जना धैर्यवान दुई सय जना काफिरहरूविरुद्ध युद्ध गरेर विजयी हुनेछन् र तिमीहरूका सय जना धैर्यवान एक हजार काफिरहरूविरुद्ध युद्ध गरेर विजयी हुनेछन् । किनभने काफिरहरू यस्ता समुदाय हुन् जो अल्लाहको यस कानुनलाई जान्दैनन् कि अल्लाह कसरी मोमिनहरूको मद्दत गर्नुहुन्छ र शत्रुहरूलाई परास्त गर्नुहुन्छ । तिनीहरू युद्धको उद्देश्य पनि जान्दैनन्, मात्र सांसारिक सत्ताको लागि युद्ध गर्छन् ।६६. हे मोमिनहरू हो ! अब अल्लाहले तिमीहरूभित्र आएको कमजोरीले गर्दा कृपा गर्दै तिमीहरूमाथिको जिम्मेबारी कम गर्नुभएको छ । अतः अब तिमीहरूमध्ये एक जनाले दस जनासमक्ष होइन मात्र दूई जनासमक्ष अडिग रहनुपर्छ । तिमीहरूका सय जना धैर्यवान दुई सय जना काफिरहरूविरुद्ध र तिमीहरूका एक हजार धैर्यवान दुई हजार काफिरहरूविरुद्ध युद्धमा अल्लाहको आदेशले विजयी हुनेछन् । अल्लाहको मद्दत धैर्यवान मोमिनहरूकासाथ छ ।६७. युद्ध गर्ने काफिरहरूलाई धेरै हत्या गर्नुअघि नै तिनीहरूलाई बन्दी बनाउन् नबी (सल्लल्लाहु अलैहि व सल्लम) को लागि उचित छैन, ताकि तिनीहरू भित्र रुवाफ उत्पन्न होस् र तिनीहरू फेरि युद्धको लागि न आउन् । हे मोमिनहरू हो ! तिमीहरू बद्रका बन्दीहरूबाट अर्थ-दण्ड लिएर सांसारिक लाभ चाहन्छौ जबकि अल्लाह आखिरतको भलो चाहनुहुन्छ जो धर्मको मद्दत गरेर तथा त्यसलाई बलियो बनाएर प्राप्त हुनेछ । अल्लाह आफ्नो अस्तित्व, गुण तथा शासनमा प्रभुत्वशाली हुनुहुन्छ, उहाँमाथि कसैले प्रभुत्व जमाउन सक्दैन । उहाँ भाग्य निर्धारण गर्न तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।६८. यदि अल्लाहको यो आदेश कि अन्फाल तथा कैदीहरूबाट लिइने अर्थ-दण्ड लिन हलाल हुने कुरा पहिले नै लेखिएको भए जे अन्फाल तथा कैदीहरूबाट अर्थ-दण्ड तिमीहरूले लियौ त्यसले गर्दा तिमीहरूलाई कठोर यातना दिइने थियो । किनभने तिमीहरूले वही अवतरण हुनुअघि नै अन्फाल तथा कैदीहरूबाट अर्थ-दण्ड लियौ । ६९. हो मोमिनहरू हो ! तिमीहरूले काफिरहरूबाट जुन युद्धमा प्राप्त भएको शत्र-धन लिएका छौ त्यो तिमीहरूका लागि हलाल हो, त्यसलाई खाऊ । अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूलाई त्यागेर उहाँसँग डराऊ । निस्सन्देह अल्लाह आफ्ना मोमिमन भक्तहरूलाई माफ गर्नुहुन्छ र दया गर्नुहुन्छ ।७०. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! बद्रको दिन तपाईंको कब्जामा आएका बहुदेववादी बन्दीहरूलाई भनिदिनुहोस्– यदि अल्लाहले तिमीहरूको हृदयमा कुनै राम्रो भावना देख्नु भएको भए जुन धन तिमीहरूबाट लिइएको छ त्यसभन्दा उत्तम तिमीहरूलाई प्रदान गर्नुहुनेछ । तिमीहरूबाट जे पनि लिइएको छ त्यसप्रति चिन्ता न गर । अल्लाह तिमीहरूका पापहरूलाई माफ गर्नुहुनेछ किनभने उहाँ आफ्ना भक्तहरूलाई माफ गर्नुहुनेछ र दया गर्नुहुनेछ । नबी (सल्लल्लाहु अलैहि व सल्लम) का इस्लाम ल्याएका काका अब्बास (रजि.) इत्यादिलाई माफ गरेर अल्लाहले आफ्नो यो वाचा पूरा गर्नुभयो । ७१. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरूले तपाईंसँग विश्वासघात गर्न चाहन्छन्, जस्तो कि तिनीहरूको कुराबाट स्पष्ट हुन्छ भने यसअघि तिनीहरूले अल्लाहसँग पनि विश्वासघात गरिसकेका छन् र अल्लाहले तिनीहरूविरुद्ध तपाईंको मद्दत गरिसक्नुभएको छ, अनि तिनीहरूमध्ये केही हताहत भए र केही बन्दी बनाइए । यदि फेरि त्यस्तै कार्य गर्छन् भने तिनीहरूले त्यस्तै परीणामको प्रतीक्षा गर्नुपर्छ । अल्लाह आफ्नो सृष्टि तथा त्यसमध्ये ठीकलाई जान्नुहुन्छ र विवेकपूर्ण तरिकाले कार्य सञ्चालन गर्नुहुन्छ ।७२. अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याएर तथा आफ्ना धन-सम्पत्ति तथा ज्यानले अल्लाहको मार्गमा युद्ध गरेका मुहाजिरहरू तथा उनीहरूलाई घरबार तथा आश्रय दिएका अन्सार वास्तवमा परस्पर संरक्षक-मित्र हुन् । तर यस्ता व्यक्तिहरू जसले ईमान त ल्याए तर घरबार त्यागी इस्लामी राज्यमा आएनन् उनीहरू जबसम्म घरबार त्यागेर आउँदैनन् हे मोमिनहरू हो ! तबसम्म उनीहरूको संरक्षणको कुनै जिम्मेवारी तिमीहरूमाथि छैन । तर यदि काफिरहरूले उनीहरूमाथि अत्याचार गर्छन् र उनीहरू तिमीहरूसँग मद्दत माग्छन् भने उनीहरूको सहयोग गर । तर यदि तिमीहरूबीच र उनीहरूका शत्रुहरूबीच सम्झौता कायम छ भने उनीहरूको मद्दत न गर । अल्लाहले तिम्रा सम्पूर्ण कार्यहरूलाई हेरिराख्नुभएको छ, तिमीहरूको कुनै पनि कार्य उहाँबाट गोप्य छैन र उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।७३. काफिरहरू एक अर्काका सहयोगी-मित्र हुन्, मोमिनहरूले तिनीहरूलाई घनिष्ट मित्र बनाउँदैनन् । यदि मोमिनहरूले मोमिनहरूलाई घनिष्ट मित्र बनाउँदैनन् र काफिरहरूलाई शत्रु बनाउँदैनन् भने यो मोमिनहरूको लागि उत्पिडन हुनेछ, किनभने यस्तो अवस्थामा मोमिनहरूको आफ्नै मोमिन दाजु भाइहरू उनीहरूको सहयोगी रहदैनन् । यदि तिमीहरूले यसो गरेनौ भने अल्लाहको मार्गमा बाधा उत्पन्न भएर धर्तीमा उपद्रव तथा ठूलो विध्वंस मच्चिनेछ ।७४. अल्लाहमाथि ईमान ल्याएर उहाँको मार्गमा स्वदेशलाई त्यागेका मुहाजिरहरू तथा उनीहरूलाई आश्रय दिएर सहयोग गरेका अन्सार नै सच्चा मोमिन हुन् । अल्लाहले उनीहरूका पापहरूलाई माफ गर्नुहुनेछ, उत्कृष्ट जीविका तथा स्वर्ग प्रदान गर्नुहुनेछ । ७५. हे मोमिनहरू हो ! मुहाजिर तथा अन्सार पछि ईमान ल्याएर घरबार त्यागेका, अल्लाहको वाणीलाई उच्च पार्ने तथा कुफ्रको वाणीलाई तल पार्ने तिमीहरूसँग मिलेर युद्ध गरेका मोमिनहरू तिमीहरूमध्येकै हुन् । उनीहरूको लागि त्यही हक-अधिकार छ जो तिमीहरूको छ र उनीहरूको जिम्मेबारी पनि त्यही छ जो तिमीहरूको छ । नातेदारहरू अल्लाहको आदेशानुसार एक अर्काको बढी हकदार हुन्छन् । निश्चय नै अल्लाह हरेक वस्तुका ज्ञाता हुनुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन, उहाँले भक्तहरूका लागि त्यही कानुन बनाउनुभएको छ जो उनीहरूको हीतमा छ ।
