सीधे मुख्य सामग्री पर जाएं

११. सूरह हूद (मक्की)

     शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट



१. अलिफ० लाम० रा० ! यस जस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरामा कुरा भइ सकेको छ । कुरआन यस्तो किताब हो जसका आयतहरू सुदृढ पारिएका छन् । तपाईंले त्यसमा कनै कमि देख्नुहुन्न । साथै त्यसमा अल्लाहको तर्फबाट हलाल, हराम, आदेश, मनाहि, वाचा, धमकी, सत्य कथाहरू इत्यादि कुराहरू स्पष्ट पारिएका छन् । अल्लाह कार्य सञ्चालन तथा कानुन बनाउनमा विवेकशील हुनुहुन्छ र भक्तहरूका अवस्थाबारे अवगत हुनुहुन्छ ।
२. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित भएका यी आयतहरूमा भक्तहरूलाई अल्लाहबाहेक अन्य सबैको भक्तिबाट मनाहि गरिएको छ । हे मानव ! यदि तिमीहरू अल्लाहको इन्कार तथा अवज्ञा गर्छौ भने अल्लाहको यातनाबाट डराऊ । यदि तिमीहरू अल्लाहमाथि ईमान राख्छौ र उहाँको कानुनको पालना गर्छौ भने म तिमीहरूलाई पुण्यको शुभसूचना दिन्छु ।
३. हे मानव ! आफ्ना पालनकर्तासित तिमीहरूले गरेको पापप्रति माफि माग र आफूमाथि गरेको अत्याचारप्रति तौबा गर । उहाँले तिमीहरूलाई एउटा विशेष अवधिसम्म संसारमा राम्रो जीवन प्रदान गर्नुहुनेछ । तिमीहरूले गरेको आज्ञापालन र सत्कर्मको पूरा पूरा बदला दिनुहुनेछ । मैले ल्याएको धर्मप्रति ईमान ल्याउँदैनौ भने महाप्रलयको दिनको भयावह यातनाबाट डराउँछु ।
४. हे मानव ! महाप्रलयको दिन तिमीहरूले अल्लाहतर्फ नै फर्केर जानुछ । उहाँ हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । उहाँलाई कसैले पनि विवश पार्न सक्दैन । तिमीहरूको मृत्युपछि पुनर्जन्म गराउनु र हिसाब किताब लिनु मेरो लागि सजिलो छ । यसले मलाई हैरान पार्न सक्दैन ।
५. जानिराख ! यी बहुदेववादीहरू आफ्ना छातीहरूलाई दोब्बर पार्दछन् ताकि त्यसभित्र रहेका शंका लुकाउन सकुन् । यो शंका तिनीहरूको मनमा अल्लाहको बारेमा अज्ञानताको कारणले छ । जानिराख, जब तिनीहरू आफूलाई वस्त्रभित्र ढाक्छन् त्यतिखेर पनि अल्लाह तिनीहरूले लुकाएका वा प्रकट गरेका कुराहरूलाई जान्नुहुन्छ । निस्सन्देह उहाँ हृदयका भेदहरूसित पनि अवगत हुनुहुन्छ ।
६. धर्तीमा हिंडडुल गर्ने सबै प्राणीहरूलाई अल्लाहले जीविका प्रदान गर्नुहुन्छ । उहाँ सबैका बास-स्थान र मृत्यु-स्थानलाई जान्नुहुन्छ । सबै प्राणीहरू, ती सबैका जीविका, बास-स्थान तथा मृत्यु-स्थान एउटा सुरक्षित किताबमा लेखिएको छ । 
७. अल्लाहले नै विशाल आकाशहररू, फराकिलो पृथ्वी तथा ती दुवैमा रहेका वस्तुहरूलाई ६ दिनमा सृष्टि गर्नुभयो । यी दुवैको सृष्टिअघि अल्लाहको अर्श (सिंहासन) पानीमाथि थियो । हे मानव हो ! अल्लाहको उद्देश्य तिमीहरूको परीक्षा लिनु हो । तिमीहरूमध्ये कसले अल्लाहलाई प्रसन्न पार्ने कार्य गर्छ र को अल्लाहलाई अप्रसन्न पार्ने दुष्कर्म गर्छ । अनि अल्लाहले उनीहरू सबैलाई उनीहरूका कर्महरूको बदला उनीहरूका कर्महरू अनुसार दिनुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लमा) ! जब तपाईं भन्नुहुन्छ, हे मानव हो ! हिसाब किताबको लागि तिमीहरूलाई मृत्युपश्चात् अवश्य जीवित पारिनेछ, तब काफिरहरू भन्छन्– यो कुरआन स्पष्ट जादू हो तसर्थ यो झूठो किताब हो ।
८. जब हामीले निश्चित अवधिको लागि संसारमा बहुदेववादीहरूको प्रकोपलाई स्थगित गर्छौं तब तिनीहरूले हतार र ठट्टा गर्दै भन्छन्– हामीबाट प्रकोपलाई कसले रोकेको छ ? जानिराख– तिनीहरूमाथि आउने प्रकोपको लागि अल्लाहकहाँ एउटा निश्चित समय छ । जब त्यो समय आइपुग्छ तब तिनीहरूलाई कसैले बचाउन सक्दैन । त्यो प्रकोपले तिनीहरूलाई अवश्य नै समात्नेछ । तिनीहरूले हतार र ठट्टा गर्ने प्रकोपले तिनीहरूलाई घेरामा लिएको छ ।
९. जब हामी मानवलाई आफ्नोतर्फबाट वरदान प्रदान गर्छौं जस्तै स्वास्थ्य तथा धन-सम्पत्ति, फेरि त्यस वरदानबाट केही फिर्ता लिन्छौं तब ऊ अल्लाहको कृपाबाट निराश हुन्छ उहाँको वरदानप्रति कृतघ्न हुनपुग्छ र त्यसलाई बिर्सन्छ ।
१०. जब हामी मानवलाई गरीबी तथा रोगपछि सम्पन्नता तथा स्वास्थ्यको वरदानको स्वाद चखाउँछौं तब ऊ भन्छ– मेरो सबै दुःख समाप्त भयो । तर ऊ अल्लाहप्रति आभार व्यक्त गर्दैन । घमण्ड गर्दै अति प्रसन्न हुन्छ र मानिसहरूबीच आफ्नो बडप्पन जताउँछ ।
११. तर सङ्कटमा धैर्यधारण गर्ने, आज्ञापालनमा अडिग रहने, अवज्ञाबाट बच्ने र सत्कर्म गर्ने मानिसहरू निराशा तथा कुफ्रबाट जोगिन्छन् । उनीहरू मानिसहरूबीच घमण्ड गर्दैनन् । यस्ता मानिसहरूका लागि आखिरतमा क्षमा तथा ठूलो पुण्य छ । 
१२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! सम्भवतः यस्तो नहोस् कि तपाईंले आफूतर्फ वही (प्रकाशना) द्वारा पठाइएका केही कुरा पुर्याउने काम छोडिदिनुहोस् । जब कि तपाईंलाई ती कुराहरू पुर्याउने आदेश दिइएको छ । काफिरहरूको कुफ्र तथा शत्रुताले गर्दा तपाईंको हृदय सङ्कीर्ण नहोस् । काफिरहरू भन्छन् तपाईंमाथि कुनै खजाना किन अवतरित गरिएन वा तपाईंसँग कुनै फरिश्ता किन आएन ? तर तपाईं तिनीहरूको यस भनाईले इस्लाम धर्मको प्रचार प्रसारको काम नछोड्नुहोस् । तपाईं मात्र सचेतक हुनुहुन्छ । तिनिहरूले माग गरे अनुसार चमत्कार ल्याउने जिम्मेबारी तपाईंमाथि छैन । अल्लाह सबै चिजहरूका निरिक्षक हुनुहुन्छ ।
१३. के बहुदेववादीहरू भन्छन्- मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले कुरआनको रचना स्वयम् गर्नुभएको छ ? यो अल्लाहको तर्फबाट वही (प्रकाशना) होइन ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तिनीहरूलाई चुनौति दिंदै भन्नुहोस्– त्यसो भए तिमीहरूले पनि कुरआनमा भएका जस्तै दस वटा सूरहहरू रचना गरेर ल्याऊ । यदि तिमीहरू आफ्नो दावीमा सच्चा छौ भने अल्लाहबाहेक जसलाई सहायताको लागि बोलाउन सक्छौ बोलाऊ ।
१४. हे मोमिनहरू हो ! यदि तिनीहरू तिमीहरूले माग गरेको कार्य गर्दैनन् भने विश्वासका साथ जानिराख, अल्लाहले कुरआनलाई ज्ञानका साथ आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गर्नुभएको छ । कुरआनलाई अन्य कसैले रचना गरेको छैन । जानिराख, अल्लाहबाहेक कोही वास्तविक उपास्य छैन । अनि के अब तिमीहरू अल्लाहको आज्ञाकारी भक्त बन्छौ ?