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका साथीहरू तपाईसँग अन्फाल (युद्धमा प्राप्त शत्रु-धन) को बाँडफाँड कसरी गर्नुपर्छ र को यसको हकदार छ भन्नेबारे सोध्दछन् ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई भनिदिनुहोस्– अन्फाल त अल्लाह तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को लागि हो । यसलाई कहाँ खर्च गर्नुपर्छ र कसरी वित्रण गर्नुपर्छ भन्ने कुराको निर्णय अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदेश अनुसार गरिनेछ । तिमीहरूले मात्र यसको पालना तथा अनुसरण गर्नुपर्छ । हे मोमिनहरू हो ! अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँको भय गर । प्रेम, माया, राम्रो आचरण तथा एक अर्कालाई माफ गरेर आपसी सम्बन्धलाई ठीक राख । यदि तिमीहरू वास्तविक मोमिन हौ भने अनिवार्यरूपमा अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञा पालन गर, किनभने ईमानले आज्ञापालन तथा अवज्ञाबाट टाढा रहने कार्यको लागि प्रेरित गर्छ । उनीहरूले यो प्रश्न बद्रको युद्धपछि गरेका थिए ।
२. वास्तविक मोमिनहरू ती हुन् जसका हृदय अल्लाहलाई सम्झिन बित्तिकै डराउँछन् अनि हृदय तथा जिउ अल्लाहको आज्ञापालन गर्न थाल्छन् र उहाँका आयतहरू पढेर सुनाउँदा अनि त्यसमा चिन्तन मनन गर्दा उनीहरूको ईमान झन् बढ्न थाल्छ र उनीहरू हीतकारी वस्तुहरू प्राप्त गर्नको लागि तथा हानिकारक वस्तुहरूलाई धपाउनको लागि मात्र आफ्ना पालनकर्तामाथि भरोसा राख्छन् ।
३. जो सलाहलाई त्यसका सबै गुणका साथ समयमा कायम गर्छन् र हामीले उनीहरूलाई जे-जति धन-सम्पत्ति प्रदान गरेका छौं त्यसबाट अनिवार्य तथा एच्छिक दुवै प्रकारका दान दिन्छन् ।
४. यस्ता मानिसहरू नै सच्चा मोमिनहरू हुन्, किनभने उनीहरूभित्र आन्तरिक ईमान तथा वाहय इस्लाम दुवै गुणहरू छन् । उनीहरूका लागि उनका पालनकर्ताकहाँ उच्च दर्जाहरू, पापहरूका माफि तथा पवित्र जीवीका छन् । यी वरदानहरू छन् जो अल्लाहले उनीहरूका लागि तयार पार्नुभएको छ ।
५. जसरी तिमीहरूबीच अन्फालको भागबण्डामा मतभेद तथा झगडा भएपछि अल्लाहले तिमीहरूबाट यसलाई खोसेर आफ्नो हातमा राख्नुभयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को हातमा दिनुभयो त्यस्तै हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंका पालनकर्ताले तपाईंलाई बहुदेववादीहरूसित मुठभेडको लागि वहीद्वारा मदीनाबाट निस्कने आदेश दिनुभयो । यद्यपि मोमिनहरूको एउटा समूहलाई अप्रिय थियो ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिनहरूमध्ये एउटा समूह बहुदेववादीहरूसँग युद्धबारे तपाईंसँग झगडा गर्छन्, जबकि यो युद्ध अवश्य हुनेछ भन्ने कुरा स्पष्ट भइसकेको छ । युद्धको लागि निस्कनु तिनीहरूलाई यति अप्रिय लागिरहेको थियो मानौं तिनीहरू मृत्युतर्फ हाँकेर लगिदैछन् र मृत्युलाई आफ्नो आँखासामु देखिराखेका छन्, किनभने तिनीहरू यसलाई महत्व दिरहेका छैनन् न यसको लागि तयारी गरेका छन् ।
७. हे वाद विवाद गर्ने मोमिनहरू हो ! याद गर जब अल्लाहले तिमीहरूसँग बहुदेववादीहरूका दुई समूहमध्ये एउटा समूहमाथि तिमीहरूले विजय प्राप्त गर्नेछौ भनेर वचन दिनुभएको थियो । एउटा समूह खाद्य सामग्री बोकेको ऊँटको निर्बल समूह थियो जसबाट तिमीहरू अन्फाल प्राप्त गर्ने थियो र अर्को समूह योद्धाहरूको समूह थियो जोसँग तिमीहरूले युद्ध गर्नु पर्नेथियो र तिमीहरूको सहयोग गरिने थियो । तिमीहरू चाहिँ खाद्य सामग्री बोकेको ऊँटको समूहमाथि विजय प्राप्त गर्न चाहन्थ्यो किनभने त्यसमाथि बिना युद्ध सजिलोसँग विजय गर्न सकिन्थ्यो । तर अल्लाहको चाहना थियो तिमीहरूलाई युद्धको आदेश दिएर सत्यलाई सत्यसिद्ध गर्नु ताकि तिमीहरूले बहुदेववादीहरूका नेताहरूलाई हत्या गर तथा तिनीहरूमध्ये धेरैलाई कैदी बनाऊ यहाँसम्म कि इस्लामको प्रभुत्व कायम होस् ।
८. ताकि इस्लाम तथा मुस्लिमहरूको विजय गराएर तथा अन्य प्रमाणहरूबाट अल्लाहले सत्यलाई सत्य तथा असत्यलाई असत्य प्रमाणित गरुन् जस्तो कि अन्य प्रमाणहरूबाट त्यो असत्य हो भन्ने कुरा स्पष्ट छ । बहुदेववादीहरूलाई जतिसुकै अप्रिय लागे पनि अल्लाहले यसलाई विजयी गर्नुहुनेछ ।
९. बद्रको दिनलाई याद गर जब तिमीहरू शत्रुको मुकाबिलामा सहयोग गर्न अल्लाहसँग प्रार्थना गर्दै थियो । हे मोमिनहरू हो ! अल्लाहले लगातार एक अर्कापछि आउने एक हजार फरिश्ताद्वारा तिमीहरूको मद्दत गर्नुहुनेछ भनेर तिमीहरूको प्रार्थना स्वीकार गर्नुभयो ।
१०. हे मोमिनहरू हो 1 अल्लाहले शत्रुहरूविरुद्ध फरिश्ताहरूद्वारा तिमीहरूको मद्दत शुभ-सूचनास्वरूप गर्नुभयो । उहाँ नै शत्रुहरूविरुद्ध तिमीहरूको सहयोगी हुनुहुन्छ । ताकि मद्दतको आश्वासनले गर्दा तिमीहरूको मन सन्तुष्ट होस् । अल्लाहको मद्दत धेरै संख्याँ तथा धेरै हातहतियारले आउँदैन बरु उहाँको विशेष कृपाले आउँछ । निस्सन्देह अल्लाह सत्ता शसन चलाउनमा अत्यन्त प्रभुत्वशाली हुनुहुन्छ कोही उहाँमाथि विजय प्राप्त गर्न सक्दैन । कानुन बनाउन तथा भाग्य निर्धारण गर्नमा विवेकशील हुनुहुन्छ ।
११. हे मोमिनहरू हो ! स्मरण गर जब अल्लाहले तिमीहरूभित्र शत्रुको डर उत्पन्न भएपछि तिमीहरूलाई निश्चिन्त पार्नको लागि निन्द्राले ढाक्नुभयो । अल्लाहले आकाशबाट पानी बर्साउनुभयो ताकि तिमीहरूलाई अपवित्रताबाट पवित्र पारुन्, शैतानका गोप्य प्रामर्श समाप्त पारुन्, बालुवा युक्त जमिनलाई कडा बनाउन् ताकि त्यसमा तिमीहरूका खुट्टा न धसोस् ।
१२. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस् जब तपाईंका पालनकर्ताले बद्रको युद्धमा मोमिनहरूको मद्दतको लागि पठाउनु भएका फरिश्ताहरूलाई वही गर्नुभयो– हे फरिश्ताहरू हो ! म तिमीहरूको मद्दत गर्दैछु अनि शत्रुविरुद्ध युद्धको लागि मोमिनहरूका हौसला बढाऊ । म चाँडै नै काफिरहरूका हृदयमा धाक एवं त्रास उत्पन्न गर्नेछु । हे मोमिनहरू हो ! काफिरहरूलाई मार्नको लागि तिनीहरूका घँटी तथा जोर्नीहरूमा प्रहार गर ताकि तिनीहरू तिमीहरूविरुद्ध युद्ध गर्न छोडुन् ।
१३. काफिरहरूको हत्या तथा तिनीहरूका जोर्नीहरूमाथि प्रहारको आदेश यस कारणले दिइएको छ कि तिनीहरूले अल्लाह एवं उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को विरोध गरे, जुन कार्य गर्ने आदेश दिइएको थियो त्यसको पालना गरेनन् र जुन कार्यहरूबाट मनाहि गरिएको थियो त्यसलाई त्यागेनन् । यस मामिलामा जसले पनि अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को विरोध गर्छन् निस्सन्देह अल्लाह तिनीहरूलाई लोकमा हत्या तथा कैदी बनाएर सजाय दिनुहुनेछ र आखिरतमा नर्कमा हालेर यातना दिनुहुनेछ ।
१४. हे अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का विरोधीहरू हो ! उक्त यातना तिमीहरूका लागि हो, यसलाई संसारमा चाँडै चाख र कुफ्र तथा शत्रुतामै मर्छौ भने आखिरतमा नर्कको यातना चाख्नेछौ ।
१५. हे मोमिनहरू हो ! जब तिमीहरूको भिडन्त युद्धको मैदानमा बहुदेववादीहरूसित हुन्छ भने तिमीहरू भागेर तिनीहरूलाई पिठ्युँ न देखाऊ । बरु अडिग भएर तिनीहरूको मुकाबिला गर । अल्लाह आफ्नो सहयोगका साथ तिमीहरूसँग हुनुहुन्छ ।
१६. जो त्यस दिन तिनीहरूबाट पिठ्यूँ फर्काउँछ – यो बेग्लै कुरा हो कि उसले युद्धको रणनीति स्वरुप वा आफ्नो मुस्लिम सैन्यमा शरण लिन यस्तो गरोस्– त्यस्तो व्यक्ति अल्लाहको रोष लिएर फर्कनेछ । आखिरतमा त्यसको बासस्थान नर्क हुनेछ र त्यो अति नराम्रो स्थान हो ।
१७. हे मोमिनहरू हो ! बद्रको दिन बहुदेववादीहरूलाई तिमीहरूले आफ्नो शक्तिबाट हत्या गरेनौ बरु अल्लाहले यसमा तिनीहरूको मद्दत गर्नुभयो । हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंले (मुठ्ठी भर) बालुवा फ्याँक्नुभयो त्यो तपाईंले फ्याँक्नुभएन बरु अल्लाहले फ्याँक्नुभयो । संख्याँ तथा हातहतियारमा कमिका बावजुद मोमिनहरूलाई अल्लाहले विजय प्रदान गरेर कृपा गर्नुभयो जसको उद्देश्य उनीहरूको परीक्षा लिनु थियो कि को उहाँप्रति आभार प्रकट गर्छ । निस्सन्देह अल्लाह तिमीहरूका दुआ तथा कुराहरू सुन्नुहुन्छ र तिमीहरूका सुकर्म तथा दुष्कर्म जान्नुहुन्छ ।
१८. बहुदेववादीहरूको पराजय तथा मोमिनहरूलाई विजय प्रदान गरेर उनीहरूमाथि अल्लाहले नै कृपा गर्नुभयो, उहाँ काफिरहरूको चलखेललाई कमजोर पार्नुहुन्छ जो इस्लामविरुद्ध जोडतोड गरिराख्छन् ।
१९. हे बहुदेववादीहरू हो ! अत्याचारीहरूमाथि अल्लाहले आपदा अवतरित गरुन् भनी तिमीहरूको माग थियो भने उहाँले तिमीहरूको माग अनुसार आफ्नो आपदा तिमीहरूमाथि अवतरित गर्नुभयो, यसमा तिमीहरूका लागि सजाय छ भने ईशभय राख्नेहरूका लागि पाठ छ । यदि तिमीहरू यस्तो माग गर्नबाट रोकिन्छौ भने यही तिमीहरूका लागि राम्रो हुनेछ । सम्भवतः उहाँले अवसर दिनुहुनेछ र तिमीहरूबाट बदला लिनुहुने छैन । यदि फेरि त्यही माग दोहोर्याउँछौ र मोमिनहरूविरुद्ध युद्ध गर्छौ भने हामी फेरि तिमीहरूलाई यातना दिनेछौं र मोमिनहरूको मद्दत गर्नेछौं । तिमीहरूको ठूलो जत्था, भारी हात हतियार तथा मोमिनहरूको सानो संख्यँले तिमीहरूलाई कुनै फाइदा दिने छैन । अल्लाहको मद्दत मोमिनहरूका साथमा छ र जसको साथमा अल्लाहको मद्दत छ उसलाई कसैले पराजित गर्न सक्दैन ।
२०. हे मोमिनहरू हो ! अल्लाहको आदेशको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यलाई त्यागेर अल्लाह एवं उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गर । उहाँको आदेशको उल्लङ्घन गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्य गरेर उहाँबाट विमुख न होऊ जब कि तिमीहरू आयतहरू सुनिरहेका छौ ।
२१. हे मोमिनहरू हो ! तिमी बहुदेववादी तथा मुनाफिकहरू जस्तो न बन जो अल्लाहका आयतहरू सुनेपछि भन्छन्- हामीले पाठ गरिएका आयतहरू आफ्नो कानले सुन्यौं जबकि तिनीहरूले त्यसमा चिन्तन मनन गर्दैनन् र त्यसबाट उपदेश ग्रहण गरी सुन्दैनन् कि त्यसबाट फाइदा उठाउन सकुन् ।