१५. जुन मानिसहरू मात्र सांसारिक जीवन तथा त्यसको क्षणिक मोज मस्तीको लागि कार्य गर्छन् र आखिरतको लागि कार्य गर्दैन, तिनीहरूलाई तिनीहरूका कर्महरूको पूरा पूरा बदला यसै संसारमा राम्रो स्वास्थ्य, शान्ति तथा सम्पन्नताको रूपमा दिनेगर्छौं । 
१६. यस्ता तुच्छ उद्देश्य राखेका मानिसहरू महाप्रलयको दिन नर्कमा फ्याँकिनेछन् । तिनीहरूका सबै सत्कर्महरू व्यर्थ  हुनेछन् । किनभने तिनीहरूले संसारमा ईमान ल्याएनन्, ठीक उद्देश्य राखेनन्, अल्लाहको प्रसन्नता र आखिरतको लागि काम गरेनन् । 
१७. सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) तथा उहाँसँग ईमान ल्याएका मानिसहरू र काफिरहरू एकसमान हुन सक्दैनन् । किनभने उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) सँग अल्लाहको तर्फबाट प्रमाण छ, जसको अनुसरण जिब्रील (अलैहिस्सलाम) गर्छन् र जसको सन्देष्टा हुने गवाही मूसा (अलैहिस्सलाम) माथि अवतरित तौरात दिंदैछ । मोमिनहरू कुरआन र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान राख्छन् । जब कि काफिरहरू पथभ्रष्टतामा हैरान छन् । तिनीहरू महाप्रलयको दिन नर्कमा जानेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं कुरआन र त्यसको वचनमा शंका नगर्नुहोस् । निश्चय नै यो सत्य हो । यसमा कुनै शंका छैन । तर यसमा अति स्पष्ट प्रमाण र तर्कहरू हुँदा हुँदै पनि अधिकांश मानिसहरू ईमान ल्याउँदैनन् ।
१८. अल्लाहसँग साझेदार र पुत्र बनाएर उहाँमाथि झूठा आरोप लगाउनेहरू नै सबै भन्दा ठूला अत्याचारीहरू हुन् । यस्ता व्यक्तिहरूलाई महाप्रलयको दिन अल्लाहसमक्ष पेश गरिनेछ । अल्लाहले तिनीहरूसँग तिनीहरूको कर्महरूको हिसाब लिनुहुनेछ । फरिश्ता र रसूलहरूमध्ये गवाहहरूले भन्नेछन्– यिनीहरू नै हुन् अल्लाहको लागि साझेदार र पुत्र बनाएर झूठा रच्नेहरू । जानिराख, तिनीहरूको झूठो र अत्याचारको कारणले अल्लाहले तिनीहरूलाई आफ्नो कृपाबाट टाढा पार्नुभयो ।
१९. यिनीहरू मानिसहरूलाई अल्लाहको सीधा मार्गबाट रोक्छन् र त्यसलाई बङ्ग्याउन खोज्छन्, ताकि मानिसहरू यसमा हिँडन नसकुन् । तिनीहरू मृत्युपछि पुनर्जन्मको पनि इन्कार गर्छन् । 
२०. यस्ता व्यक्तिहरू धर्तीमा अल्लाहको प्रकोपबाट भाग्न सक्दैनन् । यस प्रकोपबाट बचाउने अल्लाहबाहेक कोही मित्र पनि हुने छैन ।  महाप्रलयको दिन तिनीहरूका यातनालाई बढाइनेछ । किनभने तिनीहरू अल्लाहको मार्गमा स्वयम् पनि हिँडेनन् र अरूलाई त्यसबाट रोके । तिनीहरूले संसारमा इस्लाम धर्म तथा मार्गदर्शनलाई स्वीकार गरेनन् । सत्यबाट अति नै विमुख भएको कारणले तिनीहरूले संसारमा फैलिएका अल्लाहका निशानीहरूलाई पनि हेरेनन् ।
२१. यस्ता मानिसहरूले अल्लाहसँग साझेदार बनाएर आफैँलाई घाटामा पारे । तिनीहरूले रचेका साझेदारहरू र सिफारिशकर्ताहरू पनि तिनीहरूलाई छोडेर गए । 
२२. महाप्रलयको दिन तिनीहरू घाटा खानेहरूमध्ये हुनेछन् । किनभने तिनीहरूले ईमानको सट्टामा कुफ्रलाई, आखिरतको सट्टामा संसार र कृपाको सट्टामा प्रकोपलाई रोजे ।
२३. निस्सन्देह जुन व्यक्तिहरूले अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याए, सत्कर्म गरे र अल्लाहसित डराए उनीहरू नै स्वर्गमा जानेहरू हुन् जहाँ सदा रहनेछन् ।
२४. काफिरहरू र मोमिनहरू दुवै समूहको उदाहरण यस्तो छ, काफिर अन्धा-बहिरा हुन् जबकि मोमिनहरू हेर्न सक्छन् र सुन्न सक्छन्  । के यी दुवैको अवस्था बराबर हुन सक्छ ?! यी दुवै बराबर हुन सक्दैनन् । के तिमीहरू यी दुवैको बराबर नहुने अवस्थाबाट शिक्षा प्राप्त गर्दैनौ ?! 
बहुदेववादीहरूले ईमान ल्याउने छैनन् भन्ने कुरा जब स्पष्ट भयो तब अल्लाहले विगतका सन्देष्टाहरूका सत्य कथाहरू वर्णन गरेर नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई सान्त्वना दिनुभयो । यिनीहरूले मात्र तपाईंलाई झूठो ठहर गरेका छैनन् बरु तपाईंभन्दा अघिका सन्देष्टाहरू पनि झूठा ठहर गरिए- 
२५. हामीले नूह (अलैहिस्सलाम) लाई उनको समुदायतर्फ पठायौं । उनले भने– हे मेरा समुदाय ! म तिमीहरूलाई अल्लाहको प्रकोपबाट सचेत गर्छु र उहाँको सन्देशलाई स्पष्ट पार्छु ।
२६. तिमीहरूलाई मात्र एक अल्लाहको भक्तिको अह्वान गर्छु । उहाँबाहेक अन्य कसैको भक्ति नगर । म तिमीहरूलाई हुने कष्टकर यातनादेखि डराउँछु ।
२७. समुदायका काफिर अगुवाहरूले भने– हामी तिम्रो अह्वानलाई मान्दैनौं किनभने तिमीभित्र कुनै विशेषता छैन । तिमी हामी जस्तै मानव हौ । तिम्रो अनुसरण गर्नेहरू पनि समुदायका नीच मानिसहरू हुन् । तिमी सम्मान, धन-सम्पत्ति र पद कुनै पनि दृष्टिले अनुसरण योग्य छैनौ । बरु तिमी आफ्नो अह्वानमा झूठो  छौ । 
२८. नूह (अलैहिस्सलाम) ले तिनीहरूलाई भने– हे मेरा समुदाय ! मलाई बताऊ, यदि म आफ्ना पालनकर्ताको तर्फबाट एक स्पष्ट प्रमाणमा कायम छु । उहाँले मलाई आफ्नो विशेष दया ईश्दूतत्व पनि प्रदान गर्नुभयो । तिमहरूको अज्ञानताको कारणले त्यो तिमीहरूबाट गोप्य राखिएको छ । के हामी तिमीहरूलाई यसमा ईमान ल्याउन बाध्य पारौं र जबरजस्ती तिमीहरूको हृदयमा हालौं ?! हामीमा यसको शक्ति छैन । ईमानको अवसर त अल्लाहले मात्र दिन सक्नुहुन्छ । 
२९. हे मेरा समुदाय ! म जुन कुराको अह्वान गर्दैछु त्यसको बदलामा कुनै धन तिमीहरूसित माग्दिन । मेरो बदला मात्र अल्लाहको जिम्मामा छ । म तिमीहरूले गरेको मागको आधारमा आफ्नो सभाबाट गरिब मोमिनहरूलाई निष्कासन गर्दिन । उनीहरू महाप्रलयको दिन आफ्ना पालनकर्तासित भेट्नेछन् । उहाँले उनीहरूलाई उनीहरूको ईमानको बदला दिनुहुनेछ । तर तिमीहरू हाम्रो अह्वानको वास्तविक्तालाई बुझिरहेका छैनौ ।
३०. हे मेरा समुदाय ! यदि मैले यी मोमिनहरूलाई बिनाकारण निष्कासित गरें भने मलाई अल्लाहको प्रकोपबाट कसले बचाउँछ ? के तिमीहरू उपदेश ग्रहण गर्दैनौ र जुन कुरा तिमीहरूको लागि राम्रो छ त्यसको लागि प्रयास गर्दैनौ ?!
३१. हे मेरा समुदाय ! म यो भन्दिन- मसँग अल्लाहका खजानाहरू छन्, जसलाई तिमीहरूले ईमान ल्याएमा म तिमीहरूमाथि खर्च गर्छु । म अदृश्य वास्तविक्तबारे ज्ञान राख्छु भन्ने दावी पनि गर्दिन । म फरिश्ता पनि होइन । म त तिमीहरू जस्तै मानव हुँ । तिमीहरूको नजरमा तुच्छ रहेका मोमिनहरूबारे यो भन्दिन- अल्लाहले कहिल्यै उनीहरूलाई मार्गदर्शन दिनुहुने छैन । उनीहरूका मन्शाय तथा कर्महरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ । यस्तो दावी गरेमा म अवश्य नै अत्याचारी र प्रकोपको भागी बन्नेछु ।
३२. तिनीहरूले घमण्ड गर्दै भने– हे नूह ! तिमीले हामीहरूसँग धेरै तर्कवितर्क गर्यौ । यदि तिमी आफ्नो दावीमा सच्चा छौ भने त्यो प्रकोप ल्याएर देखाऊ जसको धमकी दिंदैछौ । 
३३. नूह (अलैहिस्सलाम) ले भने– प्रकोप ल्याउनु मेरो काम होइन । यो त अल्लाहले चाहनु भएमा ल्याउनुहुनेछ । यदि अल्लाहले प्रकोप ल्याउनुभएमा तिमीहरू यसबाट बच्न सक्दैनौ ।
३४. यदि अल्लाहले तिमीहरूलाई पथभ्रष्ट गर्न चाहेमा मेरो सहानुभूति तथा उपदेशले कुनै फाइदा पुर्याउने छैन । उहाँ नै तिमीहरूका पालनकर्ता हुनुहुन्छ । उहाँ कै हातमा तिमीहरूको मामिला छ । उहाँले चाहनु भएमा तिमीहरूलाई पथभ्रष्ट गर्नुहुनेछ । महाप्रलयको दिन उहाँतर्फ नै फर्केर जानेछौ । उहाँले तिमीहरूका कर्महरूको बदला दिनुहुनेछ ।
३५. नूह (अलैहिस्सलाम) को समुदायको पथभ्रष्टताको कारण तिनीहरूको यो भ्रम थियो कि नूह (अलैहिस्सलाम) ले अल्लाहमाथि झूठो आरोप लगाएर आफैँ यो धर्म बनाएका छन् । हे रसूल (अलैहिस्सलाम) ! भनिदिनुहोस्– यदि मैले त्यो आरोप लगाएको छु भने मेरो पाप ममाथि छ । तिमीहरूले ठहर गरेको झूठो कुराको बोझ ममाथि आउँदैन र त्यससँग मेरो कुनै सरोकार पनि छैन  ।
३६. अल्लाहले नूह (अलैहिस्साम) तर्फ वही (प्रकाशना) गर्नुभयो । हे नूह ! यसअघि जति मानिसहरूले तिमीमाथि ईमान ल्याए उनीहरूबाहेक अरू कसैले ईमान ल्याउने छैन । हे नूह ! तिनीहरूले एउटा लामो अवधिसम्म झूठो ठहर गरेकोले र ठट्टा गरेकोले तिमी निराश नहोऊ । 
३७. हाम्रो निरीक्षणमा वही अनुसार एउटा डुङ्गा निर्माण गर । कुफ्र गरेर अत्याचार गर्नेहरूलाई अवसर दिनु भनेर मलाई सम्बोधन नगर किनभने तिनीहरू अवश्य डुबाइनेछन् ।
३८. नूह (अलैहिस्सलाम) ले अल्लाहको आदेशको पालना गर्दै डुङ्गा बनाउन शुरु गरे । उनका समुदायका अगुवाहरू उनको नजिकबाट ओहोर दोहोर गर्दा उनको ठट्टा गर्न थाले, किनभने न त त्यहाँ पानी थियो न नदी । पटक पटक ठट्टा गरेको देख्दा नूह (अलैहिस्सलाम) ले भने– यदि तिमीहरू यो डुङ्गा बनाउँदा हाम्रो ठट्टा गर्छौ भने तिमीहरू बाढीमा डुबि रहंदा हामी तिमीहरूको ठट्टा गर्नेछौं ।  
३९. तिमीहरूलाई चाँडै थाहा हुनेछ कि कसमाथि संसारमा प्रकोप आउनेछ जसले त्यसलाई अपमानित गर्नेछ र कसलाई महाप्रलयको दिन सधैँ रहने यातना दिइनेछ । 
४०. नूह (अलैहिस्सलाम) ले डुङ्गा बनाउने काम पूरा गरे । यहाँसम्म कि तिनीहरूलाई सर्वनाश पार्ने हाम्रो आदेश आइपुग्यो । रोटी बनाउने ‘तन्नूर’ फुट्यो । यो बाढी शुरु हुने सूचना थियो । हामीले नूह (अलैहिस्सलाम) लाई भन्यौं– पृथ्वीमा रहेका सबै प्रकारका जनावरका एक-एक जोडी भाले पोथी डुङ्गामा राख । आफ्नो परिवार तथा मुदायमध्ये ईमान ल्याएका मानिसहरूलाई डुङ्गामा सवार गराऊ । परिवारका जुन सदस्यहरूले ईमान ल्याएका छैनन् तिनीहरूलाई डुङ्गामा सवार नगराऊ । किनभने तिनीहरूलाई डुबाइने निर्णय पहिला नै भइसकेको छ । उनले लामो अवधिसम्म एक अल्लाहमाथि ईमान ल्याउने अह्वान गरे पनि उनीमाथि उनका समुदायका केही व्यक्तिहरूले मात्र ईमान ल्याएका थिए ।  
४१. नूह (अलैहिस्सलाम) ले मोमिनहरूलाई भने– तिमीहरू डुङ्गामा सवार होऊ । अल्लाहकै नामबाट, यो डुङ्गा गुड्नेछ र रोकिनेछ । निस्सन्देह मेरा पालनकर्ता तौबा गर्ने भक्तहरूप्रति अति क्षमाशील र परम दयालु हुनुहुन्छ । उहाँले आफ्नो कृपाले नै मोमिनहरूलाई जोगाउनु हन्छ ।
४२. डुङ्गा तिनीहरूलाई बोकेर पहाडजस्ता लहरहरूबीच गुड्दै थियो । नूह (अलैहिस्सलाम) ले सन्तान-मोहले गर्दा छुट्टिएर रहेको आफ्नो पुत्रलाई पुकारेर भने– हे मेरा पुत्र ! आफूलाई जोगाउनको लागि हामीसँग डुङ्गामा सवार होऊ । काफिरहरूमा सामेल नहोऊ, नत्र तिनीहरू जस्तै तिमी पनि डुबेर मर्छौ ।
४३. उसले जवाफ दियो– म यस्तो अग्लो पहाडमाथि चढ्नेछु जहाँसम्म पानी पुग्ने छैन र यसले मलाई पानीबाट सुरक्षित राख्नेछ । नूह (अलैहिस्सलाम) ले भने– आज अल्लाहको यस बाढीको प्रकोपबाट कसैले जोगाउन सक्दैन । दयावान अल्लाहले आफ्नो कृपाबाट जसलाई चाहनुहुन्छ उसलाई बचाउनुहुन्छ । यत्तिकैमा नूह (अलैहिस्सलाम) तथा उनको काफिर पुत्रबीच लहर उठ्यो अनि ऊ आफ्नो कुफ्रको कारणले बाढीमा डुब्यो ।
४४. अल्लाहले पृथ्वीलाई भन्नुभयो– हे पृथ्वी आफ्नो पानीलाई निल । उहाँले आकाशलाई भन्नुभयो- हे आकाश ! रोकिहाल र थप पानी नबर्साऊ । अनि पानी सुक्यो र पृथ्वी पहिला झैँ भयो । अल्लाहले काफिरहरूलाई सर्वनाश पार्नुभयो । डुङ्गा जूदी पहाडमा रोकियो र भनियो– धिक्कार छ कुफ्र गरेर सीमा उल्लङ्घन गर्नेहरूमाथि । 
४५. नूह (अलैहिस्सलाम) ले मद्दत माग्दै अल्लाहलाई पुकारे– हे मेरा पालनकर्ता ! मेरो पुत्र निश्चय नै मेरो परिवारअन्तर्गत रहेको छ जसलाई तपाईंको तर्फबाट जोगाउने वाचा छ । तपाईंको वचन सत्य छ, जसको उल्लङ्घन गरिदैन । तपाईं सबै भन्दा सटिक निर्णायक र सर्वज्ञ हुनुहुन्छ ।
४६. अल्लाहले नूह (अलैहिस्सलाम) लाई भन्नुभयो– हे नूह ! निस्सन्देह तिमीले आफ्नो जुन पुत्रलाई बचाउनको लागि दुआ गर्यौ ऊ काफिर भएकोले तिम्रो त्यस परिवारअन्तर्गतको पर्दैन जसलाई बचाउने वाचा मैले गरेको थिएं । तिम्रो यो दुआ तिम्रो तर्फबाट अनुचित कार्य हो । यो तिमीलाई शोभा दिंदैन । ज्ञान नभएको कुराको लागि तिमी म सँग दुआ नगर । अज्ञानीहरूझैँ बन्नबाट सावधान ! 