२२. निस्सन्देह अल्लाहको दृष्टिमा धर्तीमा हिँडडोल गर्ने प्राणीहरूमध्ये सबैभन्दा निकृष्ट ती बहिराहरू हुन् जो सत्य धर्म इस्लामलाई स्वीकार गर्ने गरी सुन्दैनन्, लाटाहरू हुन् जो बोल्दैनन् । यिनीहरू नै हुन् जो अल्लाहका आदेशहरू तथा उहाँले मनाहि गर्नुभएका कुराहरू जान्दैनन् ।
२३. यदि अल्लाहले यी झूटा ठहर गर्ने बहुदेववादीहरूभित्र कुनै भलाइ जान्नु भएमा अवश्य नै तिनीहरूलाई सुन्ने योग्य बनाउनुहुन्थ्यो जसले गर्दा तिनीहरू फाइदा उठाउने थिए र प्रमाणहरूलाई बुझ्ने थिए । तिनीहरूभित्र कुनै भलाइ छैन भन्ने कुरा अल्लाहलाई थाहा छ । मानौँ यदि अल्लाहले तिनीहरूलाई सुन्ने शक्ति प्रदान गर्नुहुन्छ भने तिनीहरू शत्रुताले गर्दा ईमानबाट विमुख हुन पुग्छन् ।
२४. हे आस्थावानहरू हो ! अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष आत्मसमर्पण गर्दै उनीहरूका आदेशहरूलाई स्वीकार गर । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तिमीहरूलाई यस्तो कार्यका लागि बोलाउनुहुन्छ जसमा तिमीहरूको वास्तविक जीवन छ । विश्वास राख अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । यदि तिमीहरू सत्यलाई अस्वीकार गरेपछि त्यसलाई स्वीकार गर्न खोज्छौ भने त्यसबीच पनि उहाँ पर्दा हाल्ने सामर्थ्य राख्नुहुन्छ । अतः उहाँतर्फ रुजु गर र यस कुरामा विश्वास गर कि महाप्रलयको दिन तिमीहरू मात्र उहाँसमक्ष भेला गराइनेछौ । अनि उहाँले तिमीहरूलाई तिमीहरूले संसारमा गरेको कर्मको बदला दिनुहुनेछ ।
२५. सावधान हे मोमिनहरू हो ! यस्तो यातनाबाट जो तिमीहरूमध्ये अवज्ञाकारीहरूलाई होइन बरु अरूलाई पनि दिइनेछ । यो त्यतिखेर हुन्छ जब अत्याचार हावी हुन्छ र यसमा बदलाव आउँदैन । विश्वास गर अल्लाह अवज्ञाकारीहरूका लागि कठोर दण्डदाता हुनुहुन्छ । अवज्ञाबाट सावधान !
२६. हे मोमिनहरू हो ! याद गर त्यस समयलाई जब तिमीहरू मक्का नगरमा अल्पसंख्यक थियौ; त्यहाँका बासीहरूले तिमीहरूलाई कमजोर बनाएर राखेका थिए, तिमीहरूमाथि अत्याचार गर्थे, तिमीहरूलाई तिमीहरूका शत्रुहरूले समात्नेछन् भनी डराउँथ्यौ अनि अल्लाहले तिमीहरूलाई मदीनामा शरण प्रदान गर्नुभयो, बद्र इत्यादि युद्धमा उहाँले तिमीहरूलाई शत्रुहरूविरुद्ध सहयोग गरेर तिमीहरूलाई सशक्त बनाउनुभयो । उहाँले पवित्र वस्तुहरू प्रदान गर्नुभयो ती मध्ये युद्धमा प्राप्त भएको धन पनि हो जो तिमीहरूले शत्रुहरूबाट प्राप्त गर्यो ताकि तिमीहरूले अल्लाहप्रति उहाँले प्रदान गर्नुभएका कृपाहरूबापत आभार प्रकट गर अनि उहाँले तिमीहरूलाई अझै प्रदान गर्नुहुनेछ । उहाँप्रति कृतघ्नता प्रकट न गर नत्र उहाँले आफ्नो कृपालाई फिर्ता लिनुहुनेछ र तिमीहरूलाई यातना दिनुहुनेछ ।
२७. हे मोमिनहरू हो ! अल्लाहका आदेशहरूको उल्लङ्घन गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरू गरेर अल्लाह एवं रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग विश्वासघात न गर र आफ्नो नासोहरू जस्तै रिण इत्यादिमा हिनामिना पनि न गर । यदि तिमीहरू हिनमिना गर्छौ भने तिमीहरूको गणना पनि विश्वासघातीहरूमा हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहै छ ।
धन-सम्पत्ति तथा सन्तानको मोह मायाले मानिसलाई हिनमिना गर्न प्रेरित गर्छ, त्यसैले यी परीक्षा सामग्री हुन् भन्ने कुरासित अल्लाहले सूचित गर्दै भन्नुभयोः
२८. हे मोमिनहरू हो ! जानिराख तिमीहरूका धन-सम्पत्ति तथा सन्तानहरू अल्लाहको तर्फबाट परीक्षा तथा उत्पीडन हुन्, यसले आखिरतका कर्म गर्नबाट रोक्छ, हिनामिना गर्न प्रेरित गर्छ । जानिराख ! अल्लाहकहाँ ठूलो पुण्य छ । अतः आफ्ना धन-सम्पत्ति तथा सन्तानमा बढी लिप्त भएर पुण्यलाई बर्बाद न पार ।
२९. हे मोमिनहरू हो ! यदि तिमीहरू अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूलाई छोडर उहाँसँग डराउँछौ भने उहाँले तिमीहरूभित्र सत्य तथा असत्यबीच फरक छुट्याउने क्षमता प्रदान गर्नुहुनेछ, दुष्कर्महरूलाई मेटाउनुहुनेछ र पापहरूलाई माफ गर्नुहुनेछ । अल्लाह महान वरदानवाला हुनुहुन्छ जसमध्ये स्वर्ग पनि हो जसलाई उहाँले आफ्ना ईशभय राख्ने भक्तहरूका लागि तयार पार्नुभएको छ ।
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब बहुदेववादीहरूले तपाईंलाई बन्दी बनाएर वा हत्या गरेर वा देश-निकाला गरेर तपाईंविरुद्ध षड्यन्त्र रचेका थिए । तिनीहरू आफ्नो चलखेल गर्दैथिए र अल्लाह आफ्नो योजना बनाउदै हुनुहुन्थ्यो, अल्लाह नै सर्वोत्तम योजनाविद् हुनुहुन्छ ।
३१. जब तिनीहरूसमक्ष हाम्रा आयतहरूको पाठ गरिन्छ तब तिनीहरू शत्रुताले गर्दा भन्छन्– अँ, हामीले यस प्रकारका आयतहरू पहिला पनि सुनि सकेको छौं । कुर्आनमा रहेका वाणी जस्तै हामी पनि बनाउन सक्छौं । हामीले सुनेको कुर्आनमा मात्र अतीतका झूटा कथाहरू छन्, त्यसैले हामी यसमा कदापि ईमान ल्याउने छैनौं । तिनीहरू इन्कारमा अति कठोर भएकोले यो कुरा भने ।
३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्ल) ! याद गर्नुहोस् जब बहुदेववादीहरूले भने– हे अल्लाह ! यदि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको यो कुर्आन तपाईंको तर्फबाट नितान्त सत्य हो भने हामीलाई सखाप पार्नको लागि आकाशबाट ढुङ्गा बर्साउनुहोस् वा कुनै दुःखदायी यातना पठाउनुहोस् ।