४७. नूह (अलैहिस्सलाम) ले भने– हे मेरा पालनकर्ता ! ज्ञान नभएको कुराबारे दुआ गर्नबाट बच्न म तपाईंको शरण चाहन्छु । यदि मलाई माफ गर्नुभएन र ममथि दया गर्नुभएन भने म आखिरतमा घाटा खानेहरूमध्ये हुनेछु 
४८. अल्लाहले नूह (अलैहिस्सलाम) लाई भन्नुभयो– हे नूह ! डुङ्गाबाट सकुशल ओर्ल । तिमी, तिम्रा सन्तान, डुङ्गामा सवार मोमिन र पछि आउने मोमिनहरूका लागि शान्ति, बरकत तथा वरदानहरू छन् । तिनीहरूमध्ये केही समूहहरू काफिर हुनेछन्, जसलाई हामीले सांसारिक फाइदाबाट लाभान्वित गर्नेछौं तर फेरि आखिरतमा दुखदायी यातना दिनेछौं ।
४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम ! नूह (अलैहिस्सलाम) को सत्य कथा परोक्षका खबरहरू हुन्, जसको ज्ञान यस वही (प्रकाशना) अघि न तपाईंलाई थियो न तपाईंको समुदायलाई । जसरी नूह (अलैहिस्सलाम) ले धैर्य गरे, तपाईं पनि आफ्नो समुदायले दि रहेको कष्टप्रति धैर्य धारण गर्नुहोस् । अल्लाहका आदेशहरूको पालना गर्ने तथा वर्जित कार्यहरूबाट बच्नेहरूलाई नै अल्लाहको मद्दत तथा विजय प्राप्त हुन्छ ।
५०. हामीले आदतर्फ उनका भाइ हूद (अलैहिस्सलाम) लाई पठायौं । उनले भने– हे मेरा समुदाय ! मात्र अल्लाहको उपासना गर । उहाँसँग अन्य कसैलाई साझेदार नबनाऊ । उहाँबाहेक तिमीहरूको कोही वास्तविक पूज्य छैन । उहाँसँग साझेदार हुने दावी तिमीहरूमध्ये झूठाहरू मात्र गर्छन् । 
५१. हे मेरा समुदाय ! म यस अह्वान र उपदेशको सट्टामा कुनै बदला तिमीहरूसित माग्दिन । मेरो बदला मात्र अल्लाहको जिम्मामा छ जसले मलाई सृष्टि गर्नुभयो । के तिमीहरू यो कुरा बुझ्दैनौ र मेरो अह्वानलाई स्वीकार गर्दैनौ ?!
५२. हे मेरा समुदाय ! तिमीहरू अल्लाहसित क्षमायाचना गर । उहाँबाट आफ्नो पाप विशेषरूपमा शिर्कको लागि तौबा गर । उहाँले तिमीहरूमाथि आकाशबाट अविरल वर्षा बर्साउनुहुनेछ । तिमीहरूलाई धेरै धन तथा सन्तान प्रदान गरेर अझ शक्तिशाली बनाउनुहुनेछ । मेरो अह्वानबाट विमुख नहोऊ । यदि मेरो अह्वानबाट विमुख हुन्छौ, अल्लाको इन्कार गर्छौ र मेरो सन्देशलाई झूठो ठहर गर्छौ भने तिमीहरू अपराधीहरूमध्ये बन्नेछौ ।
५३. उनको समुदायले भन्यो– हे हूद ! तिमीले हामीसमक्ष कुनै स्पष्ट प्रमाण प्रस्तुत गरेनौ कि हामी तिमीमाथि ईमान ल्याऊँ । तिमीले भन्दैमा हामी आफ्ना उपास्यहरूको पूजा छोड्ने छैनौं । तिमी रसूल हौ भन्ने दावीमा हामी विश्वास गर्दैनौं ।
५४.–५५. हाम्रो विचारमा तिमीलाई हाम्रो कुनै देवताले बौलाहा बनाएको छ । किनभने तिमी हामीहरूलाई मूर्ति पूजाबाट रोक्छौ । हूद (अलैहिस्सलाम) ले भने– म अल्लाहलाई साक्षी बनाउँछु र तिमीहरू पनि साक्षी बस, अल्लाहबाहेक तिमीहरू जसको पूजा गर्छौ तिनीहरूसँग मेरो कुनै सरोकार छैन । अतः तिमीहरू तिम्रा भगवानहरू सबै मिलेर मेरोविरुद्ध योजना बनाऊ र मलाई अलिकति पनि अवसर नदेऊ । 
५६. मैले आफ्नो मामिलामा अल्लाहमाथि नै पूर्ण भरोसा गरें । उहाँ मेरो पनि पालनकर्ता हुनुहुन्छ र तिमीहरूको पनि । धर्तीमा कुनै सृष्टि छैन जो विनम्र भएर अल्लाहको सत्ता-शासन अन्तर्गत बसेको नहोस् । अल्लाह जसरी चाहनुहुन्छ त्यसरी त्यसलाई चलाउनुहुन्छ । निस्सन्देह मेरा पालनकर्ता सत्य तथा निसाफमा हुनुहुन्छ । म सत्यमा र तिमीहरू असत्यमा भएकोले अल्लाहले तिमीहरूलाई ममाथि कहिल्यै प्रभुत्व प्रदान गर्नुहुने छैन । 
५७. मैले ल्याएको सन्देशबाट तिमीहरू विमुख हुन्छौ भने होऊ । मेरो जिम्मामा त्यसलाई तिमीहरूसमक्ष पुर्याउने जिम्मेबारी मात्र छ । अल्लाहले प्रदान गर्नुभएको सन्देश मैले तिमीहरूलाई पुर्याइ सकेको छु । तिमीहरूमाथि प्रमाण सिद्ध भइसकेको छ । मेरा पालनकर्ताले तिमीहरूको सर्वनाश गर्नुहुनेछ र तिमीहरूको स्थानमा अन्य समुदायलाई ल्याउनुहुनेछ । विमुख भएर र झूठो ठहर गरेर तिमीहरूले अल्लाहको केही बिगार्न सक्दैनौ । किनभने उहाँ आत्मनिर्भर हुनुहुन्छ । उहाँ आफ्ना भक्तहरूमध्ये कसैको आवश्यक्तामा हुनुहुन्न । निस्सन्देह मेरा पालनकर्ता सम्पूर्ण चिजका संरक्षक हुनुहुन्छ । तिमीहरूले पुर्याएको कष्टबाट उहाँले नै सुरक्षित राख्नुहुन्छ ।
५८. जब तिनीहरूको विनाशको हाम्रो आदेश आइपुग्यो तब हामीले आफ्नो कृपाले हूद (अलैहिस्सलाम) र उनकासाथ ईमान ल्याउनेहरूलाई बचायौं ।) उनको काफिर समुदायमाथि आएको प्रकोपबाट हामीले हूद (अलैहिस्सलाम) र मोमिनहरूलाई बचायौं ।
५९. यो हो आद जसले आफ्ना पालनकर्ताका निशानीहरूलाई इन्कार गर्यो, आफ्ना रसूल हूद (अलैहिस्सलाम) को अवज्ञा गर्यो र प्रत्येक अत्याचारी, सत्यद्रोहीको आदेशको अनुसरण गर्यो ।
६०. तिनीहरू यस संसारमा अपमानित हुनेछन् र अल्लाहको कृपाबाट टाढा राखिनेछन् । महाप्रलयको दिन पनि तिनीहरूलाई तिनीहरूको कुफ्रको कारणले अल्लाहको कृपाबाट टाढा राखिनेछन् । जानिराख, अल्लाहले तिनीहरूलाई हरेक भलाइबाट टाढा राख्नुभयो र हरेक दुष्टताबाट नजिक पार्नुभयो ।  
६१. हामीले समूदतर्फ उनका भाइ सालेह (अलैहिस्सलाम) लाई पठायौं । उनले भने– हे मेरा समुदाय ! मात्र अल्लाहको उपासना गर । उहाँबाहेक तिमीहरूको कोही उपास्य छैन । उनले नै तिमीहरूका पुर्वज आदम (अलैहिस्सलाम) लाई माटोबाट सृजना गरेर तिमीहरूलाई सृष्टि गर्नुभयो र धर्तीलाई आबाद गर्नुभयो । अतः उहाँसित क्षमायाचना गर । उहाँका आज्ञापालन गरेर तथा पापहरूलाई त्यागेर उहाँतर्फ फर्क । निष्कपट भएर उहाँको भक्ति गर्नेहरूको उहाँ नजिक हुनुहुन्छ । जो पनि उहाँबाट माग्छ उहाँले उसको दुआ (प्रार्थना) लाई स्वीकार गर्नुहुन्छ । 
६२. समुदायले उनलाई भने– हे सालेह ! यस अह्वानअघि तिमी हामीमाझ उच्च स्थानमा थियौ । तिमीले बुद्धिले काम लिनेछौ र हामीहरूलाई राम्रो उपदेश तथा सलाह दिनेछौ भन्ने आशा हामीहरूले तिमीसँग गरेका थियौं । हे सालेह !  के तिमी हामीहरूलाई ती मूर्तीहरूको पूजाबाट रोक्छौ जसको पूजा हाम्रा पूर्वजहरूले गर्दै आएका छन् ? जुन एक अल्लाहको भक्तिको अह्वान तिमी गर्छौ त्यसको बारेमा हामी शंकामा छौं । यसले हामीहरूलाई अल्लाहमाथि झूठो आरोप लगाउन प्रृरित गर्छ । 
६३. सालेह (अलैहिस्सलाम) ले समुदायको कुराको खण्डन गर्दै भने– हे मेरा समुदाय ! मलाई बताऊ, यदि म अल्लाहको सन्देशको अह्वान गर्ने कार्य त्याग्छु भने उहाँको प्रकोपबाट कसले जोगाउँछ ? जब कि म आफ्ना पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण तथा तर्कमा कायम छु । उहाँले मलाई आफ्ना विशेष कृपा ईशदूतत्व पनि प्रदान गर्नुभएको छ । यसका बावजुद तिमीहरू मलाई अझ पथभ्रष्टता तथा अल्लाहको प्रसन्नताबाट टाढा पार्दैछौ ।
६४. हे मेरा समुदाय ! यो अल्लाहको ऊँटनी तिमीहरूका निम्ति मेरो सत्य हुने निशानी हो । यसलाई अल्लाहको धर्तीमा स्वतन्त्र चर्नको लागि छोडिदेऊ र कुनै किसिमको कष्ट नदेऊ अन्यथा तिमीहरूलाई चाँडै नै प्रकोपले समात्नेछ ।
६५. तर, तिनीहरूले उनलाई झूठो ठहर गर्नको लागि ऊँटनीलाई मारिदिए । अनि सालेह (अलैहिस्सलाम) ले भने– तिमीहरू अझ तीन दिन धर्तीमा सांसारिक जीवनको भोग गर । त्यसपछि तिमीहरूमाथि अल्लाहको प्रकोप आउनेछ । यो कुनै असत्य वचन होइन । यो अवश्य नै हुनेछ ।
६६. जब तिनीहरूलाई नष्ट पार्ने हाम्रो आदेश आयो तब हामीले आफ्नो विशेष कृपाद्वारा सालेह (अलैहिस्सलाम) र मोमिनहरूलाई नष्ट हुनबाट बचायौं । उनीहरूलाई त्यस दिनको अपमानबाट पनि बचायौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता सर्व-शक्तिमान तथा प्रभुत्वशाली हुनुहुन्छ । कोही पनि उहाँमाथि प्रभुत्व जमाउन सक्दैन । त्यसैले  उहाँले झूठा ठहर गर्ने समुदायहरूलाई नष्ट पार्नुभयो ।
६७. भयानक तथा ठूलो गर्जनले तिनीहरूलाई समात्यो । ठूलो आवाजले गर्दा तिनीहरू मरे । तिनीहरू घोपटो परेर धर्तीमा लडे । 
६८. मानौं तिनीहरू त्यहाँ मोज मस्तीमा बसेकै थिएनन् । जानिराख, समूदले आफ्ना पालनकर्ता अल्लाहको अवज्ञा गर्यो । तिनीहरू निरन्तर अल्लाहको कृपाबाट टाढा पारिए । फरिश्ताहरूले इब्राहीम (अलैहिस्सलाम) लाई सलाम गरे । इब्राहीम (अलैहिस्सलाम) ले सलाम फर्काए । उनले चाँडै नै बाच्छोको मासु भुटेर ल्याए । उनीहरू मानव हुन् र यसलाई खानेछन् भनेर पेश गरे । 
६९. मानवको रूप धारण गरे फरिश्ताहरू इब्राहीम (अलैहिस्सलाम) कहाँ आए । उनीहरू इब्राहीम (अलैहिस्सलाम) लाई पुत्र इस्हाक तथा नाति याकूबको शुभसूचना दिनको लागि आए । 
७०. जब इब्राहीम (अलैहिस्सलाम) ले उनीहरूका हात खानातर्फ बढेको देखेनन्, उनीहरूलाई अपरिचित ठानी उनले मनमा डर महसूस गरे । फरिश्ताहरूले इब्राहीम (अलैहिस्सलाम) लाई डराइरहेको महसूस गरेर भने– नडराऊ, हामीहरूलाई अल्लाहले लूत (अलैहिस्सलाम) को समुदायमाथि प्रकोप अवतरण गर्नको लागि पठाउनुभएको छ ।
७१. इब्राहीम (अलैहिस्सलाम) की पत्नी सारा नजिकै उभिरहेकी थिइन् । उनलाई हामीले खुशीको खबर सुनायौं । उनले इस्हाकलाई जन्म दिनेछिन् र इस्हाकले याकूब नामी छोरा पाउनेछन् । यो सुनेपछि उनी खुशी भइन् । 
७२. साराले यो शुभसूचना सुनेर आश्चर्य प्रकट गर्दै फरिश्ताहरूलाई भनिन्– म कसरी सन्तान पाउन सक्छु जबकि स्वयम् बुढेसकालमा पुगेकी छु । मेरा पति पनि बूढा भइसकेका छन् । यो उमेरमा सन्तालाई जन्म दिनु एकदमै आश्चर्यको कुरा हो ।
७३. फरिश्ताहरूले सारालाई भने– के तिमी अल्लाहको निर्णय र भाग्यप्रति आश्चर्य गर्छौ ? हे इब्राहीमका परिवार ! अल्लाह यसो गर्ने सामर्थ्य राख्नुहुन्छ । तिमीहरूमाथि अल्लाहको कृपा तथा उनका वरदानहरू रहेका छन् । निस्सन्देह अल्लाह आफ्ना गुण र कार्यहरूमा अति प्रशंसनीय र अति गौरवशाली हुनुहुन्छ ।