३३. तर हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम)! तपाईं तिनीहरूबीच रहुन्जेल वा उनीहरूले क्षमायाचना गरिरहुन्जेल अल्लाहले तपाईंको समुदायलाई सखाप पार्ने गरी यातना दिनु हुने छैन चाहे ईमान ल्याएको समूह होस् वा ईमान न ल्याएको समूह होस् । तपाईंको उपस्थितीले गर्दा तिनीहरूका लागि सुरक्षा छ ।
३४. तिनीहरूलाई अब कसले सजायबाट बचाउनेछ जब कि तिनीहरूले मानिसहरूलाई मस्जिदे हराममा तवाफ (परिक्रमा) तथा सलाहबाट रोकेर यातनालाई निम्त्याएका छन् ? बहुदेववादीहरू अल्लाहका संरक्षक-मित्र होइनन् बरु ईशभय राख्नेहरू अल्लाहका संरक्षक-मित्र हुन्, जो उहाँका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसँग डराए, तर तिनीहरूमध्ये अधिकांशलाई थाहा नै छैन ।
३५. मस्जिदे हराम नजिक बहुदेववादीहरूको सलाह सुसेल्नु तथा ताली पिट्नुबाहेक अन्य केही थिएन । हे बहुदेववादीहरू ! अब अल्लाहको इन्कार तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूटो ठहर गरेको कारणले बद्रको दिन हत्या तथा कैदको यातना चाख ।
३६. काफिरहरू मानिसहरूलाई अल्लाहको धर्मबाट रोक्नको लागि आफ्नो धन-सम्पत्ति खर्च गर्छन् । तिनीहरूले अझ खर्च गर्नेछन् तर तिनीहरूले खोजेको योजनामा सफल हुन सक्दैनन् । अन्ततः त्यो प्रयास तिनीहरूका लागि पश्चातापको कारण बन्नेछ, किनभने तिनीहरूले गरेको खर्च तथा योजना खेर जानेछन् । फेरि तिनीहरू मोमिनहरूबाट पराजित हुनेछन् । काफिरहरू महाप्रलयको दिन नर्कतर्फ हाँकिएर एकत्रित गरिनेछन् अनि सधैँको लागि नर्कमा होमिनेछन् ।
३७. अल्लाहको मार्गबाट रोक्नको लागि खर्च गर्ने काफिरहरू नर्कको आगोतर्फ हाँकिएर लगिनेछन् ताकि अल्लाहले अपवित्र काफिरहरू तथा पवित्र मोमिनहरूबीच निर्णय गरुन् र अपवित्र व्यक्ति, कर्म तथा धन-सम्पत्ति एक अर्कामाथि राखेर जम्मा पारुन् अनि त्यस थुप्रोलाई नर्कमा होमिदिउन् । यस्ता मानिसहरू नै घाटा खानेहरू हुन् किनभने तिनीहरूले महाप्रलयको दिन आफूलाई तथा आफ्नो परिवारलाई घाटामा पारे ।
३८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो समुदायका काफिरहरूलाई भनिदिनुहोस्– यदि तिनीहरू अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को कुफ्र तथा मोमिनलाई अल्लाहको मार्गबाट रोक्न छोड, अल्लाहले तिनीहरूलाई तिनीहरूका अघिल्ला पापहरू माफ गर्नुहुनेछ, इस्लामले अघिल्ला कर्महरूलाई समाप्त पार्छ । यदि इस्लाम ल्याएपछि फेरि कुफ्रतर्फ फर्कन्छौ भने अल्लाहले चाँडै नै आफ्नो कानुन अनुसार आपदा पठाउनुहुनेछ ।
३९. हे मोमिनहरू हो ! तिमीहरू आफ्ना काफिर शत्रुहरूविरुद्ध युद्ध गर यहाँसम्म कि शिर्क तथा धर्मको मामिलामा मुस्लिमहरूको बाधा समाप्त होओस् तथा धर्म तथा आज्ञापालन पूर्णरूपमा मात्र अल्लाहकै लागि भइहालोस् जसको कोही साझेदार छैन । यदि तिनीहरूले शिर्क तथा मुस्लिमहरूलाई अल्लाहको मार्गबाट रोक्न छोड्छ भने तिनीहरू विरुद्ध युद्ध न गर । अल्लाहले तिनीहरूको कार्यलाई देखिराख्नुभएको छ, कोही गुप्त रहने उहाँबाट लुकेर रहन सक्दैन ।
४०. यदि तिनीहरू कुफ्र तथा मुस्लिमहरूलाई सीधा मार्गबाट रोक्ने कार्य गर्न छोड्दैनन् भने हे मोमिनहरू हो ! तिमीहरू विश्वास गर अल्लाह तिनीहरूविद्ध तिमीहरूका सहयोगी हुनुहुन्छ । कत्ति सर्वोत्तम संरक्षक-मित्र एवं सहायक हुनुहुन्छ उहाँ ! उहाँ जसलाई संरक्ष दिनुहुन्छ र मद्दत गर्नुहुन्छ ऊ सफल तथा विजयी हुन्छ ।
४१. हे मोमिनहरू हो ! जानिराख ! अल्लाहको मार्गमा जिहाद गर्दा काफिरहरूमाथि विजय प्राप्त गरेपछि जे जति शत्रु-धन तिमीहरूले प्राप्त गरेका छौ त्यसलाई पाँच भागमा बाँड्नुपर्छ । जसमध्ये चार भाग मुजाहिदहरूबीच बाँड्नुपर्छ र एक भागलाई पाँच भागमा बाँड्नुपर्छ, एकभाग अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को लागि, जसलाई मुस्लिमहरूको जनहितको कार्यमा खर्च गरिनेछ, एक भाग नबी (सल्लाहु अलैहि व सल्लम) का नातेदार बनू हाशिम तथा बनू मुत्तलिबमा, एक भाग अनाथहरूमा, एक भाग निर्धनहरूमा र एक भाग बाटो बिराएका यात्रुहरूमा बाँडिनेछ । यदि तिमीहरूले अल्लाह र बद्रको दिन मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित भएको सहयोगमाथि ईमान राख्छौ भने उक्त आदेशहरूको पालना गर । अल्लाहले बद्रको युद्धमा शत्रुहरूको मुकाबिलामा तिमीहरूको मद्दत गरेर सत्य एवं असत्यबीच फरक छुट्याउनुभयो । यस्तो मद्दत गर्ने अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्नुहुन्छ ।
४२. याद गर जब तिमीहरू मदीनानजिक उपत्यकाको निकटतम किनारामा थियौ र बहुदेववादीहरू मक्का नजिक टाढाको किनारामा थिए र सर-सामान लादिएका ऊँटको समूह लालसागर नजिक तिमीहरूभन्दा तल थियो । यदि तिमीहरू तथा बहुदेववादीहरूले बद्रको मैदानमा परस्पर मिल्ने वचन दिएको भए निर्धारित समयमा पुग्न सक्दैन थियो, तर अल्लाहले बिना वचन बद्रको मैदानमा जम्मा गराउनुभयो, ताकि एउटा हुनै पर्ने काम पूरा गरुन, त्य थियो मोमिनहरूको मद्दत, काफिहरूको अपमान, धर्मलाई बलियो पार्नु तथा शिर्कलाई अपमानित पार्नु, ताकि जसले विनष्ट हुनुछ त्यो प्रत्यक्ष प्रमाणसाथ विनष्ट होस् र जसले जीवित रहनुछ त्यो स्पष्ट प्रमाणसाथ जीवित रहोस् । निश्चय नै अल्लाह सबैका कुराहरू सुन्नुहुन्छ र सबैले गरेको काम जान्नुहुन्छ र त्यसको बदला चाँडै नै दिनुहुनेछ ।
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) हो ! तपाईं तथा मोमिनहरूमाथि भएको कृपाहरूलाई याद गर्नुहोस्, जब अल्लाहले तपाईंलाई सपनामा बहुदेववादीहरूको संख्याँ कम गरेर देखाउनुभयो । तपाईंले यो कुरा मोमिनहरूलाई बताउनुभयो अनि उनीहरू खुशी भए, जसले गर्दा शत्रुहरूको मुकाबिलाको लागि उनीहरूको मनोबल बढयो । यदि अल्लाहले तिनीहरूको संख्या बढी देखाउनुभएको भए अवश्य नै तपाईंका साथीहरूका साहस गुम्ने थियो । यस विषयमा झगडा गर्ने थियौ र उनीहरू युद्ध गर्नबाट डराउनेथिए । तर अल्लाहले तिमीहरूलाई त्यसबाट सुरक्षित राख्नुभयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को नजरमा कम देखाउनुभयो । कुन कुराहरूबाट हृदयमा डर पैदा हुन्छ भन्ने कुरा अल्लाह जान्नुहुन्छ ।
४४. हे मोमिनहरू हो ! याद गर जब तिमीहरूको बहुदेववादीहरूसँग मुठभेड हुँदा अल्लाहले तिनीहरूलाई तिमीहरूको दृष्टिमा कम संख्यामा देखाउनुभयो र यसरी तिनीहरूविरुद्ध आक्रमण गर्ने साहस प्रदान गर्नुभयो । तिमीहरूलाई तिनीहरूको दृष्टिमा कम संख्याँमा देखाउनुभयो ताकि तिनीहरूले आक्रमण गरुन् र फर्कनेबारे न सोचुन् ताकि बहुदेववादीहरूलाई हत्या गरी तथा कैदी बनाइ बदला लिएर तथा मोमिनहरूमाथि कृपा गरी तथा शत्रुहरू विरुद्ध मद्दत गरी हुनै पर्ने काम अल्लाहले पूरा गरुन । सम्पूर्ण मामिलाहरू अल्लाहतर्फ नै फर्काइनेछन् अनि अल्लाहले दुष्कर्मीहरूलाई तिनीहरूको दुष्कर्मको सजाय देउन् र सुकर्मीहरूलई उनीहरूको सुकार्यको बदला देउन् ।
४५. हे मोमिनहरू हो ! काफिरहरूको समूहसँग तिमीहरूको मुठभेड हुँदा अडिग रहने गर, अल्लाहलाई धेरै जप गर्ने गर तथा उहाँसँग दुआ गर्ने गर, आशा छ उहाँले तिमीहरूले खोजेको वस्तु दिनुहुनेछ र डराइ रहने कुराबाट जोगाउनुहुनेछ ।
४६. आफ्नो भनाई, गराई तथा हरेक अवस्थामा अल्लाह एवं उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गर र परस्पर विभेद न गर । आपसी विभेदले तिमीहरूलाई कमजोर पार्नेछ । शत्रुहरूसँग मुठभेड हुँदा अडिग रहने गर । निश्चय नै अल्लाहको मद्दत तथा समर्थन धैर्यवानहरूका साथमा छ र अल्लाहको मद्दत जसको साथमा हुन्छ ऊ पक्कै विजयी हुन्छ ।
४७. तिमीहरू बहुदेववादीहरू जस्तो न बन जो मक्काबाट घमण्ड गर्दै तथा मानिसहरूलाई देखाउँदै निस्के, जो अल्लाहको धर्ममा प्रवेश गर्नबाट मानिसहरूलाई रोक्छन् । जुन कार्य तिनीहरू गर्दैछन् त्यो अल्लाहको नियन्त्रणभन्दा बाहिर छैन । तिनीहरूका कर्महरू अल्लाहबाट गोप्य छैन, उहँले चाँडै नै तिनीहरूको कर्मको बदला दिनुहुनेछ ।
४८. हे मोमिनहरू हो ! अल्लाहको कृपालाई याद गर जब शैतानले बहुदेववादीहरूलाई तिनीहरूका क्रियाकलाप शोभनीय बनाएर देखायो र मुस्लिमहरूविरुद्ध युद्ध गर्न प्रेरित गर्यो र भन्यो– आज कोही पनि तिमीहरूमाथि विजयी हुन सक्दैन र म तिमीहरूको सहयोगी छु । तर जब मोमिनहरूको दल जोसँग फरिश्ताहरू थिए र बहुदेववादीहरूको दल जोसँग शैतान थियो, बीच मुठभेड भयो तब शैतान पिठ्यूँ फर्काएर भाग्दै भन्यो– तिमीहरूसँग मेरो कुनै सरोकार छैन । म मोमिनहरूको मद्दतको लागि आएका फरिश्ताहरूलाई देख्दैछु । मलाई अल्लाहले नष्ट पार्नुहुन्छ भन्ने डर लागिरहेको छ, अल्लाहले कठोर यातना दिनुहुनेछ, उहाँको यातनालाई कोही सहन गर्न सक्दैन ।
४९. याद गर जब मुनाफिकहरू तथा हृदय-रोगी मानिसहरूले भने– यी मुस्लिमहरूलाई यिनीहरूको धर्मले धोकामा पारेको छ, जोसँग अल्लाहले मद्दत गर्ने वाचा गर्नुभएको छ, जब कि यिनीहरू कम संख्याँमा छन्, हात हतियार पनि कम छ, शत्रुहरूको संख्याँ धेरै छ र तिनीहरूसँग हातहतियार पनि धेरै छ । जो मात्र अल्लाह तथा उहाँको मद्दतमाथि भरोसा गर्छ निस्सन्देह अल्लाह उनीहरूको मद्दत गर्नुहुनेछ भन्ने कुरा यी मुनाफिकहरूलाई थाहा छैन, उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँमाथि विजयी हुन सक्दैन, उहाँ भाग्य निर्धारित गर्न तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले त्यो स्थिति हेर्न सक्नु भएको भए जब फरिश्ताहरू काफिरहरूको मुख तथा ढाडमा हिर्काउँदै प्राण लुछ्दै थिए र भन्दै थिए– काफिरहरू हो ! चाख आगोको यातना ! यदि तपाईंले त्यो स्थिती हेर्नु भएको भए अति ठूलो मामिला हेर्नु हुनेथियो ।
५१. हे काफिरहरू हो ! यो यातना तिमीहरूको आत्मा निकाल्दा खेरी दिइनेछ र चिहान तथा आखिरतमा आगोको यातना दिइनेछ, तिमीहरूका हातले संसारमा गरेका कार्यहरूले गर्दा यस्तो यातना हुनेछ । निस्सन्देह अल्लाह आफ्ना भक्तहरूमाथि अत्याचार गर्नुहुन्न, उहाँ निसाफका साथ निर्णय गर्नुहुन्छ किनभने उहाँ न्यायी हुनुहुन्छ ।
५२. यस्तो यातना यी काफिरहरूलाई मात्र होइन, अल्लाहको कानुन अनुसार हेरक युग तथा हरेक स्थानका काफिरहरूलाई दिइएको थियो । फिर्औनको समुदाय तथा तिनीहरूभन्दा अघिका समुदायहरूले पनि जब अल्लाहका निशानीहरूलाई अस्वीकार गरेका थिए तब उहाँले तिनीहरूलाई तिनका पापहरूको कारणले बेस्सरी समात्नुभएको थियो र कडा यातना दिनुभएको थियो । निस्सन्देह अल्लाह शक्तिशाली हुनुहुन्छ कोही उहाँमाथि विजयी हुन सक्दैन, साथै उहाँ अवज्ञाकारीहरूका लागि कठोर दण्डदाता हुनुहुन्छ ।