७४. इब्राहीम (अलैहिस्सलाम) ले डर हराएपछि र पुत्र लाभको शुभ सन्देश पाएपछि फरिश्ताहरूसँग लूत (अलैहिस्सलाम) को समुदायको बारेमा तर्कवितर्क गर्न थाले । यस आशाका साथ कि लूत (अलैहिस्सलाम) को समुदायलाई प्रकोपबाट बचाउन सकिन्छ ।  
७५. इब्राहीम (अलैहिस्सलाम) अति सहनशील भएकोले लूत (अलैहिस्सलाम) को समुदायमाथि प्रकोप नआओस् भन्ने कुरा चाहन्थे । उनी अल्लाहसमक्ष अति बिन्ति गर्थे र धेरै दुआ तथा तौबा गर्थे ।
७६. फरिश्ताहरूले भने- हे इब्राहीम ! तिमी लूत (अलैहिस्सलाम) को समुदायबारे कुरा नगर । अल्लाहको तर्फबाट यस समुदायलाई नष्ट पार्न प्रकोपको आदेश भइसकेको छ । तिम्रो तर्क वितर्क र  दुआले टारिने छैन । 
७७. जब फरिश्ताहरू लूत (अलैहिस्सलाम) कहाँ पुरुषको रूपमा पुगे तब उनी अति चिन्तित भए र तिनीहरूको सम्बन्धमा आफूलाई असमर्थ पाए किनभने उनको समुदाय महिलालाई छोडेर पुरुषतर्फ आकर्षित थिए । लूत (अलैहिस्सलाम) ले भने– आजको दिन अति कठिन रहेको छ किनभने समुदायले पाहुनाहरूको अपमान गर्छ कि भन्ने डर छ  ।
७८. उलूत (अलैहिस्सलाम) का समुदाय हतार गर्दै उनीतर्फ पाहुनाहरूसँग अश्लील कार्य गर्ने मन्शायले आए । उनीहरूलाई पहिलेदेखि नै स्त्रीहरूलाई छोडेर पुरुषहरूसँग अश्लील कार्यको बानी बसेको थियो । लूत (अलैहिस्सलाम) ले समुदायलाई पहुनाहरूसमक्ष भने– हे मेरा समुदाय ! यी हुन् तिमीहरूका स्त्रीहरूमध्ये मेरी छोरीहरू । यिनीहरूसँग बिहे गर । पुरुषहरूसँग अश्लील कार्य भन्दा यिनीहरूसँग बिहे गरेर काम इच्छा पूरा गर्नु बढी पवित्र छ । अल्लाहसित डराऊ । मेरा पाहुनाहरूको सम्बन्धमा मलाई अपमानित नगर । हे मेरा समुदाय 1 के तिमीहरूमध्ये कोही सज्जन तथा बुद्धिमान छैन जो यिनीहरूलाई यस्तो घृणित कार्यबाट मनाहि गरोस् ?!
७९. तिनीहरूले लूत (अलैहिस्सलाम) लाई भने– हे लूत ! तिमीलाई थाहा छँदैछ कि हामीलाई तिम्रा छोरीहरू र स्त्रीहरूमा चासो छैन । हामी पुरुषहरूसँग काम इच्छा पूरा गर्न चाहन्छौं ।
८०. लूत (अलैहिस्सलाम) ले भने– हाय, यदि ममा तिमीहरूसित मुकाबिला गर्ने शक्ति भइदिएको भए वा कुनै शक्तिशाली नातेदारले मेरा पाहुनाहरूलाई यिनीहरूबाट जोगाइदिएको भए ।  
८१. फरिश्ताहरूले भने– हे लूत ! हामी दूतहरू हौं । हामीहरूलाई अल्लाहले पठाउनुभएको छ । तिनीहरू कदापि तिमीलाई कष्ट पुर्याउन पुग्न सक्दैनन । तिमी आफ्ना परिवारकासाथ रातको अन्धकारमा यस समुदायबाट प्रस्थान गर । तिमीहरूमध्ये कसैले पनि पछाडि फर्केर नहेरोस् । पत्नीलाई त्यहीँ छोडिदेऊ । त्यसमाथि त्यही प्रकोप आउनेछ जुन तिनीहरूमाथि आउनेछ । तिनीहरूको विनाशको समय बिहान रहेको छ, जो अति निकट छ ।
८२. जब लूत (अलैहिस्सलाम) को समुदायलाई नष्ट पार्ने हाम्रो आदेश आयो, तब हामीले त्यसको माथिल्लो भागलाई तल्लो भागमा घोप्टाइदियौं र तिनीहरूमाथि लगातार ढुङ्गामुढाको वर्षा गरायौं ।
८३. ती सबै ढुङ्गाहरूमा अल्लाहको तर्फबाट विशेष चिन्हहरू अङ्कित थिए । कुरैशका अत्याचारीहरूबाट पनि त्यस्तो ढुङ्गाको प्रकोप टाढा छैन । अल्लाहले जहिले भाग्यमा लेख्नुहुन्छ तिनीहरूमाथि पनि बर्साउनुहनेछ । 
८४. मदयनतर्फ हामीले उनका भाइ शुऐब (अलैहिस्सलाम) लाई पठायौं । उनले भने– हे मेरा समुदाय ! मात्र अल्लाहको उपासना गर । उनहाँबाहेक तिमीहरूको अन्य कोही उपास्य छैन । नाप तथा तौलमा कमी नगर । म तिमीहरूलाई सुसम्पन्न देख्दैछु । अल्लाहको अवज्ञा गरेर उहाँको कृपामा परिवर्तन नगर । म तिमीहरूप्रति त्यस दिनको प्रकोपबाट डराउँछु जसले सबैलाई घेर्नेछ । कसैले न त भाग्ने बाटो पाउनेछ न शरण लिने ठाउँ पाउनेछ ।  
८५. हे मेरा समुदाय ! मानिसहरूलाई नापेर वा तौलेर दिंदा न्यायकासाथ ठीक-ठीक नाप एवं तौल गरेर देऊ । नाप तौलमा कमि गरेर, वा धोका दिएर वा छलेर मानिसहरूका हक-अधिकार हनन् नगर । हत्या-हिंसा र अन्य तरीकाले अल्लाहको अवज्ञा गरेर धर्तीमा विध्वंस नमच्चाऊ ।
८६. मानिसहरूका हक-अधिकार निसाफका साथ पूरा गर्दै प्राप्त भएका हलाल फाइदा तिमीहरूका लागि त्यस धनभन्दा उत्तम छ जो नाप तौलमा कमि र धर्तीमा विध्वंश मच्चाएर प्राप्त हुन्छ । यदि तिमीहरू पक्का मोमिन हौ भने त्यस हलाल फाइदामा सन्तोष गर । म तिमीहरूमाथि निरिक्षक होइन कि तिमीहरूका कर्महरूको गन्ती राखुं र मुल्याङ्कन गरुं । संरक्षक त अल्लाह हुनुहुन्छ जो गोप्य र कानेखुसीलाई पनि जान्नुहुन्छ ।    
८७. शुऐब (अलैहिस्सलाम) को समुदायले भने– हे शुऐब ! के तिम्रो सलाहले यस कुराको आदेश दिन्छ- पूर्वजले पुज्दै आएका मूर्तिहरूको पूजा हामी त्यागौं र आफ्ना धनको लेनदेन र त्यसमा बढोतरी पनि इच्छा अनुसार नगरौं ?! तिमी नै एक सहनशील एवं सत्यनिष्ठ व्यक्ति हौ । यस अह्वानअघि हामीहरू तिमीलाई बुद्धिमान तथा विवेकशील ठानेका थियौं, अब तिमीलाई के भएको छ ?! 
८८. शुऐब (अलैहिस्सलाम) ले भने– हे मेरा समुदाय ! तिमीहरू मलाई आफ्नो अवस्थाबाट अवगत गराऊ । यदि म आफ्ना पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाणमा कायम छु र उहाँले मलाई आफ्नो तर्फबाट उत्तम जीविका पनि प्रदान गर्नुभएको छ जसमध्ये ईश्दूतत्व पनि हो, भने मेरो मन्शाय तिमीहरूको विरोध गरेर स्वयम् त्यही कार्य गर्नु होइन । म एक अल्लाहको भक्तिको अह्वान गरेर तिमीहरूको सुधार मात्र चाहन्छु । यी सबै कार्य अल्लाहको कृपामा निर्भर छ । म सबै मामिलामा उहाँमाथि नै भरोसा गर्छु र उहाँतर्फ नै  फर्कन्छु ।
८९. हे मेरा समुदाय ! मसँगको शत्रुताले गर्दा तिमीहरू अल्लाहको सन्देशलाई झूठो ठहर नगर । यस्तो गरेमा तिमीहरूमाथि पनि त्यही प्रकोप आइपुग्छ जो नूह, हूद र सालेह (अलैहिमुस्सलाम) का समुदायहरूमाथि आएको थियो । लूत (अलैहिस्सलाम) को समुदाय त तिमीहरूबाट टाढा छैन । समय तथा दूरी दुवै हिसाबले नजिक छ । अतः तिनीहरूबाट पाठ लेऊ ।
९०. आफ्ना पालनकर्तासित क्षमायाचना गर । आफ्ना पापहरूप्रति तौबा गर । निस्सन्देह मेरा पालनकर्ता तौबा गर्नेहरूमाथि धेरै दया र माया गर्नुहुन्छ । 
९१. शुऐब (अलैहिस्सलाम) को समुदायले भने– हे शुऐब ! हामी तिमीले भनेका प्रायःजसो कुराहरू बुझ्दैनौं । हामीहरू तिमीलाई तिम्रा आँखाहरू कमजोर भएकोले दुर्बल व्यक्ति ठान्दछौं । यदि तिम्रा नातेदारहरू नभएका भए निश्चय नै हामीले तिमीलाई ढुङ्गा बर्साएर मार्ने थियौं । हामीविरुद्ध तिमीलाई शक्ति पनि प्राप्त छैन । तिम्रा नातेदारहरूको सम्मान गर्दै हामीहरू तिम्रो हत्या गरिरहेको छैनौं ।
९२. शुऐब (अलैहिस्सलाम) ले भने– हे मेरा समुदाय ! के मेरा नातेदारहरू तिमीहरूका लागि अल्लाहभन्दा पनि शक्तिशाली छन् ?! अल्लाहलाई आफ्ना पिठ्यूँपछाडि राख्छौ र उहाँको नबीमाथि ईमान राख्दैनौ । निस्सन्देह मेरा पालनकर्ताले तिमीहरूले गरिरहेका कामहरूलाई घेरामा लिनुभएको छ । उहाँबाट तिमीहरूका कार्यहरू लुकेको छैन । लोकमा त्यसको बदला सर्वनाश पारेर दिनुहुनेछ र परलोकमा यातना दिएर दिनुहुनेछ ।
९३. हे मेरा समुदाय ! तिमीहरू आफ्नो तरिका अनुसार जति कर्म गर्न सक्छौ गर । म पनि आफ्नो तरिका अनुसार जति कर्म गर्न सक्छु गर्छु । अपमानित गर्ने प्रकोप कसमाथि आउँछ र को आफ्नो दावीमा झूठो छ भन्ने कुरा तिमीहरूले चाँडै नै जान्नेछौ । तिमीहरू अल्लाहको चाहनाको प्रतीक्षा गर । म पनि तिमीहरूसँगै प्रतीक्षा गर्दैछु ।
९४. जब शुऐब (अलैहिस्सलाम) को समुदायलाई विनाश गर्ने आदेश आयो तब हामीले उनलाई र मोमिनहरूलाई आफ्नो कृपाबाट सुरक्षित राख्यौं । उनको समुदायका अत्याचारीहरूलाई भयङ्कर गर्जनले समात्यो । अनि तिनीहरू मरे र धर्तीमा घोप्टो परेर लडे ।
९५. मानौं तिनीहरू यसअघि त्यहाँ बसेकै थिएनन् । जानिराख, मदयन अल्लाहको कृपाबाट टाढा पारिए । तिनीहरूमाथि त्यस्तै प्रकोप अवतरण भयो जस्तो समूदमाथि भएको थियो ।
९६. हामीले मूसा (अलैहिस्सलाम) लाई अल्लाह एक मात्र हुनुहुन्छ भन्ने स्पष्ट प्रमाणहरू दिएर पठायौं । उनले ल्याएको सन्देश सत्य हो भन्ने निशानीहरू पनि दिएर पठायौं । 
९७. उनलाई हामीले फिर्औन र उसका दरबारीहरूसमक्ष पठायौं । दरबारीहरूले फिर्औनकै आदेशको पालना गरे जबकि उसको आदेश अल्लाहको इन्कारमा आधारित थियो । उसको आदेश न त सत्यमा आधारित थियो र न अनुसरण योग्य थियो ।
९८. महाप्रलयको दिन फिर्औनले आफ्नो समुदायको अगुवाइ गर्नेछ र तिनीहरूलाई नर्कमा लिएर जानेछ । त्यो कत्ति नराम्रो स्थान हुनेछ जहाँ तिनीहरू ओर्लनेछन् ! 
९९. अल्लाहले तिनीहरूलाई यस संसारमा पनि धिक्कार्नुभयो र समुद्रमा डुबाएर आफ्नो कृपाबाट टाढा पार्नुभयो । उहाँले तिनीहरूलाई महाप्रलयको दिन पनि धिक्कार्नुहुनेछ र आफ्नो कृपाबाट टाढा पार्नुहुनेछ । तिनीहरूले लोक तथा परलोकमा पाएका धिक्कार तथा प्रकोप कति नराम्रो छ !
१००. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी केही समुदाहरूका सत्य कथाहरू हुन् जुन हामी तपाईंसमक्ष बयान गर्दैछौं । तिनीहरूमध्ये केहीका निशानीहरू अहिलेसम्म कायम छन् भने केहीका निशानीहरू मेटि सकेका छन् । 
१०१. हामीले तिनीहरूलाई सर्वनाश गरेर तिनीहरूमाथि अत्याचार गरेनौं । बरु तिनीहरूले नै अल्लाहको इन्कार गरेर आफैँलाई बर्बादीमा पारे अनि आफैंमाथि अत्याचार गरे । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंका पालनकर्ताको तर्फबाट प्रकोपको आदेश आइपुग्यो तब तिनीहरूका भगवानहरूले त्यसबाट तिनीहरूलाई बचाउन सकेनन् । बरु तिनीहरूले तिनीहरूको विनाशमै बृद्धि गरे ।
१०२. तपाईंका पालनकर्ता हरेक स्थान र हरेक युगमा झूठो ठहर गर्ने समुदायलाई यसरी नै प्रकोपमा ग्रस्त गर्नुहुन्छ । निस्सन्देह अल्लाहको प्रकोप अति कडा र पीडादायी हुनेगर्छ ।
१०३. निस्सन्देह अल्लाहको प्रकोपमा महाप्रलयको यातनाबाट डराउने व्यक्तिहरूका लागि शिक्षा छ । यो त्यो दिन हुनेछ जसमा अल्लाहले सबै मानिसहरूलाई हिसाब किताबको लागि जम्मा गर्नुहुनेछ । यही हो अल्लाहसमक्ष हाजिर गरिने दिन, जसमा जम्मा हुनेहरू गवाही दिनेछन् ।
१०४. हामी त्यस जम्मा गरिने दिनलाई केही निश्चित दिनको लागि मात्र ढीलो गर्दैछौं ।
१०५. त्यस दिन कोही पनि अल्लाहको अनुमतिबिना न प्रमाण प्रस्तुत गर्न सक्नेछ न कसैको सिफारिश गर्न सक्नेछ । त्यस दिन मानिसहरूलाई दुई समूहमा विभाजित गिरनेछ । अभागीहरूको समूह जो नर्कमा जानेछन् र भाग्यशालीहरूको समूह जो स्वर्गमा जानेछन् ।
१०६. अभागीहरू आफ्नो कुफ्र र दुष्कर्महरूले गर्दा नर्कमा जानेछन् जहाँ कष्टले गर्दा ठूलो स्वरमा रुने कराउनेछन् ।
१०७. तिनीहरू सदाका लागि त्यसैमा रहनेछन् । जबसम्म आकाशहरू तथा धर्ती कायम रहनेछन् तबसम्म त्यसबाट निस्कने छैनन् । एक अल्लाहमाथि ईमान राखेका अवज्ञाकारीहरूमध्ये जसलाई चाहनुहुन्छ उहाँले नर्कबाट निकाल्नुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता जे चाहनुहुन्छ गरेरै छोड्नुहुन्छ, उहाँलाई कसैले बाध्य पार्न सक्दैन । 