५३. यो कडा यातना त्यतिखेर दिइन्छ जब कुनै समुदाय अल्लाहले प्रदान गर्नुभएको ईमान, सत्कर्म तथा कृपाप्रति आभार व्यक्त गर्ने अवस्थालाई कुफ्र, अवज्ञा तथा कृतघ्नतामा परिवर्तित गरिदिन्छ । निस्सन्देह अल्लाह आफ्ना भक्तहरूका कुराहरू सुन्नुहुन्छ, उनीहरूका कर्महरूलाई जान्नुहुन्छ र उहाँबाट कुनै पनि वस्तु लुकेको छैन ।
५४. तिनीहरूको अवस्था फिर्औनको समुदाय तथा तिनीहरूभन्दा अघिका समुदाय जस्तो छ, तिनीहरूले आफ्ना पालनकर्ताका निशानीहरूलाई झुटो ठहर गरे अतः अल्लाहले तिनीहरूका अवज्ञाको कारणले तिनीहरूलाई नष्ट पार्नुभयो । अल्लाहले फिर्औनको समुदायलाई समुद्रमा चुर्लुम्मै डुबाएर नष्ट पार्नुभयो । तिनीहरू सबैले शिर्क तथा कुफ्र गरेकाले अत्याचारी भए त्यसैले तिनीहरू अल्लाहको यातनाको शिकार भए ।
५५. निस्सन्देह अल्लाहको दृष्टिमा संसारका सबै प्राणीहरूमध्ये सबैभन्दा निकृष्ट काफिरहरू हुन्, जोसमक्ष जस्तो सुकै निशानी आए पनि तिनीहरूले ईमान ल्याउने छैनन् । कुफ्रमा जिद्दी गरेको कारणले तिनीहरूका आँखा, कान तथा बुद्धिले काम गरिराखेका छैनन् ।
५६. बनू कुरैजा इत्यादि जोसँग तपाईंले सन्धि गर्नुभएको छ फेरि हरेक पटक तिनीहरू सन्धि भङ्ग गर्छन्, अल्लाहसित अलिकति पनि डराउँदैनन् र सन्धिको पालना गर्दैनन्,
५७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि युद्धमा तिनीहरू भेट्टाछन् भने तपाईं यति कडा सजाय दिनुहोस् कि तिनीहरूको खबर पछि रहेका व्यक्तिहरूमा फैलियोस् ताकि तिनीहरूले शिक्षा ग्रहण गरुन् र तपाईंका शत्रुहरूमा रुवाफ कायम होस् ।
५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुनै सन्धि गरिएका समुदायको तर्फबाट यदि तपाईंलाई विश्वासघातको आशङ्का छ भने तिनीहरूसँगको सन्धि बराबरीको तवरले भङ्ग गरिदिनुहोस् । निश्चय नै अल्लाह विश्वासघातीहरूलाई मन पराउनुहुन्न, बरु घृणा गर्नुहुन्छ, अतः विश्वासघातबाट सावधान !
५९. काफिरहरू अल्लाहको आपदाबाट बचिसकेका छन् भन्ने कुरा कदापि नठानुन् । तिनीहरू अल्लाहको आपदाबाट बचेका छैनन् । आपदाले अवश्य नै तिनीहरूलाई समात्नुहुनेछ ।
६०. हे मोमिनहरू हो ! तिमीहरू तिनीहरूविरुद्ध बढीभन्दा बढी सैन्य शक्ति तथा हात हतियार तयार पार, जस्तै तीर । तिमीहरू तिनीहरूविरुद्ध अल्लाहको मार्गमा घोडा पनि तैयार पार, ताकि त्यसबाट तिमीहरू अल्लाहका शत्रु र आफ्ना शत्रुहरूलाई डराऊ, यस्ता काफिर शत्रुहरू जो तिमीहरूको बर्बादीको प्रतीक्षामा छन् । तिनीहरूबाहेक अन्य शत्रुहरूलाई पनि डराऊ जसलाई तथा जसका शत्रुतालाई तिमीहरू जान्दैनौ, मात्र अल्लाहलाई थाहा छ । तिमीहरूले अल्लाहको मार्गमा जे पनि कम बेस खर्च गर्नेछौ त्यसलाई उहाँले संसारमा दिनुहुनेछ र बिना कमि पूरा पूरा बदला आखिरतमा दिनुहुनेछ । अतः अल्लाहको मार्गमा खर्च गर्न प्रतिस्प्रधा गर ।
६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरू युद्ध छोडेर सन्धि गर्न चाहन्छन् भने तपाईं पनि त्यसका लागि तयार हुनुहोस्, तिनीहरूसँग सन्धि गर्नुहोस् र अल्लामाथि भरोसा गर्नुहोस् । उहाँले तपाईंलाई कदापि अपमानित गर्नुहुने छैन । निश्चय नै अल्लाह तिनीहरूका कुरा सुन्नहुन्छ र तिनीहरूका नियत तथा कार्य जान्नुहुन्छ ।
६२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरूले सन्धि गर्ने तथा युद्ध न गर्ने बहानामा तपाईंलाई धोका दिन खोज्छन् भने तपाईंका लागि अल्लाह नै पर्याप्त हुनुहुन्छ । उहाँले तपाईंलाई तथा मुहाजिर एवं अन्सार मोमिनहरूलाई मद्दत गरेर तपाईंलाई शक्ति प्रदान गर्नुभयो ।
६३. अल्लाहले नै मोमिनहरूका हृदयलाई जोडेर तपाईंलाई शक्ति प्रदान गर्नुभयो, जब कि पहिला उनीहरूबीच मतभेद थियो । यदि तपाईंले धर्तीका सम्पूर्ण सम्पत्ति खर्च गर्नुभए ता पनि उनीहरूका हृदय जोड्न सक्नुहुन्न थियो, तर अल्लाहले एक्लै तिनीहरूबीच प्रेम उत्पन्न गर्नुभयो । निस्सन्देह सत्ता-शासन चलाउनमा उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँमाथि प्रभुत्व जमाउन सक्दैन, उहाँ भाग्य निर्धारण, कार्य सञ्चालन तथा कानु बनाउनमा विवेकशील हुनुहुन्छ ।
६४. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई शत्रुहरूको दुष्टताबाट जोगाउनको लागि अल्लाह प्रयाप्त हुनुहुन्छ र तपाईंसँग रहेका मोमिनहरू तपाईंका लागि पर्याप्त छन्, अतः अल्लाहमाथि भरोसा गर्नुहोस् ।
६५. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिनहरूलाई युद्धका लागि प्रेरित गर्नुहोस् र हौसला बढाउनुहोस् । हे मोमिनहरू हो ! तिमीहरूमध्येका बीस जना धैर्यवान दुई सय जना काफिरहरूविरुद्ध युद्ध गरेर विजयी हुनेछन् र तिमीहरूका सय जना धैर्यवान एक हजार काफिरहरूविरुद्ध युद्ध गरेर विजयी हुनेछन् । किनभने काफिरहरू यस्ता समुदाय हुन् जो अल्लाहको यस कानुनलाई जान्दैनन् कि अल्लाह कसरी मोमिनहरूको मद्दत गर्नुहुन्छ र शत्रुहरूलाई परास्त गर्नुहुन्छ । तिनीहरू युद्धको उद्देश्य पनि जान्दैनन्, मात्र सांसारिक सत्ताको लागि युद्ध गर्छन् ।
६६. हे मोमिनहरू हो ! अब अल्लाहले तिमीहरूभित्र आएको कमजोरीले गर्दा कृपा गर्दै तिमीहरूमाथिको जिम्मेबारी कम गर्नुभएको छ । अतः अब तिमीहरूमध्ये एक जनाले दस जनासमक्ष होइन मात्र दूई जनासमक्ष अडिग रहनुपर्छ । तिमीहरूका सय जना धैर्यवान दुई सय जना काफिरहरूविरुद्ध र तिमीहरूका एक हजार धैर्यवान दुई हजार काफिरहरूविरुद्ध युद्धमा अल्लाहको आदेशले विजयी हुनेछन् । अल्लाहको मद्दत धैर्यवान मोमिनहरूकासाथ छ ।