१०८. भाग्यशाली व्यक्तिहरू स्वर्गमा प्रवेश गर्नेछन् । उनीहरूका ईमान र सत्कर्महरूले गर्दा अल्लाहले भाग्यशाली बनाउनुहुनेछ । जबसम्म आकाशहरू तथा धर्ती कायम रहनेछन् तबसम्म सदा सर्वदाको लागि उनीहरू स्वर्गमा बसोबास गर्नेछन् । यो बेग्लै कुरा हो कि तपाईंका पालनकर्ताले अवाज्ञाकारी मोमिनहरूलाई स्वर्गमा प्रवेश गराउनुअघि नर्कमा हाल्नुहुनेछ । निस्सन्देह स्वर्गबासीहरूका लागि  अल्लाहको वर्दान निरन्तर रहनेछ ।
१०९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरू मूर्ती पूजा गरेर गलत गरिरहेकाछन् । यस कुराबारे कदापि शङ्कामा नपर्नुहोस् । तिनीहरूसँग यसको लागि न कुनै तर्क छ न कुनै प्रमाण । मात्र आफ्ना पूर्वजहरूको अनुसरणमा यस्तो गर्दैछन् । हामीले तिनीहरूलाई पूरा पूरा यातना दिनेछौं, त्यसमा कुनै कमि गर्ने छैनौं ।
११०. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं । तर मानिसहरूले त्यसमा मतभेद गरे । केही मानिसहरूले त्यसमा ईमान ल्याए र केहीले कुफ्र गरे । अल्लाहले तिनीहरूमाथि आउने प्रकोपलाई महाप्रलयसम्मको लागि स्थगित गर्ने निर्णय पहिला नै गरिसक्नुभयो । पहिला नै यसको निर्णय न भएको भए अल्लाहले संसारमै तिनीहरूमाथि प्रकोप अवतरण गर्नुहुन्थ्यो । निस्सन्देह यहूदी तथा बहुदेववादीहरू कुरआनको बारेमा सन्देहमा घेरिएका छन् ।
१११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले ती सबै विभेद गर्नेहरूलाई तिनीहरूका कर्महरूको पूर्ण बदला दिनुहुनेछ । सत्कर्मीहरूलाई राम्रो बदला र दुष्कर्मीहरूलाई सजाय । निस्सन्देह अल्लाह तिनीहरूले गर्ने गरेका सबै कार्यहरूसित राम्ररी अवगत हुनुहुन्छ । तिनीहरूका कुनै पनि कर्म उहाँबाट लुकेको छैन ।
११२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं पनि र तपाईंका अनुयायीहरू पनि सत्मार्गमा निरन्तर कायम रहनुहोस् । अल्लाहका आदेशहरूको पालना गर्नुहोस् र वर्जित कार्यहरूलाई त्याग्नुहोस् । तिमीहरू अल्लाहको अवज्ञा गरेर सीमाहरूको उल्लङ्घन नगर । निस्सन्देह उहाँ तिमीहरूले गर्ने सम्पूर्ण कार्यहरूलाई देखिराख्नु भएको छ । उहाँले तिमीहरूको कर्महरूको बदला दिनुहुनेछ । 
११३. तिमीहरू अत्याचारी काफिरहरूतर्फ सहिष्णुता र प्रेमका साथ ननिहुर । यसरी निहुरेमा नर्कको आगोले छुनेछ । अल्लाहबाहेक कसैले पनि त्यसबाट बचाउन सक्दैन । तिमीहरूले कुनै मित्र र सहयोगी पाउने छैनौ । 
११४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईं दिनको दुवै किनारा अर्थात बिहान तथा बेलुकि र रातका प्रहरहरूमा राम्रो तरिकाले सलाह कायम गर्नुहोस् । निस्सन्देह सत्कर्महरूले साना पापहरूलाई मेटाउनेछन् । यसमा उपदेश ग्रहण गर्ने र पाठ सिक्नेहरूका लागि उपदेश र पाठ छ ।
११५. धैर्य, अडिगता र निरन्तरताकासाथ अल्लाहका आदेशहरूको पालना गर्नुहोस् र वर्जित कार्यहरूबाट बच्नुहोस् । निश्चय नै अल्लाह सत्कर्मीहरूका प्रतिदानलाई नष्ट पार्नुहुन्न बरु स्वीकार गर्नुहुन्छ । उहाँ सत्कर्महरूको राम्रो बदला दिनुहुन्छ । 
११६. प्रकोपमा ग्रस्त भएका विगत समुदायहरूमा कुफ्र, अवज्ञा र आतंक मच्चाउनबाट मनाही गर्ने मानिसहरू थोरै थिए । ती अत्याचारी समुदायहरूको विनाश गर्दा हामीले त्यस्ता मानिसहरूलाई सुरक्षित राख्यौं । ती समुदायका अत्याचारीहरू सुखभोगतिर लागे । तिनीहरूले यस्तो गरेर अत्याचारी बने ।
११७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले सुधार गर्ने समुदायहरूलाई नष्ट पार्नुहुन्न । अल्लाहले कुफ्र तथा अत्याचार गरेर धर्तीमा आतंक मच्चाउनेहरूलाई नष्ट पार्नुहुन्छ ।
११८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंका पालनकर्ताले चाहनुभएको भए सम्पूर्ण मानवलाई सत्यमा जम्मा गरेर एउटै समुदाय बनाउनुहुन्थ्यो । तर, उहाँले यस्तो चाहनुभएन । तिनीहरूले इच्छाको अनुसरण र अत्याचार गरेर परस्पर मतभेद गरिराखे । 
११९. जसलाई अल्लाहले सीधा मार्ग देखाएर कृपा गर्नुभयो उनीहरू अल्लाह मात्र एक हुनुहुन्छ भन्ने कुरामा मतभेद गरेनन् । मतभेदद्वारा परीक्षा लिनको लागि अल्लाहले तिनीहरूको सृष्टि गर्नुभयो । तिनीहरूमा केही अभागि भए र केही भाग्यशाली । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आदि कालमा अल्लाहले गर्नुभएको वाणी पूरा भयो । त्यो वाणी थियो- मैले नर्कलाई शैतानको अनुसरण गर्ने जिन्न तथा मानवबाट भर्नेछु ।
१२०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विगतका समुदायहरूका पनि सत्य  कथाहरू हामीले वर्णन गरेका छौं त्यसको उद्देश्य तपाईंका हृदयलाई सत्यमाथि सुदृढ पार्नु हो । यस सूरहमा पनि यस्तो सत्य आएको छ जसमा कुनै सन्देह छैन । यसमा काफिरहरूका लागि उपदेश छ । यसमा उपदेशबाट फाइदा उठाउने मोमिनहरूका लागि पनि उपदेश छ ।  
१२१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहमाथि ईमान नल्याउने र उहाँलाई एक नमान्नेहरूलाई भनिदिनुहोस्– तिमीहरू आफ्ना तरिका अनुसार सत्यबाट विमुख हुने र यसमा बाधा हाल्ने काम गरिराख । हामी पनि सत्यलाई स्थापित पार्ने, यसको अह्वान गर्ने र यसमा धैर्य रहने काम गरिराख्छौं ।
१२२. तिमीहरू हामीमाथि अवतरण हुने कुराको प्रतीक्षा गर र हामी तिमीहरूमाथि अवतरण हुने प्रकोपको प्रतीक्षा गर्छौं । 
१२३. आकाशहरू तथा धर्तीका अदृश्य वास्तविक्ताहरूको ज्ञान केवल अल्लाहलाई छ । उहाँबाट केही पनि लुकेको छैन । महाप्रलयको दिन सबै मामिलाहरू उहाँतर्फ नै फर्काइनेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं अल्लाहकै उपासना गर्नुहोस् र सबै मामिलामा उहाँमाथि नै भरोसा गर्नुहोस् । तिमीहरूले गर्ने गरेका कार्यहरूबाट अल्लाह अनभिज्ञ हुनुहुन्न । बरु उहाँ सबै कुराहरूबाट अवगत हुनुहुन्छ र त्यसको बदला दिनुहुनेछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...