६७. युद्ध गर्ने काफिरहरूलाई धेरै हत्या गर्नुअघि नै तिनीहरूलाई बन्दी बनाउन् नबी (सल्लल्लाहु अलैहि व सल्लम) को लागि उचित छैन, ताकि तिनीहरू भित्र रुवाफ उत्पन्न होस् र तिनीहरू फेरि युद्धको लागि न आउन् । हे मोमिनहरू हो ! तिमीहरू बद्रका बन्दीहरूबाट अर्थ-दण्ड लिएर सांसारिक लाभ चाहन्छौ जबकि अल्लाह आखिरतको भलो चाहनुहुन्छ जो धर्मको मद्दत गरेर तथा त्यसलाई बलियो बनाएर प्राप्त हुनेछ । अल्लाह आफ्नो अस्तित्व, गुण तथा शासनमा प्रभुत्वशाली हुनुहुन्छ, उहाँमाथि कसैले प्रभुत्व जमाउन सक्दैन । उहाँ भाग्य निर्धारण गर्न तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
६८. यदि अल्लाहको यो आदेश कि अन्फाल तथा कैदीहरूबाट लिइने अर्थ-दण्ड लिन हलाल हुने कुरा पहिले नै लेखिएको भए जे अन्फाल तथा कैदीहरूबाट अर्थ-दण्ड तिमीहरूले लियौ त्यसले गर्दा तिमीहरूलाई कठोर यातना दिइने थियो । किनभने तिमीहरूले वही अवतरण हुनुअघि नै अन्फाल तथा कैदीहरूबाट अर्थ-दण्ड लियौ ।
६९. हो मोमिनहरू हो ! तिमीहरूले काफिरहरूबाट जुन युद्धमा प्राप्त भएको शत्र-धन लिएका छौ त्यो तिमीहरूका लागि हलाल हो, त्यसलाई खाऊ । अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूलाई त्यागेर उहाँसँग डराऊ । निस्सन्देह अल्लाह आफ्ना मोमिमन भक्तहरूलाई माफ गर्नुहुन्छ र दया गर्नुहुन्छ ।
७०. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! बद्रको दिन तपाईंको कब्जामा आएका बहुदेववादी बन्दीहरूलाई भनिदिनुहोस्– यदि अल्लाहले तिमीहरूको हृदयमा कुनै राम्रो भावना देख्नु भएको भए जुन धन तिमीहरूबाट लिइएको छ त्यसभन्दा उत्तम तिमीहरूलाई प्रदान गर्नुहुनेछ । तिमीहरूबाट जे पनि लिइएको छ त्यसप्रति चिन्ता न गर । अल्लाह तिमीहरूका पापहरूलाई माफ गर्नुहुनेछ किनभने उहाँ आफ्ना भक्तहरूलाई माफ गर्नुहुनेछ र दया गर्नुहुनेछ । नबी (सल्लल्लाहु अलैहि व सल्लम) का इस्लाम ल्याएका काका अब्बास (रजि.) इत्यादिलाई माफ गरेर अल्लाहले आफ्नो यो वाचा पूरा गर्नुभयो ।
७१. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिनीहरूले तपाईंसँग विश्वासघात गर्न चाहन्छन्, जस्तो कि तिनीहरूको कुराबाट स्पष्ट हुन्छ भने यसअघि तिनीहरूले अल्लाहसँग पनि विश्वासघात गरिसकेका छन् र अल्लाहले तिनीहरूविरुद्ध तपाईंको मद्दत गरिसक्नुभएको छ, अनि तिनीहरूमध्ये केही हताहत भए र केही बन्दी बनाइए । यदि फेरि त्यस्तै कार्य गर्छन् भने तिनीहरूले त्यस्तै परीणामको प्रतीक्षा गर्नुपर्छ । अल्लाह आफ्नो सृष्टि तथा त्यसमध्ये ठीकलाई जान्नुहुन्छ र विवेकपूर्ण तरिकाले कार्य सञ्चालन गर्नुहुन्छ ।
७२. अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याएर तथा आफ्ना धन-सम्पत्ति तथा ज्यानले अल्लाहको मार्गमा युद्ध गरेका मुहाजिरहरू तथा उनीहरूलाई घरबार तथा आश्रय दिएका अन्सार वास्तवमा परस्पर संरक्षक-मित्र हुन् । तर यस्ता व्यक्तिहरू जसले ईमान त ल्याए तर घरबार त्यागी इस्लामी राज्यमा आएनन् उनीहरू जबसम्म घरबार त्यागेर आउँदैनन् हे मोमिनहरू हो ! तबसम्म उनीहरूको संरक्षणको कुनै जिम्मेवारी तिमीहरूमाथि छैन । तर यदि काफिरहरूले उनीहरूमाथि अत्याचार गर्छन् र उनीहरू तिमीहरूसँग मद्दत माग्छन् भने उनीहरूको सहयोग गर । तर यदि तिमीहरूबीच र उनीहरूका शत्रुहरूबीच सम्झौता कायम छ भने उनीहरूको मद्दत न गर । अल्लाहले तिम्रा सम्पूर्ण कार्यहरूलाई हेरिराख्नुभएको छ, तिमीहरूको कुनै पनि कार्य उहाँबाट गोप्य छैन र उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।
७३. काफिरहरू एक अर्काका सहयोगी-मित्र हुन्, मोमिनहरूले तिनीहरूलाई घनिष्ट मित्र बनाउँदैनन् । यदि मोमिनहरूले मोमिनहरूलाई घनिष्ट मित्र बनाउँदैनन् र काफिरहरूलाई शत्रु बनाउँदैनन् भने यो मोमिनहरूको लागि उत्पिडन हुनेछ, किनभने यस्तो अवस्थामा मोमिनहरूको आफ्नै मोमिन दाजु भाइहरू उनीहरूको सहयोगी रहदैनन् । यदि तिमीहरूले यसो गरेनौ भने अल्लाहको मार्गमा बाधा उत्पन्न भएर धर्तीमा उपद्रव तथा ठूलो विध्वंस मच्चिनेछ ।
७४. अल्लाहमाथि ईमान ल्याएर उहाँको मार्गमा स्वदेशलाई त्यागेका मुहाजिरहरू तथा उनीहरूलाई आश्रय दिएर सहयोग गरेका अन्सार नै सच्चा मोमिन हुन् । अल्लाहले उनीहरूका पापहरूलाई माफ गर्नुहुनेछ, उत्कृष्ट जीविका तथा स्वर्ग प्रदान गर्नुहुनेछ ।
७५. हे मोमिनहरू हो ! मुहाजिर तथा अन्सार पछि ईमान ल्याएर घरबार त्यागेका, अल्लाहको वाणीलाई उच्च पार्ने तथा कुफ्रको वाणीलाई तल पार्ने तिमीहरूसँग मिलेर युद्ध गरेका मोमिनहरू तिमीहरूमध्येकै हुन् । उनीहरूको लागि त्यही हक-अधिकार छ जो तिमीहरूको छ र उनीहरूको जिम्मेबारी पनि त्यही छ जो तिमीहरूको छ । नातेदारहरू अल्लाहको आदेशानुसार एक अर्काको बढी हकदार हुन्छन् । निश्चय नै अल्लाह हरेक वस्तुका ज्ञाता हुनुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन, उहाँले भक्तहरूका लागि त्यही कानुन बनाउनुभएको छ जो उनीहरूको हीतमा छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें